सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अघि र पछि कसरी बाइबलले यो मान्छेलाई परिवर्तन गऱ्‍यो

अघि र पछि कसरी बाइबलले यो मान्छेलाई परिवर्तन गऱ्‍यो

“परमेश्‍वरको नजीक आओ, उहाँ तिमीहरूका नजीक आउनुहुनेछ”

अघि र पछि कसरी बाइबलले यो मान्छेलाई परिवर्तन गऱ्‍यो

संगीत रल्फ-माइकलको जीवन थियो। लागूपदार्थ उनको नशा थियो। जर्मनीमा ठिटै छँदा उनी अचाक्ली रक्सी पिउँथे अनि एल एस डी, कोकेन, गाँजा र अन्य लट्ठ्याउने पदार्थहरू सेवन गर्ने कुरामा त कुनै सीमा नै थिएन।

एउटा अफ्रिकी मुलुकमा लागूपदार्थको तस्करी गर्ने क्रममा उनी पक्राउ परे र उनले १३ महिना जेलमा बिताउनु पऱ्‍यो। त्यो जेल जीवनले उनलाई जीवनको साँचो उद्देश्‍यमा घोरिने समय दियो।

रल्फ-माइकल अनि उनकी पत्नी अर्सुलाले जीवनको अर्थ र सच्चाइ पाउन अनेक खोजी गरे। कथित मसीही चर्चहरूको नकारात्मक अनुभवहरूको बावजुद परमेश्‍वरलाई चिनेरै छाड्‌ने तिनीहरूको बलियो अठोट थियो। तिनीहरूका मनमा अनेक प्रश्‍नहरू थिए, मनका ती प्रश्‍नहरूलाई तिनीहरूले विभिन्‍न धार्मिक समूहहरूमा बिसाए तर चित्तबुझ्दो जवाफ भने कसैबाट पाएनन्‌। यसबाहेक, ती धर्महरू, तिनीहरूको जीवनमा परिवर्तन ल्याउने जोडदार उत्प्रेरणा बन्‍न सकेनन्‌।

अन्ततः रल्फ-माइकल अनि अर्सुलाको यहोवाका साक्षीहरूसित भेट भयो। बाइबल अध्ययन गर्न थालेपछि बाइबलको यो सल्लाहले रल्फ-माइकलको मनको गहिराइलाई छोयो: “परमेश्‍वरको नजीक आओ, र उहाँ तिमीहरूका नजीक आउनुहुनेछ।” (याकूब ४:८) उनी ‘अघिअघिको आचरणअनुसारको पुरानो मानिसलाई त्याग्न र नयाँ व्यक्‍तित्व धारण गर्न कटिबद्ध भए जुन परमेश्‍वरअनुसार धार्मिकता र सत्यको पवित्रतामा सृष्टि भएको हुन्छ।’—एफिसी ४:२२-२४.

कसरी रल्फ माइकलले नयाँ व्यक्‍तित्व धारण गर्न सके? ‘सही ज्ञानद्वारा’ कुनै पनि व्यक्‍तिको व्यक्‍तित्व “आफूलाई सृष्टि गर्नेको रूपजस्तै” अर्थात्‌ यहोवा परमेश्‍वरको जस्तै बन्‍न सक्छ भनी उनलाई बाइबल खोलेरै देखाइयो।—कलस्सी ३:९-११.

सही ज्ञान लिंदै जाँदा रल्फ-माइकलले परमेश्‍वरका वचनका सिद्धान्तहरू अनुरूप जीवन व्यतीत गर्ने प्रयत्न गरे। (यूहन्‍ना १७:३) लागूपदार्थको पासोबाट फुत्कनु सजिलो कुरो थिएन तर रल्फ-माइकलले प्रार्थनामा यहोवालाई पुकार्नुपर्ने अनि प्रार्थना गरेपछि यहोवाद्वारा पाइने मदतको महत्त्वलाई बुझे। (१ यूहन्‍ना ५:१४, १५) यहोवाको साक्षी बनेर परमेश्‍वरको इच्छा गर्न प्रयत्न गरिरहेकाहरूसित नजिक भएर संगत गर्दा उनले थप बल प्राप्त गरे।

संसार बितेर जाँदै छ अनि परमेश्‍वरको इच्छा गर्नेहरू मात्र सधैंभरि रहिरहनेछन्‌ भन्‍ने ज्ञानले पनि रल्फ-माइकललाई बल दियो। यसले उनलाई संसारको क्षणिक मोहलाई होइन तर मायालु परमेश्‍वर यहोवासितको घनिष्ठ सम्बन्धबाट प्राप्त हुने अनन्त आशिष्‌ रोज्न उत्प्रेरित गऱ्‍यो। (१ यूहन्‍ना २:१५-१७) हितोपदेश २७:११ का यी शब्दहरूले रल्फ-माइकलको मन छोयो: “हे मेरो छोरो, बुद्धिमान हो, र त्यसले मेरो हृदयलाई आनन्दित तुल्याउँछ, र मेरो आलोचना गर्नेहरूलाई म मुखभरिको जवाफ दिनसक्छु।” कृतज्ञ भई उनी यस्तो उद्‌गार व्यक्‍त गर्छन्‌: “यो पदले यहोवाको प्रेमको गहिराइ प्रकट गर्छ किनकि उहाँ मानिसजातिलाई उहाँको हृदय प्रसन्‍न पार्ने सुअवसर दिनुहुन्छ।”

रल्फ माइकल र उनकी पत्नी अनि तीन छोराछोरीले झैं लाखौंले बाइबलका सिद्धान्तहरू जीवनमा लागू गरेर लाभ उठाएका छन्‌। यस्ता व्यक्‍तिहरू विश्‍वभरि छरिएर रहेका यहोवाका साक्षीहरूको मण्डलीहरूमा देख्न सकिन्छ। दुःखको कुरा, कुनै-कुनै देशमा यहोवाका साक्षीहरूलाई परिवार टुक्य्राउने खतरनाक गुट हो भन्‍ने झूटो आरोप लगाइन्छ। रल्फ माइकलको अनुभवले यो कुरालाई गलत प्रमाणित गरिदिन्छ।—हिब्रू ४:१२.

आध्यात्मिक गतिविधिहरूलाई प्रथम स्थानमा राख्न जोडदार आह्वान गर्ने मत्ती ६:३३ पद नै आफ्नो परिवारको ‘कम्पास’ भएको कुरा रल्फ माइकल व्यक्‍त गर्छन्‌ जसले तिनीहरूलाई सही दिशातर्फ निर्देशित गर्छ। आज, मसीहीहरूको हैसियतमा आफ्नो सुखी परिवारको लागि उनीलगायत उनको परिवार यहोवाप्रति साह्रै कृतज्ञ छन्‌। तिनीहरू सबै भजन रचयिताले गाएका यी भावनाहरूमा एकै मनले सहमति जनाउँछन्‌: “परमप्रभुले गर्नुभएको मेरो उपकारको निम्ति म उहाँलाई के भर्ना चढाऊँ?”—भजन ११६:१२.

[पृष्ठ ९-मा भएको ठूलो अक्षरको क्याप्सन]

परमेश्‍वरले मानिसहरूलाई उहाँको हृदय प्रसन्‍न तुल्याउने सुअवसर दिनुहुन्छ

[पृष्ठ ९-मा भएको पेटी]

व्यवहारमा उतारिएका बाइबल सिद्धान्तहरू

धेरैलाई प्राणघातक कुलतहरू त्याग्न उत्प्रेरित गर्ने केही बाइबल सिद्धान्तहरू तल दिइएका छन्‌:

“हे परमप्रभुले प्रेम गर्ने हो, खराबीलाई घृणा गर।” (भजन ९७:१०, छड्‌के अक्षर हाम्रो) मृत्युको मुखमा पुऱ्‍याउने आनीबानीहरू कत्तिको खराब छन्‌ भनी बुझेर त्यसप्रति साँचो घृणा विकास गरिसकेपछि कुनै पनि मानिसले परमेश्‍वरलाई खुसी तुल्याउने काम गर्न सजिलो महसुस गर्छन्‌।

बुद्धिमानीहरूको सङ्‌गत गर्नाले बुद्धिमान होइन्छ मूर्खहरूसित लागे बरालिन्छ। (हितोपदेश १३:२०) लागूपदार्थ तथा अन्य कुलतहरूलाई इन्कार गर्न मानिसले आफ्नो संगत होसियारीसाथ छान्‍नु आवश्‍यक छ। आफ्नो संकल्पलाई बल दिने मसीहीहरूसित मित्रता विकास गर्दा साँच्चै लाभदायी हुन्छ।

“केही कुरामा चिन्तित नहोओ, तर सबै कुरामा धन्यवादसाथ प्रार्थना र अन्तरबिन्तीमा तिमीहरूका माग परमेश्‍वरमा जाहेर होस्‌। औ परमेश्‍वरको शान्तिले, जो सारा समझलाई माथ गर्छ, तिमीहरूका हृदय र तिमीहरूका विचारलाई येशूमा रक्षा गर्नेछ।” (फिलिप्पी ४:६, ७) यस्तो किसिमको हृदय अनि मनको शान्तिलाई कुनै माध्यमहरूद्वारा प्राप्त गर्न सकिंदैन अनि प्रार्थनाद्वारा परमेश्‍वरमाथि राखिएको यस्तो भरोसाले लागूपदार्थको साहाराविना जीवनका समस्याहरूसित सामना गर्न मानिसलाई मदत गर्छ।