सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“समुदायको बीचमा” यहोवाको प्रशंसा गर्नुहोस्‌

“समुदायको बीचमा” यहोवाको प्रशंसा गर्नुहोस्‌

“समुदायको बीचमा” यहोवाको प्रशंसा गर्नुहोस्‌

मसीही सभाहरू भनेको आफ्ना जनहरूलाई आध्यात्मिक तवरमा बलियो राख्न यहोवाले गर्नुभएको प्रबन्ध हो। सभाहरूमा नियमित रूपमा उपस्थित भएर हामी यहोवाले गर्नुभएका प्रबन्धहरूप्रति मूल्यांकन देखाउँछौं। यसबाहेक, हामी “प्रेम र सुकर्ममा [हाम्रा भाइहरूलाई] उत्तेजित” गराउने मदत पाउँछौं, जुन आपसमा प्रेम प्रदर्शन गर्ने एउटा महत्त्वपूर्ण तरिका हो। (हिब्रू १०:२४; यूहन्‍ना १३:३५) तर, सभाहरूमा हामी कसरी आफ्ना भाइहरूलाई उत्तेजित गराउन सक्छौं?

जनसमक्ष घोषणा गर्नुहोस्‌

राजा दाऊदले आफ्नो विषयमा यस्तो लेखे: “म आफ्ना दाज्यू-भाइहरूलाई तपाईंको नाउँको वर्णन गर्नेछु। समुदायको बीचमा म तपाईंको प्रशंसा गर्नेछु। ठूलो सभामा मेरो स्तुति तपाईंबाटनै उत्पन्‍न हुन्छ।” “ठूलो समुदायमा म तपाईंमा धन्यवाद चढाउनेछु। धेरै मानिसहरूका बीचमा म तपाईंको प्रशंसा गर्नेछु।” “मैले ठूलो सभामा धार्मिकताको सुसमाचार प्रकट गरेको छु। हेर्नुहोस्‌, म मेरा ओठहरू बन्द गर्नेछैनँ।”—भजन २२:२२, २५; ३५:१८; ४०:९.

प्रेरित पावलको समयमा, मसीहीहरू उपासनाको लागि एक ठाउँमा भेला हुँदा उनीहरूले यहोवामाथि आफ्नो विश्‍वास र उहाँको महिमाबारे त्यस्तै अभिव्यक्‍ति व्यक्‍त गरे। यस प्रकार उनीहरूले एक-अर्कालाई प्रोत्साहन दिनुका साथै प्रेम र सुकर्ममा एउटाले अर्कोलाई उत्तेजित गरे। दाऊद र पावल दुवैको समयभन्दा थुप्रै शताब्दीहरूपछि आज हाम्रो समयमा, हामी साँच्चै “[यहोवाको] दिन नजीक नजीक आईपुगेको” देख्छौं। (हिब्रू १०:२४, २५) शैतानको रीतिरिवाज विनाशतर्फ धकेलिंदैछ र समस्याहरू चुलिंदै गइरहेको छ। हामीलाई अहिले जति “धीरजको आवश्‍यकता” पहिले कहिल्यै परेको थिएन। (हिब्रू १०:३६) हाम्रा भाइहरूले नदिए अरू कसले हामीलाई धीरजी हुन प्रोत्साहन दिन सक्छ र?

विगतको समयमा झैं आज, “समुदायको बीचमा” आफ्नो विश्‍वास व्यक्‍त गर्न हरेक व्यक्‍तिविशेष विश्‍वासीहरूका लागि प्रबन्धहरू मिलाइएका छन्‌। सबैका लागि खुला एउटा सुअवसर भनेको मण्डलीका सभाहरूमा श्रोतागणलाई सोधिने प्रश्‍नहरूमा टिप्पणीहरू दिएर हो। यसले कत्ति लाभ पुऱ्‍याउन सक्छ भन्‍ने कुरालाई कहिल्यै हल्कासित नलिनुहोस्‌। उदाहरणका लागि, समस्याहरूमाथि कसरी विजय हासिल गर्ने वा समस्यामा नपर्न के गर्न सकिन्छ भन्‍ने विषयमा दिइने टिप्पणीहरूले बाइबल सिद्धान्तहरू पछ्याउने हाम्रा भाइहरूको संकल्पलाई बलियो बनाउँछ। उल्लिखित तर उद्धरण नगरिएका पदहरूमा वा व्यक्‍तिगत अनुसन्धानबाट पत्ता लगाएका विचारहरू समाविष्ट टिप्पणीहरूले अरूलाई अध्ययन गर्ने राम्रो बानी विकास गर्न प्रोत्साहन दिन सक्छ।

टिप्पणी दियौं भने, हामी आफै र अरूले पनि त्यसबाट लाभ उठाउनेछन्‌ भन्‍ने कुरा बुझ्दा यहोवाका सबै साक्षीहरूलाई लाज नमान्‍न वा नहिचकिचाई बोल्न उत्प्रेरित गर्नुपर्ने हो। विशेष गरी प्राचीन तथा सेवकाई सेवकहरूले सभाहरूमा टिप्पणी दिनु महत्त्वपूर्ण छ किनभने सभामा टिप्पणी दिने र उपस्थित हुने सन्दर्भमा उनीहरूले नेतृत्व लिएको आशा गरिन्छ। यद्यपि, कसै-कसैलाई आफ्नो मसीही गतिविधिको यो विशेष पक्ष चुनौतीपूर्ण लाग्छ भने तिनले कसरी उन्‍नति गर्न सक्छन्‌?

उन्‍नतिका लागि सुझावहरू

यहोवा मुछिनुभएको छ भन्‍ने कुरा नबिर्सनुहोस्‌। जर्मनीमा बसोबास गर्ने एउटी मसीही बहिनी आफूले दिने टिप्पणीहरूप्रतिको आफ्नो दृष्टिकोण बताउँछिन्‌। “परमेश्‍वरका जनहरूलाई आफ्नो विश्‍वास व्यक्‍त गर्नदेखि रोक्ने शैतानका प्रयासहरूको प्रत्युत्तरमा ती मेरा व्यक्‍तिगत जवाफ हुन्‌।” भर्खरै बप्तिस्मा लिएर त्यही मण्डलीमा संगत गर्न थालेका एक जना भाइ यसो भन्छन्‌: “टिप्पणी दिने सन्दर्भमा म एकदमै प्रार्थना गर्छु।”

राम्रो तयारी गर्नुहोस्‌। यदि तपाईंले पहिल्यै विषयवस्तु अध्ययन गर्नुभएको छैन भने, टिपप्णी दिन तपाईंलाई गाह्रो हुनेछ र तपाईंका टिप्पणीहरू त्यति प्रभावकारी हुनेछैनन्‌। मण्डलीका सभाहरूमा टिप्पणी दिने सन्दर्भमा सुझावहरू बेनिफिट फ्रम थियोक्राटिक मिनिस्ट्री स्कूल एजुकेशन प्रकाशनको पृष्ठ ७० मा दिइएका छन्‌। a

सभामा कम्तीमा एउटा भए पनि टिप्पणी दिने लक्ष्य राख्नुहोस्‌। यसको अर्थ एकभन्दा बढी जवाफहरू तयारी गर्नु हो, किनभने तपाईं जति धेरै हात उठाउनुहुन्छ, सञ्चालक भाइले तपाईंको नाउँ बोलाउने सम्भावना त्यति नै बढी हुन्छ। कुन प्रश्‍नको जवाफ दिन तपाईं तयार हुनुहुन्छ, त्यसबारे पहिल्यै तिनलाई बताउन समेत चाहनुहुन्छ होला। तपाईंले भर्खरै टिप्पणी दिन थाल्नुभएको छ भने, यसो गर्नु विशेष गरी मदतकारी हुन सक्छ। “समुदायको बीचमा” हात उठाउन तपाईं हिचकिचाउन सक्ने भएकोले गर्दा तपाईंले तयारी गर्नुभएको अनुच्छेद मेरो हो र सभा सञ्चालकले मेरो हात हेर्नुहुनेछ भनेर सम्झनुभयो भने, त्यसले तपाईंलाई टिप्पणी दिन प्रोत्साहन दिनेछ।

सुरुमै टिप्पणी दिनुहोस्‌। गाह्रो कामलाई पछि सार्दैमा त्यो सजिलो हुँदैन। सभाको सुरुमै टिप्पणी दिंदा मदतकारी हुन सक्छ। पहिलो टिप्पणी दिइसकेपछि दोस्रो वा तेस्रो पटक टिप्पणी दिन त्यति गाह्रो नभएको देखेर तपाईं छक्कै पर्नुहुनेछ।

उपयुक्‍त सिट छान्‍नुहोस्‌। कसै-कसैलाई राज्यभवनको अगाडिपट्टि बस्दा टिप्पणी दिन सजिलो लाग्छ। अगाडिपट्टि ध्यान खलबल्याउने कुराहरू त्यति हुँदैनन्‌ र सञ्चालकले पनि हात सजिलै देख्न सक्छन्‌। यदि तपाईंले यसो गर्ने कोसिस गर्नुभयो भने, विशेष गरी यताउता डुलाउन मिल्ने माइक्रोफोनहरू नभएका मण्डलीमा सबैले सुन्‍ने गरी ठूलो स्वरमा बोल्न नभूल्नुहोस्‌।

ध्यान दिएर सुन्‍नुहोस्‌। यसो गर्दा अरू कसैले भर्खरै भनेका कुराहरू नदोहोऱ्‍याउन मदत पाउनुहुनेछ। साथै, अरूले दिएका टिप्पणीहरूले तपाईंलाई कुनै शास्त्रपद वा भर्खरै व्यक्‍त गरिएको विचारलाई समर्थन गर्ने कुनै बुँदाको सम्झना दिलाउन सक्छ। कहिलेकाहीं त, छोटो अनुभवले छलफल भइरहेको बुँदालाई छर्लंग पार्न सक्छ। यस्ता टिप्पणीहरू निकै मदतकारी हुन्छन्‌।

आफ्नै शब्दमा जवाफ दिन सिक्नुहोस्‌। अध्ययन लेखबाटै टिप्पणी पढ्‌दा तपाईंले सही जवाफ पाउनुभयो भन्‍ने कुरा त्यसले संकेत गर्न सक्छ र यो टिप्पणी दिन सुरु गर्ने एउटा उत्तम तरिका हुन सक्छ। तर आफ्नै शब्दमा जवाफ दिन उन्‍नति गर्दा त्यसले छलफल गरिएको बुँदा तपाईंले बुझ्नुभएको रहेछ भन्‍ने कुरा देखाउँछ। हाम्रा प्रकाशनहरूमा भनिएका कुराहरू हुबहु उद्धरण गरिरहनु आवश्‍यक छैन। यहोवाका साक्षीहरूले आफ्ना प्रकाशनहरूमा भनिएका कुराहरू मात्र सुगाले जस्तो दोहोऱ्‍याउने गर्दैनन्‌।

विषयसित सम्बन्धित टिप्पणी दिनुहोस्‌। विषयसित सम्बन्धित नभएका टिप्पणीहरू वा छलफल भइरहेको विषयदेखि बाहिरका टिप्पणीहरू दिनु उचित होइन। यसको मतलब के हो भने, तपाईंले दिनुहुने टिप्पणीहरू छलफल भइरहेको विषयसित सम्बन्धित हुनुपर्छ। तब भने मूल बुँदालाई समर्थन गर्दै छलफललाई आध्यात्मिक तवरमा उत्थानदायी बनाउन योगदान पुऱ्‍याउनेछ।

प्रोत्साहन दिने लक्ष्य राख्नुहोस्‌। टिप्पणी दिनुको प्रमुख कारण अरूलाई प्रोत्साहन दिनु भएकोले अरूलाई निरुत्साहित पार्ने कुराहरू भन्‍नदेखि हामी अलग्गै बस्नुपर्छ। यसबाहेक, अरूको लागि टिप्पणी दिने अलिकति वा केही पनि बुँदै नछोडी पूरै अनुच्छेद ढाकेर टिप्पणी दिने नगर्नुहोस्‌। लामो वा जटिल जवाफले भन्‍न खोजेको कुरा नै अस्पष्ट हुन जान्छ। दुई-चार शब्दमा छोटो-मीठो जवाफ दिंदा एकदमै प्रभावकारी हुन सक्छ र त्यसले नयाँ व्यक्‍तिहरूलाई आफूले तयार गरेको छोट-छोटो जवाफ दिन प्रोत्साहन दिनेछ।

सभा सञ्चालन गर्नेहरूको भूमिका

जहाँसम्म प्रोत्साहनदायी हुने कुरा छ, सभा सञ्चालन गर्ने व्यक्‍तिको काँधमा पनि गहन जिम्मेवारी छ। ध्यान दिएर सुन्‍नुका साथै अन्य कुराहरूमा व्यस्त रहनुको सट्टा टिप्पणी दिने व्यक्‍तिको आँखामा शिष्टतासाथ हेरेर तिनले हरेक टिप्पणीमा साँचो चासो देखाउँछन्‌। ध्यान दिएर सुनेन र भर्खरै भनिएको कुरालाई बेकारमा दोहोऱ्‍याइरह्‍यो भने वा भर्खरै जवाफ दिइएको प्रश्‍न फेरि सोधेको खण्डमा कत्ति अनुपयुक्‍त हुनेछ!

टिप्पणी अलि अपर्याप्त थियो भनेझैं देखाउन भर्खरै दिइएको टिप्पणीलाई सञ्चालकले अलिकति फरक शब्दमा फेरि दोहोऱ्‍यायो भने पनि त्यो पटक्कै प्रोत्साहनदायी हुँदैन। अर्कोतर्फ, टिप्पणीहरूले महत्त्वपूर्ण बुँदाबारे थप छलफल गर्न योगदान पुऱ्‍याउँदा कत्ति प्रोत्साहनदायी हुन्छ। ‘यो हामी आफ्नो मण्डलीमा कसरी लागू गर्न सक्छौं?’ वा “अनुच्छेदमा दिइएको कुन शास्त्रपदले भर्खरै भनिएका कुराको समर्थन गर्छ?’ जस्ता प्रश्‍नहरूले सकारात्मक टिप्पणीहरू दिन प्रोत्साहन दिनुका साथै मूल्यवान्‌ योगदान पुऱ्‍याउँछ।

निस्सन्देह, नयाँ व्यक्‍ति वा लाज मान्‍ने व्यक्‍तिहरूले टिप्पणी दिंदा विशेष गरी उनीहरूको सराहना गर्नुपर्छ। अप्ठ्यारो स्थिति उत्पन्‍न नहोस्‌ भन्‍ने उद्देश्‍यले व्यक्‍तिगत तवरमै भेटेर सराहना गर्न सकिन्छ र उपयुक्‍त भए यही मौकामा सञ्चालकले सल्लाह पनि दिन सक्छन्‌।

सामान्य कुराकानीको दौडान, आफै मात्र बोलिरहने व्यक्‍तिले कुराकानीको आदानप्रदानलाई नै निरुत्साहित पार्छ। तिनका श्रोताहरूले बोल्नुपर्ने कुनै आवश्‍यकता महसुस गर्दैनन्‌। सुन्‍नै परे तापनि आधा मनको भएर सुन्‍न बाध्य हुन सक्छन्‌। छलफलको दौडान सञ्चालकले घरी-घरी आफैले मात्र टिप्पणी दिइरहेर छलफललाई आफ्नो नियन्त्रणमा राख्दा पनि त्यस्तै हुन सक्छ। तथापि, सभा सञ्चालकले कहिलेकाहीं थप प्रश्‍नहरू सोधेर उपस्थित श्रोताहरूको मनको कुरा बुझ्न र छलफल भइरहेको विषयमा उनीहरूको सोचाइलाई उत्प्रेरित गर्न सक्छन्‌। यस्ता प्रश्‍नहरू आवश्‍यक परेको खण्डमा प्रयोग गर्नुपर्छ।

सञ्चालकले सबैभन्दा पहिला हात उठाउने व्यक्‍तिको नाउँ नै लिनेछन्‌ भन्‍ने छैन। नत्र आफ्नै शब्दमा टिप्पणी दिन अलि समय लाग्ने व्यक्‍तिहरू निरुत्साहित हुन सक्छन्‌। एकैछिन पर्खेर तिनले टिप्पणी दिने मौका नपाएका व्यक्‍तिलाई मौका दिनेछन्‌। आफ्नो समझशक्‍तिदेखि बाहिरको विषयमा साना केटाकेटीहरूलाई टिप्पणी दिन नलगाएर पनि तिनले विवेक देखाउँछन्‌।

गलत जवाफ दिएको खण्डमा नि? सञ्चालकले त्यस्तो जवाफ दिने व्यक्‍तिलाई अप्ठ्यारोमा पार्नु हुँदैन। टिप्पणी गलत नै भए तापनि त्यसमा अक्सर सत्य कुराको केही अंश हुन्छ। टिप्पणीमा भएको कुनै सही कुरा कौशलतासाथ छानेर, अर्कै किसिमले प्रश्‍न सोधेर वा थप प्रश्‍न सोधेर सञ्चालकले अप्ठ्यारो स्थिति सृजना नगरीकनै जवाफलाई सच्याउन सक्छन्‌।

टिप्पणी दिन प्रोत्साहित गर्नका लागि सभा सञ्चालकले ‘अरू कसैको टिप्पणी छ कि?’ भन्‍ने जस्ता सामान्य प्रश्‍नहरू नसोध्नु नै बेस हुनेछ। ‘कसले टिप्पणी दिनुभएको छैन? यो तपाईंको लागि अन्तिम मौका हो!’ भन्‍ने प्रश्‍न सोध्नुको मनसाय राम्रै होला तर यसले कुनै व्यक्‍तिलाई खुलेर आफ्नो विचार व्यक्‍त गर्न खासै प्रोत्साहन दिनेछैन। अध्ययनको दौडान पहिल्यै टिप्पणी नदिएकोमा भाइहरूलाई दोषी महसुस गर्न लगाउनु हुँदैन। बरु, थाह भएका कुरा बाँड्‌न उनीहरूलाई प्रोत्साहित गर्नुपर्छ किनभने बाँड्‌नु भनेको प्रेमको अभिव्यक्‍ति हो। यसबाहेक, सञ्चालकले कसैलाई टिप्पणी दिन लगाइसकेपछि यसो नभन्‍नु नै बेस हुन्छ, “उहाँपछि हामी भाइ फलानो-फलानोबाट र बहिनी फलानो-फलानोबाट टिप्पणी सुन्‍नेछौं।” सबैभन्दा पहिला सञ्चालकले टिप्पणी ध्यान दिएर सुन्‍नुपर्छ र त्यसपछि थप टिप्पणी दिनु आवश्‍यक छ कि छैन, पक्का गर्नुपर्छ।

टिप्पणी दिनु सुअवसर हो

मसीही सभाहरूमा उपस्थित हुनु आध्यात्मिक आवश्‍यकता हो भने, त्यहाँ टिप्पणी दिनु एउटा सुअवसर हो। “समुदायको बीचमा” यहोवाको प्रशंसा गर्ने योजस्तो विशेष तरिकामा हामी जति भाग लिन्छौं, त्यति नै हामीले दाऊदको उदाहरण पछ्याउनुका साथै पावलको सल्लाहलाई गम्भीरतासाथ लिइरहेका हुन्छौं। सभाहरूमा भाग लिंदा त्यसले हामी आफ्ना भाइहरूलाई माया गर्छौं र हामी यहोवाको ठूलो समुदायको भाग हौं भन्‍ने कुरा प्रमाणित गर्छ। “दिन नजीक नजीक आईपुगेको . . . देखेकै हुनाले” मसीही सभाहरूमा उपस्थित नभई तपाईं कहाँ हुन चाहनुहुन्छ र?—हिब्रू १०:२५.

[फुटनोट]

a यहोवाका साक्षीहरूद्वारा प्रकाशित।

[पृष्ठ २०-मा भएका चित्रहरू]

मसीही सभाहरूमा सुन्‍नु र टिप्पणी दिनु दुवै महत्त्वपूर्ण छन्‌

[पृष्ठ २१-मा भएको चित्र]

सञ्चालकले हरेक टिप्पणीमा साँचो चासो देखाउँछन्‌