सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

दिने मनोभाव खेती गर्नुहोस्‌

दिने मनोभाव खेती गर्नुहोस्‌

दिने मनोभाव खेती गर्नुहोस्‌

दिने मनोभाव लिएर कोही पनि जन्मदैन। एउटा बच्चामा आफ्नै इच्छा अनि आवश्‍यकताहरू पूरा गर्ने स्वाभाविक झुकाव हुन्छ र उसले आफ्नो लालनपालन गर्ने व्यक्‍तिको इच्छासमेत बुझेको हुँदैन। तथापि, पछि गएर त्यो बच्चाले अरूका पनि आवश्‍यकताहरू हुन्छन्‌ भनेर सिक्छ। उसले अरूका आवश्‍यकताहरूलाई बुझ्नै पर्छ र लिन मात्र होइन तर दिन अनि बाँडचुँड गर्न पनि सिक्नै पर्छ। हो, दिने मनोभाव खेती गर्नुपर्छ।

सबै दिने व्यक्‍तिहरूमा, अझ उदारता साथ दिने सबै व्यक्‍तिहरूमा समेत दिने मनोभाव हुँदैन। कसै-कसैले आफ्नो स्वार्थको लागि परोपकारी संस्थाहरूलाई दान दिन सक्छन्‌। अन्य कतिपयले चाहिं मानिसहरूको प्रंशसा बटुल्न अनुदान दिन सक्छन्‌। तथापि, दिने सन्दर्भमा साँचो मसीहीहरू अरू भन्दा बेग्लै छन्‌। त्यसोभए, परमेश्‍वरको वचनले प्रोत्साहित गरेको दिनुका विशेषताहरू के-के हुन्‌? प्रथम शताब्दीका मसीहीहरूले कसरी दिन्थे भन्‍ने कुरालाई छोटकरीमा विचार गर्दा यो प्रश्‍नको जवाफ पाउनेछौं।

दिने सन्दर्भमा मसीहीहरूले बसालेका उदाहरणहरू

बाइबलमा वर्णन गरिएअनुसार मसीहीहरूले दिनु भनेको साधारणतया साँच्चै खाँचोमा परेकाहरूलाई “आफूसँग भएका कुरा बाँडचुँड” गर्नु थियो। (हिब्रू १३:१६, नयाँ संशोधित संस्करण; रोमी १५:२६) करकापले दिनु हुँदैनथ्यो। प्रेरित पावलले यस्तो लेखे: “हरेक मानिसले आफ्नो मनमा अड़कले बमोजिम गरोस्‌, नता चित्त दुखाएर, न जरुरत भएकोले, किनभने खुशीसाथ दिनेलाई परमेश्‍वरले प्रेम गर्नुहुन्छ।” (२ कोरिन्थी ९:७) अरूलाई देखाउनको लागि पनि दिनु हुँदैनथ्यो। हननिया अनि सफीराले देखावटी गरे र त्यसको ठूलो मोल चुकाए।—प्रेरित ५:१-१०.

सा.यु. ३३ पेन्तिकोसको उत्सवको लागि धेरै यहूदी अनि धर्म परिवर्तन गरेर यहूदी भएकाहरू टाढा टाढाबाट यरूशलेममा भेला हुँदा दिनुपर्ने तड्‌कारो खाँचो देखियो। त्यति नै बेला येशूका चेलाहरू “पवित्र आत्माले भरिए, र . . . अरू भाषामा बोल्नलागे।” तिनीहरू वरिपरि ठूलो भीड जम्मा भयो अनि त्यस भीडले येशू ख्रीष्टबारे पत्रुसले दिएको जोसिलो भाषण सुने। पछि, मानिसहरूले पत्रुस र यूहन्‍नाले कसरी एउटा लँगडो मानिसलाई निको पारे भनी देख्नुका साथै पत्रुसले फेरि एक चोटि येशू अनि पश्‍चात्ताप गर्नुपर्ने आवश्‍यकताबारे बोलेको पनि तिनीहरूले सुने। हजारौंले पश्‍चात्ताप गरेर ख्रीष्टका चेलाहरूको हैसियतमा बप्तिस्मा लिए।—प्रेरित अध्याय २, र ३.

यसरी भर्खरै धर्म परिवर्तन गरेकाहरू यरूशलेममा बसेर येशूका चेलाहरूबाट अझ धेरै निर्देशन लिन चाहन्थे। तर प्रेरितहरूले कसरी ती सबै आगन्तुकहरूका आवश्‍यकताहरूको ख्याल राख्न सक्थे? बाइबल विवरण यसो भन्छ: “जत्ति जना जग्गा-जमीन कि घरका मालिक थिए, तिनीहरूले ती बेचेर बिक्रीको मोल ल्याउँथे, र प्रेरितहरूका चरणमा राखिदिन्थे, र जस जसलाई जे जे कुराको खाँचो पर्थ्यो, सो हरेकलाई बाँड़िदिन्थे।“ (प्रेरित ४:३३-३५) साँच्चै, भर्खरै स्थापना भएको यरूशलेमको मण्डलीसित दिने मनोभाव थियो!

पछि, अरू मण्डलीहरूले पनि यस्तै दिने मनोभाव देखाए। उदाहरणको लागि, म्यासिडोनियाली मसीहीहरू गरिब भए तापनि तिनीहरूले यहूदाका खाँचोमा परेका भाइहरूलाई आफ्नो औकातभन्दा बढ्‌ता दिए। (रोमी १५:२६; २ कोरिन्थी ८:१-७) पावलको सेवकाईमा सहयोग गर्न फिलिप्पी मण्डली निकै अगाडि थियो। (फिलिप्पी ४:१५, १६) यरूशलेमको मण्डली आफैले पनि खाँचोमा परेका विधवाहरूलाई नियमित रूपमा खाना वितरण गर्थ्यो अनि खाँचोमा परेका कोही पनि विधवाहरू नछुटुन्‌ भनेर निरीक्षणको लागि प्रेरितहरूले सात योग्य पुरुषहरू नियुक्‍त गरेका थिए।—प्रेरित ६:१-६.

भविष्यमा आउन सक्ने कठिनाइहरू विचार गर्दै पुरातन मसीही मण्डलीहरू तुरुन्तै जुटे। उदाहरणको लागि, अगमवक्‍ता अगाबसले ठूलो अनिकाल पर्न लागेको भविष्यवाणी गर्दा सिरिया एन्टिओकका मण्डलीमा हुने ती चेलाहरू “हरेकले आफ्ना आफ्ना औकातअनुसार यहूदियामा बस्ने भाइहरूका निम्ति सहायता पठाउने निश्‍चय गरे।” (प्रेरित ११:२८, २९) अरूको आवश्‍यकताहरूलाई पहिल्यै बुझ्ने सन्दर्भमा तिनीहरूले कस्तो असल मनोवृत्ति देखाए!

ती पुरातन मसीहीहरूलाई यति बिघ्न उदार अनि मायालु हुन कुन कुराले उत्प्रेरित गऱ्‍यो? वास्तवमा, कसरी एक जना व्यक्‍तिले दिने मनोभाव हासिल गर्छ? राजा दाऊदको उदाहरणलाई संक्षेपमा विचार गरेर हामी धेरै कुरा सिक्न सक्छौं?

साँचो उपासनाको लागि दाऊदको उदार सहयोग

लगभग ५०० वर्षसम्म करारको सन्दुक अर्थात्‌ यहोवाको उपस्थितिलाई प्रतिनिधित्व गर्ने पवित्र सन्दुक राख्ने कुनै स्थायी वासस्थान थिएन। यसलाई पाल अथवा सन्दुकभित्र राखिन्थ्यो र इस्राएलीहरू उजाडस्थान अनि त्यसपछि प्रतिज्ञा गरिएको भूमिमा भौंतारिंदा यसलाई एक ठाउँबाट अर्को ठाउँमा सार्ने गरिन्थ्यो। यहोवाको लागि एउटा उपयुक्‍त भवन बनाउने अनि त्यस पवित्र सन्दुकलाई पालबाट झिकेर त्यस भवनमा राख्ने राजा दाऊदको उत्कट इच्छा थियो। अगमवक्‍ता नातानसित कुरा गर्दै दाऊदले यसो भने: “मता यहाँ देवदारको घरमा बस्तैछु, तर परमप्रभुको करारको सन्दूक चाहिं पालमा राखिएको छ।”—१ इतिहास १७:१.

यद्यपि, दाऊद युद्धमा मुछिएका मानिस थिए। त्यसैकारण यहोवाले तिनका छोरा सुलेमानले शान्तिमय शासनको दौडान उक्‍त करारको सन्दुक राख्नको लागि मन्दिर बनाउनेछन्‌ भनी बताउनुभयो। (१ इतिहास २२:७-१०) यद्यपि, यस कुराले दाऊदको दिने मनोभावलाई रोकेन। एउटा विशाल निर्माण टोली गठन गर्दै तिनले त्यस मन्दिरको निर्माणमा प्रयोग गरिने सरसामानहरू उपलब्ध गराउने प्रबन्ध मिलाए। तिनले पछि सुलेमानलाई यसो भने: “मैले परमप्रभुको भवनको निम्ति एक लाख तोड़ा सुन, दश लाख तोड़ा चाँदी, बेहिसाब जोख्नै नसकिने गरी काँसा र फलाम जोहो गरिराखेको छु। काठ-पात र ढुङ्‌गा पनि तयार गरिराखेको छु।” (१ इतिहास २२:१४) त्यतिमा चित्त नबुझाई दाऊदले आफ्नो निजी ढुकुटीबाट हाल १,२०,००,००,००० अमेरिकी डलरभन्दा बढी मूल्यको सुन र चाँदी दान दिए। यसको अतिरिक्‍त, कुल नायकहरूले पनि उदारतापूर्वक दिए। (१ इतिहास २९:३-९) निस्सन्देह, दाऊदले उदारतासाथ दिने मनोभाव देखाए!

दाऊदलाई कुन कुराले यसरी उदारतासाथ दिन उत्प्रेरित गऱ्‍यो? तिनले आफूले प्राप्त गरेका सबै थोक अनि उपलब्धिहरूलाई यहोवाको आशिष्‌को उपज ठाने। तिनले प्रार्थनामा यसरी स्वीकारे: “हे परमप्रभु हाम्रा परमेश्‍वर, तपाईंको पवित्र नाउँको सम्मानको निम्ति भवन बनाउन जम्मा गरेका यी सबै धन तपाईंबाटनै आउँछन्‌, औ यी सबै तपाईंकै हुन्‌। हे मेरा परमेश्‍वर, म जान्दछु कि तपाईं हृदयको जाँच गर्नुहुन्छ। मनको सोझोपनादेखि तपाईं खुशी हुनुहुन्छ। साँचो हृदयले मैले राजी-खुशीसित यी सबै दान तपाईंमा टक्राएको हुँ। औ यहाँ उपस्थित भएका तपाईंको प्रजाले राजी-खुशीसित टक्राएको देख्ता अब मलाई आनन्द लागेको छ।” (१ इतिहास २९:१६, १७) दाऊदले यहोवासितको आफ्नो सम्बन्धलाई बहुमूल्य ठाने। तिनले “सारा हृदय र इच्छुक मनले” परमेश्‍वरको सेवा गर्नुपर्ने आवश्‍यकतालाई बुझे र यसो गर्दा तिनले आनन्द पाए। (१ इतिहास २८:९) यिनै गुणहरूले पुरातन मसीहीहरूलाई पनि दिने मनोभाव देखाउन उत्प्रेरित गऱ्‍यो।

यहोवा —सबैभन्दा महान्‌ दाता

हामी दिने सन्दर्भमा उत्कृष्ट उदाहरण यहोवामा पाउँछौं। उहाँ यति मायालु र ख्याल राख्ने हुनुहुन्छ कि “उहाँले दुष्ट र सज्जन दुवैका निम्ति घाम लगाइदिनुहुन्छ, र धर्मी र पापी दुवैमाथि वृष्टि दिनुहुन्छ।” (मत्ती ५:४५) उहाँ सबै मानवजातिलाई “जीवन, सास र सबै चीज” दिनुहुन्छ। (प्रेरित १७:२५) वास्तवमा, चेला याकूबले औंल्याएझैं “हरेक असल दान र हरेक उत्तम वरदान माथिबाटकै हो, र ज्योतिका पिताबाट आउँछ।”—याकूब १:१७.

यहोवाले “उहाँमाथि विश्‍वास गर्ने प्रत्येक नाश नहोस्‌, तर त्यसले अनन्त जीवन पाओस्‌” भनी “आफ्ना एकमात्र पुत्रलाई” पठाउनु नै हामीलाई दिनुभएको सर्वोत्कृष्ट वरदान हो। (यूहन्‍ना ३:१६) यो वरदानलाई कसैले पनि आफ्नो हक भनी दाबी गर्न सक्दैन, “किनभने सबैले पाप गरेका छन्‌, र परमेश्‍वरको महिमारहित हुनगएका छन्‌।” (रोमी ३:२३, २४; १ यूहन्‍ना ४:९, १०) “परमेश्‍वरको असीम अनुग्रह” रूपी “बयान गरी नसक्ने वरदान[को]” आधार र माध्यम ख्रीष्टको छुडौती हो। (२ कोरिन्थी ९:१४, १५) परमेश्‍वरको वरदानको कदर गर्दै पावलले “परमेश्‍वरको अनुग्रहको सुसमाचारको साक्षी” दिने कामलाई आफ्नो जीवनको मुख्य काम बनाए। (प्रेरित २०:२४) “सबै मानिसहरूले उद्धार पाऊन्‌ र तिनीहरू सत्यको ज्ञानमा आऊन्‌ भन्‍ने” परमेश्‍वरको इच्छा भएको कुरा उनले बुझे।—१ तिमोथी २:४.

आज, बृहत्‌ प्रचार अनि शिक्षण कार्यद्वारा परमेश्‍वरको यो इच्छापूरा गरिन्छ र हाल विश्‍वव्यापी रूपमा २३४ भन्दा बढी मुलुकहरूमा यस कार्यको विस्तार भएको छ। येशूले यसो भन्दै यस विस्तारबारे भविष्यवाणी गर्नुभयो: “औ राज्यको यो सुसमाचार सारा संसारमा सब जातिहरूलाई साक्षीको निम्ति प्रचार गरिनेछ, त्यसपछि अन्त हुनेछ।” (मत्ती २४:१४) हो, “पहिला सबै जातिहरूलाई सुसमाचार प्रचार गरेको हुनुपर्छ।” (मर्कूस १३:१०) गत साल यस कार्यको लागि साठी लाखभन्दा धेरै सुसमाचारका राज्य उद्‌घोषकहरूले १,२०,२३,८१,३०२ घण्टा बिताए अनि ५३,००,००० बाइबल अध्ययनहरू सञ्चालन गरे। जीवन मुछिएको हुनाले यी जानकारीहरू अत्यन्तै महत्त्वपूर्ण छन्‌।—रोमी १०:१३-१५; १ कोरिन्थी १:२१.

बाइबल सत्यका लागि भोकाएकाहरूलाई मदत गर्न हरेक वर्ष बाइबल, पुस्तक अनि पुस्तिकाहरूजस्ता लाखौं प्रकाशनहरू छापिन्छन्‌। यसको अतिरिक्‍त, प्रहरीधरहरा अनि ब्यूँझनुहोस्‌!-का करोडौं प्रतिहरू उत्पादन गरिन्छ। मानिसहरूले सुसमाचार सुन्दै जाँदा यहोवाका साक्षीहरूका बढी भन्दा बढी राज्यभवन तथा सम्मेलनभवनहरू निर्माण गरिन्छन्‌ जुन बाइबल जानकारीका केन्द्रहरू हुन्‌। हरेक वर्ष क्षेत्रीय सम्मेलनलगायत विशेष सम्मेलन अनि जिल्ला अधिवेशनहरू आयोजना गरिन्छन्‌। मिसनरी, परिभ्रमण निरीक्षक, प्राचीन अनि सेवकाई सेवकहरूका प्रशिक्षण पनि निरन्तर चलिरहन्छ। “विश्‍वासी र बुद्धिमान दास[मार्फत]” यस्ता प्रबन्धहरू आयोजना गरिदिनुभएकोमा हामी यहोवाप्रति कृतज्ञ छौं। (मत्ती २४:४५-४७) हामी साँच्चै उहाँलाई आफ्नो कृतज्ञता व्यक्‍त गर्न चाहन्छौं!

यहोवाप्रति कृतज्ञता देखाउने

मन्दिरको निर्माण र पुरातन मसीही मण्डलीहरूका खाँचोहरू पूरा गरिएझैं यी सबै कामहरूका लागि अर्थको व्यवस्था पूर्णतः स्वेच्छाले दिएको अनुदानद्वारा गरिन्छ। तथापि, सबै कुराका मालिक यहोवालाई कसैले धनी तुल्याउन सक्दैन भन्‍ने कुरालाई कहिल्यै बिर्सनु हुँदैन। (१ इतिहास २९:१४; हाग्गै २:८) त्यसोभए, अनुदान यहोवाप्रतिको हाम्रो प्रेम अनि साँचो उपासनालाई अघि बढाउने हाम्रो इच्छाको प्रमाण हो। प्रेरित पावलले भनेझैं, उदारताको यस अभिव्यक्‍तिले “परमेश्‍वरलाई धन्यवाद चढ़ाउने काम” गर्छ। (२ कोरिन्थी ९:८-१३) यहोवा यसरी दिन प्रोत्साहित गर्नुहुन्छ किनकि यसले हाम्रो दिने मनोभाव छ अनि हाम्रो हृदय उहाँप्रतिको प्रेमले ओतप्रोत छ भन्‍ने कुरा देखाउँछ। उदार अनि यहोवामा भरोसा गर्नेहरूलाई उहाँले आशिष्‌ दिनुहुन्छ अनि आध्यात्मिक तवरमा तिनीहरूको उन्‍नति गराउनुहुनेछ। (व्यवस्था ११:१३-१५; हितोपदेश ३:९, १०; ११:२५) येशूले आनन्द प्राप्त गर्ने स्रोतबारे यस्तो आश्‍वासन दिनुभयो: “लिनुभन्दा दिनु अझ असल हो।”—प्रेरित २०:३५.

दिने मनोभाव हुने मसीहीहरू आवश्‍यकता पर्ने समय नआउन्जेल पर्खेर बस्दैनन्‌। बरु, तिनीहरू “सबै मानिसतर्फ, खास गरेर विश्‍वासका घरानातर्फ, भलाइको काम” गर्ने मौका खोजी गर्छन्‌। (गलाती ६:१०) ईश्‍वरीय उदारतालाई प्रोत्साहित गर्दै पावलले यस्तो लेखे: “तर भलाइ गर्न र सहयोगी हुन नबिर्स, किनकि यस्तै बलिदानहरूमा परमेश्‍वर प्रसन्‍न हुनुहुन्छ।” (हिब्रू १३:१६) अरूलाई मदत गर्न अनि शुद्ध उपासनालाई अघि बढाउन समय, शक्‍ति, रुपियाँ-पैसा जस्ता आफ्ना सर-सम्पत्तिहरूको प्रयोग गर्दा यहोवा अत्यन्तै खुसी हुनुहुन्छ। साँच्चै, उहाँ दिने मनोभावलाई रुचाउनुहुन्छ।

[पृष्ठ २८, २९-मा भएको पेटी/चित्र]

केही व्यक्‍तिहरूले स्वेच्छासाथ दिने तरिकाहरू

विश्‍वव्यापी कार्यका लागि अनुदान

“सोसाइटीको विश्‍वव्यापी कार्यका लागि अनुदान—मत्ती २४:१४” लेखिएको बाकसमा चन्दा दिन धेरैजसोले केही पैसा वा बजेट छुट्याउँछन्‌।

हरेक महिना मण्डलीहरूले यो धनराशि आ-आफ्नो देशमा रहेका यहोवाका साक्षीहरूको कार्यालयमा पठाउँछन्‌। स्वेच्छापूर्वक चन्दा दिइएको रुपैयाँ-पैसा सीधै यस्ता कार्यालयहरूमा पठाउन पनि सकिन्छ। शाखा कार्यालयका ठेगानाहरू यस पत्रिकाको पृष्ठ २ मा पाउन सकिन्छ। चेक “वाच टावर” को नाउँमा भुक्‍तान गरिनुपर्छ। गरगहना तथा अन्य बहुमूल्य वस्तुहरू पनि चन्दा दिन सकिन्छ। यस्ता चन्दाहरू पठाउँदा स्पष्टसित त्यो पैसा वा वस्तु पूर्णतया दान हो भनेर छोटो पत्र पनि पठाउनुपर्छ।

ससर्त-अनुदान प्रबन्ध

कुनै-कुनै देशमा विशेष प्रबन्धअन्तर्गत रकम अनुदान दिन सकिन्छ र यो प्रबन्ध अनुरूप दाताको अनुरोधमा पछि तिनलाई उक्‍त अनुदान फिर्ता दिन सकिन्छ। थप जानकारीको लागि कृपया माथि दिइएको ठेगानामा अफिस अफ द सेक्रेटरी एण्ड ट्रेजर्रमा सम्पर्क राख्नुहोस्‌।

परोपकारी योजना

पूर्ण दान र सर्तनामा चन्दाबाहेक विश्‍वव्यापी राज्यसेवामा टेवा पुऱ्‍याउन दान दिन मिल्ने अन्य केही तरिकाहरू पनि छन्‌, तर यो तपाईं बस्नुहुने देशमा निर्भर हुन्छ। ती हुन्‌:

बिमा: वाच टावर सोसाइटीलाई जीवन बिमा वा अवकाश/पेन्सन बिमाको हकदार बनाउन सकिन्छ।

बैंक खाता: बैंक खाता, निक्षेप प्रमाण-पत्र वा व्यक्‍तिगत अवकाश खातालाई स्थानीय बैंकका नियमहरूअनुसार वाच टावर सोसाइटीलाई सुम्पिन वा शेषपछि हस्तान्तरण गर्न सकिन्छ।

ऋणपत्र तथा बन्ड: ऋणपत्र तथा बन्डहरू वाच टावर सोसाइटीलाई पूर्णतया उपहारको रूपमा चन्दा दिन सकिन्छ।

घर, जग्गाजमिन: बिक्री गर्न मिल्ने जग्गाजमिन पूर्णतया दानको रूपमा दिन सकिन्छ वा, आवासीय सम्पत्तिको सन्दर्भमा चन्दादाता बाँचुन्जेल प्रयोग गर्न पाउने प्रबन्ध मिलाएर दिन सकिन्छ। सोसाइटीलाई कुनै घर, जग्गाजमिन दिनुअघि तपाईंको देशमा भएको शाखा कार्यालयसित सम्पर्क राख्नुपर्छ।

वार्षिक भत्ता पाउने गरी दिइने दान: यो एउटा यस्तो प्रबन्ध हो जसअन्तर्गत कुनै व्यक्‍तिले रकम अथवा जायजेथा वाच टावर सोसाइटीको नाउँमा नामसारी गर्छन्‌। त्यसको बदलामा दाता अथवा दाताले नियुक्‍त गरेको व्यक्‍तिले बाँचुन्जेल हरेक वर्ष निश्‍चित वार्षिक भत्ता पाउँछ। वार्षिक भत्ता पाउने गरी दिइने दानको प्रबन्ध स्थापना गरेको वर्षमा दाताले तिर्नुपर्ने आयकरमा केही छूट पाउँछ।

वसियतनामा तथा कोश: जायजेथा वा पैसा कानुनी वसियतनामाद्वारा वाच टावर सोसाइटीलाई हस्तान्तरण गर्न सकिन्छ अथवा वाच टावर सोसाइटीलाई कोशको हकदार बनाउन सकिन्छ। धार्मिक संगठनलाई टेवा पुऱ्‍याउने कोशलाई निश्‍चित कर छूट हुन सक्छ।

“परोपकारी योजना” भन्‍ने अभिव्यक्‍तिले यस प्रकारका अनुदानहरूको लागि दाताले केही योजना बनाउनु आवश्‍यक पर्छ भन्‍ने कुरा स्वतः स्पष्ट हुन्छ। परोपकारी योजनाका केही तरिकाहरूद्वारा यहोवाका साक्षीहरूको विश्‍वव्यापी कार्यलाई टेवा पुऱ्‍याउने इच्छा भएका व्यक्‍तिहरूलाई मदत गर्न अंग्रेजी र स्पेनिस भाषामा च्यारिटिबल प्लानिङ्‌ग टु बेनिफिट किङ्‌डम सर्भिस वर्ल्डवाइड शीर्षकको एउटा पुस्तिका तयार पारिएको छ। दान, वसियतनामा, र कोशबारे उठेका धेरै प्रश्‍नहरूको जवाफ दिन यो पुस्तिका तयार पारिएको हो। यसमा जायजेथा, वित्तीय र कर योजनाबारे थप उपयोगी जानकारीहरू पनि छन्‌। यसले कुनै व्यक्‍तिले आफू जीवित छँदा वा आफ्नो शेषपछि कसरी विभिन्‍न तरिकाहरूद्वारा दान दिन सकिन्छ भनी बताउँछ। यो पुस्तिका पढेर अनि आफ्ना कानुनी वा कर सल्लाहकार र परोपकारी योजना कार्यालयसित परामर्श गरिसकेपछि धेरैले विश्‍वभर रहेका यहोवाका साक्षीहरूलाई मदत गर्न सकेका छन्‌, साथै यसो गर्दा तिनीहरूले धेरै मात्रामा करमा छूट पनि पाएका छन्‌।

थप जानकारीको लागि तपाईंले पत्राचार अथवा टेलिफोनद्वारा तल दिइएको ठेगाना अथवा आफ्नो देशमा रहेको यहोवाका साक्षीहरूको कार्यालयमा सम्पर्क राख्न सक्नुहुन्छ

Jehovah’s Witnesses of India,

Post Box 6440,

Yelahanka,

Bangalore 560 064,

Karnataka.

Telephone: (080) 8468072

[पृष्ठ २६-मा भएको चित्र]

पुरातन मसीहीहरूलाई कुन कुराले उदार हुन उत्प्रेरित गऱ्‍यो?