सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

हामी किन एक्लै उभिन सक्दैनौं

हामी किन एक्लै उभिन सक्दैनौं

हामी किन एक्लै उभिन सक्दैनौं

“एकभन्दा दुइ असल हो। . . . किनभने एउटा लोट्यो भने अर्कोले आफ्नो साथीलाई उठ्‌न सहायता गर्छ।”—राजा सुलेमान

पुरातन इस्राएलका राजा सुलेमानले यस्तो घोषणा गरे: “एकभन्दा दुइ असल हो। तिनीहरूले आफ्नो मेहनतको असल इनाम पाउनेछन्‌, किनभने एउटा लोट्यो भने अर्कोले आफ्नो साथीलाई उठ्‌न सहायता गर्छ, तर लोट्‌ने र कोही उठाउने साथी नहुने विचरा!” (उपदेशक ४:९, १०) मानव स्वभावबारे यी बुद्धिमान्‌ अवलोकनकर्ताले संगतिको खाँचो र आफूलाई अरूबाट नअलग्याउनुको महत्त्वलाई यसरी जोड दिए। तथापि, यो मानव धारणा मात्र थिएन। सुलेमानको कथनको आधार ईश्‍वरीय बुद्धि र प्रेरणा थियो।

आफूलाई अलग्याउनु बुद्धिमानी कुरा होइन। मानिसहरूलाई एकअर्काको साथ चाहिन्छ। हामी सबैलाई अरू मानिसहरूबाट पाइने बल र मदत चाहिन्छ। एउटा बाइबल हितोपदेशले यसो भन्छ: “अलग्गै बस्ने मानिसले सुयोग्य मानिसलाई गिल्ला गर्न सबै किसिमको बहाना गर्छ।” (हितोपदेश १८:१) त्यसकारण समाजशास्त्रीहरूले व्यक्‍तिविशेषलाई कुनै समूहको भाग हुन र अरूमा चासो लिन प्रोत्साहन दिनु कुनै छक्क लाग्दो कुरा होइन।

सामुदायिक जीवन पुनर्जागृत गर्न दिइएका सुझावहरूमध्ये प्राध्यापक रबर्ट पुटम्यान “धार्मिक विश्‍वासको प्रभावलाई बलियो बनाउने” खाँचो उल्लेख गर्छन्‌। यहोवाका साक्षीहरू यस सन्दर्भमा अलग्गै छुट्टिन्छन्‌ किनभने तिनीहरूले संसारभरि नै परिवाररूपी मण्डलीहरूमा सुरक्षाको आनन्द उठाउँछन्‌। प्रेरित पत्रुसका शब्दहरूअनुरूप तिनीहरू ‘भाइ-बन्धुहरूलाई प्रेम गर्छन्‌’ जसले ‘परमेश्‍वरलाई’ श्रद्धेय ‘डर’ देखाउँछन्‌। (१ पत्रुस २:१७) साक्षीहरू, अलग्गिने र यसका प्रतिकूल असरहरूबाट पनि टाढै बस्छन्‌ किनभने साँचो उपासनासँग सम्बन्धित थुप्रै सकारात्मक गतिविधिहरूको कारण तिनीहरू आफ्ना छिमेकीहरूलाई परमेश्‍वरको वचन, बाइबलबाट सत्य सिकाउने काममा व्यस्त रहन्छन्‌।—२ तिमोथी २:१५.

प्रेम र संगतिले तिनीहरूको जीवनमा परिवर्तन ल्यायो

यहोवाका साक्षीहरू एउटा एकताबद्ध समुदाय हो जहाँ प्रत्येक सदस्यले निर्वाह गर्नुपर्ने महत्त्वपूर्ण भूमिका हुन्छ। उदाहरणका लागि, एउटा ल्याटिन अमेरिकी परिवारका तीन जना सदस्य, मिगेल, फ्रोल्यान र आल्मा रूथलाई लिनुहोस्‌। तिनीहरूको जन्मजात हड्डी विकार भएको हुँदा बामपुड्‌के छन्‌। तिनीहरू तीनै जनालाई ह्विलचेयरको सहायता चाहिन्छ। साक्षीहरूसँगको संगतिले तिनीहरूको जीवनमा कस्तो प्रभाव पारेको छ?

मिगेल भन्छन्‌: “म एकपछि अर्को समस्याबाट गुज्रिरहेको थिएँ तर मैले यहोवाका जनहरूसँग संगत गर्न थालेदेखि मेरो जीवनमा परिवर्तन आयो। आफूलाई अरूबाट अलग्याउनु एकदमै खतरनाक कुरा हो। सँगी विश्‍वासीहरूसँग मसीही सभाहरूमा संगत गर्दा, तिनीहरूसँग हरेक हप्ता सँगै हुँदा मैले सन्तुष्टि पाउन सकें।”

आल्मा रूथ अझ यसो भन्छिन्‌: “म कहिलेकाहीं एकदमै निराश हुन्थें; असाध्यै दुःखित महसुस गर्थें। तर यहोवाबारे सिकेपछि मलाई उहाँसँग नजिकको सम्बन्ध राख्न सकिन्छ जस्तो लाग्यो। त्यही नै मेरो जीवनको सबैभन्दा बहुमूल्य कुरा भयो। मेरो परिवारले हामीलाई धेरै मदत गरेको छ र यसले हामीलाई झनै एकतामा बाँधेको छ।”

मिगेलका बुबाले तिनलाई मायालु ढंगमा लेखपढ गर्न सिकाए। त्यसपछि मिगेलले फ्रोल्यान र आल्मा रूथलाई सिकाए। यो तिनीहरूको आध्यात्मिकताको लागि अत्यावश्‍यक थियो। आल्मा रूथ भन्छिन्‌: “पढ्‌न सिकेपछि हामीलाई धेरै फाइदा भयो किनभने तब हामीले बाइबल र बाइबल आधारित प्रकाशनहरू पढेर आध्यात्मिक तवरमा पोषण प्राप्त गर्न सक्यौं।”

हाल, मिगेल मसीही प्राचीनको हैसियतमा सेवा गर्दैछन्‌। फ्रोल्यानले पूरै बाइबल नौ चोटि पढि सकिन्‌। आल्मा रूथले १९९६ देखि अग्रगामी सेवक वा पूर्ण-समय राज्य उद्‌घोषकको रूपमा सेवा गर्दै यहोवाको सेवालाई विस्तार गरेकी छिन्‌। तिनी यस्तो टिप्पणी गर्छिन्‌: “यहोवाको आशिष्‌ले मैले यो लक्ष्य हासिल गर्न सकेकी छु साथै मलाई मेरा प्यारा बहिनीहरूले पनि सघाएका छन्‌। उनीहरूले मलाई प्रचारमा जान मात्र होइन तर मैले सुरु गरेका ११ वटा बाइबल अध्ययनहरू सञ्चालन गरेर पनि मदत गरेका छन्‌।”

एमिलियाले अर्को एउटा राम्रो उदाहरण बसालेकी छिन्‌। दुर्घटनाले गर्दा तिनको खुट्टा र मेरुदण्डमा चोट पुगेको कारण तिनी ह्विलचेयरको सहायता लिन बाध्य छिन्‌। मेक्सिको सिटीका यहोवाका साक्षीहरूले तिनीसँग बाइबल अध्ययन गरे र तिनले १९९६ मा बप्तिस्मा लिइन्‌। एमिलिया भन्छिन्‌: “सत्य थाह पाउनुअघि म आफूलाई मार्न चाहन्थे; म बाँच्न चाहन्‍नथें। म एकदमै खोक्रो महसुस गर्थें र दिनरात रोइरहन्थें। तर जब मैले यहोवाका जनहरूसित संगत गर्न थालें भाइहरूको प्रेम महसुस गरें। तिनीहरूले मप्रति देखाएको व्यक्‍तिगत चासो मेरो लागि प्रोत्साहनको स्रोत भएको छ। एक जना प्राचीन मेरो लागि दाइ वा बुबाजस्तै भएका छन्‌। तिनी र कोही-कोही सेवकाई सेवकहरूले मलाई मेरो ह्विलचेयरमा सभाहरूमा तथा प्रचारकार्यमा लगिदिन्छन्‌।”

यहोवाका साक्षीको हैसियतमा १९९२ मा बप्तिस्मा लिएका होसे एक्लै बस्छन्‌। तिनी ७० वर्षका भइसके र १९९० मा अवकाश लिएका थिए। होसे निकै उदास हुन्थे तर एक जना साक्षीले तिनलाई प्रचार गरेपछि तिनी तुरुन्तै मसीही सभाहरूमा उपस्थित हुन थाले। तिनलाई आफूले देखेको र सुनेको कुरा मन पऱ्‍यो। उदाहरणका लागि, तिनले भाइहरूबीचको संगति देखे र तिनीहरूले तिनलाई एक जना व्यक्‍तिको रूपमा देखाएको चासो महसुस गरे। अहिले तिनको मण्डलीका प्राचीन तथा सेवकाई सेवकहरूले तिनको हेरविचार गर्छन्‌। (फिलिप्पी १:१; १ पत्रुस ५:२) त्यस्ता सँगी विश्‍वासीहरू तिनको लागि “सान्त्वना दिने मानिसहरू” हुन्‌। (कलस्सी ४:११) तिनीहरूले तिनलाई डाक्टरकहाँ लैजान्छन्‌, तिनको घरमा भेट्‌न आउँछन्‌ र अहिलेसम्म तिनको चारवटा शल्यक्रियामा मदत पुऱ्‍याएका छन्‌। तिनी भन्छन्‌, “तिनीहरूले मप्रति चासो देखाउँछन्‌। तिनीहरू साँच्चै मेरा परिवार हुन्‌। मलाई तिनीहरूको संगति मन पर्छ।”

दिनुमा साँचो आनन्द छ

राजा सुलेमानले “एकभन्दा दुइ असल हो” भनी बताउँदा तिनले धनसम्पत्ति आर्जन गर्न आफ्नो भएभरको शक्‍ति खर्च गर्नु कत्ति व्यर्थ हो भनी बताउँदै थिए। (उपदेशक ४:७-९) आज धेरै मानिसहरू ठीक त्यस्तै गरिरहेका छन्‌ र यसको लागि चाहे परिवारभित्र र बाहिरका मानव सन्बन्धहरूलाई त्याग्नु नै किन नपरोस्‌।

त्यस्तो लोभी र स्वार्थी मनोभावको कारण थुप्रैले आफूलाई अरूबाट अलग्याएका छन्‌। यसले तिनीहरूको जीवनमा नता सुख न सन्तुष्टि नै ल्याएको छ किनभने यस्तो मनोभावको वशमा पर्ने मानिसहरूमा दिक्दारी र आशाविहीनता सामान्य छ। यसको विपरीत, माथि उल्लेख गरिएका अनुभवहरूले यहोवालाई सेवा गर्नेहरू र उहाँ र छिमेकीप्रतिको प्रेमले उत्प्रेरित भएकाहरूसँग संगत गर्दा पर्ने असल प्रभाव देखाउँछ। अलग्गिनुसँग सम्बन्धित नकारात्मक भावनाहरूमाथि विजय हासिल गर्न त्यस्ता व्यक्‍तिहरूलाई मदत गर्न मसीही सभाहरूमा नियमित उपस्थिति, सँगी मसीहीहरूको समर्थन र चासो अनि सेवकाईमा जोसिलो सहभागिता महत्त्वपूर्ण पक्षहरू थिए।—हितोपदेश १७:१७, NW; हिब्रू १०:२४, २५.

हामी एकअर्कामा निर्भर हुने हुँदा अरूको लागि कामकुरा गर्दा सन्तुष्टि महसुस हुनु स्वाभाविक हो। अल्बर्ट आइनस्टाइन जसको कामबाट अरूले लाभ उठाए, तिनले यसो भने: “मानिसको मोल . . . तिनले प्राप्त गर्न सकेको कुरामा नभई तिनले के दिन सक्छन्‌, त्यसको आधारमा हेर्नुपर्छ।” यो कुरा हाम्रा प्रभु येशू ख्रीष्टका शब्दहरूसित मेल खान्छ: “लिनुभन्दा दिनु अझ असल हो।” (प्रेरित २०:३५) अतः माया पाउनु असल कुरा हो, तर अरूप्रति प्रेम देखाउनु पनि एकदमै स्वास्थ्यबर्धक कुरा हो।

आध्यात्मिक मदत दिन मण्डलीहरूको भ्रमण गर्न र सीमित आयस्रोत भएका मसीहीहरूको लागि सभा गर्ने ठाउँ निर्माण गर्न वर्षौंदेखि मदत गर्दै आएका एक जना परिभ्रमण निरीक्षकले आफ्ना भावनाहरू यसरी व्यक्‍त गरे: “आफ्ना भाइहरूको सेवा गर्दाको आनन्द र तिनीहरूको अनुहार मूल्यांकनले भरिएको देख्दा म अरूलाई मदत गर्ने सुअवसर खोजिरहन उत्प्रेरित हुन्छु। अरूप्रति व्यक्‍तिगत चासो देखाउनु आनन्दको मुख्य आधार हो भनेर आफ्नै अनुभवबाट थाह पाएको छु। अनि प्राचीनहरूको हैसियतमा हामी ‘बतासबाट लुक्ने ठाउँ, र आँधी . . . , सुखा ठाउँमा पानी भएको खोला, र बिरानो भूमिमा ठूलो चटानको छायाजस्तै’ हुनुपर्छ भनेर मलाई थाह छ।—यशैया ३२:२.

आपसमा एकतामा बस्नु कत्ति मनोहर कुरा हो!

निश्‍चय पनि, अरूलाई मदत गर्नु र यहोवाको सेवा गर्नेहरूसँग संगति खोज्नुमा ठूलो लाभ र साँचो आनन्द छ। भजनहारले यस्तो उद्‌गार व्यक्‍त गरे, “समाजका दाज्यू-भाइहरू आपसमा एकतामा भएर बस्नु। कत्ति असल र मनोहर कुरा हुन्छ!” (भजन १३३:१) मिगेल, फ्रोल्यान र आल्मा रूथको अनुभवले देखाएझैं एकअर्कालाई समर्थन गर्नुमा पारिवारिक एकता महत्त्वपूर्ण पक्ष हो। अनि साँचो उपासनामा एकअर्कासित एकतामा बाँधिनु कस्तो आशिष्‌को कुरा हो! मसीही पति तथा पत्नीहरूलाई सल्लाह दिएपछि प्रेरित पत्रुसले यस्तो लेखे: “अन्त्यमा, तिमीहरू सबै एक मनका, सहानुभूति देखाउने, भातृ-प्रेम गर्ने, कोमल हृदयका, नम्र मनका” होओ।—१ पत्रुस ३:८.

साँचो मित्रताले भावनात्मक र आध्यात्मिक दुवै तवरमा ठूला लाभहरू ल्याउँछ। विश्‍वासमा भएका सँगीहरूलाई सम्बोधन गर्दै पावलले यस्तो सल्लाह दिए: “हरेस खानेलाई दिलाशा देओ, कमजोरीहरूलाई मदत गर, सबैसँग सहनशीलता देखाओ। . . . सधैं एउटाले अर्कोसँग र सबैसँग भलाइ गर्ने चेष्टा गर।”—१ थिस्सलोनिकी ५:१४, १५.

अतः अरूलाई असल काम गर्ने व्यावहारिक तरिकाहरू खोज्नुहोस्‌। “सबै मानिसतर्फ, खास गरेर [तपाईंका] विश्‍वासका घरानातर्फ, भलाइको काम गरौं” किनभने यसले तपाईंको जीवनलाई साँचो अर्थ दिनेछ र तपाईंको सन्तुष्टिमा योगदान पुऱ्‍याउनेछ। (गलाती ६:९, १०) येशूका चेला याकूबले यस्तो लेखे: “यदि कोही भाइ या बहिनी झुत्रे-झाम्रे छ, र त्यसलाई दिनहुँको खानालाई अपुग छ र तिमीहरूमध्ये कसैले तिनीहरूलाई ‘शान्तिसँग जाओ, तातो भएर पेटभरि खाओ’ भनेर मात्र भन्दछ, तर त्यसको शरीरलाई चाहिने कुराहरू चाहिं तिमीहरू दिंदैनौ भने यसबाट के लाभ छ?” (याकूब २:१५, १६) यस प्रश्‍नको जवाफ स्पष्ट छ। हामीले ‘आफ्नै कुरामा मात्र होइन, तर हरेकले अरूहरूका कुरामा पनि ध्यान दिनुपर्छ।’—फिलिप्पी २:४.

विशेष खाँचो पर्दा वा कुनै विपत्ति आइपर्दा अरूलाई भौतिक तवरमा मदत गर्नुको अलावा यहोवाका साक्षीहरू सँगी मानवहरूलाई अर्को अत्यन्तै महत्त्वपूर्ण तरिकामा मदत गर्न व्यस्त छन्‌। त्यो हो, परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गरेर। (मत्ती २४:१४) यस आशा र सान्त्वनाको सन्देश उद्‌घोषणा गर्ने कार्यमा ६०,००,००० भन्दा बढी साक्षीहरूको सहभागिताले अरूप्रति तिनीहरूको साँचो र मायालु चासोको प्रमाण दिन्छ। तर पवित्र धर्मशास्त्रबाट मदत दिंदा अर्को मानव आवश्‍यकता पूरा गर्न पनि मदत गर्छ। त्यो के हो?

अत्यावश्‍यक खाँचो पूरा गर्दै

साँचो आनन्दको अनुभव गर्न हामीले परमेश्‍वरसँग उचित सम्बन्ध कायम गर्नुपर्छ। यसो भनिएको छ: “सबैतिरका मानिसहरूले सुरुदेखि अहिलेसम्म आफूभन्दा उच्च र शक्‍तिशाली ठानिएको कसैलाई पुकार्ने आवश्‍यकता महसुस गरेको कुराले नै धर्म अन्तरनिहित कुरा हो र यसलाई वैज्ञानिक दृष्टिकोणबाट पनि स्वीकार्नुपर्छ भनी देखाउँछ। . . . एक जना सर्वोच्च भेट्टाउन एउटा पूरा विश्‍व नै एक भएको देख्दा हामी आश्‍चर्यचकित र श्रद्धाले भरिनुपर्छ।”—ए. क्रेसी मोरिसनद्वारा लिखित म्यान डज नट स्ट्याण्ड अलोन।

येशू ख्रीष्टले यस्तो घोषणा गर्नुभयो: “धन्य आत्मामा दरिद्र हुनेहरू।” (मत्ती ५:३) लामो समयसम्म मानिसहरू अरूबाट अलग बस्नुपर्दा उसको अवस्था राम्रो हुँदैन। तथापि, सृष्टिकर्ताबाट आफूलाई अलग गर्नु झनै गम्भीर कुरा हो। (प्रकाश ४:११) “परमेश्‍वरको ज्ञान” प्राप्त गरेर जीवनमा उतार्नु हाम्रो जीवनको एउटा महत्त्वपूर्ण भाग हुनुपर्छ। (हितोपदेश २:१-५) निस्सन्देह, हामी आफ्नो आध्यात्मिक आवश्‍यकता पूरा गर्न कटिबद्ध हुनुपर्छ किनभने हामी परमेश्‍वरबाट अलग भएर एक्लै उभिन सक्दैनौं। आनन्दमय र साँच्चै इनामदायी जीवन “सारा पृथ्वीमा सर्वोच्च” हुनुहुने यहोवासँगको असल सम्बन्धमा निर्भर छ।—भजन ८३:१८.

[पृष्ठ ५-मा भएको चित्र]

मिगेल: “म एकपछि अर्को समस्याहरूबाट गुज्रिरहेको थिएँ तर मैले यहोवाका जनहरूसँग संगत गर्न थालेदेखि मेरो जीवनमा परिवर्तन आयो”

[पृष्ठ ५-मा भएको चित्र]

आल्मा रूथ: “यहोवाबारे सिकेपछि मलाई उहाँसँग नजिकको सम्बन्ध राख्न सकिन्छ जस्तो लाग्यो”

[पृष्ठ ६-मा भएको चित्र]

एमलिया: “सत्य थाह पाउनुअघि. . . म एकदमै खोक्रो महसुस गर्थें”

[पृष्ठ ७-मा भएको चित्र]

साँचो उपासकहरूसित संगत गर्दा हाम्रो आध्यात्मिक आवश्‍यकता पूरा गर्न मदत मिल्छ