सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

युवाहरू हो, यहोवाको योग्य चालमा चल्नुहोस्‌

युवाहरू हो, यहोवाको योग्य चालमा चल्नुहोस्‌

युवाहरू हो, यहोवाको योग्य चालमा चल्नुहोस्‌

कोही-कोही मसीही युवाहरू केही समयको लागि आफ्नो परिवार तथा आफ्नो मण्डलीबाट टाढा रहनुपर्ने हुन्छ। कसै-कसैले आफ्नो सेवकाई विस्तार गर्न यसो गरेका छन्‌। अरूले भने यस संसारका मामिलाहरूप्रति तिनीहरूको तटस्थ अडानको कारण आफ्नो घर छोड्‌नु परेको छ। (यशैया २:४; यूहन्‍ना १७:१६) कुनै-कुनै मुलुकहरूमा, निष्ठापालक युवाहरूलाई “सिजर[ले]” थुनामा रहनुपर्ने वा सामुदायिक कार्य गर्नुपर्ने सजाय दिएको छ। aमर्कूस १२:१७; तीतस ३:१, २.

तटस्थताको कारण थुनामा रहँदा, यी युवाहरू लामो समयसम्म अपराधीहरूसँगै बन्दी बनाइन सक्छन्‌। त्यसै गरी अरू कारणहरूले घरबाट टाढा रहनुपर्दा पनि युवाहरू अनैतिक वातावरणमा काम गर्न बाध्य हुनुपरेको छ। आफ्नो “चालचलन परमेश्‍वरको योग्य” राख्ने कोसिस गर्दा, यी मसीही युवाहरू वा यस्तो परिस्थितिमा रहन बाध्य हुनुपरेका अरूले आफूले सामना गर्ने दबाब तथा मागहरूको कसरी सफलतापूर्वक सामना गर्न सक्छन्‌? (१ थिस्सलोनिकी २:१२) जस्तोसुकै सम्भाव्य प्रतिकूल परिस्थितिको लागि तयार हुन तिनीहरूका आमाबाबुले तिनीहरूलाई कसरी मदत दिन सक्छन्‌?—हितोपदेश २२:३.

खास चुनौतीहरू

“मेरो आमाबाबुको सुरक्षात्मक हेरचाहका साथै मलाई राम्ररी बुझेका प्राचीनहरूको मायालु निरीक्षणबाट टाढा हुनु कठिन र अत्यासलाग्दो थियो” भनी ३७ महिना घरबाट टाढा रहन बाध्य भएका २१ वर्षीय टाकिस बताउँछन्‌। b तिनी अझै यसो भन्छन्‌: “कहिलेकाहीं मैले आफूलाई एकदमै निस्सहाय महसुस गरें।” बीस वर्षीय पेट्रोस दुई वर्षभन्दा बढी समयको लागि घरबाट टाढा रहनुपऱ्‍यो। तिनी यसरी स्वीकार्छन्‌: “मनोरञ्जन तथा साथीहरूबारे जीवनमा पहिलो पटक आफैले निर्णय गर्नुपऱ्‍यो र मेरा छनोटहरू सधैं बुद्धिमानी थिएनन्‌।” त्यसपछि तिनी यस्तो टिप्पणी गर्छन्‌: “थप स्वतन्त्रता सँगसँगै आएको थप जिम्मेवारीको कारण कहिलेकाहीं मैले अप्ठ्यारो महसुस गरें।” यस्ता परिस्थितिहरूमा भएका मसीही युवाहरूसित नियमित रूपमा सम्पर्कमा आइरहने एक जना मसीही प्राचीन टासोसले यसो भने: “बेग्लै विश्‍वास भएका साथीहरूको फोहोर बोली, विद्रोही स्वभाव र हिंसात्मक बानी-व्यहोराले असावधान तथा निस्सहाय युवाहरूलाई असर गर्न सक्छ।”

बाइबल सिद्धान्तहरूप्रति आदर नदेखाउने मानिसहरूसित बस्दा र काम गर्दा, यस्ता मसीही युवाहरू आफ्ना साथीहरूको अनैतिक तथा गैर-धर्मशास्त्रीय तौरतरिकाहरूको अनुकरण गर्ने प्रलोभनदेखि जोगिनुपर्छ। (भजन १:१; २६:४; ११९:९) व्यक्‍तिगत अध्ययन, सभामा उपस्थिति र क्षेत्र सेवाको राम्रो तालिका कायम राखिरहन गाह्रोजस्तो देखिन सक्छ। (फिलिप्पी ३:१६) आध्यात्मिक लक्ष्यहरू राख्न तथा त्यसअनुसार गर्न पनि सजिलो नहुन सक्छ।

विश्‍वासी मसीही युवाहरू पक्कै पनि आफ्नो आचरण तथा बोलीद्वारा यहोवालाई खुसी तुल्याउन चाहन्छन्‌। तिनीहरू स्वर्गमा बस्नुहुने आफ्नो पिताको यस हृदयस्पर्शी आग्रह वफादारीसाथ पालन गर्ने कोसिस गर्छन्‌: “हे मेरो छोरो, बुद्धिमान हो, र त्यसले मेरो हृदयलाई आनन्दित तुल्याउँछ, र मेरो आलोचना गर्नेहरूलाई म मुखभरिको जवाफ दिनसक्छु।” (हितोपदेश २७:११) तिनीहरूको शिष्टता र बानी-व्यहोराले यहोवा र उहाँका जनहरूप्रति अरूले कस्तो दृष्टिकोण राख्छन्‌ भन्‍ने कुरामा असर गर्छ भनेर तिनीहरू स्वीकार्छन्‌।—१ पत्रुस २:१२.

यस्ता युवाहरूमध्ये अधिकांशले प्रथम शताब्दीका आफ्ना भाइहरूजस्तै हुन यथाशक्य गर्नु प्रशंसायोग्य कुरा हो, जसबारे प्रेरित पावलले यसरी प्रार्थना गरे: “हर किसिमले खुश पार्नेगरी प्रभुको योग्य चालमा चल्न र हरेक असल काममा फलिफाप हुँदै परमेश्‍वरको ज्ञानमा बढ़दै गएर, आनन्दसित सारा धीरज र सहनशीलताको निम्ति उहाँको महिमाको सामर्थ्यअनुसार सारा शक्‍तिले बलवान [होओ]।” (कलस्सी १:९-११) बाइबलले असाधारण, प्रतिकूल तथा मूर्तिपूजक वातावरणमाझ सफलतापूर्वक परमेश्‍वरको योग्य चालमा चलेका ईश्‍वर-भीरु युवाहरूका थुप्रै उदाहरणहरू दिन्छ।—फिलिप्पी २:१५.

यहोवा “यूसुफका साथमा हुनुहुन्थ्यो”

याकूब र राहेलका प्रिय छोरा यूसुफ, कलिलै उमेरमा आफ्ना ईश्‍वर-भीरु बुबाको सुरक्षात्मक छहारीबाट टाढा हुनुपऱ्‍यो। तिनलाई मिश्रको दासत्वमा बेचिएको थियो। यूसुफले परिश्रमी, भरपर्दो र नैतिकवान्‌ युवकको रूपमा एउटा उत्कृष्ट उदाहरण बसाले। यहोवाको उपासना नगर्ने पोतीफरको दास भए तापनि यूसुफ विवेकशील तथा लगनशील थिए। त्यसैले पछि गएर तिनको मालिकले तिनलाई आफ्नो सारा घरको जिम्मा सुम्पे। (उत्पत्ति ३९:२-६) यूसुफले यहोवाप्रति आफ्नो निष्ठा कायम राखे र यसको कारण थुनामा पर्दा, तिनी यस्तो निष्कर्षमा पुगेनन्‌: “आखिर के नै फाइदा भयो र?” थुनामा समेत तिनले असल गुणहरू प्रदर्शन गरे र चाँडै तिनले थुनाका थुप्रै कुराहरूको रेखदेख गर्न थाले। (उत्पत्ति ३९:१७-२२) परमेश्‍वरले तिनलाई आशिष्‌ दिनुभयो र उत्पत्ति ३९:२३ मा उल्लेख गरिएअनुसार “परमप्रभु यूसुफको साथमा हुनुहुन्थ्यो।”

आफ्नो ईश्‍वर-भीरु परिवारबाट अलग भएका यूसुफलाई अनैतिक मिश्रीहरूकै जीवन शैलीको पछि लागेर आफू वरपरका मूर्तिपूजकहरूको जस्तै आचरण विकास गर्न कत्ति सजिलो थियो होला! यसको विपरीत, तिनी ईश्‍वरीय सिद्धान्तमा अडिग रहे र सबैभन्दा शक्‍तिशाली प्रलोभनको बावजुद सफा अन्तस्करण कायम राखे। पोतीफरकी पत्नीले तिनलाई बारम्बार आफूसित यौन सम्पर्क राख्न लोभ्याउँदा, तिनको दृढ जवाफ यस्तो थियो: “कसरी यस्तो घोर दुष्ट काम गरेर परमेश्‍वरको विरुद्धमा मैले पाप गर्नु?”—उत्पत्ति ३९:७-९.

आज, साक्षी युवाहरूले अनुचित संगति, अनैतिक मनोरञ्जन, अश्‍लील सामग्री र पतित संगीत विरुद्धका बाइबल आधारित चेतावनीहरू पालन गर्नु आवश्‍यक छ। तिनीहरू “परमप्रभुको नजर दुष्ट र असल दुवैलाई हेर्दै सर्वत्र रहन्छ” भन्‍ने कुरा स्वीकार्छन्‌।—हितोपदेश १५:३.

मोशाले “पापको सुख भोग्न” इन्कार गरे

मोशा फिरऊनको दरबारको मूर्तिपूजक तथा सुखविलासमा चुर्लुम्म डुबेको वातावरणमा हुर्के। बाइबलले तिनीबारे यसो भन्छ: “विश्‍वासैबाट मोशा . . . फिरऊनकी छोरीको छोरा कहलिनालाई इन्कार गरे। केही समयसम्म पापको सुख भोग्नभन्दा बरू परमेश्‍वरका मानिसहरूका साथमा थिचोमिचोमा पर्न रोजे।”—हिब्रू ११:२४, २५.

संसारसितको मित्रताले केही खास लाभहरू पुऱ्‍याउन सक्छ तर यो क्षणिक हुन्छ। धेरैभन्दा धेरै समयसम्म रह्‍यो भने, यस संसारको सीमित समय जति बाँकी छ यो पनि त्यति नै रहन्छ। (१ यूहन्‍ना २:१५-१७) के मोशाको उदाहरण पछ्याउनु बेस हुँदैन र? बाइबलले यसो भन्छ: “अदृश्‍यलाई देखेझैं गरी तिनी स्थिर रहे।” (हिब्रू ११:२७) तिनले आफ्नो मन आफ्ना ईश्‍वर-भीरु पुर्खाको आध्यात्मिक सम्पदामा केन्द्रित गरे। परमेश्‍वरको इच्छा गर्नुलाई आफ्नो लक्ष्य बनाएर तिनले यहोवाको उद्देश्‍यलाई आफ्नो जीवनको उद्देश्‍य बनाए।—प्रस्थान २:११; प्रेरित ७:२३, २५.

ईश्‍वर-भीरु युवाहरूले आफूलाई अभक्‍त तथा अमित्रैलो वातावरणमा पाउँदा, व्यक्‍तिगत अध्ययनद्वारा “अदृश्‍य” व्यक्‍तिलाई अझ राम्रोसित चिनेर तिनीहरूले यहोवासितको आफ्नो व्यक्‍तिगत सम्बन्ध अझ बलियो बनाउन सक्छन्‌। सभामा नियमित उपस्थिति तथा क्षेत्र सेवा लगायत मसीही क्रियालकलापहरूका पूर्ण कार्यक्रमहरूले यी युवाहरूलाई आफ्नो मन आध्यात्मिक कुराहरूमा केन्द्रित गर्न मदत दिनेछ। (भजन ६३:६; ७७:१२) तिनीहरूले मोशाको जत्तिकै बलियो विश्‍वास र आशा खेती गर्ने कोसिस गर्नुपर्छ। यहोवाको मित्र हुन खुसी हुँदै, तिनीहरूले आफ्ना सोचाइ तथा कार्यहरू यहोवामा केन्द्रित गर्ने कोसिस गर्नु बेस हुनेछ।

तिनले आफ्नो जिब्रो यहोवाको प्रशंसा गर्न चलाइन्‌

घरदेखि टाढा रहँदा उदाहरणीय साबित भएकी अर्की युवा परमेश्‍वरका अगमवक्‍ता एलीशाको समयमा अरामीहरूले कैद गरेकी इस्राएली ठिटी थिइन्‌। तिनी कोर लागेका अरामी सेनापति नामानकी पत्नीकी दासी भइन्‌। यी ठिटीले आफ्नी मालिक्नीलाई यसो भनिन्‌: “यदि मेरा मालिकले सामरियामा बस्नुहुने अगमवक्‍तालाई भेट गरे तिनको रोग उहाँले निको पारिदिनुहुने थियो।” तिनको साक्षीको कारण नामान एलीशाकहाँ इस्राएलमा गए र तिनलाई कोरबाट शुद्ध पारियो। साथै, नामान यहोवाका एक जना उपासक बने।—२ राजा ५:१-३, १३-१९.

यी ठिटीको उदाहरणले युवाहरूले आफ्नो आमाबाबुबाट टाढा रहँदासमेत परमेश्‍वरको प्रशंसा गर्ने तरिकामा आफ्नो जिब्रो चलाउनुको आवश्‍यकतालाई जोड दिन्छ। ती ठिटीको “बेमतलबका कुरा अथवा ठट्टा” गर्ने बानी भएको भए, के तिनले मौका पाउने बित्तिकै आफ्नो जिब्रो यसरी प्रभावकारी ढंगमा चलाउन सजिलो महसुस गर्ने थिइन्‌ होला र? (एफिसी ५:४; हितोपदेश १५:२) आफ्नो तटस्थ अडानको कारण थुनामा परेका, २० वर्ष नाघेका एक युवक, निकोस यसरी सम्झन्छन्‌: “म अरू केही भाइहरूसँगै आमाबाबु तथा मण्डलीको अख्तियारबाट टाढा, कृषि शिविरमा हुँदा हाम्रो बोलीको स्तर खस्किएको मैले महसुस गरें। यसले पक्कै पनि यहोवाको प्रशंसा गरेन।” खुसीको कुरा, निकोस तथा अरूलाई यस सन्दर्भमा पावलको सल्लाह सुन्‍न मदत गरिएको छ: “व्यभिचार र सारा अशुद्धता अथवा लोभको नाउँसमेत पनि तिमीहरूबाट नलिइओस्‌, जस्तो कि पवित्र जनहरूलाई उचित हुन्छ।”—एफिसी ५:३.

तिनीहरूका लागि यहोवा वास्तविक हुनुहुन्थ्यो

पुरातन बेबिलोनमा दानियलका तीन जना हिब्रू साथीहरूको अनुभवले जो थोरै कुरामा विश्‍वासी हुन्छ, त्यो धेरैमा पनि विश्‍वासी हुन्छ भनी येशूले बताउनुभएको सिद्धान्तको सत्यता प्रमाणित गर्छ। (लूका १६:१०) मोशालाई दिइएको व्यवस्थाले निषेध गरेका खानेकुराहरू खानुपर्ने समस्याको सामना गर्नुपर्दा, आफू विदेशी भूमिमा बन्दी भएको कारण यसको अरू कुनै विकल्प छैन भन्‍ने तर्क तिनीहरूले गर्न सक्थे। तर एकदमै सानोजस्तो देखिन सक्ने कुरालाई समेत गम्भीरतापूर्वक लिएको कारण तिनीहरूले कस्तो ठूलो आशिष्‌ पाए! राजाको चौरासी व्यञ्जन खाएका अरू बन्दीहरूभन्दा तिनीहरू अझ बढी स्वस्थ तथा बुद्धिमान्‌ साबित भए। निस्सन्देह, यी थोरै कुरामा विश्‍वासी रहँदा यसले तिनीहरूलाई बलियो तुल्यायो, जसको कारण मूर्तिलाई ढोग्नुपर्ने ठूलो जाँच सामना गर्नुपर्दा तिनीहरूले सम्झौता गर्न इन्कार गरे।—दानियल १:३-२१; ३:१-३०.

यी तीन युवकहरूको लागि यहोवा एकदमै वास्तविक हुनुहुन्थ्यो। आफ्नो घर तथा परमेश्‍वरको उपासनाको केन्द्रबाट टाढा रहनुपरे तापनि तिनीहरू संसारबाट निष्कलंक रहन कटिबद्ध थिए। (२ पत्रुस ३:१४) तिनीहरूको लागि यहोवासितको आफ्नो सम्बन्ध यति बहुमूल्य थियो कि यसको लागि तिनीहरू आफ्नो ज्यान दिन समेत तयार थिए।

यहोवाले तपाईंलाई त्याग्नुहुने छैन

आफूले प्रेम तथा भरोसा गर्ने मानिसहरूबाट टाढा रहँदा, युवाहरूले पक्कै पनि असुरक्षित, अनिश्‍चित तथा डराएको महसुस गर्न सक्छन्‌। तथापि, यहोवाले आफूलाई त्याग्नुहुने छैन भन्‍ने पूर्ण भरोसाका साथ तिनीहरूले आफूमाथि आइपर्ने जाँच तथा परीक्षाहरूको सामना गर्न सक्छन्‌। (भजन ९४:१४) यस्ता युवाहरूले “धर्मको खातिर दुःख भोग्नुपऱ्‍यो भने” यहोवाले तिनीहरूलाई “भलाइको चालमा” हिंडिरहन मदत गर्नुहुन्छ।—१ पत्रुस ३:१४; हितोपदेश ८:२०.

यहोवाले यूसुफ, मोशा, इस्राएली दासी केटी तथा तीन जना विश्‍वासी हिब्रू युवाहरूलाई लगातार बलियो तुल्याइरहनुभयो र प्रशस्त आशिष्‌ दिनुभयो। “विश्‍वासको उत्तम लडन्त” लड्‌नेहरूको अगाडि “अनन्त जीवन[को]” इनाम राखिदिनुभएर उहाँले तिनीहरूलाई आफ्नो पवित्र आत्मा, आफ्नो वचन र आफ्नो संगठन चलाएर सम्हालिरहनुभएको छ। (१ तिमोथी ६:११, १२) हो, यहोवाको योग्य चालमा चल्न सम्भव र यो नै बुद्धिमानी कार्य हो।—हितोपदेश २३:१५, १९.

[फुटनोटहरू]

a प्रहरीधरहरा, मे १, १९९६, पृष्ठ १८-२० हेर्नुहोस्‌।

b केही नाउँहरू परिवर्तन गरिएका छन्‌।

आमाबाबुहरू हो—आफ्ना छोराछोरीलाई तयार पार्नुहोस्‌!

“वीर योद्धाको हातमा भएका काँड़झैं युवावस्थाका छोराहरू हुन्छन्‌।” (भजन १२७:४) काँड निसानामा संयोगले लाग्दैन। यसलाई कौशलतासाथ ताक्नै पर्छ। त्यसै गरी, आमाबाबुको उचित डोऱ्‍याइविना छोराछोरी पनि घरबाट टाढा रहँदा आइपर्ने वास्तविकताहरू सामना गर्न तयार हुनेछैनन्‌।—हितोपदेश २२:६.

युवाहरूमा आवेगमा आएर काम गर्ने वा “जवानीका अभिलाषाहरू[मा]” फस्ने झुकाव हुन्छ। (२ तिमोथी २:२२) बाइबलले यस्तो चेतावनी दिन्छ: “बेंत र हप्काइले बुद्धि दिन्छ, तर छाड़ा छोड़ेको छोराले आफ्नी आमालाई लाजमा पार्छ।” (हितोपदेश २९:१५) युवावस्थाका गतिविधिहरूमा सीमा नतोकेको खण्डमा घरबाट टाढा रहँदा आइपर्ने जीवनका माग तथा दबाबको लागि बच्चा तयार हुन सक्दैन।

मसीही आमाबाबुहरूले आफ्ना छोराछोरीहरूलाई यस रीतिरिवाजको जीवनका अप्ठ्यारा, दबाब तथा वास्तविकताहरूबारे स्पष्ट तथा जिम्मेवारपूर्ण ढंगमा बताउनुपर्छ। तिनी घरबाट टाढा रहनुपरेको खण्डमा, एक जना युवाले सामना गर्न सक्ने दुःखदायी परिस्थितिहरूबारे निराशावादी वा नकारात्मक नभईकन बताउनुहोस्‌। यस प्रशिक्षणका साथै ईश्‍वरप्रदत्त बुद्धिद्वारा “सोझाहरू चतुऱ्‍याइँले औ युवकहरू ज्ञान र विवेकले परिपूर्ण हुनेछन्‌।”—हितोपदेश १:४.

आफ्ना छोराछोरीहरूको हृदयमा ईश्‍वरीय मूल्य-मान्यता तथा नैतिक सिद्धान्तहरू ठप्प बसाल्ने आमाबाबुले तिनीहरूलाई जीवनका चुनौतीहरूको सामना गर्न सक्षम बनाउँछन्‌। नियमित पारिवारिक बाइबल अध्ययन, मन खोलेर गरिने कुराकानी र आफ्ना सन्तानहरूको साँचो चासोले सफलता र असफलताबीच पक्कै फरक पार्न सक्छ। आमाबाबुले सन्तुलित तर सकारात्मक र तरिकामा ईश्‍वरीय प्रशिक्षण दिनुपर्छ, जसले गर्दा पछि गएर छोराछोरी आफ्नै खुट्टामा उभिन तयार हुन्छन्‌। संसारमा रहेर पनि यसको भाग नहुन सम्भव भनी आमाबाबुले छोराछोरीलाई आफ्नै व्यक्‍तिगत उदाहरणद्वारा सिकाउन सक्छन्‌।—यूहन्‍ना १७:१५, १६.

[पृष्ठ २३-मा भएको चित्र]

केही मसीही युवाहरूले आफ्नो घर छोड्‌नु परेको छ

[पृष्ठ २४-मा भएका चित्रहरू]

प्रलोभनहरूको प्रतिरोध गरेर युवाहरूले यूसुफको अनुकरण गर्न र नैतिक तवरमा शुद्ध रहन सक्छन्‌

[पृष्ठ २६-मा भएका चित्रहरू]

आफ्नो जिब्रो यहोवाको महिमा गर्न चलाउने इस्राएली दासीको अनुकरण गर्नुहोस्‌