सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

आध्यात्मिक कुराकानीले सुधार गराउँछ

आध्यात्मिक कुराकानीले सुधार गराउँछ

आध्यात्मिक कुराकानीले सुधार गराउँछ

“केही कुवाक्य तिमीहरूका मुखबाट ननिस्कोस्‌, तर परिआएको खण्डमा सुधारको निम्ति केही असल कुरो हुन्छ भने मात्र, कि त्यसबाट सुन्‍नेहरूलाई अनुग्रह मिलोस्‌।”—एफिसी ४:२९.

१, २. (क) मानव बोली कत्तिको मूल्यवान्‌ छ? (ख) यहोवाका सेवकहरू आफ्नो जिब्रो कसरी चलाउन चाहन्छन्‌?

 “मानव बोली एउटा रहस्य हो; यो ईश्‍वरीय वरदान, एउटा चमत्कार हो।” कोशकार लुड्‌विग कोलरले यसरी लेखे। सायद हामी परमेश्‍वरबाट प्राप्त यस अमूल्य वरदानलाई हल्कासित लिन्छौं होला। (याकूब १:१७) तर विचार गर्नुहोस्‌, मस्तिष्कघातको कारण आफ्नो प्रियजन बोल्न असमर्थ हुँदा कत्ति ठूलो सम्पत्ति गुमाउनुपर्छ। हालसालै आफ्नो पतिलाई मस्तिष्कघात भएकी जोआन यसो भन्छिन्‌, “हामीबीच असाध्यै राम्रो खुलस्त कुराकानी हुन्थ्यो। ती दिनहरू सम्झँदा मलाई कस्तो न्यास्रो लाग्छ!”

कुराकानीले मित्रता गाँस्न, असमझदारी हटाउन, हरेस खाएकाहरूलाई प्रोत्साहन दिन, विश्‍वास बलियो बनाउन र जीवनलाई संवृद्ध बनाउन सक्छ तर यी स्वतः हुने कुराहरू होइनन्‌। बुद्धिमान्‌ राजा सुलेमानले यस्तो टिप्पणी गरे: “व्यर्थको गफ तरवारझैं तीखो हुन्छ, तर बुद्धिमानको बोलीले मानिसलाई निको पार्छ।” (हितोपदेश १२:१८) यहोवाको सेवकको हैसियतमा हामी आफ्नो कुराकानी निको पार्ने र प्रोत्साहन दिने खालको भएको चाहन्छौं, चित्त दुखाउने र छेडपेच गर्ने खालको होइन। हामी सार्वजनिक सेवकाई र व्यक्‍तिगत कुराकानी दुवै क्षेत्रमा यहोवाको प्रशंसाको लागि आफ्नो जिब्रो चलाउन चाहन्छौं। भजनहारले यसरी गाए: “परमेश्‍वरमै हामीले दिनभरि गर्व गरेका छौं, र सदा तपाईंकै नाउँमा हामी धन्यवाद चढाउँछौं।”—भजन ४४:८.

३, ४. (क) हाम्रो बोलीको सन्दर्भमा हामी सबैले कस्तो समस्या सामना गर्छौं? (ख) हाम्रो बोलीले किन फरक पार्छ?

“जिब्रोलाई भने कुनै मानिसले पनि तह लाउनसक्‍तैन” भनेर चेला याकूब चेतावनी दिन्छन्‌। तिनी हामीलाई यसरी सम्झाउँछन्‌: “धेरै कुरामा हामी चुक्‍तछौं। जो मानिस वचनमा चुक्‍तैन, त्यो आफ्नो सारा शरीरमा पनि लगाम कस्नसक्ने सिद्ध मानिस हुन्छ।” (याकूब ३:२, ८) हामी कोही पनि सिद्ध छैनौं। हाम्रा असल मनसायहरूको बावजुद हाम्रो बोलीले सधैं अरूको सुधार गर्दैन वा हाम्रो सृष्टिकर्तालाई प्रशंसा दिंदैन। त्यसकारण आफूले भन्‍ने कुराहरूमा हामी होसियार हुन सिक्नुपर्छ। यसबाहेक, येशूले भन्‍नुभयो: “हरेक व्यर्थ कुरा जो मानिसहरू बोल्दछन्‌, न्यायको दिनमा तिनीहरूले सबको हिसाब दिनु पर्नेछ। किनकि तिम्रा आफ्नै वचनहरूले तिमी धर्मी ठहरिनेछौ, औ तिम्रा आफ्नै वचनहरूले तिमी दोषी ठहरिनेछौ।” (मत्ती १२:३६, ३७) हो, साँचो परमेश्‍वरलाई हामीले आफ्नो बोलीको लागि हिसाब दिनुपर्नेछ।

हानिकारक बोलीबाट जोगिने एउटा तरिका आध्यात्मिक कुराकानी गर्ने बानी विकास गर्नु हो। हामीले यो कसरी गर्न सक्छौं, कस्तो विषयमा कुरा गर्न सक्छौं र उत्थानदायी बोलीबाट कस्ता फाइदाहरू उठाउन सक्छौं भनी यस लेखले छलफल गर्नेछ।

तपाईंको हृदयलाई ध्यान दिनुहोस्‌

५. उत्थानदायी कुराकानी बढाउनुमा हृदयले कसरी मुख्य भूमिका निर्वाह गर्छ?

उत्थानदायी कुराकानी गर्ने बानी विकास गर्न, सर्वप्रथम हाम्रो बोलीले आफ्नो हृदयभित्र भएको कुरा प्रकट गर्छ भनी मानिलिनुपर्छ। येशूले भन्‍नुभयो: “हृदयमा भरिएका कुरानै मुखले बोल्दछ।” (मत्ती १२:३४) सरल शब्दमा भन्‍ने हो भने, हामी आफूलाई चासो लाग्ने विषयहरूमा कुरा गर्न चाहन्छौं। त्यसकारण हामीले आफूलाई यस्तो प्रश्‍न सोध्नुपर्छ: ‘मेरो कुराकानीले, मेरो हृदयको अवस्थाबारे के प्रकट गर्छ? म आफ्नो परिवार वा सँगी विश्‍वासीहरूसँग हुँदा के मेरो कुराकानी आध्यात्मिक विषयहरूमा केन्द्रित हुन्छ वा खेलकुद, लुगाफाटा, चलचित्र, खाना, भर्खरै किनेका सामानहरू तथा बेमतलबका कुराहरूमा केन्द्रित हुन्छ?’ सायद चालै नपाई हाम्रो जीवन र हाम्रो विचार कम महत्त्वका कुराहरूमा केन्द्रित हुन पुगेको छ। हाम्रा प्राथमिकताहरू छाँटकाँट गर्दा हाम्रो कुराकानीका साथै हाम्रो जीवनको गुणस्तरमा उन्‍नति हुनेछ।—फिलिप्पी १:१०.

६. हाम्रो कुराकानीमा मननले कस्तो भूमिका निर्वाह गर्छ?

हामीले गर्ने कुराहरूको गुणस्तर बढाउने अर्को तरिका उद्देश्‍यपूर्ण मनन हो। हामी आध्यात्मिक कुराहरूबारे विचार गर्ने प्रयास गर्न सजग भयौं भने स्वतः आध्यात्मिक कुराकानी आएको महसुस गर्नेछौं। राजा दाऊदले यस्तो सम्बन्ध बुझेका थिए। तिनले यस्तो भजन गाए: “हे परमप्रभु, . . . मेरो मुखका वचनहरू र मेरो हृदयको ध्यान तपाईंको दृष्टिमा ग्रहणयोग्य होऊन्‌।” (भजन १९:१४) अनि भजनहार आसापले यसो भने: “म तपाईंका [परमेश्‍वरको] सबै कामहरूमा पनि ध्यान गर्नेछु, र तपाईंका कार्यहरूमा घोरिन्छु।” (भजन ७७:१२) परमेश्‍वरको वचनका सत्य कुराहरूबारे गहिरो चासो लिने मन अनि हृदय स्वाभाविक रूपमा प्रशंसायोग्य बोलीले ओतप्रोत हुनेछ। यहोवाले सिकाउनुभएको कुराहरूबारे यर्मिया नबोली बस्न सकेनन्‌। (यर्मिया २०:९) त्यसकारण हामीले नियमित तवरमा आध्यात्मिक कुराहरूमा गौर गऱ्‍यौं भने त्यस्तै गर्न सक्छौं।—१ तिमोथी ४:१५.

७, ८. उत्थानदायी कुराकानीको लागि कस्ता विषयहरू बेस छन्‌?

राम्रो आध्यात्मिक तालिका बसाल्दा हामी उत्थानदायी कुराकानी गर्न प्रशस्त विषयहरू पाउनेछौं। (फिलिप्पी ३:१६) सम्मेलन, अधिवेशन, मण्डलीका सभाहरू, नयाँ प्रकाशनहरू र दैनिक शास्त्रपद तथा मुद्रित टिप्पणी सबैले हामीलाई अरूसँग बाँड्‌न सक्ने आध्यात्मिक रत्न प्रदान गर्छ। (मत्ती १३:५२) अनि मसीही सेवकाईबाट हामीले बटुल्ने अनुभवहरू आध्यात्मिक तवरमा कत्ति उत्प्रेरणादायी हुन सक्छन्‌!

राजा सुलेमान इस्राएलमा पाइने विभिन्‍न किसिमका रूख, पशु, पक्षी र माछाहरू देखेर मोहित भएका थिए। (१ राजा ४:३३) तिनी परमेश्‍वरका सृजनशील कार्यहरूबारे कुरा गर्न रमाउँथे। हामीले पनि त्यसै गर्न सक्छौं। यहोवाका सेवकहरू विविध विषयहरूमा कुरा गर्न रमाउँछन्‌ तर आध्यात्मिक झुकाव भएका व्यक्‍तिहरूका कुराकानीमा आध्यात्मिक विषयहरूले नै महत्त्व पाइरहेको हुन्छ।—१ कोरिन्थी २:१३.

‘तिनै कुराको विचार गर्नेगर’

९. पावलले फिलिप्पीका मसीहीहरूलाई कस्तो सल्लाह दिए?

जुनसुकै विषय भए तापनि हामीले प्रेरित पावलले फिलिप्पीको मण्डलीलाई दिएको सल्लाह पालन गऱ्‍यौं भने हाम्रो कुराकानीले अरूलाई सुधार्नेछ। तिनले यस्तो लेखे: “जे कुरा सच्चा छन्‌, जे कुरा आदरणीय छन्‌, [“जे कुरा धर्मी छन्‌,” NW] जे कुरा चोखा छन्‌, जे कुरा असल छन्‌, जे कुरा मनपर्दा छन्‌, तिनमा केही सद्‌गुण र केही प्रशंसा छ भने, तिनै कुराको विचार गर।” (फिलिप्पी ४:८) पावलले उल्लेख गरेका कुराहरू अत्यन्तै महत्त्वपूर्ण भएको हुँदा तिनले ‘तिनै कुराको विचार गर्नेगर’ भनेका छन्‌। हामीले यी कुराहरूले आफ्नो मन अनि हृदय भर्नुपर्छ। त्यसकारण आउनुहोस्‌, पावलले उल्लेख गरेका आठवटा बुँदाहरूले हामीलाई आफ्नो कुराकानीमा कसरी मदत गर्न सक्छ, एक एक गरेर हेरौं।

१०. हाम्रो कुराकानीमा सच्चा कुराहरू कसरी समावेश गर्न सक्छौं?

१० सच्चा कुरा भनेको सही र गलत नभएको जानकारी मात्र होइन। यसले परमेश्‍वरको वचनको सत्य कुरा जस्तो धार्मिक र भरोसायोग्य कुराहरूलाई बुझाउँछ। तसर्थ, आफूलाई प्रभाव पारेको बाइबल सत्य, हामीलाई प्रोत्साहित गरेको जनभाषण वा भाषणबारे अरूसित कुरा गर्दा हामीले सच्चा कुरामा विचार गरिरहेका हुनेछौं। अर्कोतर्फ, “ज्ञान कहलिएको झूटा” कुरालाई हामी तिरस्कार गर्छौं जसले सत्यताको रूप मात्र लिएको हुन्छ। (१ तिमोथी ६:२०) अनि हामी हानिकारक गफ वा अपुष्ट शंकास्पद अनुभवहरू बताउनदेखि अलग्गै रहन्छौं।

११. हाम्रो कुराकानीमा कस्ता आदरणीय कुराहरू समावेश गर्न सकिन्छ?

११ आदरणीय कुराहरू भनेका यस्ता विषयहरू हुन्‌ जुन सम्मानजनक र महत्त्वपूर्ण छन्‌, बेमतलब वा महत्त्वहीन होइनन्‌। यसमा हाम्रो सेवकाई, हामी बाँचिरहेको डरलाग्दो समय, र असल चालचलन कायम राख्नुपर्ने खाँचो जस्ता महत्त्वपूर्ण पक्षहरू समावेश छन्‌। त्यस्ता आदरणीय कुराहरू छलफल गर्दा हामीले आध्यात्मिक तवरमा जागा रहने संकल्पलाई सुदृढ बनाउँछौं, हाम्रो निष्ठालाई कायम राख्छौं र सुसमाचार प्रचार गरिरहन्छौं। साँच्चै, सेवकाईमा बटुल्ने चाखलाग्दा अनुभवहरू र हामी आखिरी दिनमा बाँचिरहेका छौं भनी सम्झाउने ताजा घटनाहरूले उत्प्रेरणादायी कुराकानी गर्न विभिन्‍न विषयहरू प्रदान गर्छ।—प्रेरित १४:२७; २ तिमोथी ३:१-५.

१२. धर्मी र चोखा कुराहरूको विचार गर भन्‍ने पावलको सल्लाहलाई मनमा राख्दा कस्ता कुराहरूबाट अलग रहनुपर्छ?

१२ धर्मी भन्‍ने शब्दको अर्थ परमेश्‍वरको नजरमा सही कुराहरू गर्ने अर्थात्‌ उहाँका स्तरहरू पूरा गर्ने हो। चोखा भन्‍नाले हाम्रो सोचाइ अनि आचरणमा शुद्धता भन्‍ने बुझिन्छ। निन्दा, छाडा चुट्‌किला वा यौनसम्बन्धी द्वयर्थक भनाइको हाम्रो कुराकानीमा कुनै स्थान छैन। (एफिसी ५:३; कलस्सी ३:८) काम गर्ने ठाउँ वा स्कूलमा कुराकानीले यस्तो मोड लिंदा मसीहीहरू बुद्धिमानी भई त्यो ठाउँ छोडेर जान्छन्‌।

१३. असल र मनपर्दा कुराहरूमा केन्द्रित कुराकानीहरूको उदाहरण दिनुहोस्‌।

१३ असल कुराहरूको विचार गर भनी पावलले सुझाव दिंदा तिनले घृणा, तीतोपन वा द्वेष उत्पन्‍न गर्ने कुराहरू नभई आनन्ददायी र रुचिकर कुराहरू वा प्रेम उत्पन्‍न गर्ने कुराहरूलाई संकेत गर्दै थिए। मनपर्दा कुराहरूले सम्मानित वा असल रिपोर्टमा भएका जानकारीहरूलाई संकेत गर्छ। त्यस्ता असल रिपोर्टहरू प्रहरीधरहराब्यूँझनुहोस्‌! पत्रिकामा नियमित तवरमा प्रकाशित हुने विश्‍वासी भाइबहिनीहरूका जीवनीहरू हुन सक्छन्‌। विश्‍वासलाई बलियो बनाउने यी जीवनीहरू पढ्‌नुभएपछि तपाईंलाई प्रभाव पारेका कुराहरूबारे अरूसँग कुरा गर्नुभए कसो होला? अरूहरूको आध्यात्मिक उपलब्धिहरूबारे सुन्‍नु कत्ति उत्थानदायी हुन्छ! त्यस्तो कुराकानीले मण्डलीमा प्रेम र एकता बढाउनेछ।

१४. (क) सद्‌गुण प्रकट गर्न हामीले के गर्नु आवश्‍यक छ? (ख) हाम्रो बोलीमा कसरी प्रशंसायोग्य कुराहरू समावेश गर्न सकिन्छ?

१४ पावल “केही सद्‌गुण[बारे]” पनि कुरा गर्छन्‌। सद्‌गुणले भलाइ वा नैतिक श्रेष्ठतासाई संकेत गर्छ। हाम्रो बोली धर्मशास्त्रीय सिद्धान्तहरूद्वारा डोऱ्‍याइएको हुनुपर्छ र ती धर्मी, चोखा र सद्‌गुणी कुराहरूबाट नतर्किन होसियार हुनुपर्छ। प्रशंसा योग्य भनेको “सराहनीय” हो। तपाईंले मण्डलीमा राम्रो भाषण सुन्‍नुभयो वा विश्‍वासी उदाहरण देख्नुभयो भने त्यसबारे, उक्‍त व्यक्‍ति र अरूसँग कुरा गर्नुहोस्‌। प्रेरित पावलले आफ्ना सँगी विश्‍वासीहरूका असल गुणहरूको बारम्बार प्रशंसा गरे। (रोमी १६:१२; फिलिप्पी २:१९-२२; फिलेमोन ४-७) अनि निश्‍चय पनि हाम्रा सृष्टिकर्ताको हातको कला साँच्चै प्रशंसायोग्य छन्‌। त्यसमा हामी उत्थानदायी कुराकानीका लागि प्रशस्त विषयहरू पाउन सक्छौं।—हितोपदेश ६:६-८; २०:१२; २६:२.

उत्थानदायी कुराकानीमा भाग लिनुहोस्‌

१५. कुन धर्मशास्त्रीय आज्ञाको कारण आमाबाबुले आफ्ना छोराछोरीसित अर्थपूर्ण कुराकानी गर्नु आवश्‍यक छ?

१५ व्यवस्था ६:६, ७ यस्तो उल्लेख गर्छ: “मैले तिमीहरूलाई सुनाएको आज्ञा आफ्नो मनमा राख। ती तिमीहरूले आफ्ना छोरा-छोरीहरूलाई होशीयारीसाथ सिकाओ। औ घरमा बस्ता, बाटोमा हिंड़दा, ढल्केर बस्ता र उठदा तिनको चर्चा गर।” स्पष्टतः यो आज्ञा पालन गर्न आमाबाबुले आफ्ना छोराछोरीसित अर्थपूर्ण, आध्यात्मिक कुराकानी गर्नु आवश्‍यक छ।

१६, १७. यहोवा र अब्राहामको उदाहरणबाट मसीही आमाबाबुहरूले के सिक्न सक्छन्‌?

१६ येशूको पार्थिव कार्यभारको सन्दर्भमा उहाँले स्वर्गमा हुनुहुने आफ्नो पितासँग गर्नुभएको लामो कुराकानी कल्पना गर्न सक्छौं। “मैले के भन्‍नुपर्ने हो, र के बोल्नुपर्ने हो, मलाई पठाउने पिता आफैले मलाई आज्ञा दिनुभएको छ” भनी येशूले आफ्ना चेलाहरूलाई भन्‍नुभयो। (यूहन्‍ना १२:४९; व्यवस्था १८:१८) कुलपिता अब्राहामले आफ्नो छोरा इसहाकसँग यहोवाले कसरी तिनीहरू र तिनीहरूका पुर्खालाई आशिष्‌ दिनुभयो भनी घण्टौं कुरा गरेको हुनुपर्छ। त्यस्तो कुराकानीले निश्‍चय पनि येशू र इसहाकलाई नम्रतासाथ परमेश्‍वरको इच्छाअनुसार गर्न मदत गऱ्‍यो।—उत्पत्ति २२:७-९; मत्ती २६:३९.

१७ हाम्रा छोराछोरीलाई पनि उत्थानदायी कुराकानी चाहिन्छ। आमाबाबुले छोराछोरीसित कुरा गर्न आफ्नो व्यस्त तालिकाबाट समय निकाल्नुपर्छ। सम्भव भए, परिवारको रूपमा दिनमा एक छाक भए पनि सँगै खाने प्रबन्ध मिलाउनुभए कसो होला? खाना खाने समयमा र त्यसपछि उत्थानदायी छलफलको लागि मौकाहरू हुनेछन्‌ जुन परिवारको आध्यात्मिक स्वास्थ्यको लागि मूल्यवान्‌ साबित हुन सक्छ।

१८. आमाबाबु र छोराछोरीबीचको असल कुराकानीले हुने फाइदासम्बन्धी एउटा अनुभव बताउनुहोस्‌।

१८ भर्खरै २० वर्ष नाघेका एक अग्रगामी आलायान्ड्रोले आफू १४ वर्षको हुँदा आफ्नो मनमा उब्जेका शंकाहरू अझै बिर्सेका छैनन्‌। तिनी बताउँछन्‌: “स्कूलका सहपाठी र शिक्षकहरूको प्रभावको कारण मलाई परमेश्‍वरको अस्तित्व र बाइबलको प्रमाणिकताबारे पक्का विश्‍वास थिएन। मेरा आमाबाबुले हतार नगरी मसँग तर्क गर्न घण्टौं बिताउनुभयो। ती कुराकानीहरूले मलाई कठिन घडीको दौडान शंकाहरू हटाउन मात्र मदत गरेन तर जीवनमा असल निर्णयहरू गर्न पनि मदत गऱ्‍यो।” अनि अहिले नि? आलायान्ड्रो अझ भन्छन्‌: “म अझै घरमै बस्छु। तर हाम्रो व्यस्त तालिकाको कारण बुबा र मलाई कुरा गर्न त्यति समय मिल्दैन। त्यसैले हामी हप्ताको एक चोटि उहाँको काम गर्ने ठाउँमा सँगै खाना खान्छौं। म यी कुराकानीहरूको साँच्चै कदर गर्छु।”

१९. हामी सबैलाई किन आध्यात्मिक कुराकानी चाहिन्छ?

१९ हाम्रा सँगी विश्‍वासीहरूसँग इनामदायी आध्यात्मिक कुराकानी गर्ने सुअवसरहरूको पनि के हामी कदर गर्दैनौं र? हामी सभाहरूमा, क्षेत्र सेवकाईमा, सामाजिक जमघटमा र यात्रा गर्दा कुराकानी गर्ने यस्ता मौका पाउँछौं। पावलले रोममा भएका मसीहीहरूसँग कुराकानी गर्ने मौकाको प्रतीक्षा गर्दै थिए। तिनले तिनीहरूलाई यस्तो लेखे, “म तिमीहरूलाई भेट्‌न अति इच्छा गर्दछु, अर्थात्‌ तिमीहरू र मेरो, दुवैको विश्‍वासबाट हामी प्रत्येकले आपसमा, मैले तिमीहरूसित र तिमीहरूमानै, सान्त्वना पाऔं।” (रोमी १:११, १२) एक जना मसीही प्राचीन योहानेस भन्छन्‌, “सँगी मसीहीहरूसँगको आध्यात्मिक कुराकानीले एउटा अत्यावश्‍यक आवश्‍यकता पूरा गर्छ। यसले हृदयलाई न्यानो बनाउँछ र दैनिक बोझलाई हल्का बनाउँछ। म अक्सर पाका व्यक्‍तिहरूलाई तिनीहरूको जीवनीबारे र तिनीहरू विश्‍वासी रहिरहन सक्नुको कारण बताउन आग्रह गर्छु। वर्षौंको दौडान मैले थुप्रैसँग कुरा गरिसकें र प्रत्येकले मलाई बुद्धि वा ज्योतिका कुरा भनेका छन्‌ जसले मेरो जीवनलाई संवृद्ध बनाएको छ।”

२०. लज्जालु व्यक्‍तिसित भेट्‌दा हामी के गर्न सक्छौं?

२० तपाईंले आध्यात्मिक विषयमा कुराकानी गर्दा कोही भावशून्य देखिन्छ भने नि? हरेस नखानुहोस्‌। सायद तपाईंले पछि उपयुक्‍त समय पाउन सक्नुहुन्छ। “ठीक बेलामा भनेको ठीक कुरा चाँदीको टोकरीमा सुनका स्याउहरूजस्तै हो” भनी सुलेमानले टिप्पणी गरे। (हितोपदेश २५:११) लज्जालु व्यक्‍तिहरूप्रति समझदारी देखाउनुहोस्‌। “अर्काको मनको विचार गहीरो पानीझैं हो, तर समझदार मानिसले त्यो तानेर निकाल्छ।” a (हितोपदेश २०:५) सबैभन्दा महत्त्वपूर्ण कुरा त, अरू मानिसहरूको मनोवृत्तिको कारण तपाईं आफ्नो हृदयलाई छुने कुराहरूबारे कुरा गर्नदेखि पछि नहट्‌नुहोस्‌।

आध्यात्मिक कुराकानी इनामदायी हुन्छन्‌

२१, २२. आध्यात्मिक कुराकानीमा भाग लिंदा हामीलाई कस्ता लाभहरू हुन्छन्‌?

२१ “केही कुवाक्य तिमीहरूका मुखबाट ननिस्कोस्‌, तर परिआएको खण्डमा सुधारको निम्ति केही असल कुरो हुन्छ भने मात्र, कि त्यसबाट सुन्‍नेहरूलाई अनुग्रह मिलोस्‌” भनी पावलले सल्लाह दिए। (एफिसी ४:२९; रोमी १०:१०) कुराकानीलाई सही दिशातर्फ डोऱ्‍याउन प्रयासको खाँचो पर्न सक्छ तर यसबाट प्राप्त हुने इनाम थुप्रै छन्‌। आध्यात्मिक कुराकानीले हामीलाई आफ्नो विश्‍वास अरूसँग बाँड्‌न र हाम्रो भ्रातृत्वलाई बलियो बनाउन मदत गर्छ।

२२ त्यसकारण हामी बोल्ने वरदानलाई अरूलाई प्रोत्साहन दिन र परमेश्‍वरको प्रशंसा गर्न चलाऔं। त्यस्तो कुराकानी हाम्रो लागि सन्तुष्टि र अरूको लागि प्रोत्साहनको स्रोत हुनेछ। सबैभन्दा महत्त्वपूर्ण कुरा, यसले यहोवाको हृदयलाई प्रसन्‍न तुल्याउनेछ किनभने उहाँले हाम्रो कुराकानीमा ध्यान दिनुहुन्छ र हामीले आफ्नो जिब्रो उचित ढंगमा चलाउँदा उहाँ रमाउनुहुन्छ। (भजन १३९:४; हितोपदेश २७:११) हाम्रो कुराकानी आध्यात्मिक हुँदा यहोवाले हामीलाई बिर्सनुहुने छैन भनी हामी पक्का हुन सक्छौं। हाम्रो समयमा यहोवाको सेवा गरिरहेकाहरूलाई संकेत गर्दै बाइबल यस्तो उल्लेख गर्छ: “तब परमप्रभुको डर मान्‍नेहरूले आपसमा कुरा गरे, औ परमप्रभुले तिनीहरूका कुरा ध्यानसित सुन्‍नुभयो, औ उहाँको डर मान्‍नेहरू र उहाँको नाउँको सोच गर्नेहरूका नाउँ सम्झनाको पुस्तकमा उहाँकै सामने लेखियो।” (मलाकी ३:१६; ४:५) हाम्रो कुराकानी आध्यात्मिक तवरमा उत्थानदायी हुनु कत्ति अत्यावश्‍यक छ!

[फुटनोट]

a इस्राएलका कुनै-कुनै इनारहरू असाध्यै गहिरा थिए। गिबियोनमा पुरातत्त्वविद्‌हरूले २५ मिटरभन्दा गहिरो पानी पोखरी भेट्टाएका छन्‌। यहाँ भऱ्‍याङ छ जसबाट तल गएर मानिसहरूले पानी निकाल्न सक्थे।

तपाईं कसरी जवाफ दिनुहुनेछ?

• हाम्रो कुराकानीले हामीबारे के प्रकट गर्छ?

• हामीले कस्ता उत्थानदायी कुराहरूबारे कुराकानी गर्न सक्छौं?

• परिवार र मसीही मण्डलीमा कुराकानीले कस्तो महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ?

• उत्थानदायी कुराकानीले कस्ता लाभहरू हुन्छन्‌?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ १२-मा भएका चित्रहरू]

यी कुराहरूमा उत्थानदायी कुराकानी आधारित हुन्छन्‌ . . .

“जे कुरा सच्चा छन्‌”

“जे कुरा आदरणीय छन्‌”

“केही प्रशंसा छ”

“जे कुरा असल छन्‌”

[स्रोत]

Video cover, Stalin: U.S. Army photo; Creator book cover, Eagle Nebula: J. Hester and P. Scowen (AZ State Univ.), NASA

[पृष्ठ १३-मा भएको चित्र]

खाना खाने समयमा आध्यात्मिक कुराकानी गर्ने राम्रो मौका पाउँछौं