सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अनुशासनको उद्देश्‍यलाई बुझ्ने

अनुशासनको उद्देश्‍यलाई बुझ्ने

अनुशासनको उद्देश्‍यलाई बुझ्ने

“अनुशासन” भन्‍ने शब्द सुन्‍नेबित्तिकै तपाईंको मनमा कुन कुरा आउँछ? एउटा शब्दकोशले अनुशासनलाई “मानिसहरूलाई नियम-कानुन वा आचरणका स्तरहरू मान्‍न लगाउनु र नमानेको खण्डमा सजाय दिनु हो” भनी परिभाषित गर्छ। यसको परिभाषा यही एउटा मात्र नभए तापनि आज थुप्रै मानिसहरू अनुशासनसित सम्बन्धित कुनै पनि कुरालाई त्यस्तै गरी नकारात्मक अर्थमा लिने गर्छन्‌।

तथापि, बाइबलले अनुशासनलाई बेग्लै दृष्टिकोणबाट प्रस्तुत गर्छ। “हे मेरो छोरो, परमप्रभुको [यहोवाको] अनुशासनलाई अवहेलना नगर्‌” भनी राजा सुलेमानले लेखे। (हितोपदेश ३:११) यी शब्दहरूले साधारण अनुशासनलाई होइन तर “यहोवाको अनुशासन” अर्थात्‌ परमेश्‍वरको उच्च सिद्धान्तहरूमा आधारित अनुशासनलाई बुझाउँछ। यस किसिमको अनुशासन मात्र आध्यात्मिक तवरमा फलदायी र लाभदायी—अझ भनौं भने, मनमोहकसमेत हुन्छ। यसको ठीक विपरीत, मानव सोचाइमा आधारित र यहोवाको उच्च सिद्धान्तहरूसित मेल नखाने अनुशासन अक्सर दुर्व्यवहारपूर्ण र पीडादायी हुन्छ। यसबाट हामी थुप्रैले अनुशासनप्रति नकारात्मक मनोवृत्ति राख्नुको कारण बुझ्न सक्छौं।

हामीलाई किन यहोवाको अनुशासन स्वीकार्न आग्रह गरिएको छ? धर्मशास्त्रमा, ईश्‍वरीय अनुशासनलाई मानव प्राणीहरूप्रति परमेश्‍वरको प्रेमको अभिव्यक्‍तिको रूपमा वर्णन गरिएको छ। तसर्थ, सुलेमानले अझ यसो भने: “जसलाई परमप्रभु प्रेम गर्नुहुन्छ तिनीहरूलाईनै उहाँले हप्काउनुहुन्छ, र आफ्ना प्यारो छोरालाई उहाँले दण्ड दिनुहुन्छ।”—हितोपदेश ३:१२.

अनुशासन वा सजाय—कुन?

बाइबलमा उल्लेख गरिएको अनुशासनका थुप्रै पक्षहरू छन्‌, जस्तै—डोऱ्‍याइ, निर्देशन, प्रशिक्षण, ताडना, सुधार र सजायसमेत। तथापि, हरेक अवसरमा यहोवाले दिनुहुने अनुशासन प्रेमद्वारा उत्प्रेरित भएको हुन्छ र यसको उद्देश्‍य अनुशासन पाउने व्यक्‍तिलाई फाइदा पुऱ्‍याउनु हो। सुधारको निम्ति यहोवाले दिनुहुने अनुशासन मुख्यतः सजाय दिने हिसाबले मात्र कहिल्यै दिइँदैन।

अर्कोतर्फ, परमेश्‍वरले दिनुहुने सजाय सधैं सुधार्न वा अनुशासन स्वीकार्ने व्यक्‍तिलाई सिकाउनका लागि दिइँदैन। उदाहरणका लागि, पाप गरेको दिनदेखि नै आदम र हव्वाले अनाज्ञाकारिताका परिणामहरू भोग्न थाले। यहोवाले तिनीहरूलाई अदनको प्रमोदवनरूपी बगैंचाबाट निकालिदिनुभयो र तिनीहरू असिद्धता, रोग-बिमार र वृद्धावस्थाको वशमा परे। सयौं वर्ष कष्टदायी जीवन बिताइसकेपछि तिनीहरू सदाको लागि नामेट भए। यी सबै साँच्चै ईश्‍वरीय सजाय थियो तर सुधारको निम्ति दिइएको अनुशासन थिएन। जानाजानी अनाज्ञाकारी र अपश्‍चात्तापी भएका आदम र हव्वा सच्याउनै नसकिने अवस्थामा पुगिसकेका थिए।

यहोवाले दिनुभएको सजायका अन्य विवरणहरूमा नूहको दिनको जलप्रलय, सदोम र गमोराको विनाश र मिश्री सेनाहरूलाई लाल समुद्रमा खत्तम पार्नुभएको विवरण पनि पर्दछ। यहोवाले चाल्नुभएका यी कदमहरू गल्ती गर्ने व्यक्‍तिलाई डोऱ्‍याइ, निर्देशन वा प्रशिक्षण दिने हेतुले चालिएका कदमहरू थिएनन्‌। परमेश्‍वरले दिनुहुने यस्तो सजायको सन्दर्भमा, प्रेरित पत्रुसले यस्तो लेखे: “[उहाँले] प्राचीन संसारलाई बाँकी राख्नुभएका, तर अभक्‍तहरूको संसारमा जलप्रलय गराउनुहुँदा धर्मका प्रचारक नूह र अरू सात जनालाई जोगाउनुभयो, औ सदोम र गमोराका शहरहरूलाई भस्म गर्नुहुँदा अभक्‍तहरूलाई उदाहरण बनाएर विनाशको दण्ड दिनुभयो।”—२ पत्रुस २:५, ६.

कुन अर्थमा यी सजायहरू “अभक्‍तहरूलाई उदाहरण बनाएर विनाशको दण्ड” थियो? पावलले थिस्सलोनिकीहरूलाई लेखेको पत्रमा, तिनले हामी बाँचिरहेको समयलाई आफ्नो पुत्र, येशू ख्रीष्टमार्फत “परमेश्‍वरलाई नचिन्‍नेहरूलाई, हाम्रा प्रभु येशूको सुसमाचार नमान्‍नेहरूलाई बदला” लिने समय भनी संकेत गर्छन्‌। पावल अझै यसो भन्छन्‌: “यिनीहरूले . . . अनन्त विनाशको सजाय भोग्नेछन्‌।” (२ थिस्सलोनिकी १:८, ९) स्पष्टतया, यस किसिमको सजाय, सजाय पाउने व्यक्‍तिलाई सिकाउन वा निखार्नको लागि हुँदैन। तथापि, यहोवाले आफ्ना उपासकहरूलाई उहाँले दिनुहुने अनुशासन स्वीकार्न आह्वान गर्नुहुँदा, उहाँले अपश्‍चात्तापी पापीहरूलाई दिइने सजायलाई संकेत गरिरहनुभएको होइन।

बाइबलले यहोवालाई मुख्यतः सजाय दिनुहुने व्यक्‍तिको रूपमा वर्णन नगर्नु निकै उल्लेखनीय कुरा हो। बरु, उहाँलाई अक्सर एक जना मायालु शिक्षक र धीरजी प्रशिक्षकको रूपमा वर्णन गरिएको छ। (अय्यूब ३६:२२; भजन ७१:१७; यशैया ५४:१३) हो, सुधारको निम्ति दिइने ईश्‍वरीय अनुशासन सधैं प्रेम र धीरजसाथ दिइन्छ। अनुशासनको उद्देश्‍य बुझेर मसीहीहरूले सही मनोभावसहित अनुशासन स्वीकार्नुका साथै अनुशासन दिन्छन्‌।

मायालु आमाबाबुले दिने अनुशासन

परिवार र मसीही मण्डलीमा, सबै जनाले अनुशासनको उद्देश्‍य बुझ्नु आवश्‍यक छ। विशेष गरी यो आमाबाबुजस्ता अख्तियारप्राप्त व्यक्‍तिहरूको सन्दर्भमा लागू हुन्छ। हितोपदेश १३:२४ यसो भन्छ: “छड़ी नचलाउने बाबुले छोरालाई घृणा गर्छ, तर छोरालाई प्रेम गर्नेले त्यसलाई बाल्यवस्थादेखिनै अनुशासनमा राख्छ।”

आमाबाबुले कसरी अनुशासन दिनुपर्छ? बाइबल यसरी वर्णन गर्छ: “ए बाबु हो, तिमीहरूका बालकहरूलाई रीस नउठाओ, तर तिनीहरूलाई प्रभुको शिक्षा र चेताउनीमा पालन-पोषण गर।” (एफिसी ६:४) यो सल्लाह पुनः यी शब्दहरूमा दोहोऱ्‍याइएका छन्‌: “ए बाबु हो, आफ्ना केटा-केटीहरूलाई रीस नउठाओ, र तिनीहरू खिन्‍न नहोऊन्‌।”—कलस्सी ३:२१.

अनुशासनको उद्देश्‍य बुझ्ने मसीही आमाबाबुले कठोर व्यवहार गर्ने छैनन्‌। अनुशासन दिने सन्दर्भमा आमाबाबुले २ तिमोथी २:२४ मा उल्लिखित सिद्धान्त लागू गर्न सक्छन्‌। पावलले यस्तो लेखे: “प्रभुका सेवकले झगड़ा गर्नुहुँदैन, तर सबैप्रति भला, सिकाउनसक्ने” हुनुपर्छ। अनियन्त्रित चर्को रिस, ठूलठूलो स्वरमा कराउनु र खिसी वा अपमानजनक भनाइहरू कदापि पनि मायालु अनुशासन हुन सक्दैन र मसीही जीवनमा यसको कुनै स्थान छैन।—एफिसी ४:३१; कलस्सी ३:८.

आमाबाबुले सच्याउँदा आवेशमा आई अबदेखि यस्तै हुनुपर्छ भनेर एक चोटि सजाय दिनु मात्र पर्याप्त हुँदैन। प्रायजसो छोराछोरीले आफ्नो सोचाइ सच्याउनुअघि उनीहरूलाई घरी-घरी सल्लाह दिइरहनु आवश्‍यक पर्छ। तसर्थ, आमाबाबुले आफ्ना छोराछोरीसित समय बिताउनै पर्छ, धैर्य धारण गर्नै पर्छ र अनुशासन दिने आफ्नो तरिकाबारे निकै सोचविचार गर्नै पर्छ। छोराछोरीलाई “प्रभुको अनुशासन र शिक्षामा” हुर्काउनुपर्छ भन्‍ने कुरा उनीहरूले मनमा राख्नै पर्छ। यसको अर्थ वर्षौंसम्म प्रभावकारी हुने प्रशिक्षण हो।

मसीही गोठालाहरूले नम्रतासाथ अनुशासन दिन्छन्‌

यही सिद्धान्तहरू मसीही प्राचीनहरूलाई पनि लागू हुन्छ। मायालु गोठालाहरूको हैसियतमा तिनीहरूले आवश्‍यक परेको खण्डमा शिक्षा, निर्देशन तथा ताडना दिएर बगाललाई सुदृढ पार्ने प्रयत्न गर्छन्‌। अनुशासन दिंदा तिनीहरूले अनुशासन दिनुको खास उद्देश्‍यलाई मनमा राख्छन्‌। (एफिसी ४:११, १२) सजाय दिन मात्र ध्यान दिएको खण्डमा, तिनीहरूले गल्ती गर्ने व्यक्‍तिलाई दण्ड मात्र दिनेछन्‌ र कुरा त्यतिकैमा टुंगिन्छ। ईश्‍वरीय अनुशासनमा त्योभन्दा बढी कुरा बिथोलित छ। प्रेमद्वारा उत्प्रेरित प्राचीनहरूले गल्ती गर्ने व्यक्‍तिलाई आफूले दिएको सल्लाहअनुरूप मदत गर्ने प्रयास गरिरहन्छन्‌। तिनीहरूले साँच्चै निष्कपट चासो राख्ने भएकोले प्रोत्साहन तथा प्रशिक्षण दिन धेरै चोटि भेट्‌ने प्रबन्ध मिलाउँछन्‌।

दोस्रो तिमोथी २:२५, २६ मा दिइएको सल्लाहअनुसार, खुसीसाथ अनुशासन नस्वीकार्ने व्यक्‍तिसित व्यवहार गर्दासमेत प्राचीनहरूले “नम्रसँग” शिक्षा दिनुपर्छ। त्यसपछि उक्‍त शास्त्रपदले अनुशासन दिनुको उद्देश्‍य यसरी बताउँछ: “सायद परमेश्‍वरले तिनीहरूलाई सत्यको ज्ञानको निम्ति पश्‍चाताप दिनुहुनेछ, र परमेश्‍वरको इच्छानुसार प्रभुका दासद्वारा कैद भई शैतानको पासोबाट सचेत भई तिनीहरू आफैले छुटकारा पाउनसकून।”

कहिलेकाहीं, गलत काम गर्ने अपश्‍चात्तापी व्यक्‍तिहरूलाई मण्डलीबाट बहिष्कार गर्नुपर्ने हुन सक्छ। (१ तिमोथी १:१८-२०) यस्तो कडा कदमलाई समेत अनुशासनै भन्‍न सकिन्छ, केवल सजाय होइन। समय-समयमा, प्राचीनहरूले गलत काममा भाग लिन छाडेका बहिष्कृत व्यक्‍तिविशेषहरूलाई भेट्‌ने प्रयत्न गर्छन्‌। यस्ता भेटहरूको दौडान, मसीही मण्डलीमा फर्किन उक्‍त व्यक्‍तिले चाल्नुपर्ने कदमहरू प्रस्ट्याउँदै अनुशासनको खास उद्देश्‍यअनुरूप प्राचीनहरूले काम गर्छन्‌।

यहोवा सिद्ध न्यायकर्ता हुनुहुन्छ

अनुशासन दिने धर्मशास्त्रीय अख्तियार पाएका आमाबाबु, मसीही गोठालाहरू र अन्य व्यक्‍तिहरूले यस्तो जिम्मेवारीलाई गम्भीरतासाथ लिनुपर्छ। तिनीहरूले अरूलाई कहिल्यै सुधार्न नसकिने व्यक्‍ति ठान्‍नु हुँदैन। अतः तिनीहरूले दिने अनुशासनले कहिल्यै बदला वा क्रूर सजायको रूप लिनुहुँदैन।

हो, बाइबलले यहोवालाई कडा र अन्तिम सजाय दिनुहुने व्यक्‍तिको रूपमा चित्रण गर्छ। वास्तवमा, धर्मशास्त्रले “जीवित परमेश्‍वरको हातमा पर्नु डरलाग्दो कुरो हो” भन्छ। (हिब्रू १०:३१) तर यो तथा अन्य सन्दर्भमा कुनै पनि मानिसले आफूलाई यहोवासित तुलना गर्ने कोसिस कहिल्यै गर्नु हुँदैन। अनि आमाबुबा वा मण्डलीको कुनै एक प्राचीनको हातमा पर्नु डरलाग्दो कुरो हो भनेर कसैले महसुस गर्नुपर्ने कुनै कारण छैन।

यहोवासित अनुशासन दिंदा पूर्ण सन्तुलन कायम गर्न सक्ने क्षमता छ। मानिसहरूसित छैन। परमेश्‍वरले हृदय पढ्‌न सक्नुहुन्छ र कुन व्यक्‍ति सच्याउनै नसकिने अवस्थामा पुगेको छ, सो पक्का गर्न सक्नुहुन्छ र त्यसैअनुरूप त्यस व्यक्‍तिलाई निर्णायक तथा अन्तिम सजाय दिनुहुन्छ। अर्कोतर्फ, मानिसहरू यस्तो न्याय गर्न सक्षम छैनन्‌। त्यसैकारण, अनुशासन दिनु आवश्‍यक परेको खण्डमा यसो गर्ने अख्तियार पाएका व्यक्‍तिले सधैं सच्याउने उद्देश्‍यले अनुशासन दिनुपर्छ।

यहोवाको अनुशासन स्वीकार्ने

हामी सबैलाई यहोवाको अनुशासन चाहिन्छ। (हितोपदेश ८:३३) वास्तवमा, हामी सबैले परमेश्‍वरको वचनमा आधारित अनुशासनको चाह गर्नुपर्दछ। जसै हामी परमेश्‍वरको वचन अध्ययन गर्छौं, हामी यहोवाले सीधै धर्मशास्त्रमार्फत दिनुहुने अनुशासन स्वीकार्न सक्छौं। (२ तिमोथी ३:१६, १७) तथापि, कहिलेकाहीं हामीले सँगी मसीहीहरूबाट अनुशासन पाउनेछौं। यस्तो अनुशासन दिइनुको साँचो ध्येय बुझ्दा, त्यसले हामीलाई इच्छुकतासाथ यो स्वीकार्न मदत गर्नेछ।

प्रेरित पावलले यस प्रकार मानिलिए: “सबै अनुशासन हालको निम्ति मजाको हुँदैन, तर दुःखको हुन्छ।” त्यसपछि तिनले अझै यसो भने: “तापनि सहेर परिपक्व भएकाहरूलाई पछिबाट शान्तिको फल, अर्थात्‌ धार्मिकताको फल दिइन्छ।” (हिब्रू १२:११) यहोवाले दिनुहुने अनुशासन हामीप्रति उहाँको गहिरो प्रेमको प्रकटीकरण हो। चाहे हामी अनुशासन पाऔं या देऔं, ईश्‍वरीय अनुशासनको उद्देश्‍यलाई मनमा खिलेर राखौं र बाइबलको यो बुद्धिमान्‌ सल्लाह पालन गरौं: “अर्तीलाई [अनुशासन] समातिराख्‌ र त्यसलाई कहिल्यै नछोड़्‌, त्यसलाई राम्ररी पालन गर, किनभने त्यो तेरो जीवन हो।”—हितोपदेश ४:१३.

[पृष्ठ २१-मा भएका चित्रहरू]

अपश्‍चात्तापी पापीहरूले सच्याउनलाई दिइने अनुशासन होइन, परमेश्‍वरको न्यायिक सजाय पाउँछन्‌

[पृष्ठ २२-मा भएका चित्रहरू]

प्रेमद्वारा उत्प्रेरित भएर प्राचीनहरूले अनुसन्धान गर्न र गल्ती गर्नेहरूलाई मदत गर्न समय बिताउँछन्‌

[पृष्ठ २३-मा भएका चित्रहरू]

आमाबाबुले धैर्यपूर्वक तथा मायालु ढंगमा “प्रभुको अनुशासन र शिक्षा” दिन्छन्‌