सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाको हृदयलाई आनन्दित तुल्याएका स्त्रीहरू

यहोवाको हृदयलाई आनन्दित तुल्याएका स्त्रीहरू

यहोवाको हृदयलाई आनन्दित तुल्याएका स्त्रीहरू

“परमप्रभुले तिम्रो कामको पुरस्कार तिमीलाई देऊन्‌। . . . परमेश्‍वरले तिमीले पाउनुपर्ने सबै कुरा देऊन्‌।”—रूथ २:१२.

१, २. यहोवाको हृदय आनन्दित तुल्याएका स्त्रीहरूको बाइबल उदाहरणमा विचार गरेर हामी कसरी लाभ उठाउन सक्छौं?

 परमेश्‍वरप्रतिको भयले गर्दा दुई जना स्त्री फिरऊनको आज्ञा इन्कार गर्न उत्प्रेरित भए। विश्‍वासको कारण एउटी वेश्‍या दुई जना इस्राएली जासुसलाई लुकाउनको लागि आफ्नो ज्यानसमेत दाउमा राख्न तयार भई। समस्याको बेला विवेकी र नम्र हुँदा एउटी स्त्रीले थुप्रैको ज्यान बचाउनुका साथै परमेश्‍वरबाट अभिषिक्‍त व्यक्‍तिलाई रक्‍तदोषी हुनबाट जोगाइन्‌। यहोवा परमेश्‍वरमाथिको विश्‍वासका साथै अतिथि-सेवाको मनोभावले एउटी विधवा तथा आमा आफूसँग बचेखुचेको खाना परमेश्‍वरको अगमवक्‍तालाई दिन उत्प्रेरित भइन्‌। यहोवाको हृदयलाई आनन्दित तुल्याएका थुप्रै स्त्रीहरूका धर्मशास्त्रीय उदाहरणहरूमध्ये यी त केही मात्र हुन्‌।

त्यस्ता स्त्रीहरूप्रति यहोवाको मनोवृत्ति र उहाँले तिनीहरूमाथि वर्षाउनुभएको आशिष्‌ले उहाँलाई सबैभन्दा प्रसन्‍न तुल्याउने कुराहरू आध्यात्मिक गुणहरू हुन्‌ र पुरुष होस्‌ वा स्त्री यसले केही फरक पार्दैन भनी प्रस्ट हुन्छ। भौतिक कुराहरूमा लिप्त आजको संसारमा आफ्नो आध्यात्मिकतालाई प्राथमिकता दिनु एउटा चुनौतीको कुरा हो। तर यो चुनौतीको सामना गर्न सकिन्छ भनेर आज परमेश्‍वरका जनहरूको ठूलो दल अर्थात्‌ लाखौं ईश्‍वरभीरु स्त्रीहरूले देखाएका छन्‌। त्यस्ता मसीही स्त्रीहरूले बाइबलमा उल्लिखित ईश्‍वरभीरु स्त्रीहरूले देखाएको विश्‍वास, विवेक, अतिथि-सत्कार र अन्य असल गुणहरूको अनुकरण गर्छन्‌। निस्सन्देह, मसीही पुरुषहरू पनि पुरातन समयका त्यस्ता उदाहरणीय स्त्रीहरूले देखाएका गुणहरूको अनुकरण गर्न चाहन्छन्‌। हामीले यो अझै राम्ररी कसरी गर्न सक्छौं भनी बुझ्न, सुरुमा उल्लेख गरिएका स्त्रीहरूको बाइबल विवरण अझ विस्तृत तवरमा छलफल गरौं।—रोमी १५:४; याकूब ४:८.

फिरऊनको आज्ञा इन्कार गर्ने स्त्रीहरू

३, ४. (क) प्रत्येक नवजात इस्राएली बालकलाई मार्नू भनी फिरऊनले आदेश दिंदा शिप्रा र पूआले किन त्यो आदेश पालन गर्न इन्कार गरे? (ख) यहोवाले दुई सुँडेनीहरूलाई तिनीहरूको साहस र ईश्‍वरीय भयको लागि कसरी इनाम दिनुभयो?

दोस्रो विश्‍वयुद्धपछि जर्मनीमा भएको न्युरेमबर्ग पुर्पक्षमा आम-हत्याको अभियोग लागेका थुप्रैले तिनीहरूले केवल आदेश पालन गरिरहेका थिए भनी आफ्नो अपराधको सफाइ दिन खोजे। अब यी व्यक्‍तिहरूलाई ती दुई इस्राएली सुँडेनी, शिप्रा र पूआसित तुलना गर्नुहोस्‌ जो नाउँ थाह नभएको तर तानाशाही फिरऊनको शासनकालमा पुरातन मिश्रमा बसोबास गर्थे। च्याउजस्तै बढ्‌दै गइरहेको हिब्रू जनसंख्यादेखि डराएर फिरऊनले ती दुई सुँडेनीलाई सबै नवजात हिब्रू बालकहरूलाई मार्ने आदेश दिए। ती स्त्रीहरूले त्यस्तो घोर दुष्ट आदेशप्रति कस्तो प्रतिक्रिया देखाए? तिनीहरूले “मिश्रका राजाले आज्ञा गरेबमोजिम गरेनन्‌, तर छोराहरूलाई पनि जिउँदै राखे।” यी स्त्रीहरू किन मानिसको डरको पासोमा परेनन्‌? किनभने तिनीहरू “परमेश्‍वरसँग डराउँथे।”—प्रस्थान १:१५, १७, छड्‌के अक्षर हाम्रो; उत्पत्ति ९:६.

हो, ती सुँडेनीहरूले यहोवामा शरण लिए, फलतः तिनीहरूलाई फिरऊनको क्रोधबाट सुरक्षा प्रदान गर्नुभएर उहाँ तिनीहरूको निम्ति “ढाल” साबित हुनुभयो। (२ शमूएल २२:३१; प्रस्थान १:१८-२०) तर यहोवाले दिनुभएको आशिष्‌ त्यति मात्रै थिएन। उहाँले शिप्रा र पूआलाई आ-आफ्नै परिवार सुरु गर्न दिनुभयो। उहाँले भावी पुस्ताहरूले पढ्‌न सकून्‌ भनेर तिनीहरूको नाउँ र काम उहाँको प्रेरित वचनमा लिपिबद्ध गर्न लगाउनुभएर तिनीहरूको सम्मानसमेत गर्नुभयो जबकि त्यस फिरऊनको नाउँ समयको अन्तरालमा हराइसक्यो।—प्रस्थान १:२१; १ शमूएल २:३०ख; हितोपदेश १०:७.

५. आज थुप्रै मसीही स्त्रीहरूले कसरी शिप्रा र पूआको जस्तै मनोवृत्ति प्रदर्शन गर्छन्‌ र यहोवाले तिनीहरूलाई कसरी इनाम दिनुहुनेछ?

के आज शिप्रा र पूआजस्ता स्त्रीहरू छन्‌? अवश्‍य छन्‌! हरेक वर्ष, “राजाको हुकूम[ले]” निषेध गरेका देशहरूमा बाइबलको जीवनदायी सन्देश हजारौं त्यस्ता स्त्रीहरूले साहसका साथ प्रचार गर्छन्‌ र यसो गर्दा उनीहरूले आफ्नो स्वतन्त्रता वा आफ्नो ज्यानसमेत खतरामा पारिरहेका हुन्छन्‌। (हिब्रू ११:२३; प्रेरित ५:२८, २९) परमेश्‍वर र छिमेकीप्रतिको प्रेमद्वारा उत्प्रेरित भएका त्यस्ता साहसी स्त्रीहरू अरूसँग परमेश्‍वरको राज्यको सुसमाचार बाँड्‌न कुनै कारणले पनि पछि हट्‌दैनन्‌। फलस्वरूप, थुप्रै मसीही स्त्रीहरूले विरोध तथा सतावटको सामना गर्नुपर्छ। (मर्कूस १२:३०, ३१; १३:९-१३) शिप्रा र पूआको सन्दर्भमा जस्तै यहोवा त्यस्ता असल, साहसी स्त्रीहरूको कार्यबारे पूर्णतया सजग हुनुहुन्छ र तिनीहरू अन्तसम्मै विश्‍वासी रहेको खण्डमा उहाँको “जीवनको पुस्तकमा” तिनीहरूको नाउँ साँचेर उहाँले तिनीहरूप्रति आफ्नो प्रेम प्रदर्शन गर्नुहुनेछ।—फिलिप्पी ४:३; मत्ती २४:१३.

एउटी पहिलेकी वेश्‍याले यहोवाको हृदय आनन्दित तुल्याउँछे

६, ७. (क) राहाबलाई यहोवा अनि उहाँका जनहरूबारे के थाह थियो र यस ज्ञानले उसलाई कस्तो प्रभाव पाऱ्‍यो? (ख) परमेश्‍वरको वचनले कसरी राहाबको सम्मान गर्छ?

सा.यु.पू. १४७३ मा राहाब नाउँकी एउटी वेश्‍या कनानी शहर यरीहोमा बस्थी। स्पष्टतः राहाब जानकार स्त्री थिई। दुई इस्राएली जासुसले उनको घरमा शरण खोज्दा उनले तिनीहरूलाई ४० वर्षअघिको घटना अर्थात्‌ इस्राएलको मिश्रबाट चमत्कारपूर्ण प्रस्थानबारे खास-खास विवरणहरू बताउन सकी! एमोरी राजाहरू सीहोन र ओगमाथि इस्राएलले भर्खरै प्राप्त गरेको विजयबारे पनि उसलाई थाह थियो। त्यो ज्ञानले उसलाई कस्तो प्रभाव पाऱ्‍यो ध्यान दिनुहोस्‌। जासुसहरूलाई उसले यसो भनी: “मलाई थाह छ यो देश परमप्रभुले तपाईंहरूलाई दिनुभएको छ . . . किनकि परमप्रभु तपाईंहरूका परमेश्‍वरनै माथि स्वर्गमा र तल पृथ्वीमा परमेश्‍वर हुनुहुन्छ।” (यहोशू २:१, ९-११) हो, यहोवा अनि इस्राएलको खातिर उहाँले गर्नुभएका कार्यहरूबारे राहाबले जे कुराहरू सिकी, यसले उसको हृदयमा सकारात्मक प्रभाव पाऱ्‍यो र उहाँमाथि विश्‍वास गर्न थाली।—रोमी १०:१०.

राहाब आफ्नो विश्‍वासको कारण कदम चाल्न उत्प्रेरित भई। उसले इस्राएली जासुसहरूलाई “मैत्रिकसत्कार” गरी र इस्राएलले यरीहोमाथि आक्रमण गर्दा उसले तिनीहरूको जीवनदायी निर्देशन पालन गरी। (हिब्रू ११:३१; यहोशू २:१८-२१) राहाबको विश्‍वासी कार्यले यहोवाको हृदयलाई आनन्दित तुल्यायो भन्‍नेबारे कुनै शंका छैन किनभने उहाँले मसीही चेला याकूबलाई मसीहीहरूले अनुकरण गर्नुपर्ने उदाहरणस्वरूप परमेश्‍वरको मित्र अब्राहामसँगै उसको नाउँ पनि उल्लेख गर्न उत्प्रेरित गर्नुभयो। याकूबले यस्तो लेखे: “यस्तैगरी राहाब वेश्‍याले पनि, जब त्यसले दूतहरूलाई सत्कार गरेर तिनीहरूलाई अर्कै बाटो पठाई, तब सो कामैबाट त्यो ठीक ठहरेकी होइन र?”—याकूब २:२५.

८. यहोवाले राहाबको विश्‍वास र आज्ञाकारिताको लागि उसलाई कसरी आशिष्‌ दिनुभयो?

यहोवाले राहाबलाई थुप्रै तरिकामा आशिष्‌ दिनुभयो। एउटा त, उहाँले चमत्कारपूर्ण ढंगमा ऊ र उसको घरमा शरण लिएका सबै मानिसहरू—विशेष गरी “त्यसका बाबुका परिवार र त्यसका सबै[को]” जीवन बचाउनुभयो। त्यसपछि उहाँले तिनीहरूलाई “इस्राएलीहरूको बीचमानै” रहन दिनुभयो जहाँ अरूले तिनीहरूलाई स्वदेशी सरह व्यवहार गर्नुपर्ने थियो। (यहोशू २:१३; ६:२२-२५; लेवी १९:३३, ३४) तर त्यति मात्रै होइन। यहोवाले राहाबलाई येशू ख्रीष्टको पुर्खा हुने सुअवसर पनि प्रदान गर्नुभयो। कुनै समयको मूर्तिपूजक कनानी स्त्रीप्रति देखाइएको करुणाको कस्तो महान्‌ अभिव्यक्‍ति! aभजन १३०:३, ४.

९. राहाब र प्रथम शताब्दीका केही मसीही स्त्रीहरूप्रति यहोवाको मनोवृत्ति आज कोही-कोही स्त्रीहरूका लागि कसरी प्रोत्साहनको कुरा हुन सक्छ?

राहाबजस्तै प्रथम शताब्दीदेखि अहिले हाम्रो दिनसम्मका थुप्रै मसीही स्त्रीहरूले परमेश्‍वरलाई प्रसन्‍न तुल्याउनको लागि अनैतिक जीवन शैली त्यागेका छन्‌। (१ कोरिन्थी ६:९-११) निस्सन्देह, तिनीहरूमध्ये कोही-कोही पुरातन कनानको जस्तै वातावरणमा हुर्के जहाँ अनैतिकता व्याप्त थियो र यसलाई सामान्यसमेत ठानिन्थ्यो। यद्यपि, धर्मशास्त्रको सही ज्ञानमा आधारित विश्‍वासद्वारा उत्प्रेरित भई तिनीहरूले आफ्नो जीवन परिवर्तन गरे। (रोमी १०:१७) यसर्थ, “तिनीहरूकै परमेश्‍वर हुँ भन्‍नालाई परमेश्‍वर तिनीहरूसँग शर्माउनुभएन” भन्‍ने कुरा त्यस्ता स्त्रीहरूमा पनि लागू हुन सक्छ। (हिब्रू ११:१६) कस्तो सम्मानको कुरा!

तिनको विवेकको लागि आशिषित्‌

१०, ११. नाबाल र दाऊदसित सम्बन्धित कस्तो परिस्थितिले गर्दा अबिगेल कदम चाल्न उत्प्रेरित भइन्‌?

१० प्राचीन समयका थुप्रै विश्‍वासी स्त्रीहरूले विवेकशील भएको कुरा उल्लेखनीय ढंगमा प्रदर्शन गरे जसले गर्दा तिनीहरू यहोवाका जनहरूको लागि अनमोल सम्पत्ति साबित भए। त्यस्तै एउटी स्त्री, धनी इस्राएली जमिनदार नाबालकी पत्नी अबिगेल थिइन्‌। अबिगेलको विवेकले गर्दा मानिसहरूको ज्यान जोगियो र इस्राएलको भावी राजा, दाऊद रक्‍तदोषी हुनबाट बचे। हामी अबिगेलबारे १ शमूएल अध्याय २५ मा लिपिबद्ध विवरणमा पढ्‌न सक्छौं।

११ विवरणको सुरुमा बताइएअनुसार दाऊद अनि तिनका मानिसहरू नाबालको बगालसँगै पाल टाँगेर बसेका छन्‌ र तिनीहरूले आफ्नो इस्राएली भाइ नाबालप्रतिको दयाले गर्दा दिनरात तिनको बगालको सित्तैंमा सुरक्षा गरिदिन्छन्‌। आफूसँग भएको खानेकुरा सिद्धिनै लागेपछि दाऊदले आफ्ना दस जना जवानलाई नाबालकहाँ खानाको लागि आग्रह गर्न पठाउँछन्‌। नाबालले अब दाऊदप्रति आफ्नो कृतज्ञता र तिनलाई परमेश्‍वरको अभिषिक्‍त जनको रूपमा सम्मान गर्ने मौका पाएका छन्‌। तर नाबालले ठीक विपरीत गर्छन्‌। आवेशमा आएर तिनले दाऊदको अपमान गर्छन्‌ र ती जवानहरूलाई रित्तो हात फर्काइदिन्छन्‌। दाऊदले यो कुरा सुनेपछि तिनले ४०० जना सशस्त्र मानिसलाई भेला गरेर बदला लिन हिंड्‌छन्‌। अबिगेल आफ्नो पतिको छुच्चो व्यवहारबारे सुन्छिन्‌ र उदारतासाथ पर्याप्त मात्रामा खानाहरू पठाएर दाऊदलाई शान्त पार्न तिनी तुरुन्तै बुद्धिमानी कदम चाल्छिन्‌। त्यसपछि तिनी स्वयम्‌ दाऊदलाई भेट्‌न जान्छिन्‌।—पद २-२०.

१२, १३. (क) अबिगेलले आफू विवेकी हुनुका साथै यहोवा अनि उहाँका अभिषिक्‍त जनप्रतिको वफादारी कसरी प्रमाणित गरिन्‌? (ख) घर फर्केपछि अबिगेलले के गरिन्‌ र घटनाले कस्तो मोड लियो?

१२ अबिगेलले दाऊदलाई भेट्‌दा तिनले नम्रतासाथ कृपाको लागि गरेको बिन्तीबाट यहोवाको नियुक्‍त जनप्रति तिनको गहिरो आदर प्रकट हुन्छ। “परमप्रभुले हजूरको परिवारलाई सदा सर्वदै स्थिर गर्नुहुनेछ, किनभने हजूरले परमेश्‍वरकै युद्ध गर्नुभएको छ” भन्दै तिनले दाऊदलाई यहोवाले इस्राएलको नेताको रूपमा नियुक्‍त गर्नुहुनेछ भनेर पनि बताइन्‌। (पद २८-३०) अर्कोतर्फ, अनियन्त्रित भई बदला लिन हिंडेको खण्डमा तिनी रक्‍तदोषी हुनेछन्‌ भनी दाऊदलाई बताएर अबिगेलले निकै साहस पनि देखाइन्‌। (पद २६, ३१) अबिगेलको नम्रता, गहिरो आदर र स्पष्ट सोचाइले गर्दा दाऊदको होस खुल्छ। दाऊद यस्तो उत्तर दिन्छन्‌: “परमप्रभु इस्राएलका परमेश्‍वर धन्यका होऊन्‌, जसले आज मसँग भेट गर्नलाई तिमीलाई पठाउनुभयो। तिम्रो बुद्धि धन्यको हो, तिमी धन्यकी हौ, किनभने आज तिमीले मलाई हत्या र प्रतिशोधको दोषदेखि जोगायौ।”—पद ३२, ३३.

१३ घर फर्केपछि अबिगेलले दाऊदलाई दिएको उपहारबारे साहसका साथ आफ्नो पतिलाई बताउन खोज्छिन्‌। तथापि, तिनलाई भेट्टाउँदा तिनी “मद्यले खूब लट्ठ भएका” हुन्छन्‌। त्यसकारण तिनलाई नशाले छोडेपछि मात्र उनले बताउँछिन्‌। नाबालले कस्तो प्रतिक्रिया देखाउँछन्‌? तिनी यति छक्क पर्छन्‌ कि तिनलाई एक प्रकारको पक्षघातै हुन्छ। दस दिनपछि परमेश्‍वरको हातबाट तिनको मृत्यु हुन्छ। दाऊदले नाबालको मृत्युबारे सुनेपछि तिनले अबिगेलसित विवाहको प्रस्ताव राख्छन्‌ जसलाई तिनले मन पराउनुका साथै गहिरो आदर गर्छन्‌। अबिगेल दाऊदको प्रस्ताव स्वीकार्छिन्‌।—पद ३४-४२.

के तपाईं अबिगेलजस्तै हुन सक्नुहुन्छ?

१४. हामी अबिगेलका कस्ता गुणहरू अझ बढ्‌ता गरी खेती गर्न चाहन्छौं?

१४ तपाईं, पुरुषलगायत स्त्रीहरूले—अबिगेलमा के त्यस्तो केही गुण देख्नुहुन्छ जुन तपाईं अझ बढ्‌ता गरी खेती गर्न चाहनुहुन्छ? सायद तपाईं पनि समस्या आइपर्दा अझ बुद्धिमानी र विवेकी ढंगमा व्यवहार गर्ने इच्छा गर्नुहुन्छ होला। अथवा तपाईं, वरपरका मानिसहरू तात्तिरहेको बेला शान्त अनि व्यावहारिक ढंगमा बोल्न चाहनुहुन्छ होला। त्यसोभए यस विषयमा यहोवालाई प्रार्थना गर्नुभए कसो होला? ‘विश्‍वाससाथ मागिरहनेहरूलाई’ उहाँले बुद्धि, विवेक र सोच्ने क्षमता दिने प्रतिज्ञा गर्नुहुन्छ।—याकूब १:५, ६; हितोपदेश २:१-६, १०, ११.

१५. कस्ता परिस्थितिहरूमा मसीही स्त्रीहरूले अबिगेलको जस्तै गुणहरू देखाउनु विशेष गरी महत्त्वपूर्ण छ?

१५ बाइबल सिद्धान्तहरूलाई त्यत्ति वा पटक्कै ध्यान नदिने बेग्लै विश्‍वास भएका पतिसित बस्ने स्त्रीहरूका लागि त्यस्ता असल गुणहरू विशेष गरी महत्त्वपूर्ण हुन्छन्‌। सायद तिनले बढ्‌तै पिउँछन्‌ होला। आशा छ, त्यस्ता मानिसहरूले परिवर्तन गर्नेछन्‌। अक्सर आफ्नी पत्नीको शालीन, गहिरो आदरपूर्ण र शुद्ध आचारणको कारण थुप्रैले परिवर्तन गरेका पनि छन्‌।—१ पत्रुस ३:१, २, ४.

१६. आफ्नो घरको परिस्थिति जस्तोसुकै भए तापनि मसीही बहिनीले यहोवासँगको सम्बन्धलाई अनमोल ठानेको कुरा कसरी देखाउनेछिन?

१६ तपाईंले घरमा जस्तोसुकै समस्याको सामना गर्नुपरे तापनि यहोवाले तपाईंलाई सधैं समर्थन गर्नुहुन्छ भन्‍ने कुरा कहिल्यै नबिर्सनुहोस्‌। (१ पत्रुस ३:१२) त्यसैले आफूलाई आध्यात्मिक तवरमा बलियो बनाउन यथाशक्य प्रयास गर्नुहोस्‌। बुद्धि र शान्त हृदयको लागि प्रार्थना गर्नुहोस्‌। हो, नियमित बाइबल पढाइ, प्रार्थना, मनन र सँगी मसीहीहरूसँगको संगतिद्वारा यहोवासँग नजिक हुनुहोस्‌। परमेश्‍वरप्रति अबिगेलको प्रेम र परमेश्‍वरको अभिषिक्‍त सेवकप्रति तिनको मनोवृत्ति आफ्नो पतिको गैरधर्मशास्त्रीय मनोवृत्तिबाट प्रभावित थिएन। तिनले धार्मिक सिद्धान्तहरूको आधारमा कदम चालिन्‌। पति, परमेश्‍वरको उदाहरणीय सेवक भएको घरमा समेत मसीही पत्नीले आफ्नो आध्यात्मिकता बलियो बनाउनुका साथै त्यसलाई कायम राख्नुपर्छ भनेर बुझेकी छिन्‌। हो, तिनको आध्यात्मिक तथा भौतिक आवश्‍यकता पूरा गर्ने दायित्व तिनको पतिको हो तर आखिर “आफ्नो मुक्‍तिको काम पूरा” गर्न तिनले आफै प्रयास गर्नै पर्छ।—फिलिप्पी २:१२; १ तिमोथी ५:८.

तिनले “अगमवक्‍ताको इनाम” पाइन्‌

१७, १८. (क) सारपतकी विधवाले विश्‍वासको कस्तो असामान्य जाँचको सामना गर्नुपऱ्‍यो? (ख) विधवाले एलियाको आग्रहप्रति कस्तो प्रतिक्रिया देखाइन्‌ र यहोवाले यसको लागि कसरी इनाम दिनुभयो?

१७ यहोवाले एलिया अगमवक्‍ताको समयमा गरिब विधवाप्रति देखाउनुभएको चासोले कुन कुरा प्रस्ट हुन्छ भने, आफू र आफ्नो स्रोतसाधन दिएर साँचो उपासनाको समर्थन गर्नेहरूलाई उहाँले गहिरो मूल्यांकन गर्नुहुन्छ। एलियाको दिनमा लामो समयसम्म खडेरी परेकोले सारपतकी विधवा र तिनको सानो छोरालगायत थुप्रैले भोकमरीको सामना गर्नुपऱ्‍यो। तिनीहरूसँग अन्तिम भोजनको लागि बचेखुचेको खाना मात्र बाँकी हुँदा ठ्याक्क एक जना आगन्तुक—एलिया अगमवक्‍ता आइपुगे। तिनले एकदमै असामान्य आग्रह गरे। ती स्त्रीको अवस्थाबारे थाह भए तापनि तिनले बाँकी भएको तेल र पीठोबाट “एक टुक्रा रोटी” बनाइदिन भने। तर तिनले अझ यसो भने: “किनभने परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, ‘देशमा परमप्रभुले पानी नपठाउञ्जेल पीठो सिद्धिनेछैन्‌, नता गरीयोको तेल रित्तिनेछ।’ ”—१ राजा १७:८-१४.

१८ त्यस असामान्य आग्रहप्रति तपाईंले कस्तो प्रतिक्रिया देखाउनुहुने थियो? सारपतकी विधवाले सम्भवतः एलिया यहोवाका अगमवक्‍ता हुन्‌ भनेर चिनेकीले “एलियाले भनेझैं गरिन्‌।” उनको अतिथिसत्कारप्रति यहोवाले कस्तो प्रत्युत्तर दिनुभयो? उहाँले चमत्कारपूर्ण ढंगमा स्त्री, उनको छोरा र एलियालाई अनिकालभरि खानाको प्रबन्ध गर्नुभयो। (१ राजा १७:१५, १६) हो, यहोवाले सारपतकी विधवालाई उनी गैरइस्राएली भए तापनि “अगमवक्‍ताको इनाम” दिनुभयो। (मत्ती १०:४१) परमेश्‍वरका पुत्रले पनि आफ्नो गृहनगर नासरतका अभक्‍त मानिसहरूलाई उदाहरणस्वरूप बताउनुहुँदा यी विधवाको प्रशंसा गर्नुभयो।—लूका ४:२४-२६.

१९. आज थुप्रै मसीही स्त्रीहरूले कुन तरिकामा सारपतकी विधवाको मनोभाव झल्काउँछन्‌ र यहोवाले यस्ताहरूप्रति कस्तो महसुस गर्नुहुन्छ?

१९ आज थुप्रै मसीही स्त्रीहरूले सारपतकी विधवाको जस्तै मनोभाव झल्काउँछन्‌। उदाहरणका लागि, हरेक हप्ता निःस्वार्थ मसीही बहिनीहरू जसमध्ये थुप्रै गरिब हुनुका साथै परिवारको हेरचाह गर्नुपर्नेहरू छन्‌; तिनीहरूले परिभ्रमण निरीक्षक तथा तिनका पत्नीहरूप्रति अतिथि-सत्कार देखाउँछन्‌। अरू कतिपयले स्थानीय पूर्ण-समय सेवकहरूलाई खानाको लागि बोलाउँछन्‌, खाँचोमा परेकाहरूलाई मदत गर्छन्‌ वा अरू कुनै तरिकामा आफू र आफ्ना स्रोतसाधन राज्य गतिविधिलाई समर्थन गर्न चलाउँछन्‌। (लूका २१:४) के यहोवाले त्यस्ता त्यागहरू याद गर्नुहुन्छ? अवश्‍य! “तिमीहरूको काम र त्यो प्रेम, जो उहाँको नाउँतर्फ, र पवित्र जनहरूको सेवा गरेको र गर्दै रहेकोमा तिमीहरूले देखाएका छौ, सो बिर्सनालाई परमेश्‍वर अधर्मी हुनुहुन्‍न।”—हिब्रू ६:१०.

२०. अर्को लेखमा के छलफल गरिनेछ?

२० प्रथम शताब्दीमा केही ईश्‍वरभीरु स्त्रीहरूले येशू तथा उहाँका प्रेरितहरूको सेवा गर्ने सुअवसर पाएका थिए। अर्को लेखमा हामी यी स्त्रीहरूले यहोवाको हृदयलाई कसरी आनन्दित तुल्याए र कठिन परिस्थितिमा समेत तनमनले यहोवाको सेवा गर्ने आधुनिक समयका स्त्रीहरूको उदाहरण हेर्नेछौं।

[फुटनोट]

a मत्तीमा लिपिबद्ध येशूको वंशावलीमा चार जना स्त्री, तामार, राहाब, रूथ र मरियमको नाउँ उल्लेख गरिएको छ। परमेश्‍वरको वचनमा यी सबैको असाध्यै इज्जत गरिन्छ।—मत्ती १:३, ५, १६.

पुनरावलोकन

• निम्न स्त्रीहरूले कसरी यहोवाको हृदय आनन्दित तुल्याए?

• शिप्रा र पूआ

• राहाब

• अबिगेल

• सारपतकी विधवा

• यी स्त्रीहरूले बसालेको उदाहरण मनन गर्दा हामी कसरी व्यक्‍तिगत तवरमा मदत पाउन सक्छौं? वर्णन गर्नुहोस्‌।

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ ९-मा भएका चित्रहरू]

“राजाको हुकूम[ को]” बावजुद थुप्रै विश्‍वासी स्त्रीहरूले परमेश्‍वरको सेवा गरेका छन्‌

[पृष्ठ १०-मा भएको चित्र]

राहाब किन विश्‍वास भएको व्यक्‍तिको असल उदाहरण हो?

[पृष्ठ १०-मा भएको चित्र]

अबिगेलले देखाएका कस्ता गुणहरू तपाईं अनुकरण गर्न चाहनुहुन्छ?

[पृष्ठ १०-मा भएको चित्र]

आज थुप्रै मसीही स्त्रीहरूले सारपतकी विधवाले देखाएको मनोभाव झल्काउँछन्‌