सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

निम्नवर्गका मानिसहरूले बाइबल अनुवाद गर्छन्‌

निम्नवर्गका मानिसहरूले बाइबल अनुवाद गर्छन्‌

निम्नवर्गका मानिसहरूले बाइबल अनुवाद गर्छन्‌

सन्‌ १८३५ मा बेलाइतका हेन्री नट नाउँका डकर्मी र पसलेको काम सिकिरहेका वेल्सका जोन डेभिस एउटा अत्यन्तै ठूलो कार्य योजनाको अन्तमा पुगे। तीस वर्षभन्दा बढीको कठोर परिश्रमपछि तिनीहरूले बल्लतल्ल ताहिती भाषामा सम्पूर्ण बाइबलको अनुवाद गर्न सिध्याए। यी निम्नवर्गका दुई जना मानिसले कस्ता चुनौतीहरू सामना गरे र तिनीहरूले निष्कपटता साथ गरेको मेहनतको नतिजा कस्तो भयो?

“द ग्रेट अवेकनिङ”

अठाह्रौं शताब्दीको पछिल्लो भागतिर द ग्रेट अवेकनिङ वा अवेकनिङ मात्र भनिने प्रोटेस्टेन अभियानका सदस्यहरूले बेलाइतका गाउँका चोकमा र कारखाना तथा खानीका छेउछाउमा प्रचार गरिरहेका थिए। तिनीहरूको कार्य मजदुर वर्गमा लक्षित थियो। अवेकनिङका प्रचारकहरूले उत्साहित भई बाइबल वितरण कार्यलाई प्रोत्साहन दिए।

यस अभियानका सुरुआतकर्ता विलियम क्यारी नाउँ गरेका ब्याप्टिस्ट थिए। तिनले १७९५ मा स्थापित लण्डन मिसनरी समाजको स्थापना गर्न योगदान पुऱ्‍याएका थिए। लण्डन मिसनरी समाजले दक्षिण प्रशान्तीय भागका स्थानीय भाषाहरू सिकेर मिसनरीको रूपमा सेवा गर्न इच्छुकहरूलाई प्रशिक्षण दियो। ती मिसनरीहरूको उद्देश्‍य स्थानीय मानिसहरूलाई तिनीहरूकै भाषामा सुसमाचारका पुस्तकहरूको सन्देश प्रचार गर्ने थियो।

भर्खरै पत्ता लगाएको ताहिती टापु, लण्डन मिसनरी समाजको लागि पहिलो मिसनरी क्षेत्र भयो। अवेकनिङका सदस्यहरूको लागि ती टापुहरू मूर्तिपूजाले भरिएको ‘अन्धकारमय ठाउँ’ थिए जुन कटनीको लागि तयार थियो।

निम्नवर्गका मानिसहरूले सफलतासाथ चुनौतीको सामना गर्छन्‌

कटनी कार्य गर्न हतारहतार जम्मा गरिएका तालिम अप्राप्त ३० जना मिसनरीहरू लण्डन मिसनरी समाजले किनेको जहाज डफ-मा यात्रा गरे। यो समूहमा “चार जना नियुक्‍त पादरीहरू [औपचारिक प्रशिक्षणविना], छ जना सिकर्मी, दुई जना सार्की, दुई जना डकर्मी, दुई जना जुलाहा, दुई जना सूचीकार, एक जना भण्डारे, एक जना काठी बनाउने व्यक्‍ति, एक जना नोकर, एक जना माली, एक जना चिकित्सक, एक जना नकर्मी, एक जना टबहरू मर्मत गर्ने मानिस, एक जना कपास उत्पादक, एक जना टोपी बनाउने मानिस, एक जना कपडा उत्पादक, एक जना दराज बनाउने मानिस, पाँच जना पत्नी र तीन जना केटाकेटी” थिए।

यी मिसनरीहरूसँग बाइबल लेखिएको मूल भाषासम्बन्धी ज्ञान लिने एक मात्र साधन युनानी-अंग्रेजी शब्दकोश र हिब्रू शब्दकोश भएको एउटा बाइबल थियो। बाउन्टी जहाजमा यात्रा गरेका विद्रोही समूहले जम्मा गरेका ताहिती शब्दहरू, मिसनरीहरूले समुद्रमा बिताएको सात महिनाको दौडान मुखस्त पारे। अन्ततः मार्च ७, १७९७ मा डफ ती मिसनरीहरूसहित ताहिती पुग्यो। तथापि, एक वर्षपछि प्रायजसो निरुत्साहित भएर फर्किसकेका थिए। सात जना मिसनरी मात्र बाँकी भए।

ती बाँकी रहेका सात जनामध्ये एक जना, पहिले डकर्मी काम गरेका हेन्री नट थिए। तिनी २३ वर्षका मात्र थिए। तिनले लेखेका पत्रहरूको आधारमा, तिनले आधारभूत शिक्षा मात्र हासिल गरेका थिए जस्तो देखिन्थ्यो। यद्यपि, सुरुदेखि नै तिनमा ताहिती भाषा सिक्न विशेष योग्यता भएको कुरा देखियो। तिनलाई निष्कपट, मिलनसार र रमाइलो स्वभावको मानिस भनेर वर्णन गरियो।

सन्‌ १८०१ मा, भर्खरै आइपुगेका नौ जना नयाँ मिसनरीहरूलाई ताहिती भाषा सिकाउन नटलाई नियुक्‍त गरियो। तीमध्ये एक जना जोन डेभिस नाउँका वेल्सवासी थिए जसले आफू राम्रो र जेहनदार विद्यार्थी भएको देखाए र तिनी शान्त अनि उदार स्वभावका थिए। केही समय नबित्दै यी दुई पुरुषहरूले ताहिती भाषामा बाइबल अनुवाद गर्ने निर्णय गरे।

अत्यन्तै कठिन कार्य

तर ताहितीमा अनुवाद गर्नु अत्यन्तै कठिन कार्य थियो किनभने ताहिती भाषाको लिपि थिएन। मिसनरीहरूले सुनेको भरमा सिक्नुपर्थ्यो। तिनीहरूसँग न त शब्दकोश न व्याकरण पुस्तक नै थियो। बाहिर सास फ्याँकेको आवाजको बीच-बीचमा गलाबाट निस्कने आवाज, एकपछि अर्को स्वरहरू (एउटा शब्दमा पाँचवटा सम्म) र अनौठो किसिमका व्यञ्जनहरूले गर्दा मिसनरीहरूले हरेस खाए। “थुप्रै शब्दहरूमा त स्वर-वर्ण मात्रै हुन्छ अनि प्रत्येक स्वर-वर्णको आफ्नै किसिमको आवाज हुन्छ” भनी तिनीहरूले विलौना गरे। तिनीहरूले “शब्दहरूको सही आवाज ठम्याउन असमर्थ भएको” कुरा स्वीकारे। हुँदै नभएको आवाज पनि तिनीहरूलाई सुनेजस्तो लाग्यो!

अझ गाह्रो कुरा त, समय समयमा ताहितीमा केही शब्दहरू निषेधित हुन्थ्यो र त्यसको ठाउँमा अर्कै शब्द चलाउनुपर्थ्यो। पर्यायवाची शब्दहरूले पनि समस्या खडा गर्थ्यो। ताहितीमा “प्रार्थना” अर्थ बुझाउने ७० भन्दा बढी शब्दहरू छन्‌। ताहितीको वाक्य रचना अंग्रेजीको भन्दा विलकुलै फरक हुनु पनि अर्को एउटा चुनौती थियो। कठिनाइहरूको बावजुद मिसनरीहरूले अलिअलि गरी शब्दहरू जम्मा गरे र पछि डेभिसले यी शब्दहरू परिष्कृत पार्दै शब्दकोश बनाए र त्यसमा १०,००० शब्दहरू थिए।

यसबाहेक, ताहिती भाषाको लिपि बनाउनु अर्को चुनौती थियो। मिसनरीहरूले प्रचलित अंग्रेजी अक्षरहरू नै प्रयोग गर्ने कोसिस गरे। तथापि, अंग्रेजीमा प्रयोग गरिने रोमन अक्षर र ताहिती भाषाको स्वर मिलेन। त्यसकारण ध्वनि र हिज्जेबारे अनगिन्ती छलफलहरू भए जसको कुनै टुंगो लागेन। अक्सर मिसनरीहरू आफैले नयाँ हिज्जेहरू बनाउँथे किनभने साउथ सी-मा मौखिक भाषालाई लिखित रूपमा ढाल्ने प्रथम व्यक्‍तिहरू तिनीहरू नै थिए। तिनीहरूको यही काम पछि दक्षिण प्रशान्तका थुप्रै भाषाहरूको लागि नमुना हुनेछ भनेर तिनीहरूले सोचेका पनि थिएनन्‌।

सीमित साधन तर प्रशस्त क्षमता

अनुवादकहरूसँग सीमित सन्दर्भ-पुस्तकहरू मात्र थिए। लण्डन मिसनरी समाजले तिनीहरूलाई टेक्टस रिसेप्टसकिङ जेम्स भर्सन मुख्य पुस्तकको रूपमा चलाउने निर्देशन दियो। नटले लण्डन मिसनरी समाजलाई हिब्रू तथा युनानीका थप शब्दकोशका साथै दुवै भाषामा बाइबल पठाइदिन आग्रह गरे। तिनले यी पुस्तकहरू पाए कि पाएनन्‌, थाह छैन। डेभिसको सन्दर्भमा भन्‍ने हो भने, तिनले वेल्स साथीहरूबाट केही शास्त्रविद्‌हरूका पुस्तक प्राप्त गरे। रेकर्डअनुसार तिनीसित एउटा युनानी शब्दकोश, एउटा हिब्रू बाइबल, युनानीमा नयाँ नियम र सेप्टुआजिन्ट थियो।

यतिन्जेल मिसनरीहरूको प्रचारकार्य फलदायी रहेन। मिसनरीहरू ताहितीमा आएको १२ वर्ष भइसकेको भए तापनि एक जना पनि स्थानीय बासिन्दाले बप्तिस्मा लिएको थिएन। अन्ततः कहिल्यै नटुंगिने गृहयुद्धको कारण दृढ नटबाहेक सबै मिसनरीहरू अस्ट्रेलिया भाग्न बाध्य भए। केही समयको लागि त सोसाइटी आइल्याण्डको विनवर्ड टापुमा मिसनरीको नाउँमा तिनी मात्रै बाँकी थिए तर राजा पोमारे द्वितीय नजिकैको मोरिया टापुमा भाग्दा तिनी पनि सँगै जानुपऱ्‍यो।

तथापि, नटले आफ्नो अनुवाद कार्य छोडेनन्‌ र डेभिसले दुई वर्ष अस्ट्रेलियामा बिताएपछि फेरि नटलाई सघाउन आए। यतिन्जेल नटले युनानी र हिब्रू भाषा अध्ययन गरेर यसमा दक्खल भइसकेका थिए। फलस्वरूप, तिनले हिब्रू धर्मशास्त्रको केही भाग ताहितीमा अनुवाद गर्न थाले। तिनले स्थानीय बासिन्दाहरूले सजिलै बुझ्न सक्ने बाइबलका केही पद्यांशहरू छाने।

त्यसपछि नटले डेभिससँग मिलेर काम गर्दै लूकाले लेखेको सुसमाचारको पुस्तक अनुवाद गर्न थाले र सेप्टेम्बर १८१४ मा पूरा गरे। तिनले ताहितीमा स्वाभाविक सुनिने अनुवाद गरे भने डेभिसले चाहिं मूल ग्रन्थसित त्यो तुलना गरेर जाँचे। सन्‌ १८१७ मा राजा पोमारे द्वितीयले लूकाको सुसमाचारको पुस्तक आफै छाप्ने अनुमति मागे। तिनले त्यो छाप्ने काम मिसनरीहरूले मोरियामा ल्याएको सानो हाते प्रेसमा गरे। ताहिती बाइबल अनुवादको कुरा गर्दा ताहितीका टुआहिहे नाउँ गरेका विश्‍वासी पुरुषको नाउँ नलिई बस्नै सकिंदैन जसले ती वर्षहरूमा मिसनरीहरूलाई साथ दिए र तिनीहरूलाई त्यस भाषाका स-साना विवरणहरू बुझ्न मदत गरे।

अनुवाद पूरा हुन्छ

सन्‌ १८१९ मा छ वर्षको कडा मेहनतपछि सुसमाचारको पुस्तक, प्रेरितको पुस्तक र भजनको पुस्तकको अनुवाद पूरा भयो। भर्खरै आइपुगेका नयाँ मिसनरीहरूले ल्याएको छापाखानाको कारण यी पुस्तकहरू छाप्न र वितरण गर्न सजिलो भयो।

त्यसपछि तीव्र गतिमा अनुवाद, संशोधन र पुनरावृत्तिको कार्य भयो। ताहितीमा २८ वर्ष बिताइसकेपछि १८२५ मा नट बिरामी परे र तिनलाई लण्डन मिसनरी समाजले इंगल्याण्ड फर्कने अनुमति दियो। खुसीको कुरा, त्यतिबेलासम्म युनानी धर्मशास्त्रको अनुवाद कार्य लगभग पूरा भइसकेको थियो। तिनले इंगल्याण्ड फर्कने यात्राको दौडान र त्यहाँ होउन्जेल पनि अनुवाद कार्य गरी नै रहे। नट १८२७ मा ताहिती फर्के। आठ वर्षपछि डिसेम्बर १८३५ मा तिनले आफ्नो कलम बिसाए। तीस वर्षभन्दा बढीको कडा मेहनतपछि सम्पूर्ण बाइबलको अनुवाद पूरा भयो।

सन्‌ १८३६ मा नट फेरि लण्डनमा सम्पूर्ण ताहिती बाइबल छाप्नको लागि इंगल्याण्ड फर्के। प्रफुल्लित नटले जून ८, १८३८ मा रानी भिक्टोरियालाई ताहिती बाइबलको पहिलो संस्करण टक्य्राए। चालीस वर्षअघि डफ जहाजबाट ताहिती आएर पूर्णतया ताहिती रहनसहनमा भिजेर ठूलो कार्यभार पूरा गर्नु पहिलेको डकर्मीको लागि निश्‍चय पनि अत्यन्तै भावनात्मक समय थियो।

दुई महिनापछि नट सम्पूर्ण ताहिती बाइबलको ३,००० प्रति २७ वटा बाकसमा राखेर फेरि दक्षिण प्रशान्ततिर लागे। सिड्‌नीमा केही समय रोकिएपछि तिनी फेरि बिरामी परे तर तिनले ती बहुमूल्य बाकसहरूलाई छोडेनन्‌। निको भएपछि तिनी १८४० मा ताहिती आइपुगे र त्यहाँका स्थानीय मानिसहरूले ताहिती बाइबलको प्रति प्राप्त गर्न लुछाचुँडी गरे। ७० वर्षको उमेरमा मे १८४४ मा नटको मृत्यु भयो।

व्यापक प्रभाव

तथापि, नटको काम रहिरह्‍यो। तिनको अनुवादले पोलिनेसियन भाषाहरूमा व्यापक प्रभाव पाऱ्‍यो। ताहिती भाषालाई लिखित रूपमा राखेर मिसनरीहरूले त्यस भाषाको जगेर्ना गरे। एक जना लेखकले यसो भने: “नटले उत्कृष्ट ताहिती व्याकरण तयार पारे। शुद्ध ताहिती भाषा सिक्ने हो भने बाइबलको मदत लिनु सदा अत्यावश्‍यक हुनेछ।” यी अनुवादकहरूको अथक प्रयासले गर्दा हजारौं शब्दहरू नामेट हुनदेखि बच्यो। एक शताब्दीपछि एक जना लेखकले यसो भने: “नटको उल्लेखनीय ताहिती बाइबल ताहिती भाषाको उत्कृष्ट कृति हो र यस कुरामा सबै सहमत हुनेछन्‌।”

यस महत्त्वपूर्ण कार्यबाट ताहितीका मानिसहरूले मात्र लाभ उठाएनन्‌ तर दक्षिण प्रशान्तका अन्य भाषाहरूमा अनुवाद कार्यको लागि पनि जग बसाल्यो। उदाहरणका लागि, कूक टापु तथा सामोआका अनुवादकहरूले यसलाई नमुनाको रूपमा प्रयोग गरे। एक जना अनुवादकले यसो भने, “मैले नट महोदयको अनुवाद नै मुख्यतया पछ्याएको छु।” एक जना अनुवादकले ‘दाऊदको एउटा भजन सामोआमा अनुवाद गर्दा ल्याटिन भाषामा अनुवाद गरिएको भजनको पुस्तक र अंग्रेजी तथा ताहिती संस्करणको मदत लिएको” एउटा रिपोर्टले बताउँछ।

इंगल्याण्डको अवेकनिङ समूहको नमुना पछ्याउँदै ताहितीका मिसनरीहरूले उत्साहका साथ साक्षरताको प्रवर्धन गरे। साँच्चै भन्‍ने हो भने, एक शताब्दीभन्दा बढी समयको लागि ताहिती भाषामा उपलब्ध एउटै मात्र पुस्तक बाइबल थियो। त्यसकारण यो ताहिती संस्कृतिको अभिन्‍न भाग बन्यो।

नट संस्करण-को एउटा सबल पक्ष भनेको हिब्रू तथा युनानी धर्मशास्त्रमा व्यापक रूपमा ईश्‍वरीय नाउँको प्रयोग हो। परिणामस्वरूप, आज ताहिती तथा यसका अन्य टापुहरूमा यहोवाको नाउँ प्रचलित छ। केही प्रोटेस्टेन्ट चर्चहरूमा समेत यो नाउँ देखिन्छ। तथापि, अहिले परमेश्‍वरको नाउँ मुख्यतया यहोवाका साक्षीहरू र तिनीहरूको जोसिलो प्रचारकार्यसित मिलान गरिन्छ र तिनीहरूले पनि आफ्नो कार्यमा नट तथा तिनका सँगीहरूको ताहिती बाइबल अनुवाद व्यापक प्रयोग गर्छन्‌। हेन्री नटजस्ता अनुवादकहरूले गरेको कडा प्रयासले हामीलाई परमेश्‍वरको वचन अधिकांश मानवजातिको लागि सजिलै उपलब्ध भएकोमा कृतज्ञ हुनुपर्ने कुराको सम्झना दिलाउँछ।

[पृष्ठ २६-मा भएका चित्रहरू]

ताहितीमा बाइबलको पहिलो अनुवाद, १८१५। यहोवाको नाउँ प्रयोग गरिएको छ

हेन्री नट (१७७४-१८४४), ताहिती बाइबलका मुख्य अनुवादक

[स्रोत]

Tahitian Bible: Copyright the British Library (3070.a.32); Henry Nott and letter: Collection du Musée de Tahiti et de ses Îles, Punauia, Tahiti; catechism: With permission of the London Missionary Society Papers, Alexander Turnbull Library, Wellington, New Zealand

[पृष्ठ २८-मा भएको चित्र]

सन्‌ १८०१ को दोभाषीय ताहिती र वेल्स क्याटेकिज्म जहाँ परमेश्‍वरको नाउँ प्रयोग गरिएको छ

[स्रोत]

With permission of the London Missionary Society Papers, Alexander Turnbull Library, Wellington, New Zealand

[पृष्ठ २९-मा भएको चित्र]

फ्रेन्च पोलिनेसियाको वाहिहे टापुमा प्रोटेस्टेन्ट चर्चअगाडि यहोवाको नाउँ

[स्रोत]

Avec la permission du Pasteur Teoroi Firipa