“नडराऊ, नता आत्तियौ”
“नडराऊ, नता आत्तियौ”
“नडराऊ, नता आत्तियौ। . . . परमप्रभु तिमीहरूतर्फ हुनुहुन्छ।”—२ इतिहास २०:१७.
१. आतंकवादले मानिसहरूमा कस्तो असर पार्छ र तिनीहरू डराउनुको कारण किन बुझ्न सकिन्छ?
आतंकवाद! यो शब्द सुन्दा मात्र पनि असुरक्षा र निस्सहायको भाव पैदा हुन्छ अनि डरले मुटु काम्न थाल्छ। यसले डर, शोक र रिसको मिश्रित भाव जगाउँछ। अनि आतंकवादले मानिसजातिलाई वर्षौंसम्म पिरोलिरहनेछ भनेर थुप्रै मानिसहरू डराउँछन्। कुनै-कुनै देशले दशकौंदेखि विभिन्न किसिमका आतंकवादसँग संघर्ष गरिरहेको भए तापनि सीमित सफलता मात्र हात लागेको वास्तविकतालाई विचार गर्दा यस्तो डर सृजना हुनुको कारण बुझ्न सकिन्छ।
२. आतंकवादको समस्याप्रति यहोवाका साक्षीहरू कस्तो प्रतिक्रिया देखाउँछन् र कस्ता प्रश्नहरू खडा हुन्छन्?
२ तर आशाको एउटा भरपर्दो कारण छ। पृथ्वीका २३४ मुलक तथा इलाकामा सक्रियतासाथ प्रचार गरिरहेका यहोवाका साक्षीहरू भने अत्यन्तै आशावादी छन्। आतंकवाद कहिल्यै निर्मूल हुनेछैन भनेर डराउनुको सट्टा चाँडै यसको अन्त हुन्छ भन्ने कुरामा तिनीहरू विश्वस्त छन्। के तिनीहरूजस्तै आशावादी हुनु व्यावहारिक हो? संसारलाई यस क्रूरताबाट मुक्त गर्न सक्ने को छ अनि त्यो कसरी हुनेछ? हामी सबैलाई कुनै न कुनै प्रकारको हिंसाले असर गरेको हुनाले यस्तो आशावादी मनोवृत्ति राख्न सक्नुको कारण जाँच्नु बेस हुनेछ।
३. डरका कस्ता कारणहरू छन् र हाम्रो समयबारे कस्तो अग्रिमवाणी गरिएको छ?
३ आज थुप्रै कारणले गर्दा मानिसहरू डराएका र आत्तिएका छन्। वृद्धावस्थाको कारण अरूको सहारा चाहिने, निको नहुने रोगको कारण कमजोर हुँदै गइरहेका र हातमुख जोर्न आर्थिक तवरमा संघर्ष गरिरहेका असंख्य मानिसहरूबारे विचार गर्नुहोस्। साँच्चै भन्ने हो भने, जीवनको अनिश्चिततालाई नै विचार गर्नुहोस् न! दुर्घटना वा विपत्तिको कारण हामीमध्ये कसैको पनि अकस्मात् मृत्यु हुन सक्छ र यो मृत्युले हाम्रो प्रिय वस्तु हामीबाट खोस्छ। यस्तो डर तथा चिन्ताका साथै असंख्य व्यक्तिगत द्वन्द्व तथा निराशाहरूले हाम्रो समयलाई प्रेरित पावलले वर्णन गरेको जस्तै बनाएको छ: “यो जान, कि आखिरी दिनमा डरलाग्दो समय आउनेछ। किनभने मानिसहरू स्वार्थी, . . . स्वाभाविक प्रेम रहितका, खुशी नहुने, अर्कालाई दोष लाउने, असंयमी, निष्ठूर, असल नरूचाउने [हुनेछन् ]।”—२ तिमोथी ३:१-३.
४. दोस्रो तिमोथी ३:१-३ ले चित्रण गरेको अन्धकारमय अवस्थामा कस्तो सकारात्मक पक्ष पाइन्छ?
४ यस शास्त्रपदले अन्धकारमय अवस्थाको चित्रण गरे तापनि आशाको किरण दिन्छ। याद गर्नुहोस्, यी डरलाग्दा समयहरू शैतानको वर्तमान दुष्ट रीतिरिवाजको “आखिरी दिनमा” हुनेछन्। यसको अर्थ छुटकारा नजिकै छ र दुष्ट संसारको बदलामा येशूले आफ्ना अनुयायीहरूलाई प्रार्थना गर्न सिकाउनुभएको परमेश्वरको सिद्ध राज्य चाँडै खडा हुनेछ। (मत्ती ६:९, १०) त्यो राज्य परमेश्वरको स्वर्गीय सरकार हो “जो कहिल्यै नाश हुनेछैन” तर अगमवक्ता दानियलले बताएझैं “त्यसले यी सबै [मानव] राज्यहरूलाई चक्नाचूर पार्नेछ, र तिनीहरूको अन्त गरिदिनेछ। तर यो राज्य चाहिं सदा सर्वदै रहिरहनेछ।”—दानियल २:४४.
मसीही तटस्थता र आतंकवाद
५. आतंकवादको त्रासप्रति राष्ट्रहरूले हालै कस्तो प्रतिक्रिया देखाएका छन्?
५ आतंकवादले दशकौंको दौडान हजारौंको ज्यान लिएको छ। सेप्टेम्बर ११, २००१ मा न्यु योर्क तथा वासिङटन डि. सि.-मा भएका आक्रमणहरूपछि यस खतराबारे संसार अझ बढी सजग भयो। आतंकवादमा भएको विश्वव्यापी वृद्धिलाई विचार गर्दै यसको विरुद्ध संघर्ष गर्न संसारभरिका राष्ट्रहरू तत्कालै एकजूट भए। उदाहरणका लागि, यस प्रयत्नमा हातेमालो गर्न तयार पारिएको योजनामा डिसेम्बर ४, २००१ को दिन “युरोप, उत्तर अमेरिका तथा मध्य-एसियाका ५५ वटा देशका विदेश मन्त्रीहरूले सहमति जनाएको” कुरा सञ्चार माध्यमहरूले बताए। एक जना उच्च अमेरिकी अधिकारीले यस कदमलाई आतंकवाद विरुद्धको प्रयत्नमा “नयाँ शक्ति” भन्दै यसको प्रशंसा गरे। द न्यु योर्क टाइम्स म्याग्जिन-ले लेखेझैं करोडौं मानिसहरू “ऐतिहासिक युद्धको सुरुवात्” भनी नामाकरण गरिएको द्वन्द्वमा अचानक मुछिन पुगे। यस्ता प्रयत्नहरू कत्तिको सफल हुन्छन्, त्यो त हेर्न बाँकी नै छ। तथापि, आतंक विरुद्धको यस्तो लडाइँले यहोवामा भरोसा नगर्ने थुप्रै व्यक्तिहरूको मनमा डर तथा चिन्ताको भाव उब्जाइदिएको छ।
६. (क) कसै-कसैलाई यहोवाका साक्षीहरूले लिएको मसीही तटस्थताको अडान स्वीकार्न कहिलेकाहीं किन गाह्रो हुन सक्छ? (ख) राजनैतिक क्रियाकलापको सन्दर्भमा येशूले आफ्ना अनुयायीहरूका लागि कस्तो उदाहरण बसाल्नुभयो?
६ यहोवाका साक्षीहरू तिनीहरूको राजनैतिक तटस्थताको लागि चिरपरिचित छन्। शान्ति छाएको समयमा अधिकांश व्यक्तिहरू यो अडान स्वीकार्न इच्छुक होलान् तर असामान्य परिस्थिति खडा हुँदा भने तिनीहरू सहनशील रहन सक्दैनन्। युद्धको कारण हुने डर तथा अनिश्चितताले अक्सर राष्ट्रियताको गहिरो भावना उत्पन्न गराउँछ। त्यसकारण कोही-कोहीले प्रख्यात राष्ट्रिय अभियानहरूको समर्थन किन गर्दैनन् भनेर बुझ्न गाह्रो हुन सक्छ। तथापि, ‘संसारको भाग नहुनू’ भन्ने येशूको आज्ञा पालन गर्नुपर्छ भन्ने कुरा साँचो मसीहीहरूलाई थाह छ। (यूहन्ना १५:१९; १७:१४-१६; १८:३६; याकूब ४:४) यसको लागि तिनीहरू राजनैतिक वा सामाजिक मामिलाहरूमा तटस्थ रहनुपर्छ। यस सन्दर्भमा येशू आफैले राम्रो उदाहरण बसाल्नुभयो। उहाँको सिद्ध बुद्धि र अतुलनीय क्षमतालाई विचार गर्ने हो भने, उहाँले आफ्नो समयका मानव मामिलाहरूमा राम्रो योगदान पुऱ्याउन सक्नुहुन्थ्यो। तैपनि उहाँ राजनीतिमा नमुछिएर टाढै बस्नुभयो। आफ्नो सेवकाईको सुरुमा उहाँले संसारका सारा राज्यहरूमाथि शासन गर्ने शैतानको प्रस्तावलाई दृढतासाथ इन्कार गर्नुभयो। पछि, जबरजस्ती राजनैतिक पदभार ग्रहण गर्न लगाउन खोज्दा उहाँले ठाडै नकार्नुभयो।—मत्ती ४:८-१०; यूहन्ना ६:१४, १५.
७, ८. (क) यहोवाका साक्षीहरूको राजनैतिक तटस्थताको अर्थ के होइन र किन? (ख) रोमी १३:१, २ ले कसरी सरकार विरुद्धका हिंसात्मक क्रियाकलापहरूमा भाग लिने कुनै आधार दिंदैन?
७ यहोवाका साक्षीहरूले लिएको तटस्थ अडानको कारण तिनीहरूले हिंसात्मक कार्यहरूलाई समर्थन गर्छन् वा बेवास्ता गर्छन् भन्ठान्नु हुँदैन। तिनीहरूले त्यसो गर्नु भनेको आफू “प्रेम र शान्तिका परमेश्वर[का]” सेवकहरू हौं भनी गरेको दाबीको विपरीत हुनेछ। (२ कोरिन्थी १३:११) हिंसाबारे यहोवाले कस्तो महसुस गर्नुहुन्छ भन्ने कुरा तिनीहरूले सिकेका छन्। भजनहारले यस्तो लेखे: “परमप्रभुले धर्मात्माको परीक्षा गर्नुहुन्छ, तर दुष्ट र अत्याचार निको मान्नेलाई उहाँको आत्माले घृणा गर्छ।” (भजन ११:५) येशूले प्रेरित पत्रुसलाई भन्नुभएको कुराबारे पनि तिनीहरू सजग छन्: “तिम्रो तरवार फेरि त्यसकै ठाउँमा हाल, किनभने तरवार लिनेहरू सबै जना तरवारैबाट नष्ट हुनेछन्।”—मत्ती २६:५२.
८ झूटा मसीहीहरूले अक्सर “तरवार[को]” सहारा लिएका छन् भनी इतिहासले प्रस्ट देखाए तापनि यहोवाका साक्षीहरूले भने त्यसो गरेका छैनन्। तिनीहरू यस्ता प्रकारका सबै क्रियाकलापहरूबाट अलग रहन्छन्। यी साक्षीहरू रोमी १३:१, २ मा पाइने निम्न आज्ञा पालन गर्न लगनशील छन्: “हरेक प्राणी उच्च अख्तियारवालाहरूका [सरकारी शासकहरूका] अधीनमा रहोस्, किनभने परमेश्वरका बाहेक अरूको अख्तियार हुँदैन, औ अख्तियारहरूचाहिं परमेश्वरबाट खटिएका हुन्छन्। यसकारण अख्तियारवालाको विरुद्धमा खडा हुनेले परमेश्वरको धार्मिकविधानको विरोध गर्दछ, औ जस जसले विरोध गर्छन्, तिनीहरू आफैले दण्डको आज्ञा पाउनेछन्।”
९. यहोवाका साक्षीहरूले कुन दुई तरिकामा आतंकवाद विरुद्ध संघर्ष गर्छन्?
९ यद्यपि, आतंकवाद एकदमै दुष्ट भएको कारण के यहोवाका साक्षीहरूले यस विरुद्ध संघर्ष गर्न केही कदम चाल्नु पर्दैन र? हो, चाल्नुपर्छ र तिनीहरूले यसो गरिरहेका छन्। पहिलो, यस्तो खालको कुनै पनि क्रियाकलापबाट तिनीहरू अलग्गै बस्छन्। दोस्रो, तिनीहरूले मानिसहरूलाई मसीही सिद्धान्त सिकाउँछन्, जसअनुरूप चल्दा सबै प्रकारका हिंसाहरूको अन्त हुन्छ। a मानिसहरूलाई यो मसीही सिद्धान्त सिकाउन गत वर्ष तिनीहरूले १,२०,२३,८१,३०२ घण्टा बिताए। यो समय व्यर्थमा गएन किनभने यस क्रियाकलापको परिणामस्वरूप २,६५,४६९ जनाले यहोवाका साक्षीहरूको रूपमा बप्तिस्मा लिए र हिंसालाई पूर्णतया त्यागेको कुरा सार्वजनिक रूपमा देखाए।
१०. आजको संसारमा हिंसा मेटाउन सकिने कस्ता सम्भावनाहरू छन्?
१० साथै, यहोवाका साक्षीहरू आफ्नै बलले मात्र दुष्टको संसारमाथि विजय हासिल गर्न सकिंदैन भनेर पनि स्वीकार्छन्। त्यसकारण तिनीहरू यो काम गर्न सक्ने यहोवा परमेश्वरमाथि आफ्नो पूर्ण भरोसा राख्छन्। (भजन ८३:१८) साँचो प्रयत्न गरे तापनि मानिसहरूले हिंसाको अन्त गर्न सक्दैनन्। प्रेरित बाइबल लेखकले हाम्रो समय, “आखिरी दिन[बारे]” अग्रिम चेतावनी दिन्छन् र यसो भन्छन्: “खराब मानिसहरू र ठगाहाहरू ठगेर र ठगिएर झन् झन् खराब हुँदै जानेछन्।” (२ तिमोथी ३:१, १३) यस दृष्टिकोणबाट हेर्ने हो भने मानिसले खराबी विरुद्धको युद्ध जित्ने सम्भावना रत्तिभर देखिंदैन। अर्को तर्फ, हिंसालाई पूर्णतया र सदाको लागि हटाउन हामी यहोवामाथि भर पर्न सक्छौं।—भजन ३७:१, २, ९-११; हितोपदेश २४:१९, २०; यशैया ६०:१८.
सन्निकट आक्रमणसामु निडर
११. हिंसा हटाउन यहोवाले कस्ता कदमहरू चालिसक्नुभएको छ?
११ शान्तिका परमेश्वरले हिंसालाई घृणा गर्नुहुने हुँदा यसको मुख्य कारण शैतान अर्थात् दियाबललाई नाश गर्न उहाँले किन कदम चाल्नुभएको छ भनी हामी बुझ्न सक्छौं। साँच्चै भन्ने हो भने, शैतानले प्रधानदूत माइकल अर्थात् परमेश्वरको शासनारूढ नयाँ राजा ख्रीष्ट येशूमार्फत परमेश्वरबाट लज्जास्पद पराजय भोगिसकेको छ। यसलाई बाइबलले यसरी वर्णन गर्छ: “स्वर्गमा लडाइँ भयो। माइकल र तिनका दूतहरू त्यस अजींगरजस्तै पशुसँग लडाइँ गर्न गए, र अजींगरजस्तै पशु र त्यसका दूतहरूले युद्ध गरे। औ तिनीहरूले जित्नसकेनन्, नता तिनीहरूका निम्ति स्वर्गमा फेरि कुनै ठाउँ रह्यो। अनि त्यो अजींगरजस्तै पशु तल फ्याँकियो त्यो वृद्ध साँप, दियाबल र शैतान भनिने, सारा संसारलाई ठग्ने, पृथ्वीतलमा फ्याँकियो, र त्यसका दूतहरू त्यसका साथसाथै फ्याँकिए।”—प्रकाश १२:७-९.
१२, १३. (क) सन् १९१४ को महत्त्व के हो? (ख) परमेश्वरको राज्यलाई समर्थन गर्नेहरूबारे इजकिएलको भविष्यवाणीले के अग्रिमवाणी गर्छ?
१२ स्वर्गमा उक्त लडाइँ भएको समय सन् १९१४ हो भन्ने कुरामा बाइबलको कालक्रम र विश्वघटना मेल खान्छ। त्यसबेलादेखि संसारको अवस्था दिन प्रतिदिन खस्कँदै गइरहेको छ। यसो हुनुको कारणबारे प्रकाश १२:१२ ले यसरी बताउँछ: “यसकारण हे स्वर्गहरू र तिनमा रहनेहरू हो, सबै रमाओ। पृथ्वी र समुद्रलाई धिक्कार छ, किनभने आफ्नो अल्प समय थाह पाएर शैतान ठूलो क्रोधसँग तिमीहरूकहाँ तल गएको छ।”
१३ निस्सन्देह, दियाबल मुख्यतया परमेश्वरका अभिषिक्त उपासकहरू तथा तिनीहरूका “अरू भेडा[का]” सँगीहरूप्रति क्रोधित भएको छ। (यूहन्ना १०:१६; प्रकाश १२:१७) परमेश्वरको स्थापित राज्यलाई समर्थन गर्ने र यसमा भरोसा राख्नेहरू सबैमाथि दियाबलले तीव्र आक्रमण सुरु गरेपछि यो विरोध चरमोत्कर्षमा पुग्नेछ। यस सशक्त आक्रमणलाई इजकिएल अध्याय ३८ मा ‘मागोग देशको गोगको’ आक्रमण भनेर बताइएको छ।
१४. विगतमा यहोवाका साक्षीहरूले बचावको लागि कस्ता प्रयत्नहरू अनुभव गरेका छन् र के सधैं यस्तै भइरहनेछ?
१४ शैतानलाई स्वर्गबाट फालिएपछि प्रकाश १२:१५, १६ मा प्रतीकात्मक शब्दमा बताइएको खास राजनैतिक तत्त्वहरूले बेलाबेलामा परमेश्वरका जनहरूलाई शैतानको आक्रमणबाट बचाएका छन्। यसको विपरीत, शैतानले अन्तिम आक्रमण गर्दा भने यहोवामाथि आफ्नो भरोसा राख्नेहरूको बचावमा कुनै पनि मानव निकाय अघि सर्नेछैन भनी बाइबलले संकेत गर्छ। त्यसोभए के मसीहीहरू डराउनु वा आत्तिनुपर्छ? अहँ! पर्दैन।
१५, १६. (क) यहोशापातको समयमा आफ्ना जनहरूलाई यहोवाले दिनुभएको आश्वासनदायी वचनहरूले आजका मसीहीहरूको लागि कस्तो आशाको कारण दिन्छ? (ख) यहोशापात र तिनका मानिसहरूले आज परमेश्वरका सेवकहरूको लागि कस्तो नमुना बसाले?
१५ यहोशापातको दिनमा परमेश्वरले आफ्नो प्रतीकात्मक राष्ट्रलाई सहायता गर्नुभएझैं उहाँले पक्कै पनि आफ्ना जनहरूलाई मदत गर्नुहुनेछ। हामी यस्तो लेखिएको पाउँछौं: “हे सबै यहूदा, यरूशलेमका सबै बासिन्दा र राजा यहोशापात सुन्नुहोस्, परमप्रभु तपाईंहरूलाई यही भन्नुहुन्छ ‘नडराऊ, यस ठूलो सैन्य-दलदेखि नआत्तियो। किनभने लड़ाइँ परमप्रभुको हातमा छ। तिमीहरूको हातमा होइन। . . . यो लड़ाइँ तिमीहरूले लड़नेछैनौ। दृढ़ भएर पर्खिबस। परमप्रभुले तिमीहरूको उद्धारको काम गर्नुभएको तिमीहरू देख्नेछौ। नडराऊ, नता आत्तियौ। भोलि तिनीहरूको सामना गर्न तिमीहरू निस्किजाऊ। किनभने परमप्रभु तिमीहरूतर्फ हुनुहुन्छ।’ ”—२ इतिहास २०:१५-१७.
१६ यहूदाका मानिसहरूलाई तिनीहरूले लडाइँ गर्नुपर्ने छैन भनी आश्वासन दिइएको थियो। त्यसै गरी परमेश्वरका जनहरूलाई मागोगको गोगले आक्रमण गर्दा तिनीहरूले आफ्नो बचावको लागि हतियार उठाउने छैनन्। बरु, तिनीहरू ‘दृढ भएर पर्खिबस्नेछन् र यहोवाले तिनीहरूको उद्धारको काम गर्नुभएको हेर्नेछन्।’ निस्सन्देह, दृढ भएर पर्खिबस्नुको अर्थ पूर्णतया निष्क्रिय हुनु होइन किनभने यहोशापातको समयमा परमेश्वरका जनहरू पनि पूर्णतया निष्क्रिय थिएनन्। हामी यस्तो लेखिएको पाउँछौं: “तब यहोशापात भूइँमा घोप्टो परे, र सबै यहूदा र यरूशलेमका बासिन्दाहरू परमप्रभुको सामने दण्डवत् गर्न घोप्टो परे। . . . त्यसपछि मानिसहरूसित सल्लाह गरेर [यहोशापातले] कति जनालाई परमप्रभुको स्तुतिगान गर्न र उहाँको पवित्रताको प्रतापको प्रशंसा गर्न हतियारले सुसज्जित भएका सेनाको अघि अघि गएर गाउनलाई नियुक्त गरे। औ तिनीहरूले यसो भनेर गाए, ‘परमप्रभुलाई धन्यवाद देऊ किनभने उहाँको प्रेम सदा सर्वदै रहिरहन्छ।’ ” (२ इतिहास २०:१८-२१) हो, शत्रुको आक्रमण हुँदा समेत मानिसहरूले सक्रियतासाथ यहोवाको प्रशंसा गरिरहे। गोगले यहोवाका साक्षीहरू विरुद्ध आक्रमण गर्दा तिनीहरूले के गर्नुपर्छ भन्ने सन्दर्भमा उक्त घटनाले एउटा नमुना बसाल्छ।
१७, १८. (क) गोगको आक्रमणको सन्दर्भमा यहोवाका साक्षीहरूले आज कस्तो सकारात्मक मनोवृत्ति राख्छन्? (ख) मसीही युवाहरूलाई हालै कस्तो सम्झौटो दिइएको थियो?
१७ त्यतिबेलासम्म र गोगको आक्रमण सुरु भएपछि पनि यहोवाका साक्षीहरूले परमेश्वरको राज्यको समर्थन गरिरहनेछन्। संसारभरि रहेका ९४,६०० भन्दा बढी मण्डलीहरूसित संगत गरेर तिनीहरूले बल तथा सुरक्षा पाइरहनेछन्। (यशैया २६:२०) साहसपूर्वक यहोवाको प्रशंसा गर्ने कस्तो उपयुक्त अवसर! निस्सन्देह, गोगको सन्निकट आक्रमणको प्रतिक्षा गरेर बस्दा तिनीहरू डराएर पछि हट्दैनन्। बरु, यसले तिनीहरूलाई अझ बढी प्रशंसाको बलिदान चढाइरहन उत्प्रेरित गर्छ।—भजन १४६:२.
१८ पूर्ण-समय सेवा अँगालेका संसारभरका हजारौं युवाहरूले यस्तो सकारात्मक मनोवृत्तिको सही प्रदर्शन गरेका छन्। यस्तो प्रकारको जीवन शैली रोज्नुको श्रेष्ठताबारे प्रकाश पार्न सन् २००२ को जिल्ला अधिवेशनमा युवाहरू हो—तपाईं आफ्नो जीवनबाट के चाहनुहुन्छ? भन्ने पर्चा विमोचन गरिएको थियो। चाहे जवान होउन् वा वृद्ध, सबै मसीहीहरू यस्तो समसामयिक सम्झौटोको लागि कृतज्ञ छन्।—भजन ११९:१४, २४, ९९, ११९, १२९, १४६.
१९, २०. (क) किन मसीहीहरू डराउनु वा आत्तिनुपर्ने कुनै कारण छैन? (ख) यसपछिको अध्ययन लेखले के गर्नेछ?
१९ संसारको अवस्थाको बावजुद मसीहीहरू डराउनु वा आत्तिनु पर्दैन। चाँडै, यहोवाको राज्यले सबै प्रकारको हिंसा सदाका लागि मेटाउनेछ भनी तिनीहरूलाई थाह छ। हिंसाको कारण आफ्नो ज्यान गुमाएका थुप्रै व्यक्तिहरूले पुनरुत्थानद्वारा पुनर्जीवन पाउनेछन् भन्ने कुरा थाह पाउँदा पनि तिनीहरूले सान्त्वना पाउँछन्। यसले कतिपय व्यक्तिहरूलाई यहोवाबारे सिक्ने पहिलो सुअवसर दिनेछ भने अरूलाई उहाँप्रति समर्पित सेवा चढाउने कार्यमा लागिरहन मदत गर्नेछ।—प्रेरित २४:१५.
२० साँचो मसीहीहरूको हैसियतमा मसीही तटस्थता कायम राख्नुपर्ने महत्त्वको हामी मूल्यांकन गर्छौं र त्यसो गर्न कटिबद्ध छौं। हामी, ‘दृढ़ भएर पर्खिबस्ने र यहोवाको उद्धार हेर्ने’ अद्भुत प्रत्याशा पक्रिराख्न चाहन्छौं। यसपछिको लेखले बाइबल भविष्यवाणीको पूर्तिसम्बन्धी थप अन्तरदृष्टि दिने वर्तमान घटनाक्रमबारे हामीलाई सजग बनाएर हाम्रो विश्वासलाई अझ बलियो बनाउनेछ।
[फुटनोट]
a साक्षी बन्न हिंसात्मक जीवन त्यागेका व्यक्तिविशेषहरूको उदाहरणको लागि ब्यूँझनुहोस्! जनवरी ८, २०००, पृष्ठ १८; फेब्रुअरी ८, २००३, पृष्ठ १६ र प्रहरीधरहरा जनवरी १, १९९६, पृष्ठ ५; अगस्त १, १९९८, पृष्ठ ५ हेर्नुहोस्।
के तपाईं बुझाउन सक्नुहुन्छ?
• आज किन यति धेरै मानिसहरू निराशावादी छन्?
• यहोवाका साक्षीहरू भविष्यबारे किन आशावादी छन्?
• सबै हिंसाको कारक तत्त्वको सन्दर्भमा यहोवाले के गरिसक्नुभएको छ?
• हामी किन गोगको आक्रमणदेखि डराउनुपर्ने कुनै कारण छैन?
[अध्ययनका लागि प्रश्नहरू]
[पृष्ठ १३-मा भएको चित्र]
येशूले मसीही तटस्थताको सही उदाहरण बसाल्नुभयो
[पृष्ठ १६-मा भएका चित्रहरू]
हजारौं जवान साक्षीहरूले आनन्दसाथ पूर्ण-समय सेवा अँगालेका छन्
[पृष्ठ १२-मा भएको चित्रको स्रोत]
UN PHOTO 186226/M. Grafman