यहोवाले सधैं हाम्रो फिक्री गर्नुहुन्छ
जीवनी
यहोवाले सधैं हाम्रो फिक्री गर्नुहुन्छ
एनलेसी मजांगाको वृत्तान्तमा आधारित
सन् १९७२ को कुरा हो। दस जना जवान पुरुष, जो मलावी युथ लिगका सदस्य थिए, तिनीहरू हाम्रो घरभित्र घुसे, मलाई च्याप्प समाते अनि नजिकैको उखुबारीमा घिसार्दै लगे। त्यहाँ तिनीहरूले मलाई पिटे अनि मऱ्यो होला भन्ठानेर छोडिदिए। मलावीमा यहोवाका अनगिन्ती साक्षीहरूले यस्तो प्रकारका भीषण आक्रमण भोगे। तिनीहरूलाई किन सताइयो? तिनीहरूलाई सहन कुन कुराले मदत गऱ्यो? म तपाईंलाई मेरो परिवारको कथा सुनाउन चाहन्छु।
म डिसेम्बर ३१, १९२१ का दिन धार्मिक झुकाव भएको परिवारमा जन्मिएकी थिएँ। मेरो बुबा सेन्ट्रल अफ्रिकन प्रेस्बाइटेरियन चर्चको पास्टर हुनुहुन्थ्यो। म मलावीको राजधानी, लिलोंगे नजिकैको सानो गाउँ नखोमामा हुर्कें। म १५ वर्षकी हुँदा एमास मजांगाकी श्रीमती भएँ।
एक दिन मेरो बुबाको साथी हाम्रो घरमा आउनुभयो र उहाँ पनि पास्टर हुनुहुन्थ्यो। उहाँले यहोवाका साक्षीहरू हाम्रो घर नजिकै बस्छन् भन्ने कुरा याद गर्नुभएको रहेछ अनि तिनीहरूबाट परै बस्नु भनेर चेतावनी दिनुभयो। उहाँले साक्षीहरू प्रेतहरूको नियन्त्रणमा हुन्छन् र होसियार नभएको खण्डमा हामीलाई पनि भूतप्रेत लाग्न सक्छ भनेर बताउनुभयो। त्यो चेतावनी सुनेर हामी असाध्यै तर्सियौं र अर्कै गाउँमा बसाइँ सऱ्यौं जहाँ एमासले पसलेको काम गर्न थाल्नुभयो। तर हाम्रो नयाँ घर पनि यहोवाका साक्षीहरूको नजिकै रहेछ भनेर थाह पायौं!
तथापि, केही समय नबित्दै बाइबलप्रति एमासको गहिरो प्रेमले गर्दा एक जना साक्षीसित कुरा गर्न उहाँ अग्रसर हुनुभयो। एमासले आफ्ना थुप्रै प्रश्नहरूको चित्तबुझ्दो जवाफ पाउनुभएपछि बाइबल अध्ययन गर्ने साक्षीहरूको
प्रस्ताव उहाँले स्वीकार्नुभयो। सुरु सुरुमा उहाँले काम गर्ने पसलमै अध्ययन गरिन्थ्यो तर पछि हाम्रो घरमै हरेक हप्ता अध्ययन सञ्चालन हुन थाल्यो। प्रत्येक चोटि यहोवाका साक्षीहरू आउँदा मलाई तिनीहरू देखेर असाध्यै डर लाग्ने हुँदा म घरमै बस्दिनथें। तैपनि, एमासले बाइबल अध्ययन गर्न छोड्नुभएन। अध्ययन गरेको छ महिना जतिपछि अप्रिल १९५१ मा उहाँले बप्तिस्मा लिनुभयो। तथापि, उहाँले मलाई त्यसबारे केही बताउनुभएन किनभने यो खबरले हाम्रो विवाहलाई टुक्राउनेछ भनेर उहाँलाई डर लागेको थियो।कठिन हप्ताहरू
तर एक दिन, मेरी साथी एलेन काड्जालेरोले मेरो श्रीमान्ले यहोवाको साक्षीको रूपमा बप्तिस्मा लिइसकेको कुरा बताइन्। मैले रिसले आँखा देखिनँ! त्यो दिनदेखि मैले उहाँसित कुरा गर्न छोडें र उहाँको निम्ति खाना पनि पकाइनँ। नुहाउनको लागि उहाँलाई पानी ल्याइदिने अनि तताउने काम पनि मैले गर्न छोडें—जुन हाम्रो चलनअनुसार श्रीमतीले गर्नुपर्ने थियो।
तीन हप्तासम्म यस्तो व्यवहार सहिनसक्नु भएपछि एमासले मलाई उहाँसँग कुरा गर्न मायालु ढंगमा बोलाउनुभयो अनि उहाँले साक्षी बन्न निर्णय गर्नुको कारण बताउनुभयो। उहाँले १ कोरिन्थी ९:१६ जस्ता थुप्रै शास्त्रपदहरू पढेर बुझाउनुभयो। मेरो मन छोयो अनि मैले पनि प्रचारकार्यमा भाग लिनुपर्ने खाँचो महसुस गरें। त्यसकारण मैले यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गर्ने निधो गरें। त्यही साँझ मैले मेरो मायालु श्रीमान्को लागि मीठो भोजन तयार पारें र उहाँ खुसी हुनुभयो।
परिवार र साथीहरूसित सच्चाइ बाँड्दै
हामीले यहोवाका साक्षीहरूसित संगत गरिरहेको कुरा हाम्रा आमाबाबुले थाह पाउनुहुँदा घोर विरोध गर्नुभयो। मेरो परिवारले मलाई अब उप्रान्त उहाँहरूकहाँ नआउनु भनेर चिठी पठायो। उहाँहरूको यस्तो प्रतिक्रियाको कारण हामीलाई दुःख लाग्यो तर हामीले, हाम्रा थुप्रै आध्यात्मिक भाइबहिनी र आमाबुबा हुनेछन् भन्ने येशूको प्रतिज्ञामा भरोसा राख्यौं।—मत्ती १९:२९.
मैले बाइबल अध्ययनमा छिट्छिटो प्रगति गरें अनि मेरो श्रीमान्ले भन्दा केवल तीन महिनापछि अगस्त १९५१ मा बप्तिस्मा लिएँ। मैले यो सच्चाइ मेरी साथी एलेनलाई बताउन बाध्य महसुस गरें। खुसीको कुरा, उनले बाइबल अध्ययन गर्ने मेरो प्रस्ताव स्वीकारिन्। मे १९५२ मा एलेनले बप्तिस्मा लिइन् र मेरो आध्यात्मिक बहिनी भइन् जसले गर्दा हाम्रो मित्रताको बन्धन झनै बलियो भयो। आजसम्म हामी एकअर्काका घनिष्ठ मित्र भएका छौं।
सन् १९५४ मा एमास क्षेत्रीय निरीक्षकको रूपमा मण्डलीहरू भ्रमण गर्न नियुक्त हुनुभयो। त्यतिखेर हाम्रा छ जना बालबच्चा भइसकेका थिए। त्यो समयताका, परिवार भएको परिभ्रमण निरीक्षकले एउटा मण्डलीको भ्रमण गर्न एक हप्ता बिताइसकेपछि अर्को हप्ता श्रीमती र छोराछोरीसित बिताउन घरमा बस्थे। तथापि, एमास यात्रामा हुनुहुँदा हाम्रो पारिवारिक बाइबल अध्ययन सञ्चालन मैले गर्ने प्रबन्ध मिलाउनुभयो। हामीले छोराछोरीसितको अध्ययनलाई रमाइलो बनाउने प्रयास गऱ्यौं। हामी यहोवा अनि उहाँको वचनमा पाइने सत्यप्रति आफ्नो हार्दिक विश्वस्तताबारे पनि कुरा गर्थ्यौं अनि परिवारको रूपमा प्रचारकार्यमा भाग लिन्थ्यौं। यो आध्यात्मिक प्रशिक्षण कार्यक्रमले हाम्रा छोराछोरीको विश्वास बलियो बनायो र हामीले सामना गर्नुपर्ने सतावटको लागि तिनीहरूलाई तयार बनायो।
धार्मिक सतावट सुरु हुन्छ
सन् १९६४ मा मलावी स्वतन्त्र राष्ट्र भयो। शासकीय दलका अधिकृतहरूले राजनीतिमा हाम्रो तटस्थ अडानबारे थाह पाएपछि हामीलाई पार्टीको सदस्य कार्ड किन्न जबरजस्ती गर्न खोजे। a एमास र मैले इन्कार गरेको कारण युथ लिगका सदस्यहरूले हाम्रो मकै बाली बिगारिदिए जुन हाम्रो आगामी वर्षको लागि प्रमुख खाद्यान्न स्रोत थियो। युथ लिगका सदस्यहरूले मकैका बोटहरू काट्दा यसरी गाइरहेका थिए: “कामुजुको [राष्ट्रपति बान्डाको] कार्ड किन्न इन्कार गर्ने सबैको हरियो मकै धमिराले खानेछ अनि यी मानिसहरू रुनेछन्।” यसरी खाद्यान्न गुमाउनुपरे तापनि हामीले हरेस खाएनौं। यहोवाले हाम्रो फिक्री गर्नुभएको महसुस गऱ्यौं। उहाँले मायालु ढंगमा हामीलाई बल प्रदान गर्नुभयो।
सन् १९६४ मा एउटा रातीको कुरा हो, घरमा म र बच्चाहरू मात्रै थियौं। म सुतिसकेकी थिएँ तर टाढा कसैले गीत गाइरहेको आवाज सुनेर म ब्यूँझिएँ। यो गुलेवामकेलु समूह अर्थात् मानिसहरूलाई आक्रमण गर्ने अनि मरेका पुर्खाहरूको आत्मा भइटोपल्ने जनजातीय नर्तकहरूको एउटा डरलाग्दो गोप्य समाज थियो। हामीलाई आक्रमण गर्न युथ लिगले गुलेवामकेलुलाई पठाएको थियो। मैले हतारपतार बच्चाहरूलाई उठाएँ अनि ती आक्रमणकारीहरू हाम्रो घरमा पुग्नुअगावै हामी झाडीतिर भाग्यौं।
हामी लुकेको ठाउँबाट हामीले चम्किलो ज्योति देख्यौं। गुलेवामकेलुले हाम्रो खरले छाएको झुपडीलाई आगो लगाइदिएको थियो। हाम्रो घर र सरसम्पत्ति सबै जलेर स्वाहा भयो। हाम्रो घर जलिरहेको ठाउँबाट ती आक्रमणकारीहरू गएपछि तिनीहरूले यसो भन्दै गरेको हामीले सुन्यौं: “त्यो साक्षी परिवारलाई आगो ताप्नको लागि हामीले मजाको आगो बालिदियौं।” हामी सुरक्षित रूपमा भाग्न सकेकोमा यहोवाप्रति धन्यवादी भयौं! हो, तिनीहरूले हाम्रो सबै सरसम्पत्ति नाश गरे तर मानिसमा भन्दा यहोवामा भरोसा राख्ने हाम्रो संकल्पलाई नाश गर्न सकेनन्।—भजन ११८:८.
गुलेवामकेलुले हाम्रो इलाकाका यहोवाका साक्षीहरूको अर्को पाँचवटा परिवारलाई यस्तै भयानक कुरा गरेको थाह पायौं। छिमेकी मण्डलीका भाइहरू हाम्रो बचाउको लागि आउँदा हामी साह्रै रमायौं र धन्यवादी भयौं! तिनीहरूले हाम्रो घर पुनर्निर्माण गरिदिए अनि हामीलाई निकै हप्तालाई पुग्ने खानाको प्रबन्ध गरे।
सतावट चर्किंदै जान्छ
सेप्टेम्बर १९६७ मा देशभरिका यहोवाका साक्षीहरूलाई जबरजस्ती एकै ठाउँमा भेला गर्ने अभियान सुरु गरियो। हामीलाई भेट्टाउन युथ लिग र मलावी यंग पायोनियर्सका सदस्यहरू, ती निष्ठुर तथा उग्र जवान पुरुषहरू धारिलो चक्कु भिरेर प्रत्येक घरमा गई साक्षीहरूलाई खोज्न थाले। तिनीहरूले भेट्टाउने बित्तिकै उनीहरूलाई राजनैतिक पार्टी कार्ड बेच्न खोज्थे।
हाम्रो घरमा पुगेपछि तिनीहरूले हामीसित पार्टी कार्ड छ कि भनेर सोधे। मैले भनें: “छैन, मैले किनेको छैन। म अहिले पनि किन्दिनँ र पछि भविष्यमा पनि किन्नेछैनँ।” त्यसपछि तिनीहरूले मेरो श्रीमान्लाई च्याप्प समाते अनि हामीलाई केही पनि लिने मौका नदिई स्थानीय प्रहरी थानामा लगे। हाम्रा साना छोराछोरीहरू स्कूलबाट घर फर्कंदा हामीलाई देखेनन् र आत्तिन थाले। राम्रो कुरा के भयो भने, हाम्रो जेठो छोरा डान्यल अलि पछि घर फर्क्यो र के भएको रहेछ भनेर एक जना छिमेकीबाट थाह पायो। तुरुन्तै ऊ भाइबहिनीहरूलाई लिएर प्रहरी थानामा आइपुग्यो। प्रहरीले हामीलाई ट्रकमा राखेर लिलोंगेमा लैजानै लाग्दा तिनीहरू आइपुगे। बच्चाहरू पनि सँगै आए।
लिलोंगेको प्रहरी मुख्यालयमा देखावटी मुद्दा सञ्चालन गरियो। हाकिमहरूले हामीलाई सोधे, “के तिमीहरू यहोवाका साक्षीहरू नै भइरहनेछौ?” हामीले जवाफ दियौं, “हो!” र यस्तो जवाफ दिएपछि हामीलाई स्वतः सात वर्ष जेल सजाय सुनाइने थियो। संगठन सञ्चालनको “जिम्मा” लिएकाहरूलाई १४ वर्ष सजाय थियो।
हामीले भोजन र आरामविना एक रात बिताइसकेपछि प्रहरीले हामीलाई माउला थाना लग्यो। त्यहाँको कोठरीमा मान्छेहरू खचाखच भएको हुँदा हामीले भुइँमा सुत्ने ठाउँसमेत पाएनौं! शौचालय सुविधाको नाउँमा त्यस्तो खचाखच भरिएको कोठामा एउटा बाल्टिन मात्र थियो। खाने कुरा एकदमै थोरै र जथाभाबी बनाइएको हुन्थ्यो। दुई हप्तापछि झ्यालखानाका हाकिमहरूले हामी शान्त मानिसहरू रहेछौं भनी थाह पाएपछि बाहिर चौरतिर जान दिए। हामी यति धेरै जना सँगै भएको हुँदा एक अर्कालाई प्रोत्साहन दिने अनि अन्य कैदीहरूलाई राम्रो साक्षी दिने मौका दिनहुँ पायौं। मलावी सरकारलाई अन्तरराष्ट्रिय दबाबको कारण
तीन महिनाको जेल सजायपछि जेलमुक्त गरिंदा हामी छक्कै पऱ्यौं।प्रहरी अधिकृतहरूले हामीलाई आ-आफ्नो घर फर्कन आग्रह गरे तर तिनीहरूले मलावीमा यहोवाका साक्षीहरू प्रतिबन्धित भएको कुरा पनि बताए। यो प्रतिबन्ध अक्टोबर २०, १९६७ देखि अगस्त १२, १९९३ सम्म झन्डै २६ वर्ष रह्यो। ती वर्षहरू कठिन थिए तर यहोवाको मदत पाएर हामीले दृढतासाथ तटस्थता कायम गर्न सक्यौं।
जनावरलाई जस्तै खेदियो
अक्टोबर १९७२ मा जारी गरिएको एउटा सरकारी उर्दीले क्रूर सतावटको नयाँ लहर सुरु गऱ्यो। उक्त उर्दीले यहोवाका साक्षीहरू सबैलाई तिनीहरूको काम गर्ने ठाउँबाट बर्खास्त गर्ने अनि गाउँमा बसिरहेका सबै साक्षीहरूलाई तिनीहरूको घरबाट खेद्ने आदेश दियो। साक्षीहरूलाई जनावरलाई जस्तै खेदियो।
त्यतिखेर एक जना जवान मसीही भाइ एमासलाई सुनाउनुपर्ने एउटा जरुरी सन्देश लिएर आए, ‘युथ लिगले तपाईंको टाउको छिनालेर तपाईंको टाउको खाँबोमा हाल्ने अनि स्थानीय प्रमुखहरूकहाँ लैजाने षड्यन्त्र गरिरहेको छ।’ एमास तुरुन्तै घर छोडेर जानुभयो तर जानुअघि सकेसम्म चाँडो हामीले उहाँलाई पछ्याउन सक्ने योजना बनाइदिनुभयो। हतारहतार मैले छोराछोरीलाई पठाएँ। त्यसपछि म निस्कनै लाग्दा युथ लिगका दस जना सदस्य एमासलाई खोज्दै आए। तिनीहरू हाम्रो घरभित्र घुसे तर एमास भित्र नभएको थाह पाए। रिसले चूर भई ती पुरुषहरूले मलाई नजिकैको उखुबारीमा घिसार्दै लगे, त्यहाँ तिनीहरूले मलाई लात हाने अनि उखुको लाँक्राले पिटे। त्यसपछि मरी होली भन्ठानेर छाडिदिए। होस आएपछि म घस्रँदै घर फर्कें।
त्यही राती अँध्यारोमा एमास आफ्नो ज्यान खतरामा राख्दै मलाई खोज्न घर फर्कनुभयो। मलाई नराम्ररी कुटपिट गरिएको कुरा थाह पाउनुभएपछि एमास र गाडी भएको एक जना साथी मिलेर मलाई बिस्तारै गाडीमा हाल्नुभयो। त्यसपछि, हामी लिलोंगेको एक जना भाइको घरसम्म गयौं र त्यहाँ मेरो अवस्थामा बिस्तारै सुधार आयो र एमासले देश छोडेर भाग्ने योजना बनाउन थाल्नुभयो।
कतै जाने ठाउँ नभएका शरणार्थीहरू
हाम्री छोरी डिनेसी र ज्वाइँको पाँच टनवाला ट्रक थियो। तिनीहरूले काममा लगाएका ड्राइभर पहिला मलावी यंग पायोनियर्सका सदस्य थिए तर हाम्रो अवस्थाप्रति सहानुभूतिशील भएका थिए। हामी र अरू साक्षीहरूलाई मदत गर्न तिनी अग्रसर भए। धेरैजसो साँझ ती ड्राइभरले पहिल्यै योजना मिलाइएको लुक्ने ठाउँहरूबाट साक्षीहरूलाई लिन गए। त्यसपछि तिनले मलावी यंग पायोनियरको पहिरन लगाए अनि प्रहरीको थुप्रै अवरोध पार गर्दै ट्रक चलाए। तिनले सयौं साक्षीहरूलाई सीमा पारि जाम्बियासम्म पुऱ्याइदिने निकै खतरा मोले।
केही महिनापछि जाम्बियाका अधिकारीहरूले हामीलाई मलावी फर्काए; यद्यपि, हामी आफ्नो गाउँ फर्कन सकेनौं।
हामीले छोडेर गएका सबै सरसम्पत्ति चोरी भइसकेको थियो। हाम्रो घरको जस्तासमेत निकालेर लगिसकेको थियो। हामी जान सक्ने सुरक्षित ठाउँ कतै नभएपछि हामी मोजाम्बिक भाग्यौं अनि मलांगेनी शरणार्थी शिविरमा साढेदुई वर्ष बितायौं। तथापि, जून १९७५ मा मोजाम्बिकको नयाँ सरकारले शिविर बन्द गऱ्यो र हामीलाई जबरजस्ती मलावी फर्कायो जहाँ यहोवाका मानिसहरूको लागि अवस्था यथावतै थियो। हामीसित फेरि दोस्रो पटक जाम्बियामा भाग्नु सिवाय अर्को उपाय थिएन। त्यहाँ हामी चिगुमुकिरे शरणार्थी शिविरमा पुग्यौं।दुई महिनापछि बस तथा सैनिक ट्रकको ताँती मूल सडकमा बिसाइयो अनि सशस्त्र जाम्बियाली सेनाले शिविरमा आक्रमण गऱ्यो। तिनीहरूले हाम्रा लागि राम्रा घरहरू बनाइएको अनि तिनीहरूले हामीलाई त्यहाँसम्म लगिदिन यातायातको व्यवस्था गरिरहेको कुरा बताए। हामीलाई यो कुरा साँचो होइन भनेर थाह थियो। सिपाहीहरूले मानिसहरूलाई ट्रक र बसभित्र कोच्न थाल्दा कोलाहल मच्चियो। सिपाहीहरूले तिनीहरूको स्वचालित हतियारले हवाई फायर गर्न थाले अनि हजारौं भाइबहिनीहरू डरले यत्रतत्र छरिए।
यस्तो गञ्जागोलमा चालै नपाई एमासलाई ठक्कर दिइयो अनि कुल्चीमिल्ची गरियो तर एक जना भाइले उहाँलाई उठ्न मदत गर्नुभयो। हामीलाई अब महासंकष्टको सुरु भयो जस्तो लाग्यो। सबै शरणार्थीहरू मलावीतिर भागे। हामी जाम्बियामै छँदा हामी एउटा नदीमा पुग्यौं अनि भाइहरूले नदी तर्नको लागि मदत गर्न थुप्रै मानव सिक्रीहरू बनाए। तर नदीको पारि हामीलाई जाम्बियाली सिपाहीहरूले समाते अनि जबरजस्ती मलावी फर्काए।
पुनः मलावी फर्केपछि हामीलाई कहाँ जाने भनेर अत्तोपत्तो थिएन। राजनैतिक भेला तथा अखबारहरूमा मानिसहरूलाई तिनीहरूको गाउँमा आउने “नयाँ अनुहारहरू” अर्थात् यहोवाका साक्षीहरूलाई संकेत गर्दै होसियार हुनु भनी चेतावनी दिइएको रहेछ भनेर थाह पायौं। त्यसकारण हामीले राजधानी शहरमा जाने निधो गऱ्यौं जहाँ हामीलाई गाउँमा जस्तो अरूले सजिलै चिन्ने थिएनन्। हामीले एउटा सानो घर भाडामा लियौं अनि एमासले परिभ्रमण निरीक्षकको रूपमा गोप्य तरिकाले मण्डलीहरूको भ्रमण गर्न थाल्नुभयो।
मण्डलीका सभाहरूमा उपस्थित हुँदै
हामीलाई विश्वासी रहन कुन कुराले मदत गऱ्यो? मण्डलीका सभाहरूले! मोजाम्बिक र जाम्बियाका शरणार्थी शिविरहरूमा साधारण, घाँसले छाएको राज्यभवनका सभाहरूमा हामी खुलेआम उपस्थित हुन्थ्यौं। मलावीमा सभाहरूको लागि भेला हुनु खतरनाक र गाह्रो थियो, यद्यपि त्यस्तो प्रयास कहिल्यै बेकार गएन। नभेट्टाओस् भन्नाको लागि हामी प्रायजसो राती अबेर अनकन्टार ठाउँमा सभाहरू आयोजना गर्थ्यौं। हाम्रा जमघटहरूप्रति अरूको ध्यानाकर्षण नगर्नको लागि हामी वक्ताप्रति मूल्यांकन व्यक्त गर्न ताली बजाउँदैनथ्यौं तर हात मात्र रगड्थ्यौं।
बप्तिस्माहरू राती अबेर गरिन्थ्यो। यस्तै अवस्थामा हाम्रो छोरा अबियुदीले बप्तिस्मा लिएका थिए। बप्तिस्मा भाषणपछि तिनी र बप्तिस्मा लिने अन्य व्यक्तिहरूलाई अन्धकारमा एउटा दलदले इलाकामा लगियो जहाँ एउटा खाल्टो खनिएको थियो। त्यहाँ तिनीहरूले बप्तिस्मा लिए।
हाम्रो सानो घर एउटा सुरक्षित शरण
सरकारी प्रतिबन्धका अन्तिम वर्षहरूमा लिलोंगेको हाम्रो घर एउटा सुरक्षित शरणको रूपमा प्रयोग गरियो। जाम्बिया शाखा कार्यालयबाट पत्र र साहित्यहरू हाम्रो घरसम्म सुटुक्क पुऱ्याइन्थ्यो। साइकलवाहकको रूपमा काम गर्ने भाइहरू हाम्रो घरमा आएर जाम्बियाबाट पठाइएका सामानहरू लैजान्थे अनि पत्र तथा साहित्य मलावीको विभिन्न भागसम्म पुऱ्याउँथे। यसरी वितरण गरिने प्रहरीधरहरा पत्रिकाहरू पातलो थियो किनभने तिनीहरू बाइबल छापिने कागजमा छापिएका थिए। यसो हुँदा वाहकहरूले साधारण कागजमा छापिएको भन्दा दुई गुणा बढी पत्रिकाहरू ढुवानी गर्न सके। यी वाहकहरूले अध्ययन लेखहरू मात्र छापिएको प्रहरीधरहरा साना पत्रिकाहरू पनि वितरण गरे। साना पत्रिका कमिजको खल्तीमा लुकाउन सजिलो थियो किनभने यसमा एक पाना कागज मात्र हुन्थ्यो।
यी वाहकहरूले झाडीहरू हुँदो, कहिलेकाहीं राती अन्धकारमा बाकसका बाकस साहित्यहरू बोकेर लैजाँदा आफ्नो स्वतन्त्रता र जीवनको खतरा मोले। प्रहरीको अवरोध तथा अन्य खतराको बावजुद तिनीहरूले जस्तोसुकै मौसममा सयौं किलोमिटर यात्रा गरेर आफ्ना भाइहरूलाई
आध्यात्मिक भोजन पुऱ्याइदिए। यी प्रिय वाहकहरू कत्ति बहादुर थिए!यहोवाले विधवाहरूको फिक्री गर्नुहुन्छ
डिसेम्बर १९९२ मा क्षेत्रीय भ्रमणको दौडान भाषण दिइरहँदा एमासलाई मस्तिष्कघात भयो। त्यसपछि उहाँ बोल्नै सक्नुभएन। त्यसको केही समयपछि उहाँलाई दोस्रो चोटि मस्तिष्कघात भयो र उहाँको शरीरको आधा भागमा पक्षघात भयो। आफ्नो स्वास्थ्य गुमाउनुपर्दाको पीडा सहन उहाँलाई गाह्रो भए तापनि हामीले मण्डलीबाट पाएको मायालु सहयोगले गर्दा मैले हरेस खाइनँ। नोभेम्बर १९९४ मा ७६ वर्षको उमेरमा उहाँको मृत्यु नहोउन्जेल मैले घरैमा उहाँको स्याहारसुसार गरें। हामीले विवाह गरेको ५७ वर्ष भइसकेको थियो र एमासले आफ्नो मृत्युअघि प्रतिबन्ध फुकुवा भएको देख्नुभयो। तर मेरो विश्वासी साथीसित बिछोड हुनुपरेको वेदना अझै बिर्सेकी छैन।
म विधवा भएपछि मेरो ज्वाइँले मेरी छोरी र तिनीहरूका पाँच जना बालबच्चाको अलावा मेरो हेरचाह गर्ने जिम्मा लिनुभयो। दुःखको कुरा, अलि बिरामी पर्नुभएपछि अगस्त २००० मा उहाँको मृत्यु भयो। मेरी छोरीले हामी सबैको लागि भोजन र आवासको प्रबन्ध कसरी गर्ने? यहोवाले हाम्रो फिक्री गर्नुहुन्छ र साँच्चै “टुहुराका बाबु र विधवाहरूका न्यायकर्ता” हुनुहुन्छ भनेर मैले पुनः महसुस गरें। (भजन ६८:५) यहोवाले पृथ्वीमा भएका आफ्ना सेवकहरूमार्फत एउटा सुन्दर नयाँ घरको प्रबन्ध गर्नुभयो। यो कसरी हुन सक्यो? हाम्रो मण्डलीका भाइबहिनीहरूले हाम्रो दुःखदायी अवस्था देखेपछि केवल पाँच हप्तामा हाम्रो लागि एउटा घर निर्माण गरिदिनुभयो! डकर्मीको रूपमा काम गर्ने अर्को मण्डलीका भाइहरू मदत गर्न आए। यी सबै साक्षीहरूले देखाएको प्रेम र दयाले हामी भावविह्वल भयौं किनभने तिनीहरूले हाम्रो लागि बनाइदिएका घर, तिनीहरू बसेको कतिपय घरभन्दा राम्रो थियो। मण्डलीले देखाएको प्रेमले हाम्रो टोलछिमेकमा राम्रो साक्षी दियो। म राती सुत्दा आफूलाई प्रमोदवनमा भएजस्तै महसुस गर्छु! हो, हाम्रो सुन्दर नयाँ घर इँटा र वज्रले बनेको छ तर थुप्रैले टिप्पणी गरेझैं यो साँच्चै प्रेमले निर्माण गरेको घर हो।—गलाती ६:१०.
यहोवाको निरन्तर फिक्री
म कहिलेकाहीं निराशाको गहिरो खाडलमा पुग्नै लाग्दा यहोवाले मलाई सँभाल्नुभएको छ। मेरा नौ जना बालबच्चामध्ये सात जना अझै जीवित छन् र मेरो परिवारको संख्या अहिले १२३ पुगेको छ। तिनीहरूमध्ये अधिकांशले विश्वासी भई यहोवाको सेवा गरिरहेकोमा म साह्रै कृतज्ञ छु!
अहिले, ८२ वर्षको उमेरमा, मलावीमा परमेश्वरको आत्माले सम्पन्न गरेका कुराहरू हेर्दा मेरो हृदय खुसीले भरिन्छ। गत चार वर्षभित्र मात्रै एउटा राज्यभवनबाट वृद्धि भएर ६०० भन्दा बढी भएको छ। लिलोंगेमा हाम्रो नयाँ शाखा कार्यालय छ अनि कुनै रोकटोकविना हामीले पोषिलो आध्यात्मिक भोजन पाइरहेका छौं। मैले साँच्चै यशैया ५४:१७ मा दिइएको भविष्यवाणी पूरा भएको महसुस गर्न पाएकी छु जस्तो लाग्छ, जहाँ हामीलाई यस्तो आश्वासन दिइएको छ: “तेरो विरुद्धमा बनाइएको जुनसुकै हतियार पनि बेकामको हुनेछ।” पचास वर्षभन्दा लामो समयसम्म यहोवाको सेवा गरिसकेपछि हामीले जस्तोसुकै परीक्षा सामना गर्नुपरे तापनि यहोवाले सधैं हाम्रो फिक्री गर्नुहुन्छ भन्ने कुरामा म विश्वस्त छु।
[फुटनोट]
a मलावीमा यहोवाका साक्षीहरूको इतिहाससम्बन्धी थप जानकारीको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित १९९९ यरबूक अफ जेहोभाज् विट्नेसेज्, पृष्ठ १४९-२२३ हेर्नुहोस्।
[पृष्ठ २४-मा भएको चित्र]
मेरो श्रीमान्, एमासले अप्रिल १९५१ मा बप्तिस्मा लिनुभयो
[पृष्ठ २६-मा भएको चित्र]
बहादुर वाहकहरूको समूह
[पृष्ठ २८-मा भएको चित्र]
प्रेमले निर्माण गरेको घर