सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

हामीले किन निरन्तर प्रार्थना गर्नुपर्छ?

हामीले किन निरन्तर प्रार्थना गर्नुपर्छ?

हामीले किन निरन्तर प्रार्थना गर्नुपर्छ?

“निरन्तर प्रार्थना गरिरहो, सबै कुरामा धन्यवाद गर।”—१ थिस्सलोनिकी ५:१७, १८.

१, २. दानियलले प्रार्थना गर्ने सुअवसरको कदर गर्थे भनी कसरी देखाए र यसले परमेश्‍वरसँग तिनको सम्बन्धमा कस्तो असर पाऱ्‍यो?

 अगमवक्‍ता दानियलको दिनमा तीन चोटि प्रार्थना गर्ने बानी थियो। तिनले यरूशलेमतिर फर्केका कौसीको कोठाका झ्यालमा घुँडा टेकेर अर्जबिन्ती चढाउँथे। (१ राजा ८:४६-४९; दानियल ६:१०) मादी राजा दाराबाहेक अरू कसैलाई अर्जबिन्ती चढाउन नपाउने शाही उर्दी निकाले तापनि दानियल अलिकति पनि हच्किएनन्‌। आफ्नो ज्यान जोखिममा परोस्‌ या नपरोस्‌, प्रार्थना गर्ने बानी भएका यी मानिसले निरन्तर यहोवालाई बिन्ती चढाइरहे।

यहोवाले दानियलप्रति कस्तो दृष्टिकोण राख्नुभयो? स्वर्गदूत गब्रिएल दानियलको एउटा प्रार्थनाको जवाफ दिन आउँदा तिनले अगमवक्‍तालाई “अति प्रिय मानिस” वा “अति सम्मानित” भनेर वर्णन गरे। (दानियल ९:२०-२३; नयाँ संशोधित संस्करण) इजकिएलको भविष्यवाणीमा यहोवाले दानियललाई धर्मी व्यक्‍ति भनेर संकेत गर्नुभयो। (इजकिएल १४:१४, २०) वर्षौंको दौडान दानियलको प्रार्थनाले स्पष्टतः परमेश्‍वरसँग नजिकको सम्बन्ध गाँस्यो र यो तथ्य दाराले पनि स्वीकारे।—दानियल ६:१६.

३. एक जना मिसनरीको अनुभवले देखाएझैं प्रार्थनाले हामीलाई निष्ठा कायम राख्न कसरी मदत पुऱ्‍याउन सक्छ?

नियमित प्रार्थनाले हामीलाई कठोर परीक्षाहरू सामना गर्न पनि मदत गर्न सक्छ। उदाहरणका लागि, चीनमा पाँच वर्ष एकल नजरबन्दको सजाय पाएका मिसनरी हारोल्ड किंगलाई विचार गर्नुहोस्‌। आफ्नो अनुभवबारे भाइ किंगले यसो भने: “म आफ्ना सँगी मानिसहरूबाट अलग्गिएँ होला तर मलाई कसैले परमेश्‍वरबाट अलग्याउन सक्दैन। . . . त्यसैले बाइबलमा बताइएको दानियलको उदाहरणलाई मनमा राख्दै म मेरो कोठाको बाटो भएर जाने जोसुकैले देख्ने गरी दिनको तीन चोटि प्रार्थना गर्थें। . . . ती अवसरहरूमा परमेश्‍वरको आत्माले मेरो मनलाई सबैभन्दा लाभकारी कुराहरूतर्फ डोऱ्‍याएको जस्तो लाग्यो र म एक प्रकारको शान्ति महसुस गर्थें। प्रार्थनाले मलाई कत्ति धेरै आध्यात्मिक बल र सान्त्वना प्रदान गऱ्‍यो!”

४. प्रार्थनासित सम्बन्धित कस्ता प्रश्‍नहरू यस लेखमा छलफल गरिनेछ?

बाइबल यसो भन्छ: “निरन्तर प्रार्थना गरिरहो, सबै कुरामा धन्यवाद गर।” (१ थिस्सलोनिकी ५:१७, १८) यस सल्लाहलाई मनमा राख्दै निम्न प्रश्‍नहरूलाई विचार गरौं: हामीले आफ्ना प्रार्थनाहरूमा किन ध्यान दिनुपर्छ? यहोवालाई निरन्तर पुकार्नुपर्ने हामीसित कस्ता कारणहरू छन्‌? हाम्रा गल्तीहरूको कारण परमेश्‍वरलाई प्रार्थना गर्न अयोग्य महसुस गर्छौं भने के गर्नुपर्छ?

प्रार्थनाद्वारा मित्रता विकास गर्नुहोस्‌

५. प्रार्थनाले हामीलाई कस्तो अनुपम मित्रता गाँस्न मदत गर्छ?

के तपाईं, यहोवाले तपाईंलाई आफ्नो मित्रको रूपमा लिएको चाहनुहुन्छ? उहाँले कुलपिता अब्राहामबारे त्यस्तै भन्‍नुभयो। (यशैया ४१:८; याकूब २:२३) यहोवा, हामीले उहाँसँग त्यस्तो प्रकारको सम्बन्ध विकास गरेको चाहनुहुन्छ। उहाँले वास्तवमा हामीलाई उहाँको नजिक आउने निमन्त्रणा दिनुहुन्छ। (याकूब ४:८) के त्यो निमन्त्रणाले हामीलाई प्रार्थनाको अनुपम प्रबन्धबारे विचार गर्न उत्प्रेरित गर्दैन र? महत्त्वपूर्ण सरकारी अधिकारीसँग भेट्‌न समय मिलाउन कति गाह्रो हुन्छ, तिनको मित्र हुने कुरा त परै जाओस्‌! यद्यपि, ब्रह्‍माण्डको सृष्टिकर्ताले हामीलाई नहिचकिचाईकन जुनसुकै समय वा आफूलाई चाहिएको बेला प्रार्थनामा उहाँलाई पुकार्ने प्रोत्साहन दिनुहुन्छ। (भजन ३७:५) हाम्रो निरन्तर प्रार्थनाले हामीलाई यहोवासँग नजिकको मित्रता गाँस्न मदत गर्छ।

६. ‘प्रार्थना गरिरहने’ आवश्‍यकताबारे येशूको उदाहरणले हामीलाई के सिकाउँछ?

तर हामीले कति सजिलै प्रार्थनालाई बेवास्ता गर्न सक्छौं! दैनिक जीवनका दबाबहरूमै हामी यति व्यस्त हुन सक्छौं कि हामी परमेश्‍वरसँग कुरा गर्ने कुनै प्रयासै गर्दैनौं। येशूले आफ्ना चेलाहरूलाई ‘प्रार्थना गरिरहन’ प्रोत्साहन दिनुभयो र उहाँ आफैले पनि त्यसो गर्नुभयो। (मत्ती २६:४१) उहाँ बिहानदेखि बेलुकासम्म सधैं व्यस्त हुनुभए तापनि स्वर्गमा हुनुहुने आफ्नो पितासँग कुरा गर्न उहाँले समय छुट्याउनुभयो। कहिलेकाहीं येशू “उज्यालो हुनुभन्दा धेरै अघि बिहानै उठेर” प्रार्थना गर्न जानुभयो। (मर्कूस १:३५) अर्को अवसरमा उहाँ यहोवासँग कुरा गर्न दिनको अन्तमा एकान्तमा जानुभयो। (मत्ती १४:२३) येशूले प्रार्थना गर्न सधैं समय निकाल्नुभयो र हामीले पनि त्यसै गर्नुपर्छ।—१ पत्रुस २:२१.

७. कस्ता परिस्थितिहरूले हामीलाई स्वर्गमा हुनुहुने पितासित दिनहुँ कुरा गर्न उत्प्रेरित गर्नुपर्छ?

हामीले दिनहुँ समस्याहरूको सामना गर्दा, प्रलोभनहरू आइपर्दा र निर्णयहरू गर्नुपर्दा व्यक्‍तिगत प्रार्थनाहरू गर्न सकिने थुप्रै मौका पाउँछौं। (एफिसी ६:१८) हामीले आफ्नो जीवनको हरेक क्षेत्रमा परमेश्‍वरको डोऱ्‍याइ खोज्दा उहाँसँग हाम्रो सम्बन्ध अवश्‍य बढ्‌नेछ। दुई जना साथी मिलेर समस्याको सामना गरे भने के तिनीहरूबीचको मित्रता अझ प्रगाढ हुँदैन र? (हितोपदेश १७:१७, NW) हामी यहोवामा भर पऱ्‍यौं र उहाँको मदत पाएको अनुभव गऱ्‍यौं भने हामी र यहोवाबीचको सम्बन्ध पनि अझ बलियो हुनेछ।—२ इतिहास १४:११.

८. नहेम्याह, येशू र हन्‍नाको उदाहरणबाट हामीले आफ्नो व्यक्‍तिगत प्रार्थनाको लम्बाइबारे के सिक्छौं?

परमेश्‍वरले हामीलाई उहाँसँग प्रार्थनामा कति लामो वा कति चोटि कुरा गर्ने भनी सीमा नतोक्नुभएकोमा हामी कत्ति खुसी हुन सक्छौं! नहेम्याहले फारसका राजालाई बिन्ती गर्नुअघि चाँडै छोटो प्रार्थना गरे। (नहेम्याह २:४, ५) लाजरसलाई ब्यूँताउने शक्‍ति माग्नुहुँदा पनि येशूले यहोवालाई छोटो प्रार्थना गर्नुभयो। (यूहन्‍ना ११:४१, ४२) अर्कोतर्फ, हन्‍नाले आफ्नो मनको कुरा पोखाउँदा “धेरै बेरसम्म परमप्रभुको सामु प्रार्थना” गरिरहिन्‌। (१ शमूएल १:१२, १५, १६) हाम्रो व्यक्‍तिगत प्रार्थना आफ्नो आवश्‍यकता र परिस्थितिअनुसार छोटो वा लामो हुन सक्छ।

९. हाम्रो प्रार्थनामा किन यहोवाले हाम्रो लागि गर्नुभएका सबै कुराको लागि प्रशंसा र धन्यवाद समावेश हुनुपर्छ?

बाइबलमा दिइएका थुप्रै प्रार्थनाहरूले यहोवाको सर्वोच्च स्थान र उहाँको अद्‌भुत कार्यको लागि हार्दिक मूल्यांकन व्यक्‍त गर्छ। (प्रस्थान १५:१-१९; १ इतिहास १६:७-३६; भजन १४५) एउटा दर्शनमा प्रेरित यूहन्‍नाले २४ प्राचीनहरू अर्थात्‌ आफ्नो स्वर्गीय स्थानमा रहेका अभिषिक्‍त मसीहीहरूले यसो भन्दै यहोवाको प्रशंसा गरेको देखे: “हे हाम्रा प्रभु र परमेश्‍वर, तपाईं महिमा, आदर र शक्‍ति ग्रहण गर्ने योग्यको हुनुहुन्छ, किनभने सबै कुरा तपाईंलेनै सृष्टि गर्नुभएको हो, र तपाईंकै इच्छाबमोजिम ती भए, र सृजिए।” (प्रकाश ४:१०, ११) हामीले पनि नियमित तवरमा सृष्टिकर्ताको प्रशंसा गर्नुपर्ने कारणहरू छन्‌। आफ्नो बच्चाले साँच्चै हृदयदेखि आमाबाबुले तिनको लागि गरेका केही कुराको लागि धन्यवाद दिंदा तिनीहरू कत्ति खुसी हुन्छन्‌! मूल्यांकनसहित यहोवाको दयामा मनन गर्दै र ती सबैको लागि हार्दिक कृतज्ञता व्यक्‍त गर्नु हाम्रो प्रार्थनाको गुणस्तर बढाउने उत्तम तरिका हो।

“निरन्तर प्रार्थना गरिरहो”—किन?

१०. हाम्रो विश्‍वास बलियो बनाउने सन्दर्भमा प्रार्थनाले कस्तो भूमिका निर्वाह गर्छ?

१० हाम्रो विश्‍वासको लागि निरन्तर प्रार्थना गर्नु अत्यावश्‍यक छ। “बराबर प्रार्थना गरिरहून्‌ र निरुत्साह नहोऊन्‌” भनी बताउनुभएपछि येशूले सोध्नुभयो: “मानिसको पुत्र आउँदा के उसले पृथ्वीमा विश्‍वास पाउनेछ?” (लूका १८:१-८) अर्थपूर्ण, हार्दिक प्रार्थनाले विश्‍वास बढाउँछ। जब कुलपिताको उमेर ढल्कँदै गयो र तिनका अझै सन्तान भएका थिएनन्‌, तिनले यसबारे परमेश्‍वरसित कुरा गरे। जवाफमा यहोवाले तिनलाई सबैभन्दा पहिला आकाशतिर हेरेर सक्ने भए ताराहरू गन्‍न भन्‍नुभयो। त्यसपछि परमेश्‍वरले अब्राहामलाई यस्तो आश्‍वासन दिनुभयो: “तेरा सन्तानहरू पनि त्यस्तै हुनेछन्‌।” यसको नतिजा? अब्राहामले “[यहोवामाथि] विश्‍वास गरे, बरु यो तिनको निम्ति धार्मिकता गनियो।” (उत्पत्ति १५:५, ६) हामीले प्रार्थनामा यहोवालाई आफ्नो हृदय खोल्यौं, बाइबलबाट उहाँका आश्‍वासन स्वीकाऱ्‍यौं र उहाँका आज्ञा पालन गऱ्‍यौं भने उहाँले हाम्रो विश्‍वासलाई सुदृढ बनाउनुहुनेछ।

११. प्रार्थनाले हामीलाई समस्याहरूको सामना गर्न कसरी मदत गर्न सक्छ?

११ प्रार्थनाले हामीलाई समस्याहरू सामना गर्न पनि मदत गर्न सक्छ। के हाम्रो दैनिक जीवन बोझिलो र हामीले सामना गर्ने परिस्थितिहरू कठोर छन्‌? बाइबलले हामीलाई यसो भन्छ: “तेरो भारी परमप्रभुमा राख्‌, र उहाँले तँलाई सम्हाल्नुहुनेछ, र उहाँले धर्मात्मालाई कहिल्यै डग्नदिनुहुनेछैन।” (भजन ५५:२२) कठिन निर्णयहरू गर्नुपर्दा हामीले येशूको उदाहरण अनुकरण गर्न सक्छौं। उहाँले आफ्ना १२ जना प्रेरितहरू नियुक्‍त गर्नुअघि रातभर प्रार्थनामा बिताउनुभयो। (लूका ६:१२-१६) अनि उहाँको मृत्युको अघिल्लो रात येशूले यस्तो व्यग्रतासाथ प्रार्थना गर्नुभयो कि “उहाँको पसीना रगतका ठूला ठूला थोप्लाजस्तै भूइँमा खसिरहेका थिए।” (लूका २२:४४) यसको नतिजा? “उहाँको भक्‍तिको भयले गर्दा उहाँको सुनाइभयो।” (हिब्रू ५:७) हाम्रो खुरन्धार र निरन्तर प्रार्थनाले हामीलाई तनावग्रस्त परिस्थिति अनि गाह्रा परीक्षाहरू सामना गर्न मदत गर्नेछ।

१२. यहोवाले हामीप्रति व्यक्‍तिगत चासो देखाउनुहुन्छ भनी प्रार्थनाले कसरी देखाउँछ?

१२ प्रार्थनाद्वारा यहोवासँग नजिकिने अर्को कारण उहाँ पनि हाम्रो नजिक आउनुहुनेछ। (याकूब ४:८) हामीले प्रार्थनामा यहोवालाई आफ्नो हृदय खोल्दा उहाँ हाम्रो आवश्‍यकताहरूमा चासो राख्नुहुन्छ र अनुकम्पापूर्ण ढंगमा हाम्रो ख्याल राख्नुहुन्छ भन्‍ने कुरा के हामी महसुस गर्दैनौं र? हामीले एकदमै व्यक्‍तिगत तरिकामा परमेश्‍वरको प्रेम अनुभव गर्छौं। आफ्ना प्रत्येक सेवकहरूले स्वर्गमा हुनुहुने आफ्नो पितालाई गर्ने हरेक प्रार्थना सुन्‍ने जिम्मेवारी यहोवाले अरू कसैलाई सुम्पनुभएको छैन। (भजन ६६:१९, २०; लूका ११:२) अनि उहाँले हामीलाई ‘सारा फिक्री उहाँमाथि राख्न’ आग्रह गर्नुहुन्छ ‘किनकि उहाँले हाम्रो फिक्री गर्नुहुन्छ।’—१ पत्रुस ५:६, ७.

१३, १४. निरन्तर प्रार्थना गरिरहन हामीसित कस्ता कारणहरू छन्‌?

१३ प्रार्थनाले हामीलाई जन सेवकाईको लागि अझ जोसिलो हुन उत्प्रेरित गर्नुका साथै भावशून्यता वा विरोधको कारण यो कार्य गर्न छोडुँ जस्तो लाग्दा बल प्रदान गर्न सक्छ। (प्रेरित ४:२३-३१) प्रार्थनाले हामीलाई “शैतानका युक्‍तिहरू” विरुद्ध पनि सुरक्षित राख्न सक्छ। (एफिसी ६:११, १७, १८) दैनिक परीक्षाहरूसित संघर्ष गरिरहँदा हामीलाई बल प्रदान गर्न निरन्तर परमेश्‍वरलाई आग्रह गर्न सक्छौं। येशूको नमुना प्रार्थनामा यहोवाले हामीलाई “दुष्टबाट छुटाउनुहोस्‌” भन्‍ने आग्रह पनि समावेश छ।—मत्ती ६:१३.

१४ आफ्ना पापी झुकावहरू नियन्त्रणमा राख्न हामीले प्रार्थना गरिरह्‍यौं भने हामीले यहोवाको सहयोग अनुभव गर्नेछौं। हामीसँग यस्तो आश्‍वासन छ: “परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्छ, जसले तिमीहरूलाई तिमीहरूका शक्‍तिदेखि बाहिरको परीक्षामा पर्न दिनुहुनेछैन, तर तिमीहरूले सहनसकोस्‌ भनेर परीक्षाको साथसाथै उम्कने बाटो पनि दिनुहुन्छ।” (१ कोरिन्थी १०:१३) प्रेरित पावल आफैले पनि विभिन्‍न परिस्थितिमा यहोवाले सुदृढ पार्दै हेरचाह गर्नुभएको अनुभव गरे। “जसले मलाई शक्‍ति दिनुहुन्छ उहाँमा सबै कुरा म गर्नसक्छु” भनी तिनले भने।—फिलिप्पी ४:१३; २ कोरिन्थी ११:२३-२९.

कमजोरीहरूको बावजुद प्रार्थनामा अटूटसँग लागिरहनुहोस्‌

१५. हाम्रो आचरण परमेश्‍वरको स्तरअनुसार भएन भने के हुन सक्छ?

१५ हाम्रा प्रार्थनाहरूको सुनवाइ हुन हामीले परमेश्‍वरको वचनको सल्लाहलाई तिरस्कार गर्नु हुँदैन। प्रेरित यूहन्‍नाले यस्तो लेखे, “हामी जे माग्छौं, सो उहाँबाट पाउँछौं, किनभने हामीले उहाँका आज्ञा पालन गर्छौं, र उहाँको दृष्टिमा मनपर्ने कुराहरू गर्छौं।” (१ यूहन्‍ना ३:२२) तर हाम्रो आचारण परमेश्‍वरको स्तरअनुसार भएन भने के हुन सक्छ? अदनको बगैंचामा पाप गरेपछि आदम र हव्वा लुके। हामीसित पनि ‘परमेश्‍वरको नजरबाट लुक्ने’ र प्रार्थना गर्न छोड्‌ने झुकाव हुन सक्छ। (उत्पत्ति ३:८) “यहोवा र उहाँको संगठनबाट तर्केर जानेहरूले अक्सर चाल्ने पहिलो गलत कदम नै प्रार्थना गर्न छोड्‌नु हो” भनी एक जना अनुभवी परिभ्रमण निरीक्षक, क्लाउस टिप्पणी गर्छन्‌। (हिब्रू २:१) होसे आन्जेलको सन्दर्भमा पनि यस्तै भयो। तिनी भन्छन्‌: “मैले झन्डै आठ वर्षसम्म यहोवालाई आकलझुकल मात्र प्रार्थना गरें। मैले उहाँलाई स्वर्गमा हुनुहुने आफ्नो पिताको रूपमा मानिलिए तापनि उहाँसँग कुरा गर्न अयोग्य महसुस गरें।”

१६, १७. नियमित प्रार्थनाले आध्यात्मिक कमजोरीमाथि विजय हासिल गर्न कसरी मदत गर्न सक्छ भनी उदाहरणहरू दिनुहोस्‌।

१६ हामीमध्ये कसै-कसैलाई आफ्नो आध्यात्मिक कमजोरी वा कुनै गलत कार्यमा फसेकोले प्रार्थना गर्न अयोग्य लाग्न सक्छ। तर प्रार्थनाको प्रबन्धको पूरापूर लाभ उठाउनुपर्ने ठीक यस्तै बेला हो। योना आफ्नो कार्यभारबाट भागे। तर ‘आफ्नो संकष्टको कारणले गर्दा परमप्रभुमा पुकारा गरे र उहाँले तिनलाई जवाफ दिनुभयो। पातालको पेटबाट योना कराए, र यहोवाले तिनको शब्द सुन्‍नुभयो।’ (योना २:२) योनाले प्रार्थना गरे, यहोवाले तिनको प्रार्थनाको जवाफ दिनुभयो र योना आध्यात्मिक तवरमा निको भए।

१७ होसे आन्जेलले पनि मदतको लागि व्यग्र प्रार्थना गरे। तिनी सम्झन्छन्‌: “मैले आफ्नो हृदय खोलें र परमेश्‍वरसित माफी मागें। अनि उहाँले मलाई मदत पनि गर्नुभयो। मैले प्रार्थनाको मदत नपाएको भए सायद म सच्चाइमा फर्कन सक्ने थिइनँ होला। म अहिले हरेक दिन नियमित तवरमा प्रार्थना गर्नुका साथै ती समयको प्रतीक्षा गर्छु।” हामीले परमेश्‍वरसँग आफ्ना गल्तीहरूबारे खुलस्त कुरा गर्न र उहाँसँग माफी माग्न कहिल्यै हिचकिचाउनु हुँदैन। राजा दाऊदले आफ्नो पाप स्वीकार्दा यहोवाले तिनको पाप क्षमा गर्नुभयो। (भजन ३२:३-५) यहोवा हाम्रो निन्दा गर्न होइन तर मदत गर्न चाहनुहुन्छ। (१ यूहन्‍ना ३:१९, २०) अनि मण्डलीका धर्मगुरुहरूको प्रार्थनाले हामीलाई आध्यात्मिक तवरमा मदत गर्न सक्छ किनभने त्यस्तो प्रार्थनाको “धेर ठूलो काम हुनुसक्‍तछ।”—याकूब ५:१३-१६.

१८. परमेश्‍वरका सेवकहरू जत्ति नै टाढा तर्किए तापनि कुन कुरामा विश्‍वस्त हुन सक्छन्‌?

१८ गल्ती गरेपछि मदत र सल्लाहको लागि बुबाकहाँ नम्रतापूर्वक आउँदा कुनचाहिं बुबाले त्यस छोरालाई इन्कार गर्ला र? उडन्ता पुत्रको दृष्टान्तले हामी जत्ति नै टाढा तर्किए तापनि स्वर्गमा हुनुहुने पिताकहाँ हामी फर्किंदा उहाँ रमाउनुहुन्छ भनी देखाउँछ। (लूका १५:२१, २२, ३२) यहोवाले गल्ती गर्नेहरू सबैलाई उहाँलाई पुकार्न आग्रह गर्नुहुन्छ किनभने “उहाँले . . . प्रशस्त गरी क्षमा गर्नुहुनेछ।” (यशैया ५५:६, ७) दाऊदले केही गम्भीर गल्तीहरू गरे तापनि तिनले यहोवालाई यसो भन्दै पुकारे: “मेरो प्रार्थनातिर कान लगाउनुहोस्‌, हे परमेश्‍वर, र मेरो अन्तरबिन्तीबाट तपाईं नलुक्नुहोस्‌।” तिनले यसो पनि भने: “बिहान, बेलुकी र दिउँसो म दुःखपुकार र विलाप गर्नेछु, र [यहोवाले] मेरो सोर सुन्‍नुहुनेछ।” (भजन ५५:१, १७) कस्तो आश्‍वासन!

१९. परमेश्‍वरबाट जवाफ नपाएजस्तो लाग्ने प्रार्थनाहरू यहोवाको अनुग्रह नपाएको प्रमाणको रूपमा किन लिनु हुँदैन?

१९ हाम्रो प्रार्थनाको तुरुन्तै केही जवाफ आएन भने के गर्ने नि? त्यस्तो बेला हाम्रो आफ्नो बिन्ती यहोवाको इच्छाअनुसार हुनुका साथै येशूको नाउँमा चढाइएको छ कि छैन पक्का गर्नुपर्छ। (यूहन्‍ना १६:२३; १ यूहन्‍ना ५:१४) चेला याकूबले कोही-कोही मसीहीहरूले ‘बेठीकसँग मागेको’ कारण प्रार्थनाको जवाफ नपाएको उल्लेख गरे। (याकूब ४:३) अर्कोतर्फ, जवाफ नपाएजस्तो लागेका हरेक प्रार्थनाहरू परमेश्‍वरको अनुग्रह नपाएको प्रमाण हो भन्‍ने निष्कर्षमा पुग्नु हुँदैन। यहोवाले विश्‍वासी उपासकहरूलाई कहिलेकाहीं कुनै विषयमा उहाँको जवाफ स्पष्ट नभएसम्म त्यसै विषयमा प्रार्थना गरिरहन दिनुहुन्छ। “माग, तिमीहरूलाई दिइनेछ” भनी येशूले भन्‍नुभयो। (मत्ती ७:७) यसर्थ हामी ‘प्रार्थनामा अटूटसँग लागिरहनुपर्छ।’—रोमी १२:१२.

नियमित तवरमा प्रार्थना गर्नुहोस्‌

२०, २१. (क) यस “आखिरी दिनमा” हामीले किन निरन्तर प्रार्थना गर्नुपर्छ? (ख) हामीले दिनहुँ यहोवाको अनुग्रहको सिंहासनसामु पुकाऱ्‍यौं भने के पाउन सक्छौं?

२० यस “आखिरी दिन[लाई]” चिनाउने “डरलाग्दो समय[मा]” दबाब तथा समस्याहरू झन्‌-झनै बढ्‌दैछन्‌। (२ तिमोथी ३:१) अनि परीक्षाहरूले हाम्रो सारा ध्यान त्यसैमा खिच्न सक्छ। तथापि हाम्रो निरन्तर प्रार्थनाले हामीलाई एकनासले आइरहने समस्या, प्रलोभन र निरुत्साहको बावजुद आध्यात्मिक कुराहरूमा ध्यान केन्द्रित गरिरहन मदत गर्नेछ। यहोवालाई चढाउने दैनिक प्रार्थनाले हामीलाई चाहिने अत्यावश्‍यक समर्थन प्रदान गर्न सक्छ।

२१ “प्रार्थना सुन्‍नुहुने” यहोवा, हाम्रो कुरा सुन्‍न कहिल्यै अति व्यस्त हुनुहुन्‍न। (भजन ६५:२) हामी पनि उहाँसँग कुरा गर्न कहिल्यै अति व्यस्त नहोऔं। परमेश्‍वरसँगको हाम्रो सम्बन्ध हाम्रो सबैभन्दा मूल्यवान्‌ सम्पत्ति हो। यसलाई कहिल्यै हल्कासित नलेऔं। “यसकारण अनुग्रहको सिंहासनको नजीक हामी निर्भयसँग आऔं, र कृपा पाऔं, औ दरकारको समयमा हाम्रो उपकारको निम्ति उहाँद्वारा अनुग्रह पाउनसक्छौं।”—हिब्रू ४:१६.

तपाईं कसरी जवाफ दिनुहुनेछ?

• प्रार्थनाको महत्त्वबारे हामी अगमवक्‍ता दानियलबाट के सिक्न सक्छौं?

• हामीले यहोवासँगको आफ्नो मित्रतालाई कसरी बलियो बनाउन सक्छौं?

• हामीले किन निरन्तर प्रार्थना गर्नुपर्छ?

• आफू अयोग्य छु भन्‍ने भावनाको कारण किन यहोवालाई प्रार्थना गर्न छोड्‌नु हुँदैन?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ १६-मा भएको चित्र]

नहेम्याहले राजासँग कुरा गर्नुअघि मनमनै छोटो प्रार्थना गरे

[पृष्ठ १७-मा भएको चित्र]

हन्‍नाले “धेरै बेरसम्म परमप्रभुको सामु प्रार्थना” गरिरहिन्‌

[पृष्ठ १८-मा भएका चित्रहरू]

येशूले आफ्ना १२ प्रेरितहरू नियुक्‍त गर्नुअघि रातभर प्रार्थना गर्नुभयो

[पृष्ठ २०-मा भएका चित्रहरू]

दिनभरि हामीले प्रार्थना गर्ने थुप्रै मौका पाउँछौं