सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवा, सत्यका परमेश्‍वर

यहोवा, सत्यका परमेश्‍वर

यहोवा, सत्यका परमेश्‍वर

“हे परमप्रभु, हे सत्यका परमेश्‍वर, मोल तिरेर मेरो उद्धार गर्नुहोस्‌।”—भजन ३१:५, नयाँ संशोधित संस्करण।

१. कुनै असत्य नहुँदा स्वर्ग र पृथ्वीमा कस्तो अवस्था थियो?

 एउटा यस्तो समय थियो, जतिबेला असत्य भन्‍ने कुरै थिएन। अदृश्‍य स्वर्गमा सृष्टिकर्ता, “सत्यका परमेश्‍वर[को]” सेवा गरिरहेका सिद्ध आत्मिक प्राणीहरू थिए। (भजन ३१:५) कुनै झूट वा छलछाम थिएन। यहोवाले आफ्ना आत्मिक छोराहरूलाई सत्य कुरा बताउनुहुन्थ्यो। उहाँले त्यसो गर्नुभयो किनभने उहाँले तिनीहरूलाई माया गर्नुका साथै तिनीहरूको भलाइमा गहिरो चासो लिनुहुन्थ्यो। पृथ्वीमा पनि यस्तै अवस्था थियो। यहोवाले प्रथम पुरुष र स्त्रीलाई सृजनुभयो अनि आफ्नो नियुक्‍त माध्यमद्वारा तिनीहरूसित सधैं स्पष्ट, सीधा र सत्य तरिकामा कुराकानी गर्नुभयो। त्यो साँच्चै अद्‌भुत भएको हुनुपर्छ!

२. असत्यको सुरुवात कसले गऱ्‍यो र किन?

तथापि, पछि परमेश्‍वरको एक जना आत्मिक छोराले यहोवाको विरोध गरेर, आफूलाई प्रतिद्वन्द्वी ईश्‍वरको रूपमा खडा गर्ने दुस्साहस गऱ्‍यो। शैतान अर्थात्‌ दियाबल भनेर चिनिएको यो आत्मिक प्राणी अरूले उसैलाई उपासना गरेको चाहन्थ्यो। आफ्नो लक्ष्य हासिल गर्न, अरूलाई आफ्नो नियन्त्रणमा ल्याउने माध्यमको रूपमा त्यसले असत्यलाई चलायो। यसो गरेर त्यो “झूट र झूटको पिता” दुवै भयो।—यूहन्‍ना ८:४४.

३. शैतानको झूटप्रति आदम र हव्वाले कस्तो प्रतिक्रिया देखाए र यसको नतिजा कस्तो भयो?

प्रथम स्त्री, हव्वाले परमेश्‍वरको आज्ञा उल्लंघन गरेर निषेध गरिएको फल खाए तापनि तिनी मर्नेछैनन्‌ भनेर शैतानले एउटा साँपमार्फत बतायो। त्यो झूट थियो। उसले अझै यसो भन्यो, त्यो खाएपछि असल र खराब थाह पाएर तिनी परमेश्‍वरजस्तै हुनेछिन्‌। त्यो पनि झूट थियो। हव्वालाई झूट भन्‍ने कुरा पहिले कहिल्यै थाह नभए तापनि साँपबाट सुनेको कुरा परमेश्‍वरले आफ्नो पति आदमलाई दिनुभएको आज्ञासित मेल खाँदैन भन्‍ने कुरा तिनले बुझेकी हुनुपर्छ। तैपनि, तिनले यहोवाको नभई शैतानको कुरा पत्याउने छनौट गरिन्‌। तिनी पूरै बहकिन्‌, फल टिपेर खाइन्‌। पछि, आदमले पनि त्यो फल खाए। (उत्पत्ति ३:१-६) हव्वाजस्तै आदमले झूटो कुरा पहिले कहिल्यै सुनेका थिएनन्‌, तर तिनी बहकिएका होइनन्‌। (१ तिमोथी २:१४) आफ्नो कामद्वारा तिनले आफ्नो निर्मातालाई तिरस्कार गरेको कुरा देखाए। मानिसजातिको लागि यसको नतिजा विपत्तिजनक भयो। आदमको अनाज्ञाकारिताको कारण तिनका सबै सन्तानमा भ्रष्टाचार र अनगिन्ती दुःखका साथै पाप तथा मृत्यु व्याप्त भयो।—रोमी ५:१२.

४. (क) अदनको बगैंचामा कस्ता झूटहरू बोलिए? (ख) शैतानद्वारा नठगिन हामीले के गर्नै पर्छ?

असत्य पनि फैलियो। अदनको बगैंचामा बोलिएका झूटहरू यहोवाको सत्यता विरुद्ध व्यक्‍तिगत आक्रमणहरू थिए भनेर हामीले स्वीकार्नै पर्छ। परमेश्‍वरले धूर्त्याइँ गरेर प्रथम मानव जोडीलाई केही असल कुराबाट वञ्चित गर्दै हुनुहुन्छ भनेर शैतानले ठोकुवा गऱ्‍यो। वास्तवमा, कुरा त्यस्तो थिएन। आफ्नो अनाज्ञाकारिताबाट आदम र हव्वाले कुनै लाभ उठाएनन्‌। यहोवाले भन्‍नुभएझैं तिनीहरू मरे। यद्यपि, शैतानले यहोवा विरुद्ध निन्दाजनक आक्रमण गर्न छोडेन, त्यसैले शैतानले ‘सारा संसारलाई ठगिरहेको छ’ भनेर लेख्न शताब्दीयौंपछि प्रेरित यूहन्‍ना उत्प्रेरित भए। (प्रकाश १२:९) शैतान अर्थात्‌ दियाबलद्वारा ठगिनदेखि जोगिन हामीसित यहोवा र उहाँको वचनको सत्यताप्रति पूर्ण भरोसा हुनै पर्छ। तपाईं कसरी यहोवामाथि आफ्नो भरोसा विकास गर्न अनि यसलाई बलियो बनाउनुका साथै उहाँको शत्रुले ल्याउने छलछाम तथा झूट विरुद्ध दृढ हुन सक्नुहुन्छ?

यहोवालाई सत्य थाह छ

५, ६. (क) यहोवासित कस्तो ज्ञान छ? (ख) यहोवाको ज्ञानको तुलनामा मानव ज्ञान कस्तो छ?

बाइबलले यहोवालाई “सब कुरा सृजनुहुने” व्यक्‍तिको रूपमा बारम्बार चिनाउँछ। (एफिसी ३:९) उहाँले नै “स्वर्ग, पृथ्वी, समुद्र र तिनमा भएका यावत्‌ थोक बनाउनुभयो।” (प्रेरित ४:२४) यहोवा सृष्टिकर्ता हुनुभएकोले उहाँलाई सबै कुराबारे सत्य थाह छ। उदाहरणका लागि: आफ्नो घरको डिजाइन आफैले तयार गर्ने अनि सम्पूर्ण काठहरू ठीक-ठीक ठाउँमा राख्नेदेखि लिएर एक-एक कीला ठोक्ने कामसमेत आफैले गरेर घर बनाउने एक जना मानिसलाई विचार गर्नुहोस्‌। तिनलाई त्यो घरको कुनाकाप्चा सबै थाह हुनेछ र त्यस घरबारे तिनलाई जति धेरै कुरा अरू कसैलाई पनि थाह हुनेछैन। मानिसहरूलाई आफूले डिजाइन गरेका अनि बनाएका कुराहरूबारे राम्ररी थाह हुन्छ। त्यसै गरी, सृष्टिकर्तालाई पनि उहाँले सृष्टि गर्नुभएका चीजहरूबारे सबै कुरा थाह छ।

यहोवाको ज्ञानको दायराबारे अगमवक्‍ता यशैयाले सुन्दर ढंगमा वर्णन गरे। हामी यस्तो लेखिएको पाउँछौं: “कसले सागरलाई आफ्नो अञ्जुलीमा नापेको छ? र बित्ताले आकाशलाई? औ कसले पृथ्वीको माटो मानामा भरेर औ पर्वतहरू तराजुमा र डाँड़ाहरू काँटामा जोखेको छ? कसले परमप्रभुको आत्मालाई आज्ञा गरेको छ, अथवा उहाँको सल्लाहकार भएर उहाँलाई शिक्षा दिएको छ? प्रकाशको निम्ति उहाँले कससित सल्लाह लिनुभयो? औ कसले उहाँलाई इन्साफको मार्ग देखायो? कसले उहाँलाई ज्ञान सिकायो, र समझको मार्ग देखायो?” (यशैया ४०:१२-१४) साँच्चै नै यहोवा “बुद्धिका ईश्‍वर [“ज्ञानका परमेश्‍वर,” NW]” हुनुहुन्छ र “ज्ञानमा सिद्ध” हुनुहुन्छ। (१ शमूएल २:३; अय्यूब ३६:४, नयाँ संशोधित संस्करण; ३७:१६, नयाँ संशोधित संस्करण) यसको तुलनामा हामीलाई कत्ति थोरै मात्र थाह छ! मानवजातिले हासिल गरेको अचम्मलाग्दो ज्ञानको बावजुद, भौतिक सृष्टिबारे हाम्रो समझ “[परमेश्‍वरको] शक्‍तिको एक छेउ” पनि होइन। यो त “शक्‍तिको गर्जन[को]” तुलनामा एउटा “मधुर सोर[जस्तै]” हो।—अय्यूब २६:१४, नयाँ संशोधित संस्करण।

७. यहोवाको ज्ञानबारे दाऊदले कुन कुरा बुझे र त्यसकारण हामीले कुन कुरा स्वीकार्नै पर्छ?

हामीलाई यहोवाले सृष्टि गर्नुभएको कारण उहाँले हामीलाई राम्ररी चिन्‍नुहुन्छ भन्‍नु तार्किक छ। राजा दाऊदले यो कुरा बुझे। तिनले यस्तो लेखे: “हे परमप्रभु, तपाईंले मलाई जाँचेर चिन्‍नुभएको छ। तपाईंले मेरो बसाइ र मेरो उठाइ जान्‍नुहुन्छ, तपाईंले टाढैबाट मेरो विचार बुझ्नुहुन्छ। तपाईंले मेरो चाल र मेरो सुताइ ठीक ठीक गरेर जाँच गरी चिन्‍नुहुन्छ, र मेरो सबै चालचलनको भेद थाह पाउनुहुन्छ। किनकि मेरो जिब्रोमा कुनै कुश आउन अघिनै, हे परमप्रभु, तपाईंले त्यो जान्‍नुहुन्छ।” (भजन १३९:१-४) निस्सन्देह, मानिसहरू स्वतन्त्र इच्छाअनुसार चल्छन्‌ अर्थात्‌ परमेश्‍वरले हामीलाई उहाँको आज्ञा पालन गर्ने वा नगर्ने क्षमता दिनुभएको छ भनी दाऊदले महसुस गरे। (व्यवस्था ३०:१९, २०; यहोशू २४:१५) जे होस्‌, हामीलाई आफ्नोबारे जति थाह छ, त्योभन्दा बढी यहोवाले जान्‍नुहुन्छ। उहाँ हाम्रो सर्वोत्तम हित चाहनुहुन्छ र हाम्रो पाइलालाई ठीक मार्गमा हिंडाउन सक्षम हुनुहुन्छ। (यर्मिया १०:२३) निस्सन्देह, कुनै पनि शिक्षक, विशेषज्ञ वा सल्लाहकार हामीलाई सत्य सिकाउन र हामीलाई बुद्धिमान्‌ तथा खुसी बनाउन उहाँभन्दा बढी सुसज्जित छैनन्‌।

यहोवा सत्यवादी हुनुहुन्छ

८. यहोवा सत्यवादी हुनुहुन्छ भनेर हामी कसरी थाह पाउँछौं?

सत्य थाह पाउनु एउटा कुरा हो, तर सधैं सत्य बोल्नु, सत्यवादी हुनु अर्कै कुरा हो। उदाहरणका लागि, दियाबलले ‘सत्यमा ठहर्न’ रोजेन। (यूहन्‍ना ८:४४) यसको विपरीत, यहोवा “सत्यतामा प्रशस्त हुनुहुन्छ।” (प्रस्थान ३४:६) धर्मशास्त्रले यहोवाको सत्यताको बारम्बार पुष्टि गर्छ। “परमेश्‍वरलाई झूट बोल्न असम्भव छ” अनि परमेश्‍वरले ‘कहिल्यै झूट बोल्नुहुन्‍न’ भनी प्रेरित पावलले बताए। (हिब्रू ६:१८; तीतस १:२) सत्यता, यहोवाको व्यक्‍तित्वको एउटा महत्त्वपूर्ण भाग हो। हामी यहोवामा भर पर्न र उहाँलाई भरोसा गर्न सक्छौं किनभने उहाँ सत्यवादी हुनुहुन्छ; उहाँले आफ्ना वफादार जनहरूलाई कहिल्यै छक्याउनुहुन्‍न।

९. यहोवाको नाउँ कसरी सत्यसित सम्बन्धित छ?

यहोवाको नाउँले नै उहाँको सत्यताको पुष्टि गर्छ। उहाँको ईश्‍वरीय नाउँको अर्थ “उहाँले गराउनुहुन्छ” हो। यसले यहोवालाई उहाँले गर्नुभएका सबै प्रतिज्ञाहरू क्रमशः पूरा गर्नुहुने व्यक्‍तिको रूपमा चिनाउँछ। यसो गर्न सक्ने अरू कोही पनि छैन। यहोवा सर्वोच्च हुनुभएको कारण आफ्ना उद्देश्‍यहरू पूरा गर्नदेखि उहाँलाई कुनै पनि कुराले रोक्न सक्दैन। यहोवा सत्यवादी मात्र हुनुहुन्‍न तर उहाँसित मात्र आफूले बोलेका सबै कुराहरू वास्तविकतामा परिणत गर्ने शक्‍ति र बुद्धि छ।

१०. (क) यहोशूले कसरी यहोवाको सत्यता देखे? (ख) तपाईंले यहोवाका कस्ता प्रतिज्ञाहरू पूरा भएको देख्नुभएको छ?

१० यहोवाको सत्यताको पुष्टि गर्ने उल्लेखनीय घटनाहरूका थुप्रै प्रत्यक्षदर्शीहरूमध्ये यहोशू पनि एक जना थिए। यहोवाले हरेक विपत्तिबारे पहिल्यै अगमवाणी गर्नुभएर मिश्रमाथि दस विपत्ति ल्याउनुहुँदा यहोशू त्यहीं थिए। अरू कुराका साथ-साथै, इस्राएलीहरूलाई मिश्रबाट छुटाएर प्रतिज्ञा गरिएको देशसम्म डोऱ्‍याउने अनि तिनीहरूको विरोध गर्ने शक्‍तिशाली कनानी सेनाहरूलाई परास्त गर्ने यहोवाको प्रतिज्ञा पूरा भएको यहोशूले देखे। आफ्नो जीवनको अन्ततिर यहोशूले इस्राएल राष्ट्रका बूढाप्रधानहरूलाई यसो भने: “परमप्रभु परमेश्‍वरले तिमीहरूका बारेमा भन्‍नुभएको सबै असल कुराहरूमा एउटा कुरा पनि फरक परेको छैन। तिमीहरूका निम्ति सबै पुगेको छ, र एउटा पनि त्यसबाट फरक परेको छैन भनी तिमीहरूको आफ्नो पूरा हृदयले र पूरा प्राणले थाह पाएकै छौ।” (यहोशू २३:१४) यहोशूले जस्तै तपाईंले चमत्कारहरू नदेख्नुभए तापनि के तपाईंले आफ्नो जीवनकालमा परमेश्‍वरका प्रतिज्ञाहरूको सत्यता अनुभव गर्नुभएको छ?

यहोवाले सत्य प्रकट गर्नुहुन्छ

११. यहोवाले मानिसहरूसित सत्य कुराकानी गर्न चाहनुहुन्छ भनी कुन कुराले देखाउँछ?

११ एक जना यस्तो बुबाको कल्पना गर्नुहोस्‌, जोसँग ज्ञानको विशाल भण्डार छ तर उसले आफ्ना छोराछोरीहरूसित विरलै कुराकानी गर्छ। के तपाईं यहोवा यस्तो नहुनुभएकोमा कृतज्ञ हुनुहुन्‍न र? यहोवाले मानिसजातिसित प्रेमपूर्वक र कुनै कन्जुस्याइँ नगरी कुराकानी गर्नुहुन्छ। धर्मशास्त्रले उहाँलाई महान्‌ “गुरु” भन्छ। (यशैया ३०:२०) उहाँको करुणाको कारण, आफ्नो कुरा सुन्‍न चासो नदेखाउनेहरूसित समेत उहाँ कुराकानी गर्नुहुन्छ। उदाहरणका लागि, इजकिएललाई यस्ता व्यक्‍तिहरूलाई प्रचार गर्न खटाइएको थियो, जसले तिनको कुरा सुन्‍नेछैनन्‌ भनी यहोवालाई थाह थियो। यहोवाले यसो भन्‍नुभयो: “हे मानिस, इस्राएलीहरूकहाँ जा, र तिनीहरूलाई मेरो कुरा सुना।” त्यसपछि उहाँले यस्तो चेतावनी दिनुभयो: “इस्राएलीहरूले ता तेरो कुरा सुन्‍नेछैनन्‌, किनभने मेरो कुरा सुन्‍न तिनीहरू इच्छा गर्दैनन्‌, किनकि इस्राएलको सारा घरानानै अट्टेरी र ढीट छन्‌।” यो गाह्रो काम थियो तर इजकिएलले विश्‍वासी भई यसलाई पूरा गरे अनि यसरी तिनले यहोवाको अनुकम्पा झल्काए। चुनौतीपूर्ण अवस्थामा प्रचार गर्नुपर्दा तपाईं परमेश्‍वरमाथि भर पर्नुहुन्छ भने उहाँले आफ्नो अगमवक्‍ता इजकिएललाई झैं तपाईंलाई पनि बलियो बनाउनुहुनेछ भनी तपाईं विश्‍वस्त हुन सक्नुहुन्छ।—इजकिएल ३:४, ७-९.

१२, १३. परमेश्‍वरले मानिसहरूसित कुन-कुन तरिकाहरूमा कुराकानी गर्नुभएको छ?

१२ यहोवा “सबै मानिसहरूले उद्धार पाऊन्‌ र तिनीहरू सत्यको ज्ञानमा आऊन्‌ भन्‍ने इच्छा . . . गर्नुहुन्छ।” (१ तिमोथी २:४) उहाँले अगमवक्‍ताहरूमार्फत, स्वर्गदूतहरूमार्फत र आफ्नै प्रिय पुत्र येशू ख्रीष्टमार्फत समेत बोल्नुभएको छ। (हिब्रू १:१, २; २:२) येशूले पिलातसलाई यसो भन्‍नुभयो: “यसैको निम्ति म जन्मेको हुँ, र त्यसैको निम्ति सत्यको गवाही दिन म यस संसारमा आएको हुँ। प्रत्येक जो सत्यको पक्षमा छ, त्यसले मेरो सोर सुन्छ।” पिलातसले उद्धारको लागि यहोवाले गर्नुभएको प्रबन्धसम्बन्धी सत्यबारे सीधै परमेश्‍वरको पुत्रबाट सिक्ने अमूल्य सुअवसर पाए। तथापि, पिलातस सत्यको पक्षमा थिएनन्‌ र तिनले येशूबाट सिक्न चाहेनन्‌। बरु, पिलातसले दोष भेट्टाउन यस्तो प्रत्युत्तर दिए: “सत्य के हो?” (यूहन्‍ना १८:३७, ३८, नयाँ संशोधित संस्करण) तिनको लागि कस्तो अफसोसको कुरा! यद्यपि, येशूले घोषणा गर्नुभएको सत्य धेरैले सुने। उहाँले आफ्ना चेलाहरूलाई यसो भन्‍नुभयो: “तिमीहरूका आँखा धन्यका हुन्‌, किनकि तिनले देख्तछन्‌। औ तिमीहरूका कान, किनकि तिनले सुन्छन्‌।”—मत्ती १३:१६.

१३ यहोवाले बाइबलमार्फत सत्यलाई जोगाएर राख्नुभएको छ र सबै ठाउँका मानिसहरूलाई उपलब्ध गराउनुभएको छ। बाइबलले कुनै पनि कुरालाई जस्ताको तस्तै प्रकट गर्छ। यसले परमेश्‍वरका गुण, उद्देश्‍य र आज्ञाहरूका साथै मानिसजातिको वास्तविक अवस्था वर्णन गर्छ। येशूले प्रार्थनामा यहोवालाई यसो भन्‍नुभयो: “तपाईंको वचन सत्य हो।” (यूहन्‍ना १७:१७) यसैकारण बाइबल एउटा अनुपम पुस्तक हो। यही एउटा पुस्तक मात्र सर्वज्ञानी परमेश्‍वरको प्रेरणाद्वारा लेखिएको थियो। (२ तिमोथी ३:१६) यो मानिसजातिको लागि अमूल्य उपहार हो, जसलाई परमेश्‍वरका सेवकहरूले मूल्यवान्‌ ठान्छन्‌। हामीले यसलाई दिनहुँ पढ्‌नु बुद्धिमानी हुन्छ।

सत्यलाई पक्रिराख्नुहोस्‌

१४. यहोवाले गर्नेछु भनी बताउनुभएका केही कुरा के-के हुन्‌ र हामीले उहाँलाई किन विश्‍वास गर्नुपर्छ?

१४ यहोवाले आफ्नो वचनमा भन्‍नुहुने कुराहरूलाई हामीले गम्भीरतासाथ लिनुपर्छ। उहाँले आफू जो हुँ भन्‍नुहुन्छ त्यही हुनुहुन्छ र उहाँले जे गर्छु भन्‍नुहुन्छ त्यो गर्नुहुन्छ। हामीसित परमेश्‍वरमाथि भरोसा राख्ने हर कारण छ। “परमेश्‍वरलाई नचिन्‍नेहरूलाई, हाम्रा प्रभु येशूको सुसमाचार नमान्‍नेहरूलाई बदला” लिनेछु भनी यहोवाले भन्‍नुहुँदा हामीले यो कुरा विश्‍वास गर्न सक्छौं। (२ थिस्सलोनिकी १:८) यहोवाले धार्मिकताको पछि लाग्नेहरूलाई प्रेम गर्छु, विश्‍वास गर्नेहरूलाई अनन्त जीवन दिनेछु र पीडा, रुवाइ तथा मृत्यु हटाउनेछु भन्‍नुहुँदा हामी उहाँको त्यस वचनमाथि पनि विश्‍वास गर्न सक्छौं। प्रेरित यूहन्‍नालाई निम्न निर्देशन दिनुभएर यहोवाले यस अन्तिम प्रतिज्ञाको विश्‍वसनीयतामाथि जोड दिनुभयो: “लेख, किनकि यी कुराहरू विश्‍वासयोग्य र सत्य छन्‌।”—प्रकाश २१:४, ५; हितोपदेश १५:९; यूहन्‍ना ३:३६.

१५. शैतानले प्रवर्धन गर्ने केही झूटहरू के-के हुन्‌?

१५ शैतान यहोवाको ठीक विपरीत छ। ज्ञान दिनुको सट्टा उसले छक्याउँछ। मानिसहरूलाई साँचो उपासनाबाट तर्काउने आफ्नो लक्ष्य पूरा गर्न शैतानले झूटको जालो बुन्छ। उदाहरणका लागि, परमेश्‍वरले हाम्रो नजिक हुनुपर्ने आवश्‍यकता महसुस गर्नुहुन्‍न र उहाँ पृथ्वीको दुःख-कष्टप्रति संवेदनशील हुनुहुन्‍न भनी हामीले विश्‍वास गरोस्‌ भन्‍ने शैतान चाहन्छ। यद्यपि, यहोवाले आफ्ना प्राणीहरूको गहिरो चासो लिनुहुन्छ र खराबी तथा दुःख-कष्ट देखेर अफसोस गर्नुहुन्छ भनी बाइबलले देखाउँछ। (प्रेरित १७:२४-३०) आध्यात्मिक कुराहरूको पछि लाग्नु भनेको समयको बरबादी हो भनी मानिसहरूले विश्‍वास गरून्‌ भन्‍ने पनि शैतान चाहन्छ। यसको विपरीत धर्मशास्त्रले हामीलाई यस्तो आश्‍वासन दिन्छ: “तिमीहरूको काम र त्यो प्रेम, जो उहाँको नाउँतर्फ . . . तिमीहरूले देखाएका छौ, सो बिर्सनालाई परमेश्‍वर अधर्मी हुनुहुन्‍न।” अझ, “उहाँलाई खोज्नेहरूलाई प्रतिफल दिनुहुन्छ” भनेर धर्मशास्त्रले स्पष्टसित बताउँछ।—हिब्रू ६:१०; ११:६.

१६. मसीहीहरू किन चनाखो रहन र सत्यलाई पक्रिराख्नै पर्छ?

१६ शैतानको सन्दर्भमा प्रेरित पावलले यस्तो लेखे: “ख्रीष्ट, जो परमेश्‍वरको रूप हुनुहुन्छ, उहाँको महिमाको सुसमाचार तिनीहरूमाथि नचम्कोस्‌ भनेर यस संसारको देवले अविश्‍वासीहरूको समझशक्‍तिलाई अन्धा तुल्याइदिएको छ।” (२ कोरिन्थी ४:४) हव्वाजस्तै, शैतान अर्थात्‌ दियाबलद्वारा कोही-कोही पूरै छकिन्छन्‌। अरूले भने आदमको मार्ग पछ्याउँछन्‌, जो बहकिएका त थिएनन्‌ तर तिनले जानाजानी अनाज्ञाकारी हुन रोजे। (यहूदा ५, ११) त्यसकारण, मसीहीहरू चनाखो रहनु र सत्यलाई पक्रिराख्नु अत्यावश्‍यक छ।

यहोवा “निष्कपट विश्‍वास” चाहनुहुन्छ

१७. परमेश्‍वरको निगाह प्राप्त गर्न हामीले के गर्नै पर्छ?

१७ यहोवा आफ्ना सबै मार्गहरूमा सत्यवादी हुनुभएको कारण उहाँ आफ्नो उपासना गर्नेहरू पनि सत्यवादी भएको चाहनुहुन्छ। भजनहारले यस्तो लेखे: “हे परमप्रभु, तपाईंको बासस्थानमा कसले बास गर्न पाउनेछ? तपाईंको पवित्र डाँडामा को रहनपाउनेछ? त्यो, जो सोझो मनले हिंड्‌छ, र धर्म-कर्म गर्छ, र हृदयले सत्य बोल्छ।” (भजन १५:१, २) यहोवाको पवित्र डाँडाको उल्लेख गर्दा, यी शब्दहरू गाउने यहूदीहरूले पक्कै पनि सीनै पर्वत सम्झेको हुनुपर्छ, जहाँ राजा दाऊदले आफूले खडा गरेको पालमा करारको सन्दूक ल्याए। (२ शमूएल ६:१२, १७) त्यो पर्वत र पालले यहोवा लाक्षणिक तवरमा बास गर्नुहुने ठाउँको स्मरण गरायो। परमेश्‍वरको निगाहको लागि बिन्ती गर्न मानिसहरू त्यस ठाउँमा उहाँसामु जान सक्थे।

१८. (क) परमेश्‍वरसित मित्रता गाँस्न के आवश्‍यक छ? (ख) अर्को लेखमा कुन कुरा छलफल गरिनेछ?

१८ यहोवासित मित्रता गाँस्न चाहने जोसुकैले ओठले मात्र होइन “हृदयबाट” सत्य बोल्नै पर्छ। परमेश्‍वरका साँचो मित्रहरू इमानदार हृदयको हुनै पर्छ र “निष्कपट विश्‍वास[को]” प्रमाण दिनै पर्छ किनभने सत्य कामहरू हृदयभित्रबाटै आउँछन्‌। (१ तिमोथी १:५; मत्ती १२:३४, ३५) परमेश्‍वरको मित्र छक्का-पन्जा गर्ने वा छली हुँदैन किनभने “परमप्रभुले . . . छल गर्ने मानिसलाई घृणा गर्नुहुन्छ।” (भजन ५:६) सत्यवादी हुने सन्दर्भमा आफ्नो परमेश्‍वरको अनुकरण गर्न पृथ्वीभरिका यहोवाका साक्षीहरू कडा परिश्रम गर्छन्‌। अर्को लेखमा यस विषयबारे छलफल गरिनेछ।

तपाईं कसरी जवाफ दिनुहुन्छ?

• यहोवालाई किन सबै कुराबारे सत्य थाह छ?

• यहोवा सत्यवादी हुनुहुन्छ भनेर कुन कुराले देखाउँछ?

• यहोवाले कसरी सत्य प्रकट गर्नुभएको छ?

• सत्यको सन्दर्भमा हामीले के गर्नु आवश्‍यक छ?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ १०-मा भएका चित्रहरू]

सत्यका परमेश्‍वरलाई आफूले गर्नुभएको सृष्टिबारे सबै कुरा थाह छ

[पृष्ठ १२, १३-मा भएका चित्रहरू]

यहोवाका प्रतिज्ञाहरू वास्तविकतामा परिणत हुनेछन्‌