सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पाठकहरूका प्रश्‍नहरू

पाठकहरूका प्रश्‍नहरू

पाठकहरूका प्रश्‍नहरू

के एकदमै बिरामी वा बूढो भइसकेको पाल्तु पशु मार्नु गलत हो?

धेरैजसो मानिसहरूले आफ्नो सोख र आनन्दको लागि विभिन्‍न किसिमका जनावरहरू पाल्ने गर्छन्‌। कुनै-कुनै पाल्तु पशु मानिसको असल मित्र हुन सक्छ। उदाहरणका लागि, कुकुर आफ्नो मालिकप्रति अत्यन्तै वफादार हुनुका साथै माया देखाउँछ। तसर्थ, विशेष गरी आफूले वर्षौं पालेको पाल्तु पशुप्रति त्यस्तो घनिष्ठता हुनुको कारण बुझ्न सक्छौं।

तथापि, प्रायजसो पशुहरूको आयु लामो हुँदैन। कुकुर १० देखि १५ वर्ष वा त्योभन्दा अलि बढी अनि बिरालो पनि जातअनुसार त्यतिसम्मै बाँच्छ। बूढो भइसकेपछि पशुहरू बिरामी हुन सक्छन्‌ अनि सानो छँदा एकदमै सक्रिय जनावरहरू अहिले अशक्‍त अवस्थामा देख्दा मालिकहरू निराश हुन सक्छन्‌। के त्यस्ता पशुहरूलाई पीडाबाट मुक्‍ति दिनु अर्थात्‌ तिनीहरूको ज्यान लिनु गलत हो?

पशुहरूको सन्दर्भमा पनि मसीहीहरू परमेश्‍वरको इच्छाअनुसार व्यवहार गर्न चाहन्छन्‌। पशुहरूलाई क्रूर व्यवहार गर्नु परमेश्‍वरको इच्छा विपरीत हो किनभने उहाँको वचनले यसो भन्छ: “असल मानिसले आफ्नो पशुको वास्ता गर्छ।” (हितोपदेश १२:१०) तथापि, परमेश्‍वरले मानिस र पशुप्रति एउटै दृष्टिकोण राख्नुहुन्छ भनेको होइन। परमेश्‍वरले मानिसलाई सृष्टि गर्नुहुँदा उहाँले मानिस र पशुबीचको स्पष्ट भिन्‍नता छ भनेर देखाउनुभयो। उदाहरणका लागि, उहाँले मानिसहरूलाई अनन्त जीवनको आशा दिनुभयो तर पशुहरूलाई त्यस्तो आशा दिनुभएको छैन। (रोमी ६:२३; २ पत्रुस २:१२) सृष्टिकर्ता भएको हुँदा मानिस र पशुबीच उचित सम्बन्ध तोक्ने अधिकार उहाँसित छ।

उत्पत्ति १:२८ ले त्यो सम्बन्धबारे बताउँछ। परमेश्‍वरले प्रथम मानवलाई यसो भन्‍नुभयो: “समुद्रका माछाहरू, आकाशका पक्षीहरू तथा पृथ्वीका सबै जीवित प्राणीहरूमाथि अधिकार गर।” त्यसरी नै, भजन ८:६-८ यसो भन्छ: “[परमेश्‍वरले] सबैकुरा [मानिसको] चरणमुनी राख्नुभएको छ। भेडा र गोरुहरू सबै वनका जानवरहरू पनि। आकाशका चराहरू र समुद्रका माछाहरू, र समुद्रमा बग्ने सबै जन्तुहरू।”

मानिसले पशुलाई सही ढंगमा प्रयोग गरेर त्यसलाई मार्न सक्छ भनी परमेश्‍वरले स्पष्ट पार्नुभयो। उदाहरणका लागि, पशुको छाला पोसाकको रूपमा प्रयोग गर्न सकिन्छ। परमेश्‍वरले नूहको समयको जलप्रलयपछि मानिसहरूलाई तिनीहरूको सुरुको सागसब्जीको भोजनमा थप पोषणको लागि पशुहरूलाई भोजनको रूपमा खाने अनुमति पनि दिनुभयो।—उत्पत्ति ३:२१; ४:४; ९:३.

यसो भन्दैमा खेलकुदको लागि जथाभावी पशु मार्न हुन्छ भन्‍ने होइन। उत्पत्ति १०:९ मा बाइबलले निम्रोदलाई “शक्‍तिशाली शिकारी” भनेको छ। तर त्यही पदले बताएअनुसार यसले गर्दा तिनी “परमप्रभुको दृष्टिमा शक्‍तिशाली शिकारी” भए भनी बताइएको छ।

तसर्थ, जनावरहरूमाथि मानिसको प्रभुत्व भए तापनि उसले त्यो अख्तियारको दुरुपयोग गर्नु हुँदैन र यसलाई परमेश्‍वरको वचनमा दिइएका सिद्धान्तअनुसार चलाउनुपर्छ। यसअनुरूप उमेर धेरै गइसकेको, गम्भीर चोटपटक वा घातक बिरामीको कारण पशुलाई अनावश्‍यक पीडाबाट मुक्‍त गर्नु पनि समावेश छ। त्यस्तो अवस्थामा के गर्ने भनेर मसीही आफैले निर्णय गर्नुपर्छ। निको हुने आशा नभएको अवस्थामा पशुलाई बिनसित्ति तड्‌पिरहन दिनुको साटो मार्नु नै दयालु कार्य हुने तिनले निर्णय गर्न सक्छन्‌।