सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“परमेश्‍वर प्रेम हुनुहुन्छ”

“परमेश्‍वर प्रेम हुनुहुन्छ”

“परमेश्‍वर प्रेम हुनुहुन्छ”

“प्रेम नगर्नेले परमेश्‍वरलाई चिन्दैन, किनभने परमेश्‍वर प्रेम हुनुहुन्छ।”—१ यूहन्‍ना ४:८.

१-३. (क) यहोवाको गुण प्रेमबारे बाइबलले के बताउँछ र कुन तरिकामा यो भनाइ अद्वितीय छ? (ख) बाइबलले किन “परमेश्‍वर प्रेम हुनुहुन्छ” भनेर बताउँछ?

 यहोवाका सम्पूर्ण गुणहरू उत्कृष्ट, सिद्ध र आकर्षक छन्‌। तर यहोवाका सम्पूर्ण गुणहरूमध्ये सबैभन्दा मनमोहक गुण प्रेम हो। यहोवाको प्रेमले जति जोडदार ढंगमा अरू कुनै पनि गुणले हामीलाई उहाँतर्फ खिच्दैन। खुसीको कुरा, उहाँको प्रमुख गुण पनि प्रेम नै हो। हामी यो कुरा कसरी थाह पाउँछौं?

बाइबलले यहोवाको प्रेमबारे बताउने एउटा कुरा उहाँका अन्य मुख्य गुणहरूबारे बताइएको छैन। धर्मशास्त्रले परमेश्‍वर शक्‍ति हुनुहुन्छ वा परमेश्‍वर न्याय हुनुहुन्छ वा परमेश्‍वर बुद्धि हुनुहुन्छ भनेको छैन। उहाँसित ती गुणहरू छन्‌ र उहाँ तीनवटै गुणको सर्वोत्तम स्रोत हुनुहुन्छ। यद्यपि, १ यूहन्‍ना ४:८ मा प्रेमबारे अझ गहन कुरा बताइएको छ: “परमेश्‍वर प्रेम हुनुहुन्छ।” हो, प्रेम यहोवाको अभिन्‍न भाग हो। यो उहाँको सार वा स्वभाव हो। साधारणतया भन्‍ने हो भने, हामी यस्तो विचार गर्न सक्छौं: यहोवाको शक्‍तिले उहाँलाई कुनै कार्य गर्न सक्षम बनाउँछ। उहाँको न्याय र बुद्धिले उहाँको कार्यलाई डोऱ्‍याउँछ। तथापि, यहोवाको प्रेमले उहाँलाई कदम चाल्न उत्प्रेरित गर्छ। अनि उहाँले आफ्ना अरू गुणहरू प्रयोग गर्नुहुने तरिकामा सधैं उहाँको प्रेम झल्कन्छ।

अक्सर भन्‍ने गरिन्छ, यहोवा प्रेमको मूर्तरूप हुनुहुन्छ। यसर्थ, हामी प्रेमबारे सिक्न चाहन्छौं भने, यहोवाबारे सिक्नै पर्छ। त्यसैले आउनुहोस्‌, हामी यहोवाको अतुलनीय प्रेमका केही पक्षहरू जाँचौं।

प्रेमको सर्वोत्तम कार्य

४, ५. (क) सारा इतिहासमा प्रेमको सर्वोत्तम कार्य के हो? (ख) यहोवा परमेश्‍वर र उहाँको पुत्रलाई एकतामा बाँध्ने प्रेम जत्तिको बलियो बन्धन अरू कुनै छैन भनेर हामी किन भन्‍न सक्छौं?

यहोवाले हामीलाई धेरै तरिकामा प्रेम देखाउनुभएको छ, तर उहाँले प्रेम देखाउनुभएको एउटा तरिका सबैभन्दा उल्लेखनीय छ। यो के हो? हाम्रो खातिर दुःख भोग्न अनि मर्न आफ्नो पुत्र पठाउनु। यो सारा इतिहासमै प्रेमको सर्वोत्तम कार्य हो भन्‍नु कुनै अत्युक्‍ति हुँदैन। हामी किन यसो भन्‍न सक्छौं?

बाइबलले येशूलाई “सारा सृष्टिको जेठो” भन्छ। (कलस्सी १:१५) विचार गर्नुहोस्‌ त—यस भौतिक ब्रह्‍माण्डभन्दा पनि अघिदेखि नै यहोवाको पुत्र अस्तित्वमा हुनुहुन्थ्यो। त्यसोभए, पिता र पुत्रले सँगै कति समय बिताउनुभयो? कोही-कोही वैज्ञानिकहरूले अनुमान गरेअनुसार ब्रह्‍माण्ड १३ अरब वर्ष अघिदेखि अस्तित्वमा थियो। यद्यपि, यो अनुमान सही नै भए तापनि यहोवाको जेठो पुत्रको आयुसँग यसलाई दाँज्नै मिल्दैन! यति धैरै समयसम्म उहाँले के गर्नुभयो? पुत्रले उहाँको पिताको “कारीगरझैं” आनन्दपूर्वक सेवा गर्नुभयो। (हितोपदेश ८:३०, नयाँ संशोधित संस्करण; यूहन्‍ना १:३) अरू सबै कुराहरूको सृष्टि गर्न यहोवा र उहाँको पुत्रले एकसाथ मिलेर काम गर्नुभयो। उहाँहरूको लागि त्यो कत्ति रोमाञ्चक अनि रमाइलो समय थियो! त्यसैले, त्यति लामो समयको दौडान उहाँहरूबीच भएको बन्धन कत्तिको गहिरो छ भन्‍ने कुरा हामीमध्ये कसले पो बुझ्न सक्छ र? स्पष्टतः यहोवा परमेश्‍वर र उहाँको पुत्रलाई एकतामा बाँध्ने प्रेम जत्तिको बलियो बन्धन अरू कुनै छैन।

६. येशूले बप्तिस्मा लिनुहुँदा, यहोवाले आफ्नो पुत्रबारे उहाँको भावना कसरी व्यक्‍त गर्नुभयो?

तैपनि, यहोवाले आफ्नो पुत्रलाई मानव बच्चाको रूपमा जन्म लिन यस पृथ्वीमा पठाउनुभयो। यसको अर्थ यहोवाले आफ्नो प्यारो पुत्रसित स्वर्गमा आनन्द उठाइरहनुभएको घनिष्ठ संगतिलाई केही दशकको निम्ति त्याग्नु पऱ्‍यो। येशू सिद्ध मानिसको रूपमा हुर्कंदै गर्नुहुँदा उहाँले स्वर्गबाट अभिरुचिपूर्वक नजर गर्नुभयो। लगभग ३० वर्षको उमेरमा येशूले बप्तिस्मा लिनुभयो। त्यस अवसरमा पिता आफैले स्वर्गबाट यसो भन्‍नुभयो: “यिनी मेरो प्यारो पुत्र हुन्‌, जोसँग म खुशी छु।” (मत्ती ३:१७) भविष्यवाणी गरिएका अनि येशूबाट माग गरिएका सबै कामहरू उहाँले विश्‍वासीपूर्वक गर्नुभएको देख्दा पक्कै पनि पिता औधी खुसी भएको हुनुपर्छ।—यूहन्‍ना ५:३६; १७:४.

७, ८. (क) सा.यु. ३३, निसान १४ मा येशूले कस्ता कुराहरू सहनु पऱ्‍यो र यसले स्वर्गमा बस्नुहुने उहाँको पितालाई कस्तो असर गऱ्‍यो? (ख) यहोवाले किन आफ्नो पुत्रलाई दुःख भोग्न र मर्न दिनुभयो?

यद्यपि, सा.यु. ३३, निसान १४ मा येशूलाई धोकाबाजी गरेर उहाँलाई क्रुद्ध भीडले गिरफ्तार गर्दा यहोवाले कस्तो महसुस गर्नुभयो? येशूको खिसी गरिंदा, उहाँलाई थुक्दा अनि मुक्का लगाउँदा यहोवालाई कस्तो भयो होला? उहाँलाई कोर्राले हानेर उहाँको मासु च्यातिंदा नि? उहाँको हात र खुट्‌टामा किला ठोकेर उहाँलाई काठको खम्बामा लट्‌काइको बेला मानिसहरूले उहाँको अपमान गर्दा नि? आफ्नो प्यारो पुत्रले पीडामा छट्‌पटाउँदै पुकार्दा यहोवाले कस्तो महसुस गर्नुभयो? येशूले अन्तिम सास फेर्नुहुँदा अनि सृष्टिको सुरुवातदेखि आफ्नो प्यारो पुत्र पहिलो पटक अस्तित्वमा नहुँदा यहोवाले कस्तो महसुस गर्नुभयो होला?—मत्ती २६:१४-१६, ४६, ४७, ५६, ५९, ६७; २७:२६, ३८-४४, ४६; यूहन्‍ना १९:१.

यहोवाका भावनाहरू भएको हुँदा आफ्नो पुत्रको मृत्युको कारण उहाँले भोग्नु परेको पीडा उहाँको निम्ति कत्तिको हृदयविदारक भयो होला भनेर हामी शब्दमा वर्णन गर्नै सक्दैनौं। यसो हुन दिनुमा हामी यहोवाको मनसाय बुझ्न सक्छौं। पिताले किन उहाँलाई त्यस्तो पीडा भोग्न दिनुभयो? यहोवाले हामीलाई यूहन्‍ना ३:१६ मा एकदमै अद्‌भुत कुरा प्रकट गर्नुभएको छ—यो बाइबल पद असाध्यै महत्त्वपूर्ण भएको हुँदा यसलाई सुसमाचारका पुस्तकको सुक्ष्म रूपसमेत भनिन्छ। त्यहाँ यसो भनिएको छ: “परमेश्‍वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले आफ्ना एकमात्र पुत्रलाई दिनुभयो, उहाँमाथि विश्‍वास गर्ने प्रत्येक नाश नहोस्‌, तर त्यसले अनन्त जीवन पाओस्‌।” त्यसकारण परमेश्‍वरको उत्प्रेरणाको कारण थियो—प्रेम। यो जत्तिको महान्‌ प्रेम कहिल्यै प्रकट गरिएको छैन।

यहोवाले हामीलाई कसरी उहाँको प्रेमको आश्‍वासन दिनुहुन्छ

९. हामीप्रति यहोवाले राख्नुहुने दृष्टिकोणबारे हामीले कस्तो सोचाइ राखोस्‌ भन्‍ने शैतान चाहन्छ, तर यहोवाले हामीलाई कुन कुराबारे आश्‍वासन दिनुहुन्छ?

तथापि, एउटा महत्त्वपूर्ण प्रश्‍न खडा हुन्छ: के परमेश्‍वरले हामीलाई व्यक्‍तिगत तवरमा प्रेम गर्नुहुन्छ? कोही-कोही यूहन्‍ना ३:१६ ले भनेझैं परमेश्‍वरले मानवजातिलाई साधारणतया प्रेम गर्नुहुन्छ भन्‍ने कुरामा सहमत होलान्‌। तर तिनीहरूलाई ‘परमेश्‍वरले मलाई व्यक्‍तिगत तवरमा कहिल्यै प्रेम गर्नुहुन्‍न’ जस्तो लाग्न सक्छ। वास्तवमा कुरा के हो भने, यहोवाले हामीलाई प्रेम गर्नुहुन्‍न वा मोल गर्नुहुन्‍न भन्‍ने सोचाइ राखोस्‌ भन्‍ने शैतान अर्थात्‌ दियाबल चाहन्छ। अर्को तर्फ, हामीले आफूलाई जतिसुकै अप्रिय वा बेकार सम्झे तापनि यहोवाले आफ्ना प्रत्येक सेवकलाई मूल्यवान्‌ ठान्‍नुहुन्छ भनी उहाँ आश्‍वासन दिनुहुन्छ।

१०, ११. यहोवाको नजरमा हामी मूल्यावान्‌ छौं भनी येशूले भंगेराबारे बताउनुभएको दृष्टान्तले कसरी देखाउँछ?

१० उदाहरणका लागि, मत्ती १०:२९-३१ मा लिपिबद्ध येशूका शब्दहरूलाई विचार गर्नुहोस्‌। आफ्ना चेलाहरूको महत्त्व झल्काउँदै येशूले यसो भन्‍नुभयो: “के एक पैसामा दुइ भँगेरा बिक्‍तैनन्‌? तीमध्ये एउटा पनि तिमीहरूका पिताको इच्छाविना भूइँमा खस्नेछैन। तर तिमीहरूका शिरका केशहरू समेत पनि सबै गन्ती भएका छन्‌। यसकारण तिमीहरू नडराओ, तिमीहरू धेरै भँगेराहरूभन्दा बढता मूल्यका छौ।” ती शब्दहरूले येशूका प्रथम शताब्दीका श्रोताहरूको लागि कस्तो अर्थ राख्यो होला, विचार गर्नुहोस्‌।

११ येशूको समयमा भोजनको रूपमा बेच-बिखन हुने चराहरूमध्ये भंगेरा सबैभन्दा सस्तो थियो। एक पैसामा दुइटा भंगेरा किन्‍न सकिन्थ्यो। तर लूका १२:६, ७ मा उल्लेख गरिएअनुसार येशूले भन्‍नुभयो, दुई पैसामा चारवटा होइन, पाँचवटा भंगेरा किन्‍न सकिन्थ्यो। एउटा भंगेराको कुनै मोल नभएझैं सित्तैंमा दिइन्थ्यो। सायद त्यस्ता भंगेराहरू मानिसको नजरमा मूल्यहीन थिए, तर सृष्टिकर्ताले कस्तो दृष्टिकोण राख्नुहुन्थ्यो? येशूले यसो भन्‍नुभयो: “तीमध्ये [सित्तैंमा आएको] एउटालाई पनि परमेश्‍वरले बिर्सनुहुन्‍न।” अब हामी येशूले भन्‍न खोज्नुभएको कुरा बुझ्न सक्छौं। यहोवाले एउटा भंगेरालाई त त्यस्तो मूल्यवान्‌ ठान्‍नुहुन्छ भने, मानिस झन्‌ कत्ति बढी मूल्यवान्‌ होला! येशूले भन्‍नुभएझैं यहोवालाई हाम्रो एक-एक विवरण थाह छ। हुन पनि, हाम्रो शिरका सबै केशहरू गनिएका छन्‌!

१२. येशूले हाम्रो शिरका केशहरू गनिएका छन्‌ भन्‍नुहुँदा, उहाँले बढाइचढाइ कुरा गरिरहनुभएको थिएन भनी हामी किन पक्का हुन सक्छौं?

१२ कसै-कसैलाई यहाँ येशूले बढाइचढाइ कुरा गर्नुभएको जस्तो लाग्ला। यद्यपि, पुनरुत्थानबारे एक छिन सोच्नुहोस्‌। हामीलाई पुनः सृजन यहोवालाई हाम्रोबारे कत्ति राम्रोसित थाह हुनुपर्छ होला! उहाँले हामीलाई अत्यन्तै मूल्यवान्‌ ठान्‍नुहुने हुँदा हाम्रो जटिल आनुवंशिक कोडलगायत विगतको सम्झना तथा अनुभव सबै सम्झनुहुन्छ। यसको तुलनामा टाउकोमा हुने सालाखाला १,००,००० केश गन्‍नु उहाँको लागि कुनै गाह्रो काम होइन। यहोवाले हाम्रो व्यक्‍तिगत तवरमा चासो लिनुहुन्छ भनी येशूका शब्दहरूले कस्तो सुन्दर ढंगमा आश्‍वासन दिन्छ!

१३. हामी असिद्ध भए तापनि यहोवाले हामीमा असल कुरा खोज्नुहुन्छ भनेर राजा यहोशापातको घटानाले कसरी देखाउँछ?

१३ हामीलाई यहोवाको प्रेमबारे आश्‍वस्त पार्ने अरू कुरा पनि बाइबलले बताउँछ। उहाँले हामीमा असल कुरा खोज्नुहुन्छ र त्यसको मूल्यांकन गर्नुहुन्छ। उदाहरणका लागि, असल राजा यहोशापातलाई लिनुहोस्‌। ती राजाले एउटा मूर्खतापूर्ण काम गर्दा यहोवाको अगमवक्‍ताले तिनलाई यसो भने: “यसको निम्ति परमप्रभुबाट तपाईंले दु:ख पाउनुहुनेछ।” कस्तो विचारणीय कुरा! तर यहोवाको सन्देश यत्ति मात्रै थिएन। अझै यसो भनियो: “तापनि तपाईंमा केही असल कुरो छ।” (२ इतिहास १९:१-३) त्यसैले यहोवाको धार्मिक क्रोधले उहाँलाई यहोशापातमा भएको “असल कुरो” देख्न अन्धो तुल्याएन। हामी असिद्ध भए तापनि हाम्रा परमेश्‍वरले हामीमा असल कुरा खोज्नुहुन्छ भनेर थाह पाउनु के आश्‍वासनदायी छैन र?

“क्षमा गर्न” तयार परमेश्‍वर

१४. पाप गर्दा हामीले कस्ता बोझिला भावनाहरू महसुस गर्न सक्छौं तर हामीले यहोवाको क्षमाबाट कसरी लाभ उठाउन सक्छौं?

१४ पाप गर्दा हामीले महसुस गर्ने निराशा, लाज र दोषी भावनाको कारण हामी आफूलाई यहोवाको सेवा गर्न अयोग्य ठानौंला। यद्यपि, नबिर्सनुहोस्‌, यहोवा “क्षमा गर्न” तयार हुनुहुन्छ। (भजन ८६:५) हो, आफ्ना पापहरूको लागि पश्‍चात्ताप गऱ्‍यौं र त्यसलाई फेरि नदोहोऱ्‍याउन कडा परिश्रम गऱ्‍यौं भने हामीले यहोवाको क्षमाबाट लाभ उठाउन सक्छौं। यहोवाको प्रेमको यस अद्‌भुत पक्षबारे बाइबलले कसरी वर्णन गर्छ विचार गर्नुहोस्‌।

१५. यहोवाले हाम्रा पापहरू हामीबाट कति टाढा राख्नुहुन्छ?

१५ यहोवाको क्षमाको वर्णन गर्न भजनहार दाऊदले एउटा ज्वलन्त विवरण प्रयोग गरे: “पश्‍चिमबाट पूर्व जत्ति टाढा छ, उहाँले हाम्रा अपराधहरू हामीबाट त्यत्तिनै टाढा हटाइदिनुभएको छ।” (छड्‌के अक्षर हाम्रो; भजन १०३:१२) पश्‍चिमबाट पूर्व कति टाढा छ? वास्तवमा, पश्‍चिमको सबैभन्दा पल्लो छेउ भनेको पूर्व हो; यी दुई बिन्दुहरूको कहिल्यै मिलन हुन सक्दैन। एक जना शास्त्रविद्‌ले बताएअनुसार यस अभिव्यक्‍तिको अर्थ “यथासम्भव टाढा; हामीले सोच्न सक्ने सबैभन्दा टाढा” हो। दाऊदका प्रेरित शब्दहरूले हामीलाई बताउँछ कि यहोवाले क्षमा दिनुहुँदा उहाँले हाम्रा पापहरू हामीले सोच्न सक्ने सबैभन्दा टाढाको दूरीमा राख्नुहुन्छ।

१६. यहोवाले हाम्रा पापहरू क्षमा गर्नुहुँदा, त्यसपछि उहाँले हामीलाई सफा ठान्‍नुहुन्छ भनेर हामी किन आश्‍वस्त हुन सक्छौं?

१६ के तपाईंले कहिल्यै उज्यालो रंगको लुगामा लागेको दाग हटाउने कोसिस गर्नुभएको छ? तपाईंले जतिसुकै मेहनत गर्नुभए तापनि त्यो दाग अलिअलि भने पनि देखिरह्‍यो होला। यहोवाले कुन हदसम्म क्षमा दिनुहुन्छ भन्‍नेबारे उहाँले कसरी वर्णन गर्नुहुन्छ याद गर्नुहोस्‌: “तिमीहरूका पाप सिन्दूरे रंगका भए, तापनि ती हिउँजस्तै सेता हुनेछन्‌। गाढ़ा राता रंगका भए, तापनि ती ऊनजस्तै हुनेछन्‌।” (छड्‌के अक्षर हाम्रो; यशैया १:१८) “सिन्दूरे” भन्‍ने शब्दले उज्यालो रातो रंगलाई जनाउँछ। a आफ्नै मेहनतद्वारा हामीले कहिल्यै पनि पापको दाग हटाउन सक्दैनौं। तैपनि, यहोवाले सिन्दूरे र गाढा राता रंगका पापहरू हटाएर त्यसलाई हिउँजस्तै वा नरंग्याइएको ऊनजस्तै सेतो बनाउन सक्नुहुन्छ। त्यसकारण यहोवाले हाम्रा पापहरू क्षमा गर्नुहुँदा, हामीले यस्ता पापहरूको दाग जिन्दगीभरि रहिरहन्छ भनेर सोच्नु पर्दैन।

१७. यहोवाले कुन अर्थमा हाम्रा पापहरू आफ्नो पिठ्‌यूँपछि फाल्नुहुन्छ?

१७ प्राणघातक रोगबाट बचेपछि हिजकियाहले रचेका धन्यवादको उत्साहवर्धक गीतमा तिनले यहोवालाई यसो भने: “तपाईंले मेरा सारा पाप आफ्नै पिठ्‌यूँपछि फाल्नुभयो।” (छड्‌के अक्षर हाम्रो; यशैया ३८:१७) यहाँ यहोवालाई गल्ती गरेर पश्‍चात्ताप गर्नेका पापहरू आफ्नो पिठ्‌यूँपछि फाल्ने व्यक्‍तिको रूपमा चित्रण गरिएको छ, जहाँ उहाँले यी पापहरूलाई न देख्नुहुन्छ न त त्यसको कुनै वास्ता नै गर्नुहुन्छ। एउटा सन्दर्भ सामाग्रीअनुसार, यसले व्यक्‍त गरेको विचारलाई यसरी बताउन सकिन्छ: “तपाईंले [मेरा पापहरूलाई] ती हुँदै नभएकाझैं तुल्यादिनुभयो।” के यी शब्दहरू सान्त्वनादायी छैनन्‌ र?

१८. यहोवाले क्षमा दिनुहुँदा उहाँले हाम्रा पापहरू सदाको लागि हटाउनुहुन्छ भनी मीकाका शब्दहरूले कसरी संकेत गर्छ?

१८ अगमवक्‍ता मीकाले पुनर्स्थापनासम्बन्धी एउटा प्रतिज्ञामा, यहोवाले उहाँका पश्‍चात्तापी जनहरूलाई क्षमा दिनुहुन्छ भन्‍ने निश्‍चयता व्यक्‍त गरे: “तपाईं जस्तो परमेश्‍वर को छ, जसले . . . आफ्नो निज धनको बाँकी रहेकाहरूको अपराध छोड़िदिनुहुन्छ? . . . तपाईंले तिनीहरूका सबै पाप समुद्रको गहराइमा फालिदिनुहुन्छ।” (छड्‌के अक्षर हाम्रो; मीका ७:१८, १९) यी शब्दहरूले बाइबल समयका मानिसहरूको लागि कस्तो अर्थ राख्थ्यो विचार गर्नुहोस्‌। “समुद्रको गहराइमा” फालिएको कुनै चिज पुनः प्राप्त गर्ने के कुनै सम्भावना रहन्थ्यो? त्यसकारण, यहोवाले क्षमा दिनुहुँदा, उहाँले हाम्रा पापहरू सदाको लागि हटाउनुहुन्छ भनी मीकाका शब्दहरूले संकेत गर्छ।

“हाम्रा परमेश्‍वरको कोमल अनुकम्पा”

१९, २०. (क) “दया देखाउनु” वा “टिठाउनु” भनी अनुवाद गरिएको हिब्रू क्रियाको अर्थ के हो? (ख) हामीलाई यहोवाको अनुकम्पाबारे सिकाउन एउटी आमाले आफ्नो बच्चाप्रति महसुस गर्ने भावना बाइबलले कसरी चलाउँछ?

१९ यहोवाको प्रेमको अर्को पक्ष अनुकम्पा हो। अनुकम्पा भनेको के हो? बाइबलमा अनुकम्पा र दयाबीच नजिकको सम्बन्ध छ। थुप्रै हिब्रू तथा युनानी शब्दहरूले अनुकम्पाको भाव झल्काउँछन्‌। उदाहरणका लागि, हिब्रू क्रिया राकाम-लाई अक्सर “दया देखाउनु” वा “टिठाउनु” भनी अनुवाद गरिएको छ। यहोवाले आफूलाई बुझाउन प्रयोग गर्नुभएको हिब्रू शब्द “गर्भाशय” अर्थ बुझाउने अभिव्यक्‍तिसित सम्बन्धित छ र यसलाई “आमाले देखाउने जस्तो अनुकम्पा” भनेर वर्णन गर्न सकिन्छ।

२० हामीलाई यहोवाको अनुकम्पाबारे सिकाउन बाइबलले एउटी आमाले आफ्नो बच्चाप्रति महसुस गर्ने भावना चलाउँछ। यशैया ४९:१५ यसो भन्छ: “के कुनै स्त्रीले आफ्नो दूधे–बालकलाई बिर्सन सक्छे र? आफ्नो गर्भको बालकलाई के त्यसले अनुकम्पा [ राकाम ] देखाउँदिन र? यिनीहरूले बिर्सन पनि सक्छन्‌, तर म त तँलाई बिर्सन सक्‍तिनँ।” (दी एमप्लिफाइड बाइबल) एउटी आमाले आफ्नो दूधे-बालकलाई दूध खुवाउन वा त्यसको हेरचाह गर्न बिर्सने कुरा कल्पना गर्नै गाह्रो छ। वास्तवमा, एउटा शिशु निस्सहाय हुन्छ; बच्चालाई रातदिन आमाको हेरचाह चाहिन्छ। तथापि, दुःखको कुरा, विशेष गरी यो “डरलाग्दो समय[मा]” आमाले आफ्नो बच्चाको बेवास्ता गरेको घटना सुन्‍नु कुनै नौलो कुरा होइन। (२ तिमोथी ३:१, ३) “तर” यहोवा यस्तो घोषणा गर्नुहुन्छ: “म त तँलाई बिर्सन सक्‍तिनँ।” यहोवाले आफ्ना जनहरूप्रति देखाउनुहुने कोमल अनुकम्पा हामीले कल्पना गर्न सक्ने सबैभन्दा कोमल स्वाभाविक भावना—एउटी आमाले अक्सर आफ्नो नवजात शिशुको लागि महसुस गर्ने अनुकम्पाभन्दा पनि कता हो कता धेरै छ।

२१, २२. प्राचीन मिश्रमा इस्राएलीहरूले कस्तो अनुभव गरे र तिनीहरूको पुकाराप्रति यहोवाले कस्तो प्रतिक्रिया देखाउनुभयो?

२१ मायालु आमाबाबुले जस्तै यहोवाले कसरी अनुकम्पा देखाउनुहुन्छ? उहाँले प्राचीन इस्राएलसित व्यवहार गर्नुभएको तरिकामा यो गुण प्रस्टै देखिन्छ। सा.यु.पू. १६ औं शताब्दीको अन्ततिर, लाखौं इस्राएलीहरू मिश्रको दासत्वमा थिए, जहाँ तिनीहरूलाई एकदमै सताइन्थ्यो। (प्रस्थान १:११, १४) यस्तो दुःखमा इस्राएलीहरूले यहोवाको पुकारा गरे। अनुकम्पाका परमेश्‍वरले कस्तो प्रतिक्रिया देखाउनुभयो?

२२ यहोवाको हृदय छोयो। उहाँले यसो भन्‍नुभयो: “मिश्रमा भएका मेरा प्रजाको दुःख मैले देखेको छु, र . . . तिनीहरूले पुकारा गरेको मैले सुनेको छु, किनकि तिनीहरूको दुःख मलाई थाह छ।” (प्रस्थान ३:७) आफ्ना प्रजाको दुःख देख्दा वा तिनीहरूको पुकारा सुन्दा, यहोवा तिनीहरूको जस्तै दुःख महसुस नगरी बस्न सक्नुभएन। यहोवा समानुभूतिको परमेश्‍वर हुनुहुन्छ। समानुभूति अर्थात्‌ अरूको पीडा महसुस गर्नसक्ने क्षमता, अनुकम्पासित सम्बन्धित छ। तथापि, यहोवाले आफ्ना जनहरूको दुःख महसुस मात्र गर्नुभएन; उहाँ तिनीहरूको खातिर कदम चाल्न उत्प्रेरित हुनुभयो। यशैया ६३:९ यसो भन्छ: “उहाँको प्रेम र करुणामा [“अनुकम्पा,” NW ] उहाँले तिनीहरूलाई उद्धार गर्नुभयो।” उहाँले “बाहुबल” प्रयोग गरेर इस्राएलीहरूलाई मिश्रबाट उद्धार गर्नुभयो। (व्यवस्था ४:३४) त्यसपछि, उहाँले तिनीहरूको लागि चमत्कारपूर्ण ढंगमा खाना जुटाइदिनुभयो र तिनीहरूलाई आफ्नै फलदायी भूमिमा पुऱ्‍याउनुभयो।

२३. (क) यहोवाले हाम्रो व्यक्‍तिगत तवरमा गहिरो चासो लिनुहुन्छ भनी भजनहारका शब्दहरूले हामीलाई कसरी आश्‍वस्त पार्छ? (ख) यहोवाले हामीलाई कुन-कुन तरिकाहरूमा मदत गर्नुहुन्छ?

२३ यहोवाले आफ्ना जनहरूप्रति सामूहिक तवरमा मात्र अनुकम्पा देखाउनुहुन्‍न। हाम्रा मायालु परमेश्‍वरले हाम्रो व्यक्‍तिगत तवरमा गहिरो चासो लिनुहुन्छ। हामीमाथि आइपर्न सक्ने कुनै पनि दुःखबारे उहाँ एकदमै सजग हुनुहुन्छ। भजनहारले यसो भने: “परमप्रभुका नजर धर्मात्मातर्फ हुन्छन्‌, र उहाँका कान तिनीहरूका पुकारा सुन्‍न खुला हुन्छन्‌। टुटेका हृदय भएकाहरू सबैको नजीक परमप्रभु हुनुहुन्छ, र पश्‍चातापी मन हुनेहरूलाई उहाँले बचाउनुहुन्छ।” (भजन ३४:१५, १८) यहोवाले हामीलाई कसरी व्यक्‍तिगत तवरमा मदत गर्नुहुन्छ? उहाँले हाम्रो दुःखको कारक तत्त्वलाई हटाउनु नै हुन्छ भन्‍ने छैन। तर मदतको लागि उहाँको पुकारा गर्नेहरूको लागि उहाँले प्रशस्त प्रबन्धहरू मिलाउनुभएको छ। उहाँको वचनले दिने व्यावहारिक सल्लाहले ठूलो फरक पार्न सक्छ। उहाँले मण्डलीमा आध्यात्मिक तवरमा योग्य निरीक्षकहरूको प्रबन्ध गर्नुहुन्छ, जसले अरूलाई मदत गर्ने सन्दर्भमा उहाँको अनुकम्पा झल्काउने कोसिस गर्नछन्‌। (याकूब ५:१४, १५) यहोवा, “प्रार्थना सुन्‍नुहुने” परमेश्‍वर भएको कारण उहाँले “उहाँसँग माग्नेहरूलाई . . . पवित्र आत्मा दिनुहुनेछ।” (भजन ६५:२; लूका ११:१३) यस्ता सबै प्रबन्धहरू “हाम्रा परमेश्‍वरको कोमल दयाको [“अनुकम्पा,” NW]” अभिव्यक्‍तिहरू हुन्‌।—लूका १:७८.

२४. यहोवाको प्रेमप्रति तपाईं कस्तो प्रतिक्रिया देखाउनु हुनेछ?

२४ स्वर्गमा बस्नुहुने हाम्रा पिताको प्रेमबारे विचार गर्न पाउनु के रोमाञ्चकारी कुरा होइन र? अघिल्लो लेखमा, हामीलाई स्मरण गराइएझैं यहोवाले आफ्नो शक्‍ति, न्याय र बुद्धि हाम्रै भलाइको लागि मायालु ढंगमा चलाउनुभएको छ। अनि यो लेखबाट यहोवाले मानिसजातिको लागि—र हामीलाई व्यक्‍तिगत तवरमा—उल्लेखनीय तरिकाहरूमा उहाँको प्रेम प्रत्यक्ष देखाउनुभएको छ भनी बुझेका छौं। अब हामी हरेकले आफूलाई यस्तो प्रश्‍न सोध्नु बेस हुन्छ: ‘यहोवाको प्रेमप्रति म कस्तो प्रतिक्रिया देखाउने छु?’ तपाईंले आफ्नो सारा हृदय, बुद्धि, प्राण र शक्‍तिले उहाँलाई प्रेम गरेर तपाईंले यसको प्रत्युत्तर दिन सक्नुहोस्‌। (मर्कूस १२:२९, ३०) तपाईंको दैनिक जीवनले यहोवासित अझ नजिक भइरहने तपाईंको हार्दिक इच्छा झल्काओस्‌। अनि परमेश्‍वर यहोवा, जो प्रेम हुनुहुन्छ, उहाँ अनन्तकालसम्म तपाईंको नजिक आइरहून्‌।—याकूब ४:८.

[फुटनोट]

a एक जना विद्वान्‌ भन्छन्‌, सिन्दूरे रंग “लामो समयसम्म रहिरहने वा चाँडै नखुइलिने रंग थियो। न शीत, न वर्षा, न धुलाइ, न त लामो समयसम्मको प्रयोगले नै यो रंग खुइलिन्थ्यो।”

के तपाईंलाई सम्झना छ?

यहोवाको प्रमुख गुण प्रेम हो भनी हामी कसरी थाह पाउँछौं?

हाम्रो लागि दुःख भोग्न र मर्न यहोवाले आफ्नो पुत्र पठाउनु प्रेमको सर्वोत्तम कार्य हो भनी किन भन्‍न सकिन्छ?

यहोवाले हामीलाई व्यक्‍तिगत तवरमा प्रेम गर्नुहुन्छ भनी उहाँले कसरी आश्‍वासन दिनुहुन्छ?

यहोवाको क्षमाबारे बाइबलले कस्तो ज्वलन्त ढंगमा वर्णन गर्छ?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ १५-मा भएको चित्र]

“परमेश्‍वरले . . . आफ्ना एकमात्र पुत्रलाई दिनुभयो”

[पृष्ठ १६, १७-मा भएको चित्र]

“तिमीहरू धेरै भँगेराहरूभन्दा बढ़ता मूल्यका छौ”

[स्रोत]

© J. Heidecker/VIREO

[पृष्ठ १८-मा भएको चित्र]

एउटी आमाले आफ्नो बच्चाप्रति महसुस गर्ने भावनाले हामीलाई यहोवाको अनुकम्पाबारे सिकाउन सक्छ