अरूको सेवा गर्दा पीडा कम हुन्छ
जीवनी
अरूको सेवा गर्दा पीडा कम हुन्छ
जुलियान अरियासको वृत्तान्तमा आधारित
सन् १९८८ मा म ४० वर्षको छँदा मेरो जागिर एकदमै स्थायी देखिन्थो। म बहुराष्ट्रिय कम्पनीको क्षेत्रीय निर्देशक थिएँ। त्यहाँ काम गरेबापत कम्पनीले मलाई सानदार मोटर, राम्रो तलब र स्पेन, माड्रीडको मुटुमा अवस्थित भव्य कार्यालय दिएको थियो। कम्पनीले मलाई उनीहरूको राष्ट्रिय निर्देशक बनाउने छनकसमेत दिइसकेको थियो। मेरो जीवनमा आमूल परिवर्तन आउनै लागेको थियो भन्ने कुरा त मलाई अलिकति पनि थाह थिएन।
यही वर्षको एक दिन डाक्टरले मलाई निको नहुने रोग, मल्टिपल स्क्लेरोसिस लागेको खबर सुनाए। मलाई त छाँगाबाट खसेझैं भयो। पछि, मल्टिपल स्क्लेरोसिस रोगले मानिसलाई कुन हदसम्म असर गर्छ भन्ने कुरा पढ्दा त म झनै डराएँ। a बाँकी जीवन यसैको रोगी भएर बाँच्नुपर्ला जस्तो देखियो। मैले कसरी मेरी पत्नी, मिलाग्रोस र तीन वर्षको छोरा, इश्माएलको देखभाल गर्न सकूँला? यस परिस्थितिको हामीले कसरी सामना गर्ने? यी प्रश्नहरूको जवाफ पाई नसक्दै मेरो जीवनमा अर्को दुःखद् घटना घट्यो।
डाक्टरले मलाई लागेको रोगबारे बताएको लगभग एक महिनापछि, मेरो सुपरिवेक्षकले मलाई तिनको अफिसमा बोलाए र कम्पनीलाई “स्वच्छ छवि” भएको मानिस चाहिएको कुरा बताए। अनि कुनै व्यक्तिलाई शरीर शिथिल हुँदै जाने रोग लागेको भर्खरै मात्र भए तापनि त्यस्तो व्यक्तिलाई स्वच्छ छविको भन्न मिल्दैन। त्यसो भने लगत्तै मेरो हाकिमले मलाई कामबाट निकालिदिए। हेर्दाहेर्दै मेरो जागिर गयो!
परिवारसामु मैले आफूलाई केही पनि नभएजस्तो देखाउने कोसिस गरें तर वास्तवमा म मेरो नयाँ परिस्थितिबारे सोच्न र आफ्नो भविष्यबारे मनन-चिन्तन गर्न एक्लै समय बिताउन चाहन्थें। मैले उर्लिंदो निराशाको भाव विरुद्ध संघर्ष गर्ने कोसिस गरें। कम्पनीको नजरमा म अचानक काम नलाग्ने मानिस भएकोमा मलाई साह्रै मन दुख्यो।
दुर्बलतामा बल खोज्दै
धन्न, निराशाले छोपेको यस्तो समयमा मैले बलको लागि थुप्रै स्रोतहरूमा भर पर्न सकें। लगभग २० वर्षअघि म एक जना यहोवाको साक्षी भएको थिएँ। त्यसैकारण मैले प्रार्थनामा यहोवालाई निष्कपटतासाथ आफ्नो मनका भावना पोखें र भविष्यका अनिश्चितताबारे बताएँ। समान विश्वास भएकी मेरी पत्नी बलको ठूलो स्रोत थिइन् र केही घनिष्ठ मित्रहरूको दया तथा अनुकम्पा मेरो लागि अति अमूल्य साबित भयो।—हितोपदेश १७:१७.
अरूप्रति मेरो उत्तरदायित्व छ भन्ने भावनाले पनि मलाई धेरै मदत गऱ्यो। म आफ्नो छोराको राम्रो पालनपोषण गर्न, उसलाई प्रशिक्षण दिन, उसित खेल्न र प्रचारकार्यको लागि उसलाई प्रशिक्षण दिन चाहन्थें। त्यसैकारण मैले हरेस नखाने निधो गरें। यसको अतिरिक्त, म यहोवाका साक्षीहरूको मण्डलीको एक जना प्राचीन थिएँ र त्यहाँका भाइबहिनीहरूलाई मेरो सहयोगको खाँचो थियो। व्यक्तिगत पीर-मर्काले आफ्नो विश्वासलाई कमजोर बनाउन दिएको भए, म अरूको निम्ति कस्तो उदाहरण बन्ने थिएँ?
स्पष्टतः मेरो जीवन शारीरिक तथा आर्थिक रूपमा परिवर्तन भयो। एक अर्थमा यस्तो परिवर्तनले मेरो जीवन नाजुक भयो भने, अर्को अर्थमा यसले मलाई राम्रै पनि गऱ्यो। एक चोटि मैले, डाक्टरले यसो भनेको सुनेको थिएँ: “रोगले मानिसलाई खत्तम पार्दैन; बरु, यसले उसलाई परिवर्तन गर्छ।” अनि परिवर्तनहरू सबै नकारात्मक हुँदा रहेनछन् भन्ने कुरा मैले बुझेको छु।
सर्वप्रथम, आफ्नो “शरीरमा एक किसिमको छेस्को[ले]” मलाई अरूको स्वास्थ्य समस्याहरू राम्ररी बुझ्न र उनीहरूप्रति सहानुभूतिशील हुन मदत गऱ्यो। (१ कोरिन्थी १२:७) हितोपदेश ३:५ मा लिपिबद्ध शब्दहरूको अर्थ मैले यत्तिको राम्ररी पहिला कहिल्यै बुझेको थिइनँ: “तेरो सारा भरोसा परमेश्वरमा राख्, र तेरो आफ्नै समझ-शक्तिमा भरोसा नगर्।” सबैभन्दा मुख्य कुरा त, मेरो जीवनमा आएको नयाँ परिस्थितिले मलाई जीवनका सबैभन्दा महत्त्वपूर्ण कुरा के हो र कुन कुराले साँचो सन्तुष्टि तथा आत्मसम्मान प्रदान गर्छ भन्ने कुरा बुझ्न मदत गऱ्यो। यहोवाको संगठनमा मैले गर्न सक्ने अझ थुप्रै कुराहरू थिए। येशूका यी शब्दहरूको सत्यता मैले बुझें: “लिनुभन्दा दिनु अझ असल हो।”—प्रेरित २०:३५.
नयाँ जीवन शैली
मेरो रोग निदान भएको धेरै समय बित्न नपाउँदै मलाई म्याड्रिडमा सम्पन्न एउटा सेमिनारमा बोलाइयो, जहाँ चिकित्सक र साक्षी बिरामीहरूबीच सहयोगको वातावरण सिर्जना गर्न मसीही स्वयम्सेवकहरूलाई तालिम दिइयो। पछि, ती स्वयम्सेवकहरूलाई अस्पताल सम्पर्क समितिको रूपमा गठन गरियो। मेरो लागि त्यो सेमिनार मलाई चाहिएकै बेलामा सुरु भएको थियो। मैले अन्य कुनै पनि सांसारिक जागिरले भन्दा बढी सन्तुष्टि प्रदान गर्ने सन्तोषजनक काम भेट्टाएँ।
भर्खरै गठित अस्पताल सम्पर्क समितिहरूको काम सहयोगको वातावरण विकास गर्न र वादविवाद उत्पन्न हुन नदिनका लागि अस्पतालहरूमा गएर डाक्टरहरूको अन्तरवार्ता लिनु र स्वास्थ्यकर्मीहरूलाई प्रस्तुतिहरू प्रस्तुत गर्नु हो भनेर हामीले सेमिनारमा सिक्यौं। यी समितिहरूले सँगी मसीहीहरूलाई रक्तविहीन उपचारविधिहरू अपनाउन इच्छुक डाक्टरहरू खोज्न मदत गर्छन्। निस्सन्देह, चिकित्सासम्बन्धी मलाई त्यति राम्रो ज्ञान नभएको कारण मैले चिकित्सा शब्दावली, चिकित्सा नीतिनियमहरू र अस्पताल संगठनबारे धेरै कुरा सिक्नुपरेको थियो। तैपनि, त्यस सेमिनारपछि म नयाँ लक्ष्य, जस्तोसुकै चुनौतीको सामना गर्न पनि सुसज्जित नवीन जोस लिएर घर फर्कें।
अस्पतालहरूको भ्रमण—सन्तुष्टिको स्रोत
रोगले मलाई बिस्तारै अनि बेस्सरी च्याप्दै लगे तापनि अस्पताल सम्पर्क समितिको एक जना सदस्यको रूपमा मेरा जिम्मेवारीहरू भने बढ्दै थिए। मलाई अशक्त भत्ता दिइएको हुँदा अस्पतालहरूको भ्रमण गर्न समय निकाल्न सक्थें। कहिलेकाहीं नैराश्यको सामना गर्नुपरे तापनि यी भ्रमणहरू मैले सोचेभन्दा सजिलो र सन्तोषजनक साबित भयो। अहिले म ह्विलचेयरको सहारा जीवन बिताउन विवश भए तापनि यही नै मेरो लागि ठूलो बाधा भने भएको छैन। समितिको एक जना सदस्य सधैं मसँग हुन्छ। यसबाहेक, ह्विलचेयरमा भएका मानिसहरूसित कुरा गर्न डाक्टरहरूलाई बानी परिसकेको छ र कहिलेकाहीं त उनीहरूलाई भेट्न मैले गरेको प्रयासलाई ध्यानमा राख्दै उनीहरूले एकदमै आदरपूर्वक मेरो कुरा सुन्न चाहेजस्तो देखिन्छ।
गत दस वर्षको दौडान मैले सयौं डाक्टरहरूसित भेटेर कुरा गरिसकें। कतिपय सुरुदेखि नै हामीलाई मदत गर्न इच्छुक थिए। बिरामीको अन्तस्करणको आदर गरेकोमा गर्व महसुस गर्ने म्याड्रिडका मुटु शल्यचिकित्सक, डा. जुआन ड्वार्टेले तुरुन्तै आफ्नो सेवा उपलब्ध गराए। त्यस समयदेखि उसो तिनले स्पेनका विभिन्न ठाउँका साक्षी बिरामीहरूको रगत प्रयोग नगरीकनै २०० भन्दा बढी शल्यक्रियाहरू गरेका छन्। वर्षौंको दौडान, धेरैभन्दा धेरै डाक्टरहरूले रक्तविहीन शल्यक्रिया गर्न थालेका छन्। यसमा डाक्टरहरूलाई भेट्न हामीले गरेको नियमित भ्रमणले पनि योगदान पुऱ्यायो। तर यो प्रगति चिकित्सा क्षेत्रमा भएको उन्नति तथा रक्तविहीन शल्यक्रियाबाट प्राप्त असल परिणामहरूले गर्दा पनि भएको थियो। अनि यहोवाले हाम्रो प्रयासमा आशिष् दिनुभएको छ भन्ने कुरामा हामी विश्वस्त छौं।
विशेष गरी बाल-उपचारका विशेषज्ञ, मुटु शल्यचिकित्सकहरूको प्रतिक्रियाबाट म प्रोत्साहित भएको छु। दुई वर्ष जति हामीले दुई जना शल्यचिकित्सकको एउटा टोली तथा उनीहरूका एनेस्थेसियोलोजिस्टहरूसित भेटघाट गऱ्यौं। हामीले उनीहरूलाई यस क्षेत्रका अन्य चिकित्सकहरूले के-कस्तो गरिरहेका छन् भनी छलफल गरिएका चिकित्सासम्बन्धी साहित्यहरू दियौं। हाम्रो प्रयास सन् १९९९ मा इन्फन्टाइल कार्डियोभास्कुलर सर्जरीसम्बन्धी मेडिकल कन्फरेन्समा सार्थक भयो। इंगल्याण्डबाट आएका एक जना सहयोगी शल्यचिकित्सकको दक्ष निर्देशनमा दुई जना शल्यचिकित्सकहरूले एक जना साक्षीको बच्चाको अत्यन्त कठिन शल्यक्रिया गरे, जुन बच्चाको एओर्टिक भल्भ अर्थात् महाधमनी कपाटको उपचार गर्नुपरेको थियो। b शल्यक्रिया सफल भएको र परिवारको अन्तस्करणको आदर गरिएको खबर दिन शल्यचिकित्सक, शल्यचिकित्सा कक्षबाट बाहिर निस्कँदा म पनि ती शिशुका आमाबाबुहरूसँगै हर्षले गद्गद भएको थिएँ। आजकल यी दुई चिकित्सकहरूले नियमित रूपमा स्पेनभरिका साक्षी बिरामीहरूको शल्यक्रिया गर्ने गर्छन्।
यस सम्बन्धमा मलाई सन्तोषजनक लाग्ने कुरा भनेकै म आफ्ना मसीही भाइहरूलाई मदत गर्न सक्छु भन्ने अनुभूति हो। साधारणतया, जब उनीहरूले अस्पताल सम्पर्क समितिलाई सम्पर्क राख्छन्, उनीहरू आफ्नो जीवनको अत्यन्त कठिन अवस्थामा हुन्छन्। उनीहरूको शल्यक्रिया गर्नुपर्ने हुन्छ र स्थानीय अस्पतालका चिकित्सकहरू रगतविना उनीहरूको उपचार गर्न अनिच्छुक वा असक्षम हुन्छन्। तथापि, भाइहरूले म्याड्रिडमा चिकित्सासम्बन्धी क्षेत्रका सहयोगी शल्यचिकित्सकहरू भएको थाह पाउँदा ढुक्क महसुस गर्छन्। अस्पतालमा भएका बिरामी भाइको छेउमा जाँदा मात्र पनि तिनको मुहार बिच्चलीदेखि सौम्यतामा परिवर्तन भएको मैले देखेको छु।
न्यायाधीश तथा चिकित्सासम्बन्धी नीतिनियमहरूको संसार
हालैका वर्षहरूमा, अस्पताल सम्पर्क समितिहरूले न्यायाधीशहरूसँग पनि भेटेर कुरा गरेका छन्। त्यसरी भेट्न जाँदा हामी उनीहरूलाई फ्यामिली केयर एण्ड मेडिकल म्यानेजमेन्ट फर जेहोभाज् विट्नेसेज भन्ने प्रकाशन दिन्छौं। यो प्रकाशन विशेष गरी रगत प्रयोग गर्ने सम्बन्धमा हाम्रो अडान के छ अनि रक्तविहीन चिकित्सा उपचारका विकल्पहरूबारे जानकारी दिन तयार पारिएको थियो। यसरी भेटेर कुरा गर्नु एकदमै जरुरी थियो किनभने पहिला-पहिला स्पेनमा न्यायाधीशहरूले चिकित्सकहरूलाई बिरामीको इच्छा विपरीत रक्तक्षेपण गर्ने अधिकार दिनु कुनै नौलो कुरा थिएन।
न्यायाधीशहरूको काम गर्ने ठाउँ अति भव्य हुन्छ र पहिलो चोटि त्यहाँ गएको बेला ह्विलचेयरमा बसेर हलभित्र जाँदै गर्दा मलाई आफू साह्रै सानो लागेको थियो। अझ त्यसमाथि, जाँदा जाँदै बाटोमा सानो दुर्घटना भयो र चेयरबाट म तल खसेर घुँडाले टेक्न पुगें। मेरो अवस्था देखेर केही न्यायाधीश तथा वकिलहरू मलाई मदत गर्न आए तर म उनीहरूको अगाडि लाजले भुतुक्कै भएँ।
न्यायाधीशहरूलाई हामी उनीहरूकहाँ आउनुको कारण थाह नभए तापनि प्रायजसो सबैले हामीसित दयालु व्यवहार गरे। मैले भेटेको पहिलो न्यायाधीशले पहिल्यैदेखि हाम्रो अडानबारे विचार गरिरहेका रहेछन् र तिनले हामीसित बसेर कुरा गर्न चाहेको बताए। अर्को चोटि भेट्न जाँदा, तिनी आफैले मेरो ह्वीलचेयरलाई गुडाएर आफ्नो कोठासम्म लगे र मेरो कुरा ध्यान दिएर सुने। पहिलो भेटको असल परिणामले मेरा साथीहरूलगायत मलाई आफ्नो मनमा भएको भय हटाउन मदत गऱ्यो र लगत्तै हामीले अन्य थप असल परिणामहरू पनि देख्यौं।
त्यही वर्षको कुरा हो, हामीले अर्का न्यायाधीशलाई फ्यामिली केयर भन्ने प्रकाशनको एक प्रति दियौं, जसले हामीसित दयालु व्यवहार गर्नुका साथै यस पुस्तिकामा दिइएको जानकारी पढ्ने वचन दिए। हामीसित सम्पर्क राख्न आवश्यक परेको खण्डमा टेलिफोन गर्नको लागि मैले तिनलाई आफ्नो टेलिफोन नम्बर दिएँ। दुई हप्तापछि तिनले एउटी साक्षीको शल्यक्रिया गर्न एक जना स्थानीय शल्यचिकित्सकले रक्तक्षेपण गर्ने अधिकारको माग गरेको छ भनी बताउन फोन गरे। रगत लिन नचाहने साक्षीहरूको इच्छाको आदर हुने किसिमको उपाय पत्ता लगाउन तपाईंहरूले ती शल्यचिकित्सकलाई मदत गरेको म चाहन्छु भनी न्यायाधीशले बताए। रगतविना पनि शल्यक्रिया सफलतासाथ गर्ने शल्यचिकित्सकहरू भएको अर्को अस्पताल खोज्न हामीलाई खासै गाह्रो भएन। परिणाम सुनेर न्यायाधीश साह्रै खुसी भए अनि भविष्यका दिनहरूमा पनि यसै गरी समस्याको समाधान खोज्न मदत गर्ने हामीलाई आश्वासन दिए।
अस्पतालहरूको भ्रमण गर्ने क्रममा, चिकित्सा नीतिनियमसम्बन्धी अक्सर प्रश्न खडा हुन्थ्यो किनभने चिकित्सकहरूले
बिरामीको अधिकार तथा अन्तस्करणबारे ख्याल राखेको हामी चाहन्थ्यौं। म्याड्रिडको एउटा सहयोगी अस्पतालबाट मैले उनीहरूले सञ्चालन गरिरहेको नीतिनियमसम्बन्धी कोर्समा भाग लिने निम्तो पाएँ। यस कोर्सले मलाई यस क्षेत्रका थुप्रै विशेषज्ञहरूसित बाइबलआधारित आफ्नो दृष्टिकोणबारे बताउने मौका दियो। यसले मलाई चिकित्सकहरूले कस्ता-कस्ता कठिन निर्णयहरू गर्नुपर्छ भन्ने कुरा बुझ्न पनि मदत गऱ्यो।कोर्सका एक जना शिक्षक, प्रोफेसर डिएगो ग्रासियाले स्पेनी चिकित्सकहरूका निम्ति नीतिनियमसम्बन्धी प्रतिष्ठित स्नातकोत्तर कोर्सको नियमित रूपमा आयोजना गर्छन् र यो कोर्स रक्तक्षेपणसम्बन्धी हाम्रो सूचित सम्मतिको अधिकारको दरिलो समर्थक भएको छ। c उहाँसित नियमित रूपमा भेटघाट गरेर कुरा गरेको कारण स्पेन शाखा कार्यालयका यहोवाका साक्षीहरूका केही प्रतिनिधिहरूले प्रोफेसर ग्रासियाका पोस्टग्राजुएट विद्यार्थीहरूलाई भेटेर हाम्रो अडानबारे बताउने निमन्त्रणा पाए र तीमध्ये कोही-कोही देशकै उत्कृष्ट डाक्टरहरूको श्रेणीमा गनिन्छन्।
वास्तविकता सामना गर्दै
हुन त हो, सँगी विश्वासीहरूको निम्ति गरेको यस्तो सन्तोषप्रद कार्यले मेरा सबै व्यक्तिगत समस्याहरू समाधान गरेको छैन। मेरो रोग निरन्तर बढिनै रहेको छ। तथापि खुसीको कुरा, मेरो मन भने अझै चनाखो छ। कहिल्यै गनगन नगर्ने मेरी पत्नी तथा छोराको कारण म अझै पनि आफ्ना जिम्मेवारीहरू सम्हाल्न सकिरहेको छु। उनीहरूको मदत र सहयोगविना यसो गर्नु असम्भव हुने थियो। म मेरो पाइन्टको टाँक वा ओभरकोटसमेत लगाउन सक्दिनँ। विशेष गरी हरेक शनिबार छोरा, इश्माएलसँग प्रचारमा जाँदा मलाई निकै आनन्द लाग्छ। छोराले ह्विलचेयर गुडाइदिन्छ र म विभिन्न घरधनीहरूसित कुरा गर्न सक्छु। अनि मण्डलीको प्राचीनको हैसियतमा म अझै पनि मेरा जिम्मेवारीहरू पूरा गर्न सक्छु।
विगत १२ वर्षको दौडान मैले मानसिक तवरमा पीडादायी क्षणहरू भोगेको छु। कहिलेकाहीं, मेरो अशक्तताले परिवारलाई असर गरेको देख्दा मलाई आफ्नो रोगले भन्दा बढी पिरोल्छ। उनीहरूले केही नभने तापनि उनीहरूलाई दुःख लाग्छ भनेर मलाई थाह छ। एक वर्षभित्रमै मेरी सासू र मेरो बुबा बित्नुभएको धेरै भएको छैन। त्यही वर्ष म ह्विलचेयरको सहाराविना यताउता गर्न नसक्ने भएँ। हामीसँगै बसिरहनुभएका मेरो बुबा शरीर शिथिल पार्ने अर्को रोगले गर्दा बित्नुभयो। उहाँको हेरचाह गरिरहेकी मिलाग्रोसले मानौं भविष्यमा मलाई के हुन्छ भन्ने कुरा आफूले साक्षात् देखिरहेको महसुस गरिन्।
यद्यपि, सकारात्मक पक्षलाई हेर्ने हो भने, कठिनाइहरू सामना गर्नुपर्दा हाम्रो परिवार एकताबद्ध भएको छ। मैले कार्यकारीको कुर्सी ह्विलचेयरसित साटेको छु तर साँच्चै भन्ने हो भने, अहिले मेरो जीवन सन्तोषजनक छ किनभने मैले आफ्नो जीवन पूर्णतया अरूको सेवामा समर्पित गरेको छु। अरूलाई दिंदा पीडा कम हुनुका साथै खाँचोमा परेको बेला हामीलाई बलियो बनाउने आफ्नो प्रतिज्ञा यहोवाले अवश्य पूरा गर्नुहुन्छ। पावलले जस्तै म नढाँटी यसो भन्न सक्छु: “जसले मलाई शक्ति दिनुहुन्छ उहाँमा सबै कुरा म गर्नसक्छु।”—फिलिप्पी ४:१३.
[फुटनोटहरू]
a मल्टिपल स्क्लेरोसिस भनेको सेन्ट्रल नर्भस सिस्टम अर्थात् केन्द्रीय स्नायुप्रणालीमा हुने एक किसिमको विकार हो। यसले गर्दा अक्सर सन्तुलन कायम गर्न, हातखुट्टा चलाउन र कहिलेकाहीं हेर्न, बोल्न वा कुनै कुरा बुझ्न बिस्तारै गाह्रो हुँदै जान्छ।
b यस शल्यक्रियालाई रस प्रक्रिया भनिन्छ।
c फेब्रुअरी १५, १९९७ को प्रहरीधरहरा, पृष्ठ १९-२० हेर्नुहोस्।
[पृष्ठ २४-मा भएको पेटी]
छोराको दृष्टिकोण
मेरो बुबाको धीरज र सकारात्मक मनोवृत्तिमा मैले सर्वोत्कृष्ट उदाहरण पाएँ। अनि उहाँलाई ह्विलचेयरमा यताउता गुडाउँदा महत्त्वपूर्ण काम गरिरहेछु जस्तो लाग्छ। हो, म जे गर्न चाहन्छु त्यो म सधैंभरि गर्न सक्दिनँ। अहिले म किशोरावस्थामै छु तर पछि पाको व्यक्ति भएपछि अस्पताल सम्पर्क समितिको एक जना सदस्यको हैसितयमा सेवा गर्न चाहन्छु। बाइबलको प्रतिज्ञाअनुसार दुःखकष्ट क्षणिक हो भन्ने कुरा मात्र होइन तर थुप्रै भाइबहिनीहरूले हामीले भन्दा कठिन अवस्था भोगिरहनुभएको छ भनेर पनि मलाई थाह छ।
[पृष्ठ २४-मा भएको पेटी]
पत्नीको दृष्टिकोण
मल्टिपल स्क्लेरोसिस रोग लागेको पतिसित जीवन बिताउनु एउटी पत्नीको लागि मानसिक, भावनात्मक र शारीरिक तवरमा गाह्रो कुरा हो। आफूले गर्न चाहेको कुरामा म व्यावहारिक हुनुका साथै भविष्यबारे अनावश्यक फिक्री नगर्न तयार हुनुपर्छ। (मत्ती ६:३४) यद्यपि, दुःखकष्ट सामना गर्दा मानिसको असल गुणहरू प्रकट हुन सक्छन्। हाम्रो वैवाहिक बन्धन पहिलेको भन्दा झनै बलियो हुनुका साथै यहोवासितको मेरो सम्बन्ध घनिष्ठ भएको छ। यस्तै कठिन अवस्थाबाट गुज्रिरहेका अन्य व्यक्तिरूको जीवनीले पनि मलाई निकै बल प्रदान गरेको छ। भाइहरूका खातिर गरेको अमूल्य सेवाबाट जुलियानले जुन सन्तुष्टि प्राप्त गरेका छन्, म पनि त्यसमा त्यतिनै सन्तुष्ट छु। अनि हरेक दिन नयाँ-नयाँ चुनौतीको सामना गर्नुपरे तापनि यहोवाले हामीलाई कहिल्यै त्याग्नुहुन्न भन्ने कुरा मैले बुझेकी छु।
[पृष्ठ २२-मा भएको चित्र]
मेरी पत्नी मेरो बलको स्रोत हुन्
[पृष्ठ २३-मा भएको चित्र]
शल्य चिकित्सक डा. जुआन ड्वार्टेसित कुराकानी गर्दै
[पृष्ठ २५-मा भएको चित्र]
मेरो छोरा र म सेवकाईमा सँगै काम गरेर आनन्द उठाउँछौं