सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तपाईंको ज्ञानमा आत्मसंयम थप्नुहोस्‌

तपाईंको ज्ञानमा आत्मसंयम थप्नुहोस्‌

तपाईंको ज्ञानमा आत्मसंयम थप्नुहोस्‌

“तिमीहरूको . . . ज्ञानमा आत्मसंयम . . . थप।”—२ पत्रुस १:५-८, नयाँ संशोधित संस्करण।

१. थुप्रै मानव समस्याहरू के भन्‍न नसक्नुको नतिजा हो?

 लागूपदार्थको दुर्व्यसन विरुद्ध चलाइएको व्यापक अभियानको दौडान संयुक्‍त राज्य अमेरिकाका जवानहरूलाई यस्तो आह्वान गरियो: “हर हालतमा नाइँ भनौं।” सबैले लागूपदार्थ मात्र होइन तर अत्यधिक मदिरापान, लापरवाह वा अनैतिक जीवन शैली, बेइमान व्यापारिक प्रचलनहरू तथा “शरीरको अभिलाषा[लाई]” इन्कार गर्न सकेको भए कत्ति बेस हुने थियो! (रोमी १३:१४) यद्यपि, नाइँ भन्‍न सजिलो छ भनेर कसले भन्‍न सक्छ र?

२. (क) नाइँ भन्‍न गाह्रो हुनु कुनै नयाँ कुरा होइन भनी कस्ता बाइबल उदाहरणहरूले देखाउँछन्‌? (ख) यी उदाहरणहरूले हामीलाई के गर्न प्रोत्साहित गर्नुपर्छ?

सबै असिद्ध मानिसहरूलाई आत्मसंयमी हुन गाह्रो हुने भएकोले हामी आफूले संघर्ष गरिरहेको कुनै नराम्रो बानीमाथि कसरी विजयी हुन सकिन्छ भनी सिक्न इच्छुक हुनुपर्छ। विगतमा परमेश्‍वरको सेवा गर्ने प्रयास गरेका तर कहिलेकाहीं नाइँ भन्‍न गाह्रो भएका व्यक्‍तिहरूबारे बाइबलले हामीलाई बताउँछ। दाऊद र तिनले बेतशेबासँग गरेको व्यभिचार अर्थात्‌ पापलाई सम्झनुहोस्‌। यसरी व्यभिचारको परिणामस्वरूप जन्मेको बच्चा अनि बेतशेबाको पतिको मृत्यु भयो र तिनीहरू दुवै निर्दोष थिए। (२ शमूएल ११:१-२७; १२:१५-१८) अथवा प्रेरित पावललाई सम्झनुहोस्‌ जसले खुल्लमखुल्ला यस्तो स्वीकारे: “किनभने असल काम जो म गर्नचाहन्छु, त्यो म गर्दिनँ, तर खराब काम जो म गर्नचाहन्‍न, त्यही म गर्नेगर्छु।” (रोमी ७:१९) के तपाईं कहिलेकाहीं त्यस्तै निराश महसुस गर्नुहुन्छ? पावलले अझ यसो भने: “म मेरो अन्तस्करणले परमेश्‍वरको व्यवस्थामा आनन्दित हुन्छु, तर मेरो बुद्धिको व्यवस्थाको विरुद्धमा लडाइँ गर्ने, र मेरा इन्द्रियहरूमा रहेको पापको अधीनमा भएको व्यवस्थाको बन्धनमा मलाई ल्याउने, मेरा इन्द्रियहरूमा भिन्‍नै व्यवस्था म देख्तछु। हाय, म कस्तो दुःखी मानिस! यस मृत्युको शरीरबाट मलाई कसले बचाउला?” (रोमी ७:२२-२४) अझ बढी आत्मसंयमी हुने हाम्रो संघर्षमा कहिल्यै हरेस नखाने हाम्रो कटिबद्धतालाई बाइबलीय उदाहरणहरूले अझ बलियो बनाउनुपर्छ।

आत्मसंयम, सिक्नुपर्ने पाठ

३. आत्मसंयम प्रदर्शन गर्न सजिलो हुन्छ भनेर हामी किन आशा गर्न सक्दैनौं, वर्णन गर्नुहोस्‌।

आत्मसंयम जसमा नाइँ भन्‍न सक्ने क्षमता पनि समावेश छ, यो २ पत्रुस १:५-७ मा (नयाँ संशोधित संस्करण) विश्‍वास, सद्‌गुण, ज्ञान, धैर्य, ईश्‍वरीय भक्‍ति, भ्रातृ-स्नेह र प्रेमसँगै उल्लेख गरिएको छ। जन्मँदै यस्ता मनमोहक गुणहरू आउने होइनन्‌। यसको खेती गर्नुपर्छ। यी गुणहरू उल्लेखनीय ढंगमा प्रदर्शन गर्न कटिबद्धता र प्रयासको खाँचो पर्छ। त्यसकारण के हामीले आत्मसंयम खेती गर्न सजिलो हुन्छ भन्‍ने आशा गर्न मिल्छ र?

४. किन थुप्रैलाई आत्मसंयमको सन्दर्भमा आफूलाई केही अप्ठ्यारो नभएजस्तो लाग्न सक्छ तर यो कुन कुराको संकेत हो?

हो, लाखौं मानिसहरूले आत्मसंयमको सन्दर्भमा आफूलाई केही अप्ठ्यारो नभएको महसुस गर्लान्‌। तिनीहरू आफ्नो जीवन आफूलाई जस्तो मन लाग्यो त्यसरी नै बिताउँछन्‌ र जानाजानी होस्‌ वा अनजानमा तिनीहरू आफ्नो असिद्ध शरीरको इच्छाअनुसार चल्छन्‌ र यसबाट—आफूलाई वा अरूलाई हुने नतिजामा त्यति वास्तै गर्दैनन्‌। (यहूदा १०) नाइँ भन्‍न नसक्ने असक्षमता र अनिच्छुकता अहिलेजस्तो पहिला कहिल्यै स्पष्ट भएको थिएन। यो हामी साँच्चै “आखिरी दिनमा” बाँचिरहेका छौं भन्‍ने कुराको संकेत हो जसबारे पावलले यस्तो भविष्यवाणी गरे: “डरलाग्दो समय आउनेछ। किनभने मानिसहरू स्वार्थी, धनका लोभी, अहंकारी, हठी, निन्दक, . . . असंयमी” हुनेछन्‌।—२ तिमोथी ३:१-३.

५. यहोवाका साक्षीहरू किन आत्मसंयमको विषयमा चासो राख्छन्‌ र कुन सल्लाह अझै मनासिब छ?

यहोवाका साक्षीहरूलाई आत्मसंयमी हुनुपर्ने आवश्‍यकताले खडा गर्ने चुनौतीहरूबारे राम्ररी थाह छ। पावलजस्तै तिनीहरू परमेश्‍वरको स्तरअनुसार जीवन बिताएर उहाँलाई खुसी तुल्याउने र आफ्नो असिद्ध शरीरले लिन लगाउन सक्ने मार्गबीचको संघर्षबारे सजग छन्‌। यसैकारण तिनीहरू यस संघर्षमाथि कसरी विजय हासिल गर्ने भनी जान्‍न सधैं इच्छुक रहँदै आएका छन्‌। सन्‌ १९१६ मा तपाईंले अहिले पढिरहनुभएको यस पत्रिकाको पुरानो अंकमा “आफू, आफ्नो विचार, आफ्नो बोली र आचरणलाई संयममा राख्न अपनाउनुपर्ने उचित मार्गबारे” बताइएको थियो। यसमा फिलिप्पी ४:८ मनमा राख्ने सुझाव दिइएको थियो। त्यस शास्त्रपदमा दिइएको ईश्‍वरीय सल्लाह झन्डै २,००० वर्षअघि दिइएको भए तापनि अझै मनासिब छ र सायद यो पालन गर्न त्यतिबेला वा १९१६ मा भन्दा अहिले अझ गाह्रो छ। तैपनि मसीहीहरू सांसारिक इच्छाहरूलाई तिरस्कार गर्न यथासक्य प्रयास गर्छन्‌ किनभने यसो गर्दा तिनीहरूले आफ्नो सृष्टिकर्ताको इच्छा अनुरूप गरिरहेका हुनेछन्‌ भनी तिनीहरू सचेत छन्‌।

६. आत्मसंयम खेती गर्दै जाँदा हामीले हरेस खानुपर्ने किन कुनै कारण छैन?

आत्मसंयम वा संयम गलाती ५:२२, २३ मा “[पवित्र] आत्माको फल[को]” एउटा भागको रूपमा उल्लेख गरिएको छ। हामीले यो गुण सँगसँगै “प्रेम, आनन्द, शान्ति, धीरज, दया, भलाइ, विश्‍वस्तता [र] नम्रता” प्रकट गऱ्‍यौं भने धेरै लाभ उठाउनेछौं। यसो गर्दा हामी पत्रुसले भनेझैं परमेश्‍वरको सेवामा “बेकम्मा र निष्फल” हुनदेखि जोगिने छौं। (२ पत्रुस १:८) तर हामीले यी गुणहरू आफूले चाहेजस्तो चाँडो र पूर्ण रूपमा प्रदर्शित गर्न सकेनौं भने हामीले हरेस खानु वा आफूलाई दोषी ठहऱ्‍याउनु हुँदैन। तपाईंले सायद याद गर्नुभएको होला, स्कूलमा कुनै विद्यार्थीले चाँडो सिक्छ भने कुनैले ढिलो। अथवा काममा एक जना व्यक्‍तिले नयाँ काम अन्य सहकर्मीहरूले भन्दा चाँडै सिक्छन्‌। त्यस्तै गरी, कोही-कोहीले अरूले भन्दा चाँडो मसीही गुणहरू सिक्छन्‌ र प्रकट गर्छन्‌। हामीले यथासम्भव उत्तम तरिकामा ईश्‍वरीय गुणहरू खेती गरिरहनु चाहिं महत्त्वपूर्ण कुरा हो। हामी यहोवाले आफ्नो वचन र मण्डलीमार्फत प्रबन्ध गर्नुहुने मदतको पूर्ण लाभ उठाएर यसो गर्न सक्छौं। हामीले यो लक्ष्य प्राप्त गर्ने गतिभन्दा प्रगति गरिरहने कटिबद्धता महत्त्वपूर्ण छ।

७. आत्मसंयम महत्त्वपूर्ण छ भनेर कुन कुराले प्रदर्शित गर्छ?

आत्माका फलहरूमध्ये आत्मसंयम अन्तमा उल्लेख गरिए तापनि यो अरू गुणभन्दा कम महत्त्वपूर्ण भने पक्कै होइन। वास्तवमा ठीक विपरीत हो। हामीले कुन कुरा विचार गर्नुपर्छ भने, हामीसित पूर्णतया आत्मसंयम भएको खण्डमा सबै “शरीरका कामहरू[देखि]” हामी अलग हुन सक्थ्यौं। यद्यपि, असिद्ध मानिसहरूमा कुनै न कुनै रूपमा “शरीरका कामहरू . . . व्यभिचार, अपवित्रता, लुच्च्याइँ, मूर्ति-पूजा, मन्त्र-तन्त्र, दुश्‍मनी, झैंझगड़ा, ईर्ष्या, क्रोध, विरोध, फूट, कुमार्ग[को]” वशमा पर्ने झुकाव हुन सक्छ। (गलाती ५:१९, २०) त्यसकारण हामीले मन अनि हृदय दुवैबाट नकारात्मक झुकावहरू हटाउन कटिबद्ध हुँदै निरन्तर संघर्ष गरिरहनुपर्छ।

कसै-कसैले अझ बढी संघर्ष गर्नुपर्छ

८. कस्ता कारणहरूले गर्दा कसै-कसैलाई आत्मसंयम व्यवहारमा उतार्न गाह्रो हुन्छ?

कोही-कोही मसीहीहरूलाई आत्मसंयमी हुन अरूलाई भन्दा गाह्रो पर्छ। किन? यसको कारण आमाबाबुको प्रशिक्षण वा अतीतका अनुभवहरू हुन सक्छन्‌। आत्मसंयम खेती गर्नु र प्रकट गर्नु हाम्रो निम्ति खासै समस्या भएको छैन भने त्यो एउटा खुसीको कारण हो। तर यो व्यवहारमा उतार्न गाह्रो भइरहेकाहरूसित व्यवहार गर्दा हामी पक्कै पनि अनुकम्पापूर्ण र समझदार हुनुपर्छ, चाहे तिनीहरूको आत्मसंयमको कमीले गर्दा हामीलाई व्यक्‍तिगत तवरमा केही असुविधा नै किन नहोस्‌। हाम्रो आफ्नै असिद्धतालाई विचार गर्दा हामीमध्ये कोसित आत्मधर्मी मनोभाव देखाउने आधार छ र?—रोमी ३:२३; एफिसी ४:२.

९. कसै-कसैको कस्ता कमजोरीहरू हुन्छन्‌ र यस्ता कमजोरीहरूमाथि कहिले पूर्णतया विजय हासिल गर्न सकिनेछ?

उदाहरणका लागि: हामीले कोही यस्तो सँगी मसीहीहरूलाई चिन्छौं होला जसले धूम्रपान वा “मनोरञ्जनात्मक” लागूपदार्थ सेवन गर्न छोडेका छन्‌ तर तिनलाई अझै कहिलेकाहीं यसको एकदमै तलतल लाग्न सक्छ। अथवा कसैलाई आफ्नो खाना खाने वा पिउने बानी नियन्त्रणमा राख्नु चुनौतीपूर्ण लाग्न सक्छ। अरू कसैलाई भने आफ्नो जिब्रो वशमा राख्न गाह्रो भएकोले अक्सर आफ्नो बोलीमा चुक्छन्‌ होला। त्यस्ता कमजोरीहरू विरुद्ध संघर्ष गर्न आत्मसंयम खेती गर्दा लगनशील प्रयासको खाँचो पर्छ। किन? याकूब ३:२ ले व्यावहारिक भई यसरी स्वीकार्छ: “धेरै कुरामा हामी चुक्‍तछौं। जो मानिस वचनमा चुक्‍तैन, त्यो आफ्नो सारा शरीरमा पनि लगाम कस्नसक्ने सिद्ध मानिस हुन्छ।” अरू कसैलाई भने जूवा खेल्ने तीव्र इच्छा हुन सक्छ। अथवा कसैलाई आफ्नो रिस नियन्त्रणमा राख्न गाह्रो हुन सक्छ। यी वा यस्तै अन्य कमजोरीहरू विरुद्ध सफलतासाथ संघर्ष गर्न सिक्नको लागि समय लाग्न सक्छ। हामीले अहिले उल्लेखनीय प्रगति गर्न सके तापनि सिद्धता प्राप्त गरेपछि मात्र खराब इच्छाहरू सदाको लागि निर्मूल हुनेछन्‌। त्यतिन्जेल, आत्मसंयमी हुन यथासक्य प्रयास गर्दा हामी जीवनका पापी मार्गहरूमा पुनः फस्नदेखि बच्नेछौं। यसरी संघर्ष गर्दै जाँदा हरेस नखान एकअर्कालाई सहयोग गरौं।—प्रेरित १४:२१, २२.

१०. (क) यौन विषयमा आत्मसंयमी हुनु किन कसै-कसैको लागि विशेष गरी चुनौतीपूर्ण हो? (ख) एक जना भाइले कस्तो ठूलो परिवर्तन गरे? (पृष्ठ १६ को पेटी हेर्नुहोस्‌।)

१० कसै-कसैलाई आत्मसंयमी हुन गाह्रो अर्को एउटा विषय यौनसम्बन्धी हो। हुन त, मानव यौन चाहना राखेर यहोवा परमेश्‍वरले हामीलाई सृष्टि गर्नुभएको हो। यद्यपि, कसै-कसैलाई परमेश्‍वरका स्तरहरू अनुरूप आफ्नो यौनसम्बन्धी कुरालाई उचित ठाउँमा राख्न गाह्रो हुन्छ। तिनीहरूमा यौन इच्छा अत्यन्तै तीव्र भएकोले तिनीहरूलाई झनै गाह्रो हुन सक्छ। हामी यौनलिप्त संसारमा बाँच्छौं र यसले थुप्रै तरिकामा यौन इच्छाहरूलाई अझ जगाउन खोज्छ। यसले केही समयको लागि विवाह बन्धनमा नबाँधी, अविवाहित रहेर परमेश्‍वरको सेवा गर्न चाहने मसीहीहरूको लागि निकै समस्या खडा गर्न सक्छ। (१ कोरिन्थी ७:३२, ३३, ३७, ३८) तर “कामाग्निले जल्नुभन्दा विवाह गर्नु असल हो” भन्‍ने धर्मशास्त्रीय सल्लाह अनुरूप तिनीहरूले विवाह गर्ने निर्णय गर्न सक्छन्‌ र यो पक्कै पनि आदरणीय कुरा हो। तर अर्कोतर्फ तिनीहरू धर्मशास्त्रमा भनिएझैं “प्रभुमा मात्र” विवाह गर्न कटिबद्ध छन्‌। (१ कोरिन्थी ७:९, ३९) तिनीहरूले उहाँको धार्मिक सिद्धान्तहरू पालन गर्ने चासो देखाएकोमा यहोवा हर्षित हुनुहुन्छ भन्‍ने कुरामा हामी निर्धक्क हुन सक्छौं। तिनीहरूका सँगी मसीहीहरूले, त्यस्तो उच्च नैतिक स्तर तथा निष्ठा भएका साँचो उपासकहरूसित संगत गर्न पाउनु आनन्दको कुरा ठान्छन्‌।

११. विवाह गर्न इच्छुक तर गर्न नसकिरहेका भाइ वा बहिनीको लागि हामी कसरी मदतकारी साबित हुन सक्छौं?

११ आफूलाई सुहाउँदो जोडी पाउनै सकिंदैन भने नि? विवाह गर्ने इच्छा गरेको तर त्यसो गर्न नसकिरहेको व्यक्‍तिलाई कत्ति दिक्क लाग्छ होला, कल्पना गर्नुहोस्‌! तिनले आफ्ना साथीहरूको विवाह भएको र केही हदसम्म आनन्दित जीवन बिताइरहेको र आफू चाहिं अझै सुहाउँदो जीवनसाथीको खोजमा भएको महसुस गर्न सक्छन्‌। त्यस्तो परिस्थितिमा कसै-कसैलाई हस्तमैथुन गर्ने अशुद्ध बानी एउटा समस्या हुन सक्छ। जस्तोसुकै परिस्थितिमा होस्‌, कुनै पनि मसीहीले शुद्ध रहन संघर्ष गरिरहेको अर्को मसीहीलाई अनजानमै निरुत्साहित पार्न चाहँदैन। “तपाईं कहिले विवाह गर्ने त?” भन्‍नेजस्ता अविवेकपूर्ण टिप्पणीहरू गरेर हामीले चालै नपाई अरूलाई निरुत्साहित बनाइरहेका हुन सक्छौं। यस्ता कुराहरू कुनै खराब मनसायले भनेको नहुन सक्छ तर आफ्नो जिब्रोलाई वशमा राख्ने सन्दर्भमा आत्मसंयम देखाउनु कत्ति बेस हुन्छ! (भजन ३९:१) अविवाहित अवस्थामा शुद्ध रहिरहेकाहरू सबै हाम्रो न्यानो सराहनाको योग्य छन्‌। निरुत्साहित पार्ने कुराहरू भन्‍नुको सट्टा हामीले प्रोत्साहनजनक कुराहरू भन्‍ने प्रयास गर्न सक्छौं। उदाहरणका लागि, परिपक्व व्यक्‍तिहरूको सानो समूह खानाको लागि वा स्वास्थ्यकर मसीही संगतिको लागि भेला हुँदा अविवाहित व्यक्‍तिहरूलाई पनि समावेश गर्ने प्रयास गर्न सक्छौं।

विवाहमा आत्मसंयम

१२. विवाहित जोडीहरूमा समेत केही हदसम्म किन आत्मसंयमको खाँचो पर्छ?

१२ विवाहित हुँदैमा यौनको सन्दर्भमा आत्मसंयमी हुनुपर्ने आवश्‍यकता हराउँदैन। उदाहरणका लागि, पति र पत्नीको यौन आवश्‍यकता एकदमै फरक हुन सक्छ। अथवा पति वा पत्नीको शारीरिक अवस्थाले गर्दा सामान्य यौन सम्बन्ध राख्न गाह्रो वा असम्भवसमेत हुन सक्छ। सायद अतीतको अनुभवले गर्दा यो सल्लाह पालन गर्न एक जनालाई चुनौतीपूर्ण हुन सक्छ: “पतिले पत्नीसँग गर्नु पर्ने व्यवहार गरोस्‌, औ त्यसैगरी पत्नीले पनि पतिसँग।” त्यस्तो परिस्थितिमा अर्को पक्ष अझ थप आत्मसंयमी हुनुपर्ने हुन्छ। तर पावलले विवाहित मसीहीहरूलाई दिएको मायालु सल्लाह दुवैले मनमा राख्न सक्छन्‌: “प्रार्थनाको निम्ति तिमीहरूले फुर्सत पाउनालाई, र फेरि एकैसाथ हुनालाई, आपसको सम्मतिले थोरै समयको निम्ति बाहेक, एकले अर्कोलाई इन्कार नगर, कि तिमीहरूको असंयमले गर्दा शैतानले तिमीहरूको परीक्षा नगरोस्‌।”—१ कोरिन्थी ७:३, ५.

१३. आत्मसंयम खेती गर्न संघर्ष गरिरहेकाहरूको खातिर हामी के गर्न सक्छौं?

१३ यो अत्यन्तै आत्मीय सम्बन्धमा दुवैले उचित आत्मसंयम खेती गर्न सिकेका छन्‌ भने विवाहित जोडीहरू कत्ति कृतज्ञ हुन सक्छन्‌। त्यति नै बेला, त्यस क्षेत्रमा आत्मसंयम देखाउन संघर्ष गरिरहेका सँगी विश्‍वासीहरूप्रति तिनीहरूले समझदारी देखाउनुपर्छ। यहोवाले हाम्रा आध्यात्मिक भाइहरूलाई तिनीहरूको आत्मसंयम प्रकट गर्ने सन्दर्भमा संघर्ष गरिरहने र अनुचित इच्छाहरूमाथि विजय हासिल गर्ने कदमहरू चाल्न अन्तरदृष्टि, साहस र कटिबद्धता दिऊन्‌ भनेर प्रार्थना गर्न कहिल्यै बिर्सनुहुँदैन।—फिलिप्पी ४:६, ७.

एक अर्कालाई मदत गरिरहनुहोस्‌

१४. हामीले सँगी मसीहीहरूसित किन अनुकम्पापूर्ण र समझदारीसाथ व्यवहार गर्नुपर्छ?

१४ हामीलाई खासै अप्ठ्यारो नपार्ने क्षेत्रमा आत्मसंयम देखाउन संघर्ष गरिरहेका सँगी मसीहीप्रति समझदारी देखाउन हामीलाई कहिलेकाहीं गाह्रो लाग्न सक्छ। तर मानिसहरूको स्वभाव फरक-फरक हुन्छ। कोही तुरुन्तै भावनामा बहन्छन्‌ भने कोही त्यस्ता हुँदैनन्‌। कसैलाई आफूमाथि नियन्त्रण जमाउन अरूलाई भन्दा सजिलो हुने हुँदा आत्मसंयम खासै समस्याको विषय नहुन सक्छ। अरूलाई भने धेरै गाह्रो हुन सक्छ। यद्यपि, स्मरण रहोस्‌, संघर्ष गरिरहेको व्यक्‍ति खराब व्यक्‍ति होइन। सँगी विश्‍वासीहरूलाई हाम्रो समझदारी र अनुकम्पा चाहिन्छ। अझै आत्मसंयम प्रकट गर्न संघर्ष गरिरहेकाहरूलाई कृपा देखाउनुमा हाम्रो आफ्नो खुसी पनि मुछिएको छ। हामीले यो कुरा मत्ती ५:७ मा लिपिबद्ध येशूका शब्दहरूबाट बुझ्न सक्छौं।

१५. भजन १३०:३ का शब्दहरू आत्मसंयमको सन्दर्भमा किन सान्त्वनादायी छन्‌?

१५ कुनै अवसरमा मसीही व्यक्‍तित्व प्रदर्शित गर्न चुकेका सँगी मसीहीहरूलाई हामी कहिल्यै गलत अर्थ लगाउन चाहँदैनौं। हामी कुनै बेला आत्मसंयम प्रदर्शित गर्न चुकौंला तर हामीले आत्मसंयम देखाएका अरू थुप्रै अवसरहरू यहोवाको नजरबाट लुक्दैनन्‌ र यो सँगी मसीहीहरूले यादै नगरेको समेत हुन सक्छ। भजन १३०:३ का शब्दहरू मनमा राख्नु अत्यन्तै सान्त्वनादायी छ: “हे परमप्रभु, तपाईंले अधर्मको लेखा दिनुभयो भनेता हे परमप्रभु, को खडा हुनुसक्छ र?”

१६, १७. (क) आत्मसंयमको सन्दर्भमा हामी गलाती ६:२, कसरी लागू गर्न सक्छौं? (ख) हामी आत्मसंयमबारे अर्को लेखमा के छलफल गर्नेछौं?

१६ यहोवालाई प्रसन्‍न तुल्याउन हामी प्रत्येकले आत्मसंयम खेती गर्नुपर्छ तर हामी आफ्ना मसीही भाइहरूको मदत पाउने सन्दर्भमा ढुक्क हुन सक्छौं। हामी प्रत्येकले आ-आफ्नो भार उठाउनुपर्ने भए तापनि हामीलाई एक-अर्काका कमजोरीहरू सहने मदत गर्न आग्रह गरिएको छ। (गलाती ६:२,) जान नहुने ठाउँमा जान नदिने, हेर्न नहुने कुरा हेर्न नदिने वा गर्न नहुने कुरा गर्न नदिने आमाबाबु, जीवनसाथी वा मित्रको हामी कदर गर्न सक्छौं। हामीलाई आत्मसंयम प्रकट गर्न, नाइँ भन्‍न सक्न र आफ्नो मनसायबारे पक्का हुन तिनले हामीलाई मदत गरिरहेका छन्‌!

१७ थुप्रै मसीहीहरू हामीले आत्मसंयमबारे अहिलेसम्म छलफल गरेका कुराहरूमा सहमत होलान्‌ तर तिनीहरूलाई आफूले सुधार गर्नुपर्ने ठाउँ धेरै छ जस्तो लाग्न सक्छ। तिनीहरू अझ पूर्ण रूपमा आत्मसंयम प्रदर्शित गर्न चाहन्छन्‌, त्यो हदसम्म जान चाहन्छन्‌ जुन असिद्ध मानिसहरूबाट व्यावहारिक भई आशा गर्न सकिन्छ। के तपाईंलाई पनि त्यस्तो लाग्छ? त्यसो भए परमेश्‍वरको आत्माको यो फल खेती गर्न तपाईं के गर्न सक्नुहुन्छ? अनि त्यसो गर्दा तपाईंले मसीहीको हैसियतमा कसरी चिरकालीन उद्देश्‍य हासिल गर्न सक्नुहुन्छ? आउनुहोस्‌, हामी अर्को लेखमा हेरौं।

के तपाईं सम्झनुहुन्छ?

आत्मसंयम किन. . .

• मसीहीहरूले खेती गर्नु महत्त्वपूर्ण छ?

• विशेष गरी कसै-कसैको लागि चुनौतीपूर्ण छ?

• विवाहमा चाहिन्छ?

• एउटा यस्तो गुण हो जुन गुण खेती गर्न हामी एकअर्कालाई मदत गर्न सक्छौं?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ १६-मा भएको पेटी/चित्र]

तिनले नाइँ भन्‍न सिके

जर्मनीमा बसोबास गर्ने एक जना यहोवाका साक्षी टेक्निकल कम्युनिकेसन कर्मचारीको रूपमा काम गर्थे। तिनले आफ्नो कामको सिलसिलामा ३० वटा विभिन्‍न टेलिभिजन तथा रेडियो कार्यक्रमको प्रसारण निगरानी गर्नुपर्थ्यो। प्रसारणमा केही बाधा आइपर्दा तिनले समस्या पत्ता लगाउन त्यस कार्यक्रममा ध्यान दिनुपर्थ्यो। तिनी भन्छन्‌: “प्रसारणमा गडबडी सधैं गलत समयमा अर्थात्‌ ठ्याक्कै हिंसा वा यौन दृश्‍य देखाइरहेको बेला नै हुन्थ्यो। ती खराब दृश्‍य केही दिनसम्म, कहिलेकाहीं हप्तौंसम्म मेरो दिमागमा बसिरहन्थ्यो, कहिलेकाहीं त ठ्याप्पै छाप बसेको जस्तो हुन्थ्यो।” यसले तिनको आध्यात्मिकतामा नकारात्मक असर पाऱ्‍यो भनी तिनी मानिलिन्छन्‌: “मेरो त्यसै त झडङ्‌ग रिसाउने झुकाव भएकोले हिंसाका दृश्‍यहरूले आत्मसंयम खेती गर्न झनै गाह्रो बनायो। यौन दृश्‍यहरूको कारण म र मेरी श्रीमतीबीच तनाव हुन थाल्यो। मैले दिनहुँ संघर्ष गर्नुपऱ्‍यो। यस्ता प्रभावहरूको वशमा पर्नदेखि जोगिनको लागि तलब कमै भए तापनि मैले नयाँ जागिर खोज्ने निर्णय गरें। केही समयअघि मात्र मैले नयाँ जागिर पाएँ। मेरो इच्छा पूरा भएको छ।”

[पृष्ठ १५-मा भएका चित्रहरू]

बाइबल अध्ययनबाट प्राप्त ज्ञानले हामीलाई आत्मसंयमी हुन मदत गर्छ