सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

परमेश्‍वरलाई आनन्दित तुल्याउने गरी दिने

परमेश्‍वरलाई आनन्दित तुल्याउने गरी दिने

परमेश्‍वरलाई आनन्दित तुल्याउने गरी दिने

येशू तथा उहाँका चेलाहरूले मरियम, मार्था र भर्खरै पुनरुत्थान भएका लाजरसलगायत अन्य केही घनिष्ठ मित्रहरूसित बेथानीमा स्वादिष्ट भोजनको आनन्द उठाइरहनुभएको थियो। अनि जब मरियमले एक माना साह्रै किम्मती तेलले येशूको खुट्टा मल्न थालिन्‌, यहूदा इस्करयोती रिसाए र आफ्नो विचार पोखे। तिनले यसो भनेर विरोध जनाए: “यो मलहम तीन सय दिनारमा [एक वर्षको तलबजति] बेचिएर किन गरीबहरूलाई दिइएन?” अरूले पनि त्यस्तै गुनासा थप्न थाले।—यूहन्‍ना १२:१-६; मर्कूस १४:३-५.

तथापि, येशूले यस्तो जवाफ दिनुभयो: “भइगयो नि, . . . किनभने गरीबहरू ता तिमीहरूसँगै सधैं हुन्छन्‌, र मन लागेको बखतमा तिमीहरूले तिनीहरूको भलाई गर्नसक्छौ, तर म ता सधैं तिमीहरूका साथमा हुन्‍नँ।” (मर्कूस १४:६-९) भिक्षा दिनु सद्‌गुण मात्र होइन तर त्यसले पापहरू पनि पखाल्न सक्छ भनी यहूदी धर्मगुरुहरूले सिकाएका थिए। अर्कोतर्फ, परमेश्‍वरलाई आनन्दित तुल्याउने कुरा गरिबहरूलाई दान दिनु मात्र होइन भनेर येशूले प्रस्ट पार्नुभयो।

प्रारम्भिक मसीही मण्डलीहरूमा कसरी दिने गरिन्थ्यो भनी विचार गर्दा अरूप्रति चासो देखाउने तथा परमेश्‍वरलाई आनन्दित तुल्याउने गरी दिने व्यावहारिक तरिकाहरू सिक्न सक्छौं। यसले अरूको भलाइ हुने गरी दिने अनुपम तरिकाबारे पनि प्रकाश पार्नेछ।

“भिक्षा देओ”

थुप्रै अवसरमा येशूले आफ्ना चेलाहरूलाई ‘भिक्षा दिन’ वा अन्य संस्करणहरूले अनुवाद गरेझैं “चन्दा दिन” प्रोत्साहन दिनुभयो। (लूका १२:३३; न्यु इंग्लिस बाइबल; चार्ल्स बि. विलियम्सद्वारा लिखित ट्रान्सलेसन इन द ल्यांगवेज अफ द पिपल) तथापि, परमेश्‍वरको महिमा नभई केवल दाताको मात्र महिमा हुने हेतुले देखावटी नहुन येशूले चेतावनी दिनुभयो। उहाँले भन्‍नुभयो: “जब तिमी धर्म-कर्म गर्दछौ, तब आफ्नो सामु तुरही नबजाऊ, जस्तो कपटीहरूले सभाघरहरू र गल्लीहरूमा मानिसहरूबाट प्रशंसा पाउनालाई गर्दछन्‌।” (मत्ती ६:१-४) यो सल्लाहलाई पालन गर्दै प्रारम्भिक मसीहीहरूले आफ्नो समयका धर्मगुरुहरूको आडम्बरलाई पछ्याएनन्‌ र खाँचोमा परेकाहरूलाई व्यक्‍तिगत रूपमा मदत गरे वा उपहारहरू दिए।

उदाहरणका लागि, लूका ८:१-३ मा मग्दलिनी भन्‍ने मरियम, योअन्‍ना, सुजाना र अरूले हल्लाखल्ला नगरी चुपचाप येशू तथा उहाँका प्रेरितहरूको सेवा गर्न “आफ्ना धन” चलाए भनिएको छ। ती पुरुषहरू कंगाल त थिएनन्‌ तर तिनीहरूले आफ्नो जीविकोपार्जन गर्ने सबै माध्यम त्यागेर सेवकाईमा दत्तचित्त भई लागेका थिए। (मत्ती ४:१८-२२; लूका ५:२७, २८) तिनीहरूको ईश्‍वर-प्रदत्त कार्यभार पूरा गर्न मदत दिएर यी स्त्रीहरूले वास्तवमा परमेश्‍वरको महिमा गरिरहेका थिए। अनि तिनीहरूको कृपालु उदारताबारे पछिका पुस्ताहरूले समेत पढ्‌न सक्ने गरी बाइबलमा रेकर्ड गर्न लगाउनुभएर परमेश्‍वरले आफ्नो अनुमोदन व्यक्‍त गर्नुभयो।—हितोपदेश १९:१७; हिब्रू ६:१०.

त्यस्तै अर्की दयालु स्त्री तबीता थिइन्‌ जो “असल काम गर्न र दान-पुण्यमा निपुण थिइन्‌।” तिनले समुद्र छेउको शहर जोप्पामा बसेर खाँचोमा परेका विधवाहरूको निम्ति लुगाहरू सिलाइ दिन्थिन्‌। तिनले आफै कपडा किन्थिन्‌ वा सिलाएको ज्याला मात्र नलिएकी हुन्‌, हामीलाई थाह छैन। जेहोस्‌, तिनको असल कामले गर्दा तिनी सबैको निम्ति प्रिय भईन्‌ र परमेश्‍वरले पनि तिनको भलाइको लागि इनाम दिनुभयो।—प्रेरित ९:३६-४१.

सही मनोवृत्ति हुनु अत्यावश्‍यक

यी व्यक्‍तिविशेषहरूलाई कुन कुराले दिन उत्प्रेरित गऱ्‍यो? मदतको लागि भावनात्मक आग्रहको कारण मात्र अनुकम्पाले भरिएर तिनीहरूले दिएका थिएनन्‌। तिनीहरूले गरिबी, दुःखकष्ट, बिरामी र अन्य कठिनाइमा परेकाहरूलाई हरेक दिन आफूले सक्दो मदत गर्नु आफ्नो व्यक्‍तिगत नैतिक दायित्व ठाने। (हितोपदेश ३:२७, २८; याकूब २:१५, १६) यसरी दिंदा परमेश्‍वर प्रसन्‍न हुनुहुन्छ। यो मुख्यतया परमेश्‍वरप्रतिको गहिरो प्रेम र उहाँको कृपा तथा उदार व्यक्‍तित्व अनुकरण गर्ने इच्छाले उत्प्रेरित हुन्छ।—मत्ती ५:४४, ४५; याकूब १:१७.

दिनुको यस महत्त्वपूर्ण पक्षबारे प्रेरित यूहन्‍नाले प्रकाश पार्दै यस्तो प्रश्‍न गरे: “संसारको सम्पत्ति हासिल गरेर पनि कसैले आफ्नो भाइलाई खाँचो परेको देखेर त्यसमाथि आफ्नो दया देखाउँदैन भनेता परमेश्‍वरको प्रेम त्यसमा कसरी रहन्छ?” (१ यूहन्‍ना ३:१७) जवाफ स्पष्ट छ। परमेश्‍वरप्रतिको प्रेमले मानिसहरूलाई परोपकारी हुन उत्प्रेरित गर्छ। परमेश्‍वरले जस्तै उदार मनोभाव देखाउने मानिसहरूलाई उहाँले मूल्यवान्‌ ठान्‍नुका साथै इनाम दिनुहुन्छ। (हितोपदेश २२:९; २ कोरिन्थी ९:६-११) के आज हामी यस्तो प्रकारको उदारता देख्छौं? हालै यहोवाका साक्षीहरूको एउटा मण्डलीमा के भयो, विचार गर्नुहोस्‌।

एक जना वृद्ध मसीही बहिनीको घर मर्मतसम्भार गर्नुपर्ने टड्‌कारो खाँचो पऱ्‍यो। तिनी एक्लै बस्थिन्‌ र परिवार पनि कोही थिएन। वर्षौंको दौडान तिनको घर मसीही सभाहरूको लागि सधैं उपलब्ध गराइएको थियो र तिनी अक्सर चिनेजानेका मानिसहरूलाई खाना खान निम्तो दिन्थिन्‌। (प्रेरित १६:१४, १५, ४०) तिनको अवस्था देखेर मण्डलीका सदस्यहरू मदतको लागि जुटे। कसैले मदत स्वरूप पैसा दिए भने कसैले आफ्नो परिश्रम। केही सप्ताहन्तभित्र स्वयम्‌सेवकहरूले नयाँ छाना, नयाँ बाथरुम बनाउनुका साथै पहिलो तलामा पूरै प्लास्टर र रंगरोगन गरे अनि भान्छामा नयाँ दराज पनि बनाइदिए। यसले ती स्त्रीको आवश्‍यकता पूरा गऱ्‍यो भने अर्कोतिर मण्डलीको एकता अझ बलियो बनाउनुका साथै छिमेकीहरूमा पनि साँचो मसीहीहरूले कसरी दिन्छन्‌ भनेर राम्रो छाप पाऱ्‍यो।

हामीले अरूलाई व्यक्‍तिगत तवरमा मदत गर्न सक्ने थुप्रै तरिकाहरू छन्‌। के हामीले अनाथ बालबालिकाहरूसित समय बिताउन सक्छौं? के हामी वृद्ध विधवाको लागि किनमेल वा सिलाइ गरिदिन सक्छौं? सीमित आयस्रोत भएको कसैको लागि खाना पकाइदिन वा केही रकम दिन सक्छौं? अरूलाई मदत गर्न हामी धनी नै हुनुपर्छ भन्‍ने छैन। प्रेरित पावलले यस्तो लेखे: “तत्परता छ भने, आफूसित नभएअनुसार होइन, तर आफूकहाँ भएअनुसार यो ग्रहणयोग्य हुन्छ।” (२ कोरिन्थी ८:१२) तर के त्यस्तो व्यक्‍तिगत रूपमा सीधै दिनेलाई मात्र परमेश्‍वरले आशिष्‌ दिनुहुन्छ? होइन।

बृहत्‌ राहत कार्यबारे नि?

कहिलेकाहीं व्यक्‍तिगत प्रयास मात्र पर्याप्त हुँदैन। वास्तवमा भन्‍ने हो भने, येशू तथा उहाँका प्रेरितहरूले गरिबहरूको लागि एउटा सार्वजनिक कोष स्थापना गर्नुभएको थियो र आफ्नो कामको सिलसिलामा भेटेका दयालु मानिसहरूले दिएको अनुदान उहाँहरूले स्वीकार्नुहुन्थ्यो। (यूहन्‍ना १२:६; १३:२९) त्यस्तै गरी, प्रथम शताब्दीका मण्डलीहरूले आवश्‍यक परेको बेला अनुदान जम्मा गरेर बृहत्‌ राहत कार्यको आयोजना गर्थे।—प्रेरित २:४४, ४५; ६:१-३; १ तिमोथी ५:९, १०.

त्यस्तै परिस्थिति सा.यु. ५५ तिर देखा पऱ्‍यो। यहूदाको मण्डली सम्भवतः भर्खरै आइपरेको अनिकालको कारण गरिबीको चपेटामा परेको थियो। (प्रेरित ११:२७-३०) गरिबहरूको सधैं चिन्ता लागिरहने हुँदा तिनीहरूको मदतको लागि प्रेरित पावलले टाढा म्यासिडोनियाका मण्डलीहरूसम्म खबर पुऱ्‍याए। तिनले व्यक्‍तिगत रूपमा पैसा जम्मा गर्न प्रबन्ध मिलाए र नियुक्‍त पुरुषहरूमार्फत त्यो पैसा पठाए। (१ कोरिन्थी १६:१-४; गलाती २:१०) तिनी वा यस काममा संलग्न अरू कसैले आफ्नो सेवाको लागि पारिश्रमिक लिएनन्‌।—२ कोरिन्थी ८:२०, २१.

वर्तमान समयका यहोवाका साक्षीहरू पनि प्राकृतिक प्रकोप आइपर्दा मदत गर्न जुटिहाल्छन्‌। उदाहरणका लागि, २००१ को गर्मी महिनामा सं.रा.अ., टेक्ससको हुस्टनमा अविरल वर्षाको कारण ठूलो बाढी आयो। साक्षीहरूको जम्माजम्मी ७२३ वटा घर बिग्रिए र त्यसमध्ये प्रायजसो त भताभुंग भएका थिए। व्यक्‍तिगत तवरमा के कस्ता आवश्‍यकताहरू छन्‌ भनी पत्ता लगाउन, स्थानीय साक्षीहरूलाई परिस्थितिसित सामना गर्न र तिनीहरूको घर मर्मत गर्न कोष छुट्याउन योग्य मसीही प्राचीनहरूको अग्रसरतामा तत्कालै प्राकृतिक प्रकोप राहत समिति स्थापना गरियो। छिमेकी मण्डलीका इच्छुक स्वयम्‌सेवकहरूले सबै काममा सघाए। एक जना साक्षी असाध्यै कृतज्ञ भइन्‌ र तिनले बिमा कम्पनीबाट घर मर्मत खर्च पाउने बित्तिकै त्यो रकमबाट अरूलाई मदत पुगोस्‌ भनेर राहत कोषलाई चन्दा दिइन्‌।

तर संगठित परोपकारी कार्यको सन्दर्भमा चाहिं हामीसित गरिने थुप्रै आग्रहहरूप्रति सावधान हुनुपर्छ। कुनै-कुनै परोपकारी संगठनहरूले आफ्ना कर्मचारीहरूलाई ठूलो रकम छुट्याएका हुन्छन्‌ वा विज्ञापनमा निकै खर्छ गर्छन्‌ अनि मूल उद्देश्‍यको लागि चाहिं सानो रकम मात्र बाँकी हुन्छ। हितोपदेश १४:१५ यसो भन्छ: “निर्बुद्धि मानिसले आफूले सुनेको एक एक कुरा पत्याउँछ, चतुर मानिसले चाहिं प्रमाणको आवश्‍यकतालाई बुझ्छ।” त्यसकारण तथ्यहरूलाई सावधानीपूर्वक केलाउनु बुद्धिमानी हो।

सबैभन्दा लाभदायी किसिमको दिने

परोपकारी कार्यभन्दा पनि धेरै महत्त्वपूर्ण एक किसिमको दिने कुरा छ। एक जना धनी शासकले अनन्त जीवन पाउन के गर्नुपर्छ भनी येशूलाई प्रश्‍न गर्दा उहाँले यो कुरा संकेत गर्नुभयो। येशूले यस्तो भन्‍नुभयो: “तिमीसित जो छ, सबै बेचेर दरिद्रहरूलाई देऊ, औ तिमीलाई स्वर्गमा धन मिल्नेछ र आएर मेरोपछि लाग।” (मत्ती १९:१६-२२) याद गर्नुहोस्‌, येशूले ‘गरिबलाई देओ अनि तिमीले अनन्त जीवन पाउनेछौ’ भन्‍नुभएन। बरु उहाँले “आएर मेरोपछि लाग” भन्‍नुभयो। अर्को शब्दमा भन्‍ने हो भने, परोपकारी कार्यहरू सराहनीय र लाभदायी भए तापनि मसीही चेला हुनुमा अझ थप कुरा समावेश छ।

येशूको मुख्य चासोको विषय अरूलाई आध्यात्मिक तवरमा मदत गर्नु थियो। आफ्नो मृत्यु हुनुभन्दा केही समयअघि उहाँले पिलातसलाई यसो भन्‍नुभयो: “यसैको निम्ति म जन्मेको हुँ, र त्यसैको निम्ति गवाही दिऊँ भनेर म यस संसारमा आएको हुँ।” (यूहन्‍ना १८:३७) येशू गरिबहरूलाई मदत गर्न, बिरामीलाई निको पार्न, भोकालाई खुवाउन अग्रसर हुनु भए तापनि उहाँले मुख्यतया आफ्ना चेलाहरूलाई प्रचार गर्न प्रशिक्षण दिनुभयो। (मत्ती १०:७, ८) वास्तवमा उहाँले तिनीहरूलाई दिनुभएको एउटा अन्तिम निर्देशन यस्तो थियो: “यसकारण गएर सबै देशका जातिहरूलाई चेला बनाओ।”—मत्ती २८:१९, २०.

निस्सन्देह, प्रचारकार्यले संसारको सबै समस्या समाधान गर्दैन। यद्यपि, सबै प्रकारका मानिसलाई परमेश्‍वरको राज्यको सुसमाचार सुनाउँदा परमेश्‍वरको महिमा हुन्छ किनभने प्रचार गर्दा परमेश्‍वरको इच्छा पूरा हुन्छ र ईश्‍वरीय सन्देश स्वीकार्नेहरूको निम्ति अनन्त लाभको बाटो खुल्छ। (यूहन्‍ना १७:३; १ तिमोथी २:३, ४) यहोवाका साक्षीहरू अर्कोचोटि तपाईंको ढोकामा आउँदा तिनीहरूको कुरा सुने कसो होला? तिनीहरूले आध्यात्मिक वरदान ल्याउँछन्‌। अनि तपाईंलाई दिने सर्वोत्तम उपहार यही हो भनेर तिनीहरू पक्का छन्‌।

[पृष्ठ ६-मा भएका चित्रहरू]

हामी अरूको ख्याल राख्छौं भनी देखाउने थुप्रै तरिका छन्‌

[पृष्ठ ७-मा भएको चित्र]

हामीले सुसमाचार प्रचार गर्दा परमेश्‍वर आनन्दित हुनुहुन्छ र अनन्त लाभको बाटो खुल्छ