सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के तपाईं वृद्ध सँगी विश्‍वासीहरूको कदर गर्नुहुन्छ?

के तपाईं वृद्ध सँगी विश्‍वासीहरूको कदर गर्नुहुन्छ?

के तपाईं वृद्ध सँगी विश्‍वासीहरूको कदर गर्नुहुन्छ?

पुरातन इस्राएल परमेश्‍वरसित करारमा बाँधिएको बेला उनीहरूलाई यस्तो आज्ञा दिइएको थियो: “बूढ़ा-पाकाका सम्मानमा उठ र वृद्ध मानिसको आदर गर। तिमीहरूले परमेश्‍वरको भय मान। म परमप्रभु हुँ।” (लेवी १९:३२) यसर्थ, वृद्ध जनहरूलाई आदर गर्नु एउटा पवित्र कर्तव्य थियो र यो परमेश्‍वरको अधीनमा बस्नुसित सम्बन्धित थियो। आज मसीहीहरू मोशालाई दिइएको व्यवस्थाको अधीनमा नभए तापनि यसले हामीलाई यहोवाको सेवा गर्ने वृद्ध जनहरूलाई उहाँले मूल्यवान्‌ र अमूल्य ठान्‍नुहुन्छ भन्‍ने कुराको सम्झना दिलाउँछ। (हितोपदेश १६:३१; हिब्रू ७:१८) के हामी यहोवाको दृष्टिकोण झल्काउँछौं? के हामी आफ्ना वृद्ध मसीही भाइबहिनीहरूको कदर गर्छौं?

तिनले आफ्ना पाको मित्रको कदर गरे

पाका जनहरूलाई आदर देखाउने विषयमा प्रकाश पार्ने एउटा बाइबल विवरण दोस्रो राजाको पुस्तकमा पाउन सकिन्छ। यहाँ अगमवक्‍ता एलियापछि कसरी तिनीभन्दा कान्छो अगमवक्‍ता एलीशा आए भन्‍ने कुराको विवरण छ। इस्राएलको दस-गोत्रे राज्यमा अगमवक्‍ताको हैसियतमा एलियाको अन्तिम दिनमा के-कस्ता घटनाहरू घटे विचार गर्नुहोस्‌।

त्यो दिन, यहोवाले वृद्ध अगमवक्‍ता एलियालाई गिलगालदेखि बेतेलसम्म, बेतेलदेखि यरीहोसम्म र यरीहोदेखि यर्दन नदीसम्म यात्रा गर्न अह्राउनुभयो। (२ राजा २:१, २, ४, ६) त्यो लगभग ५० किलोमिटर लामो यात्राको दौडान एलियाले एलीशालाई तीन-तीन चोटि तिनलाई नपछ्याउन आग्रह गरे। तथापि, शताब्दीयौंअघि जवान रूथले नाओमीलाई छोड्‌न नमानेझैं एलीशाले पनि आफूभन्दा पाका अगमवक्‍तालाई छोड्‌न मानेनन्‌। (रूथ १:१६, १७) एलीशाले तीन चोटि यसो भने: “परमप्रभुको जीवन र तपाईंको जीवनको शपथ खाएर म भन्दछु म तपाईंलाई छोड़नेछैनँ।” (२ राजा २:२, ४, ६) त्यतिन्जेलसम्म, एलीशाले एलियालाई सहयोग गरेको लगभग छ वर्ष भइसकेको थियो। यद्यपि, एलीशाले यथासम्भव लामो समयसम्म एलियासँग सेवा गर्न चाहे। साँच्चै, विवरण अझ यसो भन्छ: “उनीहरू बात गर्दै अगि बढ़नलागे। औ एक्कासि . . . एलियालाई स्वर्गमा . . . उठाएर लग्यो।” (पद ११) इस्राएलमा एलियाको सेवकाईको एकदमै अन्तिम घडीसम्म एलिया र एलीशा बात मारिरहेका थिए। स्पष्टतः कान्छो अगमवक्‍ता आफूभन्दा पाका र अझ अनुभवी अगमवक्‍ताबाट सकेसम्म निर्देशन तथा प्रोत्साहनका शब्दहरू सुन्‍न उत्सुक थिए भन्‍ने कुरा छर्लंग थियो। स्पष्टतया, तिनले आफूभन्दा पाका मित्रको कदर गरे।

‘बाबु र आमाझैं’

एलीशाले आफूभन्दा पाका अगमवक्‍तालाई मित्रको रूपमा र आफ्नो आध्यात्मिक बुबाको रूपमा समेत माया गर्नुको कारण बुझ्न त्यति गाह्रो छैन। (२ राजा २:१२) इस्राएलमा आफ्नो कार्यभार सिद्धिनुभन्दा केही समयअघि एलियाले एलीशालाई यसो भने: “तिमीबाट उठाइलानअघि म तिम्रो निम्ति के गरूँ।” (पद ९) यस प्रकार, अन्तिम घडीसम्मै एलियाले आफ्नो उत्तराधिकारीको आध्यात्मिक हित र परमेश्‍वरको कामलाई निरन्तरता दिने सन्दर्भमा चासो देखाए।

आज, जवान भाइबहिनीहरूसित आफ्नो ज्ञान र बुद्धि कुनै कन्जुस्याइँ नगरी बाँड्‌ने हाम्रा वृद्ध मसीही भाइबहिनीहरूमा पनि त्यस्तै बुबा र आमाको जस्तो चासो देख्न पाउनु निकै हृदयस्पर्शी कुरा हो। उदाहरणका लागि, यहोवाका साक्षीहरूका शाखा कार्यालयहरूमा लामो समयदेखि सेवा गर्दै आएका स्वयम्‌सेवकहरूले बेथेल परिवारका नयाँ सदस्यहरूलाई आफ्नो सेवा पूरा गर्न आवश्‍यक सीपहरू हासिल गर्न इच्छुकतासाथ मदत गर्छन्‌। त्यस्तै गरी, धेरै वर्षदेखि मण्डलीहरूको भ्रमण गरिरहेका परिभ्रमण निरीक्षक तथा तिनीहरूका पत्नीहरूले परिभ्रमण सेवकहरूको हैसियतमा सेवा गर्न प्रशिक्षण लिइरहेकाहरूसित आफ्नो अनुभवको ठूलो भण्डार खुसीसाथ बाँड्‌छन्‌। त्यति मात्र होइन, विश्‍वभरिका यहोवाका साक्षीहरूका मण्डलीहरूमा दशकौंदेखि विश्‍वासीपूर्वक यहोवाको सेवा गर्दै आएका पाका भाइबहिनीहरू छन्‌ र उनीहरूले आफूसित भएको व्यावहारिक बुद्धि तथा अनुभव मण्डलीका नयाँ सदस्यहरूसित खुसीसाथ बाँड्‌छन्‌।—हितोपदेश २:७; फिलिप्पी ३:१७; तीतस २:३-५.

यी प्रिय पाका मसीहीहरूले देखाएको हार्दिक चासोले गर्दा यस्ता पाका जनहरूलाई आदर देखाउनु साँच्चै आनन्ददायी हुन्छ। त्यसैकारण, वृद्ध सँगी विश्‍वासीहरूको गहिरो मूल्यांकन गर्ने सन्दर्भमा हामी एलीशाको उदाहरण अनुकरण गर्न चाहन्छौं। प्रेरित पावलले सम्झना दिलाएझैं आउनुहोस्‌, हामी “बूढा मानिसलाई . . . बाबुलाई जस्तैगरी” र “आफूभन्दा ठूली स्त्रीहरूलाई आमाझैं” व्यवहार गरिरहौं। (१ तिमोथी ५:१, २) यसो गरेर हामी संसारभरिका मसीही मण्डलीलाई सुचारु रूपमा चलाउनुका साथै यसको उन्‍नतिमा ठूलो योगदान पुऱ्‍याउँछौं।

[पृष्ठ ३०-मा भएको चित्र]

एलीशाले यथासम्भव लामो समयसम्म एलियासँग सेवा गर्न चाहे

[पृष्ठ ३१-मा भएका चित्रहरू]

युवा जनहरूले वृद्ध मसीहीहरूबाट धेरै लाभ उठाउन सक्छन्‌