हाम्रा निष्पक्ष परमेश्वर यहोवाको अनुकरण गर्नुहोस्
हाम्रा निष्पक्ष परमेश्वर यहोवाको अनुकरण गर्नुहोस्
“परमेश्वरमा पक्षपात छैन।”—रोमी २:११.
१, २. (क) कनानीहरूको सन्दर्भमा सामान्यतया यहोवाको उद्देश्य कस्तो थियो? (ख) यहोवाले के गर्नुभयो र यसले कस्ता प्रश्नहरू खडा गर्छ?
सा.यु.पू. १४७३ मा मोआबको बेंसीमा पाल टाँगेर बसेको इस्राएलले मोशाको कुरा ध्यानपूर्वक सुन्यो। यर्दन नदीको पारीपट्टि तिनीहरूले एउटा चुनौती सामना गर्नुपर्ने थियो। प्रतिज्ञा गरिएको देशमा इस्राएलले सातवटा शक्तिशाली कनानी राज्यहरूलाई पराजित गर्ने यहोवाको उद्देश्यबारे मोशाले घोषणा गरे। मोशाका शब्दहरू कत्ति आश्वासनदायी थिए: “परमप्रभु तिमीहरूका परमेश्वरले तिनीहरूलाई तिमीहरूको अधीनमा पारिदिनुहुन्छ, र तिमीहरूले तिनीहरूलाई परास्त गर्छौ”! इस्राएलले तिनीहरूसित सम्झौता गर्नु हुँदैनथ्यो र तिनीहरू टिठाउन लायकका थिएनन्।—व्यवस्था १:१; ७:१, २.
२ तैपनि, इस्राएलले आक्रमण गरेको पहिलो शहरमा यहोवाले एउटा परिवारलाई बचाउनुभयो। अरू चारवटा शहरका मानिसहरूले पनि परमेश्वरको सुरक्षा पाए। उहाँले किन यसो गर्नुभयो? यी कनानीहरूको बचावटसित सम्बन्धित उल्लेखनीय घटनाहरूले हामीलाई यहोवाबारे के सिकाउँछ? अनि हामी कसरी उहाँको अनुकरण गर्न सक्छौं?
यहोवाका कीर्तिप्रतिका प्रतिक्रियाहरू
३, ४. इस्राएलीहरूका विजयका समाचारहरूले कनानका बासिन्दाहरूमाथि कस्तो प्रभाव पाऱ्यो?
३ प्रतिज्ञा गरिएको देशमा प्रवेश गर्नुअघि इस्राएलले उजाड-स्थानमा बिताएको ४० वर्षको दौडान यहोवाले आफ्ना जनहरूको सुरक्षा गर्नुभयो र तिनीहरूको खातिर लड्नुभयो। प्रतिज्ञा गरिएको देशको दक्षिणमा इस्राएलले अरादका कनानी राजाको सामना गऱ्यो। यहोवाको मदतद्वारा इस्राएलीहरूले तिनी तथा तिनका मानिसहरूलाई होर्मामा पराजित गरे। (गन्ती २१:१-३) पछि, इस्राएल एदोम देशको फेरो लगाएर, उत्तर दिशातिर मृत सागरको उत्तर-पूर्वतर्फ लाग्यो। पहिले मोआबीहरू बसोबास गर्ने यो क्षेत्रमा अहिले एमोरीहरू बस्थे। एमोरी राजा सीहोनले इस्राएललाई आफ्नो भूमिको बाटो भएर जान दिएनन्। स्पष्टतः अर्नोन खोलाको उत्तरमा रहेको यहसमा लडाइँ भयो र सीहोन त्यहीं मारिए। (गन्ती २१:२३, २४; व्यवस्था २:३०-३३) अझ उत्तरमा रहेको बाशानमा ओगले अरू एमोरीहरूमाथि शासन गर्थे। ओग भयंकर भए तापनि यहोवाको अगाडि तिनी केही पनि थिएनन्। ओग एद्रेइमा मारिए। (गन्ती २१:३३-३५; व्यवस्था ३:१-३, ११) यी विजयका समाचारहरूका साथै इस्राएल मिश्रबाट प्रस्थान गर्ने बेलाका थुप्रै विवरणहरूले कनानका बासिन्दाहरूमाथि सशक्त प्रभाव पाऱ्यो। a
४ इस्राएल यर्दन तरेर पहिलो पटक कनानमा प्रवेश गर्दा तिनीहरूले गिलगाल भन्ने ठाउँमा पाल टाँगे। (यहोशू ४:९-१९) पर्खालले घेरिएको यरीहो शहर त्यहाँबाट नजिकै पर्थ्यो। कनानी राहाबले यहोवाका क्रियाकलापहरूबारे सुनेको कुराले तिनलाई विश्वासअनुसार काम गर्न उत्प्रेरित गऱ्यो। फलस्वरूप यहोवाले यरीहोमाथि विनाश ल्याउनुहुँदा उहाँले तिनी र तिनको घरमा भएकाहरूलाई बचाउनुभयो।—यहोशू २:१-१३; ६:१७, १८; याकूब २:२५.
५. कुन कुराले गिबोनीहरूलाई चलाकी अपनाउन उत्प्रेरित गऱ्यो?
५ त्यसपछि, इस्राएल यर्दन नदी छेउको होचो भू-भागबाट त्यस क्षेत्रको मध्य भागको वरपर रहेका पहाडहरूतिर उक्लियो। यहोवाको निर्देशन पछ्याउँदै यहोशूले ऐ शहर विरुद्ध लुकेर आक्रमण गर्ने नीति अपनाए। (यहोशू, अध्याय ८) एकपछि अर्को पराजयको समाचारले कनानका थुप्रै राजाहरूलाई युद्धको लागि एकजूट हुन उक्सायो। (यहोशू ९:१, २) त्यहाँबाट नजिकै पर्ने हिव्वीहरूको शहर गिबोनका बासिन्दाहरूले भने योभन्दा भिन्नै कदम चाले। “उनीहरूले एउटा चलाकी अपनाए” भनी यहोशू ९:४ ले (नयाँ संशोधित संस्करण) बताउँछ। राहाबले जस्तै उनीहरूले पनि मिश्रबाट प्रस्थान गर्दाको समयमा र सीहोन तथा ओगलाई पराजित गर्दा यहोवाले आफ्ना जनहरूलाई छुटाउनुभएको कुरा सुनेका थिए। (यहोशू ९:६-१०) गिबोनीहरूले प्रतिकार गर्नु बेकार छ भन्ने कुरा बुझे। त्यसकारण गिबोनीहरूले आफ्नो र नजिकैका तीन शहर, कपीरा, बेरोत र किर्यत्यारैमको तर्फबाट टाढा देशबाट आएका मानिसहरूको भेषमा आफ्ना प्रतिनिधिहरूलाई यहोशूकहाँ गिलगालमा पठाए। उनीहरूको चतुऱ्याइँ सफल भयो। यहोशूले उनीहरूसित एउटा करार बाँधे र उनीहरू मर्न नपर्ने भयो। तीन दिनपछि यहोशू र इस्राएलीहरूले आफू छकिएको कुरा थाह पाए। यद्यपि, यहोवाको नाउँमा करार बाँधिसकेको हुनाले तिनीहरूले यो तोडेनन्। (यहोशू ९:१६-१९) के यहोवाले यस कुरालाई स्वीकार्नुभयो?
६. यहोशूले गिबोनीहरूसित बाँधेको करारप्रति यहोवाले कस्तो प्रतिक्रिया देखाउनुभयो?
६ गिबोनीहरूलाई इस्राएलीहरू र बासस्थानमा “परमप्रभुको वेदीको निम्ति” समेत दाउरे र पनेरे हुने अनुमति दिइयो। (यहोशू ९:२१-२७) त्यति मात्र होइन, पाँच जना एमोरी राजा तथा तिनका सेनाहरूले गिबोनीहरूलाई धम्काउँदा यहोवाले चमत्कारपूर्ण ढंगमा हस्तक्षेप गर्नुभयो। यहोशूको फौजको हातबाट भन्दा असिनाबाट मर्ने शत्रुहरूको संख्या धेरै भयो। शत्रुहरूलाई पूरै पराजित नगरुन्जेल सूर्य तथा चन्द्र अडिरहोस् भनी यहोशूले गरेको बिन्तीसमेत यहोवाले सुन्नुभयो। यहोशूले यसो भने: “परमप्रभुले मानिसको कुरा सुन्नुभयो। त्यो दिन जस्तो उहिले र पछि कहिले भएन किनकि इस्राएलीहरूको निम्ति परमप्रभुले युद्ध गर्नुभयो।”—यहोशू १०:१-१४.
७. कोही-कोही कनानीहरूको सन्दर्भमा पत्रुसले स्वीकारेको कुन सत्य कुरा प्रस्ट भयो?
७ कनानी राहब र तिनका परिवारलगायत गिबोनीहरू यहोवासित डराए र त्यसैअनुरूप कदम चाले। तिनीहरूलाई जे भयो त्यसले पछि मसीही प्रेरित पत्रुसले बताएको यो सत्य प्रस्ट पार्छ: “परमेश्वरले मानिसहरूको पक्षपात गर्नुहुन्न, तर हरेक जातिमा जो उहाँसँग डराउँछ, र उचित काम गर्छ, त्यसलाई उहाँले स्वीकार गर्नुहुन्छ।”—प्रेरित १०:३४, ३५.
अब्राहाम तथा इस्राएलसितको व्यवहार
८, ९. यहोवाले अब्राहाम तथा इस्राएल राष्ट्रसित गर्नुभएको व्यवहारमा उहाँको निष्पक्षता कसरी देखिन्छ?
८ परमेश्वरले अब्राहाम तथा तिनका सन्तानहरूसित व्यवहार गर्नुहुँदा देखाउनुभएको असीम कृपातर्फ चेला याकूबले ध्यान खिचे। अब्राहाम आफ्नो जातीय पृष्ठभूमिको कारण नभई विश्वासको कारण “परमेश्वरका मित्र” बन्न सके। (याकूब २:२३) यहोवाप्रतिको विश्वास तथा प्रेमको कारण अब्राहामका सन्ततिहरूले आशिष् पाए। (२ इतिहास २०:७) यहोवाले अब्राहामसित यस्तो प्रतिज्ञा गर्नुभयो: “तेरो सन्तानको वृद्धि गरेर आकाशका तारा र समुद्र किनारका बालुवासरह तुल्याउनेछु।” तर त्यसपछिको पदमा गरिएको प्रतिज्ञालाई ध्यान दिनुहोस्: “तेरै सन्तानद्वारा पृथ्वीका सबै जातिहरू आशीर्वादी हुनेछन्।”—उत्पत्ति २२:१७, १८; रोमी ४:१-८.
९ पक्षपात गर्नुको सट्टा, आफ्नो आज्ञा पालन गर्नेहरूको लागि के गर्न सक्नुहुन्छ भन्ने कुरा यहोवाले इस्राएलसितको व्यवहारद्वारा देखाउनुभयो। यी व्यवहारहरू यहोवाले आफ्ना विश्वासी सेवकहरूप्रति कसरी वफादार प्रेम देखाउनुहुन्छ भन्ने कुराका उदाहरण हुन्। इस्राएल यहोवाको “विशेष जाति” भए तापनि यसको अर्थ अरू मानिसहरूले परमेश्वरको उदारता अनुभव गर्नै पाएनन् भन्ने होइन। (व्यवस्था ७:६-८; प्रस्थान १९:५) हो, यहोवाले इस्राएललाई मिश्रको दासत्वबाट किन्नुभयो र फलस्वरूप यस्तो घोषणा गर्नुभयो: “पृथ्वीका सबै कुलहरूमा मैले केवल तिमीहरूमाथि मन लगाएँ।” तर अगमवक्ता आमोस र अरूमार्फत यहोवाले “सबै जाति[का]” मानिसहरूलाई एउटा अद्भुत प्रत्याशाको प्रतिज्ञा गर्नुभयो।—आमोस ३:२; ९:११, १२; यशैया २:२-४.
येशू, निष्पक्ष शिक्षक
१०. निष्पक्षता देखाउने सन्दर्भमा येशूले कसरी आफ्नो पिताको अनुकरण गर्नुभयो?
१० पिताको मूर्तरूप येशूले आफ्नो पार्थिव सेवकाईको दौडान यहोवाको निष्पक्षता अनुकरण गर्नुभयो। (हिब्रू १:३) त्यतिबेला उहाँको प्रमुख चासो “इस्राएलको घरानाका हराएका भेडाहरू” खोज्नु थियो। तैपनि उहाँ एउटा इनारमा सामरी आइमाईलाई साक्षी दिन पछि हट्नुभएन। (मत्ती १५:२४; यूहन्ना ४:७-३०) एक जना गैर-यहूदी कप्तानको अनुरोधमा उहाँले चमत्कारसमेत गर्नुभयो। (लूका ७:१-१०) आफ्ना कार्यहरूद्वारा परमेश्वरका जनहरूप्रति प्रेम देखाउनुको अलावा उहाँले यस्तो चमत्कार गर्नुभएको थियो। येशूका चेलाहरूले टाढा-टाढासम्म पनि प्रचार गरे। यहोवाको आशिष् पाउने आधार राष्ट्रियतासित होइन तर मनोवृत्तिसित सम्बन्धित छ भन्ने कुरा स्पष्ट भयो। सत्यका लागि भोकाएका नम्र तथा इमानदार हृदयका मानिसहरूले राज्यको सुसमाचारप्रति सकारात्मक प्रतिक्रिया देखाए। यसको विपरीत, घमण्डी तथा अहंकारी हृदय भएकाहरूले येशू र उहाँको सन्देशलाई इन्कार गरे। येशूले यस्तो घोषणा गर्नुभयो: “हे पिता, स्वर्ग र पृथ्वीका परमप्रभु, म तपाईंमा धन्यवाद चढाउँदछु, तपाईंले यी कुरा बुद्धिमान र समझदारबाट छिपाएर बालकहरूलाई प्रकट गर्नुभयो। हे पिता, किनकि तपाईंको दृष्टिमा यही असल लाग्यो।” (लूका १०:२१) अरूसित प्रेम र विश्वासको आधारमा व्यवहार गर्दा हामी निष्पक्ष भइरहेका हुनेछौं अनि यहोवाले यस्तै व्यवहारलाई स्वीकार्य ठान्नुहुन्छ भनेर ढुक्क हुन सक्छौं।
११. प्रारम्भिक मसीही मण्डलीमा निष्पक्षता कसरी देखाइएको थियो?
११ प्रारम्भिक मसीही मण्डलीमा यहूदी तथा गैर-यहूदीहरूबीच कुनै भेदभाव थिएन। पावलले यसो भने: “असल काम गर्ने हरेकलाई, पहिले यहूदीलाई अनि ग्रीकलाई, पनि महिमा र इज्जत र शान्ति हुन्छ, किनकि परमेश्वरमा पक्षपात छैन।” b (रोमी २:१०, ११) तिनीहरूले यहोवाको असीम दयाबाट लाभ उठाउने वा नउठाउने कुरा तिनीहरूको जातीय पृष्ठभूमिमा नभई यहोवा र उहाँको पुत्र येशूको बलिदानले दिएको प्रत्याशाबारे थाह पाएपछि तिनीहरूले देखाउने प्रतिक्रियामा भर पर्थ्यो। (यूहन्ना ३:१६, ३६) पावलले यस्तो लेखे: “बाहिरी यहूदी देखाउने यहूदीनै होइन, औ बाहिरी शरीरमा खतना हुने खतनाकै होइन, तर भित्र मनका यहूदी हुनेनै यहूदी हो, औ लेखिएको व्यवस्थामा होइन, तर आत्मामा हृदयको खतना हुने चाहिं खतनाको हो।” त्यसपछि, “यहूदी” (अर्थ “यहूदाको” अर्थात् स्तुति वा प्रशंसा गरिएको) भन्ने शब्द कौशलतासाथ प्रयोग गर्दै पावलले अझ यसो भने: “जसको प्रशंसा मानिसहरूबाट होइन, तर परमेश्वरबाट हुन्छ।” (रोमी २:२८, २९) यहोवाले प्रशंसा गर्दा कुनै पक्षपात गर्नुहुन्न। के हामी पनि त्यसै गर्छौं?
१२. प्रकाश ७:९ ले कस्तो प्रत्याशा दिन्छ र कसलाई?
१२ पछि, प्रेरित यूहन्नाले एउटा दर्शनमा “इस्राएलीहरूको हरेक कुलबाट” छाप लगाइएका १,४४,००० जनहरूको आध्यात्मिक राष्ट्रको रूपमा वर्णन गरिएका विश्वासी अभिषिक्त मसीहीहरूलाई देखे। त्यसपछि यूहन्नाले “हरेक जातिबाटको र सबै कुलको र मानिसको, र भाषा भाषाहरूको एक ठूलो भीड, सिंहासन र थुमाको अगाडि सेता लुगा लगाएर हातमा खजूरका हाँगाहरू लिएर उभिरहेका” देखे। (प्रकाश ७:४, ९) त्यसकारण अहिलेको मण्डलीबाट कुनै पनि जातीय समूह वा भाषालाई अलग गरिएको छैन। सबै पृष्ठभूमिका मानिसहरूसित आउँदै गरेको “महा संकष्टबाट” बचेर नयाँ संसारमा “जीवनका पानीहरूका फोहरा[बाट]” पिउने प्रत्याशा छ।—प्रकाश ७:१४-१७.
सकारात्मक प्रभावहरू
१३-१५. (क) हामी जातीय तथा सांस्कृतिक भिन्नता कसरी हटाउन सक्छौं? (ख) मित्रभाव देखाउँदा प्राप्त हुन सक्ने लाभहरूबारे उदाहरणहरू बताउनुहोस्।
१३ एक जना असल बुबाले आफ्नो बच्चालाई राम्रोसित चिनेझैं यहोवाले हामीलाई राम्रोसित चिन्नुहुन्छ। त्यसै गरी, हामीले अरूको संस्कृति तथा पृष्ठभूमिमा चासो लिएर तिनीहरूबारे बुझ्दा आपसी भिन्नताहरूको कुनै महत्त्व रहँदैन। जातीय पर्खाल ढल्छ र मित्रता तथा प्रेमको बन्धन झनै बलियो हुन्छ। एकता बढ्छ। (१ कोरिन्थी ९:१९-२३) विदेशी कार्यभारमा सेवा गर्ने मिसनरीहरूको क्रियाकलापद्वारा यो कुरा प्रस्ट हुन्छ। तिनीहरूले ती मुलुकमा बस्ने मानिसहरूको चासो लिन्छन् र फलस्वरूप, मिसनरीहरू स्थानीय मण्डलीमा चाँडै घुलमिल हुन्छन्।—फिलिप्पी २:४.
१४ निष्पक्ष हुँदाका सकारात्मक प्रभावहरू थुप्रै देशहरूमा देखिएका छन्। इथियोपियाका आक्लीलुले बेलायतको राजधानी लण्डनमा एक्लो महसुस गरे। आधुनिक युरोपका थुप्रै शहरहरूमा झैं त्यहाँका मानिसहरूले पनि अरू देशका मानिसहरूसित मित्रैलो व्यवहार नगरेको देख्दा तिनको एकाकीपन झनै बढ्यो। आक्लीलु यहोवाका साक्षीहरूको राज्यभवनमा मसीही सभामा उपस्थित हुँदा भने तिनले एकदमै भिन्न अनुभव गरे! त्यहाँ उपस्थित सबैले तिनलाई स्वागत गरे र चाँडै तिनी सबैसित घुलमिल हुन थाले। तिनले सृष्टिकर्ताप्रति आफ्नो मूल्यांकन एकदम छिट-छिटो बढाउन सके। चाँडै तिनले त्यस क्षेत्रका अरू मानिसहरूलाई राज्यको सुसमाचार सुनाउने काममा भाग लिने मौका खोज्न थाले। वास्तवमा, एक दिन आक्लीलुसँगै प्रचार गरिरहेका साक्षीले तिनको जीवनको लक्ष्यबारे सोध्दा कुनै दिन आफ्नै भाषा आम्हारिक बोल्ने मण्डलीको भाग हुने आशा गरेको कुरा बताउन आक्लीलु हिचकिचाएनन्। अंग्रेजी बोल्ने स्थानीय मण्डलीका प्राचीनहरूले यो कुरा थाह पाएपछि, तिनीहरूले आक्लीलुको मातृ-भाषामा बाइबल आधारित जनभाषण दिने प्रबन्ध मिलाउन खुसी भए। बेलायतमा आम्हारिक भाषाको पहिलो सभामा उपस्थित हुने निमन्त्रणा पाउँदा थुप्रै विदेशी तथा स्थानीय व्यक्तिहरू त्यहाँ उपस्थित भएर आफ्नो समर्थन जनाए। आज त्यस क्षेत्रका इथियोपियाली र आम्हारिक भाषा बोल्ने अरू मानिसहरू एउटा उन्नतिशील मण्डलीमा एकताबद्ध छन्। त्यहाँका थुप्रै व्यक्तिहरूले यहोवाको पक्ष लिन र मसीही बप्तिस्माद्वारा यसलाई प्रतीकात्मक रूप दिन तिनीहरूलाई कुनै पनि कुराले रोक्दैन भनी थाह पाएका छन्।—प्रेरित ८:२६-३६.
१५ व्यक्तित्व तथा पृष्ठभूमि फरक-फरक हुन्छन्। यी ठूला वा साना भनेर छुट्याउने आधार होइनन्; केवल भिन्नता हुन्। भर्खरै मात्र यहोवालाई समर्पण गरेका उहाँका सेवकहरूले बप्तिस्मा लिएको हेर्दा माल्टा टापुका स्थानीय साक्षीहरू हर्षविभोर भए भने बेलायतबाट आएका आगन्तुकहरूको आँखाबाट हर्षको आँसु बग्यो। माल्टावासी र बेलाइतीहरू दुवैको समूहले आफ्ना भावनाहरू व्यक्त गरे तर भिन्ना-भिन्नै ढंगमा, अनि यहोवाप्रतिको बलियो प्रेमले मसीही भ्रातृत्वको बन्धन अझै कसिलो बनायो।—भजन १३३:१; कलस्सी ३:१४.
पूर्वाग्रह हटाउने
१६-१८. मसीही मण्डलीमा पूर्वाग्रह कसरी हटाउन सकिन्छ भनेर देखाउने एउटा अनुभव बताउनुहोस्।
१६ यहोवा र हाम्रा मसीही भाइहरूप्रति हाम्रो प्रेम जसै गहिरिंदै जान्छ, अरूलाई हेर्ने दृष्टिकोणमा हामी त्यति नै धेरै यहोवाको अनुकरण गर्न सक्छौं। बितेको समयमा हामीले कुनै खास राष्ट्र, जाती वा संस्कृतिप्रति राखेको पूर्वाग्रहलाई हटाउन सक्छौं। उदाहरणका लागि, दोस्रो विश्वयुद्धको दौडान सन् १९४२ मा जापानी सेनाहरूले सिंगापुरमाथि कब्जा गर्दा पक्राउ परेका बेलायती सेनामा सेवारत अल्बर्टलाई लिनुहोस्। पछि तिनले क्वाई नदीको पुल नजिकै पर्ने “मृत्यु रेलमार्गमा” लगभग तीन वर्ष काम गरे। युद्ध सकिएपछि मुक्त हुँदा तिनको तौल ३२ किलोग्राम थियो। तिनको बंगारा खुस्किएको थियो अनि नाक भाँचिनुका साथै तिनलाई आउँ र जुका परेको थियो अनि तिनी औलोबाट ग्रस्त थिए। तिनीसँगै कैदमा परेका हजारौंको हालत योभन्दा पनि नाजुक थियो र थुप्रै त मरे। सन् १९४५ मा अल्बर्ट घर फर्कंदा, तिनले देखेको र भोगेको क्रूरताको कारण अल्बर्ट रिसाहा स्वभावका भए अनि तिनलाई परमेश्वर तथा धर्ममा कुनै चासो थिएन।
१७ अल्बर्टकी पत्नी आइरीन यहोवाको साक्षी बनिन्। तिनको मन राख्नको लागि अल्बर्ट यहोवाका साक्षीहरूको स्थानीय मण्डलीका केही सभाहरूमा उपस्थित भए। पावल नाउँका एक जवान मसीही पूर्ण-समय सेवकले तिनीसित बाइबल अध्ययन सुरु गर्न तिनलाई भेटे। यहोवाले हरेक व्यक्तिविशेषलाई तिनीहरूको हृदयको अवस्थाअनुसार हेर्नुहुन्छ भन्ने कुरा अल्बर्टले चाँडै बुझे। तिनले यहोवालाई आफ्नो जीवन समर्पण गरे र बप्तिस्मा लिए।
१८ पछि, पावल लण्डनमा बसाइँ सरे, जापानी भाषा सिके र जापानी भाषाको मण्डलीसित संगत गरे। तिनले बाहिरबाट आएका केही जापानी साक्षीहरूलाई लिएर आफ्नो पहिलेको मण्डलीमा आए कसो होला भनेर सोध्दा त्यहाँका भाइहरूले जापानी पृष्ठभूमिका मानिसहरूप्रति अल्बर्टको मनमा जरा गाडेर बसेको पूर्वाग्रह सम्झे। बेलायत फर्केदेखि अल्बर्टले कोही पनि जापानीसित मुखामुख भेट नगरेको कारण तिनले यस्तो परिस्थितिको सामना कसरी गर्छन् होला भनी भाइहरूले सोच्न थाले। तर तिनीहरूले यस्तो चिन्ता नलिएको भए पनि हुने थियो—अल्बर्टले निःस्वार्थ भ्रातृस्नेह देखाउँदै आगन्तुकहरूलाई स्वागत गरे।—१ पत्रुस ३:८, ९.
“ठूला मनका होओ”
१९. हामीमा पक्षपात गर्ने झुकाव छ भने, प्रेरित पावलको कुन सल्लाहले हामीलाई मदत गर्न सक्छ?
१९ “पक्षपात गर्नु असल होइन” भनी बुद्धिमान् राजा सुलेमानले लेखे। (हितोपदेश २८:२१) आफूले राम्रोसँग चिनेका मानिसहरूसित घनिष्ठ महसुस गर्नु गाह्रो कुरा होइन। तथापि, कहिलेकाहीं हामीसित आफूले राम्रोसँग नचिनेका मानिसहरूप्रति त्यति चासो नदेखाउने झुकाव हुन्छ। यहोवाको सेवक भएर यस्तो पक्षपात गर्न सुहाउँदैन। निस्सन्देह, हामी सबैले “ठूला मनका होओ” भन्ने पावलको सुस्पष्ट सल्लाह पछ्याउनुपर्छ। हो, भिन्नै पृष्ठभूमि भएका हाम्रा सँगी मसीहीहरूप्रतिको प्रेमको सन्दर्भमा ठूला मनका हुनुहोस्।—२ कोरिन्थी ६:१३.
२०. हामीले जीवनका कस्ता क्षेत्रहरूमा हाम्रा निष्पक्ष परमेश्वर यहोवाको अनुकरण गर्नुपर्छ?
२० हामीसँग चाहे स्वर्गीय बोलावटको सुअवसर होस् वा पृथ्वीमा सधैंभरि बाँच्ने प्रत्याशा, निष्पक्षताले हामीलाई एकै बगाल र एउटै गोठालोको एकताको आनन्द उठाउन मदत गर्छ। (एफिसी ४:४, ५, १६) हाम्रा निष्पक्ष परमेश्वर यहोवाको अनुकरण गर्ने कोसिस गर्दा, यसले हामीलाई हाम्रो मसीही सेवकाई, परिवार र मण्डलीका साथै जीवनका सबै क्षेत्रहरूमा मदत पुऱ्याउन सक्छ। कसरी? यस विषयमा अर्को लेखमा छलफल गरिनेछ।
[फुटनोटहरू]
a यहोवाको कीर्ति पछि गएर पवित्र गीतहरूको विषय बन्न पुग्यो।—भजन १३५:८-११; १३६:११-२०.
b यहाँ “ग्रीक” भन्ने अभिव्यक्तिले आम अन्यजातिहरूलाई संकेत गर्छ।—यहोवाका साक्षीहरूद्वारा प्रकाशित इन्साइट अन द स्क्रिप्चर्स, खण्ड १, पृष्ठ १००४.
तपाईं कसरी जवाफ दिनुहुन्छ?
• यहोवाले राहाब तथा गिबोनीहरूप्रति कसरी निष्पक्षता देखाउनुभयो?
• येशूले कसरी आफ्नो शिक्षामा निष्पक्षता देखाउनुभयो?
• हामीलाई सांस्कृतिक तथा जातीय पूर्वाग्रह हटाउन कुन कुराले मदत गर्न सक्छ?
[अध्ययनका लागि प्रश्नहरू]
[पृष्ठ ३१-मा भएको चित्र]
कनानमाथि इस्राएलको विजय अभियान सुरु हुन्छ
[पृष्ठ १५-मा भएको चित्र]
सामरी आइमाईलाई साक्षी दिनदेखि येशू पछि हट्नुभएन
[पृष्ठ १६-मा भएको चित्र]
बेलायतमा आम्हारिक भाषाको जनसभा
[पृष्ठ १६-मा भएको चित्र]
यहोवाप्रतिको प्रेमले अल्बर्टलाई पूर्वाग्रह हटाउन मदत गऱ्यो