सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

गरिबी स्थायी समाधान पत्ता लगाउने

गरिबी स्थायी समाधान पत्ता लगाउने

गरिबी स्थायी समाधान पत्ता लगाउने

गरिबीबारे संसारभरिबाटै नकारात्मक रिपोर्टहरूको बावजुद कोही-कोही मानिसहरू केही ठोस कार्य गर्न सकिन्छ भनी आशावादी छन्‌। उदाहरणका लागि, मनिला बुलेटिन-को शीर्षसमाचारअनुसार “एसियाले २५ वर्षमा गरिबी निर्मूल गर्न सक्छ” भनी एसियाली विकास बैंक रिपोर्ट गर्छ। बैंकले मानिसहरूलाई गरिबीको दलदलबाट उकास्न आर्थिक वृद्धि गर्नुपर्ने सुझाव दियो।

अन्य संगठन तथा सरकारहरूले समस्या समाधान गर्न सुझाव तथा योजनाहरूको लामो सूची तयार पारेका छन्‌। तिनीहरूमध्ये केही यसप्रकार छन्‌: सामाजिक बिमा कार्यक्रम, उन्‍नत शिक्षा, औद्योगिक राष्ट्रहरूलाई विकासोन्मुख राष्ट्रहरूले तिर्नुपर्ने ऋण मिनाहा गर्ने, गरिबहरूको प्रतिशत धेरै भएका राष्ट्रहरूलाई आफ्नो उत्पादन बिक्री गर्न सजिलो बनाउनको लागि आयात बन्देजहरू हटाउने र गरिबहरूको लागि न्यून आय आवासको प्रबन्ध गर्ने।

सन्‌ २००० मा संयुक्‍त राष्ट्रसंघको साधारण सभाले २०१५ सम्ममा हासिल गर्ने लक्ष्यहरू तय गऱ्‍यो। यसमा अचाक्ली गरिबी र भोक निर्मूल गर्नुका साथसाथै देशभित्रै विद्यमान आयमा भएको असमानता हटाउने कार्यक्रमहरू समावेश थिए। ती लक्ष्यहरू जत्ति नै महान्‌ भए तापनि यस विभाजित संसारमा प्राप्त गर्न सकिएला र, भन्‍ने कुरामा थुप्रैले शंका व्यक्‍त गर्छन्‌।

गरिबीसित सामना गर्ने व्यावहारिक कदमहरू

विश्‍वव्यापी तवरमा साँचो उन्‍नति गर्ने आशा एकदमै झीनो भएको हुँदा मानिसहरू मदतको लागि कहाँ जान सक्छन्‌? सुरुमा पनि उल्लेख गरेझैं व्यावहारिक बुद्धिको एउटा स्रोत छ जसले अहिल्यै मानिसहरूलाई मदत गर्न सक्छ। त्यो के हो? त्यो परमेश्‍वरको वचन, बाइबल हो।

जानकारीका अन्य स्रोतहरूभन्दा बाइबल भिन्‍न हुनुको कारण के हो? यसको स्रोत सर्वोच्च अख्तियार, हाम्रो सृष्टिकर्ता हुनुहुन्छ। उहाँले यसका पानाहरू बुद्धि र व्यावहारिक सिद्धान्तहरूका रत्नहरूले भरिदिनुभएको छ जुन सबै मानिसलाई, सबै ठाउँमा र सबै समयमा लागू हुन्छ। यी सिद्धान्तहरू पालन गरेको खण्डमा गरिबहरूले अहिले पनि अझ सन्तोषजनक जीवन बिताउन मदत पाउनेछन्‌। आउनुहोस्‌ हामी केही उदाहरणहरू हेरौं।

पैसाप्रति सही दृष्टिकोण राख्नुहोस्‌। बाइबल यसो भन्छ: “रूपियाँ-पैसाभन्दा बरू बुद्धि प्राप्त गर। बुद्धिलाई चिन्‍नेले त्यसबाट जीवन पाउँछ, र त्यो त्यसको निम्ति लाभदायक हुन्छ।” (उपदेशक ७:१२) यहाँ भन्‍न खोजिएको कुरा के हो? पैसा नै सबै कुरा होइन। हो, यसले केही हदसम्म सुरक्षा प्रदान गर्छ। पैसा भयो भने हामीले आफूलाई आवश्‍यक केही कुराहरू किन्‍न सक्छौं तर यसको सीमा छ। पैसाले किन्‍न नसक्ने अत्यन्तै मूल्यवान्‌ कुराहरू पनि छन्‌। यस तथ्यलाई स्वीकार्दा पैसाप्रति सही दृष्टिकोण राख्न हामीलाई मदत गर्नेछ अनि पैसा जम्मा गर्नुमै आफ्नो तनमन लगाउने मानिसहरूले भोग्ने निराशाहरूबाट बच्नेछौं। पैसाले जीवन किन्‍न सक्दैन तर बुद्धिमानीसाथ चल्दा अहिले जीवनमा सुरक्षा प्रदान गर्न सक्छ र अनन्त जीवनको आशाको ढोकासमेत खोल्न सक्छ।

आफ्नो आर्थिक सीमाभित्र जिउनुहोस्‌। हाम्रा चाहना र हाम्रा आवश्‍यकताहरू सधैं एउटै नहुन सक्छ। हामीले आफ्ना आवश्‍यकताहरूलाई प्राथमिकता दिनुपर्छ। हामीले सजिलै आफूलाई केही कुरा चाहिन्छ भनेर विश्‍वस्त गराउन सक्छौं तर वास्तवमा यो आवश्‍यकता नभई चाहना हुन सक्छ। बुद्धिमान्‌ व्यक्‍तिले आफ्नो कमाइबाट केही भाग पहिला नितान्त आवश्‍यक कुराहरू—खाना, कपडा, बास, इत्यादिको लागि छुट्याउँछ। अनि अरू केहीमा खर्च गर्नुअघि उसले आफ्नो बाँकी पैसा थप केही कुराहरूको लागि पुग्छ कि पुग्दैन पक्का गर्नेछ। येशूले आफ्नो एउटा दृष्टान्तमा “खर्च आफूसँग छ कि छैन भनी पहिले बसेर हिसाब” गर्ने सुझाव दिनुभयो।—लूका १४:२८.

फिलिपिन्समा युफ्रोसिना नाउँ गरेकी एकल आमाले आफ्ना तीन जना छोराछोरी पाल्न कठिनाइ सामना गर्नुका साथै तिनका पतिले केही वर्षअघि तिनलाई छोडेदेखि सीमित पैसामा घर चलाइरहेकी छिन्‌। यसै क्रममा तिनले आफ्ना छोराछोरीलाई पनि परिवारको खर्चमा प्राथमिकता कुन हो बुझ्न प्रशिक्षण दिएकी छिन्‌। उदाहरणका लागि, छोराछोरीले आफूलाई मन परेको केही कुरा देख्लान्‌। उनीहरूलाई हुँदैन मात्र भन्‍नुको सट्टा तिनले उनीहरूसँग यसो भन्दै तर्क गर्छिन्‌: “तिमीलाई त्यो सामान मन लाग्छ भने किन्‍न सक्छौ तर तिमी आफैले निर्णय गर्नुपर्नेछ। हामीसँग एउटा कुराको लागि मात्र पैसा छ। हामी तिमीलाई मन परेको यो सामान किन्‍न सक्छौं वा यस हप्ता भातसँगै खान अलिकति मासु वा तरकारी किन्‍न सक्छौं। अब भन तिमी के चाहन्छौ? तिमी आफै निर्णय गर।” अक्सर बच्चाहरूले चाँडै कुरा बुझ्छन्‌ र अरू केही सामानभन्दा खानामै खर्च गर्न सहमत हुन्छन्‌।

सन्तुष्ट हुनुहोस्‌। अर्को बाइबल सिद्धान्तले यसो भन्छ, “खान र लाउन भएपछि हामी त्यसमा सन्तुष्ट हुनेछौं।” (१ तिमोथी ६:८) पैसा आफैले सुख दिंदैन। थुप्रै धनीहरू खुसी छैनन्‌ भने थुप्रै गरिबहरू एकदमै खुसी छन्‌। यी गरिबहरूले जीवनका आधारभूत आवश्‍यकताहरूमै सन्तुष्ट हुन सिकेका छन्‌। येशूले अझ महत्त्वपूर्ण कुराहरूमा केन्द्रित भएको ‘निर्मल आँखाबारे’ कुरा गर्नुभयो। (मत्ती ६:२२) यसले मानिसलाई सन्तुष्ट रहन मदत गर्छ। थुप्रै गरिब व्यक्‍तिहरू निकै सन्तुष्ट महसुस गर्छन्‌ किनभने तिनीहरूले परमेश्‍वरसँग राम्रो सम्बन्ध विकास गरेका छन्‌ र तिनीहरूको सुखी परिवार छ र यी कुरा पैसाले किन्‍न सक्दैन।

गरिबहरूलाई आफ्नो परिस्थितिसित सामना गर्न मदत गर्ने बाइबलमा पाइने व्यावहारिक सुझावहरूका यी केही उदाहरण मात्र हुन्‌। अरू थुप्रै छन्‌। उदाहरणका लागि, धूम्रपान र जूवाजस्ता अनावश्‍यक खर्च हुने खराब बानीहरू त्याग्नुहोस्‌; जीवनमा अझ महत्त्वपूर्ण कुराहरू निर्क्योल गर्नुहोस्‌, विशेष गरी आध्यात्मिक लक्ष्यहरू; जागिर सजिलै नपाइने ठाउँहरूमा अरूलाई आवश्‍यक पर्ने सेवा वा सीप सिक्ने कोसिस गर्नुहोस्‌। (हितोपदेश २२:२९; २३:२१; फिलिप्पी १:९-११) बाइबलले त्यस्तो “योग्यता र विवेक” प्रयोग गर्ने सुझाव दिन्छ किनभने ‘ती तपाईंको आत्माको प्राणझैं हुनेछन्‌।’—हितोपदेश ३:२१, २२.

बाइबलले अहिले गरिबीसँग संघर्ष गरिरहेकाहरूलाई मदतकारी राहतस्वरूप केही सुझावहरू दिए तापनि भविष्यबारे प्रश्‍न त अझै बाँकी छ। के गरिबहरू सधैं गरिबीकै चपेटामा बाँचिरहनुपर्छ? के असाध्यै धनी र असाध्यै गरिबबीचको असमानता कहिल्यै हट्‌नेछ? आउनुहोस्‌, हामी थुप्रैलाई थाह नभएको एउटा समाधानबारे केलाऔं।

बाइबलले आशा गर्ने कारण दिन्छ

थुप्रैले बाइबल एउटा राम्रो पुस्तक हो भनेर मानिलिन्छन्‌। तथापि, थुप्रैलाई यसले चाँडै आउन लागेको ठूलो परिवर्तनबारे खास जानकारी दिन्छ भनेर थाह छैन।

परमेश्‍वरले गरिबीलगायत मानिसजातिका समस्याहरू हटाउने कदम चाल्ने योजना बनाउनुभएको छ। मानव सरकारहरू यसो गर्न असक्षम वा अनिच्छुक साबित भएको हुँदा परमेश्‍वरले तिनीहरूलाई हटाउने विचार गर्नुभएको छ। कसरी? बाइबलको दानियल २:४४ मा सुस्पष्ट ढंगमा यसो भनिएको छ: “स्वर्गका परमेश्‍वरले एउटा राज्य खड़ा गर्नुहुनेछ जो कहिल्यै नाश हुनेछैन, नता त्यसको राज्य अरू कुनै जातिको हातमा दिइनेछ। त्यसले यी सबै राज्यहरूलाई चक्नाचूर पार्नेछ, र तिनीहरूको अन्त गरिदिनेछ। तर यो राज्य चाहिं सदा सर्वदै रहिरहनेछ।”

यी “राज्यहरू” वा सरकारहरूलाई हटाएपछि परमेश्‍वरको आफ्नै नियुक्‍त शासकले कदम चाल्नुहुनेछ। त्यो शासक कुनै मानव होइन तर परमेश्‍वरजस्तै शक्‍तिशाली स्वर्गीय व्यक्‍ति हुनुहुन्छ जससँग वर्तमान असमानताहरू हटाउनको लागि आवश्‍यक आमूल परिवर्तनहरू गर्ने योग्यता छ। यसो गर्न परमेश्‍वरले आफ्नै पुत्रलाई नियुक्‍त गर्नुभएको छ। (प्रेरित १७:३१) यस शासकले के गर्नेछ भनी भजन ७२:१२-१४ मा यसरी व्याख्या गरिएको छ: “दरिद्रहरूको पुकारा सुनेर उसले छुटकारा दिनेछ। र सहायता नभएका दुःखीहरूलाई उसले छुटकारा दिनेछ। कमजोर र दरिद्रलाई उसले टिठाउनेछ, र दरिद्रहरूको प्राण उसले बचाउनेछ। अत्याचार र थिचोमिचोबाट उसले तिनीहरूको प्राण मोल तिरेर छुटाउनेछ। र उसको दृष्टिमा तिनीहरूको रगत बहुमूल्य हुनेछ।” कस्तो अद्‌भुत प्रत्याशा! बल्ल उद्धार पाइनेछ! परमेश्‍वरको नियुक्‍त शासकले गरिब र दबिएकाहरूको खातिर कदम चाल्नुहुनेछ।

गरिबीसँग जोडिएका थुप्रै समस्याहरू त्यतिबेला समाधान हुनेछन्‌। भजन ७२ को पद १६ यसो भन्छ: “पृथ्वीमा पहाडका टाकुराहरूमा प्रशस्तगरी अन्‍न हुनेछ।” अनिकाल, पैसाको अभाव वा त्रुटिपूर्ण प्रशासनको कारण खानाको अभाव हुनेछैन।

अरू समस्याहरू पनि समाधान हुनेछन्‌। उदाहरणका लागि, पृथ्वीका बासिन्दाहरूमध्ये थुप्रैको आफ्नो घर पनि छैन। तथापि, परमेश्‍वर यस्तो प्रतिज्ञा गर्नुहुन्छ: “तिनीहरूले घर बनाएर तिनमा बास गर्नेछन्‌, र तिनीहरूले दाखबारी लगाएर तिनका फल खानेछन्‌। तिनीहरूले बनाएर अरूहरू बस्ने, र तिनीहरूले रोपेर अरूहरूले खाने चाहिं हुनेछैन, किनकि जस्तो रूखको आयु हुन्छ, त्यस्तै मेरो प्रजाको आयु हुनेछ, र छानिएकाहरूले आफ्ना हातले गरेका काम धेरै दिनसम्मै भोग गर्नेछन्‌।” (यशैया ६५:२१, २२) सबैको आफ्नै घर र काम हुनेछ। त्यसकारण परमेश्‍वरले गरिबीको पूर्ण र स्थायी समाधान गर्ने प्रतिज्ञा गर्नुभएको छ। गरिब र धनीबीच ठूलो भिन्‍नता हुनेछैन नता मानिसहरूले जसोतसो जीवन धान्‍नुपर्नेछ।

यी बाइबल प्रतिज्ञाहरू पहिलो पटक सुन्दा व्यावहारिक नभएजस्तो लाग्न सक्छ। तथापि, बाइबललाई राम्रोसँग नियाल्दा परमेश्‍वरले विगतमा गर्नुभएका सबै प्रतिज्ञाहरू पूरा भएका छन्‌। (यशैया ५५:११) त्यसैले यो यदि हुनेछ भन्‍ने कुरा होइन। बरु, वास्तवमा प्रश्‍न हो, यो साँच्चै हुँदा यसबाट लाभ उठाउन तपाईंले के गर्नैपर्छ?

के तपाईं त्यहाँ हुनुहुनेछ?

यो सरकार परमेश्‍वरको हुने भएकोले हामी परमेश्‍वरले आफ्नो शासनअन्तर्गत स्वीकार्नुहुने खालका नागरिकहरू हुनुपर्छ। यसको लागि कसरी योग्य हुने भनेर उहाँले हामीलाई अन्धकारमा छोड्‌नुभएको छैन। यससम्बन्धी निर्देशनहरू बाइबलमा औंल्याइएको छ।

नियुक्‍त शासक अर्थात्‌ परमेश्‍वरका पुत्र धर्मी हुनुहुन्छ। (यशैया ११:३-५) अतः यस शासनअन्तर्गत जीवन बिताउन स्वीकृत व्यक्‍तिहरू पनि धर्मी भएको आशा गरिनेछ। हितोपदेश २:२१, २२ यसो भन्छ: “सोझाहरू पृथ्वीमा बास गर्नेछन्‌। र निर्दोष मानिसहरू त्यहाँ रहनेछन्‌। तर दुष्टहरू त्यहाँबाट जरैसमेत उखेलिनेछन्‌, र विश्‍वासघातीहरू झारझैं फ्याँकिनेछन्‌।”

के यी आवश्‍यकताहरू पूरा गर्ने सन्दर्भमा सिक्न सकिने केही तरिकाहरू छन्‌? अवश्‍य छन्‌। बाइबल अध्ययन गरेर र यसका निर्देशनहरू लागू गरेर तपाईंले यो अद्‌भुत भविष्यको आनन्द उठाउन सक्नुहुनेछ। (यूहन्‍ना १७:३) यहोवाका साक्षीहरू तपाईंलाई यो अध्ययन गर्ने मदत दिन खुसी हुनेछन्‌। हामी तपाईंलाई कहिल्यै गरिबी र अन्याय अनुभव गर्नु नपर्ने समाजको भाग हुने यस सुअवसरको फाइदा उठाउन निमन्त्रणा दिन्छौं।

[पृष्ठ ५-मा भएको चित्र]

युफ्रोसिना: “घर खर्चको राम्ररी हिसाब गर्दा मेरो परिवारको आवश्‍यकता पूरा गर्न मदत मिल्छ”

[पृष्ठ ६-मा भएका चित्रहरू]

परमेश्‍वरसँगको राम्रो सम्बन्ध र सुखी पारिवारिक जीवन पैसाले किन्‍न सकिंदैन