सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पर्खिबस्नुहोस्‌ र यहोवाको उद्धार हेर्नुहोस्‌!

पर्खिबस्नुहोस्‌ र यहोवाको उद्धार हेर्नुहोस्‌!

पर्खिबस्नुहोस्‌ र यहोवाको उद्धार हेर्नुहोस्‌!

“दृढ़ भएर पर्खिबस। परमप्रभुले तिमीहरूको उद्धारको काम गर्नुभएको तिमीहरू देख्नेछौ।”—२ इतिहास २०:१७.

१, २. ‘मागोग देशको गोगले’ गर्ने सन्‍निकट आक्रमणको नतिजा किन अन्तरराष्ट्रिय आतंकवादको भयभन्दा पनि भयावह हुनेछ?

 कतिपय व्यक्‍तिहरूले आतंकवादलाई विश्‍व-समुदाय वा सभ्यतामाथिको आक्रमण भनेर वर्णन गरेका छन्‌। निस्सन्देह, यस्तो भयलाई गम्भीरतापूर्वक लिनुपर्छ। अर्को तर्फ, अझ भयावह नतिजा हुने अर्को आक्रमण पनि छ, जसप्रति विश्‍व-समुदायले कमै मात्रामा ध्यान दिन्छ वा ध्यानै दिंदैन। यो के हो?

यो ‘मागोग देशको गोगले’ गर्ने आक्रमण हो, जसबारे बाइबलले इजकिएल ३८ अध्यायमा बताएको छ। यो आक्रमणको नतिजा अन्तरराष्ट्रिय आतंकवादको भयभन्दा पनि भयावह हुनेछ भन्‍नु के बढाइचढाइ गरिएको कुरा हो? पटक्कै होइन, किनभने गोगको आक्रमण कुनै एउटा मानव सरकारमाथि मात्र सीमित हुँदैन। यसले परमेश्‍वरको स्वर्गीय सरकारमाथि आक्रमण गर्छ! तथापि, आफ्नो प्रणाली विरुद्ध आक्रमण गर्नेहरूमाथि सीमित सफलता मात्र हात पार्ने मानिसहरूजस्तो नभई गोगको अझ क्रूर आक्रमणको सामना गर्न सृष्टिकर्ता पूर्णतया सक्षम हुनुहुन्छ।

परमेश्‍वरको सरकारमाथि आक्रमण

३. सन्‌ १९१४ देखि संसारका शासकहरूलाई के गर्ने निमन्त्रणा दिइएको छ र तिनीहरूले कस्तो प्रतिक्रिया देखाएका छन्‌?

सन्‌ १९१४ मा परमेश्‍वरको राज्य स्वर्गमा स्थापना भएदेखि नै परमेश्‍वरको शासनारूढ राजा तथा शैतानको दुष्ट रीतिरिवाजबीच द्वन्द्व चलिरहेको छ। त्यसबेला मानव शासकहरूलाई परमेश्‍वरले रोज्नुभएको राजाको अधीनमा बस्ने जनाउ दिइएको थियो। तर अग्रिमवाणी गरिएझैं तिनीहरूले त्यसो गर्न इन्कार गरेका छन्‌: “परमप्रभु र उहाँले अभिषेक गर्नुभएको जनको विरुद्धमा, पृथ्वीका राजाहरू आफै खडा हुन्छन्‌, र शासकहरू आपसमा यसो भनेर सल्लाह गर्छन्‌, ‘लौ, हामी तिनीहरूका बन्धन टुक्रा टुक्रा पारेर छिनालौं, र तिनीहरूका डोरीहरू हामीबाट फुकालेर फालिदिऔं।’ ” (भजन २:१-३) मागोगको गोगले आक्रमण गरेपछि राज्य शासनको विरोध स्पष्टतः चरमोत्कर्षमा पुग्नेछ।

४, ५. परमेश्‍वरको अदृष्य, स्वर्गीय सरकार विरुद्ध मानिसहरूले कसरी युद्ध गर्न सक्छन्‌?

अदृष्य, स्वर्गीय सरकार विरुद्ध मानिसहरूले कसरी युद्ध गर्न सक्छन्‌ भनेर हामी छक्क पर्न सक्छौं। यो सरकार “थुमा,” येशू ख्रीष्टका साथै “पृथ्वीबाट किनिएका, अर्थात्‌ एक लाख चवालीस हजार” जना मिलेर बनेको छ भनी बाइबलले बताउँछ। (प्रकाश १४:१, ३; यूहन्‍ना १:२९) यो नयाँ सरकार स्वर्गमा स्थापना भएकोले यसलाई “नयाँ आकाश” भनिन्छ र यसका पार्थिव प्रजाहरूलाई “नयाँ पृथ्वी” भन्‍नु उपयुक्‍त छ। (यशैया ६५:१७; २ पत्रुस ३:१३) ख्रीष्टका १,४४,००० सहशासकमध्ये अधिकांशले अन्तसम्मै विश्‍वासी भई आफ्नो पार्थिव जीवन पूरा गरिसकेका छन्‌। यसरी तिनीहरूले स्वर्गमा सेवाको नयाँ जिम्मेवारी वहन गर्न योग्य भएको कुरा साबित गरेका छन्‌।

तथापि, १,४४,००० मध्येका थोरै शेष जनहरू अझै पनि पृथ्वीमा छन्‌। सन्‌ २००२ मा प्रभुको साँझको भोज मनाउन भेला भएका १,५०,००,००० भन्दा बढी व्यक्‍तिहरूमध्ये ८,७६० जनाले मात्र यस स्वर्गीय जिम्मेवारीको लागि रोजिएको आफ्नो आशा जाहेर गरे। राज्यका सम्भाव्य शेष सदस्यहरूमाथि आक्रमण गर्न हिम्मत गर्ने जोसुकैले वास्तवमा परमेश्‍वरको राज्य विरुद्ध युद्ध गरिरहेको हुन्छ।—प्रकाश १२:१७.

राजाले विजय हासिल गर्छन्‌

६. परमेश्‍वरका जनहरूप्रति लक्षित विरोधलाई यहोवा र ख्रीष्टले कुन दृष्टिकोणले हेर्नुहुन्छ?

यहोवाको स्थापित राज्यको विरोधप्रति उहाँले देखाउनुहुने प्रतिक्रियाबारे यस्तो अग्रिमवाणी गरिएको थियो: “स्वर्गमा विराजमान हुनुहुने चाहिं हाँस्नुहुनेछ। परमप्रभुले तिनीहरूलाई खिसी गर्नुहुनेछ, तब उहाँ रिसाएर तिनीहरूसँग कुरा गर्नुहुनेछ, र उहाँको बल्दो रीसमा तिनीहरूलाई यसो भनेर व्याकुल पार्नुहुनेछ। ‘मैले आफ्नै पवित्र डाँड़ा सियोनमा आफ्नै राजालाई स्थापित गरेको छु।’ ” (भजन २:४-६) अहिले यहोवाको निर्देशनअन्तर्गत ख्रीष्टले ‘विजय गर्ने’ समय आएको छ। (प्रकाश ६:२) अन्तिम विजयको दौडान आफ्ना जनहरूप्रति लक्षित विरोधलाई यहोवाले कुन दृष्टिकोणले हेर्नुहुन्छ? यसलाई उहाँले आफू र आफ्नो शासनारूढ राजाप्रति लक्षित भएको ठान्‍नुहुन्छ। यहोवा यसो भन्‍नुहुन्छ: “जसले तिमीहरूलाई छुन्छ त्यसले [मेरो] आँखाको नानीलाई छुन्छ।” (जकरिया २:८) अनि मानिसहरूले येशूका अभिषिक्‍त भाइहरूलाई जे गर्छन्‌ वा जे गर्दैन्‌ त्यो येशूले उहाँलाई नै गरेको वा नगरेको सरह ठान्‍नुहुन्छ भनी उहाँले जोड दिनुभयो।—मत्ती २५:४०, ४५.

७. प्रकाश ७:९ मा वर्णन गरिएको “ठूलो भीड[का]” व्यक्‍तिहरूले किन गोगको क्रोध भोग्छन्‌?

निस्सन्देह, शेष अभिषिक्‍त जनहरूलाई सक्रियतासाथ समर्थन गर्नेहरूले पनि यसै गरी गोगको क्रोध भोग्नेछन्‌। परमेश्‍वरको “नयाँ पृथ्वी[का]” यी सम्भाव्य सदस्यहरू “हरेक जातिबाटको र सबै कुलको र मानिसको, र भाषा भाषाहरूको एक ठूलो भीड” हुन्‌। (प्रकाश ७:९) तिनीहरू “सिंहासन र थुमाको अगाडि सेता लुगा लगाएर . . . उभिरहेका” छन्‌ भनी बताइएको छ। त्यसैले तिनीहरू अनुमोदन प्राप्त भई परमेश्‍वर तथा ख्रीष्टसामु खडा छन्‌। तिनीहरूले “हातमा खजूरका हाँगाहरू लिएर” ब्रह्‍माण्डको आधिकारिक सार्वभौमको रूपमा यहोवाको जयजयकार गर्छन्‌, जसले “परमेश्‍वरका थुमा,” उहाँको शासनारूढ राजा, येशू ख्रीष्टद्वारा शासन चलाउनुहुन्छ।—यूहन्‍ना १:२९, ३६.

८. गोगको आक्रमणले ख्रीष्टलाई के गर्न बाध्य तुल्याउनेछ र यसको नतिजा कस्तो हुनेछ?

गोगको आक्रमणले परमेश्‍वरको शासनारूढ राजालाई कदम चाल्न र आर-मागेडोनको युद्ध सुरु गर्न बाध्य पार्नेछ। (प्रकाश १६:१४, १६) यहोवाको सार्वभौमिकता स्वीकार्न इन्कार गरेकाहरूले विनाश भोग्नेछन्‌। अर्को तर्फ, परमेश्‍वरको राज्यप्रतिको वफादारीको कारण दुःखकष्ट भोगेकाहरूले स्थायी छुटकारा अनुभव गर्नेछन्‌। यस सन्दर्भमा प्रेरित पावलले यस्तो लेखे: “यस हेतुले, कि यो परमेश्‍वरको धार्मिक इन्साफको प्रमाण हो। तिमीहरू परमेश्‍वरको राज्यको योग्यका गनियौ, जसकै निम्ति तिमीहरू दुःख पनि भोग्दछौ। किनकि तिमीहरूलाई दुःख दिनेहरूलाई दुःख दिनुनै परमेश्‍वरको न्यायसंगत काम हो, र तिमी कष्ट पाउनेहरूलाई र हामीलाई पनि आरामी दिनलाई उहाँको शक्‍तिशाली स्वर्गदूतहरूसँग प्रभु येशू स्वर्गबाट बल्दो आगोमा प्रकाश हुँदा, परमेश्‍वरलाई नचिन्‍नेहरूलाई, हाम्रा प्रभु येशूको सुसमाचार नमान्‍नेहरूलाई बदला दिंदा।”—२ थिस्सलोनिकी १:५-८.

९, १०. (क) यहोवाले यहूदालाई कसरी भयानक शत्रुमाथि विजयी तुल्याउनुभयो? (ख) आज मसीहीहरूले के गरिरहनुपर्छ?

आर-मागेडोनको दौडन चरमोत्कर्षमा पुग्ने, आउँदै गरेको महा-संकटमा ख्रीष्टले सबै खराबी विरुद्ध युद्ध गर्नुहुनेछ। तर हजारौं वर्षअघि यहूदाको दुई गोत्रे राज्यका बासिन्दाहरूले झैं उहाँका अनुयायीहरूले पनि कुनै लडाइँ लड्‌नुपर्ने छैन। लडाइँ यहोवाको थियो र उहाँले नै विजयी तुल्याउनुभयो। रेकर्डले यस्तो बताउँछ: “परमप्रभुले यहूदासँग युद्ध गर्न आएका अम्मोनी, मोआबी र सेईरको पहाड़ी-देशका मानिसहरूलाई अल्मलाइदिनुभयो, र तिनीहरूलाई परास्त गर्नुभयो। यस्तो भयो, कि अम्मोनी र मोआबीहरू सेईरका पहाड़ी-देशका मानिसहरूको विरुद्धमा तिनीहरूलाई खतम गर्न र नाश गर्न उठे। जब तिनीहरूले सेईरका मानिसहरूलाई नाश गरिसके तब तिनीहरू आपसमानै एक अर्कालाई अन्धाधुन्ध आक्रमण गर्नलागे। जब यहूदा उजाड़-स्थानमा भएको पहरा राखेको धरहरामा आइपुगेर शत्रुको सैन्य-दललाई हेरे, तब त्यहाँ तिनीहरूले उनीहरूलाई भूइँमा मारिएर पड़िरहेका देखे, औ उनीहरू एउटै पनि उम्केको थिएन।”—२ इतिहास २०:२२-२४.

१० नभन्दै यहोवाले भविष्यवाणी गर्नुभएझैं भयो: “यो लड़ाइँ तिमीहरूले लड़नेछैनौ।” (२ इतिहास २०:१७) यसले येशू ख्रीष्ट “विजय गर्नालाई” अघि बढ्‌नुहुँदा मसीहीहरूले पछ्याउनु पर्ने नमुनाको उदाहरण बसाल्छ। त्यतिन्जेल तिनीहरू शारीरिक हतियारद्वारा त होइन तर आध्यात्मिक हतियारद्वारा खराबी विरुद्ध लडिरहन्छन्‌। त्यसरी तिनीहरू “खराबीलाई भलाइले” जितिरहन्छन्‌।—रोमी ६:१३; १२:१७-२१; १३:१२; २ कोरिन्थी १०:३-५.

गोगको आक्रमणको नेतृत्व कसले गर्नेछ?

११. (क) आक्रमण गर्नको लागि गोगले कस्ता माध्यमहरू चलाउनेछ? (ख) आध्यात्मिक तवरमा सजग हुनुमा कुन कुरा समावेश छ?

११ सन्‌ १९१४ देखि पतित अवस्थामा पुगेको शैतान अर्थात्‌ दियाबललाई मागोगको गोग भनिएको छ। आत्मिक प्राणी भएको कारण त्यसले सीधै आक्रमण गर्न सक्दैन तर आफ्नो काम पूरा गर्न त्यसले मानव माध्यमहरूलाई चलाउनेछ। यी मानव माध्यमहरू को हुनेछन्‌? यसबारे बाइबलले हामीलाई विस्तृत विवरण नदिए तापनि यी मानिसहरू को हुनेछन्‌ भनेर चिन्‍न मदत दिन सक्ने खास संकेतहरू दिन्छ। जसै बाइबल भविष्यवाणीहरूअनुरूप विश्‍व-घटनाहरू घट्‌दै जान्छन्‌, हामीले बिस्तारै अझ स्पष्टसित बुझ्न सक्नेछौं। यहोवाका जनहरू अनुमान लगाउँदैनन्‌ तर बाइबल भविष्यवाणीसित ठ्याक्कै मिल्ने राजनैतिक तथा धार्मिक घटनाक्रमहरूबारे पूर्ण सचेत रहँदै आध्यात्मिक तवरमा सजग रहन्छन्‌।

१२, १३. परमेश्‍वरका जनहरूमाथि हुने अन्तिम आक्रमणबारे अगमवक्‍ता दानियलले कस्तो भविष्यवाणी गरे?

१२ परमेश्‍वरका जनहरू विरुद्ध हुने अन्तिम आक्रमणबारे प्रकाश पार्दै अगमवक्‍ता दानियल यस्तो लेख्छन्‌: “धेरैलाई नाश गर्न र नामेट पार्न रीसले तिनी [उत्तरका राजा] झोंकिएर जानेछन्‌। तिनले [ठूलो] समुद्र र पवित्र डाँड़ा, अर्थात्‌ सबैभन्दा सुन्दर डाँड़ाका बीचमा आफ्नो शाही शिविर खड़ा गर्नेछन्‌।”—दानियल ११:४४, ४५.

१३ बाइबलकालीन भूमध्य सागरलाई “[ठूलो] समुद्र” र सियोनलाई “पवित्र डाँडा” भनिन्थ्यो, जसबारे यहोवाले यसो भन्‍नुभयो: “मैले आफ्नै पवित्र डाँडा सियोनमा आफ्नै राजालाई स्थापित गरेको छु।” (भजन २:६; यहोशू १:४) त्यसकारण आध्यात्मिक अर्थमा “[ठूलो] समुद्र र पवित्र डाँड़ा[बीचको]” भूमिले अभिषिक्‍त मसीहीहरूको संवृद्ध आध्यात्मिक भूमिलाई संकेत गर्छ। तिनीहरू अब परमेश्‍वरबाट टाढिएको मानव समाजको समुद्र भनेर चिनिंदैनन्‌ र तिनीहरूले स्वर्गीय राज्यमा ख्रीष्टसित शासन गर्ने दिनको बाटो हेरिरहेका छन्‌। निस्सन्देह, दानियलको भविष्यवाणीको पूर्तिअनुरूप उत्तरका राजाले क्रूर आक्रमण सुरु गर्दा परमेश्‍वरका अभिषिक्‍त सेवकहरूका साथै ठूलो भीडका वफादार सँगीहरू तिनको तारो हुनेछन्‌।—यशैया ५७:२०; हिब्रू १२:२२; प्रकाश १४:१.

परमेश्‍वरका सेवकहरूले कस्तो प्रतिक्रिया देखाउनेछन्‌?

१४. आक्रमण आइपर्दा परमेश्‍वरका जनहरूले कुन तीनवटा काम गर्नेछन्‌?

१४ परमेश्‍वरका सेवकहरूमाथि आक्रमण हुँदा तिनीहरूले के गरेको आशा गरिन्छ? यस सन्दर्भमा पनि यहोशापातको समयमा परमेश्‍वरको प्रतीकात्मक राष्ट्रले देखाएको प्रतिक्रियाले उदाहरण बसाल्छ। ध्यान दिनुहोस्‌, यस राष्ट्रका नागरिकहरूलाई तीनवटा काम गर्ने आज्ञा दिइएको थियो: (१) दृढ हुने, (२) पर्खिबस्ने र (३) यहोवाको उद्धार हेर्ने। आज परमेश्‍वरका जनहरूले कसरी यी शब्दहरूअनुरूप कदम चाल्नेछन्‌?—२ इतिहास २०:१७.

१५. यहोवाका जनहरूको लागि दृढ हुनुको अर्थ के हो?

१५ दृढ हुने: परमेश्‍वरका जनहरू ढलपल नभईकन परमेश्‍वरको राज्यलाई समर्थन गर्ने काममा सक्रियतासाथ लागेर दृढ रहिरहनेछन्‌। तिनीहरूले मसीही तटस्थता कायम राख्नेछन्‌। तिनीहरू यहोवाप्रतिको आफ्नो वफादार सेवामा “स्थिर र अटल” रहनेछन्‌ अनि यहोवाको करुणाको लागि उहाँलाई सार्वजनिक रूपमा प्रशंसा गरिरहनेछन्‌। (१ कोरिन्थी १५:५८; भजन ११८:२८, २९) कुनै पनि वर्तमान वा भावी दबाबले तिनीहरूलाई यो ईश्‍वरीय अनुमोदन प्राप्त अवस्थाबाट डगमगाउन सक्दैन।

१६. यहोवाका सेवकहरू कुन तरिकामा पर्खिबस्नेछन्‌?

१६ पर्खिबस्ने: यहोवाका सेवकहरूले आफ्नो बचाउ आफै गर्न खोज्नेछैनन्‌ तर आफ्नो पूर्ण भरोसा यहोवामाथि राख्नेछन्‌। आफ्ना सेवकहरूलाई संसारको गन्जागोलबाट उहाँले मात्र छुटाउन सक्नुहुन्छ र उहाँले त्यसो गर्ने प्रतिज्ञा गर्नुभएको छ। (यशैया ४३:१०, ११; ५४:१५; विलाप ३:२६) यहोवामाथि भरोसा राख्नुमा उहाँले आफ्नो उद्देश्‍य पूरा गर्न दशकौं अघिदेखि चलाउँदै आउनुभएको वर्तमान दृश्‍य माध्यममाथि भरोसा राख्नु समावेश हुनेछ। साँचो मसीहीहरूले नेतृत्व लिनको लागि यहोवा र उहाँको शासनारूढ राजाद्वारा नियुक्‍त सँगी उपसाकहरूमाथि पहिलेभन्दा अझ बढी भरोसा राख्नुपर्छ। यी विश्‍वासी पुरुषहरूले परमेश्‍वरका जनहरूलाई डोऱ्‍याउनेछन्‌। तिनीहरूको निर्देशनलाई बेवास्ता गर्दा यसको परिणाम विपत्तिजनक हुन सक्छ।—मत्ती २४:४५-४७; हिब्रू १३:७, १७.

१७. परमेश्‍वरका विश्‍वासी सेवकहरूले किन यहोवाको उद्धार देख्नेछन्‌?

१७ यहोवाको उद्धार हेर्ने: मसीही तटस्थता कायम राख्ने र छुटकाराको लागि यहोवामा भर पर्नेहरू सबैले इनामस्वरूप उद्धार पाउनेछन्‌। तिनीहरूले यहोवाको न्यायको दिन आएको घोषणा अन्तिम घडीसम्म र सकेजति गर्नेछन्‌। यहोवा नै साँचो परमेश्‍वर हुनुहुन्छ र पृथ्वीमा उहाँका विश्‍वासी सेवकहरू छन्‌ भन्‍ने कुरा सारा सृष्टिले थाह पाउनै पर्छ। त्यसपछि, यहोवाको सार्वभौमिकताको आधिकारिकताबारे लामो विवाद गरिरहन कहिल्यै आवश्‍यक पर्नेछैन।—इजकिएल ३३:३३; ३६:२३.

१८, १९. (क) प्रस्थान अध्याय १५ को विजयगीतले गोगको आक्रमणबाट बच्ने व्यक्‍तिहरूको भावना कसरी झल्काउँछ? (ख) अहिले परमेश्‍वरका जनहरूले के गर्नु उपयुक्‍त छ?

१८ प्राचीन समयका इस्राएलीहरूले लाल समुद्रबाट छुटकारा पाएपछि विजयगीत गाएझैं, परमेश्‍वरका जनहरू पनि विजयगीत गाउन उत्सुक हुँदै पुनर्जागृत जोसका साथ नयाँ संसारमा प्रवेश गर्नेछन्‌। यहोवाले व्यक्‍तिगत वा सामूहिक तवरमा गर्नुभएको सुरक्षाको लागि सधैंभरि उहाँप्रति कृतज्ञ हुँदै तिनीहरूले निकै अघिका यी शब्दहरू गुञ्जाउनेछन्‌: “म परमप्रभुको स्तुतिगान गाउनेछु, किनकि उहाँले ठूलो विजय गर्नुभएको छ। . . . परमप्रभुनै योद्धा हुनुहुन्छ, उहाँको नाउँ परमप्रभु [यहोवा, NW] हो। . . . हे परमप्रभु, तपाईंको दाहिने बाहुलीले शत्रुहरूलाई चक्नाचूर पार्छ। तपाईंका विरुद्धमा उठनेहरूलाई तपाईंको महिमाको उच्चतामा तपाईंले परास्त गर्नुहुन्छ। तपाईंले आफ्नो क्रोधले तिनीहरूलाई भूसझैं भस्म पार्नुहुन्छ। . . . तपाईंले छुटकारा गर्नुभएका मानिसहरूलाई तपाईंले आफ्नो कृपाले डोराउनुभएको छ, तपाईंले आफ्नो शक्‍तिद्धारै तिनीहरूलाई आफ्नो पवित्र बासस्थानमा अगुवाइ गर्नुभएको छ। . . . तपाईंले तिनीहरूलाई ल्याएर तपाईंको आफ्नो पर्वतमा बसाल्नुहनेछ, त्यसै ठाउँमा, हे परमप्रभु, जो तपाईंले आफ्नो बासको निम्ति बनाउनुभएको छ, त्यही पवित्र स्थानमा, हे परमप्रभु, जो तपाईंका बाहुलीले स्थापन गर्नुभएको छ। परमप्रभुले सदा सर्वदै राज्य गर्नुहुनेछ।”—प्रस्थान १५:१-१९.

१९ अनन्त जीवनको प्रत्याशा पहिलेभन्दा अझ प्रस्ट भएकोले परमेश्‍वरका सेवकहरूको लागि यहोवाप्रति भक्‍ति देखाउने र अनन्त राजाको रूपमा उहाँको सेवा गरिरहने आफ्नो कटिबद्धतालाई नविकरण गर्ने उपयुक्‍त समय अहिलेभन्दा अरू कहिले होला र!—१ इतिहास २९:११-१३.

के तपाईं बुझाउन सक्नुहुन्छ?

• गोगको आक्रमण किन अभिषिक्‍त जन तथा अरू भेडातर्फ लक्षित हुनेछ?

• परमेश्‍वरका जनहरू कसरी दृढ हुनेछन्‌?

• पर्खिबस्नुको अर्थ के हो?

• परमेश्‍वरका जनहरूले कसरी यहोवाको उद्धार देख्नेछन्‌?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ १८-मा भएको चित्र]

यहोवाले यहोशापात र तिनका मानिसहरूलाई विजयी तुल्याउनुभयो, तिनीहरूले लडाइँ नै लड्‌नु परेन

[पृष्ठ २०-मा भएको चित्र]

अभिषिक्‍त जन तथा अरू भेडाले यहोवाको सार्वभौमिकता उच्च पार्ने काममा भाग लिन्छन्‌

[पृष्ठ २२-मा भएको चित्र]

प्राचीन समयका इस्राएलीहरूले झैं, चाँडै परमेश्‍वरका जनहरूले विजयगीत गाउनेछन्‌