सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

धन्य हो त्यो मानिस जसका परमेश्‍वर यहोवा हुनुहुन्छ

धन्य हो त्यो मानिस जसका परमेश्‍वर यहोवा हुनुहुन्छ

जीवनी

धन्य हो त्यो मानिस जसका परमेश्‍वर यहोवा हुनुहुन्छ

टम डिडुरको वृत्तान्तमा आधारित

सामुदायिक भवन भाडामा लिइसकिएको थियो। क्यानाडाको सास्काचेवानको पोर्क्युपाइन प्लेनमा हुने सम्मेलनमा झन्डै ३०० जना उपस्थित हुने अनुमान गरिएको थियो। बुधबारको दिन हिउँ पर्न थाल्यो अनि शुक्रबारसम्ममा घाँसे मैदानमा केही पनि नदेखिने गरी हिमपात भयो। तापक्रम घटेर माइनस ४० डिग्री सेल्सियस पुग्यो। केही केटाकेटीहरू गरी जम्मा २८ जना उपस्थित भए। नयाँ क्षेत्रीय निरीक्षक त्यसमाथि पनि मात्र २५ वर्ष पुगेको हुनाले म निकै हडबडाएको थिएँ। त्यहाँ के भयो भन्‍नुअघि मैले सेवाको यस्तो विशेष सुअवसरको आनन्द कसरी उठाउन सकें भनी तपाईंहरूलाई बताउन चाहन्छु।

आठ भाइमध्ये म सातौं हुँ। सबैभन्दा जेठा बील थिए, त्यसपछि मेट्रो, जोन, फ्रेड, माइक र एलेक्स। मेरो जन्म १९२५ मा भयो र सबैभन्दा कान्छोचाहिं वाली हो। हामी मनिटोबाको युक्रेना नजिकैको एउटा शहरमा बस्थ्यौं, जहाँ हाम्रा आमाबाबु, माइकल अनि अन्‍ना डिडुरको एउटा सानो फार्म थियो। बाबा रेलवेमा सेक्सन म्यानको रूपमा काम गर्नुहुन्थ्यो। शहरभन्दा टाढा रहेको रेलमार्ग नजिकैको छाप्रो हाम्रो परिवारको लागि त्यति उपयुक्‍त नभएकोले हामी त्यही फार्ममै बस्यौं। बाबा अधिकांश समय घरमा नहुने हुँदा आमाले हाम्रो लालनपालन गर्न जागिर खानुभएको थियो। समय-समयमा उहाँ एक हप्ता वा त्योभन्दा बढी समयको लागि बाबाकहाँ जानुहुन्थ्यो तर उहाँले हामीलाई खाना पकाउन, रोटी केक बनाउन र घरायसी कामकाज गर्न राम्ररी सिकाउनुभएको थियो। अनि हामी ग्रीक क्याथोलिक चर्चका सदस्यहरू भएको हुँदा आमाले सानैदेखि सिकाउनुभएका कुराहरूमध्ये प्रार्थना कण्ठस्थ गर्नु र अन्य रीतिथितिहरूमा भाग लिनु पनि समावेश थियो।

बाइबल सत्यसित सम्पर्क

मैले सानैदेखि बाइबलको कुरा बुझ्ने तिर्सना गरेको थिएँ। एक जना छिमेकी, जो यहोवाका साक्षी हुन्‌, हाम्रो परिवारमा नियमित तवरमा आएर परमेश्‍वरको राज्य, आरमागेडोन र नयाँ संसारका आशिष्‌हरूबारे लेखिएका बाइबलका केही भागहरू पढ्‌ने गर्थे। तिनले भनेको कुरामा आमालाई कत्ति पनि चासो थिएन तर त्यो सन्देश माइक र एलेक्सलाई भने मन पऱ्‍यो। साँच्चै भन्‍ने हो भने, उहाँहरू आफूले सिक्नुभएका कुराले गर्दा नै दोस्रो विश्‍वयुद्धको दौडान आफ्नो अन्तस्करणका कारण सैन्य सेवामा भाग नलिन उत्प्रेरित हुनुभयो। त्यसले गर्दा माइकलाई केही समयको लागि जेल सजाय सुनाइयो भने एलेक्सलाई चाहिं ओन्टारियोको श्रम शिविरमा पठाइयो। पछि, फ्रेड र वालीले पनि सच्चाइ स्वीकारे। तथापि, मेरा अरू तीन जना दाइहरूले भने सच्चाइ स्वीकार्नुभएन। आमाले पनि धेरै वर्षसम्म त सच्चाइको विरोध गर्नुभयो तर पछि यहोवाको लागि दृढ अडान लिनुभएर हामी सबैलाई छक्क पार्नुभयो। उहाँले ८३ वर्षको उमेरमा बप्तिस्मा लिनुभयो। आमाको मृत्यु हुँदा उहाँ ९६ वर्षको हुनुहुन्थ्यो। बाबाले पनि मृत्युअघि सच्चाइप्रति सकारात्मक दृष्टिकोण राख्नुभयो।

सत्र वर्षको हुँदा म काम खोज्न र मलाई बाइबल अध्ययन गर्न मदत गर्न सक्नेहरूसित संगत गर्न विनिपेग गएँ। त्यसबेला यहोवाका साक्षीहरूको कार्यमाथि प्रतिबन्ध थियो तर सभाहरू भने नियमित तवरमा सञ्चालन हुन्थ्यो। म उपस्थित भएको सबैभन्दा पहिलो सभा एउटा निजी घरमा भएको थियो। ग्रीक क्याथोलिक धर्ममा हुर्केको हुनाले मैले सुरुसुरुमा सुनेका कुराहरू एकदम अनौठो लाग्यो। यद्यपि, बिस्तारै-बिस्तारै पादरी र सर्वसाधारणसम्बन्धी वर्गभेदको प्रबन्ध किन गैरशास्त्रीय रहेछ अनि पादरीहरूले युद्धसम्बन्धी प्रयासहरूलाई आशिष्‌ दिंदा परमेश्‍वरले किन त्यसको अनुमोदन गर्नुहुन्‍न भन्‍ने कुरा मैले बुझें। (यशैया २:४; मत्ती २३:८-१०; रोमी १२:१७, १८) धेरै टाढाको अनन्त वासस्थानमा जानुभन्दा त पार्थिव प्रमोदवनमा जीवन बिताउनु नै व्यावहारिक र तर्कसंगत लाग्यो।

यो नै सत्य थियो भनी विश्‍वस्त भएपछि मैले आफूलाई यहोवामा समर्पण गरेर १९४२ मा विनिपेगमा बप्तिस्मा लिएँ। सन्‌ १९४३ सम्ममा क्यानाडामा यहोवाका साक्षीहरू माथिको प्रतिबन्ध हटाइकिएको थियो र प्रचारकार्य तीव्र गतिले अघि बढ्‌न थाल्यो। बाइबल सच्चाइले पनि मेरो हृदयमा गहिरो छाप पारिरहेको थियो। मण्डलीमा सेवकको रूपमा सेवा गर्ने साथै जनसभा अभियानहरू र कसैलाई जिम्मा नलगाइएको इलाकामा काम गर्ने सुअवसर पनि मैले पाएँ। संयुक्‍त राज्य अमेरिकामा आयोजित ठूलठूला अधिवेशनहरूमा उपस्थित हुँदा मेरो आध्यात्मिक उन्‍नतिमा अतुलनीय योगदान पुग्यो।

यहोवाको सेवालाई विस्तार गर्दै

सन्‌ १९५० मा मैले अग्रगामी सेवा गर्न थालें र त्यसै वर्षको डिसेम्बरमा मैले क्षेत्रीय निरीक्षकको रूपमा सेवा गर्ने निम्तो पाएँ। मैले टोरोन्टो नजिकै अनुभवी तथा निष्ठावान्‌ भाइ चार्ली हेपवर्थमार्फत औपचारिक प्रशिक्षण लिने सुअवसर पाएँ। विनिपेगमा क्षेत्रीय सेवा गरिरहनुभएका दाइ एलेक्ससित मेरो प्रशिक्षणको अन्तिम हप्ता बिताउने आनन्द पनि पाएँ।

माथि सुरुमै वर्णन गरिएको मेरो सबैभन्दा पहिलो क्षेत्रीय सम्मेलन मेरो मानसपटलमा अझै गडेर बसेको छ। यो कस्तो होला भनेर म चिन्तित हुनु स्वाभाविकै थियो। जे होस्‌, हाम्रा जिल्ला निरीक्षक भाइ ज्याक नेथनले हामीलाई व्यस्त अनि खुसी पारिरहनुभयो। हामीले उपस्थित सहभागीहरूमाझ सम्मेलन कार्यक्रम संक्षेपमा प्रस्तुत गऱ्‍यौं। हामीले पालैपालो आफ्नो अनुभव बतायौं, घरघरको प्रस्तुती अभ्यास गर्ने, पुनःभेट गर्ने र बाइबल अध्ययनहरू कसरी सञ्चालन गर्ने भनी प्रदर्शन गरेर देखायौं। हामीले राज्य गीतहरू गायौं। भोजन प्रशस्त थियो। हामीले दुई/दुई घण्टा जसोको अन्तरालमा कफी र केक खायौं। कोही बेन्च र मञ्चमा सुते भने अरूचाहिं भुईंमा सुते। आइतबारसम्ममा हिमपात केही कम भयो र जनभाषण सुन्‍न ९६ जना उपस्थित भए। त्यस अनुभवले मलाई कठिन परिस्थितिहरूको सामना गर्न सिकायो।

मेरो त्यसपछिको क्षेत्रीय असाइनमेन्ट उत्तरी अल्बर्टा, ब्रिटिस कोलम्बिया र मध्यरातमा पनि सूर्य देखिने देश अर्थात्‌ युकोन टेरिटोरी थियो। डसन क्रिक, ब्रिटिस कोलम्बिया हुँदै युकोनको ह्वाइटहर्ससम्म (१,४७७ किलोमिटरको दूरी) उबडखाबड अलास्का राजमार्गको यात्राको दौडान साक्षी दिंदै जान साहस र सावधानी चाहिन्थ्यो। हिमपहिरो, चिप्ला पहाडी भीरहरू र हिउँ बतासको कारण केही देख्नै नसक्नु, साँच्चै एउटा चुनौती थियो।

सुदूर उत्तरमा समेत सत्य छिरिसकेको देखेर म त छक्क परें। एकपल्ट, वाल्टर ल्युकोविक्ज र म अलास्का राजमार्गकै छेउमा युकोन टेरिटोरीको सीमा नजिकै ब्रिटिस कोलम्बियाको लोअर पोस्टसँगैको एउटा सानो छाप्रोमा गयौं। झ्यालबाट भित्र पिलपिल गरिरहेको प्रकाश देखेपछि हामीलाई त्यस छाप्रोभित्र कोही न कोही हुनुपर्छ भनेर थाह भयो। साँझको झन्डै नौ बजेतिर हामीले ढोका ढकढक्यायौं। कुनै मानिसले हामीलाई कराएर भित्र आउन भनेपछि हामी भित्र पस्यौं। कस्तो अचम्म, एक जना वृद्ध मानिस बङ्‌क बेड अर्थात्‌ दुई तले खाटमा पल्टेर प्रहरीधरहरा पत्रिका पढिरहेका थिए! अझ भनौं भने तिनीसित त हामीले दिन लागेको भन्दा नयाँ अंक पो थियो। तिनले हवाईडाँकमार्फत पाएको कुरा बताए। हामी आफ्नो मण्डलीबाट टाढा रहेको आठ दिनभन्दा बढी भइसकेको हुँदा हामीले नयाँ पत्रिकाहरू पाइसकेका थिएनौं। ती मानिसले आफ्नो नाउँ फ्रेड बर्ग भएको बताउँदै चिनापर्ची गरे र आफू धेरै वर्षदेखि ग्राहक भएको भए तापनि यहोवाका साक्षीहरू आफूकहाँ आएको भने यो नै पहिलोपल्ट हो भनेर बताए। फ्रेडले हामीलाई त्यो रात त्यहीं बिताउन कर गरे। हामीले तिनीसित धेरै धर्मशास्त्रीय सत्यहरू बाँड्‌न र अरू साक्षीहरूलाई त्यस इलाकामा तिनीसित भेट्‌न पठाउने प्रबन्ध मिलाउन सक्यौं।

धेरै वर्षसम्म मैले तीनवटा ससाना क्षेत्रहरूमा सेवा गरें। ती क्षेत्रहरू पूर्वमा पर्ने अल्बर्टाको ग्रान्डे प्रेरीदेखि पश्‍चिममा पर्ने अलास्काको कोडियाकसम्म लगभग ३,५०० किलोमिटरसम्म फैलिएको थियो।

जुनसुकै ठाउँमा बसोबास गरिरहेका मानिसहरू किन नहोऊन्‌, यहोवाको असीम अनुग्रह तिनीहरू सबैका निम्ति हो र परमेश्‍वरको आत्माले अनन्त जीवनका निम्ति नियुक्‍त भएकाहरूको मन अनि हृदयलाई उत्प्रेरित गर्छ भनेर मैले एकदम राम्रो ढंगमा थाह पाएँ। तिनीहरूमध्ये एक जना युकोनका हाल डसन भनिने डसन सिटीका हेन्री लेपाइन हुन्‌। हेन्री अत्यन्तै अनकन्टार ठाउँमा बस्थे। साँच्चै भन्‍ने हो भने तिनी सुनखानी क्षेत्रबाट बाहिर नगएको ६० वर्षभन्दा धेरै भइसकेको थियो। तथापि, यहोवाको आत्माले यी ८४ वर्षीय वृद्ध मानिसलाई मण्डलीका सभाहरूमा कहिल्यै उपस्थित नभएका भए तापनि १,६०० किलोमिटर टाढा पर्ने एन्करेजमा क्षेत्रीय सम्मेलनको लागि यात्रा गर्न उत्प्रेरित गऱ्‍यो। तिनी त्यस कार्यक्रमबाट रोमाञ्चित भए र संगतिबाट अत्यधिक आनन्द उठाए। डसन सिटी फर्केपछि हेन्री मृत्युपर्यन्त विश्‍वासी रहे। हेन्रीलाई चिन्‍ने धेरैजसो मानिसहरू त्यस्तो वृद्ध मानिस यति लामो यात्रा गर्न कुन कुराले उत्प्रेरित भए भनेर आश्‍चर्य मान्थे। यस कौतुहलताले गर्दा अरू वृद्धहरू पनि सत्य स्वीकार्न अग्रसर भए। यसरी अप्रत्यक्ष ढंगमा हेन्रीले असल साक्षी दिन सके।

यहोवाको असीम अनुग्रह प्राप्त गर्ने

सन्‌ १९५५ मा मैले वाचटावर बाइबल स्कूल अफ गिलियडको २६ औं कक्षामा सहभागी हुने निम्तो पाउँदा साह्रै खुसी लाग्यो। यस प्रशिक्षणले मेरो विश्‍वास बलियो बनाउनुका साथै यहोवाको अझ नजिक हुन मदत गऱ्‍यो। स्नातक गरिसकेपछि मलाई फेरि क्यानाडाको क्षेत्रीय कार्यमै लागिरहन खटाइयो।

झन्डै एक वर्षको लागि मैले ओन्टारियो प्रान्तमा सेवा गरें। त्यसपछि मलाई फेरि एकदमै सुन्दर नर्थ अर्थात्‌ अलास्का खटाइयो। सफा, चम्किला तालहरूको किनारै किनार अनि हिउँले डम्म ढाकेको चुचुराहरूसहितका पर्वतमालाहरूमा उकालिंदै गएका राजमार्गहरूको मनोरम दृश्‍यलाई म अझै पनि छर्लङ्‌गै देख्न सक्छु। गर्मी याममा, उपत्यकाहरू तथा चौरहरू रंगीचंगी जंगली फूलहरूले सजिएको मनमोहक कार्पेटजस्तै देखिन्छ। हावापानी सफा र पानी पनि शुद्ध छ। भालु, ब्वाँसो, मूज अर्थात्‌ बाह्रसिंगा जस्तो जन्तु, क्यारीबु अर्थात्‌ हिममृग, र अन्य जंगली जनावरहरू आफ्ना प्राकृतिक वासस्थानमा खुल्लमखुल्ला डुल्छन्‌।

तथापि, अलास्का चुनौतीपूर्ण छन्‌। यहाँको मौसमत परिवर्तनशील थियो नै र दूरी पनि कम थिएन। मेरो क्षेत्र पूर्वदेखि पश्‍चिमसम्म गरी ३,२०० किलोमिटर फैलिएको थियो। त्यतिबेला क्षेत्रीय निरीक्षकहरूका लागि कुनै गाडीको व्यवस्था गरिएको थिएन। स्थानीय भाइहरूले नै मलाई एउटा मण्डलीबाट अर्कोमा पुऱ्‍याइदिन अग्रसर भए। यद्यपि, समय समयमा मैले ट्रक चालक वा पर्यटकहरूसित लिफ्ट माग्नुपर्थ्यो।

त्यस्तै घटनाहरूमध्ये एउटा अलास्का राजमार्गको अलास्काको टोक जङ्‌कसन र माइल १२०२ अर्थात्‌ स्कटी क्रीक क्षेत्रमा घटेको थियो। यी दुई स्थानका भन्सार कार्यालयहरूबीच लगभग १६० किलोमिटरको दूरी थियो। टोकस्थित संयुक्‍त राज्य अमेरिकाको भन्सार कार्यालय पार गरेर म ५० किलोमिटर पर पुगें। त्यसपछि कुनै गाडी आएन र झन्डै दस घण्टा हिंडेर मैले ४० किलोमिटर पार गरें। त्यो भन्सार कार्यालय पार गरेको केही समयपछि नै भन्सार कार्यालयदेखि केही पर हिमपहिरो गएकोले राजमार्गको यस बाटोमा सबै यातायात अवरुद्ध हुन पुगेको रहेछ भनेर मैले पछि पो थाह पाएँ। मध्यरातमा तापक्रम घटेर माइनस २३ डिग्री सेल्सियस पुग्यो अनि नजिकको आश्रयस्थल पुग्न अझ ८० किलोमिटर यात्रा गर्न बाँकी थियो। मलाई आराम गर्नको लागि बासको अति जरुरी थियो।

लल्याकलुलुक हुँदै अगाडि बढ्‌दै जाँदा मैले केही भाग हिउँले ढाकिएको एउटा गाडीलाई सडक किनारमा त्यत्तिकै छोडिराखेको देखें। त्यहाँभित्र पसेर त्यसको गद्दीमा सुत्न पाए त त्यस रातको ठन्डीबाट बच्न सकिन्थ्यो भन्‍ने मैले विचार गरें। जसोतसो मैले त्यहाँबाट अलिकति हिउँलाई पन्छाएर ढोका खोलें तर अफसोस भित्र त खोक्रो रहेछ, फलामबाहेक केही थिएन। खुसीको कुरा त्यही सडकमा अलिकति हिंडेपछि मैले एउटा खाली छाप्रो भेट्टाएँ। सुरुमा भित्र पस्न र आगो बाल्न केही कठिनाइ भए तापनि मैले केही घण्टा आराम गर्न सकें। बिहान जसोतसो अर्को लजसम्म यात्रा गर्नको लागि साधन पाएँ अनि त्यहाँ पुगेपछि मात्र मैले केही खाएँ र घावै घाउले भरिएका मेरा औंलाहरूमा मलमपट्टी गरें।

यहोवाले नर्थमा उन्‍नति गराउनुहुन्छ

फेयरबाङ्‌क्समा मेरो पहिलो भ्रमण एकदमै प्रोत्साहनजनक थियो। हामीले सेवकाईमा राम्रो सफलता हासिल गऱ्‍यौं र त्यस आइतबार झन्डै ५० जना जनभाषण सुन्‍न उपस्थित भए। हामीले भर्नर र लरेन डेभिस बसोबास गर्ने एउटा सानो मिसनरी भवनमा भेट्यौं। मानिसहरू भाषण सुन्‍न भान्छाघर, सुत्नेकोठा र मटानका झ्यालहरूबाट आफ्ना टाउको छिराइरहेका थिए। यस्तो सकारात्मक प्रतिक्रिया देखेपछि राज्यभवन भएको खण्डमा फेयरब्याङ्‌क्समा प्रचारकार्य स्थिर हुन सक्ने कुरा हामीले थाह पायौं। त्यसैले यहोवाको मदत पाएर हामीले एउटा ठूलो भवन किन्यौं जसलाई पहिला नाट्यशालाको रूपमा प्रयोग गरिन्थ्यो। अनि यसलाई एउटा उचित प्रकारको स्थानमा साऱ्‍यौं। इनार खनियो अनि शौचालय र तातो बनाउने उपकरण जडान गरियो। एक वर्ष भित्रै फेयरब्याङ्‌क्समा सञ्चालन गर्न सकिने राज्यभवन तयार भयो। भान्छाघर थपिएपछि भने त्यस भवनलाई १९५८ मा जिल्ला अधिवेशन सञ्चालन गर्न पनि प्रयोग गरियो, जसमा ३३० जना उपस्थित भए।

मैले १९६० को ग्रीष्मऋतुमा यहोवाका साक्षीहरूको विश्‍व मुख्यालयमा संयुक्‍त राज्य अमेरिका र क्यानाडाका सेवारत सबै परिभ्रमण निरीक्षकहरूका लागि तयार गरिएको अधिगोष्ठीमा उपस्थित हुन कारबाट लामो यात्रा गरें। म त्यहीं छँदा भाइ नेथन नोर र अन्य जिम्मेवार भाइहरूले अलास्कामा शाखा कार्यालय खोल्ने सम्भाव्यताबारे मसित अन्तरवार्ता लिनुभयो। त्यसको केही महिनापछि सेप्टेम्बर १, १९६१ मा अलास्कामै एउटा शाखा कार्यालय हुनेछ भन्‍ने खबर सुन्दा हामी अत्यन्तै खुसी भयौं। भाइ एन्ड्रयु के. वेनरलाई शाखासित सम्बन्धित कामकुराहरूको निरीक्षण गर्ने कार्यभार सुम्पियो। तिनी र तिनकी पत्नी भेराले ब्रुक्लिनमा २० वर्ष सेवा गरिसकेका थिए र तिनीहरूसित परिभ्रमण कार्यको पनि अनुभव थियो। अलास्का शाखाको स्थापना एकदमै मूल्यांकन योग्य कार्य थियो किनभने यसले परिभ्रमण निरीक्षकहरूलाई धेरै समय खर्च गरेर यात्रा गर्नुपर्ने झन्झटबाट मुक्‍ति दिलायो र मण्डलीहरू तथा पृथक क्षेत्रहरूलाई चाहिएका खास-खास कुरामा अझ बढी ध्यान दिन सक्षम तुल्यायो।

नर्थमा १९६२ को ग्रीष्मऋतु असाध्यै रमाइलो समय थियो। अलास्का शाखाको समर्पण गरियो र अलास्काको जुनेयोउमा जिल्ला अधिवेशन सम्पन्‍न भयो। जुनेयोउ र युकोनको ह्वाइटहर्समा नयाँ राज्यभवनहरू निर्माण गरिए र थप नयाँ पृथक समूहहरू पनि थपिए।

पुनः क्यानाडामै

धेरै वर्षसम्म मैले क्यानाडाको मार्गरेटा पेट्राससित पत्राचार गरिरहेको थिएँ। तिनलाई बोलाउने नाउँ रेता थियो, तिनले १९४७ मा अग्रगामी सेवा सुरु गरेर १९५५ मा गिलियडबाट स्नातक गरी क्यानाडाको पूर्वी भागमा अग्रगामी गरिरहेकी थिइन्‌। मैले तिनलाई विवाहको प्रस्ताव राखें र तिनले स्वीकारिन्‌। हामी सन्‌ १९६३ को फेब्रुअरीमा ह्वाइटहर्समा विवाह बन्धनमा बाँधियौं। त्यस वर्षको शरद्‌ ऋतुमा मलाई क्यानाडाको पश्‍चिम भागतिर क्षेत्रीय कार्यको लागि खटाइयो र हामीले त्यहाँ अर्को २५ वर्षसम्म सेवाको आनन्द उठायौं।

स्वास्थ्यको कारणले गर्दा १९८८ मा हामीलाई मनिटोबाको विनिपेगमा विशेष अग्रगामी कार्यको लागि खटाइयो। यसमा लगभग पाँच वर्षसम्म सम्मेलन भवनको देखभाल गर्नु पनि समावेश थियो। हामी अझपनि जतिसक्दो चेला बनाउने आनन्ददायी कार्यमा भाग लिन्छौं। क्षेत्रीय कार्यमा हामीले थुप्रै बाइबल अध्ययनहरू सुरु गरेर अरूलाई सञ्चालन गर्न दिन्थ्यौं। अबभने यहोवाको असीम कृपाले गर्दा हामी बाइबल अध्ययन सुरु गर्छौं र त्यस बाइबल विद्यार्थीले आफ्नो जीवन समर्पण गरेर बप्तिस्मा लिएको समेत हेर्ने आनन्द पाउँछौं।

यहोवाको सेवा गर्नु नै सर्वोत्कृष्ट जीवन शैली हो भन्‍ने कुरामा म निश्‍चित छु। यो अर्थपूर्ण र सन्तोषजनक छ र यसले यहोवाप्रतिको हाम्रो प्रेमलाई दिन-प्रतिदिन गहिरो बनाउँछ। यसले नै साँचो आनन्द दिन्छ। हामीले जस्तोसुकै ईश्‍वरतान्त्रिक जिम्मेवारी पाए पनि वा जुनसुकै ठाउँमा रहे तापनि भजनरचयिताले भनेका यी कुराहरूसित हामी सहमत छौं: “ती मानिसहरू सुखी हुन्छन्‌, जसका परमेश्‍वर परमप्रभुनै हुनुहुन्छ।”—भजन १४४:१५.

[पृष्ठ २४, २५-मा भएको चित्र]

क्षेत्रीय कार्यमा

[पृष्ठ २५-मा भएको चित्र]

डसन सिटीका हेनरी लेपाइनकहाँ जाँदा। म बायाँतिर छु

[पृष्ठ २६-मा भएको चित्र]

एन्करेजको पहिलो राज्यभवन

[पृष्ठ २६-मा भएको चित्र]

रेता र म, १९९८