प्रेम अपरिहार्य छ
प्रेम अपरिहार्य छ
जुनसुकै उमेर, संस्कृति, भाषा र जातका मानिसहरू होऊन्, सबै जना प्रेमका भोका हुन्छन्। यो भोक मेटिएन भने तिनीहरू खुसी हुँदैनन्। एक जना चिकित्सा अनुसन्धाताले यस्तो लेखे: “हामी बिरामी हुनु र निको हुनु, खुसी हुनु र दुःखी हुनु, कष्ट भोग्नु र मुक्त हुनुमा प्रेम र आत्मीयताले निर्णायक भूमिका खेल्छ। यदि कुनै नयाँ औषधीको त्यस्तो असर हुँदो हो त सबै देशका डाक्टरहरूले बिरामीहरूलाई त्यही औषधी दिने थिए। त्यो औषधी नदिनु डाक्टरको पक्षमा लापरवाही हुनेछ।”
यद्यपि, आधुनिक समाज र विशेष गरी सञ्चार माध्यम तथा प्रख्यात आदर्शहरूले मानिसलाई चाहिने न्यानो, मायालु सम्बन्धहरूभन्दा धन, शक्ति, नाउँ र यौनलाई बढी महत्त्व दिन्छन्। थुप्रै शिक्षाविद्हरूले पनि सांसारिक लक्ष्य तथा पेसालाई बढी जोड दिन्छन् र यसैको आधारमा मानिसलाई सफल वा असफल ठान्छन्। हो, शिक्षा तथा आफ्नो सीप तिखार्नु महत्त्वपूर्ण छ तर आफ्ना साथीभाइ र परिवारलाई अलिकति पनि समय नदिई के पूरै त्यसमा मात्र व्यस्त हुनु राम्रो हो? मानिसहरूको स्वभावबारे गहिरो अध्ययन गरेका चतुर अनि शिक्षित पुरातन लेखकले, दक्ष तर प्रेमरहितको व्यक्ति “हल्ला र फोस्रो आवाज गर्ने घण्टा, कि झ्याली” जस्तै हुन्छ भने। (१ कोरिन्थी १३:१) त्यस्ता मानिसहरूले धन र नाउँ त कमाउलान् तर तिनीहरू वास्तवमै सुखी भने हुँदैनन्।
मानिसहरूलाई राम्ररी बुझ्नुका साथै तिनीहरूलाई असाध्यै माया गर्ने येशू ख्रीष्टले परमेश्वर र छिमेकीप्रतिको प्रेमलाई आफ्नो शिक्षाको प्रमुख विषय बनाउनुभयो। उहाँले यसो भन्नुभयो: “तैंले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्ना सारा हृदयले, र आफ्ना सारा प्राणले, र आफ्ना सारा समझले प्रेम गर्नू। . . . तैंले आफ्ना छिमेकीलाई आफैलाई जस्तै प्रेम गर्नू।” (मत्ती २२:३७-३९) यी शब्दहरू पालन गर्ने मानिसहरू मात्र येशूका साँचो अनुयायीहरू हुनेछन्। यसर्थ, उहाँले यसो भन्नुभयो: “तिमीहरूले आपसमा प्रेम गऱ्यौ भने, तिमीहरू मेरा चेलाहरू हौ भनी यसैबाट सबैले जान्नेछन्।”—यूहन्ना १३:३५.
तर आजको संसारमा प्रेम कसरी खेती गर्न सकिन्छ? आमाबाबुले आफ्ना छोराछोरीलाई प्रेम गर्न कसरी सिकाउन सक्छन्? यसपछिको लेखले यी प्रश्नहरूको जवाफ दिनेछ।
[पृष्ठ ३-मा भएका चित्रहरू]
जताततै लोभ व्याप्त भएको संसारमा प्रेम खेती गर्नु चुनौतीपूर्ण छ