सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाल्यकालदेखि नै यहोवाद्वारा सिकाइएको

बाल्यकालदेखि नै यहोवाद्वारा सिकाइएको

जीवनी

बाल्यकालदेखि नै यहोवाद्वारा सिकाइएको

रिचार्ड अब्रहामसनको वृत्तान्तमा आधारित

“हे परमेश्‍वर, बाल्यकालदेखिनै तपाईंले मलाई शिक्षा दिनुभएको छ, र अहिलेसम्म पनि तपाईंको उदेकको कार्यहरू मैले घोषणा गरेको छु।” भजन ७१:१७ का ती शब्दहरू मेरो लागि किन विशेष अर्थपूर्ण थियो म तपाईंहरूलाई बताउन चाहन्छु।

सन्‌ १९२४ मा मेरी आमा फेनी अब्रहामसनको भेट त्यतिबेला बाइबल स्टुडेन्ट्‌स भनेर चिनिने यहोवाका साक्षीहरूसित भयो। त्यसबेला म एक वर्षको मात्र थिएँ। मेरी आमाले बाइबल सत्य सिक्दै गर्दा, उहाँ आफ्ना छिमेकीहरूकहाँ गएर आफूले सिकेका कुराहरू सुनाउनुहुन्थ्यो र उहाँले मलाई अनि मेरो दाइ र दिदीलाई पनि बाइबल सत्य सिकाउनुभयो। पढ्‌न सक्ने हुनुभन्दा अघि नै उहाँले मलाई परमेश्‍वरको राज्यका आशिष्‌हरूसित सम्बन्धित शास्त्रपदहरू कण्ठ गर्न मदत गर्नुभएको थियो।

सन्‌ १९२० दशकको अन्ततिर, म जन्मेको र हुर्केको राज्य अरिगन, संयुक्‍त राज्य अमेरिकाको लि ग्रान्ड भन्‍ने ठाउँमा हाम्रो बाइबल स्टुडेन्ट्‌सको समूहमा केही स्त्री तथा केटाकेटीहरू मात्र थिए। हामी पृथक्‌ समूहमा भए तापनि वर्षको एक वा दुई चोटि पिलग्रीम्स भनेर चिनिने परिभ्रमण सेवकहरू हामीकहाँ भ्रमणको निम्ति आउने गर्थे। यी भाइहरूले प्रोत्साहनदायी भाषणहरू दिन्थे, हामीसँगै घर-घरको सेवकाईमा जान्थे र केटाकेटीप्रति दयालु चासो देखाउँथे। ती प्रिय भाइहरूमध्ये केही शिल्ड टटजीन, जिन अरेल र जोन बुथ थिए।

सन्‌ १९३१ मा कोलम्बस, ओहायोमा आयोजित अधिवेशनमा हाम्रो समूहबाट कोही पनि उपस्थित हुन सकेनन्‌। त्यस अधिवेशनमा बाइबल स्टुडेन्स्‌ले यहोवाका साक्षीहरू भन्‍ने नाउँ ग्रहण गरेका थिए। तर अधिवेशनमा उपस्थित हुन नसकेका त्यसबेला कम्पनी भनेर चिनिने मण्डलीहरू र पृथक्‌ समूहहरूलाई उक्‍त नाउँ ग्रहण गर्ने प्रस्तावना स्वीकार्न त्यही अगस्त महिनामा स्थानीय तवरमा भेट्‌ने प्रबन्ध मिलाइयो। लि ग्रान्डमा भएको हाम्रो सानो समूहले पनि त्यो प्रस्तावना स्वीकाऱ्‍यो। त्यसपछि, सन्‌ १९३३ मा द क्राइसिस भन्‍ने पुस्तिका वितरण गर्ने अभियानको दौडान मैले एउटा बाइबल प्रस्तुति कण्ठ गरें र पहिलो चोटि एक्लै घर-घरको प्रचारमा गएँ।

सन्‌ १९३० दशकको दौडान, हाम्रो कामको तीव्र विरोध भइरहेको थियो। यसको सामना गर्न कम्पनीहरूलाई समूह-समूहमा विभाजन गरियो। यी समूहहरूले स-साना सम्मेलनहरू आयोजना गर्थे र वर्षको एक वा दुई चोटि समूह अभियान भनेर चिनिने प्रचारकार्यमा सहभागी हुन्थे। यी अधिवेशनहरूमा हामीलाई प्रचार गर्ने तरिकाहरूका साथै अवरोध पुऱ्‍याउने प्रहरीहरूसित कसरी आदरपूर्वक व्यवहार गर्ने भनी सिकाइयो। साक्षीहरूलाई अक्सर प्रहरी न्यायाधीशकहाँ वा सामान्य अदालतमा लगिने हुँदा, अर्डर अफ ट्राइल भन्‍ने निर्देशन सिटबाट लिइएको विषयवस्तु हामी पूर्वभ्यास गर्ने गर्थ्यौं। यसले हामीलाई विरोधको सामना गर्न सुसज्जित बनायो।

बाइबल सत्यमा प्रारम्भिक वृद्धि

बाइबल सत्य र परमेश्‍वरको स्वर्गीय राज्यअन्तर्गत पृथ्वीमा सधैंभरि बाँच्ने बाइबल आधारित आशा मैले अझ राम्ररी बुझ्दै गइरहेको थिएँ। त्यतिबेला, ख्रीष्टसँगै स्वर्गमा शासन गर्ने आशा नभएकाहरूलाई बप्तिस्मा लिन त्यति जोड दिइँदैनथ्यो। (प्रकाश ५:१०; १४:१, ३) तथापि, यदि मैले आफ्नो मनमा यहोवाको इच्छा गर्ने अठोट गरिसकेको छु भने बप्तिस्मा लिनु उपयुक्‍त हुनेछ भनेर मलाई भनियो। त्यसै अनुरूप मैले सन्‌ १९३३ मा बप्तिस्मा लिएँ।

म १२ वर्षको छँदा, जनसमक्ष बोल्ने सन्दर्भमा मैले राम्रो प्रगति गरिरहेको छु भन्‍ने मेरी शिक्षिकालाई लागेछ, त्यसैकारण उहाँले मेरो लागि थप प्रशिक्षणको प्रबन्ध मिलाउन आमालाई अनुरोध गर्नुभयो। यसले मलाई यहोवाको सेवा अझ राम्रोसित गर्न मदत पुऱ्‍याउन सक्छ भन्‍ने आमाले सोच्नुभयो। त्यसैकारण मेरो पढाइको लागि आमाले मेरो शिक्षकको घरमा एक वर्षसम्म लुगा धुने काम गर्नुभयो। त्यो प्रशिक्षण मेरो सेवकाईमा एकदमै मदतकारी साबित भयो। म १४ वर्षको छँदा, मलाई बाथ-ज्वरोले अशक्‍त पाऱ्‍यो, जसले गर्दा म एक वर्षभन्दा बढीजस्तो त स्कूलै जान सकिनँ।

सन्‌ १९३९ मा वारेन हेन्सेल भन्‍ने पूर्ण-समय सेवक हाम्रो इलाकामा आउनुभयो। a आध्यात्मिक अर्थमा भन्‍ने हो भने, तिनी मभन्दा निकै पाका भाइ थिए र धेरै दिनसम्म मलाई क्षेत्र सेवकाईमा लैजान्थे। चाँडै तिनले मलाई छुट्टीको बेला अस्थायी किसिमको पूर्ण-समय सेवकाई, अग्रगामी सेवा सुरु गर्न मदत गरे। त्यसै ग्रीष्म-ऋतुमा हाम्रो समूह एउटा कम्पनीको रूपमा गठन भयो। वारेन कम्पनी सेवक नियुक्‍त भए भने, मचाहिं प्रहरीधरहरा अध्ययन सञ्चालक नियुक्‍त भएँ। वारेन न्यु योर्क, ब्रूक्लिनस्थित यहोवाका साक्षीहरूको अन्तरराष्ट्रिय मुख्यालय, बेथेलमा सेवा गर्न गएपछि म कम्पनी सेवक भएँ।

पूर्ण-समय सेवकाई सुरु गर्दै

कम्पनी सेवकको हैसियतमा सेवा गर्दा आइपरेका बढ्‌दो जिम्मेवारीहरूले नियमित पूर्ण-समय सेवकाईमा प्रवेश गर्ने मेरो इच्छालाई अझ सबल बनायो र उच्च माध्यामिक विद्यालयमा तेस्रो वर्ष पूरा गरिसकेपछि १७ वर्षको उमेरमा मैले त्यसै गरें। बुबा अर्कै धर्म मान्‍नुहुन्थ्यो तर उहाँले परिवारको पालनपोषण भने एकदमै राम्रोसित गर्नुहुन्थ्यो र उहाँ एक जना उच्च सिद्धान्तहरू भएको व्यक्‍ति हुनुहुन्थ्यो। उहाँ म कलेज गएको चाहनुहुन्थ्यो। यद्यपि, खान र बस्नको लागि बुबामा भर नपरेसम्म म आफूले छानेको कुनै पनि कुरा गर्न सक्छु भनेर बुबा भन्‍ने गर्नुहुन्थ्यो। त्यसैकारण मैले सेप्टेम्बर १, १९४० मा अग्रगामी गर्न थालें।

घरबाट हिंड्‌ने बेलामा मेरी आमाले मलाई हितोपदेश ३:५, ६ पढ्‌न लगाउनुभएको थियो: “तेरो सारा भरोसा परमेश्‍वरमा राख्‌, र तेरो आफ्नै समझ-शक्‍तिमा भरोसा नगर्‌। आफ्नो सबै चालमा उहाँलाई सम्झी र उहाँले तेरा बाटोहरू सुगम तुल्याइदिनुहुनेछ।” अनि सधैं यहोवामै पूर्णतया भर पर्दा मलाई साँच्चै निकै ठूलो मदत मिलेको छ।

चाँडै, मैले उत्तर-मध्य वासिङ्‌टन राज्यमा जो र मार्गारेट हार्टसित सेवकाईमा भाग लिएँ। इलाका एकदमै विविध थियो—गाईवस्तु पाल्ने ठाउँ, भेडा पाल्ने ठाउँ, अमेरिकन आदिवासीहरू बसोबास गर्ने ठाउँका साथसाथै थुप्रै स-साना नगर तथा गाउँहरू। सन्‌ १९४१ को वसन्त-ऋतुमा वासिङ्‌टनस्थित विनाट्‌चीको मण्डलीमा मलाई कम्पनी सेवकको रूपमा खटाइयो।

वाला वाला, वासिङ्‌टनमा सम्पन्‍न एउटा सम्मेलनमा हलभित्र पस्ने जतिलाई स्वागत गर्दै मैले परिचारकको काम गरें। त्यति नै बेला, एक जना जवान भाइले सकी नसकी बिग्रेको लाउड-स्पिकर बनाउने कोसिस गरिरहेको मैले देखें। त्यसैकारण मैले तिनलाई मेरो काम गर्न र तिनको चाहिं मैले गरिदिने सुझाव दिएँ। जब प्रान्तीय सेवक, अलबर्ट होफम्यान आउनुभयो र मैले आफ्नो असाइनमेन्ट छोडेर अन्तै गएको देख्नुभयो, तब मित्रैलो मुस्कानमा उहाँले मलाई अन्यत्र नखटाएसम्म आफ्नो असाइनमेन्टमै लागिरहनुको महत्त्वबारे राम्रोसित सम्झाउनुभयो। उहाँले दिनुभएको त्यो सल्लाह मैले अहिलेसम्म पनि बिर्सेको छैन।

सन्‌ १९४१ अगस्तमा यहोवाका साक्षीहरूले सेन्ट लुइस मिसोरीमा विशाल अधिवेशन आयोजना गर्ने योजना मिलाए। हार्ट दम्पतीले आफ्नो पिकअप ट्रकको पछिल्तिरको भागलाई छोपछाप गरेर बेन्चहरू राखे। हामी नौ जना अग्रगामीहरूले त्यसै ट्रकमा बसेर सेन्ट लुइसको २४०० किलोमिटर लामो यात्रा गऱ्‍यौं। एकतर्फी यात्रा गर्न मात्रै एक हप्ताजस्तो लाग्यो। अधिवेशनमा एक जना प्रहरीले शिखर उपस्थिति, १,१५,००० पुगेको अनुमान गरे। सम्भवतः उपस्थिति संख्या त्योभन्दा कमै भए तापनि त्यतिखेर संयुक्‍त राज्य अमेरिकाका लगभग ६५,००० साक्षीहरूभन्दा भने पक्कै बढी थियो। अधिवेशन आध्यात्मिक तवरमा साँच्चै उत्थानदायी थियो।

ब्रूक्लिन बेथेलमा सेवा

विनाट्‌ची फर्केपछि मैले ब्रूक्लिन बेथेलमा आउनू भनिएको पत्र प्राप्त गरें। सन्‌ १९४१, अक्टोबर २७ मा म बेथेल आइपुगेपछि मलाई छापाखानाका निरीक्षक नेथन एच. नोरको कार्यालयमा लगियो। उहाँले मलाई बेथेल भनेको के हो भन्‍ने कुरा दयालुपूर्वक सविस्तार बताउनुभयो र त्यहाँ सेवा गरेर जीवन सफल बनाउन यहोवासितको घनिष्ठ सम्बन्ध अत्यावश्‍यक छ भनेर जोड दिनुभयो। त्यसपछि मलाई ढुवानी विभागमा लगियो र ढुवानीको लागि साहित्य बाकसहरू बाँध्ने काम दिइयो।

सन्‌ १९४२, जनवरी ८ मा यहोवाका साक्षीहरूको विश्‍वव्यापी कार्यमा नेतृत्व लिइरहेका भाइ जोसेफ रदरफोर्डको मृत्यु भयो। त्यसको पाँच दिनपछि सोसाइटीका निर्देशकहरूले भाइ नोरलाई उहाँको उत्तराधिकारी चयन गरे। लामो समयदेखि सोसाइटीको कोषाध्यक्षको रूपमा सेवा गर्दै आएका डब्लु. ई. भान एमबर्गले यसबारे बेथेल परिवारलाई घोषणा गर्दा यसो भन्‍नुभयो: “[सन्‌ १९१६ मा] सि. टी. रसलको मृत्युपछि जे. एफ. रदरफोर्ड नियुक्‍त भएको मलाई अझै पनि सम्झना छ। प्रभुले आफ्नो क्रियाकलापलाई डोऱ्‍याइ प्रदान गर्न तथा फलिफाप गराउन छोड्‌नुभएन। अब पनि मलाई पूर्ण आशा छ कि नेथन एच. नोरको अध्यक्षतामा कामकुरा सुचारु रूपले अघि बढ्‌नेछ किनभने यो प्रभुको काम हो, मानिसको होइन।”

सन्‌ १९४२ फेब्रुअरीमा, “एड्‌भान्स कोर्स इन थियोक्राटिक मिनिस्ट्री” सुरु हुनेछ भनेर घोषणा गरियो। यो, बेथेलमा भएकाहरूलाई बाइबल विषयहरूमा अनुसन्धान गर्न, आफ्नो विषयवस्तु ठीकसँग व्यवस्थित गरेर यसलाई प्रभावकारी ढंगमा प्रस्तुत गर्न प्रशिक्षण दिनको लागि तयार पारिएको थियो। जनसमक्ष बोल्ने सन्दर्भमा पहिला पनि प्रशिक्षण पाइसकेको हुँदा मैले यस कार्यक्रममा छिट-छिटो प्रगति गर्न सकें।

धेरै समय नबित्दै मलाई सेवा विभागमा खटाइयो, जुन विभागले संयुक्‍त राज्य अमेरिकामा साक्षीहरूको सेवकाईको रेखदेख गर्थ्यो। पछि त्यसै वर्ष, साक्षीहरूका कम्पनीहरूको भ्रमण गर्न सेवकहरूको प्रबन्ध गर्ने कार्यक्रम पुनःस्थार्पना गर्ने निर्णय भयो। समयको अन्तरालमा, भाइहरूका दास भनिने यी परिभ्रमण सेवकहरूलाई क्षेत्रीय निरीक्षकहरू भनियो। सन्‌ १९४२ को ग्रीष्म-ऋतुमा यस किसिमको सेवकाईका लागि भाइहरूलाई प्रशिक्षण दिन बेथेलमा एउटा कोर्सको प्रबन्ध मिलाइयो। अनि त्यस प्रशिक्षणमा मैले पनि भाग लिने सुअवसर पाएँ। प्रशिक्षकहरूमध्ये एक जना भाइ नोरले हामीलाई विशेष गरी यस बुँदामा जोड दिनुभएको यो कुरा मलाई याद आउँछ: “मानिसलाई खुसी पार्ने कोसिस नगर्नुहोस्‌। तपाईंहरूले आखिर कसैलाई पनि खुसी पार्न सक्नुहुन्‍न। यहोवालाई खुसी पार्नुहोस्‌ र यहोवालाई प्रेम गर्नेहरू सबैलाई तपाईंहरूले खुसी पार्नुहुनेछ।”

सन्‌ १९४२ अक्टोबरमा परिभ्रमण कार्य सुरु गरियो। बेथेलमा भएका हामीहरूमध्ये कसै-कसैले कुनै-कुनै सप्ताहन्तमा न्यु योर्क शहरको ४०० किलोमिटरभित्र पर्ने मण्डलीहरूको भ्रमण गरेर यसमा भाग लियौं। हामीले मण्डलीको प्रचार गतिविधि र सभामा उपस्थिति संख्याको पुनरावलोकन गरेर हेऱ्‍यौं, मण्डलीका जिम्मेवारीहरू सम्हालिरहेकाहरूसित सभा गऱ्‍यौं, एक दुईवटा भाषण दियौं र स्थानीय साक्षीहरूसित सेवकाईमा सँगै काम गऱ्‍यौं।

सन्‌ १९४४ मा, सेवा विभागबाट छ महिनाको लागि परिभ्रमण कार्यको लागि पठाइएकाहरूमध्ये म पनि एक थिएँ र मैले डेलावेयर, मेरील्याण्ड, पेन्सलभेनिया र भर्जिनियामा सेवा गरें। पछि, केही महिनाको लागि मैले कनेटिकट, म्यासाचुसेट्‌स र रोड आइलण्डका मण्डलीहरूको भ्रमण गरें। बेथेल फर्किसकेपछि मैले भाइ नोर र उहाँका सचिव मिल्टन हेन्सेलको कार्यालयमा आंशिक काम गरें, जहाँ म हाम्रो विश्‍वव्यापी कार्यसित राम्रोसित परिचित भएँ। मैले डब्ल्यु. ई. भान एमबर्ग र उहाँका सहायक, ग्रान्ट सुटरको निरीक्षणअन्तर्गत कोषाध्यक्षको कार्यालयमा पनि आंशिक सेवा गरें। त्यसपछि, सन्‌ १९४६ मा मलाई बेथेलका थुप्रै विभागहरूको निरीक्षक बनाइयो।

मेरो जीवनमा भएका ठूला परिवर्तनहरू

सन्‌ १९४५ मा मण्डलीहरूको सेवा गरिरहेको बेला रोड आइल्याण्ड, प्रोभिडेन्समा मेरो परिचय जुलिया चारनकससित भयो। सन्‌ १९४७ को मध्यसम्ममा हामीले बिहे गर्ने विषयमा कुरा गरिसकेका थियौं। मलाई बेथेल सेवा एकदमै मन पर्थ्यो तर त्यतिखेर आफ्नो जीवन साथीलाई विवाहपछि त्यहाँ सेवा गर्न ल्याउन पाइँदैनथ्यो। त्यसैकारण सन्‌ १९४८ जनवरीमा मैले बेथेल छोडें र जुलियासित (जुली) विवाह गरें। प्रोभिडेन्सको एउटा सुपरमार्केटमा मैले आंशिक-समय जागिर पाएँ र हामीले सँगै मिलेर अग्रगामी सेवकाई गर्न थाल्यौं।

सन्‌ १९४९ सेप्टेम्बरमा मलाई विन्सकन्सनको उत्तरपश्‍चिममा क्षेत्रीय कार्य गर्न आमन्त्रण गरियो। प्रायजसो स-साना शहर तथा दुग्धशालाहरू भएका ग्रामीण इलाकाहरूमा प्रचार गर्नु जुली र मेरो लागि यो एउटा ठूलो परिवर्तन थियो। हिउँद महिनाहरू लामो र चिसो थियो, थुप्रै हप्ता तापक्रम शून्य डिग्रीभन्दा तल झर्थ्यो र निकै हिउँ पर्थ्यो। हामीसित मोटर थिएन। तथापि, सधैं कसै न कसैले हामीलाई अर्को मण्डलीसम्म पुऱ्‍याइदिन्थे।

क्षेत्रीय काम सुरु गरेको धेरै समय नबित्दै क्षेत्रीय सम्मेलन सम्पन्‍न भयो। सम्पूर्ण कामकुराहरू राम्रोसित रेखदेख गरिएको छ कि छैन भनेर मैले एक-एक गरी जाँच गरेको मलाई अझै पनि थाह छ, जसले गर्दा कसै-कसैलाई अलि अप्ठ्यारो पनि परेको थियो। त्यसैकारण जिल्ला निरीक्षक, निकोलस कोभालकले दयालुपूर्वक मलाई स्थानीय भाइहरूलाई उनीहरूको आफ्नै तरिकामा कामकुराहरू गर्ने बानी परिसकेको छ र मैले त्यस हदसम्म कामकुराहरू जाँच गरिरहनु आवश्‍यक छैन भनेर सम्झाउनुभयो। त्यस सल्लाहले मलाई त्यसपछिका थुप्रै कार्यभारहरू सम्हाल्ने सन्दर्भमा निकै मदत गरेको छ।

सन्‌ १९५० मा मैले अस्थायी कार्यभार अर्थात्‌ न्यु योर्क शहरको यांकी स्टेडियममा सम्पन्‍न हाम्रा थुप्रै ठूला अधिवेशनहरूमध्ये पहिलो अधिवेशनमा उपस्थित प्रतिनिधिहरूका लागि कोठाको प्रबन्ध मिलाउने सन्दर्भमा निरीक्षण गर्ने कार्यभार पाएँ। अधिवेशन सुरुदेखि अन्तसम्मै एकदमै रोमाञ्चकारी थियो अनि त्यहाँ ६७ वटा देशका प्रतिनिधिहरू आएका थिए र शिखर उपस्थिति संख्या १,२३,७०७ थियो! अधिवेशनपछि जुली र मैले हाम्रो परिभ्रमण कार्य पुनः थाल्यौं। क्षेत्रीय काममा हामी असाध्यै खुसी थियौं। तथापि, हामीले कुनै पनि पूर्ण-समय सेवाको लागि आफूलाई उपलब्ध गराउनुपर्छ भन्‍ने महसुस गऱ्‍यौं। त्यसैकारण हरेक वर्ष हामीले बेथेल सेवा र मिसनरी सेवाको लागि आवेदन फाराम बुझाउथ्यौं। सन्‌ १९५२ मा वाचटावर बाइबल स्कूल अफ गिलियडको २० औं कक्षामा उपस्थित हुने निमन्त्रणा पाउँदा हामी खुसीले गद्‌गद भयौं, जहाँ हामीले मिसनरी कामको लागि प्रशिक्षण प्राप्त गऱ्‍यौं।

विदेशमा सेवा

सन्‌ १९५३ मा स्नातक गरिसकेपछि हामीलाई बेलाइत खटाइयो, जहाँ मैले इंग्ल्याण्डको दक्षिणी भागमा जिल्लाको काम गरेको थिएँ। जुली र मैले एकदमै आनन्द उठाएको यस काममा लागेको एक वर्ष पनि नबित्दै डेनमार्क जाने असाइनमेन्ट पाउँदा हामी छक्क पऱ्‍यौं। डेनमार्कमा शाखा कार्यालयको लागि नयाँ निरीक्षणको आवश्‍यकता थियो। म नजिकै भएकोले र यस्तो कामको लागि ब्रूक्लिनमा प्रशिक्षण प्राप्त गरेको कारण मदत गर्न मलाई खटाइयो। हामी डुंगा चढेर नेदरल्याण्ड गयौं र त्यहाँबाट हामीले कोपन्हेगन, डेनमार्क जाने रेल चढ्यौं। हामी अगस्त ९, १९५४ मा आइपुग्यौं।

हामीले सामना गर्नुपरेका समस्याहरूमध्ये एउटा के थियो भने, जिम्मेवार पदहरूमा भएका कसै-कसैले ब्रूक्लिन मुख्यालयबाट आएको निर्देशन स्वीकारिरहेका थिएनन्‌। साथै, डेनिस भाषामा हाम्रा प्रकाशनहरू अनुवाद गरिरहेका चार जनामध्ये तीन जनाले त बेथेलै छोडे र अन्ततः यहोवाका साक्षीहरूसित सरसंगत गर्न पनि छाडे। तर यहोवाले हाम्रो प्रार्थना सुन्‍नुभयो। आंशिक-समय अनुवाद काम गरेका योरन र अना लारसन नाउँका दुई जना अग्रगामीहरूले पूर्ण-समय काम गर्न आफूलाई उपलब्ध गराए। यसरी एउटै पनि लेख छुट्‌न नपाई हाम्रा पत्रिकाहरू डेनिस भाषामा निरन्तर अनुवाद भइरहे। लारसन दम्पती अझै पनि डेनमार्क बेथेलमा छन्‌ र योरनचाहिं शाखा समितिका संयोजक छन्‌।

ती वर्षहरूको दौडान प्रोत्साहनको साँचो स्रोत भनेको भाइ नोरको नियमित भ्रमण थियो। बसेर कुरा गर्न, समस्याहरूको समाधान गर्न अन्तरदृष्टि दिने अनुभवहरू सुनाउन उहाँले समय निकाल्नुहुन्थ्यो। सन्‌ १९५५ मा भएको भ्रमणको दौडान, डेनमार्कका लागि पत्रिकाहरू उत्पादन गर्न छापाखानाको सुविधा भएको नयाँ शाखा निर्माण गर्ने निर्णय गरियो। कोपन्हेगनको उत्तरी उपनगरमा जग्गा पनि फेला पऱ्‍यो र सन्‌ १९५७ को ग्रीष्म-ऋतुसम्ममा हामी नव-निर्मित भवनमा सरिसरेका थियौं। भर्खरै आफ्नो पत्नीका साथ डेनमार्क आएका गिलियडको २६ औं कक्षाका स्नातक हेरि जोनसनले छापाखाना स्थापना गर्न र त्यसलाई चलाउन मदत गरे।

डेनमार्कमा ठूल-ठूला अधिवेशनहरू आयोजना गर्ने सन्दर्भमा हामीले सुधार गऱ्‍यौं र संयुक्‍त राज्य अमेरिकामा सम्पन्‍न अधिवेशनहरूमा मैले काम गर्दा बटुलेका अनुभवहरू निकै मदतकारी साबित भए। सन्‌ १९६१ मा कोपन्हेगनमा आयोजित हाम्रो विशाल अन्तरराष्ट्रिय अधिवेशनले ३० भन्दा बढी देशहरूबाट आएका प्रतिनिधिहरूलाई स्वागत गऱ्‍यो। शिखर उपस्थिति संख्या ३३,५१३ थियो। सन्‌ १९६९ मा हामीले आयोजना गरेको अधिवेशन स्क्यान्डेनेभियामा सम्पन्‍न अधिवेशनहरूमध्ये सबैभन्दा विशाल अधिवेशन थियो, जहाँको शिखर उपस्थिति संख्या ४२,०७३ थियो!

सन्‌ १९६३ मा मलाई गिलियडको ३८ औं कक्षामा उपस्थित हुन आमन्त्रित गरियो। यो विशेष गरी शाखाका भाइहरूलाई प्रशिक्षण दिनको लागि तयार पारिएको परिमार्जित दस महिने कोर्स थियो। ब्रूक्लिन बेथेल परिवारलाई फेरि एक चोटि भेट्‌न र धेरै वर्षदेखि मुख्यालयका कामकुराहरू रेखदेख गर्दै आएका व्यक्‍तिहरूको अनुभवबाट लाभ उठाउन पाउँदा निकै रमाइलो भयो।

यो प्रशिक्षण कोर्सपछि म आफ्ना जिम्मेवारीहरू सम्हाल्न पुनः डेनमार्क फर्कें। यसबाहेक, पश्‍चिमी र उत्तरी युरोपमा भएका शाखाहरूका भाइहरूलाई प्रोत्साहन दिन र आफ्ना जिम्मेवारीहरू पूरा गर्न उनीहरूलाई मदत गर्न मैले जोन ओभरसियरको रूपमा सेवा गर्ने सुअवसर पनि पाएँ। हालसालैको कुरा गर्ने हो भने, मैले यस्तो काम पश्‍चिम अफ्रिका र क्यरिबियनमा गरेको छु।

सन्‌ १९७० दशकको अन्ततिर डेनमार्कका भाइहरूले बढ्‌दो अनुवाद र मुद्रणकार्यको लागि अझ ठूलो भवन निर्माण गर्न ठाउँ खोज्न थाले। कोपन्हेगनदेखि लगभग ६० किलोमिटर टाढामा हामीले एउटा राम्रो जग्गा पायौं। अरूहरूसँगै मैले पनि यो नयाँ भवन बनाउन योजना तथा डिजाइनिङ गर्ने काम गरें अनि जुली र मैले बेथेल परिवारसँगै यसको नयाँ भवनमा बस्ने इच्छा गरेका थियौं। तथापि, हामीले सोचेजस्तो भएन।

फेरि ब्रूक्लिनतिर

सन्‌ १९८० नोभेम्बरमा, जुली र मलाई ब्रूक्लिन बेथेलमा सेवा गर्नको लागि आग्रह गरियो, जहाँ हामी सन्‌ १९८१ जनवरीको सुरुमा आइपुग्यौं। त्यतिबेलासम्म हाम्रो उमेर ५० वर्ष नाघिसकेको थियो र डेनमार्कमा हाम्रा प्रिय भाइबहिनीहरूसित हामीले आफ्नो जीवनको लगभग आधा समय सँगै सेवा गरेर बिताइसकेको हुनाले संयुक्‍त राज्य अमेरिका फर्कनु सजिलो भएन। यद्यपि, आफूलाई बस्न मन परेको ठाउँबारे मात्र हामीले सोचिरहेनौं तर आफूले पाएका नयाँ असाइनमेन्टहरू र त्यसले खडा गर्न सक्ने चुनौतीहरूमा ध्यान केन्द्रित गर्ने कोसिस गऱ्‍यौं।

हामी ब्रूक्लिन आइपुग्यौं र त्यहीं बस्न थाल्यौं। जुलीलाई लेखा कार्यालयमा खटाइयो, जुन काम तिनले डेनमार्कमा पनि गरेकी थिइन्‌। मलाई चाहिं हाम्रा प्रकाशनहरूको तालिका मिलाउने सन्दर्भमा मदत गर्न लेखन विभागमा खटाइयो। सन्‌ १९८० दशकको सुरु, ब्रूक्लिनमा गरिने हाम्रा कामकुराहरूमा आएको परिवर्तनको एउटा समय थियो किनभने पहिले-पहिले हामीले टाइपराइटर प्रयोग गर्नुका साथै तातो सीसामा टाइपसेट्टिङ गरिरहेका थियौं भने, अबचाहिं कम्प्युटर प्रोसेसिङ र अफसेट प्रिन्टिङ प्रयोग गर्न लागेका थियौं। मलाई कम्प्युटरबारे केही पनि थाह थिएन तर संगठनात्मक प्रक्रिया र मानिसहरूसित कसरी काम गर्नुपर्छ भन्‍ने विषयमा भने मसित केही अनुभव थियो।

त्यसको लगत्तैपछि, चित्र विभागको व्यवस्थापनलाई सुदृढ बनाउनु आवश्‍यक पऱ्‍यो किनभने हामीले पूरै रंगीन अफसेट प्रिन्टिङ र रंगीन चित्रहरू र तसबिरहरू प्रयोग गर्न थालेका थियौं। चित्रकारसित हुने अनुभव मसित नभए तापनि मैले संगठनात्मक प्रक्रियासित सम्बन्धित काममा मदत गर्न सकें। त्यसैकारण मैले त्यस विभागको नौ वर्षसम्म निरीक्षण गर्ने सुअवसर पाएँ।

सन्‌ १९९२ मा मलाई परिचालक निकायको प्रकाशन समितिलाई सहयोग गर्न खटाइयो र त्यसपछि कोषाध्यक्षको कार्यालयमा सारियो। अहिले म यहीं यहोवाका साक्षीहरूको आर्थिक गतिविधिसित सम्बन्धित काम गरिरहेको छु।

बाल्यकालदेखि सेवा

मेरो बाल्यकालदेखि नै र ७० वर्ष लामो समर्पित सेवाको दौडान, यहोवाले आफ्नो वचन बाइबल र उहाँको अद्‌भुत संगठनमा भएका मदतगार भाइहरूद्वारा मलाई धैर्यसाथ सिकाउनुभएको छ। मैले ६३ वर्षभन्दा बढी पूर्ण-समय सेवकाईमा बिताएको छु, जसमध्ये ५५ वर्ष मैले आफ्नी पत्नी, जुलीसँग सेवा गरें। साँच्चै, यहोवाले प्रचुर मात्रामा आशिष्‌ दिनुभएको म महसुस गर्छु।

सन्‌ १९४० मा मैले अग्रगामी सेवा गर्न घर छोडेको बेला मेरो बुबाले मेरो निर्णयलाई खिल्लीमा उडाउँदै यसो भन्‍नुभएको थियो: “हेर्‌ छोरा, यो काम गर्नको लागि घर छोड्‌ने बेलाचाहिं पछि कुनै पनि किसिमको मदत चाहिएको बेला मकहाँ फर्केर आउन सक्छु भनेर नसोच्नू।” वर्षौंको दौडान मैले कहिल्यै त्यसो गर्नुपरेन। यहोवाले अक्सर उदारतासाथ मदतगार सँगी मसीहीहरूमार्फत मेरा आवश्‍यकताहरू पूरा गरिदिनुभएको छ। पछि, मेरो बुबाले हाम्रो कामको आदर गर्नुभयो र सन्‌ १९७२ मा मृत्यु हुनुभन्दा अघि बाइबल सत्य सिक्ने सन्दर्भमा उहाँले केही प्रगतिसमेत गर्नुभयो। स्वर्गीय जीवनको आशा भएकी मेरी आमाले सन्‌ १९८५ मा, १०२ वर्षको उमेरमा आफ्नो मृत्यु नहोउन्जेलसम्म विश्‍वासीपूर्वक यहोवाको सेवा गरिरहनुभयो।

पूर्ण-समय सेवकाईमा समस्याहरू नआउने होइनन्‌ तर जुली र मैले कहिल्यै हाम्रो असाइनमेन्ट छोड्‌ने विचार गरेका छैनौं। हाम्रो यस्तो संकल्पमा यहोवाले सधैं हामीलाई सम्हाल्नुभएको छ। मेरा आमाबुबा वृद्ध हुँदै जाँदा र मेरो मदतको आवश्‍यकता पर्दासमेत मेरी दिदी, भिक्टोरिया मर्लिन अघि सरेर दयालुपूर्वक उहाँहरूको हेरविचार गर्नुभयो। उहाँको त्यो मायालु योगदानको लागि हामी भित्री हृदयदेखि नै कृतज्ञ छौं, जसले गर्दा हामी पूर्ण-समय सेवकाईमा निरन्तर लागिरहन सकेका छौं।

जुलीले हाम्रा सम्पूर्ण असाइनमेन्टहरूमा वफादार भई मलाई साथ दिएकी छिन्‌। अनि अहिले मेरो उमेर ८० वर्ष भइसके तापनि र केही स्वास्थ्य समस्याहरू झेल्नुपरिरहेको भए तापनि मैले यहोवाबाट प्रचुर आशिष्‌ पाएको छु। म भजनहारबाट धरै प्रोत्साहन प्राप्त गर्छु, जसले परमेश्‍वरले आफूलाई आफ्नो बाल्यकालदेखि नै सिकाएको कुरा घोषणा गरिसकेपछि यस्तो बिन्ती बिसाएका थिए, ‘हे परमेश्‍वर, म बुढो हुँदा पनि मलाई नत्याग्नुहोस्‌। जबसम्म म पछि आउने हरेकलाई तपाईंको सामर्थ्य र शक्‍तिको घोषणा गरिसक्‍तिनँ।’—भजन ७१:१७, १८.

[फुटनोट]

a वारेन, मिल्टन हेन्सेलका दाइ थिए, जसले धेरै वर्षसम्म यहोवाका साक्षीहरूको परिचालक निकायको सदस्यको रूपमा सेवा गरे।

[पृष्ठ २०-मा भएको चित्र]

सन्‌ १९४० मा मैले अग्रगामी गर्न थाल्दा मेरी आमासँग

[पृष्ठ २१-मा भएको चित्र]

सँगी अग्रगामी जो र मार्गरेट हार्टसँग

[पृष्ठ २३-मा भएको चित्र]

सन्‌ १९४८ मा हाम्रो विवाहको दिन

[पृष्ठ २३-मा भएको चित्र]

सन्‌ १९५३ मा गिलियडका सँगी सहपाठीहरूसित। बाँयादेखि दाँया: डन र भर्जिनिया वार्ड, गरट्रुइडा स्टिजिन्जा, जुली र म

[पृष्ठ २३-मा भएको चित्र]

डेनमार्क, कोपन्हेगनमा फ्रेडिक डब्लु. फ्रान्ज र नेथन नोरसँग, १९६१

[पृष्ठ २५-मा भएको चित्र]

आज जुलीसँग