सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

साँचो उपासनाले एउटा परिवारलाई एकतामा बाँध्छ

साँचो उपासनाले एउटा परिवारलाई एकतामा बाँध्छ

साँचो उपासनाले एउटा परिवारलाई एकतामा बाँध्छ

मारिया र तिनकी बहिनी लुसीले आफ्नो एक जना नातेदारबाट यहोवाबारे सुन्दा मारिया १३ वर्षकी थिइन्‌। ती नातेदारले तिनीहरूलाई यहोवाबारे मात्र नबताई पार्थिव प्रमोदवनको आशाबारे पनि बताए। अझ धेरै कुरा जान्‍ने इच्छाले तिनीहरू यहोवाका साक्षीहरूको राज्यभवन गए। त्यहाँ दिइएका स्पष्ट निर्देशनहरूबाट मारिया प्रभावित भइन्‌। धेरैजसो गानाबजाना मात्र हुने चर्चको वातावरणभन्दा त्यहाँको वातावरण एकदमै फरक थियो! ती बच्चाहरूले एक जना यहोवाका साक्षीसित बाइबल अध्ययन गर्न कुनै ढिलाइ गरेनन्‌।

तिनीहरूको दाइ युगोलाई दर्शनशास्त्र र विकासवादमा चासो थियो। उनी आफूलाई नास्तिक भन्थे। तर सेनामा हुँदा उनले लाइफ—हाउ डिड इट गेट हियर? बाइ इभोलुसन अर बाइ क्रिएसन?  a पुस्तक पढे। उनले अरू कुनै धर्मले दिन नसकेका प्रश्‍नहरूको जवाफ पाए। आफ्नो सैनिक सेवा पूरा गरेपछि बाइबल अध्ययन गरेर अनि आफ्ना बहिनीहरूसित सभाहरूमा धाएर उनले परमेश्‍वरमाथिको आफ्नो नयाँ विश्‍वासलाई बलियो बनाउन थाले। सत्य सुनेको दुई वर्षपछि १९९२ मा मारिया र लुसीले बप्तिस्मा लिए अनि त्यसको दुई वर्षपछि तिनीहरूका दाइले पनि बप्तिस्मा लिए।

यसबीच क्याथोलिक संस्कारप्रति समर्पित तिनीहरूका आमाबाबुले सच्चाइमा खासै चासो देखाएका थिएनन्‌। आफ्ना छोराछोरीले आफ्नो घरमा निम्त्याउने जवान साक्षीहरूको असल चालचलन अनि भद्र पहिरन तिनीहरूलाई मन परे तापनि तिनीहरूलाई यहोवाका साक्षीहरूदेखि झिजो लाग्थ्यो। साथै, खाना खानेबेला आफ्ना छोराछोरीले सभामा सिकेका कुराहरू गर्दा आमाबाबुको चासो बढ्यो।

तैपनि बुबा र आमा दुवै जना बोक्सीविद्यामा चासो राख्थे। बुबा मद्यव्यसनी थिए र आमालाई कुट्‌थे। परिवार टुक्रनै लागेको थियो। त्यसपछि, रक्सी खाएर उपद्रो गरेको कारण बुबाले दुई हप्ता जेलमा बिताउनुपऱ्‍यो। जेलमा छँदा तिनले बाइबल पढ्‌न थाले। पढ्‌दै जाँदा तिनले अन्तिम दिनको चिह्नबारे येशूले बताउनुभएका कुराहरू याद गरे। मनमा धेरै जिज्ञासाहरू उठेको कारण बुबा र आमा दुवै राज्यभवनमा गए र गृह बाइबल अध्ययन स्वीकारे। सत्य सिक्दै गर्दा तिनीहरूले बोक्सीविद्यासम्बन्धी आफ्ना सबै पुस्तकहरू नष्ट गरे अनि प्रेतहरूले आक्रमण गर्दा यहोवाको नाउँ पुकारेर तिनीहरूले त्यसबाट मुक्‍ति पाए। तिनीहरूले आफ्नो व्यक्‍तित्वमा उल्लेखनीय परिवर्तनहरू गर्न थाले।

सन्‌ १९९९ मा बोलिभियामा भएको एउटा अधिवेशनमा युगोले आफ्नो आमाबुबालाई बप्तिस्मा दिइरहेको दृश्‍य देख्दा मारिया र लुसी कत्ति खुसी भए होलान्‌, के तपाईं कल्पना गर्न सक्नुहुन्छ? मारिया र लुसीले यहोवा अनि उहाँका प्रतिज्ञाहरूबारे सुनेको नौ वर्षपछि यो दिन आएको थियो। तिनीहरू हाल युगोसँगै पूर्ण-समय सेवकाईमा लागिरहेका छन्‌। साँचो उपासनाले आफ्नो परिवारलाई एकतामा बाँध्दा तिनीहरू कत्ति खुसी छन्‌!

[फुटनोट]

a यहोवाका साक्षीहरूद्वारा प्रकाशित।