यहोवाले नम्र व्यक्तिहरूलाई सत्यतर्फ खिच्नुहुन्छ
जीवनी
यहोवाले नम्र व्यक्तिहरूलाई सत्यतर्फ खिच्नुहुन्छ
आसानो कोशिनोको वृत्तान्तमा आधारित
सन् १९४९, दोस्रो विश्वयुद्ध अन्त भएको केही वर्षपछि एक जना अग्लो मित्रैलो विदेशी मैले काम गर्ने कोबे शहरको परिवारको घरमा आए। तिनी जापानमा आएका यहोवाका साक्षीहरूको सबैभन्दा पहिलो मिसनरी थिए। तिनीसित भेटेपछि मैले बाइबल सत्यबारे सिक्ने मौका पाएँ। तर पहिला म तपाईंहरूलाई आफ्नो पृष्ठभूमि बताउन चाहन्छु।
मेरो जन्म सन् १९२६ मा उत्तरी ओकायामा प्रिफेक्चरको एउटा सानो गाउँमा भयो। आठ सन्तानमध्ये म पाँचौं थिएँ। बुबा स्थानीय शिन्टो मठका ईश्वरको भक्त हुनुहुन्थ्यो। त्यसकारण हामी केटाकेटीहरू वर्षभरि नै धार्मिक चाडहरूमा पारिवारिक भेटघाट र उत्सवको आनन्द उठाउँथ्यौं।
हुर्कंदै जाँदा जीवनसम्बन्धी मेरा थुप्रै प्रश्नहरू थिए तर मृत्युबारे म सबैभन्दा चिन्तित थिएँ। परम्पराअनुसार मानिसहरू घरमा मर्नुपर्ने अनि परिवारका सदस्यहरूको मृत्यु हुँदा छोराछोरीहरू मृत्युशय्या नजिकै हुनुपर्ने चलन थियो। मेरी हजुरआमाको मृत्यु अनि एक वर्ष पनि नपुगेको मेरो भाइको मृत्यु हुँदा मलाई असाध्यै दुःख लाग्यो। मलाई आफ्ना आमाबाबुको मृत्युबारे सोच्दा साह्रै डर लाग्थ्यो। ‘के जीवन यति नै हो? के यसबाहेक अरू केही छ कि?’ म जान्न उत्सुक थिएँ।
सन् १९३७ मा माध्यमिक विद्यालयको कक्षा छ मा हुँदा साइनो-जापान युद्ध सुरु भयो। पुरुषहरूलाई सेनामा बोलाइयो अनि चीनको युद्धभूमिमा पठाइयो। स्कूले विद्यार्थीहरूले सम्राट्लाई “बान्जाई” (दीर्घायु रहून्) भनेर कराउँदै आफ्ना बुबा वा दाजुभाइहरूलाई बिदा गरे। मानिसहरू ईश्वर-शासित राष्ट्र र यसको सम्राट्, जीवित देव भएको जापानको विजयमा विश्वस्त थिए।
केही समय बित्न नपाउँदै परिवारहरूले युद्धभूमिबाट मृत्युका सूचनाहरू पाउन थाले। दुःखमा परेका परिवारहरूले कतैबाट सान्त्वना पाउन सकेनन्। तिनीहरूको हृदयमा घृणा पलाइरहेको थियो अनि शत्रु पक्षले ठूलो क्षति बेहोर्नुपर्दा तिनीहरू रमाउँथे। तर यति नै खेर मैले सोचें, ‘हामीले आफ्ना प्रियजनको मृत्युमा भोगेको जस्तै दुःख, शत्रु पक्षका मानिसहरूले पनि बेहोरिरहेको हुनुपर्छ।’ म माध्यमिक विद्यालय उतीर्ण होउन्जेलसम्म चीनको भित्री भागसम्म युद्ध फैलिसकेको थियो।
विदेशीसित अप्रत्याशित भेट
किसान भएकोले हाम्रो परिवार सधैं गरिब थियो तर निश्शुल्क पढ्न पाउन्जेल मेरो बुबाले मलाई पढ्ने मौका दिनुभयो। तसर्थ, १९४१ मा म १०० किलोमिटर पर पर्ने ओकायामा शहरको कन्या विद्यालयमा भर्ना भएँ। यो विद्यालयमा केटीहरूलाई सक्षम पत्नी र आमा बन्ने शिक्षा दिइन्थ्यो अनि यसले विद्यार्थीहरूलाई शहरका धनी परिवारहरूसित हाउसकिपिङ सिकारुको रूपमा बस्न खटाउँथ्यो। बिहान विद्यार्थीहरूले यी घरहरूमा काम गरेर सिक्थे अनि दिउँसो भने विद्यालय जान्थे।
नयाँ विद्यार्थीहरूको स्वागत समारोहपछि किमोनो पहिरिएकी मेरी शिक्षिकाले मलाई एउटा ठूलो घरमा लैजानुभयो। तर किन हो कुन्नि, त्यस घरकी मालिक्नीले मलाई स्वीकारिनन्। मेरी शिक्षिकाले भन्नुभयो, “त्यसोभए हामी श्रीमती कोडाको घरमा जाउँ कि?” उहाँले मलाई एउटा पश्चिमी शैलीको घरमा लैजानुभयो र घण्टी बजाउनुभयो। केही समयपछि कपाल सेतै फुलेकी आइमाई बाहिर आइन्। म ट्वाल्ल परें! तिनी जापानी थिइनन्। मैले जिन्दगीमा पश्चिमी देशको मानिसलाई कहिल्यै देखेकी थिइनँ। मेरी शिक्षिकाले मलाई श्रीमती मउड कोडासित परिचय गराउनुभएर तुरुन्तै जानुभयो। मेरो झोला घिसार्दै म डराइ-डराइ भित्र पसें। मैले पछि थाह पाएँ, श्रीमती मउड अमेरिकी हुनुहुन्थ्यो तर उहाँको विवाहचाहिं संयुक्त राज्य अमेरिकामा अध्ययन गरेका जापानी पुरुषसित भएको रहेछ। उहाँ व्यावसायिक विद्यालयहरूमा अंग्रेजी पढाउनुहुन्थ्यो।
भोलिपल्ट बिहानदेखि नै मेरो व्यस्त जीवन सुरु हुन थाल्यो। श्रीमती कोडाको श्रीमान्लाई छारे रोग लागेको थियो अनि उहाँको स्याहारसुसार गर्न मैले मदत गर्नुपर्थ्यो। मैले अंग्रेजी पटक्कै नबुझ्ने हुँदा मलाई अलि चिन्ता लाग्न थाल्यो। श्रीमती कोडाले मसित जापानीमा बोल्नुहुँदा म ढुक्क भएँ। दिनहुँ मैले उहाँहरू अंग्रेजीमा कुराकानी गरेको सुन्थें अनि मलाई बिस्तारै त्यो भाषा सुन्ने बानी लाग्यो। मलाई उक्त घरको रमाइलो वातावरण मन पर्थ्यो।
आफ्नो बिरामी पतिप्रति मउडको लगाव देखेर म प्रभावित भएँ। तिनी बाइबल पढ्न मन पराउँथे। मैले पछि थाह पाएँ, यी दम्पतीले पुरानो किताब बेच्ने पसलबाट द डिभाइन प्लान अफ दी एजेस् भन्ने पुस्तकको जापानी संस्करण प्राप्त गरेका रहेछन् अनि प्रहरीधरहरा-को अंग्रेजी संस्करणको ग्राहक बनेको वर्षौं भइसकेको रहेछ।
एक दिन मलाई एउटा बाइबल उपहारस्वरूप दिइयो। मलाई खुसी लाग्यो किनभने त्यो मेरो जिन्दगीमा आफ्नो व्यक्तिगत बाइबल भएको पहिलो चोटि थियो। मैले स्कूल जाने र फर्कने बाटोमा त्यो किताब पढें तर खासै केही पनि बुझेकी थिइनँ। म जापानी शिन्टो धर्ममा हुर्काइएकी हुँदा येशू ख्रीष्ट एकदमै अपरिचित लाग्थ्यो। पछि यसबाट नै बाइबल सत्य स्वीकार्ने बाटो खुला हुने रहेछ अनि जीवन र मृत्युसम्बन्धी प्रश्नका जवाफहरू पाउनेछु भनी मलाई होसै थिएन।
तीनवटा दुःखद घटनाहरू
दुई वर्षको सिकारु सेवा चाँडै समाप्त भयो र म त्यस परिवारसित बिदा हुनुपऱ्यो। स्कूलको पढाइपछि म केटीहरूको स्वयम्सेवा वाहिनीमा भर्ती भएँ अनि नौसेनाका वस्त्र उत्पादन कार्यमा भाग लिएँ। अमेरिकी बी-२९ बमवर्षकहरूले हवाई आक्रमण गर्न थाले अनि अगस्त ६, १९४५ मा हिरोशिमामा अणुबम खसाइयो। केही दिनपछि मैले एउटा टेलिग्राममा आमा सिकिस्त बिरामी हुनुभएको खबर पाएँ। म तुरुन्तै रेलबाट घर फर्कें। रेलबाट ओर्लेपछि एक जना नातेदारसित मेरो भेट भयो र आमा बितिसक्नुभएको कुरा सुनें। उहाँ अगस्त ११ तारिखका दिन मर्नुभएको थियो। मलाई वर्षौंदेखि डर लागिरहेको कुरा अहिले सत्य साबित भयो! उहाँ मसित अब कहिल्यै बोल्नुहुने वा हाँस्नुहुने छैन।
अगस्त १५ मा जापानको हार वास्तविकता भयो। त्यसकारण मैले दस दिनको अवधिभित्र तीनवटा दुःखद घटना भोग्नुपऱ्यो: पहिलो अणुबम विस्फोट, आमाको मृत्यु अनि जापानको ऐतिहासिक हार। जे होस्, अब मानिसहरू युद्धमा मर्नु पर्नेछैन भनी थाह पाउँदा ढुक्क महसुस भयो। हृदयमा शून्यता बोकेर फ्याक्ट्रीको जागिर छोडी म गाउँ फर्कें।
सत्यतर्फ खिचिएको
एक दिन मैले आशै नगरेको बेला ओकायामामा मउड कोडाबाट चिठी पाएँ। उहाँले अंग्रेजी स्कूल खोल्नै लाग्नुभएको हुँदा मैले घरायसी कामहरू गर्न सघाउन सक्छु कि भनेर चिठी पठाउनुभएको थियो। मलाई के गरूँ, के गरूँ भयो तर मैले उहाँको निमन्त्रणा स्वीकारें। केही वर्षपछि म कोडाहरूसित कोबेमा सरें।
सन् १९४९ को गर्मी महिनाको सुरुतिर एक जना अग्लो मित्रैलो मानिस कोडाको परिवारलाई भेट्न आए। तिनको नाउँ डनल्ड हास्लेट थियो अनि तिनी कोबेमा मिसनरीहरूको लागि एउटा घर खोज्न टोकियोबाट आएका थिए। तिनी जापानमा आएका यहोवाका साक्षीहरूको पहिलो मिसनरी थिए। एउटा घर भेटियो अनि नोभेम्बर १९४९ मा थुप्रै मिसनरीहरू कोबे आइपुगे। एक दिन, तिनीहरूमध्ये पाँच जना कोडा दम्पतीलाई भेट्न आए। तिनीहरूमध्ये दुई जना, लोइड ब्यारी र पर्सी इज्लाबले घरमा भेला भएकाहरूसित दस-दस मिनेटजति अंग्रेजीमा कुरा गरे। ती मिसनरीहरूलाई मउड एक जना मसीही बहिनी हुन् भनेर थाह थियो र सम्भवतः तिनले यस्तो संगतिबाट प्रोत्साहन पाइन्। यसपछि म पनि अंग्रेजी सिक्न उत्प्रेरित भएँ।
जोसिला मिसनरीहरूको मदतले मैले आधारभूत बाइबल सत्यहरू बिस्तारै बुझ्न थालें। मलाई सानैदेखि मनमा लागेका प्रश्नहरूको जवाफ पाउन थालें। हो, बाइबलले पार्थिव प्रमोदवनमा सधैंभरि बाँच्ने आशा अनि “[सम्झनाको] चिहानमा हुनेहरू सबै” पुनरुत्थान हुने प्रतिज्ञा गर्छ। (यूहन्ना ५:२८, २९; प्रकाश २१:१, ४) यहोवाले आफ्नो पुत्र, येशू ख्रीष्टको छुडौतीको बलिदानद्वारा त्यस्तो आशा सम्भव तुल्याइदिनुभएकोमा म उहाँप्रति कृतज्ञ थिएँ।
सुखद ईश्वरतान्त्रिक गतिविधिहरू
डिसेम्बर ३०, १९४९ देखि जनवरी १, १९५० सम्म जापानको पहिलो ईश्वरतान्त्रिक सम्मेलन, कोबे मिसनरी गृहमा सम्पन्न भयो। म मउडसित गएँ। यो ठूलो घर पहिला एक जना नाजीको थियो अनि यहाँबाट इनल्याण्ड सी र अवाजी टापुको सुन्दर दृश्य देख्न सकिन्थ्यो। बाइबलको सीमित ज्ञान भएको हुँदा मैले त्यहाँ भनिएका केही केही कुरा मात्र बुझें। यद्यपि, जापानी मानिसहरूसित मजाले घुलमिल हुने मिसनरीहरू देखेर म प्रभावित भएँ। यो सम्मेलनको जनभाषणको लागि जम्मा १०१ जना उपस्थित भएका थिए।
त्यसको लगत्तै मैले क्षेत्र सेवकाईमा भाग लिने निर्णय गरें। मलाई घर-घर जान साहस चाहिएको थियो किनभने म लज्जालु स्वभावकी थिएँ। एक बिहानको कुरा हो, भाइ लोइड ब्यारी मलाई सेवकाईमा लैजान हाम्रो घरमा आउनुभयो। उहाँले बहिनी कोडाको सँगैको घरबाट सुरु गर्नुभयो। उहाँले आफ्नो प्रस्तुति गर्नुहुँदा म उहाँको पछाडि लुकेर सुनिरहेकी थिएँ भने पनि हुन्छ। दोस्रो चोटि भने मैले अरू दुई जना मिसनरीहरूसित काम गरें। एक जना वृद्ध जापानी महिलाले हामीलाई भित्र बोलाइन्, हाम्रो कुरा सुनिन् अनि पछि एक गिलास दूध दिइन्। तिनी गृह बाइबल
अध्ययन गर्न राजी भइन् र अन्ततः एक जना बप्तिस्माप्राप्त बहिनी भइन्। तिनको प्रगति देख्न पाउनु प्रोत्साहनजनक थियो।अप्रिल १९५१ मा ब्रुक्लिन मुख्यालयबाट भाइ नेथन एच. नोरले जापानको पहिलो भ्रमण गर्नुभयो। उहाँले कान्डा, टोकियोको क्योरिट्सु प्रेक्षालयमा दिनुभएको जनभाषण सुन्न ७०० जना जति उपस्थित भए। यो विशेष सभामा प्रहरीधरहरा-को जापानी संस्करण विमोचन हुँदा उपस्थित सबै रमाए। त्यसपछिको महिना भाइ नोर कोबे आउनुभयो अनि त्यहाँ सम्पन्न विशेष सभामा मैले यहोवालाई समर्पण देखाउँदै बप्तिस्मा लिएँ।
एक वर्षपछि मैले पूर्ण-समय सेवकाई, अग्रगामी सेवामा लाग्ने प्रोत्साहन पाएँ। त्यतिबेला जापानमा थोरै मात्र अग्रगामीहरू थिए अनि आफ्नो जीवन कसरी धान्ने होला भनेर म सोच्न थालें। अनि मेरो विवाह हुने सम्भावना कस्तो होला भनेर पनि सोचें। तर यहोवाको सेवालाई आफ्नो जीवनमा प्राथमिकता दिनुपर्छ भनेर बुझें र १९५२ मा अग्रगामी सेवामा लागें। खुसीको कुरा, बहिनी कोडाकहाँ आंशिक रूपमा काम गर्दै मैले अग्रगामी गर्न सकें।
यति नै खेर, मेरो दाइ जो मैले युद्धमा मरिसक्नुभयो होला भन्ठानेकी थिएँ, उहाँ आफ्नो परिवारसहित ताइवानबाट घर फर्कनुभयो। मेरो परिवारले मसीहीधर्मप्रति कहिल्यै कुनै चासो देखाएको थिएन तर अग्रगामीको जोस राखेर मैले उहाँहरूलाई हाम्रो पत्रिका तथा पुस्तिकाहरू पठाउन थालें। पछि, मेरो दाइ कामको सिलसिलामा आफ्नो परिवारसित कोबे सर्नुभयो। मैले भाउजूलाई सोधें, “तपाईंले ती पत्रिकाहरू पढ्नुभएको छ?” उहाँले यस्तो जवाफ दिनुहुँदा म छक्क परें, “ती पत्रिकाहरू रोचक छन्।” उहाँले एक जना मिसनरीसित बाइबल अध्ययन गर्न थाल्नुभयो र मेरो दाइको परिवारसित बसेकी मेरी कान्छी बहिनी पनि सँगै अध्ययनमा बस्न थालिन्। समयको दौडान दुवै जना बप्तिस्माप्राप्त मसीहीहरू भए।
अन्तरराष्ट्रिय भ्रातृत्वद्वारा प्रभावित
चाँडै, मैले वाचटावर बाइबल स्कूल अफ गिलियडको २२ औं कक्षामा भाग लिने निमन्त्रणा पाउँदा छक्क परें। उक्त स्कूलमा जापानबाट निमन्त्रणा पाउने भाइ सुतोमु फुकासे र म नै पहिलो थियौं। सन् १९५३ मा कक्षा सुरु हुनुअगाडि हामी न्यु योर्कको यांकी स्टेडियममा आयोजित नयाँ विश्व समाज सम्मेलनमा उपस्थित हुन पायौं। यहोवाका जनहरूको अन्तरराष्ट्रिय भ्रातृत्व देखेर म अत्यन्तै प्रभावित भएँ।
अधिवेशनको पाँचौं दिनमा जापानी प्रतिनिधिहरू, जसमध्ये प्रायजसो मिसनरीहरू थिए सबैले किमोनो लगाउने कुरा थियो। मैले पहिल्यै ढुवानी गरिसकेको किमोनो समयसम्म आइनपुगेको हुँदा मैले बहिनी नोरको किमोनो सापटी लिएँ। कार्यक्रमको दौडान पानी पर्न थाल्यो अनि मलाई किमोनो भिज्ला भनेर पीर पऱ्यो। ठ्याक्कै त्यही बेला, कसैले बिस्तारै पछाडिबाट बर्साती ओढाइदियो। मेरो सँगै उभिएकी बहिनीले मलाई सोधिन्, “तपाईंलाई थाह छ, उहाँ को हुनुहुन्छ?” मैले पछि थाह पाएँ, उहाँ परिचालक निकायका सदस्य भाइ फ्रेडरिक डब्ल्यु. फ्रान्ज, हुनुहुँदो रहेछ। मैले यहोवाको संगठनको अत्यन्तै न्यानो प्रेम अनुभूति गरें!
गिलियडको २२ औं कक्षा साँच्चै अन्तरराष्ट्रिय थियो, यहाँ ३७ वटा देशबाट आएका १२० जना विद्यार्थीहरू थिए। केही भाषिक अवरोधहरू भए तापनि हामीले अन्तरराष्ट्रिय भ्रातृत्वबाट पूरै लाभ उठायौं। सन् १९५४ फेब्रुअरी महिनामा हिउँ परेको दिन, म स्नातक भएँ र जापानमै सेवा गर्ने असाइनमेन्ट पाएँ। मेरी सहपाठी स्वीडिश बहिनी इंगर ब्रान्ट हुनुहुन्थ्यो र उहाँलाई नागोया शहरमा मेरो साथी हुन
खटाइयो। त्यहाँ, युद्धको कारण कोरियाबाट उद्धार गरिएका मिसनरीहरूको समूहमा हामी सामेल भयौं। मैले मिसनरी सेवामा बिताएको केही वर्ष अत्यन्तै बहुमूल्य थिए।दम्पतीको रूपमा आनन्दमय सेवा
सेप्टेम्बर १९५७ मा मैले टोकियो बेथेलमा काम गर्ने निम्तो पाएँ। जापान शाखा कार्यालयको रूपमा दुई तले काठको घर थियो। शाखामा शाखा निरीक्षकको रूपमा सेवारत भाइ ब्यारीसमेत गरी जम्मा चार जना मात्र सदस्य हुनुहुन्थ्यो। परिवारका बाँकी सदस्यहरू मिसनरीहरू थिए। मलाई अनुवाद र प्रुफरिडिङ गर्ने कामको अलावा सफाइ, लुगा धुने, पकाउने जस्ता काममा खटाइयो।
जापानको काम विस्तार भइरहेको थियो अनि बेथेलमा अझ बढी भाइहरू बोलाइयो। तिनीहरूमध्ये एक जना मैले संगत गर्ने मण्डलीको अध्यक्ष हुनुभयो। सन् १९६६ मा ती भाइ, जुन्जी कोशिनो र मेरो विवाह भयो। हाम्रो विवाहपश्चात् जुन्जीलाई क्षेत्रीय कार्यमा खटाइयो। हामी विभिन्न मण्डलीहरूमा जाँदा धेरै भाइबहिनीहरूलाई चिन्न पाउनु आनन्दको कुरा थियो। मलाई केही अनुवाद कार्य पनि गर्न दिइएको हुँदा हामी जहाँ एक हप्ता बस्थ्यौं, त्यहीं बसेर अनुवाद गर्थें। यात्राको दौडान हामीले आफ्नो सुटकेस र अन्य झोलाहरूबाहेक गह्रौं शब्दकोशहरू पनि बोक्नुपर्थ्यो।
हामीले चार वर्षसम्म क्षेत्रीय कार्यबाट आनन्द उठायौं अनि संगठनको विस्तार भएको देख्यौं। शाखा नुमाजुमा सऱ्यो अनि केही वर्षपछि एबिनामा जहाँ अहिलेको शाखा सुविधा अवस्थित छ। जुन्जी र मैले बेथेल सेवाको आनन्द उठाइरहेको धेरै वर्ष भइसक्यो र अहिले हामी लगभग ६०० जना सदस्यहरू भएको परिवारमा सेवारत छौं। मे २००२ मा बेथेलका साथीहरूले माया गरेर मैले पूर्ण-समय सेवकाईमा बिताएको ५० वर्षको उत्सव मनाउनुभयो।
वृद्धि देख्न पाउँदा आनन्दित
मैले १९५० तिर यहोवाको सेवा गर्न थाल्दा मुठीभर प्रकाशकहरू मात्र थिए। अहिले २,१०,००० भन्दा बढी राज्य प्रकाशकहरू छन्। साँच्चै, हजारौं भेडाखाले मानिसहरू, यहोवातर्फ मजस्तै खिचिएका छन्।
उबेला १९४९ मा बहिनी कोडाको घरमा हामीलाई भेट्न आएका चार जना मिसनरी भाइ बहिनीहरू र बहिनी मउड सबै मृत्युपर्यन्त विश्वासी भए। मेरो दाइ पनि सेवकाई सेवकको रूपमा सेवा गर्दै विश्वासी भई मर्नुभयो अनि मेरी भाउजूले पनि १५ वर्षसम्म अग्रगामी सेवाबाट आनन्द उठाउनुभयो। मलाई सानैदेखि डर लागेको कुरा अर्थात् मेरो आमाबुबाको मृत्यु भइसकेको हुँदा भावी प्रत्याशा के हुनेछ? बाइबलले प्रतिज्ञा गरेको पुनरुत्थानले मलाई आशा र सान्त्वना दिन्छ।—प्रेरित २४:१५.
विगतलाई फर्केर हेर्दा, १९४१ मा मउडसितको भेटपछि मेरो जीवनले निर्णायक मोड लियो जस्तो लाग्छ। मैले उहाँलाई त्यतिखेर नभेटेकी अनि युद्धपछि उहाँकहाँ फेरि काम गर्ने निम्तो नस्वीकारेकी भए सायद म त्यो दुर्गम गाउँमै बसिरहेकी हुन्थें होला अनि ती सुरुका दिनहरूमा मिसनरीहरूसित कुनै सम्पर्क हुने थिएन। मउड र सुरुका मिसनरीहरूद्वारा सत्यतर्फ मलाई खिच्नुभएकोमा म यहोवाप्रति अत्यन्तै कृतज्ञ छु!
[पृष्ठ २५-मा भएको चित्र]
मउड कोडा र उहाँको श्रीमान्सित। म अगाडि बायाँतिर छु
[पृष्ठ २७-मा भएको चित्र]
जापानका मिसनरीहरूसित १९५३ मा यांकी स्टेडियममा। म बायाँतिर सबैभन्दा छेउमा छु
[पृष्ठ २८-मा भएको चित्र]
बेथेलमा मेरो श्रीमान्, जुन्जीसित