धार्मिकताको निम्ति सताइएकाहरू
धार्मिकताको निम्ति सताइएकाहरू
“धन्य धार्मिकता निम्ति सताइनेहरू, किनभने स्वर्गको राज्य तिनीहरूकै हो।”—मत्ती ५:१०.
१. येशू किन पन्तियस पिलातससामु हुनुहुन्थ्यो र येशूले के भन्नुभयो?
“यसैको निम्ति म जन्मेको हुँ, र यसैको निम्ति सत्यको गवाही दिन म यस संसारमा आएको हुँ।” (यूहन्ना १८:३७, नयाँ संशोधित संस्करण) येशूले यी शब्दहरू भन्नुहुँदा उहाँ यहूदाका रोमी शासक पन्तियस पिलातससामु हुनुहुन्थ्यो। येशू त्यहाँ न त आफ्नो इच्छाले जानुभएको थियो न पिलातसले बोलाएर नै। बरु, यहूदी धार्मिक नेताहरूले उहाँलाई गलत काम गरेको कारण मृत्युदण्ड पाउन योग्य भएको झूटा आरोप लगाएकोले उहाँ त्यहाँ हुनुहुन्थ्यो।—यूहन्ना १८:२९-३१.
२. येशूले कस्तो कदम चाल्नुभयो र नतिजा कस्तो भयो?
२ आफूलाई छोडिदिने वा मार्ने अधिकार पिलातससित छ भन्ने कुरा येशूलाई राम्ररी थाह थियो। (यूहन्ना १९:१०) तर यसले उहाँलाई पिलातससित राज्यबारे साहससाथ बोल्नदेखि रोकेन। आफ्नो जीवन खतरामा भए तापनि येशूले त्यस क्षेत्रका सर्वोच्च सरकारी अख्तियारवालालाई साक्षी दिने मौका छोप्नुभयो। त्यस साक्षीको बावजुद येशूलाई दोषी ठहराइयो र मारियो, शहीदको रूपमा शासनाको खम्बामा पीडादायी मृत्यु भोग्नुपऱ्यो।—मत्ती २७:२४-२६; मर्कूस १५:१५; लूका २३:२४, २५; यूहन्ना १९:१३-१६.
साक्षी वा शहीद?
३. बाइबलकालीन समयमा “शहीद” भन्ने शब्दको अर्थ के थियो तर आज यसले कस्तो अर्थ राख्छ?
३ शहीद भन्ने बित्तिकै आज थुप्रै व्यक्तिहरूले धेरथोर कट्टर, उग्रवादी व्यक्तिको रूपमा सोच्छन्। आफ्नो विश्वासको लागि, त्यसमा पनि विशेष गरी आफ्नो धार्मिक विश्वासको लागि मर्न तयार व्यक्तिहरूलाई अक्सर आतंकवादी वा त्यसो नभए पनि समाजको लागि खतरनाक व्यक्तिको रूपमा हेरिन्छ। तथापि, शहीद अर्थ दिने अंग्रेजी शब्द मार्टियर, युनानी पदावलीबाट (मार्टिज्) आएको हो, जसले बाइबलकालीन समयमा “साक्षी” अर्थात् सायद अदालतमा सुनुवाइ हुँदा आफूले सत्य हो भनी विश्वास गरेको कुराको गवाही दिने अर्थ जनाउँथ्यो। पछि गएर मात्रै यस अभिव्यक्तिको अर्थ “साक्षी दिनको निम्ति आफ्नो ज्यानसमेत दिने” वा ज्यानसमेत दिएर साक्षी दिने भएको हो।
४. येशू मुख्यतया कुन अर्थमा एक जना शहीद हुनुहुन्थ्यो?
४ येशू मुख्यतया यस शब्दको पहिले-पहिले लगाइने अर्थ अनुरूप एक जना शहीद हुनुहुन्थ्यो। उहाँले पिलातसलाई भन्नुभएझैं उहाँ “सत्यको गवाही दिन” आउनुभयो। उहाँको साक्षीप्रति मानिसहरूले विभिन्न प्रकारका प्रतिक्रियाहरू देखाए। जनसाधारणहरूमध्ये थुप्रैलाई आफूले सुनेका र देखेका कुराहरूले गहिरो प्रभाव पाऱ्यो अनि तिनीहरूले येशूमा विश्वास राखे। (यूहन्ना २:२३; ८:३०) समग्रमा भीडले र विशेष गरी धार्मिक नेताहरूले पनि कडा प्रतिक्रिया देखाए—तर नकारात्मक रूपमा। बेग्लै विश्वास भएका आफ्ना नातेदारहरूलाई येशूले यसो भन्नुभयो: “संसारले तिमीहरूलाई घृणा गर्नसक्तैन। तर मलाई ता घृणा गर्दछ, किनकि म त्यसको विषयमा त्यसका कामहरू दुष्ट छन् भनी साक्षी दिन्छु।” (यूहन्ना ७:७) सत्यको साक्षी दिएको कारण येशूले त्यस राष्ट्रका नेताहरूको क्रोध भोग्नुपऱ्यो, जसले उहाँलाई मृत्युमा पुऱ्यायो। वास्तवमा, उहाँ “विश्वासयोग्य र साँचो साक्षी (मार्टिज्)” हुनुहुन्थ्यो।—प्रकाश ३:१४.
“तिमीहरू घृणित हुनेछौ”
५. आफ्नो सेवकाइको सुरुमा, सतावटबारे येशूले के भन्नुभयो?
५ येशू आफूले मात्र भीषण सतावट सहनुभएन तर आफ्ना चेलाहरूलाई पनि यस्तै हुनेछ भनेर पहिल्यै चेतावनी दिनुभयो। आफ्नो सेवकाइको सुरुमा, डाँडाको उपदेशमा आफ्ना स्रोताहरूलाई येशूले यसो भन्नुभयो: “धन्य धार्मिकता निम्ति सताइनेहरू, किनभने स्वर्गको राज्य तिनीहरूकै हो। धन्य हौ तिमीहरू जब मानिसहरूले तिमीहरूलाई मेरो खातिर निन्दा गर्नेछन्, र खेदो गर्नेछन्, र हरेक किसिमको खराबी कुरा तिमीहरूका विरुद्धमा बोल्नेछन्। तब रमाओ, र अत्यन्त खुशी होओ। किनभने स्वर्गमा तिमीहरूको इनाम ठूलो हुनेछ।”—मत्ती ५:१०-१२.
६. येशूले आफ्ना १२ प्रेरितहरूलाई पठाउनुहुँदा कस्तो चेतावनी दिनुभयो?
६ पछि, १२ जना प्रेरितलाई पठाउनुहुँदा, येशूले तिनीहरूलाई यसो भन्नुभयो: “मानिसहरूदेखि होशियार होओ। किनभने तिनीहरूले तिमीहरूलाई अदालतमा सुम्पिदिनेछन्, र तिनीहरूका सभाघरहरूमा कोर्रा लाउनेछन्। तिनीहरूलाई र अन्यजातिहरूलाई साक्षीको निम्ति मेरो खातिर हाकिमहरू र राजाहरूका सामुन्ने तिमीहरूलाई खडा गराउनेछन्।” तर चेलाहरूलाई धार्मिक अख्तियारवालाहरूले मात्र सताउने थिएनन्। येशूले यसो पनि भन्नुभयो: “भाइले भाइलाई मृत्युको लागि सुम्पिदिनेछ, र बाबुले छोरा-छोरीलाई, र छोरा-छोरीहरू आमा-बाबुहरूका विरुद्धमा उठ्नेछन्, र तिनीहरूलाई मार्न लाउनेछन्। औ मेरो नाउँको खातिर सबैबाट तिमीहरू घृणित हुनेछौ। तर आखिरसम्म सहने चाहिंले उद्धार पाउनेछ।” (मत्ती १०:१७, १८, २१, २२) प्रथम शताब्दीका मसीहीहरूको इतिहास यी शब्दहरूको सत्यताको प्रमाण हो।
विश्वासी धीरजको एउटा अभिलेख
७. स्तिफनस किन शहीद हुन पुगे?
७ येशूको मृत्यु भएको केही समयपछि नै स्तिफनस सत्यको साक्षी दिएको कारण मर्ने पहिलो मसीही बने। तिनी “अनुग्रह र शक्तिले पूर्ण [थिए अनि] मानिसहरूका बीचमा ठूला ठूला अचम्मका काम र चिह्नहरू” गरिरहेका थिए। तिनका धार्मिक शत्रुहरूले “जुन बुद्धि र आत्माले तिनी बोल्थे, तिनको सामना गर्न . . . सकेनन्।” (प्रेरित ६:८, १०) ईर्ष्याले भरिएर तिनीहरूले स्तिफनसलाई घिसार्दै यहूदीहरूको उच्च अदालत, महासभासामु लगे, जहाँ तिनले झूटा अभियोक्ताहरूको सामना गर्नुका साथै प्रभावशाली साक्षी पनि दिए। तथापि, अन्तमा स्तिफनसका शत्रुहरूले यी विश्वासी साक्षीको हत्या गरे।—प्रेरित ७:५९, ६०.
८. स्तिफनसको मृत्युपश्चात् यरूशलेममा भएका चेलाहरूमाथि आएको सतावटप्रति तिनीहरूले कस्तो प्रतिक्रिया देखाए?
८ स्तिफनसको हत्या भएको लगत्तै “यरूशलेममा भएको मण्डलीको विरुद्धमा ठूलो अत्याचार उत्पन्न भयो, र प्रेरितहरूबाहेक तिनीहरू सबै जना यहूदा र सामरिया देशभरि तितर-बितर भए।” (प्रेरित ८:१) सतावटको कारण के मसीही साक्षीकार्य रोकियो? यसको विपरीत “ती तितर-बितर भएकाहरूले जताततै गएर वचनको सुसमाचार सुनाउन लागे” भनी त्यस विवरण हामीलाई बताउँछ। (प्रेरित ८:४) पहिले प्रेरित पत्रुसले “हामीले मानिसहरूको भन्दा परमेश्वरको आज्ञा अवश्य मान्नुपर्छ” भन्दा तिनले जस्तो महसुस गरेका थिए, तिनीहरूले पनि त्यस्तै महसुस गरेको हुनुपर्छ। (प्रेरित ५:२९) ती विश्वासी तथा साहसी चेलाहरूलाई सत्यको साक्षी दिंदा यसले अझ गाह्रो परिस्थिति निम्त्याउन सक्छ भनी थाह भए तापनि तिनीहरू सतावटको बावजुद यस काममा लागिरहे।—प्रेरित ११:१९-२१.
९. येशूका अनुयायीहरूमाथि कस्तो सतावट आइरह्यो?
९ वास्तवमा, अप्ठ्यारो परिस्थिति आउँदा तिनीहरूले हरेस खाएनन्। पहिलो, स्तिफनसलाई ढुंगाले हान्दा सहमत भएका शावल “अझै पनि प्रभुका चेलाहरूका विरुद्धमा धम्की र हत्याको धुनमा सास फुलाउँदै प्रधान पूजाहारीकहाँ गए, औ तिनले त्यस मार्गमा हुने पुरुष र स्त्रीहरू दुवै, जस जसलाई फेला पारे पनि तिनीहरूलाई बाँधेर यरूशलेममा ल्याउनपाउने भनी दमीशकका सभा-घरहरूको नाउँमा उनको पुर्जी मागे” भनी हामी थाह पाउँछौं। (प्रेरित ९:१, २) त्यसपछि, सा.यु. ४४ तिर, “हेरोद राजाले मण्डलीका कुनै कुनैलाई अत्याचार गर्नालाई उनको हात बढाए। औ उनले यूहन्नाका दाज्यू याकूबलाई तरवारले मारे।”—प्रेरित १२:१, २.
१०. प्रेरित तथा प्रकाशको पुस्तकमा हामी सतावटको कस्तो अभिलेख पाउँछौं?
१० प्रेरितको पुस्तकको बाँकी भागमा पहिले सतावट दिने तर पछि प्रेरित भएका र सम्भवतः लगभग सा.यु. ६५ मा रोमी सम्राट् नेरोको हातबाट शहीद भएका पावलजस्ता विश्वासी व्यक्तिहरूले सहेका परीक्षा, कैद र सतावटको अमेट अभिलेख छ। (२ कोरिन्थी ११:२३-२७; २ तिमोथी ४:६-८) अन्तमा, प्रथम शताब्दीको अन्ततिर लेखिएको प्रकाशको पुस्तकमा वृद्ध प्रेरित यूहन्नाले “परमेश्वरको वचन र येशू ख्रीष्टको साक्षी” दिएको कारण तिनलाई पत्मोस टापुमा कैद गरिएको हामी पाउँछौं। प्रकाशको पुस्तकमा “मेरो गवाही, मेरो विश्वासी जन एन्टिपास” पर्गामममा मारिए भनेर पनि उल्लेख गरिएको छ।—प्रकाश १:९; २:१३.
११. प्रारम्भिक मसीहीहरूको कार्यले सतावटको सम्बन्धमा येशूका शब्दहरू कसरी सत्य साबित गऱ्यो?
११ यी सबै कुराहरूले, येशूले उहाँका चेलाहरूलाई भन्नुभएका निम्न शब्दहरू सत्य साबित गऱ्यो: “तिनीहरूले मलाई सताए भने, तिमीहरूलाई पनि सताउनेछन्।” (यूहन्ना १५:२०) “तिमीहरू यरूशलेममा, सारा यहूदियामा, सामरियामा र पृथ्वीको अन्तसम्म मेरा गवाही हुनेछौ” भनी प्रभु येशू ख्रीष्टले अह्राउनुभएको काम पूरा गर्न प्रारम्भिक समयका विश्वासी मसीहीहरू—सतावट भोगेर, जंगली जनावरहरूको बीचमा फालिएर वा अरू कुनै तरिकामा— मृत्यु भोग्न समेत तयार थिए।—प्रेरित १:८.
१२. मसीहीहरूमाथिको सतावट किन विगतको कुरा मात्र होइन?
१२ येशूका अनुयायीहरूले यस्तो क्रूर व्यवहार बितेको समयमा मात्र भोगेका थिए भनेर कसैले सोच्छ भने उसको सोचाइ पूर्णतया गलत हुन्छ। हामीले अगाडि बुझेझैं, थुप्रै अप्ठ्याराहरू भोगेका पावलले यस्तो लेखे: “ख्रीष्ट येशूमा भक्तिसँग जीवन बिताउन इच्छा गर्नेहरू ता सबै जना खेदोमा पर्नेछन्।” (२ तिमोथी ३:१२) सतावटको सन्दर्भमा पत्रुसले यसो भने: “यसैको निम्ति तिमीहरू बोलाइएका हौ। किनभने तिमीहरूले उहाँको पाइलामा टेकेर हिंडनालाई एक उदाहरण तिमीहरूलाई दिएर ख्रीष्टले पनि तिमीहरूका निम्ति दुःख भोग्नुभयो।” (१ पत्रुस २:२१) यस रीतिरिवाजको “आखिरी दिन[सम्मै]” यहोवाका जनहरू घृणा र द्वेषका पात्र भइरहेका छन्। (२ तिमोथी ३:१) चाहे तानाशाही शासन होस् वा प्रजातान्त्रिक मुलुक, पृथ्वीको हरेक कुनामा यहोवाका साक्षीहरूले कुनै न कुनै समयमा व्यक्तिगत तथा सामूहिक दुवै तवरमा सतावट भोगेका छन्।
किन घृणा गरिएका र सताइएका?
१३. सतावटको सन्दर्भमा वर्तमान समयका यहोवाका सेवकहरूले कुन कुरा मनमा राख्नुपर्छ?
१३ अहिले हामीमध्ये अधिकांशले प्रचार गर्ने तथा शान्तपूर्वक भेला हुने सापेक्षिक स्वतन्त्रताको आनन्द उठाए तापनि “यस संसारको रूप बितेर जाँदैछ [“परिवर्तन हुँदैछ,” NW]” भन्ने बाइबलको सम्झौटो हामीले मनमा राख्नुपर्छ। (१ कोरिन्थी ७:३१) परिस्थिति यति चाँडो परिवर्तन हुन सक्छ कि हामी मानसिक, भावनात्मक तथा आध्यात्मिक तवरमा तयार छैनौं भने सजिलै ठक्कर खान सक्छौं। त्यसोभए, आफूलाई जोगाउन हामी के गर्न सक्छौं त? प्रतिरक्षा गर्ने एउटा प्रभावकारी तरिका शान्तिप्रिय तथा कानुनपालक मसीहीहरू किन घृणा गरिन्छन् र सताइन्छन् भन्ने कुरा स्पष्टसित मनमा राख्नु हो।
१४. मसीहीहरू सताइनुको कारणबारे पत्रुसले कुन कुरा औल्याए?
१४ लगभग सा.यु. ६२-६४ मा प्रेरित पत्रुसले लेखेको पहिलो पत्रमा तिनले यसबारे उल्लेख गरेका छन्, जति बेला रोमी साम्राज्यभरिका मसीहीहरूले परीक्षा तथा सतावट भोगिरहेका थिए। तिनले यसो भने: “हे प्रिय हो, तिमीहरूलाई परीक्षा गर्न तिमीहरूमाथि परि आउने आगोसरहको परीक्षालाई केही अचम्मको कुरा भए जस्तैगरी तिमीहरू ताजुब नहोओ।” तिनको मनमा कुन कुरा थियो भनी प्रष्ट पार्न पत्रुस अझै यसो भन्छन्: “तिमीहरूमध्ये कसैले पनि ज्यानमारा, अथवा चोर, अथवा खराबी गर्ने, वा अर्काको कुरामा हात हाल्नेले झैं दुःख नभोग, तर कसैले ख्रीष्टयानजस्तो भएर दुःख भोग्दछ भनेता त्यसले शर्म नमानोस्, तर त्यहीचाहिं नाउँमा परमेश्वरलाई त्यसले धन्यवाद चढाओस्।” तिनीहरूले कुनै गलत कार्य गरेको कारण होइन, तर मसीही भएको कारण दुःख भोगिरहेका थिए भनी पत्रुसले औंल्याए। आफू वरपरका मानिसहरूजस्तै तिनीहरू पनि “ज्यादै उपद्रवहरूमा” रुमलिरहेका भए उनीहरूले तिनीहरूलाई स्वागत-सत्कार गर्ने थिए। वास्तवमा, ख्रीष्टका अनुयायीहरूको हैसियत आफ्नो कर्तव्य पूरा गर्न चाहेको कारण तिनीहरूले दुःख भोगे। आजका मसीहीहरूको सन्दर्भमा पनि यही कुरा लागू हुन्छ।—१ पत्रुस ४:४, १२, १५, १६.
१५. आज यहोवाका साक्षीहरूसितको व्यवहारमा कस्तो विरोधाभासपूर्ण कुरा देखिन्छ?
१५ यहोवाका साक्षीहरूले तिनीहरूका अधिवेशन र निर्माण परियोजनाहरूमा देखाएको एकता तथा सहयोग, तिनीहरूको इमानदारिता तथा लगनशीलता, तिनीहरूको उदाहरणीय नैतिक आचरण तथा पारिवारिक जीवन र तिनीहरूको भद्र रूपरंग तथा अरूप्रतिको व्यवहारको लागि समेत संसारका थुप्रै भागहरूमा सार्वजनिक तवरमा तिनीहरूको प्रशंसा गरिएको छ। a अर्कोतर्फ, यो लेख लेखुन्जेलसम्ममा कम्तीमा पनि २८ वटा मुलुकमा तिनीहरूको काममाथि बन्देज वा प्रतिबन्ध छ अनि तिनीहरूको विश्वासको कारण थुप्रै साक्षीहरूले शारीरिक दुर्व्यवहार तथा क्षति भोग्छन्। तिनीहरूमाथि किन यस्तो विरोधाभासपूर्ण व्यवहार गरिन्छ? अनि परमेश्वरले किन यस्तो हुन दिनुहुन्छ?
१६. परमेश्वरले आफ्ना जनहरूलाई सतावट भोग्न दिनुको प्रमुख कारण के हो?
१६ पहिलो र प्रमुख कुरा, हामीले हितोपदेश २७:११ का शब्दहरूलाई मनमा राख्नुपर्छ: “हे मेरो छोरो, बुद्धिमान हो, र त्यसले मेरो हृदयलाई आनन्दित तुल्याउँछ, र मेरो आलोचना गर्नेहरूलाई म मुखभरिको जवाफ दिनसक्छु।” हो, विश्वव्यापी सार्वभौमिकताको धेरै पुरानो विवादको कारण यसो गर्नुपर्छ। शताब्दीयौंको दौडान यहोवाप्रति आफ्नो निष्ठा साबित गरेकाहरूले दिएका तीन थुप्रो प्रमाणको बावजुद धर्मी मानिस अय्यूबको दिनमा झैं शैतानले अहिले पनि यहोवाको खिसी गर्न छोडेको छैन। (अय्यूब १:९-११; २:४, ५) निस्सन्देह, अहिले पृथ्वीको चारैतिर आफ्ना वफादार प्रजा तथा प्रतिनिधिहरूसहित परमेश्वरको राज्य स्थापना भइसकेको कारण आफ्नो दाबी सत्य साबित गर्ने अन्तिम प्रयत्नमा शैतानलाई झनै के गरूँ कसो गरूँ भएको छ। आफूमाथि जस्तोसुकै दुःख वा अप्ठ्याराहरू आइपरे तापनि के यिनीहरू परमेश्वरप्रति विश्वासी रहनेछन्? यहोवाका हरेक सेवकहरूले यो प्रश्नको व्यक्तिगत रूपमा जवाफ दिनुपर्छ।—प्रकाश १२:१२, १७.
१७. “यी तिमीहरूलाई गवाहीको निम्ति हुनेछ” भन्ने येशूका शब्दको अर्थ के थियो?
१७ “जगत्को अन्तको” दौडान हुने घटनाहरूबारे आफ्ना चेलाहरूलाई बताउनुहुँदा येशूले आफ्ना सेवकहरूमाथि यहोवाले सतावट आइपर्न दिनुको अर्को कारणबारे संकेत गर्नुभयो। उहाँले तिनीहरूलाई यसो भन्नुभयो: “राजाहरू र हाकिमहरूका सामने पुऱ्याएर तिमीहरूलाई झ्यालखानमा हाल्नेछन्। तर यी तिमीहरूलाई गवाहीको निम्ति हुनेछ।” (मत्ती २४:३, ९; लूका २१:१२, १३) येशू आफैले हेरोद र पन्तियस पिलातससामु साक्षी दिनुभयो। प्रेरित पावललाई पनि ‘राजाहरू र हाकिमहरूका सामने पुऱ्याइयो।’ निम्न कुरा भन्दा, पावलले प्रभु येशू ख्रीष्टद्वारा निर्देशन पाएर त्यस समयका सबैभन्दा शक्तिशाली शासकलाई साक्षी दिने कोसिस गरे: “म सिजरकहाँ अपील गर्दछु।” (प्रेरित २३:११; २५:८-१२) त्यसै गरी, आज चुनौतीपूर्ण परिस्थितिहरूको बेला अधिकारी तथा जनसाधारण दुवैलाई अक्सर राम्रो साक्षी दिन सकिएको छ। b
१८, १९. (क) परीक्षाहरूको सामना गर्दा यसले हामीलाई कसरी लाभ पुऱ्याउँछ? (ख) अर्को लेखमा कस्ता प्रश्नहरूबारे विचार गरिनेछ?
१८ अन्तमा, परीक्षा तथा संकष्टहरूको सामना गर्दा यसले हामीलाई नै व्यक्तिगत तवरमा लाभ पुऱ्याउन सक्छ। कुन तरिकामा? चेला याकूबले आफ्ना सँगी मसीहीहरूलाई यसरी सम्झाए: “हे मेरा भाइ हो, तिमीहरू अनेक किसिमका परीक्षाहरूमा पर्दा पूरा आनन्द सम्झ। यो जानेर कि, तिमीहरूको विश्वासको जाँचले धीरज उत्पन्न गराउँछ।” हो, सतावटले हाम्रो विश्वासलाई खार्न र हाम्रो धीरजलाई अझ बलियो बनाउन सक्छ। त्यसकारण सतावटदेखि हामी तर्सदैनौं, न त यसबाट उम्कन वा यसको अन्त गर्न हामी गैर-धर्मशास्त्रीय तरिका नै अपनाउँछौं। बरु, हामी याकूबको निम्न सल्लाह पालन गर्छौं: “धीरजलाई त्यसको पूरा काम गर्न देओ। औ तिमीहरूमा कुनै कुराको अभाव नभएर सिद्ध र पूर्ण होओ।”—याकूब १:२-४.
१९ परमेश्वरको वचनले हामीलाई परमेश्वरका विश्वासी सेवकहरू किन सताइन्छन् र यहोवाले किन यसो हुने अनुमति दिनुहुन्छ भन्ने कुरा बुझ्न मदत गरे तापनि यो कुरा बुझ्दैमा सतावट सहन सजिलो हुन्छ नै भन्ने छैन। यसको सामना गर्न हामीलाई कुन कुराले बलियो तुल्याउन सक्छ? आफूमाथि सतावट आइपर्दा हामी के गर्न सक्छौं? यी महत्त्वपूर्ण विषयहरूबारे हामी अर्को लेखमा विचार गर्नेछौं।
[फुटनोटहरू]
a प्रहरीधरहरा, डिसेम्बर १५, १९९५, पृष्ठ २७-९; अप्रिल १, १९९४, पृष्ठ २८-२९ र यहोवाका साक्षीहरू पुस्तिका पृष्ठ २१-२४ हेर्नुहोस्।
b जनवरी ८, २००३ को अवेक!, पृष्ठ ३-११ हेर्नुहोस्।
के तपाईं बुझाउन सक्नुहुन्छ?
• मुख्यतया कुन अर्थमा येशू एक जना शहीद हुनुहुन्थ्यो?
• प्रथम शताब्दीका मसीहीहरूमाथि सतावटले कस्तो असर पाऱ्यो?
• पत्रुसले वर्णन गरेअनुसार, प्रारम्भिक मसीहीहरू किन सताइएका थिए?
• कस्ता कारणहरूले गर्दा यहोवाले आफ्ना सेवकहरूमाथि सतावट आइपर्न दिनुहुन्छ?
[अध्ययनका लागि प्रश्नहरू]
[पृष्ठ १०, ११-मा भएका चित्रहरू]
प्रथम शताब्दीका मसीहीहरूले कुनै गलत कार्यको लागि होइन, तर मसीही भएको कारण दुःख भोगे
पावल
यूहन्ना
एन्टिपास
याकूब
स्तिफनस