सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ईश्‍वरीय हस्तक्षेप हामी के आशा गर्न सक्छौं?

ईश्‍वरीय हस्तक्षेप हामी के आशा गर्न सक्छौं?

ईश्‍वरीय हस्तक्षेप हामी के आशा गर्न सक्छौं?

सा. यु.पू. आठौं शताब्दीमा यहूदाका ३९ वर्षीय राजा हिजकियाहले आफूलाई प्राणघातक रोग लागेको कुरा थाह पाए। यो खबर सुनेर स्तब्ध भएका हिजकियाहले निवारणको लागि परमेश्‍वरलाई व्यग्र प्रार्थना गरे। परमेश्‍वरले आफ्ना अगमवक्‍तामार्फत यस्तो जवाफ दिनुभयो: “मैले तेरो प्रार्थना सुनें। मैले तेरो आँसु देखें। हेर्‌, म तेरो आयु अरू पन्ध्र वर्ष बढ़ाइदिनेछु।”—यशैया ३८:१-५.

उक्‍त अवसरमा परमेश्‍वरले किन हस्तक्षेप गर्नुभयो? शताब्दीयौंअघि, यहोवाले धर्मी राजा दाऊदलाई यस्तो प्रतिज्ञा गर्नुभएको थियो: “तेरो घराना स्थिर गरिनेछ, र तेरो राज्य मेरो दृष्टिमा सधैंभरि रहिरहनेछ, र तेरो सिंहासन सदा सर्वदाको लागि स्थिर हुनेछ।” परमेश्‍वरले दाऊदकै वंशमा मसीहको जन्म हुनेछ भन्‍ने कुरा पनि प्रकट गर्नुभयो। (२ शमूएल ७:१६; भजन ८९:२०, २६-२९; यशैया ११:१) हिजकियाह बिरामी हुँदा उनको छोरा जन्मिसकेको थिएन। तसर्थ, दाऊदको त्यो शाही वंश अन्त हुन सक्ने खतरा थियो। हिजकियाहको सन्दर्भमा ईश्‍वरीय हस्तक्षेपले मसीहसम्म लैजाने वंशलाई जोगाउने विशेष उद्देश्‍य पूरा गऱ्‍यो।

आफ्ना प्रतिज्ञाहरू पूरा गर्न मसीहीपूर्व युगभरि असंख्य अवसरमा आफ्ना जनको खातिर हस्तक्षेप गर्न यहोवा उत्प्रेरित हुनुभयो। इस्राएलीहरूलाई मिश्रको दासत्वबाट छुटकारा दिलाउने सन्दर्भमा मोशाले यस्तो घोषणा गरे: “परमप्रभुले तिमीहरूलाई प्रेम गर्नुहुन्छ, र उहाँले तिमीहरूका पिता-पुर्खाहरूसित गर्नुभएको प्रतिज्ञा पूरा गर्नुनै तिमीहरूलाई परमप्रभुले आफ्नो बाहुबलद्वारा निकाली ल्याउनुभयो, . . . दासत्वको घरबाट छुटकारा गर्नुभयो।”—व्यवस्था ७:८.

प्रथम शताब्दीमा परमेश्‍वरको उद्देश्‍य अघि बढाउन ईश्‍वरीय हस्तक्षेपले यसरी नै काम गऱ्‍यो। उदाहरणको लागि, चेलाहरूलाई सतावट दिनदेखि रोक्नको लागि शावल नाउँ गरेका एक जना यहूदीले दमीशक जाने बाटोमा चमत्कारपूर्ण दर्शन पाए। यी मानिस पछि प्रेरित पावल बने र तिनको यो परिवर्तनले राष्ट्रहरूबीच सुसमाचार फैलाउन महत्त्वपूर्ण भूमिका निर्वाह गऱ्‍यो।—प्रेरित ९:१-१६; रोमी ११:१३.

के हस्तक्षेप रीत थियो?

ईश्‍वरीय हस्तक्षेप नियम थियो अथवा अपवाद मात्र? यो रीत थिएन भनेर धर्मशास्त्रले स्पष्टसित देखाउँछ। परमेश्‍वरले ती तीन जना हिब्रू केटाहरूलाई दन्किरहेको आगोको भट्टीको प्राण-दण्डबाट अनि अगमवक्‍ता दानियललाई सिंहको खोरबाट बचाउनुभए तापनि उहाँले अन्य अगमवक्‍ताहरूलाई मृत्युको मुखबाट बचाउन कुनै कदम चाल्नुभएन। (२ इतिहास २४:२०, २१; दानियल ३:२१-२७; ६:१६-२२; हिब्रू ११:३७) हेरोद अग्रिपा प्रथमले पत्रुसलाई थुनामा राखेको बेला चमत्कारपूर्ण ढंगमा तिनलाई जेलबाट छुटाइयो। यद्यपि, सोही राजाले प्रेरित याकूबलाई मारे अनि उनको यो अपराध रोक्न परमेश्‍वरले कुनै हस्तक्षेप गर्नुभएन। (प्रेरित १२:१-११) परमेश्‍वरले बिरामीहरूलाई निको पार्ने अनि मरिसकेकाहरूलाई समेत ब्यूँताउने शक्‍ति प्रेरितहरूलाई दिनुभए तापनि प्रेरित पावललाई अत्यन्तै पिरोलिरहेको “शरीरमा एक किसिमको छेस्को” हटाउन उहाँले कुनै कदम चाल्नुभएन, हुनसक्छ यो छेस्को एक प्रकारको शारीरिक बिमारी थियो।—२ कोरिन्थी १२:७-९; प्रेरित ९:३२-४१; १ कोरिन्थी १२:२८.

रोमी सम्राट्‌ नेरोले ख्रीष्टका चेलाहरू विरुद्ध ल्याएको सतावटको बाढीलाई रोक्न परमेश्‍वरले कुनै हस्तक्षेप गर्नुभएन। मसीहीहरूलाई यातना दिइयो, जिउँदै जलाइयो अनि जंगली जनावरहरूकहाँ फ्याँकियो। तथापि, यी सतावटहरू भोग्नुपर्दा प्रारम्भिक मसीहीहरू चकित भएनन्‌ अनि यसले परमेश्‍वरको अस्तित्वमाथिको तिनीहरूको विश्‍वास रतीभर ढलपल भएन। आखिर, तिनीहरू अदालतसामु उभ्याइनेछन्‌ अनि तिनीहरू सतावट सहन तयार रहनुका साथै आफ्नो विश्‍वासको खातिर ज्यानसमेत अर्पण गर्नुपर्नेछ भनेर येशूले आफ्ना चेलाहरूलाई पहिल्यै सचेत गराउनुभएको थियो।—मत्ती १०:१७-२२.

उहाँले विगतमा झैं आज पनि पक्कै आफ्ना सेवकहरूलाई डरलाग्दो परिस्थितिहरूबाट जोगाउन सक्नुहुन्छ अनि आज उहाँको सुरक्षाबाट लाभ उठाएको महसुस गर्नेहरूलाई हामीले आलोचना गर्नु हुँदैन। यद्यपि, यस्ता परिस्थितिहरूमा परमेश्‍वरले हस्तक्षेप गर्नुभएको थियो वा थिएन किटेर भन्‍न गाह्रो हुन्छ। टुलुजको विस्फोटनमा कयौं यहोवाका विश्‍वासी सेवकहरू घाइते भए अनि कम्युनिस्ट तथा नाजी शिविरहरू वा अन्य विपत्तिजनक परिस्थितिहरूमा हजारौं विश्‍वासी मसीहीहरू मरे, जसलाई रोक्न परमेश्‍वरले कुनै कदम चाल्नुभएन। उहाँको अनुमोदन पाएका ती व्यक्‍तिहरूका खातिर परमेश्‍वरले किन अरू बेलामाझैं हस्तक्षेप गर्नुभएन त?—दानियल ३:१७, १८.

“समय अनि अवसर”

विपत्तिले प्रहार गर्दा जो कोही पनि त्यसको सिकार हुन सक्छ अनि यस्तो बेला परमेश्‍वरप्रतिको विश्‍वास नै एउटा महत्त्वपूर्ण पक्ष नहुन सक्छ। टुलुसको विस्फोटनबाट एलेन र लिलियन बचे, तर ३० जना निर्दोष मानिस मरे अनि सयौं घाइते भए। अझ विस्तृत तवरमा हेर्ने हो भने, दसौं हजार मानिसहरू अपराध, लापर्बाहीकासाथ हाँकेको सवारीसाधन अथवा युद्धका सिकार हुन्छन्‌ र तिनीहरूमाथि आइपरेको विपत्तिको लागि परमेश्‍वरलाई जिम्मेवार ठहराउन सकिंदैन। “समय र अवसरलेनै सबैलाई अधीन गरेको हुन्छ” भनी बाइबलले हामीलाई सम्झना दिलाउँछ।—उपदेशक ९:११.

त्यति मात्र कहाँ हो र, मानिसजाति बिमारी, बुढ्यौली अनि मृत्युका सिकार हुन्छन्‌। परमेश्‍वरले चमत्कारपूर्ण ढंगमा आफ्नो जीवन बचाएको भनी सोच्ने अनि आफ्नो रोगको अप्रत्याशित निवारणको श्रेय परमेश्‍वरलाई दिने केही व्यक्‍तिहरूले समेत अन्ततः मृत्यु त भोग्नै पर्छ। बिमारी र मृत्यु हटाइने अनि मानिसहरूका आँखाबाट ‘सबै आँसु पुछिने’ समय आउन त बाँकी नै छ।—प्रकाश २१:१-४.

त्यो पूरा हुनुभन्दा पहिले एउटा अझ व्यापक, आमूल अनि अपूर्व हस्तक्षेपको आवश्‍यकता छ। बाइबलले “परमप्रभुको भयानक दिन” भनिने घटनाबारे बताउँछ। (सपन्याह १:१४) यस व्यापक हस्तक्षेपमा परमेश्‍वरले सबै प्रकारका दुष्टताहरू हटाउनुहुनेछ। मानिसजातिलाई सिद्ध अवस्थामा सधैंभरि बाँच्ने अवसर दिइनेछ जहाँ “अघिअघिका कुराहरूको सम्झना हुनेछैन, नता ती स्मरणमा आउनेछन्‌।” (यशैया ६५:१७) मरेकाहरूसमेत पुनर्जीवित हुनेछन्‌, फलतः सबै मानवजातिको दुःखहरूको मूल जरोको रूपमा रहेको मृत्युलाई नामेट पारिनेछ। (यूहन्‍ना ५:२८, २९) त्यसपछि आफ्नो असीम प्रेम अनि भलाइद्वारा परमेश्‍वरले मानिसजातिका सारा समस्याहरू एकै चोटि सदाको लागि हटाउनुहुनेछ।

आज परमेश्‍वरले कसरी हस्तक्षेप गर्नुहुन्छ

तथापि, यसको अर्थ त्यतिन्जेल परमेश्‍वरले आफ्ना सृष्टिका वेदनाहरूलाई भावशून्य भई हेरिरहनुहुन्छ भन्‍ने होइन। आज परमेश्‍वरले जातीय अनि सामाजिक पृष्ठभूमि जस्तोसुकै भए तापनि सबैलाई, उहाँलाई चिन्‍ने अनि उहाँसित व्यक्‍तिगत सम्बन्ध विकास गर्ने अवसर दिइरहनुभएको छ। (१ तिमोथी २:३, ४) येशूले यो प्रक्रियालाई यी शब्दहरूमा व्याख्या गर्नुभयो: “मलाई पठाउने पिताले त्यसलाई खिंच्नुभएन भने कोही मकहाँ आउनसक्‍तैन।” (यूहन्‍ना ६:४४) परमेश्‍वरले आफ्ना सेवकहरूद्वारा विश्‍वव्यापी रूपमा प्रचार गरिएको यस राज्य सन्देशको माध्यमबाट निष्कपट हृदय भएकाहरूलाई आफूतिर खिंच्नुहुन्छ।

साथै, परमेश्‍वरको डोऱ्‍याइअनुसार चल्न चाहनेहरूको जीवनमा परमेश्‍वरले प्रत्यक्ष असर गर्नुहुन्छ। परमेश्‍वरले आफ्नो पवित्र आत्माद्वारा उहाँको इच्छा बुझ्न र उहाँले चाहनुहुने कुरा व्यवहारमा लागू गर्न तिनीहरूको ‘हृदय खोलिदिनुहुन्छ।’ (प्रेरित १६:१४) हो, उहाँलाई चिन्‍ने अनि उहाँको वचन तथा उद्देश्‍य बुझ्ने सुअवसर दिनुभएर परमेश्‍वरले हामी प्रत्येकको मायालु चासो राख्नुहुन्छ भन्‍ने प्रमाण दिनुहुन्छ।—यूहन्‍ना १७:३.

अन्ततः आज परमेश्‍वरले आफ्ना सेवकहरूलाई चमत्कारपूर्ण ढंगमा छुटकारा दिनुभएर त होइन तर पवित्र आत्मा दिनुभएर अनि तिनीहरूमाथि आइपर्न सक्ने जस्तोसुकै परिस्थितिको सामना गर्ने “असामान्य शक्‍ति” दिनुभएर तिनीहरूलाई मदत गर्नुहुन्छ। (२ कोरिन्थी ४:७, NW) प्रेरित पावलले यस्तो लेखे: “[यहोवा परमेश्‍वर] जसले मलाई शक्‍ति दिनुहुन्छ उहाँमा सबै कुरा म गर्नसक्छु।”—फिलिप्पी ४:१३.

त्यसैकारण जीवन दिनुभएकोमा अनि पीडामुक्‍त संसारमा सधैंभरि बाँच्ने आशा दिनुभएकोमा हरेक दिन यहोवाप्रति कृतज्ञ हुने हामीसित हर कारण छ। भजन रचयिताले यस्तो प्रश्‍न गरे: “परमप्रभुले गर्नुभएको मेरो उपकारको निम्ति म उहाँलाई के भर्ना चढाऊँ? उद्धारको कचौरा लिएर म परमप्रभुको नाउँको पुकारा गर्नेछु।” (भजन ११६:१२, १३) यो पत्रिका नियमित रूपमा पढ्‌नुभयो भने परमेश्‍वरले विगतमा गर्नुभएका, हाल गरिरहनुभएका अनि भविष्यमा गर्नुहुने कुराहरू बुझ्न तपाईंले मदत पाउनुहुनेछ अनि यसले तपाईंलाई अहिले आनन्द अनि भविष्यको लागि एउटा ठोस आशा दिन सक्छ।—१ तिमोथी ४:८.

[पृष्ठ ६-मा भएको ठूलो अक्षरको क्याप्सन]

“अघिअघिका कुराहरूको सम्झना हुनेछैन, नता ती स्मरणमा आउनेछन्‌।” —यशैया ६५:१७

[पृष्ठ ५-मा भएका चित्रहरू]

यहोवाले बाइबलकालीन युगमा समेत न जकरियालाई ढुंगा हान्‍नबाट बचाउनुभयो . . .

न त निर्दोषहरूको हत्या गर्ने हेरोदलाई रोक्न कुनै कदम चाल्नुभयो

[पृष्ठ ७-मा भएको चित्र]

पीडामुक्‍त समय नजिकै छ; मृतकहरूसमेत पुनः जिउनेछन्‌