सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

स्थिर रहनुहोस्‌ र जीवनको दौड जित्नुहोस्‌

स्थिर रहनुहोस्‌ र जीवनको दौड जित्नुहोस्‌

स्थिर रहनुहोस्‌ र जीवनको दौड जित्नुहोस्‌

यदि आँधीबेहरी आइरहेको समुद्रमा यात्रा गर्नुपऱ्‍यो भने तपाईं कस्तो प्रकारको जहाज प्रयोग गर्न रुचाउनुहुन्छ? हेर्दै फितलो डुंगामा यात्रा गर्न चाहनुहुन्छ वा बलियो, राम्रोसित बनाइएको जहाजमा? तपाईं निश्‍चय पनि दह्रिलो देखिने जहाज रोज्नुहुनेछ किनभने यसले समुद्रका डरलाग्दा छालहरू छिचोलेर अघि बढ्‌न सक्छ।

हामीले यस आँधीबेहरीरूपी डरलाग्दो रीतिरिवाज पार गर्दै जाँदा अप्ठ्यारा चुनौतीहरूको सामना गर्नुपर्छ। उदाहरणका लागि, कहिलेकाहीं जवानहरूले यस संसारको अलमल्याउँदो विचार तथा लहरहरूको बीचमा आफूलाई हराएको र असुरक्षित महसुस गर्लान्‌। भर्खरै मसीही विश्‍वास अँगालेका व्यक्‍तिविशेषहरूले आफूसित त्यति आत्म-विश्‍वास नभएको महसुस गर्लान्‌। निकै वर्ष परमेश्‍वरको विश्‍वासी सेवा गरिसकेका केही स्थिर व्यक्‍तिहरूले समेत परीक्षाको सामना गर्नु परिरहेको हुन सक्छ किनभने तिनीहरूले आशा गरेजस्तै प्रत्याशाहरू पूरा भइरहेका छैनन्‌ होला।

त्यस्ता भावनाहरू नौला होइनन्‌। मोशा, अय्यूब र दाऊदजस्ता यहोवाका विश्‍वासी सेवकहरूले पनि कहिलेकाहीं मनमा त्यस्ता अन्तरद्वन्द्वहरू महसुस गरेका थिए। (गन्ती ११:१४, १५; अय्यूब ३:१-४; भजन ५५:४) यद्यपि, तिनीहरूले जीवनभर यहोवाप्रति अटल भक्‍ति चढाए। तिनीहरूको असल उदाहरणले हामीलाई पनि स्थिर रहन प्रोत्साहन दिन्छ तर शैतान अर्थात्‌ दियाबल हामीलाई अनन्त जीवनको दौडबाट पन्छाउन चाहन्छ। (लूका २२:३१) हामी कसरी “विश्‍वासमा दह्रो” हुँदै स्थिर रहन सक्छौं? (१ पत्रुस ५:९) अनि हामीले आफ्ना सँगी विश्‍वासीहरूलाई कसरी बल प्रदान गर्न सक्छौं?

हामी स्थिर रहेको यहोवा चाहनुहुन्छ

यहोवाप्रति विश्‍वासी छौं भने हामीलाई आफ्नो स्थिरता कायम राख्ने मदत दिन उहाँले सधैं हाम्रो साथ दिनुहुनेछ। भजनहार दाऊदले जीवनमा थुप्रै चुनौतीपूर्ण परिस्थितिहरूको सामना गरे तर तिनले परमेश्‍वरमा भरोसा राखे र यस्तो भजन गाउन सके: “[यहोवाले] मलाई सत्यनाशको खाड़ल र दलदले हिलोबाट तानेर पनि निकाल्नुभयो। उहाँले मेरा खुट्टाहरूलाई चटानमाथि बसालेर मेरा पाइलाहरू स्थिर गराउनुभयो।”—भजन ४०:२.

हामीले ‘अनन्त जीवन पक्री राख्न’ सकोस्‌ भनेर यहोवाले हामीलाई “विश्‍वासको उत्तम लडन्त” लड्‌न बल दिनुहुन्छ। (१ तिमोथी ६:१२) उहाँले हामीलाई स्थिर रहने माध्यम प्रदान गर्नुभएर आध्यात्मिक युद्धमा विजयी हुन मदत गर्नुहुन्छ। प्रेरित पावलले सँगी मसीहीहरूलाई यस्तो आह्वान गरे, “प्रभुमा र उहाँको शक्‍तिको सामर्थ्यमा बलवान होओ” र “शैतानका युक्‍तिहरूका विरुद्धमा खडा हुनसक्नालाई परमेश्‍वरको सारा हात-हतियार धारण गर।” (एफिसी ६:१०-१७) तर हामीलाई कस्ता कुराहरूले अस्थिर बनाउन सक्छ? हामीले त्यस्ता खतरनाक प्रभावहरूको कसरी सामना गर्न सक्छौं?

अस्थिर गराउने कुराहरूदेखि सावधान रहनुहोस्‌

यस महत्त्वपूर्ण तथ्यलाई सम्झनु बुद्धिमानी हुनेछ: हामीले गर्ने निर्णयहरूले हाम्रो मसीही स्थिरतालाई सकारात्मक वा नकारात्मक ढंगमा अन्ततः प्रभाव पार्छ। युवाहरूले आफ्नो पेसा, थप शिक्षा र विवाहजस्ता विषयहरूमा निर्णय गर्नुपर्ने हुन्छ। वयस्कहरूले अर्को ठाउँमा बसाइँ सर्ने कि नसर्ने वा थप जागिर खाने कि नखाने जस्ता विषयमा निर्णय गर्नुपर्छ। समयको प्रयोग र अन्य थुप्रै विषयमा हामीले दिनहुँ निर्णयहरू गर्छौं। परमेश्‍वरको सेवकको हैसियतमा हाम्रो स्थिरतामा योगदान पुऱ्‍याउने बुद्धिमानी निर्णय गर्न कुन कुराले मदत गर्नेछ? लामो समयदेखि मसीहीको हैसियतमा सेवा गर्दै आएकी एक जना बहिनीले यसो भनिन्‌: “निर्णयहरू गर्नुअघि म यहोवाको मदत माग्छु। बाइबल, मसीही सभाहरू, प्राचीन तथा बाइबल आधारित साहित्यहरूमा दिइएको सल्लाह स्वीकारेर लागू गर्नुलाई म महत्त्वपूर्ण ठान्छु।”

निर्णयहरू गर्दा आफूलाई यस्तो प्रश्‍न सोध्नु बेस हुन्छ: ‘आज मैले गर्ने निर्णयको कारण अबको पाँच वा दस वर्षपछि खुसी हुन्छु वा पछुताउँछु? मेरो निर्णयले मलाई आध्यात्मिक तवरमा कमजोर नबनाओस्‌ तर मेरो आध्यात्मिक प्रगतिमा योगदान पुऱ्‍याओस्‌ भनेर निश्‍चित गर्न के म यत्न गर्छु?’—फिलिप्पी ३:१६.

प्रलोभनहरूको वशमा परेर वा परमेश्‍वरको व्यवस्था उल्लंघन हुने हदसम्म पुगेर कोही-कोही बप्तिस्माप्राप्त व्यक्‍तिहरूले अस्थिर जीवन बिताएका छन्‌। अपश्‍चात्तापी हुँदै पापी मार्गमा लागिरहेको कारण मण्डलीबाट बहिष्कृत भएका केही व्यक्‍तिविशेषहरूले पुनर्स्थापित हुन कडा मेहनत गरेका छन्‌ तर केही समय नबित्दै तिनीहरू पुनः त्यस्तै गलत कार्यमा संलग्न भएको हुँदा फेरि बहिष्कृत हुन पुग्छन्‌। ‘जुन कुरो खराब छ, त्यसलाई घृणा गर्ने, जुन कुरो असल छ, त्यसमा लागिरहने’ ईश्‍वरीय मदतको लागि तिनीहरूले प्रार्थना नगरेकोले पो हो कि? (रोमी १२:९; भजन ९७:१०) हामी सबैले “[आफ्ना] खुट्टाहरूको निम्ति सीधा मार्ग” बनाउनु आवश्‍यक छ। (हिब्रू १२:१३) त्यसकारण आउनुहोस्‌, हाम्रो आध्यात्मिक स्थिरता कायम राख्न मदत गर्ने केही बुँदाहरू छलफल गरौं।

मसीही गतिविधिद्वारा स्थिर रहनुहोस्‌

हाम्रो जीवनको दौडमा स्थिर गति कायम राख्ने एउटा तरिका राज्य प्रचारकार्यमा व्यस्त रहेर हो। हो, हाम्रो मसीही सेवकाईले हाम्रो मन अनि हृदय परमेश्‍वरको इच्छा र अनन्त जीवनमा केन्द्रित गर्न अनमोल मदत दिन्छ। यस सन्दर्भमा पावलले कोरिन्थका मसीहीहरूलाई यस्तो आग्रह गरे: “ए मेरा प्रिय भाइ हो, स्थिर र अटल बस। सधैं प्रभुको काममा प्रशस्त हुँदै जाओ। किनकि तिमीहरू जान्दछौ, कि तिमीहरूको परिश्रम प्रभुमा व्यर्थ हुँदैन।” (१ कोरिन्थी १५:५८) “स्थिर” भन्‍नाले ‘स्थायी रूपले अडिएको’ हो। “अटल” शब्दले “आफ्नो लंगुरबाट चलहल गर्न नपाउने” भन्‍ने बुझाउँछ। त्यसकारण सेवकाईमा व्यस्त रहँदा हाम्रो मसीही मार्गलाई स्थिर गराउन मदत पुऱ्‍याउन सक्छ। यहोवालाई चिन्‍न अरूलाई मदत दिंदा हाम्रो आफ्नो जीवन अर्थपूर्ण हुनुका साथै आनन्ददायी हुन्छ।—प्रेरित २०:३५.

तीस वर्षभन्दा बढी मिसनरी सेवा र पूर्ण-समय प्रचारकार्यको अन्य गतिविधिमा बिताएकी मसीही बहिनी पलिन भन्छिन्‌, “सेवकाई सुरक्षा हो किनभने अरूलाई साक्षी दिंदा म आफूसित सच्चाइ छ भनेर पक्का हुन्छु।” उपासनाको लागि सभाहरूमा उपस्थिति र लगनशील भई व्यक्‍तिगत बाइबल अध्ययन गर्नेजस्ता अन्य मसीही गतिविधिहरूमा नियमित तवरमा भाग लिंदा पनि त्यस्तै विश्‍वस्तता विकास गर्न सक्छौं।

मायालु भ्रातृत्वबाट स्थिर

साँचो उपासकहरूको विश्‍वव्यापी संगठनको भाग हुनु पनि हामीलाई स्थिर गराउने शक्‍तिशाली प्रभाव हुन सक्छ। त्यस्तो मायालु विश्‍वव्यापी भ्रातृत्वसित संगत गर्न पाउनु कस्तो आशिष्‌को कुरा हो! (१ पत्रुस २:१७) अनि हामीले आफ्ना सँगी विश्‍वासीहरूलाई पनि स्थिर गराउने प्रभाव पार्न सक्छौं।

धर्मी पुरुष अय्यूबको मदतकारी कार्यलाई विचार गर्नुहोस्‌। झूटा सान्त्वना दिन आएका एलिपजसमेत यो स्वीकार्न बाध्य भए: “ठोकर खानेहरू तपाईंका वचनहरूले सह्‍मालिन्थे, र निर्बल घुँड़ाहरूलाई बल दिन्थे।” (अय्यूब ४:४) हामीले यस क्षेत्रमा कस्तो गरिरहेका छौं? परमेश्‍वरको सेवामा लागिरहन हाम्रा आध्यात्मिक भाइबहिनीहरूलाई मदत गर्नु हामी प्रत्येकको जिम्मेवारी हो। तिनीहरूसँग व्यवहार गर्दा यस्तो मनोभाव झल्काउन सक्छौं: “कमजोर हातहरू बलिया बनाऊ, र दुर्बल घुँड़ाहरू सोझो पार।” (यशैया ३५:३) प्रत्येक चोटि भेट्‌दा एक वा दुई जना सँगी विश्‍वासीहरूलाई बलियो बनाउने र प्रोत्साहन दिने लक्ष्य राखे कसो होला? (हिब्रू १०:२४, २५) यहोवालाई आनन्दित तुल्याउन तिनीहरूले गरिरहेको लगनशील प्रयासको लागि सराहना र कृतज्ञता व्यक्‍त गर्दा जीवनको दौड जित्ने हेतुले स्थिर रहिरहने मदत पाउँछन्‌।

मसीही प्राचीनहरूले नयाँहरूलाई प्रोत्साहन दिएर निकै भलाइ गर्छन्‌। तिनीहरूलाई मदतकारी सल्लाह र ठोस धर्मशास्त्रीय सल्लाह दिएर अनि तिनीहरूसँग क्षेत्र सेवकाईमा काम गरेर यस्तो प्रोत्साहन दिन सकिन्छ। प्रेरित पावलले अरूलाई बलियो पार्ने मौका पाउनेबित्तिकै त्यसको सदुपयोग गरिहाल्थे। तिनी रोमका मसीहीहरूलाई आध्यात्मिक तवरमा स्थिर गराउने मनसाय राख्दै तिनीहरूलाई भेट्‌न चाहन्थे। (रोमी १:११) फिलिप्पीका आफ्ना प्रिय भाइ तथा बहिनीहरूलाई तिनले “रमाहट र मुकुट” ठान्थे र तिनीहरूलाई ‘प्रभुमा स्थिर बस्न’ आग्रह गरे। (फिलिप्पी ४:१) थिस्सलोनिकाका भाइहरूको कष्ट सुनेर पावलले ‘तिनीहरूलाई स्थिर गराउन र विश्‍वासको विषयमा तिनीहरू नडग्मगाओस्‌ भनेर सान्त्वना दिन’ तिमोथीलाई पठाए।—१ थिस्सलोनिकी ३:१-३.

प्रेरित पावल र पत्रुसले आफ्ना सँगी उपासकहरूको लगनशील प्रयास मानिलिनुका साथै त्यसको मूल्यांकन गरे। (कलस्सी २:५; १ थिस्सलोनिकी ३:७, ८; २ पत्रुस १:१२) त्यस्तै गरी हामी पनि आफ्ना भाइहरूको कमजोरीमा होइन तर तिनीहरूको असल गुणहरू तथा स्थिर रहने प्रयासमा ध्यान केन्द्रित गरेर यहोवाको आदर गरौं।

हामी नकारात्मक वा आलोचनात्मक भयौं भने हामीले अनजानमै कसै-कसैलाई विश्‍वासमा दृढ रहन गाह्रो बनाइरहेका हुन सक्छौं। हाम्रा भाइहरू यस दुष्ट रीतिरिवाजमा “तितर-बितर भएका” छन्‌ भनेर सम्झनु उचित हुनेछ! (मत्ती ९:३६) मसीही मण्डलीमा तिनीहरूले सान्त्वना र स्फूर्ति पाउन सक्नुपर्छ। अतः हामी सबैले सँगी विश्‍वासीहरूलाई प्रोत्साहन दिन र स्थिर रहने मदत गर्न यथासक्दो गरौं।

कहिलेकाहीं अरूले हाम्रो स्थिरतालाई ढलपल गराउने ढंगमा हामीसित व्यवहार गर्लान्‌। अरूको कटु वचन वा छुच्चो कार्यको कारण के हामी आफूलाई यहोवाको सेवामा सुस्त बनाउँछौं? अरू कसैले हाम्रो स्थिरतालाई ढलपल हुन नदेओस्‌।—२ पत्रुस ३:१७.

परमेश्‍वरका प्रतिज्ञाहरू—स्थिर गराउने प्रभाव

राज्य शासन अन्तर्गत अद्‌भुत भविष्यको आशासम्बन्धी यहोवाको प्रतिज्ञाले हामीलाई आफ्नो स्थिरता कायम राख्न मदत गर्छ। (हिब्रू ६:१९) अनि परमेश्‍वरले आफ्ना प्रतिज्ञाहरू सधैं पूरा गर्नुहुन्छ भन्‍ने विश्‍वस्तताले हामीलाई ‘होशियार बस्न र विश्‍वासमा दृढ हुन’ उत्प्रेरित गर्छ। (१ कोरिन्थी १६:१३; हिब्रू ३:६) परमेश्‍वरको प्रतिज्ञा पूरा हुन ढिलो भएजस्तो लाग्न थाल्यो भने हाम्रो विश्‍वासको जाँच हुन सक्छ। त्यसकारण झूटा शिक्षाको बहकाउमा परेर आफ्नो आशाबाट तर्किएर नजान होसियार हुनु नितान्त आवश्‍यक छ।—कलस्सी १:२३; हिब्रू १३:९.

यहोवाको प्रतिज्ञामा विश्‍वास गुमाएको कारण नाश भएका इस्राएलीहरूको खराब उदाहरण हाम्रोलागि चेतावनी हुनुपर्ने हो। (भजन ७८:३७) तिनीहरूजस्तो हुनुको साटो हामी स्थिर हुँदै यस आखिरी दिनमा अविलम्बी भावसहित परमेश्‍वरको सेवा गरिरहौं। “परमेश्‍वरको महान्‌ दिन भोलि नै आउँछ जस्तै गरी म प्रत्येक दिन जिउँछु” भनी एक जना अनुभवी प्राचीनले बताए।—योएल १:१५.

हो, यहोवाको महान्‌ दिन एकदमै नजिकै छ। तथापि, परमेश्‍वरको नजिक रहुन्जेल हामी डराउनुपर्ने केही कारण छैन। दृढ भई हामीले उहाँको धार्मिक स्तर पछ्यायौं र स्थिर रह्‍यौं भने अनन्त जीवनको दौडमा सफल हुन सक्छौं!—हितोपदेश ११:१९; १ तिमोथी ६:१२, १७-१९.

[पृष्ठ २३-मा भएको चित्र]

सँगी विश्‍वासीहरूलाई स्थिर रहने मदत दिन के तपाईंले यथासक्दो गरिरहनुभएको छ?

[पृष्ठ २१-मा भएको चित्रको स्रोत]

The Complete Encyclopedia of Illustration/J. G. Heck