सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

इनाम जित्न, आत्मसंयमी हुनुहोस्‌!

इनाम जित्न, आत्मसंयमी हुनुहोस्‌!

इनाम जित्न, आत्मसंयमी हुनुहोस्‌!

“खेलमा भाग लिने खेलाड़ी सबै थोकमा आत्मसंयमी हुनुपर्छ।”—१ कोरिन्थी ९:२५, नयाँ संशोधित संस्करण।

१. एफिसी ४:२२-२४ अनुरूप लाखौंले कसरी यहोवाको इच्छाअनुसार गर्न सहमति जनाएका छन्‌?

 तपाईंले एक जना यहोवाको साक्षीको हैसियतमा बप्तिस्मा लिनुभएको थियो भने तपाईंले इनामको रूपमा अनन्त जीवनको दौडमा भाग लिन इच्छुक हुनुहुन्छ भनेर जनसमक्ष व्यक्‍त गर्नुभयो। तपाईंले यहोवाको इच्छाअनुसार गर्न सहमति जनाउनुभयो। यहोवालाई समर्पण गर्नुअघि हामीमध्ये थुप्रैले आफ्नो समर्पण अर्थपूर्ण र परमेश्‍वरलाई ग्रहणयोग्य बनाउनको लागि उल्लेखनीय परिवर्तनहरू गर्नुपऱ्‍यो। प्रेरित पावलले मसीहीहरूलाई दिएको यो सल्लाह हामीले पालन गऱ्‍यौं: “तिमीहरूले अघिअघिको आचरणअनुसारको पुरानो मानिसलाई जो छलको लालसाअनुसार भ्रष्ट भएर जानेहुन्छ, त्याग, . . . र नयाँ मानिसलाई धारण गर, जो परमेश्‍वरअनुसार धार्मिकता र सत्यको पवित्रतामा सृष्टि भएको छ।” (एफिसी ४:२२-२४) अर्को शब्दमा भन्‍ने हो भने, यहोवालाई समर्पण गर्नुअघि हामीले पहिलाको जीवनका अस्वीकार्य कुराहरूलाई तिरस्कार गर्नुपऱ्‍यो।

२, ३. पहिलो कोरिन्थी ६:९-१२ ले परमेश्‍वरको अनुग्रह प्राप्त गर्न कस्ता दुई प्रकारका परिवर्तनहरू गर्नुपर्छ भनी संकेत गर्छ?

यहोवाका सम्भाव्य साक्षीहरूले त्याग्नुपर्ने पुरानो व्यक्‍तित्वका केही पक्षहरू परमेश्‍वरको वचनले सीधै निन्दा गरेका कुराहरू हुन्‌। पावलले तीमध्ये केहीको सूची बनाउँदै कोरिन्थीहरूलाई लेखेको पत्रमा यस्तो लेखे: “व्यभिचारीहरू, मूर्त्तिपूजकहरू, जारी गर्नेहरू, लुच्चाहरू, पुरुषगामीहरू, चोरहरू, लोभीहरू, मतवालाहरू, गाली गर्नेहरू, लुटाहाहरू परमेश्‍वरको राज्यको हकदार हुनेछैन।” त्यसपछि तिनले प्रथम शताब्दीका मसीहीहरूले व्यक्‍तित्वमा आवश्‍यक परिवर्तनहरू गरेको कुरा बताउँदै यसो भने: “तिमीहरूमा कोही कोही यस्तै थिए।” याद गर्नुहोस्‌, थिए भनिएको छ, छौ होइन।—१ कोरिन्थी ६:९-११.

पावलले थप परिवर्तनहरू गर्नु आवश्‍यक पर्न सक्छ भनी संकेत गरे किनभने तिनले यसो भने: “सबै कुरा मेरो निम्ति न्यायसंगत छन्‌, तर सबै कुरा फायदाका छैनन्‌।” (१ कोरिन्थी ६:१२) त्यसकारण आज यहोवाको साक्षी हुन चाहने थुप्रैले केही कुराहरू न्यायसंगत भए तापनि कुनै फाइदाको वा चिरकालीन मोल नभएकोले इन्कार गर्नुपर्ने आवश्‍यकता बुझेका छन्‌। यी कुराहरू समय खाने र अझ महत्त्वपूर्ण कुराहरूबाट अलमल्याउने हुन सक्छन्‌।

४. कुन कुरामा समर्पित मसीहीहरू पावलसित सहमत छन्‌?

परमेश्‍वरप्रति समर्पण, ठूलो त्याग गर्नुपरे जस्तै गरी मन नलागी नलागी होइन तर स्वेच्छाले गरिन्छ। समर्पित मसीहीहरू पावलसँग सहमत छन्‌ जसले ख्रीष्टको अनुयायी भएपछि यसो भने: “[येशूको] निम्ति मैले सबै कुरा गुमाएँ, र ख्रीष्टलाई प्राप्त गरूँ भनेर तिनलाई रद्‌दी सम्झन्छु।” (फिलिप्पी ३:८) पावलले परमेश्‍वरको इच्छाअनुसार चलिरहन कम महत्त्वका कुराहरू सबैलाई खुसीसाथ इन्कार गरे।

५. पावलले कस्तो प्रकारको दौडमा सफलतापूर्वक भाग लिए र हामी पनि कसरी त्यसै गर्न सक्छौं?

पावलले यस आध्यात्मिक दौडमा आत्मसंयम देखाए र अन्ततः यसो भन्‍न सके: “मैले उत्तम लड़न्त लड़ेको छु, मैले दौड सिध्याएको छु, विश्‍वासलाई बचाइराखेको छु। अब उप्रान्त मेरो निम्ति धार्मिकताको मुकुट राखिएको छ, जो धार्मिक न्यायधीश प्रभुले त्यस दिन मलाई र मलाई मात्र होइन तर उहाँको आगमन प्रिय मान्‍नेहरूलाई समेत दिनुहुनेछ।” (२ तिमोथी ४:७, ८) के हामी पनि कुनै दिन त्यस्तै भन्‍न सक्नेछौं? हामीले ढिला-सुस्ती नगरी अन्तसम्मै मसीही दौड दौड्‌दै विश्‍वासमा आत्मसंयम देखायौं भने त्यसो भन्‍न सक्नेछौं।

असल गर्न आत्मसंयम

६. आत्मसंयम भनेको के हो र हामीले यो देखाउनुपर्ने दुइटा क्षेत्र कुन-कुन हुन्‌?

“आत्मसंयम” भनी बाइबलमा अनुवाद गरिएको हिब्रू र युनानी शब्दको अक्षरशः अर्थ, आफूमाथि पूर्ण शक्‍ति वा नियन्त्रण छ भन्‍ने बुझाउँछ। यसले अक्सर आफूलाई खराब कुरा गर्नबाट रोक्नु भन्‍ने अर्थ बुझाउँछ। तर हामीले आफ्नो शरीर असल काम गर्न चलाउने हो भने केही हदसम्म आत्मसंयमको खाँचो पर्छ भनी स्पष्ट छ। मानिसहरूको स्वाभाविक झुकाव खराब गर्ने भएकोले हामीले दुई प्रकारको संघर्ष गर्नुपर्छ। (उपदेशक ७:२९; ८:११) एकातिर, आफूलाई खराब काम गर्नदेखि रोक्नुपर्छ भने अर्कोतिर असल काम गर्न आफूलाई जोड दिनुपर्छ। वास्तवमा भन्‍ने हो भने, असल काम गर्न हाम्रो शरीरलाई नियन्त्रणमा राख्नु भनेको खराब काम गर्नबाट रोक्ने एउटा सर्वोत्तम तरिका हो।

७. (क) दाऊदले जस्तै हामीले केको लागि प्रार्थना गर्नुपर्छ? (ख) कुन कुरामा मनन गर्दा हामीले अझ बढी आत्मसंयम देखाउन सक्नेछौं?

स्पष्टतः परमेश्‍वरप्रतिको हाम्रो समर्पणलाई पूरा गर्ने हो भने आत्मसंयम अत्यावश्‍यक छ। हामीले दाऊदले जस्तै प्रार्थना गर्नुपर्छ: “हे परमेश्‍वर, ममा शुद्ध हृदय सृजनुहोस्‌। र मभित्र स्थिर आत्मा पुनर्जीवित पार्नुहोस्‌।” (भजन ५१:१०) हामीले नैतिक तवरमा गलत वा शारीरिक तवरमा हानि पुऱ्‍याउने कुराहरूबाट अलग रहँदा हुने फाइदाबारे मनन गर्न सक्छौं। त्यस्ता कुराहरूबाट अलग नरहँदा हुने सम्भाव्य हानिलाई विचार गर्नुहोस्‌: गम्भीर स्वास्थ्य समस्या, बिग्रिएका सम्बन्धहरू, अकाल मृत्युसमेत हुन सक्छ। अर्कोतर्फ, परमेश्‍वरले तोक्नुभएको जीवन शैलीलाई पक्रिराख्दा हुने थुप्रै लाभहरूलाई विचार गर्नुहोस्‌। तथापि, व्यावहारिक भई हामीले हाम्रो हृदय छली छ भनेर पनि बिर्सनुहुँदैन। (यर्मिया १७:९) यहोवाका स्तरहरू पक्रिराख्नुपर्ने गम्भीरतालाई हल्का बनाउने हाम्रो हृदयको प्रयासको प्रतिरोध गर्न हामी दृढ हुनै पर्छ।

८. अनुभवले हामीलाई कस्तो वास्तविकता सिकाउँछ? व्याख्या गर्नुहोस्‌।

हामीमध्ये धेरैजसोलाई अनुभवबाट थाह छ कि अनिच्छुक शरीरले अक्सर इच्छुक मनोभावको आगोलाई निभाउने प्रयास गर्छ। उदाहरणका लागि, राज्य प्रचारकार्यलाई लिनुहोस्‌। यो जीवनदायी काममा भाग लिने मानिसहरूको इच्छुकता देखेर परमेश्‍वर आनन्दित हुनुहुन्छ। (भजन ११०:३; मत्ती २४:१४) हामीमध्ये प्रायजसोलाई सार्वजनिक रूपमा प्रचार गर्न सजिलो भएन। सजिलो मार्ग अपनाउने इच्छाअनुसार चल्नुको सट्टा हाम्रो शरीरलाई नियन्त्रणमा राख्न हामीले यसलाई ‘कुट्‌नु,’ र ‘वशमा ल्याउनु’ आवश्‍यक पर्थ्यो र सायद अझै पर्छ होला।—१ कोरिन्थी ९:१६, २७; १ थिस्सलोनिकी २:२.

“सबै थोकमा”

९, १०. “सबै थोकमा आत्मसंयमी” हुनुमा के समावेश छ?

“सबै थोकमा आत्मसंयमी” हुनु भन्‍ने बाइबलको सल्लाहले हाम्रो रिसलाई नियन्त्रणमा राख्ने र अनैतिक आचरणबाट अलग बस्नुभन्दा बढी कुरा बिथोलित छ भनी संकेत गर्छ। हामीलाई आफूले यी क्षेत्रहरूमा आत्मसंयम हासिल गरेका छौं जस्तो लाग्न सक्छ अनि यदि हो भने, साँच्चै कृतज्ञ हुन सक्छौं। यद्यपि, आत्मसंयमको आवश्‍यकता त्यति स्पष्ट नदेखिने जीवनका अन्य क्षेत्रहरूमा नि? उदाहरणका लागि, मानिलिनुहोस्‌, हामी उच्च जीवनस्तर भएको तुलनात्मक हिसाबमा धनी राष्ट्रमा बसोबास गर्छौं। अनावश्‍यक खर्चहरू गर्नदेखि होसियार हुनु के बुद्धिमानी कुरा होइन र? आमाबाबुले आफ्ना छोराछोरीलाई उपलब्ध छ, आकर्षक छ वा किन्‍ने औकात छ भन्दैमा आँखाले देखेजति सबै कुरा नकिन्‍न सिकाउनु बेस हुन्छ। निस्सन्देह, त्यस्तो सल्लाह प्रभावकारी हुन आमाबाबु आफैले उचित उदाहरण बसाल्नुपर्छ।—लूका १०:३८-४२.

१० कुनै कुराविना काम चलाउन सिक्दा, यसले हाम्रो आत्मबल बलियो बनाउन सक्छ। यसले आफूसँग भएका भौतिक कुराहरूप्रतिको मूल्यांकन बढाउन र चाहेर होइन तर बाध्यताले गर्दा केही कुराहरूविना नै काम चलाइरहेका कतिपय मानिसहरूप्रति अझ सहानुभूतिशील बनाउन सक्छ। हो, सरल जीवन शैली “आफूप्रति कठोर नहुनुहोस्‌” वा “तपाईं सर्वोत्तम कुरा पाउन योग्यको हुनुहुन्छ” भन्‍नेजस्ता लोकप्रिय मनोवृत्ति विपरीत हुन्छ। विज्ञापनजगत्‌ले आफ्नो इच्छा तुरुन्तै पूरा गरिहाल्न प्रोत्साहन दिन्छ तर यसले आफ्नै आर्थिक लाभको लागि गरिरहेको हुन्छ। यस्तो परिस्थितिले आत्मसंयम प्रकट गर्ने हाम्रो प्रयासमा बाधा पुऱ्‍याउन सक्छ। एउटा सवृंद्ध युरोपेली राष्ट्रको एउटा पत्रिकामा हालै यस्तो टिप्पणी गरियो: “अचाक्ली गरिबीको कारण कष्टदायी अवस्थामा बसिरहेकाहरूलाई त नचाहिंदो इच्छाहरू नियन्त्रणमा राख्न आन्तरिक संघर्ष गर्नुपर्छ भने दूध र मह बग्ने आजको सवृंद्ध समाजमा बस्नेहरूले झन्‌ कत्ति बढी संघर्ष गर्नुपर्ला!”

११. कुनै कुराहरूविना काम चलाउन सिक्नु किन लाभदायी हो तर कुन कुराले गाह्रो बनाउँछ?

११ हाम्रो चाहना र साँचो आवश्‍यकताबीच भिन्‍नता छुट्‌याउन हामीलाई गाह्रो भइरहेको छ भने गैरजिम्मेवारीपूर्ण व्यवहार नगर्ने कदमहरू चाल्नु मदतकारी हुन सक्छ। उदाहरणका लागि, हामी बेफ्वाँकमा खर्च गर्ने आफ्नो झुकावलाई नियन्त्रणमा राख्न चाहन्छौं भने उधारोमा सामान नकिन्‍ने वा बजार जाँदा सीमित पैसा मात्र लैजाने अठोट हामीले गर्न सक्छौं। याद गर्नुहोस्‌ पावलले “सन्तुष्टता सहितको भक्‍तिनै ठूलो लाभ हो” भनी बताए। तिनले यस्तो तर्क गरे: “हामीले नता यस दुनियाँमा केही ल्यायौं, न केही बोकी लैजानसक्छौं, तर खान र लाउन भएपछि हामी त्यसमा सन्तुष्ट हुनेछौं।” (१ तिमोथी ६:६-८) के हामी सन्तुष्ट छौं? आत्मविलासी जीवन, चाहे जुनसुकै रूपमा होस्‌, त्यसको अनावश्‍यक बोझबाट स्वतन्त्र भएर सरल जीवन बिताउन सिक्न आत्मबल र आत्मसंयमको खाँचो पर्छ। तर यो सिक्न योग्यको पाठ हो।

१२, १३. (क) कस्ता तरिकाहरूमा मसीही सभाहरूमा आत्मसंयम मुछिएको छ? (ख) हामीले आत्मसंयम खेती गर्नुपर्ने अन्य केही क्षेत्रहरू के हुन्‌?

१२ मसीही सभा, सम्मेलन तथा अधिवेशनहरूमा उपस्थित हुँदा पनि खास तरिकामा आत्मसंयम प्रकट गर्नुपर्ने हुन्छ। उदाहरणका लागि, सभाको दौडान हाम्रो मन डुल्न नदिन यो गुण आवश्‍यक छ। (हितोपदेश १:५) आफूसँगै बसेको साथीलाई कानेखुसी गरेर अरूलाई खलल पार्नुको सट्टा वक्‍तालाई हाम्रो पूरा ध्यान दिन आत्मसंयमको खाँचो पर्न सक्छ। समयमा पुग्नको लागि आफ्नो तालिकामा छाँटकाँट गर्न पनि आत्मसंयमको खाँचो पर्न सक्छ। यसबाहेक, सभाहरूको लागि तयारी गर्न समय छुट्याउन र त्यसमा भाग लिन आत्मसंयम चाहिन सक्छ।

१३ स-साना कुराहरूमा आत्मसंयमी हुँदा ठूला विषयहरूमा त्यसो गर्न अझ सक्षम हुन्छौं। (लूका १६:१०) त्यसकारण आफूलाई परमेश्‍वरको वचन तथा बाइबल साहित्यहरू नियमित तवरमा पढ्‌न, अध्ययन गर्न र सिकेका कुराहरूमाथि मनन गर्न अनुशासनमा राख्नु कत्ति असल हो! अनुचित जागिर, मित्रता, मनोवृत्ति र व्यक्‍तिगत बानीहरूको सन्दर्भमा आफूलाई अनुशासनमा राख्नु वा परमेश्‍वरको सेवामा बिताउन सक्ने अमूल्य समयबाट वञ्चित गराउने गतिविधिहरूमा भाग लिन इन्कार गर्न आफूलाई अनुशासनमा राख्नु कत्ति बुद्धिमानी हो! यहोवाको सेवामा व्यस्त रहनु पक्कै पनि हामीलाई यहोवाको विश्‍वव्यापी आध्यात्मिक प्रमोदवनबाट अलग गर्न सक्ने कुराहरू विरुद्ध राम्रो सुरक्षा हो।

आत्मसंयमद्वारा परिपक्व बन्‍नुहोस्‌

१४. (क) केटाकेटीले आत्मसंयमी हुन कसरी सिक्नुपर्छ? (ख) सानै छँदा त्यस्ता पाठ सिकेको खण्डमा केटाकेटीलाई कस्तो फाइदा हुन सक्छ?

१४ नवजात शिशु आत्मसंयमको लागि चिनिंदैन। बच्चाहरूको आनीबानीबारे विशेषज्ञहरूद्वारा तयार पारिएको एउटा पर्चामा यसो भनिएको छ: “आत्मसंयम स्वतः वा अकस्मात्‌ आउँदैन। नवजात शिशु र लर्खराउँदै हिंड्‌ने बच्चाहरूले आत्मसंयम देखाउन सिक्न आमाबाबुको डोऱ्‍याइ र समर्थन चाहिन्छ। . . . आमाबाबुको डोऱ्‍याइमा स्कूले वर्षहरूको दौडान आत्मसंयमको गुण बढ्‌दै जान्छ।” चार वर्षका केटाकेटीमा गरेको अध्ययनले देखाएअनुसार केही हदसम्म आत्मसंयमी हुन सिकेकाहरू “अक्सर किशोरावस्थामा पुग्दा सुशील, बढी लोकप्रिय, आँटिलो, विश्‍वस्त र भरपर्दो भएको पाइयो।” यो पाठ नसिकेकाहरू चाहिं “एक्लो, सजिलै दिक्क मान्‍ने र जिद्दीवाल हुने सम्भावना बढी भएको पाइयो। तिनीहरू तनावको सिकार भए र चुनौतीहरू आइपर्दा पन्छिन खोजे।” निश्‍चय पनि सुशील वयस्क बन्‍न बच्चाले आत्मसंयमी हुन सिक्नुपर्छ।

१५. आत्मसंयमको कमीले के संकेत गर्छ र यो बाइबलमा औंल्याइएको कस्तो लक्ष्य विपरीत छ?

१५ त्यस्तै गरी हामी परिपक्व मसीही हुन चाहन्छौं भने हामीले आत्मसंयम प्रकट गर्न सिक्नुपर्छ। यसको कमीले हामी आध्यात्मिक तवरमा अझै बच्चै छौं भन्‍ने संकेत गर्छ। बाइबलले हामीलाई “सोच-विचारमा परिपक्व बन” भनी सल्लाह दिन्छ। (१ कोरिन्थी १४:२०, नयाँ संशोधित संस्करण) हाम्रो लक्ष्य ‘विश्‍वासको र परमेश्‍वरका पुत्रको ज्ञानको एकता प्राप्त गर्दै, अर्थात्‌ ख्रीष्टको पूर्णताको कदको नापसम्मको पूरा पाको मानिस हुने’ हो। किन? किनकि “हामी भ्रमको धूर्त कारवाईहरूअनुसार छलमा मानिसहरूको धूर्तताले सिद्धान्तको प्रत्येक बतासबाट ओल्ट्याङ-पल्ट्याङ पारिएर यताउता हुर्रिने बालकहरू अब नहोऔं।” (एफिसी ४:१३, १४) स्पष्टतः आत्मसंयमी हुन सिक्नु हाम्रो आध्यात्मिकताको लागि अत्यावश्‍यक छ।

आत्मसंयम खेती गर्ने

१६. यहोवाले कसरी मदत उपलब्ध गराउनुभएको छ?

१६ आत्मसंयम खेती गर्न हामीलाई ईश्‍वरीय मदत चाहिन्छ र यो उपलब्ध छ। परमेश्‍वरको वचन जुन सिद्ध ऐनाजस्तो छ, यसले हामीलाई व्यक्‍तिगत तवरमा कहाँ परिवर्तन गर्नुपर्छ भनी देखाउँछ र कसरी गर्ने भनी सल्लाह दिन्छ। (याकूब १:२२-२५) मायालु भ्रातृत्व पनि मदत दिन तयार छ। मसीही प्राचीनहरूले व्यक्‍तिगत सहयोग दिंदा समझदारी देखाउँछन्‌। हामीले प्रार्थनामा माग्यौं भने यहोवा स्वयम्‌ले स्वेच्छाले पवित्र आत्मा दिनुहुन्छ। (लूका ११:१३; रोमी ८:२६) त्यसकारण, खुसीसाथ यी प्रबन्धहरू प्रयोग गरौं। पृष्ठ २१ मा दिइएको सल्लाह मदतकारी साबित हुन सक्छ।

१७. हितोपदेश २४:१६ मा हामीलाई कस्तो प्रोत्साहन दिइएको छ?

१७ उहाँलाई प्रसन्‍न तुल्याउने हाम्रो प्रयासलाई यहोवा मूल्यवान्‌ ठान्‍नुहुन्छ भनी थाह पाउनु कत्ति सान्त्वनादायी छ! यसले हामीलाई अझ बढी आत्मसंयमी हुन उत्प्रेरित गर्नुपर्छ। हामी जत्ति नै चोटि चुके तापनि आफ्नो प्रयासमा हामीले कहिल्यै हरेस खानु हुँदैन। “धर्मी मानिस सातपल्ट लोट्यो भने पनि फेरि उठ्‌छ।” (हितोपदेश २४:१६) हामी हरेक चोटि सफल हुँदा आफूसँग खुसी हुने कारण पाउँछौं। यहोवा हामीसित प्रसन्‍न हुनुहुन्छ भन्‍ने कुरामा पनि हामी पक्का हुन सक्छौं। यहोवालाई आफ्नो जीवन समर्पण गर्नुअघि तिनी हरेक चोटि एक हप्तासम्म चुरोट नखाई बस्न सक्दा आत्मसंयमको कारण बचेको पैसाले आफूलाई केही न केही कुरा किनेर इनाम दिने गर्थें भनी एक जना साक्षीले बताए।

१८. (क) आत्मसंयम खेती गर्ने हाम्रो युद्धमा के समावेश छ? (ख) यहोवाले कस्तो आश्‍वासन दिनुहुन्छ?

१८ सबैभन्दा महत्त्वपूर्ण, आत्मसंयममा मन अनि भावनाहरू समावेश छन्‌ भनेर हामीले सम्झनुपर्छ। हामीले येशूका शब्दहरूबाट यो कुरा बुझ्न सक्छौं: “जसले कोही स्त्रीलाई खराब इच्छाले हेर्दछ, त्यसले अघिबाटै त्यसको हृदयमा व्यभिचार गरिसकेको हुन्छ।” (मत्ती ५:२८; याकूब १:१४, १५) जसले आफ्नो मन अनि भावनाहरू नियन्त्रणमा राख्न सिकेको छ, तिनलाई आफ्नो पूरा शरीर नियन्त्रणमा राख्न सजिलो हुनेछ। त्यसकारण हामी खराब कुराबाट अलग रहने मात्र होइन तर यसबारे सोच्दा पनि नसोच्ने हाम्रो कटिबद्धतालाई बलियो बनाऔं। खराब विचारहरू आइहाल्यो भने पनि तिनीहरूलाई तुरुन्तै तिरस्कार गर्नुहोस्‌। प्रार्थनापूर्वक येशूमा आफ्नो ध्यान केन्द्रित गरेर हामी प्रलोभनहरूदेखि भाग्न सक्छौं। (१ तिमोथी ६:११; २ तिमोथी २:२२; हिब्रू ४:१५, १६) हामीले आफ्नोतर्फबाट यथाशक्य गर्ने प्रयास गर्दा भजन ५५:२२ को सल्लाह पालन गरिरहेका हुनेछौं: “तेरो भारी परमप्रभुमा राख्‌, र उहाँले तँलाई सह्‍माल्नुहुनेछ, र उहाँले धर्मात्मालाई कहिल्यै डग्नदिनुहुनेछैन।”

के तपाईं सम्झनुहुन्छ

• हामीले कुन दुई तरिकामा आत्मसंयम देखाउनुपर्छ?

• “सबै थोकमा आत्मसंयमी” हुनुको अर्थ के हो?

• हाम्रो अध्ययनको दौडान तपाईंले आत्मसंयम खेती गर्ने कुन व्यावहारिक सल्लाहलाई विशेष गरी याद गर्नुभयो?

• आत्मसंयमको सुरुवात कहाँ हुन्छ?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ २१-मा भएको पेटी/चित्रहरू]

आत्मसंयमलाई कसरी बलियो बनाउने

• स-साना कुरामा पनि यसको खेती गर्नुहोस्‌

• यसका वर्तमान र भावी फाइदाहरूमा मनन गर्नुहोस्‌

• परमेश्‍वरले निषेध गर्ने कुराहरूको सट्टामा उहाँले प्रोत्साहन दिने कुराहरू राख्नुहोस्‌

• अनुचित विचारहरूलाई तुरुन्तै तिरस्कार गर्नुहोस्‌

• आध्यात्मिक तवरमा उत्थानदायी कुराहरूले आफ्नो मन भर्नुहोस्‌

• परिपक्व सँगी मसीहीहरूले दिन सक्ने मदत स्वीकार्नुहोस्‌

• प्रलोभनमा पार्ने अवस्थाहरूदेखि अलग रहनुहोस्‌

• प्रलोभनको समयमा परमेश्‍वरको मदतको लागि प्रार्थना गर्नुहोस्‌

[पृष्ठ १८, १९-मा भएका चित्रहरू]

आत्मसंयमले हामीलाई असल काम गर्न उत्प्रेरित गर्छ