सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तपाईंको विवाहमा बाइबलले मदत पुऱ्‍याउन सक्छ

तपाईंको विवाहमा बाइबलले मदत पुऱ्‍याउन सक्छ

तपाईंको विवाहमा बाइबलले मदत पुऱ्‍याउन सक्छ

विवाह—कसैको मनमा यो शब्दले रमाइला सोचाइहरू जगाउँछ। अरू कसैको लागि मानसिक कष्टको बोध हुन थाल्छ। एउटी पत्नी यस्तो बिलौना गर्छिन्‌: “मलाई भावनात्मक रूपमा सम्बन्ध विच्छेद भएको अनुभूति हुन्छ। म हरबखत तिरस्कृत र एक्ली महसुस गर्छु।”

कुनै समय एकअर्कालाई प्रेम र कदर गर्ने वाचा गरेका दुई व्यक्‍ति के-कस्ता कारणले गर्दा टाढिन्छन्‌? एउटा कारण, विवाहमा के-कस्ता कुराहरू समावेश छन्‌ भन्‍नेबारे शिक्षाको अभाव हुनु हो। एक जना चिकित्सा पत्रकारले यस्तो टिप्पणी गरे, “हामी कुनै पनि प्रकारको प्रशिक्षणविना विवाह बन्धनमा बाँधिन्छौं।”

आज विवाहबारे त्यस्तो ज्ञान थोरै मानिसहरूसित मात्र छ भनी सं.रा.अ.-को न्यु जर्सीस्थित रट्‌गर्ज विश्‍वविद्यालयले राष्ट्रिय विवाह परियोजनाअन्तर्गत गरेको अध्ययनमा पत्ता लगायो। त्यस परियोजनाका निर्देशकहरू यस्तो लेख्छन्‌: “यस अध्ययनका थुप्रै सहभागीहरू दुःखी वैवाहिक जीवन बिताइरहेका वा सम्बन्ध विच्छेद भएका आमाबाबुका सन्तान थिए। तिनीहरूलाई असफल विवाह कस्तो हुन्छ भनेर राम्ररी थाह छ तर सफल विवाह वास्तवमा कस्तो हुन्छ भनेर चाहिं त्यति थाह छैन। कसै-कसैले सफल वैवाहिक जीवन भनेको ‘मेरो आमाबाबुको भन्दा ठीक विपरीत हो’ भनेर मात्र बताउन सक्छन्‌।”

के मसीहीहरू वैवाहिक समस्याबाट मुक्‍त छन्‌? छैनन्‌। वास्तवमा भन्‍ने हो भने, प्रथम शताब्दीका केही मसीहीहरूलाई विवाहबाट “स्वतन्त्र हुन नखोज” भनेर सीधै सल्लाह दिनुपरेको थियो। (१ कोरिन्थी ७:२७) स्पष्टतः कुनै पनि दुई असिद्ध मानिसहरूबीचको विवाहमा यदाकदा समस्याहरू हुनेछन्‌ तर हामीसित मदत उपलब्ध छ। पति तथा पत्नीहरूले बाइबल सिद्धान्तहरू लागू गरेर आपसी सम्बन्ध सुधार्न सक्छन्‌।

हो, बाइबल विवाहसम्बन्धी निर्देशन पुस्तक होइन। तथापि, बाइबल वैवाहिक प्रबन्धको सुरुवातकर्ताबाट प्रेरित भएको हुँदा हामी यसका सिद्धान्तहरू मदतकारी हुने आशा गर्न सक्छौं। यशैया अगमवक्‍तामार्फत यहोवा परमेश्‍वरले यसो भन्‍नुभयो: “म परमप्रभु तेरा परमेश्‍वर हुँ, जसले तेरो फायदाको निम्ति तँलाई सिकाउँछ। जसले तँ जाने बाटोमा तँलाई डोऱ्‍याउँछ। यदि तैंले मेरा आज्ञाहरू पालन गरेको भएता तेरो शान्ति नदीझैं र तेरो धार्मिकता समुद्रका छालहरूझैं हुनेथियो!”—यशैया ४८:१७, १८.

के तपाईं र तपाईंको जोडीबीच कुनै समय भएको प्रेम सेलाएर जाँदैछ? के तपाईं प्रेमरहित विवाहको फन्दामा परेको महसुस गर्नुहुन्छ? विवाह गरेको २६ वर्ष भइसकेको एउटी पत्नीले यसो भनिन्‌: “यस प्रकारको सम्बन्धमा हुने पीडा वर्णन गर्नै सकिंदैन। हरबखत जताततै पीडाको अनुभव भइरहन्छ।” असन्तोषजनक विवाह बन्धनलाई स्वीकार्नुको सट्टा यसबारे केही गर्ने संकल्प गर्नुभए कसो होला? यसपछिको लेखले पति र पत्नीहरूलाई बाइबल सिद्धान्तहरूले कसरी तिनीहरूको विवाहको एउटा खास क्षेत्रमा मदत गर्न सक्छ भनी देखाउनेछ—त्यो हो, प्रतिबद्धता।