सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के तपाईंलाई सम्झना छ?

के तपाईंलाई सम्झना छ?

के तपाईंलाई सम्झना छ?

के तपाईंले प्रहरीधरहरा पत्रिकाका हालैका अंकहरू पढेर आनन्द उठाउनुभयो? उसोभए, तपाईं निम्न प्रश्‍नहरूको जवाफ दिन सक्नुहुन्छ कि:

रूथले बसालेकी असल उदाहरणका केही पक्षहरू के-के हुन्‌?

रूथ यहोवाप्रतिको प्रेम, नाओमीप्रतिको वफादारीता र परिश्रमी अनि नम्रता जस्ता गुणहरू प्रदर्शन गर्ने सन्दर्भमा उदाहरणीय थिइन्‌। मानिसहरूले तिनलाई “गुणवती” स्त्रीको रूपमा हेर्नुका पछाडि प्रशस्त जायज कारणहरू छन्‌। (रूथ ३:११)—४/१५, पृष्ठहरू २३-६.

यहोवाले साधारण मानिसहरूको ख्याल राख्नुहुन्छ भन्‍ने कुरा हामी कसरी थाह पाउँछौं?

इस्राएलीहरू जसले मिश्रमा निर्दयी व्यवहार भोग्नुपरेका थिए, तिनीहरूलाई परमेश्‍वरले समाजमा आफ्नो हक र सुविधा पाउन नसकेका वर्गहरूलाई नसताओ भनी भन्‍नुभयो। (प्रस्थान २२:२१-२४) आफ्नो पिताको दुरुस्त अनुकरण गर्ने येशूले साधारण मानिसहरूलाई साँचो चासो देखाउनुभयो र उहाँले “अपठित र अजान[हरूलाई]” प्रेरित पुरुषहरूको रूपमा छान्‍नुभयो। (प्रेरित ४:१३; मत्ती ९:३६) हामीले अरू मानिसहरू जस्तै जवानहरूलाई चासो देखाएर परमेश्‍वरको अनुकरण गर्न सक्छौं।—४/१५, पृष्ठहरू २८-३१.

हाम्रा कामकुराहरूलाई यहोवाले याद गर्नुहुन्छ भनी विश्‍वास गर्ने हामीसित के आधार छ?

यहोवाले मानवजातिका उपलब्धिहरूलाई याद गर्नुहुन्छ भनी बाइबल विवरणहरूले देखाउँछ। उहाँले, हाबिलले चढाएको बलिदानलाई याद गर्नुभयो अनि हामीले ‘चढाएको स्तुतिको बलिदान अर्थात्‌ ओठको फललाई’ पनि याद गर्नुहुन्छ। (हिब्रू १३:१५) हनोकले स्वच्छ, नैतिक जीवन बिताएर उहाँलाई प्रसन्‍न तुल्याउन हरसम्भव प्रयत्न गरेको कुरा यहोवाको नजरबाट लुकेको थिएन। अनि सारपतका एक गैर-इस्राएली विधवाले कसरी आफूसित भएको थोरैबाट अगमवक्‍ता एलियालाई दिइन्‌ भन्‍ने कुरालाई पनि परमेश्‍वरले याद गर्नुभयो। यहोवाले हाम्रा विश्‍वासी कार्यहरूलाई पनि याद गर्नुहुन्छ।—५/१, पृष्ठहरू २८-३१.

सा.यु. ३३ पेन्तिकोसपछि मसीही भएका यहूदीहरूले परमेश्‍वरलाई व्यक्‍तिगत रूपमा समर्पण गर्नु आवश्‍यक थियो भनी हामी किन भन्‍न सक्छौं?

सा.यु.पू. १५१३ मा पुरातन इस्राएलले यहोवासित समर्पित सम्बन्ध गाँसे। (प्रस्थान १९:३-८) उपरान्त यहूदीहरू व्यवस्थाको करारअन्तर्गत उक्‍त समर्पित राष्ट्रमा जन्मे। तर सा.यु. ३३ मा ख्रीष्टको मृत्युद्वारा यहोवाले व्यवस्थाको करार खारेज गर्नुभयो। (कलस्सी २:१४) त्यसपछि परमेश्‍वरलाई स्वीकार्य सेवा चढाउन चाहने यहूदीहरूले उहाँलाई समर्पण गर्नु र येशूको नाउँमा बप्तिस्मा लिनु आवश्‍यक पऱ्‍यो।—५/१५, पृष्ठहरू ३०-१.

के आज साँचो उपासनामा धूप बाल्नुको कुनै स्थान छ?

पुरातन इस्राएलमा धूपको प्रयोग गर्नु साँचो उपासनाको भाग थियो। (प्रस्थान ३०:३७, ३८; लेवी १६:१२, १३) तर ख्रीष्टको मृत्युसँगै व्यवस्थाको करार अनि धूपको प्रयोग गर्ने प्रचलन खारेज भयो। गैर-धार्मिक उद्देश्‍यको लागि धूपको प्रयोग गर्ने वा नगर्ने भन्‍ने सन्दर्भमा मसीहीहरूले निर्णय गर्न सक्छन्‌, तर धूप बाल्नु आज साँचो उपासनाको भाग होइन। यस सन्दर्भमा अरूको ठोकरको कारण नबन्‍न अरूको भावनालाई पनि ख्याल गर्नुपर्छ।—६/१, पृष्ठहरू २८-३०.

हालैका कस्ता समाचारहरूले पृथ्वीमा येशूको अस्तित्व थियो भन्‍ने वास्तविकताबारे मानिसहरूलाई अझ बढी सोच्न उत्प्रेरित गरेको छ?

इजरायलमा भेट्टाइएको अस्थिबाकसबारे धेरै प्रचारप्रसार भएको छ। प्रथम शताब्दीदेखि नै यसको अस्तित्व रहेको पाइन्छ र यस अस्थिबाकसमा यस्ता अरामी अक्षरहरू कुँदिएका छन्‌: “यूसुफको छोरा र येशूको भाइ, याकूब।” कसै-कसैले यसलाई “बाइबलबाहेक येशू ख्रीष्टको अस्तित्वको सबैभन्दा पुरानो प्रमाण” ठान्छन्‌।—६/१५, पृष्ठ ३-४.

मानिसले कसरी प्रेम गर्न सिक्छन्‌?

मानिसहरूले सबैभन्दा पहिले आफ्ना आमाबाबुको उदाहरण र प्रशिक्षणबाट प्रेम गर्न सिक्छन्‌। पति र पत्नीले आपसमा प्रेम र आदर देखाउँदा बच्चाहरूले प्रेम गर्न सिक्छन्‌। (एफिसी ५:२८; तीतस २:४) कुनै व्यक्‍ति मायालु परिवारबाट नआएको भए तापनि यहोवाले, बुबाले जस्तै दिनुहुने मायालु निर्देशनलाई स्वीकारेर, पवित्र आत्माको मदत पाएर अनि मसीही भ्रातृत्वको आत्मीय सहयोगबाट लाभ उठाएर प्रेम गर्न सिक्न सक्छन्‌।—७/१, पृष्ठहरू ४-७.

युसिबियस को थिए र उनको जीवनबाट हामी कस्तो पाठ सिक्न सक्छौं?

युसिबियस सा.यु. ३२४-का एक पुरातन इतिहासकार थिए जसले हिस्ट्री अफ द क्रिश्‍चियन चर्च शीर्षकको दस खण्डे पुस्तक लेखे। उनले पुत्रभन्दा पहिल्यै पिताको अस्तित्व छ भन्‍ने कुरा विश्‍वास गरे तापनि नाइसिया परिषद्‌मा आफ्नो भन्दा विपरीत विचारधारालाई समर्थन गरे। स्पष्टतः युसिबियसले ‘संसारको भाग नहुनु’ भनी येशूले आफ्ना अनुयायीहरूलाई दिनुभएको आदेशलाई बेवास्ता गरे। (यूहन्‍ना १७:१६)—७/१५, पृष्ठहरू २९-३१.

के यहोवाले बहुविवाहसम्बन्धी आफ्नो दृष्टिकोण परिवर्तन गर्नुभएको छ?

अहँ छैन, यहोवाले बहुविवाहसम्बन्धी आफ्नो दृष्टिकोण परिवर्तन गर्नुभएको छैन। (मलाकी ३:६) यहोवाले प्रथम पुरुषको लागि ‘स्वास्नीसँग मिलिरहनु’ र एउटै जीउ हुनुपर्ने प्रबन्ध गर्नुभएको थियो। (उत्पत्ति २:२४) व्यभिचारको कारणबाहेक अन्य कारणले छुटानाम गर्ने र यसरी छुटानाम गरेर पुनर्विवाह गर्नेले आफैलाई व्यभिचारी तुल्याउँछ भनी येशूले भन्‍नुभयो। (मत्ती १९:४-६, ९) मसीही मण्डलीको स्थापनासँगसँगै बहुविवाह गर्ने प्रचलनलाई यहोवाले अन्त गर्नुभयो।—८/१, पृष्ठ २८.