सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तुलना गर्नै नसकिने आनन्द!

तुलना गर्नै नसकिने आनन्द!

जीवनी

तुलना गर्नै नसकिने आनन्द!

रेजिनाल्ड वलवर्कको वृत्तान्तमा आधारित

“हामीले पूर्ण-समय मिसनरी सेवामा लागेर यहोवाको सेवामा पाएको आनन्द यस संसारको अन्य कुनै कुरासित तुलना गर्नै सकिंदैन!” मे १९९४ मा मेरी श्रीमतीको मृत्युको केही समयपछि तिनको व्यक्‍तिगत कागजातहरूमध्ये उक्‍त कुरा लेखिएको एउटा कागत पनि मैले भेट्टाएको थिएँ।

आइरिनका शब्दहरूलाई विचार गर्दा पेरूमा ३७ वर्ष मिसनरीको रूपमा बिताएको सन्तोषदायी जीवनको सम्झना आउँछ। सन्‌ १९४२ डिसेम्बर महिनामा हाम्रो बिहेको दिनदेखि नै हामीले अनमोल मसीही साझेदारीको आनन्द उठायौं र यहींदेखि मेरो जीवनी तपाईंहरूलाई सुनाउनु उपयुक्‍त होला।

आइरिन इंग्ल्याण्डको लिभरपुल भन्‍ने ठाउँमा यहोवाका साक्षीको परिवारमै हुर्केकी थिइन्‌। उनका तीन जना दिदीबहिनी थिए र प्रथम विश्‍वयुद्धमा उनको बुबाको मृत्यु भयो। पछि, उनकी आमाले विन्टन फ्रेजरसँग पुनर्विवाह गर्नुभयो र उहाँहरूको सिड्‌नी नाउँ गरेको छोरा जन्मियो। दोस्रो विश्‍वयुद्ध सुरु हुनुभन्दा अलिकअघि उनीहरूको परिवार ब्यांगर, नर्थ वेल्समा बसाइँ सऱ्‍यो र आइरिनले १९३९ मा त्यहीं नै बप्तिस्मा लिएकी थिइन्‌। सिड्‌नीले त्यसको एक वर्षअघि बप्तिस्मा लिएका थिए, त्यसैले तिनी र आइरिनले सँगै अग्रगामी—पूर्ण-समय सुसमाचारकको रूपमा वेल्सको उत्तरी किनार अथवा आंगलेसीको टापुलगायत ब्यांगरदेखि केरनार्भनसम्म सेवा गरे।

त्यतिबेला म लिभरपुलभन्दा २० किलोमिटर दक्षिणपूर्वमा पर्ने रनकर्न मण्डलीमा अध्यक्षको हैसियतमा सेवा गर्दै थिएँ। एउटा क्षेत्रीय सम्मेलनमा आइरिनले प्रचार गर्ने इलाकाहरूमध्ये कुनै इलाका पाउन सकिन्छ कि भनेर मलाई सोधिन्‌ किनभने उनी आफ्नो विवाहिता दिदी भेरासँग रनर्कनमा बस्न जाँदै थिइन्‌।हामीसँग रहेको दुई हप्तामा आइरिन र मेरो राम्रो सम्बन्ध कायम भयो अनि पछि थुप्रै चोटि मैले उनलाई ब्यांगरमा भेट्‌न गएँ। एउटा सप्ताहन्तमा मैले राखेको विवाहको प्रस्ताव उनले स्वीकार्दा म कत्ति खुसी भएँ!

आइतबारको दिन घर फर्केपछि मैले तुरुन्तै विवाहको लागि योजनाहरू बनाउन थालें तर मंगलबारको दिन मैले एउटा टेलिग्राम प्राप्त गरें। त्यसमा यसो भनिएको थियो: “यो टेलिग्राम पढेपछि तपाईंको चित्त दुख्छ होला। कृपया मलाई माफ गरिदिनुहोस्‌। म हाम्रो विवाहलाई रद्द गर्दैछु। पछि चिठी पाउनुहुनेछ।” म त स्तब्ध भएँ। कुरा कहाँ बिग्रियो?

अर्को दिन मैले आइरिनको पत्र पाएँ। उनले आफू योर्कशायरको हर्सफोर्ट भन्‍ने ठाउँमा हिल्डा पाजेटसँग अग्रगामी गर्न जान लागेको कुरा बताइन्‌। a एक वर्षअघि, सोधिएको खण्डमा आवश्‍यकता बढी भएको ठाउँमा सेवा गर्न उनी राजी भएकी थिइन्‌। उनले यस्तो लेखेकी थिइन्‌: “यो मेरो लागि यहोवासँग गरेको भाकल जस्तै हो र मैले तपाईंलाई चिन्‍नुभन्दा अघि यो प्रतिज्ञा गरेकी हुँदा म यसलाई तोड्‌न सक्दिनँ।” मलाई साह्रै दुःख लागे तापनि म उनको निष्ठा देखेर प्रभावित भएँ र यस्तो टेलिग्राम पठाएँ: “जाऊ। म तिमीलाई कुर्नेछु।”

योर्कशायरमा छँदा आफ्नो धार्मिक विश्‍वासको कारण युद्धलाई समर्थन नगरेकीले आइरिनले तीन महिना जेल सजाय पाइन्‌। तर १८ महिनापछि डिसेम्बर १९४२ मा हामीले विवाह गऱ्‍यौं।

मेरो बाल्यकाल

मेरी आमाले १९१९ मा स्टडीज इन द स्क्रिप्चर्स भन्‍ने पुस्तकको सबै खण्ड किन्‍नुभएको थियो। b मेरो बुबाले भन्‍नुभएझैं त्यतिबेलासम्म आमाले एउटा पनि किताब पढ्‌नुभएको थिएन तापनि यी खण्डहरू आफ्नो बाइबलसँगै ध्यान दिएर पढ्‌न आमा तम्सिनुभयो। उहाँले साँच्चै पढ्‌नुभयो र १९२० मा बप्तिस्मा लिनुभयो।

मेरो बुबा लचिलो स्वभावको हुनुहुन्थ्यो। त्यसैले उहाँले आमालाई इच्छा लागेको कुनै कुरा गर्नदेखि रोक लगाउनुभएन र हामी चार जना छोराछोरी—मेरा दुई दिदीहरू, ग्वेन र आइभी अनि मेरो दाइ आलेक्स र मलाई सत्यको मार्गमा हुर्काउने अनुमति दिनुभयो। लिभरपुलका स्टान्ली रजर्स र अन्य विश्‍वासी साक्षीहरू रनकर्नमा बाइबल शिक्षा दिन आउँथे र त्यहाँ चाँडै एउटा नयाँ मण्डली स्थापना भयो। मण्डलीसँगसँगै हाम्रो परिवारको पनि आध्यात्मिक उन्‍नति भयो।

ग्वेन त्यतिबेला चर्च अफ इंग्ल्याण्डको पूर्ण-सदस्य हुन पढिरहेकी थिइन्‌ तर आमासँगसँगै बाइबल अध्ययन गर्न थालेपछि त्यहाँ पढ्‌न छोडिन्‌। उनी पढ्‌न नआउनुको कारण बुझ्न पादरी हाम्रो घरमा आउँदा तिनीमाथि एक पछि अर्को प्रश्‍न सोध्दा ती पादरी वाल्ल परे। ग्वेनले प्रभुको प्रार्थनाको अर्थ सोधिन्‌ र उल्टै पादरीलाई अर्थ बताइदिइन्‌! उनले अन्तमा १ कोरिन्थी १०:२१ उद्धृत गरिन्‌ र ‘दुवै टेबलबाट खान’ नसक्ने कुरा स्पष्ट पारिन्‌। पादरी हाम्रो घरबाट निस्कँदा तिनले ग्वेनको लागि प्रार्थना गरिदिने र उनका प्रश्‍नहरूको जवाफ दिन फर्कने कुरा बताए तर तिनी कहिल्यै फर्केनन्‌। ग्वेनले बप्तिस्मा लिने बित्तिकै पूर्ण-समय सुसमाचारकको काम थालिन्‌।

हाम्रो मण्डलीमा जवानहरूप्रति देखाइएको ध्यान उदाहरणीय थियो। म सात वर्षको हुँदा एक जना अतिथि प्राचीनले दिनुभएको भाषण मलाई अझै याद छ। भाषणपछि उहाँ मसँग कुरा गर्न आउनुभएको थियो। अब्राहाम र तिनले आफ्नो छोरा इसहाकको बलि चढाउन लागेको विवरण पढिरहेका कुरा मैले उहाँलाई बताएँ। अनि उहाँले मलाई यसो भन्‍नुभयो, “जाऊ मञ्चमा उभिएर मलाई पूरै सुनाऊ।” मञ्चको छेउमा उभिएर पहिलो “जनभाषण” दिंदा म कत्ति हर्षित भएको थिएँ!

पन्ध्र वर्षको उमेरमा १९३१ मा मैले बप्तिस्मा लिएकै वर्ष मेरी आमाको पनि मृत्यु भयो अनि मैले स्कूलको पढाइ छोडेर इलेक्ट्रिसियनको तालिम लिन थालें। सन्‌ १९३६ मा बाइबल भाषणहरू सार्वजनिक स्थानहरूमा बजाइन्थ्यो र एक जना वृद्ध बहिनीले मेरो दाइ र मलाई यस कार्यमा व्यस्त हुन प्रोत्साहन दिनुभयो। त्यसैले साइकल किन्‍न आलेक्स र म लिभरपुल गयौं र हाम्रो ट्रास्क्रिपसन मेसिन राख्न मिल्ने गरी पांग्रा भएको एउटा क्यारिज पनि बनायौं। हामीले त्यो क्यारिजको पछाडितिर छ फिट अग्लो टेलिस्कोपिक ट्युबमा लाउडस्पिकर जडान गऱ्‍यौं। मिस्त्रीले यसअघि यस्तो सामान कहिल्यै बनाएको थिइँन भनी बताए तर सबै कुरा राम्रै चल्यो! ती बहिनीको प्रोत्साहन र हामीमाथि सुम्पिएको सुअवसरहरूको लागि कृतज्ञ हुँदै जोसका साथ हामीले आफ्नो पूरै इलाकामा प्रचार गऱ्‍यौं।

दोस्रो विश्‍वयुद्ध—परीक्षाको समय

युद्धका बादलहरू मडारिंदै गर्दा स्टान्ली रजर्स र मचाहिं लण्डनको रोयल अल्बर्ट हलमा सेप्टेम्बर ११, १९३८ मा आयोजना हुने “तथ्यहरूको सामना गर्नुहोस्‌” भन्‍ने जनभाषणको प्रचारप्रसार गर्न व्यस्त थियौं। पछि मैले यही भाषणको विषयवस्तु पुस्तिकाको रूपमा र त्यसको अर्को वर्ष प्रकाशित फासिज्म अर फ्रिडम पुस्तिका वितरण गर्ने काममा भाग लिएको थिएँ। दुवै पुस्तिकाले जर्मनीमा हिटलरको तानाशाही मनोवृत्ति पर्दाफास गऱ्‍यो। यतिबेलासम्म रनकर्नमा मेरो जन सेवकाईको लागि म प्रख्यात भइसकेको थिएँ र मानिसहरूले मेरो आदर गर्थे। ईश्‍वरतान्त्रिक गतिविधिमा सधैं सक्रिय भएकोले पछि पनि म अरूको निम्ति मदतकारी हुन सकें।

मैले काम गर्ने कम्पनीले शहरको बाहिरी भागमा रहेको एउटा नयाँ कारखानामा बिजुलीको तार राख्ने ठेक्का पाएको थियो। त्यो कारखाना युद्धका हतियारहरू बनाउने कारखाना हुनेछ भनी थाह पाएपछि मैले आफू त्यहाँ काम गर्न नसक्ने कुरा स्पष्ट पारें। यो कुरा सुनेर कम्पनीका मालिकहरू खुसी नभए तापनि हाम्रो समूहको हाकिमले मेरो पक्षमा बोलिदिए र मलाई अर्को काम दिइयो। पछि, तिनको एक जना अन्टी पनि यहोवाका साक्षी भएको कुरा मैले थाह पाएँ।

एक जना सहकर्मीको कुराबाट म असाध्यै प्रोत्साहित भएँ: “रेग, तिमीबाट हामी केही आशा गर्दैनौं किनभने तिमीले बाइबल काममा यति धेरै समय बिताइसक्यौ।” यद्यपि, म सतर्क हुनुपर्थ्यो किनभने मेरा थुप्रै सहकर्मीहरू मलाई समस्यामा फसाउन चाहन्थे।

धार्मिक विश्‍वासको कारण युद्धमा भाग नलिने भनी मैले दिएको आवेदन लिभरपुलको अदालतले जून १९४० मा स्वीकाऱ्‍यो तर मैले अहिलेको काम छोड्‌न नपाउने शर्त राखिएको थियो। निस्सन्देह, यसले मलाई मसीही सेवकाईमा लागिरहन मदत गऱ्‍यो।

पूर्ण-समय सेवामा

युद्धको अन्त भएपछि मैले आफ्नो जागिर छोडेर पूर्ण-समय सेवकाईमा आइरिनलाई साथ दिने निर्णय गरें। सन्‌ १९४६ मा मैले पाँच मिटर लामो ट्रेलर बनाएँ र त्यही नै हाम्रो घर भयो। अनि त्यसपछिको वर्ष हामीलाई ग्लाउचेस्टरशायरको आल्भेस्टन भन्‍ने गाउँमा सर्न आग्रह गरियो। त्यसपछि हामीले पुरानो शहर सिरेनसेन्टर र बाथमा अग्रगामी गऱ्‍यौं। सन्‌ १९५१ मा मलाई वेल्सको दक्षिणी भागका मण्डलीहरूमा परिभ्रमण निरीक्षकको रूपमा भ्रमण गर्न बोलाइयो र त्यसको दुई वर्ष नबित्दै हामी मिसनरी प्रशिक्षणको लागि वाचटावर बाइबल स्कूल अफ गिलियडतिर लाग्यौं।

स्कूलको २१ औं कक्षा न्यु योर्क शहरको उत्तरी भाग साउथ लान्सिङमा सञ्चालन भयो र १९५३ मा न्यु योर्क शहरमा आयोजित नयाँ विश्‍व समाज सम्मेलनबाट हामी स्नातक भयौं। हामीलाई कहाँ खटाइनेछ भनेर आइरिन र मलाई स्नातकको दिनसम्म थाह थिएन। हाम्रो गन्तव्यस्थान पेरू हुनेछ भनी थाह पाउँदा हामी कत्ति रोमाञ्चित भयौं। किन? किनभने आइरिनको सौतेनी भाइ सिड्‌नी फ्रेजर र तिनकी पत्नी मार्गरेट, गिलियडको १९ औं कक्षाबाट स्नातक भएपछि लिमा शाखा कार्यालयमा सेवा गरिरहेको एक वर्षभन्दा बढी भइसकेको थियो!

भिसा नपाउन्जेल हामीले केही समय ब्रूकलिन बेथलमा बितायौं तर हामी चाँडै लिमातिर लाग्यौं। हाम्रो दसवटा मिसनरी असाइनमेन्टमध्ये पहिलोचाहिं लिमाको ठीक पश्‍चिममा पर्ने पेरूको मुख्य बन्दरगाह शहर कालाओ थियो। हामीले स्पेनी भाषा अलिअलि सिकेका थियौं तर आइरिन र म यो भाषामा फर्रर कुरा गर्न सक्दैनथ्यौं। हामीले आफ्नो काम कसरी गर्ने?

प्रचारकार्यका समस्या र सुअवसरहरू

गिलियडमा हुँदा हामीलाई आमाले आफ्नो बच्चालाई भाषा सिकाउँदैन बरु बच्चाले आमाले कुरा गरेको सुनेपछि सिक्छ भनेर सिकाइएको थियो। त्यसकारण हामीलाई यस्तो सल्लाह दिइएको थियो: “तुरुन्तै प्रचारकार्यमा निस्कनु र स्थानीय मानिसहरूबाट भाषा सिक्नु। यसले तिमीहरूलाई मदत गर्नेछ।” बल्लतल्ल यो भाषा अलिअलि गर्दै सिक्दै गर्दा हामी पुगेको दुई हप्तामै मलाई कलाओ मण्डलीको अध्यक्ष नियुक्‍त गर्दा मेरो हालत कस्तो भयो होला कल्पना गर्नुहोस्‌ न! म सिड्‌नी फ्रेजरलाई भेट्‌न गएँ तर तिनको सल्लाह पनि गिलियडमा दिइएको जस्तै थियो—मण्डली र आफ्नो इलाकाका मानिसहरूसँग घुलमिल हुनु। मैले यो सल्लाह पालन गर्ने संकल्प गरें।

एक शनिबार बिहान एक जना सिकर्मी आफ्नो पसलमा काम गरिरहेको मैले भेट्टाएँ। तिनले भने, “मैले अहिले काम छोड्‌न मिल्दैन तर कृपया बसेर मसँग कुरा गर्नुहोस्‌।” तर मैले तिनीसँग एउटा शर्त राखें: “मैले गल्ती गरें भने कृपया मलाई सच्याउनुहोस्‌ है। म नराम्रो मान्दिनँ।” तिनी हाँसे र मेरो आग्रह स्वीकारे। म तिनीकहाँ हप्ताको दुई चोटि जान्थें र भाषा सिक्ने यो एउटा एकदमै राम्रो तरिका जस्तो लाग्यो अनि मलाई अरूले सल्लाह दिएझैं भयो।

संयोगवश हाम्रो दोस्रो मिसनरी कार्यभार इलाकामा मैले अर्को सिकर्मीलाई भेटें र तिनलाई मैले कालाओमा गरेको प्रबन्धबारे बताएँ। तिनी पनि मलाई त्यसरी नै मदत गर्न राजी भए। यसरी स्पेनी भाषामा मैले राम्रो प्रगति गर्न सकें तर यसमा दखल हुन चाहिं मलाई तीन वर्ष लाग्यो। यी मानिस सधैं व्यस्त हुन्थे तर शास्त्रपदहरू पढेर त्यसको अर्थ बुझाउँदै मैले तिनीसँग बाइबल अध्ययन सञ्चालन गरें। एउटा हप्ता म तिनलाई भेट्‌न जाँदा तिनी नयाँ कामको लागि लिमा गइसकेको कुरा तिनको मालिकले बताए। केही समयपछि आइरिन र म लिमामा अधिवेशनको लागि जाँदा मैले यो मानिसलाई फेरि भेटें। तिनले आफ्नो अध्ययन चालू राख्न स्थानीय साक्षीहरूसित सम्पर्क गरेको र तिनी अनि तिनको परिवार यहोवाको समर्पित सेवक भएको थाह पाउँदा म कत्ति हर्षित भएँ!

एउटा मण्डलीमा एक जवान जोडीले विवाह नगरेको तर बप्तिस्मा लिइसकेको कुरा थाह पायौं। तिनीहरूसँग हामीले धर्मशास्त्रीय सिद्धान्तहरू छलफल गर्दै जाँदा तिनीहरूले आफ्नो बन्धनलाई कानुनी रूप दिने निर्णय गरे जसले गर्दा तिनीहरू बप्तिस्मा प्राप्त साक्षीहरू हुन योग्य हुने थिए। त्यसैले तिनीहरूको विवाहदर्ता गर्न तिनीहरूलाई नगर कार्यालयमा लैजाने प्रबन्ध मैले मिलाएँ। तर एउटा समस्या खडा भयो किनभने तिनीहरूका चार छोराछोरी थिए र तिनीहरूले जन्मदर्ता गरेका थिएनन्‌ जुन एउटा कानुनी आवश्‍यकता थियो। नगरप्रमुखले अब के गर्छन्‌ होला भनेर हामीले सोचिरहेका थियौं। नगरप्रमुखले यसो भने, “तपाईंका असल मित्रहरू यी यहोवाका साक्षीहरूले तपाईंहरूको विवाहदर्ता गराउने प्रबन्ध मिलाएको हुँदा तपाईंहरूमाथि कुनै कानुनी कारबाही गर्दिन र बच्चाहरूको जन्मदर्ता पनि निश्‍शुल्क गरिदिनेछु।” हामी कत्ति कृतज्ञ भयौं किनभने यो परिवार गरिब थियो र जरिवाना तिर्न परेको भए तिनीहरूमाथि साह्रै ठूलो भार पर्ने थियो!

पछि यहोवाका साक्षीहरूको ब्रूकलिन मुख्यालयबाट अल्बर्ट डि. श्रोडर आउनुभयो र उहाँले हामीलाई लिमाको अर्को ठाउँमा नयाँ मिसनरी घर स्थापना गर्ने सुझाव दिनुभयो। त्यसैले आइरिन र म अनि संयुक्‍त राज्य अमेरिकाबाट आएका दुई जना बहिनीहरू र क्यानाडाको एक दम्पती सान बोर्हा जिल्लामा सऱ्‍यौं। दुई तीन वर्षभित्र त्यहाँ अर्को मण्डली फस्टाइरहेको थियो।

तीन हजार मिटर अग्लो मध्य उच्चस्थल वानकायोमा सेवा गर्दा हामीले त्यहाँ ८० जना साक्षीहरू भएको मण्डलीसित संगत गऱ्‍यौं। त्यहाँ छँदा उक्‍त देशको दोस्रो राज्यभवन निर्माणकार्यमा म संलग्न भएँ। हामीले किनेको जग्गाको हकदाबी गर्न अदालतमा तीन चोटि जानु पऱ्‍यो र म यहोवाका साक्षीहरूको कानुनी प्रतिनिधिको रूपमा नियुक्‍त भएँ। त्यस्ता कार्यका साथै सुरुका वर्षहरूमा थुप्रै विश्‍वासी मिसनरीहरूले गरेको बृहत्‌ चेला बनाउने कार्यले पेरूमा भावी उन्‍नतिको लागि बलियो जग बसाल्यो। सन्‌ १९५३ मा २८३ प्रकाशकहरू थिए भने अहिले ८३,००० भन्दा बढी भएको छ।

दुःखद बिछोड

सबै मिसनरी घरहरूमा सँगी मिसनरीहरूसँग हामीले सुमधुर सम्बन्धको आनन्द उठाउन सक्यौं र प्रायजसो मैले आवास निरीक्षकको रूपमा सेवा गर्ने सुअवसर पाएँ। हरेक सोमबार बिहान हामी त्यस हप्ताको गतिविधिबारे छलफल गर्न र सबैलाई घरको काम बाँडफाँड गर्न भेला हुन्थ्यौं। तर मुख्य कुरा प्रचारकार्य नै हो भनेर सबैले बुझेका थियौं र यसको लागि सबैले मिलिजुली काम गऱ्‍यौं। खुसीको कुरा, कुनै पनि मिसनरी घरहरूमा खास मतभिन्‍नताको सामना गर्नुपरेन।

हाम्रो अन्तिम असाइनमेन्ट लिमाको अर्को भाग ब्रेनामा थियो। सत्तरी जना साक्षीहरूको प्यारो मण्डलीमा वृद्धि भएर चाँडै १०० जना पुग्यो अनि पालोमिनियामा अर्को मण्डली स्थापना भयो। यसैबेलातिर आइरिन बिरामी भइन्‌। उनले कहिलेकाहीं आफैंले भनेका कुरा बिर्सने गरेको मैले याद गर्न थालें र अरू कुनै बेलाचाहिं उनी घर फर्कने बाटो बिर्सन्थिन्‌। उनले राम्रो स्वास्थ्य सेवा पाए तापनि उनको अवस्था बिग्रन थाल्यो।

दुःखको कुरा, मैले १९९० मा इंग्ल्याण्ड फर्कने प्रबन्ध मिलाउनुपऱ्‍यो जहाँ मेरी दिदी आइभीले हामीलाई उहाँसँगै बस्न निम्तो दिनुभयो। त्यसको चार वर्षपछि ८१ वर्षको उमेरमा आइरिनको मृत्यु भयो। म अझै पूर्ण-समय सेवकाई गर्दैछु र मेरो गृह नगरसँगैको तीनवटा मण्डलीमध्ये एउटामा प्राचीनको हैसियतमा सेवा गर्छु। कहिलेकाहीं चाहिं म मानचेस्टरमा गएर त्यहाँको स्पेनी समूहलाई प्रोत्साहन दिन्छु।

हालै मैले एउटा हृदयस्पर्शी अनुभव गरें जुन दशकौंअघि सुरु भएको थियो जति बेला मैले फोनोग्राफ बजाएर घरधनीहरूलाई पाँच मिनेट लामो भाषण सुनाउँथे। एउटा घरमा एउटी सानी बच्ची आफ्नी आमाको पछाडि उभिएर सन्देश सुनिरहेका दृश्‍य मेरो दिमागमा अझसम्म ताजै छ।

पछि, यी केटी क्यानाडामा बसाइँ सरिन्‌ तर पत्रमार्फत रनकर्नमा रहेको एक जना साथीसित तिनको अझै सम्पर्क थियो र ती साथी एक जना साक्षी थिइन्‌। हालसालै दुई जना साक्षीहरू तिनको घरमा आएको र तिनलाई ती साक्षीहरूले चलाएको अभिव्यक्‍तिले अचानक त्यो पाँच मिनेटको सन्देशको सम्झना गराएको कुरा तिनले लेखिन्‌। सत्य यही हो भनी बुझेर तिनी अहिले यहोवाको समर्पित सेवक भएकी छिन्‌ र ६० वर्षअघि तिनकी आमाको घरमा आएको त्यो जवान मानिसलाई धन्यवाद भनिदिन आग्रह गरेकी थिइन्‌! साँच्चै, सत्यको बीउ कसरी छरिन्छ र बढ्‌छ हामीलाई थाह छैन।—उपदेशक ११:६.

हो, यहोवाको अनमोल सेवामा बिताएको अतीतका दिनहरूलाई सम्झँदा मेरो मन कृतज्ञताले भरिन्छ। सन्‌ १९३१ मा समर्पण गरेदेखि मैले यहोवाका साक्षीहरूको सम्मेलन कहिल्यै छुटाएको छैन। आइरिन र मेरो आफ्नै कुनै छोराछोरी नभए तापनि आध्यात्मिक अर्थमा स्वर्गमा हुनुहुने हाम्रो पिता यहोवाको सेवा गरिरहेका १५० जना भन्दा बढी छोराछोरी पाएकोमा म खुसी छु। मेरी प्यारी पत्नीले भनेझैं हामीले आफ्नो सेवामा पाएका आनन्दहरू साँच्चै अतुलनीय छन्‌।

[फुटनोटहरू]

a प्रहरीधरहरा अक्टोबर १, १९९५ को पृष्ठ १९-२४ मा “आमाबाबुको पदचिन्हलाई पछ्याउँदै” भन्‍ने शीर्षक भएको हिल्डा पाजेटको जीवनी प्रकाशित भएको थियो।

b यहोवाका साक्षीहरूद्वारा प्रकाशित।

[पृष्ठ २४-मा भएको चित्र]

आमा, सन्‌ १९०० को सुरुतिर

[पृष्ठ २४, २५-मा भएको चित्र]

बायाँ: इंग्ल्याण्डको लिड्‌समा हिल्डा पाजेट, म, आइरिन र जोयस रोले, १९४०

[पृष्ठ २५-मा भएको चित्र]

माथि: हाम्रो ट्रेलर घरअगाडि आइरिन र म

[पृष्ठ २७-मा भएको चित्र]

वेल्सको कार्डिफमा जनभाषणको विज्ञापन गर्दै, १९५२