सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

साओ तोमे र प्रिन्सेपमा सुसमाचारले फल फलाउँछ

साओ तोमे र प्रिन्सेपमा सुसमाचारले फल फलाउँछ

साओ तोमे र प्रिन्सेपमा सुसमाचारले फल फलाउँछ

प्रायजसो मानिसहरूले सायद साओ तोमे र प्रिन्सेपबारे कहिल्यै सुनेका छैनन्‌। यी टापुहरू प्राय: छुट्टी मनाउन जाने ठाउँहरूको पुस्तिकामा विज्ञापन गरिंदैन। अफ्रिकाको पश्‍चिमी तटमा गिनियाको खाडीमा झन्डै भूमध्यरेखामा अवस्थित साओ तोमे र अलि पर उत्तरपूर्वमा अवस्थित प्रिन्सेप विश्‍व मानचित्रमा साना थोप्लाहरूजस्तै देखिन्छ। पानी परिरहने, आद्र मौसमले गर्दा यहाँ हराभरा रेन फरेस्टहरू छन्‌ र यसले ६,६०० फिटभन्दा अग्ला पहाडहरूको भीरलाई ढाकेको छ।

यी उष्ण प्रदेशीय टापुहरूको चारैतिर नीलो पानी र ताडीका रूखहरू भएका समुद्री किनाराहरू छन्‌। यहाँका बासिन्दाहरू मित्रैला अनि न्यानो हृदयका छन्‌, यिनीहरूको मूल अफ्रिका र युरोपको सम्मिश्रण भएकोले रमाइलो संस्कृति बनेको छ। यहाँ भएका १,७०,००० बासिन्दाले निर्यात गर्ने प्रमुख कुरा काकाओ हो र यिनीहरू खेतीपाती तथा मत्स्य व्यापारमा व्यस्त हुन्छन्‌। हालैका वर्षहरूमा दैनिक रोजीरोटी जुटाउन समेत चुनौतीपूर्ण भइरहेको छ।

तथापि, २० औं शताब्दीको अन्तिम दशकमा यी टापुहरूमा बढिरहेका मानिसहरूको जीवनलाई निकै प्रभावित गर्ने एउटा घटना घटेको छ। जून १९९३ मा यहोवाका साक्षीहरू साओ तोमे र प्रिन्सेप सरकारसित कानुनी तवरमा दर्ता भए जसले यी टापुहरूमा यहोवाका साक्षीहरूको इतिहासको लामो तथा कठिन पानालाई अन्त्य गऱ्‍यो।

कठिनाइको बेला छरिएका बीउहरू

यो देशमा पहिलो साक्षी १९५० दशकको सुरुतिर आए जस्तो देखिन्छ जब अफ्रिकाका अन्य पोर्तुगाली उपनिवेशका कैदीहरूलाई यी टापुका श्रम शिविरहरूमा काम गर्न पठाइयो। एक जना साक्षी, अफ्रिकी अग्रगामी वा पूर्ण समय सेवक थिए र तिनले त्यहाँ परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गरेको हुँदा मोजाम्बिक टापुबाट देश निकाला भएका थिए। यी एक्लो साक्षी व्यस्त रहे अनि छ महिनाभित्र तिनीसँगै सुसमाचार प्रचार गर्नेहरू १३ जना भइसकेका थिए। पछि, त्यस्तै अवस्थामा परेका साक्षीहरू अंगोलाबाट आए। तिनीहरू कैदमा छँदा स्थानीय बासिन्दाहरूलाई सुसमाचार सुनाउन हरेक मौकाको सदुपयोग गरे।

सन्‌ १९६६ सम्ममा साओ तोमेको श्रम शिविरमा भएका सबै भाइहरू अफ्रिकाको मुख्य द्विपमा फर्किसकेका थिए। बाँकी रहेका राज्य प्रकाशकहरूको सानो समूहले साहसी भई काम अघि बढायो। तिनीहरू सताइए, कुटिए अनि कैदमा राखिए किनभने तिनीहरू बाइबल अध्ययनको लागि एक ठाउँमा भेला हुन्थे अनि तिनीहरूलाई भेट्‌ने वा प्रोत्साहन दिने कोही थिएन। यो देशले पोर्तुगालबाट १९७५ मा स्वतन्त्रता प्राप्त गऱ्‍यो अनि बिस्तारै तर क्रमिक रूपमा राज्यको बीउले फल फलाउन थाल्यो।

विस्तार तथा निर्माण

सन्‌ १९९३ मा कानुनी दर्ता भएकै महिना १०० जना राज्य प्रकाशकहरूको शिखर संख्या पुग्यो। त्यही वर्ष पोर्तुगालबाट विशेष अग्रगामीहरू आए। तिनीहरूले पोर्तुगाली क्रिओल सिक्न गरेको प्रयासले गर्दा स्थानीय बासिन्दाहरूका प्रिय पात्र बने। तब राज्यभवनको लागि जग्गा भेट्‌टाउने प्रयासले प्राथमिकता पायो। यो खाँचोबारे सुनेपछि मारिया नाउँकी बहिनीले आफ्नो सानो घर भएको जग्गाको आधी भाग चन्दा दिइन्‌। यो जग्गा ठूलो राज्यभवन बनाउनको लागि पर्याप्त थियो। यो जग्गा हात पार्न महत्त्वाकांक्षी निर्माताहरूले आँखा लगाइरहेका थिए भनेर मारियालाई थाह थिएन किनभने उनको जग्गाको हकदार कोही नातेदारहरू थिएनन्‌। एक दिन एक जना प्रतिष्ठित व्यापारी मारियासित कुरा गर्न आए।

“मैले तपाईंबारे सुनेको कुरा राम्रो छैन!” भनी तिनले उनलाई चेतावनी दिए। “मैले सुनेको तपाईंले आफ्नो जग्गा चन्दा दिनुभयो रे। यो जग्गा शहरको मुटुमै भएकोले धेरै पैसा आउन सक्छ भनेर के तपाईंलाई थाह छैन?”

“मैले तपाईंलाई यो जग्गा बेचें भने मलाई कति दिनुहुनेछ?” मारियाले सोधिन्‌। त्यो मानिसले कुनै जवाफ नदिएपछि मारियाले यसो भनिन्‌: “तपाईंले मलाई संसारभरिको सबै पैसा दिनुभए तापनि त्यो पुग्नेछैन किनभने पैसाले जीवन किन्‍न सक्दैन।”

“तपाईंका छोराछोरी छैनन्‌ नि, होइन?” ती मानिसले सोधे।

कुराकानी टुंग्याउन मारियाले भनिन्‌: “यो जग्गा यहोवाको हो। उहाँले मलाई धेरै वर्षको लागि भाडामा दिनुभयो र अहिले मैले उहाँलाई फिर्ता बुझाएकी छु। म सधैंभरि बाँच्ने आशा गर्छु।” त्यसपछि उनले त्यस मानिसलाई सोधिन्‌: “तपाईंले मलाई अनन्त जीवन दिन सक्नुहुन्‍न, सक्नुहुन्छ र?” एक शब्द नबोली ती मानिस फर्के।

फलस्वरूप, पोर्तुगालबाट आएका दक्ष भाइहरूको मदतले एउटा आकर्षक दुई तल्ले भवन निर्माण गरियो। यहाँ ठूलो भुइँतलो, फराकिलो राज्यभवन र आवास कोठाहरू छन्‌। यहाँ कक्षाकोठाहरू छन्‌ जसमा प्राचीन, सेवकाई सेवक र अग्रगामीहरूको लागि स्कूलहरू सञ्चालन हुन्छन्‌। यहाँ दुइटा मण्डलीहरूको सभा सञ्चालन हुन्छ र राजधानीमा शुद्ध उपासनाको लागि राम्रो शैक्षिक केन्द्र भएको छ।

मे-सोशेमा ६० जना जोसिला प्रकाशकको मण्डली थियो। केरा घारीहरूमा अवस्थित अस्थायी राज्यभवनमा सभाहरू सञ्चालन हुने हुँदा उपयुक्‍त राज्यभवनको खाँचो प्रस्ट देखियो। यसबारे नगरपालिकालाई अवगत गराइयो अनि सहानुभूतिशील अधिकारीहरूले मुख्य सडकमा विभिन्‍न जग्गाहरूको प्रस्ताव राखे। पोर्तुगालबाट आएका भाइहरूको सहयोगमा छिटो निर्माण प्रक्रिया अपनाएर दुई महिनामा एउटा सुन्दर राज्यभवन निर्माण भयो। स्थानीय मानिसहरूले आफूले देखेको कुरा पत्याउनै सकेनन्‌। उक्‍त शहरको एउटा निर्माण कार्यमा संलग्न स्वीडेनका इन्जिनियर भाइ बहिनीहरू काम गरिरहेको देख्दा छक्कै परे। “यो त गजबै भयो!” तिनले भने। “यहाँ मे-सोशेमा पनि यहोवाका साक्षीहरूले छिटो निर्माण प्रक्रिया नै प्रयोग गरिरहेका रहेछन्‌! हामीले पनि हाम्रो परियोजना यसरी पो सञ्चालन गर्नुपर्ने हो।” यो राज्यभवन जून १२, १९९९ मा २३२ जनाको उपस्थितिमा समर्पण गरियो। यो भवन मे-सोशे शहरमा आउने आगन्तुकहरूको लागि प्रमुख आकर्षण बनेको छ।

ऐतिहासिक अधिवेशन

साओ तोमे र प्रिन्सेपका यहोवाका साक्षीहरूका लागि जनवरी १९९४ मा सम्पन्‍न तीन दिने “ईश्‍वरीय शिक्षा” जिल्ला अधिवेशन एउटा ऐतिहासिक घटना थियो—यी टापुहरूमा भएको पहिलो। यस देशको सबैभन्दा सुविधासम्पन्‍न वातानुकूलित प्रेक्षालयमा यो सम्पन्‍न भयो। जम्मा ११६ जना राज्य प्रकाशकहरूले ४०५ जनाको भीड देख्नु अनि पहिलो चोटि बाइबल नाटक हेर्नुका साथै अधिवेशन विमोचनहरू प्राप्त गर्नुको आनन्द के तपाईं कल्पना गर्न सक्नुहुन्छ? समर्पित २० जना व्यक्‍तिहरूले उष्ण प्रदेशीय मनोरम समुद्रीतटमा बप्तिस्मा लिए।

सर्वसाधारणको ध्यानाकर्षण गरेको नयाँ कुरा भनेको प्रतिनिधिहरूले लगाएको विशेष बिल्ला थियो। पोर्तुगाल र अंगोलाबाट आएका २५ जना आगन्तुकहरूको उपस्थितिले उक्‍त अधिवेशनलाई अन्तरराष्ट्रिय आभास दियो। चाँडै न्यानो मसीही प्रेम विकास भयो अनि अन्तिम कार्यक्रमपछि बिदाइ गर्दा थुप्रैका आँखाबाट आँसु चुहियो।—यूहन्‍ना १३:३५.

नेसनल रेडियोका पत्रकारहरू आएर अधिवेशन निरीक्षकसित अन्तरवार्ता लिए। तिनीहरूले थुप्रै भाषणहरूको केही अंशहरू पनि प्रसारण गरे। यो साँच्चै ऐतिहासिक अवसर थियो अनि यसले ती लामो समयसम्म पृथक रहेका विश्‍वासी साक्षीहरूलाई यहोवाको दृश्‍य संगठनप्रति अझ नजिक हुन मदत गऱ्‍यो।

यहोवाको प्रशंसा गर्न फल फलाउने

राज्य सन्देशले फल फलाउँदा यसले यहोवाको प्रशंसा र महिमा हुने असल आचरण बनाउँछ। (तीतस २:१०) एउटी किशोरीलाई आफूले साप्ताहिक बाइबल अध्ययनबाट सिकिरहेको कुरा रमाइलो लाग्यो। तथापि, उनको बुबाले भने मण्डलीका सभाहरू धाउन दिएनन्‌। उनले आदरपूर्वक मसीही सभाहरूको महत्त्व र त्यहाँ उपस्थित हुने आफ्नो इच्छाबारे बताउँदा बुबाले तुरुन्तै घरबाट निकालिदिए। तिनले ऊ पनि प्रायजसो जवान मानिसहरूले जस्तै कुनै पुरुषसित सँगै बस्छे होला भन्ठानेका थिए। उनले मसीहीको हैसियतमा उदाहरणीय, शुद्ध जीवन बिताइरहेको कुरा थाह पाउँदा बुबा, उनलाई फेरि घरमा बोलाएर यहोवाको सेवा गर्न पूर्ण स्वतन्त्रता दिन उत्प्रेरित भए।

अर्को उदाहरण, एउटा सांगीतिक समूहको नेताको छ। तिनी आफ्नो अनैतिक जीवन शैलीबाट वाक्क भएका थिए। जीवनको उद्देश्‍य खोज्दै हिंड्‌दा यहोवाका साक्षीहरूसित तिनको भेट भयो। तिनले बाइबलको नैतिक स्तर अनुरूप जीवन बिताउन थाल्दा शहरभरि तिनको चर्चा हुन थाल्यो। चाँडै तिनले सारा अस्वास्थ्यकर संगति त्याग्नुपर्ने महसुस गरे। (१ कोरिन्थी १५:३३) अनि तिनले यहोवालाई आफ्नो समर्पणको प्रतीकात्मक रूप दिंदै बप्तिस्मा लिने महत्त्वपूर्ण कदम चाले।

थुप्रै युवाहरूले साँचो धर्म खोजिरहेका थिए। तिनीहरूको खोजको सिलसिलामा विभिन्‍न इभान्जेलिक समूहका पास्टरहरूसित छलफल भयो तर उल्टा झन्‌ गोलमाल र अलमल मात्र भयो। फलतः तिनीहरू जुनसुकै धर्मको विरोध गर्ने तथा गिज्याउने हुल्याहाहरू भए।

एक दिन, यहोवाको साक्षी, एक जना मिसनरी, बाइबल अध्ययन गर्न जाँदै गर्दा यी युवाहरू भएको ठाउँमा आए। त्यो समूह मिसनरीले केही प्रश्‍नहरूको जवाफ दिएको चाहन्थ्यो अनि मिसनरीलाई पछाडि चोकमा लगेपछि सानो स्टुलमा बस्न आग्रह गरे। त्यसपछि त प्राण, नरकको आगो, स्वर्गमा जीवन र संसारको अन्तजस्ता विषयहरूमा प्रश्‍नहरूको बाढी आउन थाल्यो। ती साक्षीले त्यस टोली नेताले सोधेका सबै प्रश्‍नको जवाफ बाइबलबाट दिए। एक घण्टापछि ल नाउँका नेताले उक्‍त मिसनरीलाई यसो भने: “हामीले तपाईंलाई प्रश्‍नहरूको जवाफ दिन बोलाउँदा हामीले अरू धर्मका मानिसहरूलाई गरेझैं तपाईंको पनि खिल्ली उडाउने हाम्रो मनसाय थियो। हामीलाई ती प्रश्‍नहरूको जवाफ कसैले दिन सक्दैन जस्तो लागेको थियो। तर तपाईंले दिनुभयो र त्यो पनि बाइबल मात्रै प्रयोग गरेर! मलाई भन्‍नुहोस्‌, म कसरी बाइबलबारे अझ बढी सिक्न सक्छु?” लसित बाइबल अध्ययन सुरु गरियो अनि तिनी चाँडै सभाहरूमा उपस्थित हुन थाले। त्यसको लगत्तै तिनले आफ्नो समूह छोडे अनि आफ्नो हिंसात्मक जीवन शैली त्यागे। एक वर्षभित्र तिनले यहोवालाई आफ्नो जीवन समर्पण गरे अनि बप्तिस्मा लिए। अहिले तिनी सहायक सेवकको हैसियतमा सेवारत छन्‌।

कानुनी रूपमा विवाह नगरी दम्पतीहरू सँगै बस्ने स्थानीय चलनले यहाँ एकदमै जरा गाडेको छ। त्यसरी थुप्रै दम्पतीहरू सँगै बसेको वर्षौं भइसक्यो अनि तिनीहरूका बच्चा पनि भइसकेका छन्‌। तिनीहरूलाई यस विषयमा परमेश्‍वरको दृष्टिकोण स्वीकार्न गाह्रो लाग्छ। परमेश्‍वरको वचनले एक जना व्यक्‍तिलाई यो अवरोध हटाउन कसरी मदत गऱ्‍यो भनी हेर्नु हृदयस्पर्शी छ।—२ कोरिन्थी १०:४-६; हिब्रू ४:१२.

आन्टोनियोले आफ्नो विवाहलाई कानुनन्‌ गर्नुपर्ने कुरा बुझे अनि मकै भाँचिसकेपछि विवाहको लागि पैसा जोरजाम गर्ने योजना बनाए। मकै भाँच्नुभन्दा ठ्याक्कै अघिल्लो रात, चोरहरू आएर तिनको बाली चोरे। तिनले अर्को वर्षको बाली पर्खने निर्णय गरे तर फेरि चोरी भयो। पुनः एक चोटि आफ्नो विवाहको लागि पैसा जोरजाम गर्ने प्रयास असफल हुँदा आन्टोनियोले आफ्नो वास्तविक विरोधी को हो भनी बुझे। “शैतानले अब उप्रान्त मसित खेलवाड गर्नेछैन,” तिनले भने। “अबको डेढ महिनामा हामी विवाह गर्नेछौं, भोज होस्‌ या नहोस्‌!” त्यस्तै भयो अनि तिनीहरूका साथीहरूले विवाह भोजको लागि कुखुरा, हाँस र बोकाको प्रबन्ध मिलाउँदा तिनीहरू छक्कै परे। तिनीहरूको विवाह दर्ता गरिसकेपछि आन्टोनियो, तिनकी पत्नी र छ जना छोराछोरी सबैले यहोवालाई आफ्नो समर्पणको प्रतीकात्मक रूप दिंदै बप्तिस्मा लिए।

प्रिन्सेप टापुतिर

साओ तोमेका क्षेत्रीय निरीक्षक तथा अग्रगामीहरूले हालैका वर्षहरूमा प्रिन्सेप टापुका ६,००० बासिन्दाहरूलाई बेला-बेलामा भेट्‌ने गरेका छन्‌। यो टापुका बासिन्दाहरू अत्यन्तै अतिथि सत्कार गर्ने स्वभावका अनि साक्षीहरूले बताउने कुरा सुन्‍न उत्सुक थिए। आफूकहाँ छोडेको एउटा पर्चा पढेपछि एक जना मानिसले भोलिपल्ट अग्रगामीहरूलाई खोज्न थाले अनि अझ बढी पर्चाहरू वितरण गर्न सहयोग गर्ने प्रस्ताव राखे। अग्रगामीहरूले यो तिनीहरू आफैले गर्नुपर्ने काम हो भनेर बुझाए तर तिनले घरधनीहरूलाई राम्ररी सुन्‍न सिफारिस गर्नको लागि घर-घरमा सँगै जान्छु भनेर जिद्दी गरे। यी मानिस बल्लबल्ल गए तर अग्रगामीहरूले गरिरहेको महत्त्वपूर्ण कामबारे अरूलाई भनेरै छोडे।

सन्‌ १९९८ मा साओ तोमेका दुई जना अग्रगामीहरू प्रिन्सेपमा बसाइँ सरे र तिनीहरूले चाँडै १७ वटा गृह बाइबल अध्ययन सञ्चालन गरिरहेका थिए। यो कामको विस्तार भइरह्‍यो अनि धेरै समय बित्न नपाउँदै मण्डली पुस्तक अध्ययनमा १६ जना उपस्थित हुन थाले र जनभाषणको लागि ३० जनाभन्दा बढी उपस्थित भए। सभा गर्ने ठाउँको आवश्‍यकताबारे नगरपालिकालाई अवगत गराइयो अनि खुसीको कुरा, राज्यभवन निर्माण गर्न जमिन दिइयो। साओ तोमेका भाइहरूले सानो राज्यभवन निर्माण गर्न स्वयंसेवा गरे र यहाँ दुई जना विशेष अग्रगामीको लागि आवासको पनि प्रबन्ध छ।

निस्सन्देह, यी दुर्गम टापुहरूमा सुसमाचारले निकै फल फलाइरहेको छ र वृद्धि भइरहेको छ। (कलस्सी १:५, ६) जनवरी १९९० मा साओ तोमे र प्रिन्सेपमा ४६ जना प्रकाशकहरू थिए। सन्‌ २००२ सेवा वर्षको दौडान ३८८ जना राज्य उद्‌घोषकहरूको शिखर संख्या पुग्यो! प्रकाशकहरूमध्ये २० प्रतिशतभन्दा बढी पूर्ण समय सेवकाईमा संलग्न छन्‌ र १,४०० वटा जति गृह बाइबल अध्ययन सञ्चालन हुँदैछन्‌। सन्‌ २००१ को स्मरणार्थमा अहिलेसम्मको शिखर संख्या १,९०७ को उपस्थिति थियो। हो, यी उष्ण प्रदेशीय टापुहरूमा यहोवाको वचन द्रुत गतिले अघि बढिरहेको छ र महिमित भइरहेको छ।—२ थिस्सलोनिकी ३:१.

[पृष्ठ १२-मा भएको पेटी/चित्र]

लोकप्रिय रेडियो प्रसारणहरू

यी टापुहरूमा असाध्यै मन पराइएको एउटा प्रकाशन, युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ हो। a प्रत्येक दुई हप्ताको एक चोटि, उक्‍त शीर्षक भएको १५ मिनेटको कार्यक्रम नेसनल रेडियोमा प्रसारण गरिन्छ। प्रसारकले यो प्रश्‍न गरेको सुन्‍न पाउँदा कस्तो रोमाञ्चकारी हुन्छ, “युवा जनहरू हो, तपाईंहरूले साँचो प्रेम हो वा मोह कसरी थाह पाउन सक्नुहुन्छ?” अनि त्यसपछि उक्‍त पुस्तकको एउटा अंश पढिन्छ! (अध्याय ३१ हेर्नुहोस्‌।) त्यस्तै प्रकारको अर्को प्रसारणले पारिवारिक आनन्दको रहस्य भन्‍ने पुस्तकबाट छानिएका भागहरू प्रस्तुत गर्छ।*

[फुटनोट]

a यहोवाका साक्षीहरूद्वारा प्रकाशित।

[पृष्ठ ९-मा भएको चित्र]

सन्‌ १९९४ मा साओ तोमेको पहिलो राज्यभवन

[पृष्ठ १०-मा भएका चित्रहरू]

१. मे-सोशेमा छिटो निर्माण गरिएको राज्यभवन

२. यस प्रेक्षालयमा ऐतिहासिक जिल्ला अधिवेशन सम्पन्‍न भयो

३. अधिवेशनमा बप्तिस्मा लिने खुसी उम्मेदवारहरू

[पृष्ठ ८-मा भएको चित्रको स्रोत]

Globe: Mountain High Maps® Copyright © 1997 Digital Wisdom, Inc.