सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

संकष्टको समयमा यहोवामा पूर्ण भरोसा राख्नुहोस्‌

संकष्टको समयमा यहोवामा पूर्ण भरोसा राख्नुहोस्‌

संकष्टको समयमा यहोवामा पूर्ण भरोसा राख्नुहोस्‌

“परमेश्‍वर हाम्रो शरणस्थान र बल हुनुहुन्छ, संकष्टमा अति सजिलैसँग पाइने सहायक।”—भजन ४६:१.

१, २. (क) हामी परमेश्‍वरमा भरोसा राख्छौं भनी दाबी गर्नु मात्र पर्याप्त छैन भनेर कुन उदाहरणले देखाउँछ? (ख) हामी यहोवामा भरोसा गर्छौं भन्‍नु मात्र किन पर्याप्त छैन?

 हामी परमेश्‍वरमा भरोसा राख्छौं भनी दाबी गर्न सजिलो छ। तर आफ्नो कार्यद्वारा देखाउनु भने त्यति सजिलो छैन। उदाहरणका लागि, संयुक्‍त राज्य अमेरिकाको नोट तथा सिक्काहरूमा “हामी परमेश्‍वरमा भरोसा राख्छौं” भनी छापिएको धेरै भइसक्यो। a सन्‌ १९५६ मा सं.रा.अ.-को संसदले त्यही अभिव्यक्‍ति नै संयुक्‍त राज्य अमेरिकाको राष्ट्रिय आदर्श-वाक्य हो भनी घोषणा गऱ्‍यो। तर हाँसउठ्‌दो कुरा के हो भने, त्यस देशका मानिसहरूले मात्र होइन तर संसारभरि नै अधिकांश मानिसहरूले परमेश्‍वरमा भन्दा पैसा तथा भौतिक धनसम्पत्तिमा बढी भरोसा राख्छन्‌।—लूका १२:१६-२१.

साँचो मसीहीहरूको हैसियतमा हामी यहोवामा भरोसा राख्छौं भन्‍नु मात्र पर्याप्त छैन। जसरी “विश्‍वास . . . कामविना मरेको हुन्छ” त्यसरी नै हामी परमेश्‍वरमा भरोसा गर्छौं भनी दाबी गर्ने तर कामले देखाउँदैनौं भने त्यो अर्थहीन हुन्छ। (याकूब २:२६) यसअघिको लेखमा हामीले उहाँलाई प्रार्थनामा पुकार्दा, उहाँको वचनबाट उहाँको निर्देशन खोज्दा र डोऱ्‍याइको लागि उहाँको संगठनमा भर पर्दा यहोवामा हाम्रो भरोसा प्रकट गर्छौं भनी सिकेका थियौं। संकष्टको बेलामा हामीले ती तीन कदम कसरी चाल्न सक्छौं, आउनुहोस्‌ हामी छलफल गरौं।

जागिर गुमाउँदा वा आयस्रोत असाध्यै कम हुँदा

३. यस “डरलाग्दो समय[मा]” यहोवाका सेवकहरूले कस्तो आर्थिक दबाबको सामना गर्छन्‌ र परमेश्‍वर हामीलाई मदत गर्न इच्छुक हुनुहुन्छ भनी हामी कसरी थाह पाउन सक्छौं?

यस “डरलाग्दो समय[मा]” हामी मसीहीहरूले अन्य मानिसहरूले जस्तै आर्थिक दबाबको सामना गर्छौं। (२ तिमोथी ३:१) तसर्थ, हामीलाई अकस्मात्‌ जागिरबाट निकालिएला। अथवा थोरै पैसाको लागि लामो समय काम गर्नुबाहेक हामीसँग अरू विकल्प नहुन सक्छ। त्यस्तो परिस्थितिमा हामीलाई ‘आफ्नो परिवारको पालन पोषण’ गर्न धौ-धौ पर्न सक्छ। (१ तिमोथी ५:८) के त्यस्तो बेला सर्वोच्च परमेश्‍वर हामीलाई मदत गर्न इच्छुक हुनुहुन्छ? अवश्‍य हुनुहुन्छ! हुन त हो, यहोवाले हामीलाई यस रीतिरिवाजमा जीवनका सबै कठिनाइहरूबाट सुरक्षा दिनुहुन्‍न। तथापि, हामी उहाँमा भरोसा राख्छौं भने भजन ४६:१ का शब्दहरू हाम्रो सन्दर्भमा सही साबित हुनेछन्‌: “परमेश्‍वर हाम्रो शरणस्थान र बल हुनुहुन्छ, संकष्टमा अति सजिलैसँग पाइने सहायक।” तर हामीले आर्थिक संकष्टको बेला यहोवामा पूर्ण भरोसा राखेको कसरी देखाउन सक्छौं?

४. आर्थिक कठिनाइहरूको सामना गर्नुपर्दा हामीले केको लागि प्रार्थना गर्न सक्छौं र यहोवाले त्यस्तो प्रार्थनाप्रति कस्तो प्रतिक्रिया देखाउनुहुन्छ?

यहोवामा हाम्रो भरोसा देखाउने एउटा तरिका हो उहाँलाई प्रार्थनामा पुकार्नु। तर हामी केको लागि प्रार्थना गर्न सक्छौं? आर्थिक कठिनाइहरू सामना गर्नुपर्दा हामीलाई पहिलाभन्दा झन्‌ धेरै व्यावहारिक बुद्धिको आवश्‍यकता पर्न सक्छ। त्यसकारण हरहालतमा यसको लागि प्रार्थना गर्नुहोस्‌! यहोवाको वचनले हामीलाई यस्तो आश्‍वासन दिन्छ: “यदि तिमीहरूमध्ये कसैलाई बुद्धिको घटी छ भने, उदारचित्तसँग नझर्कीकन दिनुहुने परमेश्‍वरसित त्यसले मागोस्‌, र त्यसलाई सो दिइनेछ।” (याकूब १:५) हो, ज्ञान, समझ र विवेकको सदुपयोग गर्दै बुद्धिमानी निर्णय र सही छनौटहरू गर्न यहोवासँग बुद्धि माग्नुहोस्‌। स्वर्गमा हुनुहुने हाम्रो मायालु पिताले त्यस्तो प्रार्थना सुन्‍नेछु भनी हामीलाई आश्‍वासन दिनुहुन्छ। आफ्नो सारा हृदयले उहाँमा भरोसा गर्नेहरूको बाटो सुगम तुल्याइदिन उहाँ सधैं इच्छुक हुनुहुन्छ।—भजन ६५:२; हितोपदेश ३:५, ६,

५, ६. (क) आर्थिक कठिनाइ सामना गर्नुपर्दा मदतको लागि किन हामी परमेश्‍वरको वचनमा हेर्न सक्छौं? (ख) जागिर गुमाउँदा फिक्री कम गर्न हामी के गर्न सक्छौं?

डोऱ्‍याइको लागि परमेश्‍वरको वचनमा भर पर्नु पनि यहोवामा भरोसा देखाउने अर्को तरिका हो। बाइबलमा पाइने उहाँका बुद्धिमानी सम्झौटाहरू “साह्रै पक्का” साबित भएका छन्‌। (भजन ९३:५) यो लेख्न १,९०० वर्षभन्दा अघि पूरा भएको भए तापनि यस प्रेरित पुस्तकमा भरपर्दो सल्लाह र तीक्ष्ण अन्तरदृष्टि पाइन्छ जसले हामीलाई आर्थिक कठिनाइहरूसित अझ राम्ररी सामना गर्न मदत गर्न सक्छ। बाइबलमा पाइने बुद्धिका केही उदाहरणहरू विचार गर्नुहोस्‌।

बुद्धिमान्‌ राजा सुलेमानले धेरै पहिले यस्तो अवलोकन गरे: “थोरै खाओस्‌ कि धेरै खाओस्‌ परिश्रम गर्नेको निद्रा मीठो हुन्छ। तर धनीको धन धेरै भएकोले गर्दा त्यसलाई निद्रै लाग्दैन।” (उपदेशक ५:१२) हाम्रो भौतिक सरसामान मर्मत गर्न, सफा गर्न, स्याहारसम्भार गर्न र सुरक्षित राख्न समय तथा पैसा चाहिन्छ। त्यसैले जागिर गुमाउँदा हामीले यस अवसरमा आफ्नो जीवन शैलीलाई पुनः केलाएर हेर्न सक्छौं र आफ्नो आवश्‍यकता र चाहनाबीच भिन्‍नता छुट्‌याउने कोसिस गर्न सक्छौं। फिक्री कम गर्न केही परिवर्तनहरू गर्नु बुद्धिमानी हुन सक्छ। उदाहरणका लागि, के हामी सानो ठाउँमा सरेर वा अनावश्‍यक भौतिक चीजबीजहरू हटाएर आफ्नो जीवन सरल बनाउन सक्छौं?—मत्ती ६:२२.

७, ८. (क) असिद्ध मानिसहरूसित भौतिक कुराहरूबारे बढ्‌तै चिन्तित हुने झुकाव छ भनेर येशूले कसरी देखाउनुभयो? (पादटिप्पणी पनि हेर्नुहोस्‌।) (ख) अनावश्‍यक फिक्री नगर्न येशूले हामीलाई कस्तो बुद्धिमानी सल्लाह दिनुभयो?

डाँडाको उपदेशमा येशूले यस्तो सल्लाह दिनुभयो: “हामी के खाउँला, कि के पिऔंला भनी आफ्नो प्राणको निम्ति र आफ्नो शरीरको निम्ति के लगाउँला भनी तिमीहरू फिक्री नगर।” b (मत्ती ६:२५) असिद्ध मानिसहरू स्वभावतः आधारभूत आवश्‍यकताहरू पूरा गर्नेबारे चिन्तित हुन्छन्‌ भनी येशूलाई थाह थियो। तर त्यस्ता कुराहरूबारे हामी कसरी ‘फिक्री नगरी’ बस्न सक्छौं? येशूले भन्‍नुभयो, “पहिले उहाँको राज्य . . . खोजी गर।” हामीले जस्तोसुकै समस्याको सामना गर्नुपरे तापनि जीवनमा यहोवाको उपासनालाई प्राथमिकता दिन छोड्‌नु हुँदैन। त्यसो गऱ्‍यौं भने हाम्रा सबै दैनिक आवश्‍यकताहरू हाम्रो स्वर्गमा हुनुहुने पिताले ‘थप्नुहुनेछ।’ कुनै न कुनै तरिकामा उहाँले हाम्रा आवश्‍यकताहरू पूरा गर्न प्रबन्ध मिलाउनुहुनेछ।—मत्ती ६:३३.

येशूले अझ यस्तो सल्लाह दिनुभयो: “भोलिको निम्ति फिक्री नगर, किनकि भोलिको दिनले आफ्नो फिक्री आफै गर्नेछ।” (मत्ती ६:३४) भोलि के होला भनी अनावश्‍यक चिन्ता गर्नु बुद्धिमानी कुरा होइन। एक जना शास्त्रविद्‌ले यस्तो टिप्पणी गरे: “भविष्यको डर विरलै मात्र भविष्यको यथार्थसित मिल्छ।” हाम्रा प्राथमिकताहरूमा ध्यान केन्द्रित गर्ने बाइबलको सल्लाह नम्रतापूर्वक पालन गर्ने अनि भोलिको दिनबारे फिक्री नगरी जीवन बिताउँदा अनावश्‍यक फिक्रीहरूबाट हामी बच्न सक्छौं।—१ पत्रुस ५:६, ७.

९. आर्थिक संकष्टको सामना गर्दा हामीले “विश्‍वासी र बुद्धिमान दास[का]” साहित्यहरूमा कस्ता मदतहरू पाउन सक्छौं?

आर्थिक संकष्टको सामना गर्दा हामीले मदतको लागि “विश्‍वासी र बुद्धिमान दास[का]” साहित्यहरूमा हेरेर पनि यहोवामा हाम्रो भरोसा देखाउन सक्छौं। (मत्ती २४:४५) आर्थिक कठिनाइहरू सामना गर्नुपर्दा मदतकारी हुन सक्ने बुँदा तथा सुझावहरू ब्यूँझनुहोस्‌! पत्रिकामा समय समयमा प्रकाशित गरिएका छन्‌। “बेरोजगार हुँदा—समाधानहरू के-के हुन्‌?” शीर्षक भएको अवेक! अगस्त ८, १९९१ को अंकमा आठवटा व्यावहारिक सल्लाह दिइएको थियो जसले थुप्रैलाई बेरोजगार हुँदा आर्थिक तथा भावनात्मक स्थिरता नगुमाउन मदत गऱ्‍यो। c निस्सन्देह, त्यस्ता डोऱ्‍याइहरूलाई पैसाको साँचो महत्त्वबारे उचित दृष्टिकोणसँग सन्तुलित गर्नुपर्छ। यो कुरा सोही अंकमा “पैसाभन्दा महत्त्वपूर्ण कुरा” भन्‍ने लेखमा छलफल गरिएको थियो।—उपदेशक ७:१२.

स्वास्थ्य समस्याहरूको कारण संकष्टमा पर्दा

१०. गम्भीर बिरामी परेको बेला यहोवामा भरोसा राख्नु व्यावहारिक हो भनी राजा दाऊदको उदाहरणले कसरी देखाउँछ?

१० के गम्भीर बिरामी परेको बेला यहोवामा भरोसा राख्नु व्यावहारिक हो? अवश्‍य हो! आफ्ना जनहरूमाझ बिरामी भएकाहरूप्रति यहोवाले समानुभूति देखाउनुहुन्छ। यति मात्र नभई उहाँ मदत गर्न इच्छुक हुनुहुन्छ। उदाहरणका लागि, राजा दाऊदलाई विचार गर्नुहोस्‌। धर्मी जन बिरामी पर्दा परमेश्‍वरले गर्नुहुने व्यवहारबारे लेख्दा तिनी आफै गम्भीर बिरामी परेका हुन सक्छन्‌। तिनले यसो भने: “परमप्रभुले त्यसलाई त्यसको बिरामी अवस्थामा पलङैमा सह्‍माल्नुहुन्छ। त्यसलाई रोग लाग्दा तपाईंले त्यसको ओछ्यान बनाइदिनुहुन्छ।” (भजन ४१:१, ३, ७, ८) परमेश्‍वरमाथि दाऊदको भरोसा बलियो रह्‍यो र अन्ततः राजाको रोग निको भयो। तर स्वास्थ्य समस्याको कारण संकष्टमा पर्दा हामी कसरी परमेश्‍वरमा भरोसा राखेको देखाउन सक्छौं?

११. बिरामी पर्दा हामीले, स्वर्गमा हुनुहुने हाम्रो पितासँग के माग्न सक्छौं?

११ बिरामी पर्दा यहोवामा भरोसा देखाउने एउटा तरिका सहने मदत माग्दै प्रार्थनामा उहाँलाई बिन्ती गरेर हो। आफ्नो परिस्थितिले दिने हदसम्म स्वस्थ रहन “योग्यता” अर्थात्‌ व्यावहारिक बुद्धि प्रयोग गर्न उहाँलाई मदत माग्न सक्छौं। (हितोपदेश ३:२१) बिरामी अवस्थाको सामना गर्न आवश्‍यक धीरज र सहने शक्‍तिको लागि पनि उहाँसँग मदत माग्न सक्छौं। सबैभन्दा महत्त्वपूर्ण त, उहाँप्रति विश्‍वासी भइरहनको लागि बल र जस्तोसुकै परिस्थिति आइपरे तापनि आफ्नो सन्तुलन नगुमाउन यहोवाले हामीलाई सँम्भाल्नुहोस्‌ भनी माग्न सक्छौं। (फिलिप्पी ४:१३) वर्तमान संसारमा आफ्नो जीवन बचाउनुभन्दा पनि परमेश्‍वरप्रति हाम्रो निष्ठा कायम राख्नु महत्त्वपूर्ण छ। हामीले आफ्नो निष्ठा कायम राख्यौं भने महान्‌ इनामदाताले हामीलाई सदाको लागि सिद्ध जीवन र स्वास्थ्य दिनुहुनेछ।—हिब्रू ११:६.

१२. स्वास्थ्य उपचारको सन्दर्भमा कस्ता धर्मशास्त्रीय सिद्धान्तहरूले हामीलाई बुद्धिमानी निर्णय गर्न मदत गर्न सक्छ?

१२ यहोवामा हाम्रो भरोसाले हामीलाई व्यावहारिक डोऱ्‍याइको लागि उहाँको वचन बाइबलमा भर पर्न पनि उत्प्रेरित गर्छ। धर्मशास्त्रमा पाइने सिद्धान्तहरूले उपचारको सन्दर्भमा बुद्धिमानी निर्णय गर्न मदत गर्न सक्छ। जस्तै, बाइबलले “मन्त्र-तन्त्र[को]” निन्दा गर्छ भनी थाह भएकोले हामी प्रेतवादसित सम्बन्धित कुनै पनि रोग खुट्याउने वा उपचार गर्ने तरिका प्रयोग गर्दैनौं। (गलाती ५:१९-२१; व्यवस्था १८:१०-१२) बाइबलको साह्रै पक्का बुद्धिको यहाँ अर्को उदाहरण छ: “निर्बुद्धि मानिसले आफूले सुनेको एक एक कुरा पत्याउँछ, चतुर मानिसले चाहिं प्रमाणको आवश्‍यक्‍तालाई बुझ्छ।” (हितोपदेश १४:१५) यसर्थ, स्वास्थ्य उपचारबारे विचार गर्दा ‘आफूले सुनेको एक एक कुरा पत्याउनुको’ सट्टा भरपर्दो जानकारीको खोजी गर्नु बुद्धिमानी हुनेछ। त्यस्तो “आत्मसंयम[ले]” हामीलाई आफूसामु भएका विकल्पहरू राम्ररी केलाउन र जानकार निर्णय गर्न मदत गर्न सक्छ।—तीतस २:१२.

१३, १४. (क) प्रहरीधरहराब्यूँझनुहोस्‌! पत्रिकाले स्वास्थ्य मामिलासम्बन्धी कस्ता जानकारीमूलक लेखहरू प्रकाशित गरेको छ? (पृष्ठ १७ को पेटी हेर्नुहोस्‌।) (ख) जनवरी २२, २००१ अवेक! पत्रिकामा दीर्घकालीन रोगसित सामना गर्ने विषयमा कस्तो सल्लाह दिइएको थियो?

१३ विश्‍वासी दासका साहित्यहरूमा अनुसन्धान गरेर पनि हामी यहोवामा भरोसा प्रकट गर्न सक्छौं। प्रहरीधरहराब्यूँझनुहोस्‌! पत्रिकाले समय समयमा विभिन्‍न प्रकारका स्वास्थ्य समस्या र रोगहरूबारे जानकारीमूलक लेखहरू प्रकाशित गरेको छ। d कहिलेकाहीं यी पत्रिकाहरूमा विभिन्‍न प्रकारका बिसन्चो, रोग र अशक्‍ततासित सफलतापूर्वक सामना गरेका व्यक्‍तिविशेषहरूबारे लेख प्रकाशित गरिएका छन्‌। यसबाहेक, केही खास लेखहरूले दीर्घकालीन स्वास्थ्य समस्याहरूसित कसरी सामना गर्ने भनी धर्मशास्त्रीय सल्लाहका साथै व्यावहारिक सुझाव दिएका छन्‌।

१४ उदाहरणका लागि, जनवरी २२, २००१ अवेक!-मा “बिरामीको लागि सान्त्वना” भन्‍ने श्रृंखला प्रकाशित भएको थियो। ती लेखहरूले मदतकारी बाइबल सिद्धान्तहरू प्रस्तुत गर्नुका साथै वर्षौंदेखि रोगहरूसित संघर्ष गरेका जानकार व्यक्‍तिविशेषहरूसँग लिएको अन्तरवार्ताहरूबाट प्राप्त जानकारीहरू समावेश गरिएको थियो। “आफ्नो रोगको सफलतापूर्वक सामना गर्ने—कसरी?” भन्‍ने लेखमा निम्न सल्लाह दिइएको थियो: आफ्नो बिमारीबारे यथासम्भव जान्‍ने प्रयास गर्नुहोस्‌। (हितोपदेश २४:५) व्यावहारिक लक्ष्यहरू राख्नुहोस्‌ र अरूलाई मदत गर्ने लक्ष्य पनि समावेश गर्नुहोस्‌ तर तपाईं अरूका जस्तै लक्ष्य प्राप्त गर्न असमर्थ हुनुहोला भनी नबिर्सनुहोस्‌। (प्रेरित २०:३५; गलाती ६:४) आफूलाई अरूबाट नअलग्याउनुहोस्‌। (हितोपदेश १८:१) तपाईंलाई अरूहरू भेट्‌न आउँदा, तिनीहरूको लागि रमाइलो अनुभव बनाउने प्रयास गर्नुहोस्‌। (हितोपदेश १७:२२) सबैभन्दा महत्त्वपूर्ण कुरा, यहोवा र मण्डलीसँग आत्मीय सम्बन्ध कायम राख्नुहोस्‌। (नहूम १:७; रोमी १:११, १२) यहोवाले आफ्नो संगठनमार्फत प्रबन्ध गर्नुहुने भरोसायोग्य डोऱ्‍याइको लागि के हामी कृतज्ञ छैनौं र?

शारीरिक कमजोरीले सताइरहँदा

१५ असिद्ध शरीरका कमजोरीहरू विरुद्धको संघर्षमा प्रेरित पावल कसरी विजयी हुन सके र हामी कस्तो आश्‍वासन पाउन सक्छौं?

१५ “मेरो शरीरमा केही असल कुराले बास गर्दैन” भनी प्रेरित पावलले लेखे। (रोमी ७:१८) पावलले असिद्ध शरीरको चाहना तथा कमजोरीहरू विरुद्ध संघर्ष गर्नु कत्ति गाह्रो हुन सक्छ भनी आफ्नो अनुभवबाट बुझेका थिए। तथापि, पावललाई आफू विजयी हुन सक्छु भन्‍ने विश्‍वस्तता पनि थियो। (१ कोरिन्थी ९:२६, २७) कसरी? यहोवामा पूर्ण भरोसा राखेर। त्यसैकारण पावलले यसो भन्‍न सके: “हाय, म कस्तो दुःखी मानिस! यस मृत्युको शरीरबाट मलाई कसले बचाउला? येशू ख्रीष्ट, हाम्रा प्रभुद्वारा परमेश्‍वरमा धन्यवाद होस्‌।” (रोमी ७:२४, २५) हामी नि? हामीले पनि शारीरिक कमजोरीहरू विरुद्ध लड्‌नुपर्छ। त्यस्ता कमजोरीहरूसित संघर्ष गर्दै गर्दा हामी कहिल्यै सफल हुन सक्दैनौं भनी पक्का हुँदा सजिलै आफ्नो विश्‍वस्तता गुमाउन सक्छौं। पावलजस्तै आफ्नो बलमा भर नपरी, उहाँमा भर पऱ्‍यौं भने यहोवाले हामीलाई मदत गर्नुहुनेछ।

१६. शारीरिक कमजोरीले सताइरहँदा हामीले केको लागि प्रार्थना गर्नुपर्छ र फेरि त्यसकै वशमा पऱ्‍यौं भने के गर्नुपर्छ?

१६ शारीरिक कमजोरीले सताइरहँदा हामीले यहोवालाई प्रार्थनामा बिन्ती गरेर उहाँमा भरोसा देखाउन सक्छौं। हामीले यहोवालाई उहाँको पवित्र आत्माको मदतको लागि आग्रह र बिन्तीसमेत गर्नुपर्ने हुन्छ। (लूका ११:९-१३) हामीले तोकेरै आत्मसंयम माग्न सक्छौं जुन परमेश्‍वरको आत्माको फल हो। (गलाती ५:२२, २३) हामी फेरि आफ्नो कमजोरीको वशमा पऱ्‍यौं भने के गर्नुपर्छ? जेहोस्‌, हामीले हरेस खानु हुँदैन। स्वर्गमा हुनुहुने हाम्रो कृपालु परमेश्‍वरलाई क्षमा र मदत माग्दै प्रार्थना गर्न कहिल्यै पछि नहटौं। दोषी अन्तस्करणको कारण “चूर्ण र पूरा पश्‍चतापी हृदयलाई” यहोवाले कहिल्यै तिरस्कार वा बेवास्ता गर्नुहुन्‍न। (भजन ५१:१७) हामीले निष्कपट, पश्‍चातापी हृदयले उहाँलाई बिन्ती गऱ्‍यौं भने यहोवाले प्रलोभनहरू विरुद्ध लड्‌न मदत गर्नुहुनेछ।—फिलिप्पी ४:६, ७.

१७. (क) आफूले संघर्ष गरिरहेको खास कमजोरीबारे यहोवाले कस्तो महसुस गर्नुहुन्छ भनेर विचार गर्नु किन मदतकारी हुन सक्छ? (ख) हामी झनक्क रिसाउने? जिब्रो वशमा राख्ने? अस्वास्थ्यकर मनोरञ्जनप्रति झुकाव? विरुद्ध संघर्ष गरिरहेका छौं भने कुन-कुन शास्त्रपदहरू कण्ठ गर्ने कोसिस गर्न सक्छौं?

१७ हामीले मदतको लागि उहाँको वचनमा खोजी गरेर पनि यहोवामा भरोसा देखाउन सक्छौं। बाइबल अनुक्रमणिका वा प्रहरीधरहराब्यूँझनुहोस्‌!-को विषयसूची चलाउँदै हामीले यस्ता प्रश्‍नहरूको जवाफ भेट्‌टाउने कोसिस गर्न सक्छौं, ‘मैले संघर्ष गरिरहेको यो खास कमजोरीबारे यहोवाले कस्तो महसुस गर्नुहुन्छ?’ यहोवाले यस विषयमा कस्तो महसुस गर्नुहुन्छ भनी विचार गर्दा उहाँलाई प्रसन्‍न तुल्याउने हाम्रो इच्छालाई सुदृढ बनाउन सक्छ। अतः उहाँले घृणा गर्ने कुरालाई घृणा गरेर हामीले उहाँले जस्तै महसुस गर्न थाल्न सक्छौं। (भजन ९७:१०) कसै-कसैले आफूले संघर्ष गरिरहेको खास कमजोरीमा लागू हुने बाइबल पदहरू कण्ठ गर्नु पनि मदतकारी भएको अनुभव गरेका छन्‌। के हामीले झनक्क रिसाउने बानी नियन्त्रणमा राख्न संघर्ष गरिरहेका छौं? त्यसोभए हामीले हितोपदेश १४:१७ र एफिसी ४:३१ जस्ता शास्त्रपदहरू कण्ठ पार्न सक्छौं। के हामीलाई आफ्नो जीब्रो वशमा राख्न गाह्रो भइरहेको छ? हामीले हितोपदेश १२:१८ र एफिसी ४:२९ जस्ता शास्त्रपदहरू मुखाग्र पार्न सक्छौं। के हाम्रो अस्वास्थ्यकर मनोरञ्जनप्रति झुकाव छ? हामीले एफिसी ५:३ र कलस्सी ३:५ जस्ता शास्त्रपदहरू सम्झने कोसिस गर्न सक्छौं।

१८. हाम्रा कमजोरीहरूमाथि विजयी हुन प्राचीनहरूको मदत माग्न हामीले किन अप्ठ्यारो मान्‍नु पर्दैन?

१८ यहोवामा भर परेको प्रदर्शित गर्ने थप तरिका मण्डलीमा आत्मा-नियुक्‍त प्राचीनहरूका मदत लिएर हो। (प्रेरित २०:२८) आखिर, यी “पुरुषहरूमध्ये वरदान” [ NW] यहोवाले ख्रीष्टमार्फत आफ्नो बगालको सुरक्षा र हेरचाहको लागि गर्नुभएको प्रबन्ध हो। (एफिसी ४:७, ८, ११-१४) हो, कमजोरीसित संघर्ष गर्नको लागि मदत माग्नु सजिलो नहुन सक्छ। प्राचीनहरूले हामीलाई नकारात्मक ढंगमा लेलान्‌ भन्‍ने डरले हामीलाई अप्ठ्यारो लाग्न सक्छ। तर निस्सन्देह, मदत माग्न हामीले साहस बटुलेकोमा यी आध्यात्मिक तवरमा परिपक्व भाइहरूले हाम्रो आदर गर्नेछन्‌। यसबाहेक, प्राचीनहरूले बगालसित व्यवहार गर्दा यहोवाका गुणहरू प्रतिबिम्बित गर्ने प्रयास गर्छन्‌। तिनीहरूको सान्त्वनादायी सल्लाह तथा परमेश्‍वरको वचनबाट दिइने निर्देशन नै हामीलाई आफ्ना कमजोरीहरू विरुद्ध विजयी हुने संकल्पमा दृढ हुन चाहिएको कुरा हुन सक्छ।—याकूब ५:१४-१६.

१९. (क) शैतानले यस संसारको व्यर्थतालाई कसरी चलाउने प्रयास गर्छ? (ख) भरोसामा के समावेश छ र हाम्रो कस्तो दृढ संकल्प हुनुपर्छ?

१९ शैतानलाई आफ्नो अल्प समयबारे थाह छ भनेर कहिल्यै नबिर्सनुहोस्‌। (प्रकाश १२:१२) त्यसले यस संसारको व्यर्थतालाई चलाएर हामीलाई निरुत्साहित बनाउन र हरेस खान लगाउन चाहन्छ। रोमी ८:३५-३९ मा व्यक्‍त गरिएका कुरामा हामी पूर्णतया विश्‍वस्त होऔं: “कसले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्ने र? के सङ्‌कष्टले, अथवा शारीरिक वेदनाले, वा खेदोले, वा अनिकालले, वा नग्नता, अथवा खतराले, वा तरवारले? . . . होइन, यी सबै कुरामा हामीलाई प्रेम गर्नुहुनेद्वारा हामी विजयीहरूभन्दा पनि बढी छौं। किनकि म यो निश्‍चय जान्दछु, कि नता मृत्युले, न जीवनले, न स्वर्गदूतहरूले, न प्रधानताहरूले, न वर्त्तमानको कुराहरूले, न पछि हुने कुराहरूले, न शक्‍तिहरूले, न उँचाइले, न गहराइले, न अरू कुनै सृष्टिले हाम्रा प्रभु ख्रीष्ट येशूमा भएको परमेश्‍वरको प्रेमबाट हामीलाई अलग गर्नसक्नेछ।” यहोवामा भरोसाको कस्तो अभिव्यक्‍ति! तथापि, त्यस्तो भरोसा भावना मात्र होइन। बरु, यो भरोसामा हामीले आफ्नो दैनिक जीवनमा गर्ने जानकार निर्णयहरू समावेश छन्‌। त्यसकारण संकष्टको बेला यहोवामा पूर्ण भरोसा राख्न हामी दृढ संकल्प गरौं।

[फुटनोटहरू]

a नोभेम्बर २०, १८६१ मा अर्थमन्त्री साल्मन पि. चेसले सं.रा.अ.को टकसार विभागलाई यस्तो पत्र पठाए: “कुनै पनि राष्ट्र परमेश्‍वरको बलविना बलियो हुन सक्दैन वा उहाँको सुरक्षाविना सुरक्षित हुन सक्दैन। परमेश्‍वरमाथि हाम्रा जनताको भरोसा हाम्रो राष्ट्रिय सिक्कामा घोषणा गर्नुपर्छ।” फलस्वरूप, “हामी परमेश्‍वरमा भरोसा राख्छौं” भन्‍ने आदर्श-वाक्य भएको सिक्का पहिलो चोटि १८६४ मा चलनचल्तीमा आयो।

b यहाँ वर्णन गरिएको फिक्री “चिन्ताग्रस्त डर हो” भनिन्छ, “जसले जीवनको सबै आनन्द हरण गर्छ।” “फिक्री नगर” वा “चिन्ता नगर” भन्‍ने जस्ता अनुवादहरूले हामीले फिक्री वा चिन्ता गर्न थाल्नु हुँदैन भन्‍ने बुझाउँछ। तर एउटा अनुवाद यसो भन्छ: “युनानी क्रियापद वर्तमान आज्ञा सूचक हो र यसले सुरु भइसकेको कार्य बन्द गर्ने आज्ञा दिन्छ।”

c आठवटा बुँदा यसप्रकार छन्‌: (१) नआत्तिनुहोस्‌; (२) सकारात्मक सोचाइ राख्नुहोस्‌; (३) नयाँ प्रकारका कामहरू स्वीकार्न आफ्नो मन तयार राख्नुहोस्‌; (४) आफ्नो आयस्रोतअनुसार जीवन बिताउनुहोस्‌, अरू कसैको स्तरअनुसार होइन; (५) उधारोमा किन्‍ने सन्दर्भमा होसियार हुनुहोस्‌; (६) परिवारलाई एकताबद्ध राख्नुहोस्‌; (७) आफ्नो आत्म-सम्मानलाई कायम राख्नुहोस्‌ र (८) आफ्नो खर्च हिसाब निर्धारण गर्नुहोस्‌।

d यी बाइबल आधारित पत्रिकाहरूले कुनै खास प्रकारको उपचारविधिको पक्ष लिने वा प्रवर्धन गर्ने गर्दैन किनभने स्वास्थ्य मामिलासम्बन्धी निर्णय गर्नु पूर्णतया व्यक्‍तिगत कुरा हो भनी यसले मानिलिन्छ। बरु, कुनै खास बिमारी वा रोगबारे छलफल गरिएका लेखहरूले अहिले थाह हुँदै गइरहेका तथ्यहरूबारे पाठकलाई जानकारी दिने प्रयास गर्छ।

के तपाईंलाई सम्झना छ?

• आर्थिक समस्याहरू सामना गर्नुपर्दा हामीले कुन-कुन तरिकामा यहोवामा भरोसा राखेको देखाउन सक्छौं?

• स्वास्थ्य समस्याले पीडित हुँदा हामी कसरी यहोवामा भरोसा देखाउन सक्छौं?

• शारीरिक कमजोरीले सताइरहँदा हामी यहोवामा साँच्चै भर पर्छौं भनेर कसरी देखाउन सक्छौं?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ १७-मा भएको पेटी]

के तपाईंले यी लेखहरू सम्झनुभएको छ?

स्वास्थ्य समस्याहरूको कारण उदास हुँदा बिसन्चो, रोग वा असक्‍तताको सामना गर्न सफल भएका व्यक्‍तिहरूबारे पढ्‌नु प्रोत्साहनजनक हुन सक्छ। निम्न केही लेखहरू प्रहरीधरहराब्यूँझनुहोस्‌! पत्रिकामा प्रकाशित भएका छन्‌:

“मेरा कमजोरीहरूको सामनी गर्ने” नकारात्मक सोचाइ र निराशामा केन्द्रित थियो।— द वाचटावर, मे १, १९९०.

“फलामको फोक्सोले समेत तिनको प्रचारकार्यलाई रोक्न सकेन।”— अवेक!, जनवरी २२, १९९३.

“एउटा बुलेटले मेरो जीवन परिवर्तन गऱ्‍यो” पक्षघात सामना गर्ने विषयमा केन्द्रित थियो।— अवेक!, अक्टोबर २२, १९९५.

“भोलि के हुने हो तिमीहरू जान्दैनौ” बाइपोलार डिसअडर (दुईरूपी मनस्थिति) भन्‍ने समस्याबारे छलफल गरिएको थियो।— प्रहरीधरहरा, डिसेम्बर १, २०००.

“मौनताबाट निस्केको लोइडाको यात्रा” सेरिब्रल पाल्सी सामना गर्ने विषयमा केन्द्रित थियो।— अवेक!, मे ८, २०००.

“एन्डोमेट्रियोसिससित मेरो संघर्ष।”— अवेक!, जुलाई २२, २०००.

“स्क्लेरोडर्मासित मेरो द्वन्द्व।”— अवेक!, अगस्त ८, २००१.

“मैले प्रसव-उदासीनताको सामना गरें।”— ब्यूँझनुहोस्‌!, सेप्टेम्बर ८, २००२.

[पृष्ठ १५-मा भएको चित्र]

जागिर गुमाउँदा हामीले आफ्नो जीवन शैलीलाई पुनः केलाएर हेर्नु बुद्धिमानी हुन सक्छ

[पृष्ठ १६-मा भएको चित्र]

लोइडाको कथाले यहोवामा भरोसा राख्दा कसरी सहन मदत पाउन सकिन्छ भनी देखाउँछ। (पृष्ठ १७ को पेटी हेर्नुहोस्‌)

[पृष्ठ १८-मा भएको चित्र]

हाम्रो कमजोरीहरूमाथि विजयी हुन मदत माग्न हामीले अप्ठ्यारो मान्‍नु पर्दैन