सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

उगारिट बाल उपासनाको अत्यधिक प्रभाव भएको पुरातन शहर

उगारिट बाल उपासनाको अत्यधिक प्रभाव भएको पुरातन शहर

उगारिट बाल उपासनाको अत्यधिक प्रभाव भएको पुरातन शहर

सन्‌ १९२८ को कुरा हो, एक जना सिरियाली किसानले खेत खन्दा तिनको कोदालो एउटा ढुंगामा पऱ्‍यो जसमुनि पुराना माटाका भाँडाहरू भएको चिहान भेट्टिइयो। तिनले यसको महत्त्वबारे कल्पना पनि गर्न सक्दैनन्‌ थिए होला। यो संयोगवश भेट्टिएको कुरा सुनेपछि फ्रान्सेली उत्खनन टोली, क्लाद शाफरको नेतृत्वमा त्यहाँ अर्को वर्ष यात्रा गरे।

केही समयपछि नै एउटा शिलालेख भेट्टियो र उक्‍त टोलीले कर्नीले खोतल्दै जाँदा भग्नावशेष चिन्‍न सके। यो उगारिट थियो जुन “नियर इस्टका महत्त्वपूर्ण पुरातन शहरहरूमध्ये एक” हो। लेखक बारी होबरम्यानले यसो समेत भने: “बाइबलको कुरा बुझ्न यसले जत्तिको कुनै पनि पुरातात्त्विक आविष्कार, डेड सी स्क्रोल्सले समेत ठूलो असर पार्न सकेको छैन।”— दी एटलान्टिक मन्थ्ली।

जहाँ बाटोहरू भेट्‌छन्‌

हाल उत्तरी सिरियाको भूमध्यसागरीय तटको रास शाम्रा ढिस्कोमा अवस्थित उगारिट, आजभन्दा ३,००० वर्षअघि एउटा फस्टाउँदो महानगर थियो। यसको इलाका माउन्ट क्यासियसबाट उत्तरमा ६० किलोमिटरदेखि दक्षिणमा टेल सुकास र पश्‍चिममा भूमध्य सागरबाट ३० देखि ४५ किलोमिटर पश्‍चिमबाट पूर्वमा ओरन्टेस उपत्यकासम्म फैलिएको थियो।

उगारिटको उष्णप्रदेशीय मौसममा बस्तुभाउ राम्रो भएको थियो। यो इलाकामा अनाज, जैतुनको तेल, मद्य र काठ उत्पादन हुन्थ्यो र यी सामानहरूको मेसोपोटामिया तथा मिश्रमा साह्रै अभाव थियो। यसबाहेक, यो शहर महत्त्वपूर्ण व्यापारिक मार्गहरू भेटिने ठाउँमा परेको हुँदा पहिलो विशाल अन्तरराष्ट्रिय बन्दरगाहमध्ये एउटा बन्‍न पुग्यो। उगारिटमा आजियन, आनाटोलिया, बेबिलोन, मिश्र र मध्यपूर्वको अरू भागबाट आएका व्यापारीहरूले धातु, कृषिजन्य उत्पादन तथा स्थानीय तवरमा उत्पादित अन्य सामानहरूको बेच-बिखन गर्थे।

उगारिट शहर भौतिक तवरमा सम्पन्‍न भए तापनि यो सधैं एउटा वशवर्ती राज्य वा अरूको अधीनमा रह्‍यो। सा.यु.पू. १४ औं शताब्दीमा धर्मसित कुनै सम्बन्ध नभएको हित्ती साम्राज्यमा गाभिनुअघिसम्म यो शहर मिश्री साम्राज्यको सुदूर उत्तरी गढ थियो। उगारिटले कर तिर्नुपर्थ्यो अनि आफ्नो शासकीय शक्‍तिलाई सेना उपलब्ध गराउनुपर्थ्यो। “सी पिपल्सले” a आनाटोलिया (मध्य-टर्की) र उत्तरी सिरियालाई विनाश गर्न थाल्दा उगारिटका सिपाहीहरू र सैन्यदललाई हित्तीहरूले मगाए। फलस्वरूप उगारिट आफू असुरक्षित भयो अनि सा.यु.पू. १२०० तिर पूर्णतया विनाश भयो।

अतीतलाई पुनर्स्थापित गर्दै

उगारिटको विनाशले झन्डै २० मिटर अग्लो अनि ६० एकडभन्दा बढी जमिन ढाक्ने विशाल ढिस्को बनायो। यसको छ भागमध्ये एक भाग मात्र उत्खनन गरिएको छ। यसका भग्नावशेषहरूबाट पुरातत्त्वविद्‌हरूले लगभग एक सयवटा कोठा र चोकहरू अनि १०,००० वर्ग मिटर जति इलाका ढाक्ने विशाल दरबारको अवशेष पत्ता लगाएका छन्‌। यो दरबारमा पानीको पाइप, बाथरूम र ढल निकासको व्यवस्था थियो। फर्निचरको सतहमा सुन, नीलमणि र हस्तिहाडको जलप लगाइएको थियो। अत्यन्तै मसिनो बुट्टाले सिंगारिएका हस्तिहाडहरू भेट्टिएका छन्‌। चारैतिर पर्खालले घेरिएको बगैंचा र सानो पोखरीले दरबारको शोभा अझ बढाएको थियो।

यो शहर र वरपरको सम्म भूभागमा जताततै बाल र डागनका मन्दिरहरू थिए। b यी मन्दिरका स्तम्भहरू सायद २० मिटर अग्ला थिए अनि यहाँ ईश्‍वरको प्रतिमा राखिएको भित्री कोठासम्म पुऱ्‍याउने सानो बाटो थियो। भऱ्‍याङ उक्लेपछि एउटा बार्दली थियो जहाँबाट राजाले विभिन्‍न समारोहहरूको अध्यक्षता ग्रहण गर्थे। राती वा हुरीबतास चल्दा जहाजहरूलाई बन्दगाहसम्म सुरक्षितसाथ पुग्ने बाटो देखाउन, मन्दिरको टुप्पामा बत्ती बालिन्थ्यो। हुरीबतासको देव बाल-हादादले गर्दा सुरक्षित साथ फर्कन सकेका नाविकहरूले निस्सन्देह, तिनको लागि बनाइएको पवित्र स्थानमा ढुंगाको १७ वटा लंगर बनाएर आफ्नो भाकल पूरा गर्थे।

शिलालेखहरूको अनमोल खजाना

उगारिटका भग्नावशेषहरूसँगसँगै माटोका हजारौं पाटीहरू फेला परेका थिए। पाँचवटा लिपिमा आठवटा भाषामा लेखिएका आर्थिक, कानुनी, कुटनीतिक र प्रशासनिक पदहरू पत्ता लागेका छन्‌। शाफरको टोलीले हालसम्म थाह नलागेको अज्ञात भाषामा लेखिएका शिलालेखहरू भेट्टायो अनि त्यो भाषालाई उगारिटिक भनियो र ३० वटा कीलाक्षर चिह्नहरू भेट्टियो जुन हालसम्म पत्ता लागेका सबैभन्दा पुराना अक्षरहरूमध्ये हो।

दिनचर्याका विषयवस्तुबाहेक उगारिटिक पत्रमा साहित्यिक पद्यांशहरू छन्‌ जसले धार्मिक धारणा तथा त्यतिबेलाका प्रचलनहरूबारे नयाँ ढोका खोलेको छ। उगारिटको धर्म भने छिमेकी कनानीहरूको प्रचलनसित एकदमै मिल्दोजुल्दो पाइयो। रोलाँ डे भोअनुसार यी पद्यांशहरूले “इस्राएलीहरूले आफ्नो कब्जामा लिनुअघि कनानको सभ्यताको लगभग सही प्रतिबिम्ब गर्छ।”

बालको शहरमा धर्म

रास शाम्रा पदमा २०० भन्दा बढी देवदेवीबारे उल्लेख गरिएको छ। सर्वोच्च देवलाई एल भनियो जसलाई देवहरू र मानिसको पिता भनिन्छ। अनि हुरीबतासको देव बाल-हादाद “बादलहरू चढ्‌ने” र “धर्तीको स्वामी” थियो। एललाई बुद्धिमान्‌, सेतो दाह्री भएको अनि मानिसहरूसित खासै सम्बन्ध नभएको वृद्ध मानिसजस्तो चित्रण गरिएको छ। अर्कोतर्फ, बाल भनेको बलियो र महत्त्वाकांक्षी देव हो जसले अरू देव र मानिसजातिमाथि शासन गर्न खोज्छ।

यी भेट्टिएका पदहरू सम्भवतः नयाँ वर्ष वा कटनीको समयजस्ता धार्मिक उत्सवहरूमा पढिन्थ्यो। तथापि, त्यसको खास अर्थ भने प्रस्ट छैन। शासनसम्बन्धी विवादको एउटा कवितामा बालले एलको मन पर्ने छोरा, समुद्र-देव यामलाई पराजित गर्छ। यस विजयले उगारिटका नाविकहरूलाई बालले तिनीहरूलाई समुद्री यात्रामा सुरक्षा प्रदान गर्नेछ भनेर विश्‍वस्त बनायो होला। मटसितको झगडामा बाल पराजित हुन्छ र मृतकहरूको संसारमा जान्छ। फलस्वरूप खडेरी पर्छ अनि मानव गतिविधि ठप्प रोकिन्छ। बालकी पत्नी र बहिनी आनत, प्रेम र युद्धकी देवीले मटलाई मार्छन्‌ र बाललाई पुनर्जीवन दिन्छिन्‌। बालले एलकी पत्नी अथिरतका (आशेरा) छोराहरूको हत्या गरेर सिंहासन हडप्छन्‌। तर सात वर्षपछि मट पुनः फर्कन्छ।

कसै-कसैले यो कवितालाई जीवनदायी वर्षालाई गर्मीको उग्र तापले दबाउने अनि शरदमा फेरि फर्कने ऋतुहरूको वार्षिक चक्रको प्रतीक हो भन्‍ने अर्थ लगाएका छन्‌। अरूले भने यो सात वर्षीय चक्रले अनिकाल र खडेरीको डरलाई संकेत गर्छ भन्ठान्छन्‌। जे होस्‌, मानिसहरूका प्रयास सफल हुनको लागि बालको प्रभुत्व अत्यावश्‍यक मानिन्थ्यो। शास्त्रविद्‌ पिटर क्राइजी यस्तो टिप्पणी गर्छन्‌: “बाल धर्मको लक्ष्य आफ्नो सर्वोच्चता स्थापित गर्नु थियो; तिनका उपासकहरूको विश्‍वासअनुसार तिनी सर्वोच्च भएको बेला मात्र मानव बचाउको लागि अत्यावश्‍यक बालीनाली र बस्तुभाउ फस्टाउनेछ।”

मूर्तिपूजा विरुद्ध सुरक्षा

उत्खननबाट प्राप्त पदहरूमा स्पष्टै देखिने उगारिट धर्मको भ्रष्टता हो। दी इलस्ट्रेटेड बाइबल डिक्सनरी यस्तो टिप्पणी गर्छ: “पदहरूले यी देवहरूको उपासनाको भ्रष्ट परिणाम देखाउँछ; तिनीहरूले युद्ध, पवित्र वेश्‍यावृत्ति, कामुक प्रेम र त्यसको फलस्वरूप हुने सामाजिक पतनलाई जोड दिन्थे।” डे भो यस्तो टिप्पणी गर्छन्‌: “यी कविताहरू पढ्‌दा याहवेका साँचो उपासकहरू तथा महान्‌ अगमवक्‍ताहरूले यस उपासनालाई कस्तो घृणा गर्थे भनी बुझ्न सकिन्छ।” परमेश्‍वरले इस्राएलको पुरातन राष्ट्रलाई दिनुभएको व्यवस्था त्यस्तो झूटो धर्म विरुद्ध सुरक्षा थियो।

जोखना हेर्ने, ज्योतिषविद्या र जादु उगारिटमा व्यापक तवरमा प्रचलित थियो। आकाशीय पिण्डहरूमा मात्र नभई कुरूप भ्रूण तथा मारिएका पशुहरूको आन्द्राभुँडीमा पनि चिह्न तथा साइत खोजिन्थ्यो। “धर्मविधिअनुसार बलि चढाइएको पशु, ईश्‍वरसित एक हुन्छ अनि ईश्‍वरको आत्मा र पशुको आत्माको मिलन हुन्छ भन्‍ने विश्‍वास गरिन्थ्यो” भनी इतिहासकार जाकलिन गाशा टिप्पणी गर्छिन्‌। “फलस्वरूप, यी अंगहरूमा देखिने चिह्नहरू पढेर ईश्‍वरहरूको आत्मासम्म पुग्न सम्भव छ र तिनीहरूले भावी घटना वा कुनै खास परिस्थितिमा कस्तो कदम चाल्ने भन्‍ने प्रश्‍नको सकारात्मक वा नकारात्मक जवाफ दिन सक्षम हुन्छन्‌।” (ले पायस डुगारिट अटोर डे १२०० आभान क्रेस्ट) यसको विपरीत, इस्राएलीहरूले त्यस्ता प्रचलनहरू त्याग्नुपर्थ्यो।—व्यवस्था १८:९-१४.

मोशाको व्यवस्थाले पाशविक कार्यलाई स्पष्टसित निषेध गरेको थियो। (लेवी १८:२३) उगारिटमा यो प्रचलनप्रति कस्तो दृष्टिकोण राखिन्थ्यो? पत्ता लागेका पदहरूमा बालले बाछोसित संभोग गर्छ। पुरातत्त्वविद्‌ साइरस गर्डनले यस्तो टिप्पणी गरे: “संभोग गर्न बालले साँढेको आकार धारण गर्छ भन्‍ने तर्क गर्ने हो भने तिनको मिथ्यामा जस्तो अभिनय गर्ने पादरीहरूले त्यसै गरे भन्‍न सकिंदैन।”

इस्राएलीहरूलाई यस्तो आज्ञा दिइएको थियो: “मरेका मानिसहरूका निम्ति आफ्नो शरीरमा काटेर चोट नबनाउनू।” (लेवी १९:२८) तथापि, बालको मृत्यु हुँदा एलले “आफ्नो छाला चक्कूले काटे, छुराले घाउ बनाए; गाला र चिउँडो काटे।” बालका उपासकहरूले रीतिथितिअनुसार शरीरमा घाउ बनाउने प्रचलन थियो।—१ राजा १८:२८.

एउटा उगारिट कविताअनुसार दूधमा पाठा उमालेर पकाउनु भनेको कनानी धर्ममा उर्वरताको रीति थियो भनी संकेत गरेजस्तो देखिन्छ। तथापि, मोशाको व्यवस्थामा इस्राएलीहरूलाई यस्तो आज्ञा दिइएको थियो: “बाख्राको पाठा त्यसको माऊको दूधमा उमालेर नपकाओ।”—प्रस्थान २३:१९.

बाइबल पदहरूसित तुलना

उगारिट पदहरू सुरुमा बाइबलको हिब्रू शास्त्रको मदत लिएर अनुवाद गरिएको थियो। पिटर क्राइजी यस्तो टिप्पणी गर्छन्‌: “हिब्रू पदमा प्रयोग गरिएका थुप्रै शब्दहरूको अर्थ स्पष्ट छैन र कहिलेकाहीं अज्ञात छन्‌; २० औं शताब्दीअघिका अनुवादहरूले विभिन्‍न तरिका अपनाएर त्यसको सम्भाव्य अर्थ लगाउन खोजे। तर त्यही शब्दहरू उगारिट पदमा देखा पर्दा अर्थ बुझ्न सकिन्छ।”

उदाहरणका लागि, यशैया ३:१८ मा प्रयोग गरिएको हिब्रू शब्दलाई सामान्यतया “शिरबन्दी” भनेर अनुवाद गरिन्छ। त्यस्तै प्रकारको उगारिट शब्दले सूर्य र सूर्य-देवीलाई बुझाउँछ। यसर्थ, यशैयाको भविष्यवाणीमा उल्लिखित स्त्री, कनानी देवहरूको सम्मानमा सूर्यको सानो झुम्का र “चन्द्रहार” लगाएर सिंगारिएको हुन सक्छ।

मेसोरेट पदको हितोपदेश २६:२३ मा “जलेको ओंठ र दुष्ट हृदय[लाई]” “चाँदीको जलप” लगाइएको माटोको भाँडासित तुलना गरिएको छ। उगारिट शब्दले उक्‍त तुलनालाई “माटोको भाँडामा चमक” भनेर अनुवाद गर्न सकिन्छ। न्यु वर्ल्ड ट्रान्सलेसन यस हितोपदेशलाई यसरी सही अनुवाद गर्छ: “माटोको भाँडाको एउटा टुक्रामा लगाएको चाँदीको जलप भनेको खराब हृदयमा बलेको ओंठको जलपजस्तै हो।”

बाइबलको लेखोट बुझ्ने आधार हो?

रास शाम्रा पदहरू जाँचेपछि कोही-कोही शास्त्रविद्‌हरूले कुनै-कुनै बाइबल पद्यांशले उगारिट कवितात्मक साहित्यलाई छाँटकाँट गरेर मिलाएको छ भन्‍ने दाबी गरेका छन्‌। फ्रान्सेली इन्‌स्टिच्युटका सदस्य, आड्रा काकोले “इस्राएली धर्मको आधारमा कनानी सांस्कृतिक पक्ष पाइन्छ” भनेका छन्‌।

भजन २९ बारे रोमको पन्टिफिकल बिब्लिकल इन्‌स्टिच्युटका मिचेल डाउड यस्तो टिप्पणी गर्छन्‌: “यो भजन याहवेवादहरूले हुरीबतासको बालको नाउँमा समर्पित कनानी गीतलाई छाँटकाँट गरेका हुन्‌ . . . यो भजनको प्रायजसो सबै शब्द पुरानो कनानी पदहरूमा नक्कल गर्न सकिन्छ।” के यस्तो निष्कर्ष जायज छ? पटक्कै छैन!

मध्यमार्गी शास्त्रविद्‌हरू केही समानताहरूलाई अत्यन्तै बढाइचढाइ गरिएको छ भनी मानिलिन्छन्‌। “कुनै एउटा उगारिट पद पूर्णतया भजन २९ सित मिल्दैन” भनी धर्मविद्‌ ग्यारी ब्रान्टली भन्छन्‌। “भजन २९ (वा अरू कुनै बाइबल पद) मूर्तिपूजक मिथ्याबाट मिलाइएको हो भन्‍ने कुनै प्रमाणिक आधार छैन।”

के अलंकार, कवितात्मक समानता र ढाँचामा समानता हुनु छाँटकाँट गरिएको प्रमाण हो? यसको विपरीत, त्यस्ता समानताहरू हुने आशा गर्न सकिन्छ। दी इन्साइक्लोपीडिया अफ रिलिजन यस्तो टिप्पणी गर्छ: “यसको प्रकार र विषयवस्तुमा समानता हुनुको कारण सांस्कृतिक हो: उगारिट र इस्राएलबीच भौगोलिक र लौकिक भिन्‍नता उल्लेखनीय भए तापनि तिनीहरूको साझा कविता र धार्मिक शब्दावली भएको बृहत्‌ सामाजिक संरचना थियो।” त्यसकारण ग्यारी बेन्ट्‌ली निष्कर्षमा यसो भन्छन्‌: “भाषिक समानता हुँदैमा मूर्तिपूजक विश्‍वासहरू बाइबलको पदमा गाभियो भनेर वर्णन गर्नु उचित होइन।”

अन्तमा, रास शाम्रा पद र बाइबलबीच कुनै समानता पाइन्छ भने त्यो पूर्णतया साहित्यिक हो, आध्यात्मिक होइन भनेर बुझ्नुपर्छ। “बाइबलमा पाइने नैतिक उच्चता उगारिटमा [पाइँदैन]” भनी पुरातत्त्वविद्‌ साइरस गर्डन टिप्पणी गर्छन्‌। निस्सन्देह, समानताभन्दा भिन्‍नताहरू धेरै छन्‌।

उगारिट अध्ययनले बाइबल विद्यार्थीहरूलाई बाइबल लेखक अनि हिब्रू राष्ट्रको सांस्कृतिक, ऐतिहासिक र धार्मिक वातावरण बुझ्न मदत गर्नेछ। रास शाम्रा पदलाई अझ जाँचेर हेर्दा पुरातन हिब्रू बुझ्न पनि नयाँ ज्योति प्रदान गर्न सक्छ। तथापि, सबैभन्दा मुख्य कुरा, उगारिटमा उत्खननद्वारा भेटिएका कुराहरूले बालप्रति पतित भक्‍ति र यहोवाको शुद्ध उपासनाबीचको सुस्पष्ट भिन्‍नता प्रस्टै देखाउँछ।

[फुटनोटहरू]

a “सी पिपल्स” भनेको साधारणतया भूमध्यसागरीय टापु तथा समुद्रीतटका नाविकहरू हुन्‌। पलिश्‍तीहरू तिनीहरूमध्ये हुन सक्छन्‌।—आमोस ९:७.

b बेग्लाबेग्लै धारणाहरू भए तापनि कसै-कसैले डागनको मन्दिर, एलको मन्दिर हुनुपर्छ भनेका छन्‌। जेरूशलेम स्कूल अफ बाइबल स्टडीजका एक शास्त्रविद्‌ र प्राध्यापक, रोलाँ डे भोले डागन अर्थात्‌ न्यायकर्ता १६:२३ र १ शमूएल ५:१-५ को दागोन नै एलको सही नाउँ हो भनेका छन्‌। इन्साइक्लोपीडिया अफ रिलिजन-ले टिप्पणी गरेअनुसार सम्भवतः “कुनै-कुनै अर्थमा डागनलाई [एलसित] चिनाइएको वा सम्बन्धित बनाइएको थियो।” रास शाम्रा पदमा, बाललाई डागनको छोरा भनिएको छ तर यहाँ “छोरा” शब्दको अर्थ पक्का छैन।

[पृष्ठ २५-मा भएको ठूलो अक्षरको क्याप्सन]

उगारिटमा भेट्टिएका पुरातात्त्विक वस्तुहरूले धर्मशास्त्रबारे अझ धेरै बुझ्न मदत गरेको छ

[पृष्ठ २४, २५-मा भएको नक्सा/चित्र]

सा.यु.पू. १४ औं शताब्दीमा हित्ती साम्राज्य

भूमध्य सागर

युफ्रेटिस

माउन्ट क्यासियस (जिबेल एल-आग्रा)

उगारिट (रास शाम्रा)

टेल सुकास

ओरन्टेस

सिरिया

मिश्र

[स्रोत]

Statuette of Baal and rhyton in the shape of an animal’s head: Musée du Louvre, Paris; painting of the royal palace: © D. Héron-Hugé pour “Le Monde de la Bible”

[पृष्ठ २५-मा भएको चित्र]

दरबारको प्रवेशद्वारको भग्नावशेष

[पृष्ठ २६-मा भएको चित्र]

मिथ्यावादी उगारिट कविताले प्रस्थान २३:१९ बारे थप जानकारी दिन सक्छ

[स्रोत]

Musée du Louvre, Paris

[पृष्ठ २७-मा भएका चित्रहरू]

बाल स्मारक

सिकारको दृश्‍य भएको सुनको थाल

उर्वरता देवी चित्रण गरिएको हस्तिहाडद्वारा बनाइएको श्रृंगार बाकस

[स्रोत]

All pictures: Musée du Louvre, Paris