परीक्षा सहँदा यहोवाको प्रशंसा हुन्छ
परीक्षा सहँदा यहोवाको प्रशंसा हुन्छ
“तिमीहरूले असल गरेर दुःख भोग्नुपर्दा धीरजसँग सहँदछौ भने, यो ता परमेश्वरमा ग्रहणयोग्य हुन्छ।”—१ पत्रुस २:२०.
१. मसीहीहरू आफ्नो समर्पणअनुरूप जीवन बिताउन उत्सुक भएकाले कुन प्रश्नबारे विचार गर्नै पर्छ?
मसीहीहरू यहोवाप्रति समर्पित छन् र उहाँको इच्छा गर्न चाहन्छन्। आफ्नो समर्पणअनुरूप जीवन बिताउन, आफ्नो उदाहरण येशू ख्रीष्टको पाइला पछ्याउन र सत्यको साक्षी दिन तिनीहरू यथाशक्य गर्छन्। (मत्ती १६:२४; यूहन्ना १८:३७; १ पत्रुस २:२१) तथापि, येशू र अरू विश्वासी जनहरूले आफ्नो ज्यान दिए र आफ्नो विश्वासको खातिर शहीदको रूपमा मरे। के यसको अर्थ सबै मसीहीहरूले आफ्नो विश्वासको खातिर शहीदको रूपमा मर्ने आशा गर्न सक्छन् भनेको हो?
२. परीक्षा तथा दुःखप्रति मसीहीहरूले कस्तो दृष्टिकोण राख्छन्?
२ मसीहीहरूको हैसियतमा हामीलाई मृत्युसम्मै विश्वासी रहन प्रोत्साहन दिइएको छ, तर हाम्रो विश्वासको खातिर मर्नै पर्छ भन्ने छैन। (२ तिमोथी ४:७; प्रकाश २:१०) यसको अर्थ हामी आफ्नो विश्वासको खातिर दुःख भोग्न—र आवश्यक परेको खण्डमा मर्नसमेत—तयार भए तापनि हामी त्यस्तो अवस्थामा पर्न इच्छा भने गर्दैनौं। दुःख भोग्नुपर्दा हामी खुसी हुँदैनौं, न त पीडा वा अपमान आइपर्दा रमाउँछौं। तथापि, परीक्षा तथा सतावट आइपर्छ भनी हामीले आशा गर्न सक्ने हुनाले यस्ता अवस्थाहरू आइपर्दा के गर्न सक्छौं भनी हामीले होसियारीसाथ विचार गर्नु आवश्यक छ।
जाँचको बावजुद विश्वासी
३. तपाईं सतावटको सामना गर्ने सन्दर्भमा कस्ता बाइबलीय उदाहरणहरू बताउन सक्नुहुन्छ? (अर्को पृष्ठमा दिइएको “तिनीहरूले कसरी सतावटको सामना गरे” भन्ने पेटी हेर्नुहोस्।)
३ बितेको समयका परमेश्वरका जनहरूले जीवन नै खतरामा पर्ने परिस्थिति आइपर्दा कस्तो प्रतिक्रिया देखाए भन्ने असंख्य विवरणहरू हामी बाइबलमा पाउँछौं। तिनीहरूले देखाएको विभिन्न प्रतिक्रियाले मसीहीहरूले आज यस्तै चुनौतीहरू सामना गर्नुपऱ्यो भने त्यसको लागि डोऱ्याइ प्रदान गर्छ। “तिनीहरूले कसरी सतावटको सामना गरे” भन्ने पेटीको विवरण विचार गर्नुहोस् र तिनीहरूबाट तपाईंले के सिक्न सक्नुहुन्छ हेर्नुहोस्।
४. परीक्षामा पर्दा येशू तथा अरू विश्वासी सेवकहरूले प्रतिक्रिया देखाएका तरिकाबारे के भन्न सकिन्छ?
४ येशू तथा परमेश्वरका अरू विश्वासी सेवकहरूले सतावटप्रति परिस्थितिअनुसार भिन्ना-भिन्नै प्रतिक्रिया देखाए तापनि तिनीहरूले आफ्नो जीवन अनावश्यक तवरमा जोखिममा पारेनन् भन्ने कुरा स्पष्ट छ। खतरनाक परिस्थितिमा पर्दा, तिनीहरू साहसी तर चनाखो थिए। (मत्ती १०:१६, २३) तिनीहरूको लक्ष्य प्रचारकार्यलाई अघि बढाउनु र यहोवाप्रति आफ्नो निष्ठा कायम राख्नु थियो। विभिन्न परिस्थितिहरूमा तिनीहरूले देखाएको प्रतिक्रियाले, आज परीक्षा तथा सतावटहरूको सामना गरिरहेका मसीहीहरूको लागि उदाहरण दिन्छ।
५. सन् १९६० को दशकमा मलावीमा कस्तो सतावट आइपऱ्यो र त्यहाँका साक्षीहरूले कस्तो प्रतिक्रिया देखाए?
५ युद्ध, प्रतिबन्ध वा प्रत्यक्ष सतावटको कारण वर्तमान समयका यहोवाका साक्षीहरूले अक्सर ज्यादै अप्ठ्यारा परिस्थितिहरू तथा क्षति अनुभव गरेका छन्। उदाहरणका लागि, सन् १९६० को दशकमा, मलावीका यहोवाका साक्षीहरूलाई निर्घात सतावट दिइएको थियो। तिनीहरूका राज्यभवन, घर, खाद्यन्न र व्यापारहरू—भन्ने हो भने तिनीहरूसित भएको सबै कुरा— नष्ट गरियो। तिनीहरूले कुटाइ खानुपऱ्यो र अरू हृदयविदारक अनुभवहरू भोग्नुपऱ्यो। ती भाइहरूले कस्तो प्रतिक्रिया देखाए? हजारौंले आफ्नो गाउँ छोडेर भाग्नुपऱ्यो। धेरै जना बाक्लो झाडीमा लुके भने अरूचाहिं छिमेकी देश मोजाम्बिकमा अस्थायी निर्वासनमा गए। धेरै विश्वासी जनहरूले आफ्नो जीवन गुमाए तापनि अरूले खतरनाक इलाकाबाट भाग्न रोजे, जुन कदम यस्तो परिस्थितिमा पक्कै पनि उपयुक्त थियो। यसो गरेर भाइहरूले येशू तथा पावलले बसालेका उदाहरण पछ्याए।
६. भीषण सतावटको बावजुद मलावीका साक्षीहरूले कुन कुरा त्यागेनन्?
६ मलावीका भाइहरू बसाइँ सर्नु वा लुक्नुपरे तापनि तिनीहरूले ईश्वरीय निर्देशन खोजे र त्यसलाई पछ्याए अनि भूमिगत रहेर तिनीहरूको मसीही क्रियाकलाप यथाशक्य पूरा गरे। नतिजा कस्तो भयो? सन् १९६७ मा प्रतिबन्ध लाग्नुभन्दा अघि प्रकाशकहरूको शिखर संख्या १८,५१९ पुगिसकेको थियो। प्रतिबन्ध अझ कायमै भए तापनि र धेरै जना मोजाम्बिकतर्फ भागे तापनि सन् १९७२ सम्ममा प्रकाशकहरूको नयाँ शिखर २३,३९८ पुगेको रिपोर्ट गरियो। तिनीहरूले हरेक महिना सेवकाईमा औसत १६ घण्टाभन्दा बढी बिताए। निस्सन्देह, तिनीहरूको कामले यहोवाको प्रशंसा गऱ्यो र त्यो कठिन परिस्थितिको दौडान ती विश्वासी भाइहरूमाथि यहोवाको आशिष् थियो। a
७, ८. विरोधको कारण समस्याहरू खडा भइरहेका भए तापनि कस्ता कारणहरूले गर्दा कसै-कसैले नभाग्ने छनौट गर्न सक्छन्?
७ अर्कोतर्फ, विरोधको कारण समस्याहरू आइरहेका देशहरूमा, केही भाइहरूले अन्यत्र सर्न सक्ने भए तापनि त्यसो नगर्ने निर्णय गर्न सक्छन्। अन्यत्र सर्दा केही खास समस्याहरू त समाधान होलान् तर यसले सम्भवतः अरू चुनौतीहरू खडा गर्नेछ। उदाहरणका लागि, के तिनीहरूले मसीही भाइबहिनीहरूसित सम्पर्क कायम राख्न र आध्यात्मिक तवरमा नअलग्गीकन बस्न सक्नेछन्? सायद अझ सम्पन्न वा भौतिक सर-सम्पत्ति कमाउन अझ बढी मौका मिल्ने देशमा घरजम गर्न संघर्ष गर्दा के तिनीहरूले आफ्नो आध्यात्मिक तालिका कायम राख्न सक्नेछन्?—१ तिमोथी ६:९
८ अरूले आफ्ना भाइहरूको आध्यात्मिक हितप्रति चिन्तित हुँदै अन्यत्र नसर्ने छनौट गर्छन्। आफ्नो गृह इलाकामा प्रचार गरिरहन अनि सँगी उपासकहरूको लागि प्रोत्साहनको स्रोत बन्न तिनीहरूले त्यहीं बसेर परिस्थितिको सामना गर्ने छनौट गर्छन्। (फिलिप्पी १:१४) यसो गर्ने छनौट गरेर, कसै-कसैले आफ्नो मुलुकमा कानुनी विजय प्राप्त गर्न महत्त्वपूर्ण भूमिकासमेत खेल्न सकेका छन्। b
९. सतावट आइपर्दा पहिलेकै ठाउँमा बसिरहने वा अन्यत्र सर्ने भनी निर्णय गर्दा कुनै एक जना व्यक्तिले कस्ता कुराहरू विचार गर्नुपर्छ?
९ आफ्नै ठाउँमा बसिरहने वा अन्यत्र सर्ने भन्ने कुरा पक्कै पनि व्यक्तिगत निर्णय हो। निस्सन्देह, हामीले प्रार्थनापूर्वक यहोवाको निर्देशन खोजेपछि मात्रै यस्ता निर्णयहरू गर्नुपर्छ। हामीले जस्तोसुकै मार्ग किन नरोजौं, तर प्रेरित पावलका शब्दहरू मनमा राख्नै पर्छ: “हामी हरेकले परमेश्वरलाई आफ्ना आफ्ना लेखा दिनुपर्नेछ।” (रोमी १४:१२) हामीले अगाडि बुझेझैं, यहोवाले आफ्ना हरेक सेवकहरू जस्तोसुकै अनि सबै परिस्थितिमा विश्वासी रहेको चाहनुहुन्छ। उहाँका कतिपय सेवकहरूले अहिले नै परीक्षा तथा सतवाटहरू भोगिरहेका छन्; अरूले भने पछि भोग्लान्। कुनै न कुनै तरिकामा सबैको जाँच हुनेछ र कसैले पनि यसबाट उम्कने आशा गर्नुहुँदैन। (यूहन्ना १५:१९, २०) यहोवाका समर्पित सेवकहरूको हैसियतमा, हामी यहोवाको नाउँको पवित्रीकरण तथा उहाँको सार्वभौमिकताको महिमा मुछिएको विश्वव्यापी विवादबाट उम्कन सक्दैनौं।—इजकिएल ३८:२३; मत्ती ६:९, १०.
“कसैलाई खराबको बदला खराब नगर”
१०. दबाब र विरोध सामना गर्ने सन्दर्भमा येशू तथा प्रेरितहरूले हाम्रो लागि कस्तो महत्त्वपूर्ण उदाहरण बसाले?
१० दबाब आइपर्दा येशू तथा प्रेरितहरूले देखाएका प्रतिक्रियाबाट हामीले सिक्न सक्ने अर्को महत्त्वपूर्ण सिद्धान्त हो—हामीले कहिल्यै पनि सतावट दिनेहरूसित बदला लिनु हुँदैन। येशू वा उहाँका अनुयायीहरू आफूलाई सतवाट दिनेहरूको प्रतिकार गर्नको लागि आन्दोलन वा हिंसामा उत्रन संगठित भएको कुरा हामी बाइबलमा कतै पनि पाउँदैनौं। यसको विपरीत, “कसैलाई खराबको बदला खराब नगर” भनी प्रेरित पावलले मसीहीहरूलाई सल्लाह दिए। “हे प्रिय हो, बदला नलेओ, तर परमेश्वरको क्रोधलाई स्थान देओ, किनभने लेखिएको छ, ‘बदला लिने काम मेरो हो,’ परमप्रभु भन्नुहुन्छ, ‘म बदला फेर्नेछु।’ ” साथै, “खराबीबाट पराजित नहोओ, तर खराबीलाई भलाइले जित।”—रोमी १२:१७-२१; भजन ३७:१-४; हितोपदेश २०:२२.
११. राज्यप्रति प्रारम्भिक मसीहीहरूको प्रतिक्रियाबारे एक जना इतिहासकार के भन्छन्?
११ प्रारम्भिक मसीहीहरूले त्यो सल्लाह हृदयगंम गरे। इतिहासकार सिसेल जे. काडुले आफ्नो पुस्तक दि अर्ली चर्च एण्ड द वर्ल्ड-मा, सा.यु. ३०-७० को समयावधिको दौडान मसीहीहरूले राज्यप्रति देखाएको मनोवृत्तिबारे वर्णन गर्छन्। तिनी यस्तो लेख्छन्: “यस समयका मसीहीहरूले सतावट विरुद्ध शक्ति प्रदर्शन गर्ने कोसिस गरे भन्ने कुनै ठोस प्रमाण हामीसित छैन। यस सन्दर्भमा तिनीहरूले हद से हद गर्ने भनेको तिनीहरूका शासकहरूको घोर निन्दा गर्ने वा भागेर तिनीहरूलाई जिल्याउने हो। तथापि, सामान्यतया मसीहीहरूले सतावटप्रति देखाउने प्रतिक्रिया सधैं संयमित हुन्थ्यो तर ख्रीष्टप्रतिको आज्ञाकारितासित मेल नखानेजस्तो देखिने सरकारका आज्ञाहरू पालन गर्न भने दृढतासाथ इन्कार गर्थे।”
१२. बदला लिनुभन्दा दुःख सहनु किन बेस हो?
१२ असाध्यै आज्ञाकारी जस्तो देखिने यस्तो मार्ग के साँच्चै व्यावहारिक हुन्छ त? यस्तो प्रतिक्रिया देखाउनेहरू सजिलै तिनीहरूलाई नामेट पार्ने चाहनेहरूको सिकार हुँदैनन् र? आफूलाई बचाउन खोज्नु के बुद्धिमानी हुँदैन र? मानव दृष्टिकोणबाट हेर्दा यस्तै देखिन सक्छ। तथापि, यहोवाका सेवकहरूको हैसियतमा, सबै कुरामा यहोवाको निर्देशन पछ्याउनु नै सर्वोत्तम मार्ग हो भन्ने कुरामा हामी ढुक्क छौं। हामी पत्रुसका निम्न शब्दहरू मनमा राख्छौं: “तिमीहरूले असल गरेर दुःख भोग्नुपर्दा धीरजसँग सहँदछौ भने, यो ता परमेश्वरमा ग्रहणयोग्य हुन्छ।” (१ पत्रुस २:२०) हाम्रो अवस्थाबारे यहोवालाई राम्रोसित थाह छ र उहाँले सधैंभरि यतिकै चलिरहन दिनुहुन्न भनेर हामी विश्वस्त छौं। यसबारे हामी कसरी पक्का हुन सक्छौं? बेबिलोनमा कैदमा परेका आफ्ना जनहरूलाई यहोवाले यस्तो घोषणा गर्नुभयो: “जसले तिमीहरूलाई छुन्छ त्यसले उहाँको आँखाको नानीलाई छुन्छ।” (जकरिया २:८) कुनै व्यक्तिले आफ्नो आँखाको नानीलाई कति नै बेर छुन दिन्छ र? उचित समयमा यहोवाले छुटकारा दिनुहुनेछ। जे होस्, यसबारे कुनै शंका छैन।—२ थिस्सलोनिकी १:५-८.
१३. येशूले किन कुनै प्रतिकार नगरी आफ्ना शत्रुहरूलाई आफूलाई गिरफ्तार गर्न दिनुभयो?
१३ यस सन्दर्भमा, हामी येशूलाई हाम्रो नमुनाको रूपमा हेर्न सक्छौं। आफूलाई बचाउन नसक्ने भएर गेतसमनीको बगैंचामा येशूले आफ्ना शत्रुहरूलाई आफूलाई गिरफ्तार गर्न दिनुभएको होइन। वास्तवमा, उहाँले आफ्नो एक जना चेलालाई यसो भन्नुभयो: “तिमी के ठान्दछौ, के म आफ्ना पितालाई बिन्ती गर्नसक्तिनँ, र के उहाँले मलाई बाह्र पल्टनभन्दा बढी स्वर्गदूतहरू अहिले जुटाइदिनुहुन्न र? हुनुपर्छ भनी लेखिएको शास्त्रको कुरा कसरी पूरा नभै रहनसक्छ?” (मत्ती २६:५३, ५४) दुःखै भोग्नुपरे तापनि यहोवाको इच्छा पूरा गर्नु येशूको लागि सर्वमहत्त्वपूर्ण कुरा थियो। दाऊदको भविष्यसूचक भजनका शब्दहरूमा उहाँ पूर्ण विश्वस्त हुनुहुन्थ्यो: “तपाईंले मेरो प्राणलाई पातालमा छोड्नुहुनेछैन। तपाईंले आफ्नो पवित्र जनलाई कुहुनु दिनुहुनेछैन।” (भजन १६:१०) वर्षौंपछि प्रेरित पावलले येशूबारे यसो भने: “उहाँको सामने राखिदिएको आनन्दको निम्ति शर्मलाई घिन गरेर क्रूसको [“शासनाको खम्बा,” NW ] शासना भोग्नुभयो, र परमेश्वरको सिंहासनको दाहिनेपट्टि बस्नुभएको छ।”—हिब्रू १२:२.
यहोवाको नाउँ पवित्रीकरण गर्दाको आनन्द
१४. सबै परीक्षाहरूको दौडान येशूलाई कस्तो आनन्दले सम्हाल्यो?
१४ कल्पना गर्न सकिने सबैभन्दा कठिन जाँचको दौडान येशूलाई कस्तो आनन्दले सम्हाल्यो? यहोवाका सबै सेवकहरूमध्ये परमेश्वरको प्रिय पुत्र, येशू पक्कै शैतानको प्रमुख तारो हुनुहुन्थ्यो। त्यसकारण जाँच आइपर्दा येशूले निष्ठा कायम राखेमा यसले यहोवा विरुद्ध शैतानको आलोचनाको सदाको लागि जवाफ दिने थियो। (हितोपदेश २७:११) पुनरुत्थान भएपछि येशूले कति धेरै आनन्द तथा सन्तुष्टि महसुस गर्नुभएको हुनुपर्छ के तपाईं कल्पना गर्न सक्नुहुन्छ? यहोवाको सार्वभौमिकताको महिमा र उहाँको नाउँको पवित्रीकरणमा सिद्ध व्यक्तिको रूपमा आफूलाई दिइएको भूमिका पूरा गरेको कुरा थाह पाउनुहुँदा उहाँ कत्ति खुसी भएको हुनुपर्छ! साथै, “परमेश्वरको सिंहासनको दाहिनेपट्टि बस्नु” निस्सन्देह येशूको लागि एउटा अद्भुत सम्मान तथा आनन्दको सबैभन्दा ठूलो स्रोत हो।—भजन ११०:१, २; १ तिमोथी ६:१५, १६.
१५, १६. साक्सेनहाउसेनका साक्षीहरूले कस्तो क्रूर सतावट सहे र कुन कुराले तिनीहरूलाई यसो गर्ने बल दियो?
१५ त्यसै गरी, येशूको उदाहरण पछ्याउँदै, परीक्षा तथा सतावटहरू सहेर यहोवाको नाउँ पवित्रीकरण गर्ने काममा भाग लिनु मसीहीहरूको लागि पनि एउटा आनन्द हो। यसको एउटा सुहाउँदो उदाहरण दोस्रो विश्वयुद्धको अन्तमा, कुख्यात साक्सेनहाउसेन याताना शिविरमा दुःख भोगेका र थकाइलाग्दो मृत्यु यात्राबाट बचेका साक्षीहरूको अनुभव हो। यस यात्रामा घामपानी, रोग वा भोकको कारण हजारौं कैदीहरू मरे वा नाजी एस एस गार्डहरूले क्रूरतासाथ बाटैमा मृत्युदण्ड दिए। साक्षीहरू भने एक-आपसमा घनिष्ठ रहेको तथा आफ्नो ज्यानको बाजी लगाएर एक-अर्कालाई मदत गरेको कारण सबै २३० जना नै बाँचे।
१६ यी साक्षीहरूलाई कुन कुराले यस्तो क्रूर सतावट सहने बल दियो? सुरक्षित ठाउँमा पुग्ने बित्तिकै तिनीहरूले “मेक्लेनबर्गको स्वरिन नजिकैको जंगलमा भेला भएका, छवटा राष्ट्रका २३० जना यहोवाका साक्षीहरूको प्रस्तावना” शीर्षक भएको एउटा व्यक्तव्यद्वारा आफ्नो आनन्द तथा यहोवाप्रतिको मूल्यांकन व्यक्त गरे। यसमा तिनीहरूले यस्तो उल्लेख गरे: “लामो समयसम्मको कठोर जाँच सिद्धिएको छ र बाँचेकाहरू आगोको भट्टिबाट उम्केजस्तै भए तापनि तिनीहरूमा आगोको गन्धसम्म पनि छैन। (दानियल ३:२७ हेर्नुहोस्।) यसको विपरीत, तिनीहरू यहोवाबाटको बल तथा शक्तिद्वारा भरिपूर्ण छन् र ईश्वरतान्त्रिक गतिविधिहरूलाई अघि बढाउन राजाबाट नयाँ आदेशको प्रतीक्षामा उत्सुक छन्।” c
१७. परमेश्वरका जनहरूले अहिले कस्ता प्रकारका जाँचहरू सामना गरिरहेका छन्?
१७ हामीले “रगतपच्छे हुनेगरी” प्रतिरोध नगरेको भए तापनि ती २३० जना विश्वासी जनहरूजस्तै हाम्रो विश्वासको पनि जाँच हुन सक्छ। (हिब्रू १२:४) तर जाँच विभिन्न प्रकारका हुन सक्छन्। यो साथीहरूले गर्ने खिसी हुन सक्छ वा अनैतिकता तथा अरू खराबीहरूमा भाग लिन साथीहरूको दबाब हुन सक्छ। साथै, रगतबाट अलग रहने, प्रभुमा मात्र विवाह गर्ने वा धार्मिक तवरमा विभाजित परिवारमा बच्चाहरूलाई विश्वासमा हुर्काउने संकल्प गर्दा कहिलेकाहीं तीव्र दबाब तथा परीक्षा आइपर्न सक्छ।—प्रेरित १५:२९; १ कोरिन्थी ७:३९; एफिसी ६:४; १ पत्रुस ३:१, २.
१८. हामी एकदमै असामान्य परीक्षाहरू समेत सहन सक्छौं भन्ने कस्तो आश्वासन हामीसित छ?
१८ तथापि, हामीमाथि जस्तोसुकै जाँच किन नआओस्, यहोवा र उहाँको राज्यलाई प्रथम स्थानमा राखेको कारण हामीले दुःख भोगेका हौं भनेर हामीलाई थाह छ र यसलाई हामी साँचो सुअवसरको रूपमा हेर्छौं र आनन्दित हुन्छौं। हामी पत्रुसका निम्न आश्वासनदायी शब्दहरूबाट साहस पाउँछौं: “यदि ख्रीष्टको नाउँमा तिमीहरू निन्दित हुन्छौ भनेता तिमीहरू धन्यका हौ। किनभने महिमाको आत्मा र परमेश्वरको आत्मा तिमीहरूमाथि ठहर्छ।” (१ पत्रुस ४:१४) हामी उहाँको आत्माको शक्तिद्वारा यहोवाको महिमा र प्रशंसाको लागि एकदमै अप्ठ्यारा परीक्षाहरूसमेत सहन सक्ने बल पाउँछौं।—२ कोरिन्थी ४:७; एफिसी ३:१६; फिलिप्पी ४:१३.
[फुटनोटहरू]
a सन् १९६० को दशकका घटनाहरू मलावीका यहोवाका साक्षीहरूले लगभग तीन दशकसम्म सहनुपरेको कटु तथा घातक सतावटका श्रृंखलाको सुरुवात् मात्र थियो। पूर्ण विवरणको लागि १९९९ यरबूक अफ जेहोभाज् विट्नेसेज, पृष्ठ १७१-२१२ हेर्नुहोस्।
b अप्रिल १, २००३ अंकको प्रहरीधरहरा, पृष्ठ ११-१४ मा “ ‘अरारत देशमा’ सर्वोच्च अदालतले साँचो उपासनाको समर्थन गर्छ” भन्ने लेख हेर्नुहोस्।
c यस प्रस्तावनाको पूर्ण विवरणको लागि १९७४ यरबूक अफ जेहोभाज् विट्नेसेज, पृष्ठ २०८-९ मा हेर्नुहोस्। यस यात्राबाट बचेका एक जना व्यक्तिको आत्मकथा जनवरी १, १९९८ अंकको प्रहरीधरहरा पृष्ठ २५-९ मा पाउन सकिन्छ।
के तपाईं बुझाउन सक्नुहुन्छ?
• दुःख तथा सतावटप्रति मसीहीहरू कस्तो दृष्टिकोण राख्छन्?
• परीक्षासामु येशू तथा अरू विश्वासी जनहरूले देखाएका प्रतिक्रियाबाट हामी के सिक्न सक्छौं?
• हामीमाथि सतावट आइपर्दा बदला लिनु किन बुद्धिमानी होइन?
• परीक्षाको दौडान येशूलाई कस्तो आनन्दले सम्हाल्यो र यसबाट हामी के सिक्न सक्छौं?
[अध्ययनका लागि प्रश्नहरू]
[पृष्ठ १५-मा भएको पेटी/चित्रहरू]
तिनीहरूले कसरी सतावटको सामना गरे
• दुई वर्ष र त्यसभन्दा मुनिका बालकहरूलाई मार्न हेरोदका सिपाहीहरू बेतलेहेम आइपुग्नुअघि नै स्वर्गदूतीय निर्देशन पाएर यूसुफ र मरियम बालक येशूलाई लिई मिश्र देशमा भागे।—मत्ती २:१३-१६.
• येशूको प्रभावशाली साक्षीको कारण उहाँको सेवकाईको दौडान येशूका शत्रुहरूले कयौं पटक उहाँलाई मार्न खोजे। हरेक पटक नै उहाँ तिनीहरूबाट भाग्नुभयो।—मत्ती २१:४५, ४६; लूका ४:२८-३०; यूहन्ना ८:५७-५९.
• येशूलाई गिरफ्तार गर्न सिपाही तथा पदाधिकारीहरू गेतसमनीको बगैंचामा आउँदा, उहाँले दुई पटकसम्म यसो भनेर आफूलाई खुल्लमखुल्ला चिनाउनुभयो: “म उही हुँ।” उहाँले आफ्ना अनुयायीहरूलाई कुनै प्रतिरोध गर्नसमेत दिनुभएन र भीडको साथ जान राजी हुनुभयो।—यूहन्ना १८:३-१२.
• यरूशलेममा पत्रुस र अरूलाई गिरफ्तार गरियो, कोर्रा लगाइयो र येशूबारे नबोल्न आज्ञा दिइयो। यद्यपि, मुक्त भएपछि तिनीहरू आफ्नो बाटो लागे “औ दिनदिनै तिनीहरूले मन्दिरमा र घरघरमा गएर शिक्षा दिन र येशूनै ख्रीष्ट हुन् भन्ने सुसमाचार सुनाउन बन्द गरेनन्।”—प्रेरित ५:४०-४२.
• पछि प्रेरित पावल भएका शावललाई दमीशकका यहूदीहरूले मार्न खोजेको कुरा थाह भएपछि भाइहरूले तिनलाई एउटा टोकरीमा हाली राति नै पर्खालबाट झुण्ड्याएर तल ओह्रालिदिए।—प्रेरित ९:२२-२५.
• वर्षौपछि, दुवै शासक फेस्तस र राजा अग्रिपाले पावलमा “प्राण-दण्ड अथवा कैद जाने माफिकको केही काम” गरेको नभेट्टाए तापनि तिनले सिजरकहाँ अपील गर्ने निर्णय गरे।—प्रेरित २५:१०-१२, २४-२७; २६:३०-३२.
[पृष्ठ १६, १७-मा भएका चित्रहरू]
कटु सतावटको कारण भाग्न बाध्य हुनुपरे तापनि मलावीका हजारौं विश्वासी साक्षीहरू आनन्दपूर्वक राज्य सेवामा लागिरहे
[पृष्ठ १७-मा भएका चित्रहरू]
यहोवाको नाउँको पवित्रीकरण गर्दाको आनन्दले यी विश्वासी जनहरूलाई नाजी मृत्यु यात्राको दौडान तथा यातना शिविरहरूमा सम्हाल्यो
[स्रोत]
Death march: KZ-Gedenkstätte Dachau, courtesy of the USHMM Photo Archives
[पृष्ठ १८-मा भएका चित्रहरू]
परीक्षा तथा दबाबहरू विभिन्न प्रकारका हुन सक्छन्