सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ठीकसँग सोच्नुहोस्‌ बुद्धिमानीसाथ चल्नुहोस्‌

ठीकसँग सोच्नुहोस्‌ बुद्धिमानीसाथ चल्नुहोस्‌

ठीकसँग सोच्नुहोस्‌ बुद्धिमानीसाथ चल्नुहोस्‌

यो दृश्‍य कल्पना गर्नुहोस्‌: यरूशलेमका धार्मिक शत्रुहरूले आफूलाई शासना दिनेछन्‌ र मार्नेछन्‌ भनी येशू ख्रीष्टले बताइरहनुभएको छ। उहाँका परममित्र प्रेरित पत्रुसले यो कुरा पत्याउनै सक्दैनन्‌। साँच्चै भन्‍ने हो भने, तिनले येशूलाई एकातिर लगेर हप्काउँछन्‌। पत्रुसको इमानदारी र निष्कपट चासोमा शंका गर्नुपर्ने कुनै ठाउँ छैन। तर येशूले पत्रुसको सोचाइलाई कस्तो ठान्‍नुहुन्छ? ‘ए शैतान, मेरो सामनेबाट हटिजा!’ भनी येशू भन्‍नहुन्छ। “तँ मेरो निम्ति ठेस लाग्ने कारण रहेछस्‌। किनभने तँ परमेश्‍वरका होइन, तर मानिसहरूका कुराहरूमा ध्यान दिन्छस्‌।”—मत्ती १६:२१-२३.

यो कुरा सुनेर पत्रुस कत्ति स्तब्ध भए होलान्‌! आफ्ना प्रिय गुरुलाई मदत तथा सहयोग दिनुको सट्टा तिनी यतिखेर “ठेस लाग्ने कारण” बनेका थिए। यो कसरी भयो? पत्रुस मानिसहरूको सोचाइमा हुने त्रुटि अर्थात्‌ आफूलाई पत्यार लागेको कुरामा मात्र विश्‍वास गर्ने झुकावको सिकार भएको हुनुपर्छ।

अतिविश्‍वस्त नहुनुहोस्‌

ठीकसँग सोच्ने हाम्रो क्षमताको एउटा खतरा अतिविश्‍वस्त हुने झुकाव हो। प्रेरित पावलले पुरातन कोरिन्थका सँगी मसीहीहरूलाई यस्तो चेतावनी दिए: “म खड़ा छु भन्‍ने जसले विचार गर्दछ, त्यो होशियार रहोस, नत्रता त्यो लड़छ।” (१ कोरिन्थी १०:१२) पावलले किन यसो भने? किनभने स्पष्टतः मानिसहरूको विचार विकृत हुन, अझ भनौं भने, मसीहीहरूको विचारहरूसमेत “ख्रीष्टतर्फका सीधापना र पवित्रताबाट भ्रष्ट” हुन कत्ति पनि बेर लाग्दैन भन्‍ने कुरा तिनलाई थाह थियो।—२ कोरिन्थी ११:३.

पावलका पुर्खाहरूको सम्पूर्ण पुस्तालाई नै यस्तो भएको थियो। त्यतिखेर यहोवाले तिनीहरूलाई यसो भन्‍नुभयो: “मेरा विचारहरू तिमीहरूका विचार होइनन्‌। तिमीहरूका चाल मेरा चाल होइनन्‌।” (यशैया ५५:८) तिनीहरू “आफ्नै दृष्टिमा ज्ञानी” भएका थिए, जसको परिणाम विपत्तिजनक साबित भयो। (यशैया ५:२१) त्यसोभए, हामी आफ्नो सोचाइलाई कसरी ठीक राख्न सक्छौं र त्यस्तै परिणामबाट जोगिन सक्छौं भनेर आत्म-परीक्षण गर्नु अवश्‍य व्यावहारिक छ।

शारीरिक सोचाइदेखि होसियार हुनुहोस्‌

कोरिन्थका कोही-कोही शारीरिक सोचाइबाट साह्रै प्रभावित भएका थिए। (१ कोरिन्थी ३:१-३) तिनीहरूले परमेश्‍वरको वचनलाई भन्दा मानिसहरूको दर्शनलाई बढी महत्त्व दिन्थे। त्यस समयका युनानी दार्शनिकहरू चलाख थिए भन्‍ने कुरामा कुनै शंका छैन। तथापि, परमेश्‍वरको नजरमा तिनीहरू मूर्ख थिए। पावलले यसो भने: “लेखिएको छ, ‘म ज्ञानीहरूका ज्ञान नाश पार्नेछु, औ बुद्धिमानहरूका बुद्धिलाई रद्दी तुल्याउनेछु।’ ज्ञानी खोइ त? शास्त्री कहाँ? यस युगको बहस गर्ने कहाँ? के परमेश्‍वरले यस संसारको ज्ञानलाई मूर्ख तुल्याउनुभएन?” (१ कोरिन्थी १:१९, २०) यस्ता ज्ञानी मानिसहरू परमेश्‍वरको आत्माद्वारा नभई “संसारको आत्मा[द्वारा]” नियन्त्रित भएका थिए। (१ कोरिन्थी २:१२) तिनीहरूको दर्शन तथा विचारधारा यहोवाको सोचाइसित मेल खाँदैन थियो।

यस्तो शारीरिक सोचाइको मुख्य स्रोत, शैतान अर्थात्‌ दियाबल हो, जसले हव्वालाई छक्याउन साँप चलायो। (उत्पत्ति ३:१-६; २ कोरिन्थी ११:३) के त्यो अझै पनि हाम्रो लागि खतरा हो? हो! परमेश्‍वरको वचनअनुसार, शैतानले मानिसहरूको “समझशक्‍तिलाई” यत्ति “अन्धा तुल्याइदिएको छ” कि आज त्यसले ‘सारा संसारलाई ठगिरहेको’ छ। (२ कोरिन्थी ४:४; प्रकाश १२:९) त्यसका युक्‍तिहरूबारे सजग हुनु अत्यन्तै महत्त्वपूर्ण छ!—२ कोरिन्थी २:११.

“मानिसहरूको धूर्तता[देखि]” होसियार हुनुहोस्‌

प्रेरित पावलले “मानिसहरूको धूर्तता” विरुद्ध पनि चेतावनी दिए। (एफिसी ४:१४) तिनले ‘छल काम गर्नेहरूलाई’ भेटे, जसले सत्य प्रस्तुत गर्छौं भनी टोपल्थे तर वास्तवमा तिनीहरूले सत्यलाई बंग्याउँथे। (२ कोरिन्थी ११:१२-१५) आफ्नो उद्देश्‍य पूरा गर्न यस्ता मानिसहरूले आफ्नो विचारलाई समर्थन गर्ने प्रमाणहरू प्रयोग गर्नुका साथै भावुक शब्दहरू, छक्याउने अर्ध-सत्य, छेडपेच र सरासर झूटसमेत चलाउन सक्छन्‌।

अफवाह फैलाउनेहरूले अरूलाई हानि पुऱ्‍याउन अक्सर “गुट” जस्तो शब्द चलाउँछन्‌। युरोपेली परिषद्‌को संसदीय सभालाई बुझाएको सिफारिसपत्रमा नयाँ धार्मिक समूहहरूको छानबिन गर्ने अधिकारीहरूलाई “यो शब्द नचलाउनु बुद्धिमानी हुनेछ” भन्‍ने सुझाव दिइयो। किन? किनभने “गुट” भन्‍ने शब्दले अत्यन्त नकारात्मक अर्थ दिन्छ जस्तो लाग्यो। तिनले अझै यसो भने: “आम मानिसहरूको मनमा गुट भन्‍नासाथ ज्यादै नराम्रो वा खतरनाक भन्‍ने सोचाइ आउँछ।” त्यस्तै गरी, युनानी बुद्धिजीवीहरूले प्रेरित पावललाई “बकबके” वा “बीउ टिपुवा” भन्‍ने गलत आरोप लगाए। यसो भनेर तिनीहरूले पावललाई बेकारमा फतफताइ रहने, एक दुईवटा ज्ञान बटुलेर त्यसैलाई दोहोऱ्‍याइरहने व्यक्‍ति भन्‍न खोजिरहेका थिए। वास्तवमा, पावलले “येशूको र पुनरुत्थानको सुसमाचार प्रचार” गरिरहेका थिए।—प्रेरित १७:१८.

के अफवाह फैलाउन खोज्नेहरूको तरिका सफल हुन्छ? हुन्छ। अरू राष्ट्र र धर्मप्रति मानिसहरूको अवधारणालाई बंग्याएर जातीय तथा धार्मिक घृणा उत्पन्‍न गर्न तिनीहरूले प्रमुख भूमिका खेलेका छन्‌। अलोकप्रिय अल्पसंख्यकहरूलाई पन्छाउन थुप्रैले यस्ता तरिकाहरू अपनाएका छन्‌। यहूदी तथा अन्य अल्पसंख्यकहरू “पतित,” “दुष्ट” र राज्यको निम्ति “खतरा” हुन्‌ भनी चित्रण गर्न अडोल्फ हिटलरले यस्ता तरिकाहरू प्रभावकारी ढंगमा चलाए। यस्तो किसिमको धुर्त्याइँले आफ्नो सोचाइलाई कहिल्यै विषाक्‍त पार्न नदिनुहोस्‌।—प्रेरित २८:१९-२२.

आफैलाई धोका नदिनुहोस्‌

आफैलाई धोका दिनु पनि सजिलो छ। साँच्चै भन्‍ने हो भने, आफ्नो मनले खाएको विचारधारालाई त्याग्नु वा त्यसबारे प्रश्‍न उठाउनुसमेत साह्रै गाह्रो हुन सक्छ। किन? किनभने हामी आफ्ना विचारधाराप्रति भावनात्मक तवरमा आशक्‍त हुन्छौं। त्यसैले, साँच्चै भ्रामक अनि बहकाउने कुराहरूको सफाइ दिन कुरा बनाएर अर्थात्‌ नानाभाँतीका कुराहरू गरेर हामी आफैलाई धोका दिन सक्छौं।

प्रथम शताब्दीका कोही-कोही मसीहीहरूलाई यस्तो भएको थियो। तिनीहरूलाई परमेश्‍वरको वचन थाह थियो तर तिनीहरूले यसद्वारा आफ्नो सोचाइलाई नियन्त्रित हुन दिएनन्‌। तिनीहरूले “[आफैलाई] धोका दिए।” (याकूब १:२२, २६) हाम्रो विश्‍वासबारे प्रश्‍न उठाइँदा यदि हामी रिसायौं भने, यस प्रकारको धोकाको सिकार भएछौं भन्‍ने यो एउटा संकेत हो। रिसाउनुको सट्टा, आफ्नो विचार नै सही हो भन्‍ने कुरामा कुनै सन्देह नहुँदासमेत खुला मनको हुनु र अरूले भनेको कुरा ध्यान दिएर सुन्‍नु बुद्धिमानी कुरा हो।—हितोपदेश १८:१७.

“परमेश्‍वरको ज्ञान” पाउन खन्‍नुहोस्‌

आफ्नो सोचाइलाई ठीक राख्न हामी के गर्न सक्छौं? धेरै मदत उपलब्ध छ तर यसको लागि मेहनत गर्न हामी इच्छुक हुनै पर्छ। बुद्धिमान्‌ राजा सुलेमानले यसो भने: “हे मेरो छोरो, यदि तैंले मेरा वचन हृदयमा लिइस्‌ र मेरा आज्ञा तेरो मनमा राखिस्‌ भने बुद्धिमा तेरो ध्यान र तेरो मन समझ-शक्‍तिमा लगाइस्‌ भने, तैंले विवेक माग्छस्‌ भने समझशक्‍तिलाई पुकार्‌। यदि तैंले त्यसलाई चाँदीझैं खोजिस्‌ र गाड-धनझैं त्यो खनिस्‌ भने, तैंले परमप्रभुको भय बुझ्नेछस्‌, र परमेश्‍वरको ज्ञान प्राप्त गर्नेछस्‌।” (हितोपदेश २:१-५) हो, हामीले आफ्नो मन तथा हृदयलाई परमेश्‍वरको वचनको सत्यले भर्न व्यक्‍तिगत तवरमा कोसिस गऱ्‍यौं भने, साँचो बुद्धि, अन्तरदृष्टि र समझशक्‍ति प्राप्त गर्नेछौं। साँच्चै भन्‍ने हो भने, हामीले चाँदी वा अन्य कुनै भौतिक धनसम्पत्तिभन्दा कता हो कता बहुमूल्य कुरा भेट्टाउन खनिरहेका हुनेछौं।—हितोपदेश ३:१३-१५.

ठीकसँग सोच्नको लागि बुद्धि र ज्ञान अत्यावश्‍यक पक्षहरू हुन्‌। परमेश्‍वरको वचन यसो भन्छ: “बुद्धि तेरो मनभित्र गाडिनेछ, र ज्ञान तेरो हृदयको आनन्द हुनेछ। विवेकले तँमाथि हेरचाहा गर्नेछ, समझ-शक्‍तिले तेरो रक्षा गर्नेछ। त्यसले तँलाई खराब चालबाट र छली कुरा गर्ने मानिसहरूबाट जोगाउनेछ। अन्धकारको बाटोमा हिडन जसले इमान्दारी चाललाई त्याग्दछन्‌।”—हितोपदेश २:१०-१३.

विशेष गरी तनाव वा खतराको समयमा परमेश्‍वरको विचारले हाम्रो सोचाइलाई डोऱ्‍याउन दिनु महत्त्वपूर्ण छ। रिस वा डरजस्ता आवेगले ठीकसँग सोच्न बाधा पुऱ्‍याउन सक्छ। सुलेमान यसो भन्छन्‌: “छल गर्दा बुद्धिमान मानिसको मति बिग्रन्छ।” (उपदेशक ७:७) “परमप्रभुको विरुद्धमा असन्तोष” हुने सम्भावना समेत हुन सक्छ। (हितोपदेश १९:३) कसरी? हाम्रा समस्याहरूको लागि परमेश्‍वरलाई दोष दिएर अनि उहाँका व्यवस्था तथा सिद्धान्तहरूसित मेल नखाने कुराहरू गर्न बहाना बनाउन त्यसलाई चलाएर। मलाई सधैं सबै कुरा थाह हुन्छ भन्ठान्‍नुको सट्टा धर्मशास्त्र चलाएर हामीलाई मदत गर्न खोज्ने बुद्धिमान्‌ सल्लाहकारहरूको कुरा नम्र भई सुनौं। अनि आवश्‍यक परे, मनमा जरा गाडेर बसेको विचारधारा गलत हो भन्‍ने कुरा प्रस्ट भएमा त्यसलाई त्याग्न तयार होऔं।—हितोपदेश १:१-५; १५:२२.

‘परमेश्‍वरसित मागिरहनुहोस्‌’

हामी गोलमाल र खतरनाक समयमा बाँचिरहेका छौं। सही निर्णय गर्न र बुद्धिमानीसाथ चल्न चाहन्छौं भने, यहोवाको डोऱ्‍याइको निम्ति नियमित रूपमा प्रार्थना गर्नु नितान्त जरुरी छ। पावल यस्तो लेख्छन्‌: “केही कुरामा चिन्तित नहोओ, तर सबै कुरामा धन्यवादसाथ प्रार्थना र अन्तरबिन्तीमा तिमीहरूका माग परमेश्‍वरमा जाहेर होस्‌। औ परमेश्‍वरको शान्तिले, जो सारा समझलाई माथ गर्छ, तिमीहरूका हृदय र तिमीहरूका विचारलाई येशूमा रक्षा गर्नेछ।” (फिलिप्पी ४:६, ७) जटिल समस्या वा परीक्षाहरू समाधान गर्न चाहिने बुद्धि हामीसित छैन भने, हामीले “उदारचित्तसँग नझर्कीकन दिनुहुने परमेश्‍वरसित” माग्नुपर्छ।—याकूब १:५-८.

सँगी मसीहीहरूले बुद्धिमानी व्यवहार गर्नुपर्ने खाँचो बुझेको कारण प्रेरित पत्रुसले ‘तिनीहरूका निर्मल मनलाई जागृत गराउन’ खोजे। तिनीहरूले “पवित्र अगमवक्‍ताहरूबाट अघाडिनै बोलिएका वचनहरू, र प्रभु र मुक्‍तिदाता, येशू ख्रीष्टको आज्ञालाई सम्झेको” पत्रुस चाहन्थे। (२ पत्रुस ३:१, २) यसो गर्नुका साथै आफ्नो सोचाइलाई यहोवाको वचनअनुरूप ढाल्यौं भने, हामी ठीकसँग सोच्नेछौं र बुद्धिमानीसाथ कामकुरा गर्नेछौं।

[पृष्ठ २१-मा भएका चित्रहरू]

प्रारम्भिक मसीहीहरूले दार्शनिक तर्कहरूअनुरूप नभई ईश्‍वरीय बुद्धिअनुरूप आफ्नो सोचाइ ढाल्न दिए

[स्रोत]

Philosophers left to right: Epicurus: Photograph taken by courtesy of the British Museum; Cicero: Reproduced from The Lives of the Twelve Caesars; Plato: Roma, Musei Capitolini

[पृष्ठ २३-मा भएका चित्रहरू]

प्रार्थना र परमेश्‍वरको वचनको अध्ययन नितान्त जरुरी छ