सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवा हामीबाट के आशा गर्नुहुन्छ?

यहोवा हामीबाट के आशा गर्नुहुन्छ?

यहोवा हामीबाट के आशा गर्नुहुन्छ?

“परमप्रभुले तँबाट के चाहनुहुन्छ? केवल यति, कि न्याय गर्नू, दया गर्नू [ “दयालाई प्रेम गर्नू,” NW], र तेरा परमेश्‍वरसित नम्र भएर हिंड़नू।”—मीका ६:८.

१, २. यहोवाका कोही-कोही सेवकहरू किन निराश हुन सक्छन्‌ तर कुन कुरा मदतकारी साबित हुनुपर्छ?

 भेरा लगभग ७५ वर्ष पुगेकी तथा अस्वस्थ एक विश्‍वासी मसीही हुन्‌। तिनी यसो भन्छिन्‌: “झ्यालबाट बाहिर हेर्दा कहिलेकाहीं म आफ्ना मसीही भाइबहिनीहरू घरघर प्रचार गइरहेको देख्छु। यो देख्दा मेरो आँखामा आँसु भरिन्छ किनभने म पनि तिनीहरूसँगै जान चाहन्छु तर बिरामी अवस्थाले गर्दा यहोवाप्रतिको मेरो सेवा सीमित भएको छ।”

के तपाईंले कहिल्यै यस्तै महसुस गर्नुभएको छ? निस्सन्देह, यहोवालाई प्रेम गर्नेहरू सबै उहाँको नाउँमा हिंड्‌न र उहाँका आवश्‍यकताहरू पूरा गर्न चाहन्छन्‌? यद्यपि, हाम्रो स्वास्थ्य खस्कँदो छ, उमेर ढल्कँदो छ र पारिवारिक जिम्मेवारीहरू छन्‌ भने नि? हामी केही हदसम्म निराश हुन सक्छौं किनभने यस्ता परिस्थितिहरूले हामीलाई परमेश्‍वरको सेवा हाम्रो हृदयले चाहे जति गर्न नदिन सक्छ। हाम्रो अवस्था यस्तो छ भने, मीका अध्याय ६ र विचार गर्नु निकै प्रोत्साहनदायी साबित हुन सक्छ। यी अध्यायहरूले यहोवाका आवश्‍यकताहरू व्यावहारिक तथा हामीले पूरा गर्न सक्ने छन्‌ भनेर देखाउँछ।

परमेश्‍वरले आफ्ना जनहरूसित कस्तो व्यवहार गर्नुहुन्छ

३. विद्रोही इस्राएलीहरूसित यहोवा कस्तो व्यवहार गर्नुहुन्छ?

सर्वप्रथम, मीका ६:३-५ हेरौं र यहोवाले आफ्ना जनहरूसित कस्तो व्यवहार गर्नुहुन्छ, त्यसमा ध्यान देऔं। नबिर्सनुहोस्‌, मीकाको समयका इस्राएलीहरू विद्रोही छन्‌। तैपनि, यहोवाले तिनीहरूलाई यस्तो मायालु ढंगमा सम्बोधन गर्नुहुन्छ: “हे मेरो प्रजा।” उहाँ यस्तो बिन्ती गर्नुहुन्छ: “हे मेरो प्रजा . . . त्यो सम्झ।” यहोवाले कठोर भई तिनीहरूमाथि आरोप लगाउनुको साटो तिनीहरूको हृदयसम्म पुग्ने प्रयास गर्दै यस्तो प्रश्‍न सोध्नुहुन्छ, “मैले तिमीहरूलाई के गरें?” उहाँले तिनीहरूलाई “जवाफ” दिन प्रोत्साहन समेत दिनुहुन्छ।

४. परमेश्‍वरले बसाल्नुभएको अनुकम्पाको उदाहरणले हामीलाई कस्तो असर गर्नुपर्छ?

परमेश्‍वरले हामी सबैको लागि कस्तो राम्रो उदाहरण बसाल्नुहुन्छ! उहाँले मीकाको समयको इस्राएल र यहूदाका विद्रोही मानिसहरूलाई समेत अनुकम्पासाथ “मेरो प्रजा” भन्‍नुभयो अनि तिनीहरूलाई आग्रह गर्नुभयो। निस्सन्देह, त्यसो हो भने हाम्रो मण्डलीको भाग भएका व्यक्‍तिहरूसित व्यवहार गर्दा हामीले अनुकम्पा र दया अवश्‍य देखाउनुपर्छ। हुन त हो, कसै-कसैसित व्यवहार गर्न सजिलो हुँदैन वा तिनीहरू आध्यात्मिक तवरमा कमजोर होलान्‌। तथापि, तिनीहरू यहोवालाई प्रेम गर्छन्‌ भने हामी तिनीहरूलाई मदत गर्न र अनुकम्पा देखाउन चाहन्छौं।

५. मीका ६:६, ७ मा कस्तो आधारभूत बुँदा बताइएको छ?

अब, मीका ६:६, ७ पल्टाऔं। मीकाले यसरी एकपछि अर्का प्रश्‍नहरू सोध्छन्‌: “के लिएर म परमप्रभुको सामु आऊँ, र सर्वोच्च परमेश्‍वरको सामने निउरूँ? के एक वर्षे बाछा लिएर होमबलि चढ़ाउनलाई म उहाँको सामु आऊँ? के परमप्रभु हजारौं भेड़ाहरू र तेलका लाखौं नदीसित प्रसन्‍न हुनुहुन्छ? के म आफ्नो अपराधको लागि आफ्नो जेठो छोरोलाई दिऊँ, मेरो प्राणको पापको लागि मेरो शरीरको फललाई दिऊँ?” यहोवालाई “हजारौं भेडाहरू र तेलका लाखौं नदी” चढाएर प्रसन्‍न तुल्याउन सकिंदैन। तर उहाँलाई प्रसन्‍न तुल्याउने केही कुरा छ। त्यो के हो?

हामीले न्याय गर्नै पर्छ

६. मीका ६:८ मा कुन तीनवटा ईश्‍वरीय आवश्‍यकता उल्लेख गरिएको छ?

मीका ६:८ मा यहोवा हामीबाट के आशा गर्नुहुन्छ भनी सिक्छौं। मीका यस्तो प्रश्‍न गर्छन्‌: “परमप्रभुले तँबाट के चाहनुहुन्छ? केवल यति, कि न्याय गर्नू, दया गर्नू [“दयालाई प्रेम गर्नू,” NW ], र तेरा परमेश्‍वरसित नम्र भएर हिंड़नू।” यी तीनवटा आवश्‍यकतामा हामी कस्तो महसुस गर्छौं, कस्तो सोच्छौं र कस्तो व्यवहार गर्छौं भन्‍ने कुरा समावेश छन्‌। हामी यी गुणहरू देखाउन इच्छुक हुनै पर्छ, यसलाई कसरी प्रकट गर्ने भनी सोच्नै पर्छ र ती प्रदर्शन गर्नको लागि कदम चाल्नै पर्छ। आउनुहोस्‌, हामी यी तीनवटा आवश्‍यकता एक-एक गरेर विचार गरौं।

७, ८. (क) “न्याय गर्नू” भनेको के हो? (ख) मीकाको समयमा कस्ता अन्यायहरू व्याप्त छन्‌?

“न्याय गर्नू” भनेको जे सही छ, त्यही गर्नु हो। कामकुरा गर्ने परमेश्‍वरको तौरतरिका नै न्यायको स्तर हो। तथापि, मीकाका समकालीनहरूले न्याय होइन तर अन्याय गरे। कुन तरिकामा? मीका ६:१० विचार गर्नुहोस्‌। त्यो पदको अन्तमा व्यापारीहरूले “अल्प तौल” प्रयोग गरेको कुरा बताइएको छ, त्यो एकदमै सानो नाप हो। पद ११ ले बताएअनुसार तिनीहरू “छलको ढकको थैलो” प्रयोग गर्छन्‌। अनि पद १२ अनुसार “तिनीहरूका छली जिब्राहरू छन्‌।” यसकारण मीकाको समयको आर्थिकजगत्‌मा गलत नाप, गलत तौल र गलत बोली व्याप्त छन्‌।

अन्यायपूर्ण व्यवहार बजारमा मात्र सीमित छैन। ती अदालतमा पनि देखिन्छन्‌। मीका ७:३ ले बताएझैं “शासकहरू र न्यायकर्त्ताहरू घूस माग्दछन्‌।” निर्दोष व्यक्‍तिहरूमाथि अन्यायपूर्ण सजाय सुनाउन लगाउन न्यायकर्ताहरूलाई घूस दिइन्छ। “ठूला मानिसहरू” वा प्रभावशाली नागरिकहरू अपराधमा संलग्न हुन्छन्‌। वास्तवमा, मीकाले बताएअनुसार शासक, न्यायकर्ता र ठूला मानिसहरू दुष्ट कार्यहरू गर्न “एकसाथ सँगै युक्‍ति” रच्दछन्‌।

९. दुष्टहरूले गरेका अन्यायबाट यहूदा र इस्राएल कसरी प्रभावित छन्‌?

दुष्ट नेताहरूले गरेका अन्यायबाट सम्पूर्ण यहूदा र इस्राएल प्रभावित छ। मीका ७:५ ले टिप्पणी गरेअनुसार न्यायको अभावले गर्दा साथीभाइ, हितैषी मित्र र दम्पतीबीच समेत भरोसाको कमी भएको छ। पद ६ ले संकेत गरेझैं यस्तो परिस्थितिले गर्दा बुबा र छोरा, आमा र छोरीजस्तो घनिष्ठ सम्बन्ध भएकाहरूले पनि एक-अर्कालाई घृणा गर्ने अवस्था सृजना भएको छ।

१०. अन्यायको वातावरण छाएको वर्तमान समयमा मसीहीहरू कसरी चल्छन्‌?

१० आज नि? के हामी त्यस्तै अवस्था देख्दैनौं र? मीकाजस्तै हामी पनि न्यायको अभाव, भरोसा गर्न नसकिने वातावरण र सामाजिक तथा पारिवारिक जीवन टुक्रँदै गइरहेको अवस्थामा बाँचिरहेका छौं। यद्यपि, यस अभक्‍त संसारमा बाँचिरहेका परमेश्‍वरका सेवकहरूको हैसियतमा हामी यस संसारको अन्यायपूर्ण व्यवहार मसीही मण्डलीमा घुस्न दिंदैनौं। बरु, हामी इमानदारी र निष्ठाजस्ता सिद्धान्तहरू पालन गरेर यी गुणहरू दैनिक जीवनमा व्यवहारमा उतार्ने कोसिस गर्छौं। वास्तवमा, हामी “सबै कुरामा इमान्दारीसाथ” चल्छौं। (हिब्रू १३:१८) न्यायपूर्ण व्यवहार गर्दा हामी आपसमा साँचो भरोसा देखाउने भ्रातृत्वबाट प्राप्त हुने प्रचुर आशिष्‌को आनन्द उठाउँछौं भन्‍ने कुरामा के तपाईं सहमत हुनुहुन्‍न र?

मानिसहरूले कसरी यहोवाको ‘बोलावट’ सुन्छन्‌

११. मीका ७:१२ कसरी पूरा भइरहेको छ?

११ अन्यायपूर्ण अवस्थाको बावजुद सबै मानिसहरूकहाँ न्याय पुग्नेछ भनेर मीका भविष्यवाणी गर्छन्‌। अगमवक्‍ताले “समुद्रदेखि लिएर समुद्रसम्मका र पर्वतदेखि पर्वतसम्मका” मानिसहरू यहोवाको उपासक हुन जम्मा हुनेछन्‌ भनेर भविष्यवाणी गर्छन्‌। (मीका ७:१२) आज, यो भविष्यवाणीको अन्तिम पूर्तिअनुरूप एउटा खास राष्ट्र मात्र होइन तर सबै राष्ट्रका मानिसहरूले परमेश्‍वरको निष्पक्ष न्यायबाट लाभ उठाइरहेका छन्‌। (यशैया ४२:१) यो कसरी सत्य साबित भइरहेको छ?

१२. आज कसरी यहोवाको ‘बोलावट’ सुनिंदैछ?

१२ जवाफको लागि मीकाले यसभन्दा पहिले नै बताइसकेका शब्दहरू विचार गर्नुहोस्‌। मीका ६:९ (नयाँ संशोधित संस्करण) यसो भन्छ: “शहरलाई परमप्रभु बोलाउँदैहुनुहुन्छ—तपाईंका नाउँको भय मान्‍नु ज्ञान हो।” सबै राष्ट्रका मानिसहरूले कसरी यहोवाको ‘बोलावट’ सुन्छन्‌ र यो हामीले न्याय गर्नुसित कसरी सम्बन्धित छ? निस्सन्देह, आज मानिसहरूले शाब्दिक अर्थमा परमेश्‍वरको बोलावट सुन्दैनन्‌। तथापि, हाम्रो विश्‍वव्यापी प्रचारकार्यद्वारा सबै जाति र वर्गका मानिसहरूले यहोवाको बोलावट सुनिरहेका छन्‌। फलस्वरूप, सुन्‍नेहरूले परमेश्‍वरको “नाउँको भय” मान्छन्‌, यसप्रति श्रद्धा देखाउँछन्‌। परमेश्‍वरको राज्यका जोसिला उद्‌घोषकहरूको हैसियतमा सेवा गरेर हामी साँच्चै न्यायी तथा मायालु ढंगमा चलिरहेका छौं। निष्पक्ष भई सबैलाई परमेश्‍वरको नाउँबारे सुनाएर हामी ‘न्याय गर्छौं।’

हामीले दयालाई प्रेम गर्नै पर्छ

१३. करुणा र प्रेमबीच कस्तो भिन्‍नता छ?

१३ त्यसपछि, मीका ६:८ मा उल्लेख गरिएको दोस्रो आवश्‍यकताबारे छलफल गरौं। हामीले “दयालाई प्रेम” गरेको यहोवा आशा गर्नुहुन्छ। “दया” भनेर अनुवाद गरिएको हिब्रू शब्दलाई “करुणा” वा “वफादार प्रेम” भनेर पनि अनुवाद गरिएको छ। करुणा भनेको अरूप्रति ध्यान दिन सजग हुनु, तिनीहरूप्रति अनुकम्पापूर्ण चासो देखाउनु हो। करुणा र प्रेमबीच भिन्‍नता छ। कसरी? “प्रेम” व्यापक अर्थ भएको पदावली हो र यो, वस्तु वा धारणालाई पनि गर्न सकिने गुण हो। उदाहरणको लागि, धर्मशास्त्रले “संसारलाई प्रेम” गर्ने र “बुद्धि प्रेम गर्ने” व्यक्‍तिबारे बताउँछ। (१ यूहन्‍ना २:१५; हितोपदेश २९:३) अर्कोतिर, “करुणा” भन्‍ने गुण देखाउँदा सधैं मानिसहरू र अझ विशेष गरी परमेश्‍वरको सेवा गर्ने व्यक्‍तिहरू समावेश हुन्छन्‌। त्यसकारण मीका ७:२० मा यहोवा परमेश्‍वरको सेवा गर्ने मानिस “अब्राहाममाथि करुणा” देखाइयो भनी बताइएको छ।

१४, १५. करुणा कसरी देखाइन्छ र यसको कस्तो उदाहरण दिइएको छ?

१४ मीका ७:१८ अनुसार अगमवक्‍ताले परमेश्‍वर “दया गर्न [“करुणा देखाउन,” NW] रूचाउनुहुन्छ” भनी बताउँछन्‌। मीका ६:८ मा हामीलाई करुणा देखाउन मात्र होइन तर त्यो गुणलाई प्रेम गर्न भनिएको छ। हामी यी शास्त्रपदहरूबाट के सिक्छौं? करुणा भनेको स्वेच्छाले र खुला मनले देखाइन्छ किनभने हामी यो देखाउन चाहन्छौं। यहोवाजस्तै हामी खाँचोमा परेकाहरूलाई करुणा देखाउन पाउँदा रमाउँछौं वा खुसी हुन्छौं।

१५ आज, त्यस्तो करुणा परमेश्‍वरका जनहरूको चिनारी हो। एउटा उदाहरण विचार गर्नुहोस्‌। जून २००१ मा समुद्री आँधीले स.रा.अ.-को टेक्सस प्रान्तमा ठूलो बाढी ल्यायो र त्यसले हजारौं घरहरूलाई क्षति पुऱ्‍यायो र यसमध्ये सयौं घर यहोवाका साक्षीहरूको पनि थियो। खाँचोमा परेका मसीही भाइहरूलाई मदत गर्न लगभग १०,००० साक्षीहरूले स्वेच्छाले अनि निश्‍शुल्क आफ्नो समय र शक्‍ति खर्च गरे। छ महिनाभन्दा लामो समयसम्म स्वयंसेवकहरूले आरामै नगरी दिनरात, सप्ताहन्तमा पनि काम गरेर ८ वटा राज्यभवन तथा आफ्ना मसीही भाइहरूको लागि ७०० वटा घर पुनर्निर्माण गरिदिए। त्यस्तो कार्यमा भाग लिन नसक्नेहरूले भोजन, सरसामान र पैसा चन्दा दिए। आफ्ना भाइहरूलाई मदत गर्न यी हजारौं साक्षीहरू आउनुको कारण के थियो? तिनीहरू “दयालाई प्रेम” गर्छन्‌। अनि विश्‍वभरिका हाम्रा भाइहरूले त्यस्तो करुणा देखाउँछन्‌ भनेर थाह पाउनु कस्तो हृदयस्पर्शी कुरा हो! हो, “दयालाई प्रेम गर्नू” भन्‍ने आवश्‍यकता पूरा गर्नु बोझ होइन, आनन्द हो!

परमेश्‍वरसित नम्र भएर हिंड्‌नुहोस्‌

१६. कुन दृष्टान्तले हामीलाई परमेश्‍वरसित नम्र भएर हिंड्‌नुको आवश्‍यकताबारे अझ राम्रोसित बुझ्न मदत गर्छ?

१६ मीका ६:८ मा पाइने तेस्रो आवश्‍यकता हो, “परमेश्‍वरसित नम्र भएर हिंड्‌नू।” यसको मतलब हो, आफ्नो सीमा बुझेर परमेश्‍वरमा भरोसा राख्नु। उदाहरणका लागि: हुरीबतासको बेला एउटी सानी केटीले आफ्नो बुबाको हात च्याप्प समातेर हिंडिरहेको कल्पना गर्नुहोस्‌। केटीलाई आफ्नो बल सीमित छ भनेर थाह छ तर उनलाई आफ्नो बुबामा पूरा भरोसा छ। हामीले पनि आफ्नो सीमा बुझ्नुपर्छ तर स्वर्गमा हुनुहुने हाम्रो पितामा भरोसा राख्नुपर्छ। हामी यस्तो भरोसा कसरी कायम राख्न सक्छौं? एउटा कुरा, परमेश्‍वरसित घनिष्ठ हुनु किन बुद्धिमानी हो भनी मनमा राखेर। मीका हामीलाई तीनवटा कारण सम्झाउँछन्‌: यहोवा हाम्रो उद्धारक, हाम्रो मार्ग निर्देशक र हाम्रो संरक्षक हुनुहुन्छ।

१७. यहोवाले पुरातन समयका आफ्ना जनहरूलाई कसरी उद्धार गर्नुभयो, मार्ग निर्देशन दिनुभयो र संरक्षण गर्नुभयो?

१७ मीका ६:४, ५ अनुसार, परमेश्‍वर यसो भन्‍नुहुन्छ: “मैले तिमीहरूलाई मिश्र देशदेखि ल्याएँ।” हो, यहोवा इस्राएलको उद्धारक हुनुहुन्थ्यो। यहोवा अझ यसो भन्‍नुहुन्छ: “तिमीहरूका अगुवा हुनलाई मोशा, हारून र मरियमलाई मैले पठाएँ।” त्यस राष्ट्रलाई डोऱ्‍याउन मोशा र हारूनलाई चलाइयो अनि मरियमले इस्राएलका स्त्रीहरूलाई विजय नाचमा अगुवाइ गरिन्‌। (प्रस्थान ७:१, २; १५:१, १९-२१; व्यवस्था ३४:१०) यहोवाले आफ्ना सेवकहरूमार्फत डोऱ्‍याइ प्रदान गर्नुभयो। पद ५ मा यहोवाले इस्राएल राष्ट्रलाई बालाक र बिलामबाट सुरक्षा दिनुभएको र तिनीहरूले यात्राको बीट मार्नै लाग्दा उहाँले मोआबको शित्तीमदेखि प्रतिज्ञा गरिएको देशको गिलगालसम्मै सुरक्षा प्रदान गर्नुभएको कुरा सम्झना गराउनुहुन्छ।

१८. आज परमेश्‍वरले कसरी हाम्रो उद्धारक, मार्ग निर्देशक र संरक्षकको रूपमा काम गर्नुहुन्छ?

१८ हामी यहोवा सँगसँगै हिंड्‌दा उहाँले हामीलाई शैतानको संसारबाट उद्धार गर्नुहुन्छ, उहाँको वचन र संगठनमार्फत निर्देशन दिनुहुन्छ अनि विरोधीहरूको आक्रमणमा पर्दा सामूहिक तवरमा हाम्रो सुरक्षा गर्नुहुन्छ। त्यसकारण हामीले हुरीबतासमाझ यात्राको बीट मारेर प्रतिज्ञा गरिएको देशभन्दा उत्तम कुरा अर्थात्‌ परमेश्‍वरको धार्मिक नयाँ संसारमा प्रवेश गर्नै लाग्दा स्वर्गमा हुनुहुने पिताको हात च्याप्प समाएर हिंड्‌नुपर्ने ठोस कारण छ।

१९. कुन तरिकामा नम्रता हाम्रो सीमिततासित सम्बन्धित छ?

१९ परमेश्‍वरसित नम्र भएर हिंड्‌दा आफ्नो परिस्थितिबारे व्यावहारिक दृष्टिकोण राख्न मदत गर्छ। किनभने नम्रता देखाउनुमा आफ्ना सीमितताहरूप्रति सजग हुनु समावेश छ। ढल्कँदो उमेर वा अस्वस्थताले यहोवाको सेवामा हामीले गर्न सक्ने कामलाई सीमित पार्न सक्छ। तथापि, यसको कारण निराश हुनुको सट्टा परमेश्‍वरले हाम्रो प्रयास र त्यागहरू ‘हामीसित भएअनुसार’ ग्रहण गर्नुहुन्छ, ‘तर हामीसित नभएअनुसार’ होइन भन्‍ने कुरा सम्झनु बेस हुन्छ। (२ कोरिन्थी ८:१२) निस्सन्देह, आफ्नो परिस्थितिले भ्याएजति पूरा तनमनले उहाँको सेवा गरेको यहोवा चाहनुहुन्छ। (कलस्सी ३:२३) परमेश्‍वरको सेवामा हामीले उत्कट भई जोसका साथ यथाशक्य गर्दा उहाँले हामीलाई प्रशस्त आशिष्‌ दिनुहुन्छ।—हितोपदेश १०:२२.

पर्खने मनोवृत्तिले आशिष्‌ ल्याउँछ

२०. कुन कुराबारे सजग हुँदा यसले हामीलाई मीकाको जस्तै पर्खने मनोवृत्ति प्रदर्शन गर्न मदत दिन्छ?

२० यहोवाको आशिष्‌ महसुस गर्दा हामी मीकाको मनोभाव अनुकरण गर्न उत्प्रेरित हुन्छौं। तिनी यस्तो घोषणा गर्छन्‌: “मलाई बचाउनुहुने परमेश्‍वरको बाटो म हेर्नेछु [“पर्खने मनोवृत्ति देखाउनेछु,” NW]।” (मीका ७:७) ती शब्दहरू कसरी हामी परमेश्‍वरसित नम्र भएर हिंड्‌नुसित सम्बन्धित छ? पर्खने मनोभाव वा धीरज देखाउँदा यहोवाको दिन अहिलेसम्म नआएकोमा हामी निरुत्साहित हुँदैनौं। (हितोपदेश १३:१२) कुरा नलुकाई भन्‍ने हो भने, हामी सबै यो दुष्ट संसारको अन्त भएको हेर्न तीव्र इच्छा गर्छौं। तथापि, हरेक हप्ता हजारौं मानिसहरू भर्खरै परमेश्‍वरसित हिंड्‌न थालेका छन्‌। यो कुरा थाह पाउँदा हामीले पर्खने मनोवृत्ति देखाउने कारण पाउँछौं। यस सन्दर्भमा एक जना पुराना साक्षीले यसो भने: “प्रचारकार्यमा मैले बिताएको ५५ वर्षलाई फर्केर हेर्दा यहोवामा पर्खेर बस्दा मैले केही पनि गुमाइनँ भन्‍ने कुरामा म विश्‍वस्त छु। त्यसको ठीक विपरीत, म धेरै पीडाहरूबाट बच्न सकें।” के तपाईंले पनि यस्तै अनुभव गर्नुभएको छ?

२१, २२. हाम्रो समयमा मीका ७:१४ कसरी पूरा भइरहेको छ?

२१ यहोवासित हिंड्‌दा हाम्रै फाइदा हुन्छ भन्‍ने कुरामा कुनै शंका छैन। मीका ७:१४ ले देखाएअनुसार मीकाले परमेश्‍वरका जनहरूलाई गोठालोसँगै सुरक्षित महसुस गरेर बसिरहेका भेडासित तुलना गर्छन्‌। यस भविष्यवाणीको बृहत्‌ पूर्तिमा आज आध्यात्मिक इस्राएलको शेष जन तथा “अरू भेडा[ले]” आफ्नो भरोसायोग्य गोठालो, यहोवामा सुरक्षा पाउँछन्‌। तिनीहरू यस संकटग्रस्त र खतरनाक संसारबाट आध्यात्मिक तवरमा अलग्गै “जंगलका सूनसान पाखा पखेरूमा” बस्छन्‌।—यूहन्‍ना १०:१६; व्यवस्था ३३:२८; यर्मिया ४९:३१; गलाती ६:१६.

२२ मीका ७:१४ ले भविष्यवाणी गरेझैं यहोवाका जनहरूको संवृद्धि भइरहेको छ। परमेश्‍वरका भेडा वा जनबारे मीका यसो भन्छन्‌: “तिनीहरू . . . बाशान र गिलादमा चरून्‌।” बाशान र गिलादका भेडाहरू उर्वर चरनमा चरेर फस्टाएझैं परमेश्‍वरका जनले आज आध्यात्मिक संवृद्धिको आनन्द उठाइरहेका छन्‌ र परमेश्‍वरसित हिंड्‌नेहरूका लागि त्यो अर्को आशिष्‌ हो।—गन्ती ३२:१; व्यवस्था ३२:१४.

२३. मीका ७:१८, १९ विचार गर्दा हामी कस्तो पाठ सिक्न सक्छौं?

२३ मीका ७:१८, १९ मा अगमवक्‍ताले पश्‍चात्ताप गर्नेहरूलाई क्षमा दिने यहोवाको इच्छा प्रकाश पार्छन्‌। पद १८ ले यहोवा ‘अधर्म क्षमा गर्नुहुन्छ’ र ‘अपराध छोडिदिनुहुन्छ’ भनेर बताउँछ। पद १९ अनुसार उहाँले “सबै पाप समुद्रको गहराइमा फालिदिनुहुन्छ।” हामीले यसबाट सिक्न सक्ने एउटा पाठ के हो? हामीले यस सन्दर्भमा यहोवाको अनुकरण गरिरहेका छौं कि छैनौं भनेर आफैलाई प्रश्‍न सोध्न सक्छौं। के अरूले हामी विरुद्ध गल्ती गर्दा क्षमा गर्छौं? त्यस्तो गल्ती गर्ने व्यक्‍तिले पश्‍चात्ताप गरेर मिल्न खोज्दा पक्कै पनि हामी यहोवाको देखासिकी गर्दै पूर्णतया अनि सधैंको लागि क्षमा गर्न तयार हुनेछौं।

२४. तपाईंले मीकाको भविष्यवाणीबाट कसरी लाभ उठाउनुभयो?

२४ मीकाको भविष्यवाणीबारे यो छलफलबाट हामीले कसरी लाभ उठाएका छौं? यसले हामीलाई यहोवातर्फ आकर्षित हुने व्यक्‍तिहरूलाई उहाँले साँचो आशा दिनुहुन्छ भनेर सम्झाएको छ। (मीका २:१-१३) हामी सधैंभरि यहोवाको नाउँमा हिंडिरहन सकौं भनेर साँचो उपासनालाई अघि बढाउन यथाशक्य गर्ने प्रोत्साहन पाएका छौं। (मीका ४:१-४) अनि हाम्रो परिस्थिति जस्तोसुकै भए तापनि हामीले यहोवाका आवश्‍यकताहरू पूरा गर्न सक्छौं भनेर आश्‍वस्त भएका छौं। हो, मीकाको भविष्यवाणीले हामीलाई यहोवाको नाउँमा हिंड्‌न साँच्चै बलियो बनाउँछ।

तपाईं कसरी जवाफ दिनुहुन्छ?

मीका ६:८ अनुसार यहोवा हामीबाट के चाहनुहुन्छ?

• हामीले ‘न्याय गर्ने’ हो भने कुन कुरा आवश्‍यक छ?

• हामी “दयालाई प्रेम” गर्छौं भनी कसरी देखाउन सक्छौं?

• ‘परमेश्‍वरसित नम्र भएर हिंड्‌नुमा’ कुन कुरा समावेश छ?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ २१-मा भएका चित्रहरू]

आफ्नो समयको दुष्ट अवस्थाको बावजुद मीका यहोवाका आवश्‍यकताहरूअनुरूप चले। तपाईं पनि त्यसैअनुरूप चल्न सक्नुहुन्छ

[पृष्ठ २३-मा भएको चित्र]

सबै वर्गका मानिसहरूलाई साक्षी दिएर न्याय गर्नुहोस्‌

[पृष्ठ २३-मा भएका चित्रहरू]

अरूका आवश्‍यकताहरू पूरा गरेर तपाईंले दयालाई प्रेम गर्नुहुन्छ भनी देखाउनुहोस्‌

[पृष्ठ २३-मा भएको चित्र]

आफ्ना सीमितताहरू नम्रतासाथ स्वीकार्दै यथाशक्य गर्नुहोस्‌