परोपकारी कार्यलाई के भइरहेको छ?
परोपकारी कार्यलाई के भइरहेको छ?
न्यु योर्क शहर र वाशिंगटन, डि.सी.-मा सेप्टेम्बर ११, २००१ को आक्रमणपछि जनताले पीडित व्यक्तिहरूप्रति देखाएको समर्थन उल्लेखनीय थियो। मृतकका परिवारहरूको लागि मदतस्वरूप चन्दामा २.७ अरब अमेरिकी डलर प्राप्त गर्दा परोपकारी संगठनहरू छक्कै परे। यस आक्रमणले पुऱ्याएको क्षति देखेर स्तब्ध भएका सबै मानिसहरू मदत गर्न इच्छुक थिए।
तथापि, केही प्रमुख परोपकारी संगठनहरूको कोषमा जम्मा भएको रकमको अनुचित प्रयोग गरेको कुराहरू सुनेपछि थुप्रै मानिसहरूले नमीठो महसुस गर्न थाले। एउटा ठूलो परोपकारी संगठनले प्राप्त गरेको ५४ करोड ६० लाख अमेरिकी डलरमा झन्डै आधी रकम अन्य कुरामै खर्च गर्न लागेको रिपोर्ट आउँदा निकै विरोध गरियो। उक्त संगठनले पछि आफ्नो निर्णय बदर गरेर माफी मागे तापनि एक जना संवाददाताले “आलोचकहरूअनुसार यो नयाँ निर्णय आक्रमणअघिको विश्वास पुनर्स्थापित गर्न मरेपछि ओखती गर्नेझैं भएको” टिप्पणी गरे। तपाईंलाई कस्तो लाग्छ? के परोपकारी संगठनहरूप्रति तपाईंको भरोसा पनि ढलपल भएको छ?
मदतकारी वा बेकार?
साधारणतया दान-भिक्षा दिनु सद्गुण ठानिन्छ। यद्यपि सबै जना यस कुरामा सहमत हुँदैनन्। दुई सय वर्षअघि अंग्रेजी निबन्धकार शामुएल जोन्सनले यस्तो लेखे: “कसैलाई उपहारस्वरूप चन्दा दिनुभन्दा मानिसहरूलाई उनीहरूको ज्यालाको लागि पैसा दिंदा भलाइ गरिरहेको छु भनेर तपाईं ढुक्क हुन सक्नुहुन्छ।” आज पनि कसै-कसैले त्यस्तै महसुस गर्छन् र परोपकारी संगठनहरूको अनियमितता वा चन्दाहरूको अनुचित प्रयोगजस्ता रिपोर्टहरूले गर्दा जनमानसको विश्वास बढाउन सकेको छैन। हालैका दुइटा उदाहरणलाई विचार गर्नुहोस्।
सान फ्रान्सिस्कोमा एउटा धार्मिक परोपकारी संगठनका निर्देशकले आफ्नो प्लास्टिक सर्जरी गर्न अनि दुई वर्षको अवधिमा हरेक हप्ता रेष्टुराँहरूमा भएको ५०० अमेरिकी डलरको खर्च बेहोर्न आफ्नो संगठनको कोषबाट अवैध रूपमा पैसा निकासा गरेको कुरा थाह भएपछि तिनलाई निलम्बन गरियो। रोमानियामा नयाँ अनाथालयहरू बनाउन सहयोगार्थ जम्मा भएको ६५ लाख पाउन्डबाट (झन्डै एक करोड अमेरिकी डलर) १२ वटा मात्र न्यूनस्तरीय घरहरू निर्माण भएको र लाखौं डलरको केही हिसाबकिताब नै नभएको जानकारी आउँदा बेलाइतको प्रमुख टेलिभिजनमार्फत प्रसारण गरिएको परोपकारी संघका आयोजकहरू
अप्ठ्यारोमा परे। यस्ता नकारात्मक रिपोर्टहरूले गर्दा दाताहरू कसलाई कति दिने भन्ने कुरामा सावधान हुन थाल्नु मनासिब हो।दिने वा नदिने
तथापि, केही व्यक्तिविशेष वा संगठनहरूको कारण अरूप्रतिको साँचो चासो र अनुकम्पा सेलाउन दिनु पक्कै पनि अफसोसको कुरा हुनेछ। बाइबल यसो भन्छ: “अनाथ र विधवाहरूलाई तिनीहरूका कष्टमा हेरचाह गर। आफूलाई दुनियाँबाट निष्कलङ्क राख्नुनै पवित्र र हाम्रा परमेश्वर र पिताको सामने शुद्ध धर्म हो।” (याकूब १:२७) हो, गरिब र कष्टमा परेकाहरूलाई मदत गर्नु मसीहीधर्मको अभिन्न भाग हो।
तैपनि तपाईंको मनमा यो प्रश्न होला, ‘परोपकारी संगठनहरूमार्फतै चन्दा दिंदै गरूँ वा मानिसहरूलाई व्यक्तिगत रूपमा आफै दिऊँ?’ कसरी दिएको यहोवा चाहनुहुन्छ? अर्को लेखमा यी प्रश्नहरूको जवाफ छलफल गरिनेछ।