सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

विश्‍वासी मसीही स्त्रीहरू—परमेश्‍वरका बहुमूल्य उपासकहरू

विश्‍वासी मसीही स्त्रीहरू—परमेश्‍वरका बहुमूल्य उपासकहरू

विश्‍वासी मसीही स्त्रीहरू—परमेश्‍वरका बहुमूल्य उपासकहरू

“सौन्दर्य भ्रमात्मक हुन्छ, औ सुन्दरता उड़िजाने हुन्छ, तर परमेश्‍वरको भय मान्‍ने स्त्रीनै आदरणीय हुन्छिन्‌।”—हितोपदेश ३१:३०.

१. सौन्दर्यप्रति यहोवाको दृष्टिकोण संसारको भन्दा कसरी भिन्‍न छ?

 संसारले बाहिरी रूपमा र अझ विशेष गरी स्त्रीहरूको सन्दर्भमा बढ्‌तै महत्त्व दिन्छ। तथापि, यहोवा मुख्यतया भित्री व्यक्‍तित्वमा चासो राख्नुहुन्छ जुन उमेर ढल्कँदै गएपछि झनै सुन्दर हुन सक्छ। (हितोपदेश १६:३१) यसर्थ बाइबलले स्त्रीहरूलाई यस्तो सल्लाह दिन्छ: “तिमीहरूका सिंगार, कपाल बाट्‌ने, र सुनको गहना लाउने, अथवा किसिम किसिमको पोशाक लाउने, बाहिरी सिंगार नहोस्‌, तर नम्र र शान्त आत्माको अविनाशी पोशाक लाएको हृदयको त्यो गुप्त मानिस होस्‌, जो परमेश्‍वरको दृष्टिमा ठूलो मोलको हुन्छ।”—१ पत्रुस ३:३, ४.

२, ३. प्रथम शताब्दीमा सुसमाचारको वृद्धिमा स्त्रीहरूले कसरी योगदान पुऱ्‍याए र यसबारे कस्तो भविष्यवाणी गरिएको थियो?

बाइबलमा उल्लिखित थुप्रै स्त्रीहरूले त्यस्तो प्रशंसनीय मनोभाव झल्काए। प्रथम शताब्दीमा यिनीहरूमध्ये केहीले येशू तथा उहाँका प्रेरितहरूको सेवा गर्ने सुअवसर पाएका थिए। (लूका ८:१-३) पछि, मसीही स्त्रीहरू जोसिला सुसमाचारक भए; अरूले प्रेरित पावललगायत अगुवाइ लिने अन्य मसीही पुरुषहरूलाई बहुमूल्य समर्थन दिए र अरू कतिपयले आफ्नो घरसमेत मसीही सभाहरूका लागि उपलब्ध गराएर उल्लेखनीय आतिथ्य देखाए।

यहोवाले आफ्नो उद्देश्‍य पूरा गर्न स्त्रीहरूलाई असाधारण ढंगमा चलाउनुहुनेछ भनी धर्मशास्त्रमा भविष्यवाणी गरिएको थियो। उदाहरणका लागि, योएल २:२८, २९ मा पुरुष तथा स्त्री, जवान तथा बूढा दुवैले पवित्र आत्मा पाउनेछन्‌ र परमेश्‍वरको राज्यको सुसमाचार फैलाउने काममा भाग लिनेछन्‌ भनी अग्रिमवाणी गरिएको थियो। त्यो भविष्यवाणी सा.यु. ३३ पेन्तिकोसदेखि पूरा हुन थाल्यो। (प्रेरित २:१-४, १६-१८) केही आत्मा-अभिषिक्‍त स्त्रीहरूले अगमवाणी बोल्ने जस्ता चमत्कारपूर्ण वरदानहरू पाए। (प्रेरित २१:८, ९) यी विश्‍वासी बहिनीहरूको ठूलो आध्यात्मिक सेनाले सेवकाईमा देखाएको जोसले प्रथम शताब्दीमा मसीही धर्म द्रुत गतिमा फैलाउन योगदान पुऱ्‍यायो। साँच्चै सा.यु. ६० तिर प्रेरित पावलले सुसमाचार “स्वर्गमनि भएका सारा सृष्टिमा प्रचारियो” भनी लेखे।—कलस्सी १:२३.

तिनीहरूको साहस, जोस र अतिथि-सत्कारको लागि प्रशंसा गरियो

४. पावलले प्रथम शताब्दीका मसीही मण्डलीका केही स्त्रीहरूको प्रशंसा गर्नुपर्ने किन जायज कारण थियो?

उदाहरणका लागि, आज मसीही निरीक्षकहरूले जोसिला स्त्रीहरूले गरेको सेवकाईको मोल गरेजस्तै प्रेरित पावल पनि केही खास स्त्रीहरूले सेवकाईमा गरेको कार्य देखेर खुसी भए। पावलले नाउँ नै उल्लेख गरेका केही स्त्रीहरू “प्रभुमा परिश्रम गर्ने त्रिफेना र त्रिफोसा” र “प्रभुमा धेरै परिश्रम गर्ने प्रिय परसीस” हुन्‌। (रोमी १६:१२) इयोदिया र सिन्तकेले “[तिनीसँग] सुसमाचारमा परिश्रम गरे” भनी पावलले लेखे। (फिलिप्पी ४:२, ३) प्रिस्काले आफ्ना पति अक्वीलाको साथमा पावलसँगसँगै सेवा गरिन्‌। तिनी र अक्वीलाले पावलको लागि “आफ्ना गर्दन दिए” र पावल यसरी लेख्न प्रेरित भए: “तिनीहरूलाई मैले मात्र होइन, तर अन्यजातिहरूका मण्डलीहरू जम्मैले पनि धन्यवाद दिन्छन्‌।”—रोमी १६:३, ४; प्रेरित १८:२.

५, ६. आज बहिनीहरूका लागि प्रिस्काले कसरी असल उदाहरण बसालिन्‌?

प्रिस्काको जोस र साहसको कारण के थियो? यसको संकेत प्रेरित १८:२४-२६ मा पाइन्छ जहाँ प्रकटित सत्यको नवीनतम जानकारी कुशल वक्‍ता अपोल्लसलाई दिन उनले आफ्नो पतिलाई सघाइन्‌। यसबाट एउटा कुरा प्रस्ट हुन्छ कि प्रिस्का परमेश्‍वरको वचन र प्रेरितहरूको शिक्षाको असल विद्यार्थी थिइन्‌। फलस्वरूप, उनले अत्यन्तै असल गुणहरू विकास गरेकी थिइन्‌ जसले गर्दा उनी परमेश्‍वर र आफ्नो पतिको नजरमा बहुमूल्य भइन्‌ र प्रारम्भिक मण्डलीको बहुमूल्य सदस्य भइन्‌। लगनशीलतासाथ बाइबल अध्ययन गर्ने र “विश्‍वासी . . . भण्डारे” मार्फत यहोवाले प्रबन्ध गर्नुभएको आध्यात्मिक भोजन लिने थुप्रै परिश्रमी मसीही बहिनीहरू पनि उत्तिकै बहुमूल्य छन्‌।—लूका १२:४२.

अक्वीला र प्रिस्का अतिथि-सत्कार गर्न असाध्यै सिपालु थिए। कोरिन्थमा उनीहरूको पाल बनाउने व्यापारमा सँगै काम गर्दा पावल उनीहरूकै घरमा बसे। (प्रेरित १८:१-३) ती दम्पती एफिससमा र पछि रोम सर्दा पनि तिनीहरूले मसीही आतिथ्य देखाइरहे र मसीही सभाहरूका लागि आफ्नो घरसमेत उपलब्ध गराए। (प्रेरित १८:१८, १९; १ कोरिन्थी १६:८, १९) त्यसै गरी यूहन्‍ना मर्कूसकी आमा निम्फसले पनि आफ्नो घर मण्डलीका सभाहरूका लागि उपलब्ध गराइन्‌।—प्रेरित १२:१२; कलस्सी ४:१५.

आज बहुमूल्य सम्पत्ति

७, ८. वर्तमान समयका थुप्रै मसीही स्त्रीहरूले पवित्र सेवामा कस्तो सराहनीय रेकर्ड बसालेका छन्‌ र तिनीहरू कुन कुराबारे विश्‍वस्त हुन सक्छन्‌?

प्रथम शताब्दीमा जस्तै आज पनि विश्‍वासी मसीही स्त्रीहरूले परमेश्‍वरको उद्देश्‍य पूरा गर्ने कार्यमा र अझ विशेष गरी सुसमाचारको कार्यमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्छन्‌। साँच्चै यी बहिनीहरूले कस्तो राम्रो रिकर्ड बसालेका छन्‌! उदाहरणका लागि, ग्वेनलाई विचार गर्नुहोस्‌ जसले २००२ मा आफ्नो मृत्यु नहोउन्जेल ५० वर्षभन्दा बढी समयसम्म विश्‍वासीपूर्वक यहोवाको सेवा गरिन्‌। “सुसमाचारकको रूपमा उनको जोस हाम्रो शहरमा प्रख्यात थियो” भनी उनका पति बताउँछन्‌। “उनको लागि हरेक मानिस यहोवाको प्रेम अनि प्रतिज्ञाहरूको सम्भाव्य हकदार थियो। परमेश्‍वर, उहाँको संगठन र हाम्रो परिवारप्रति उनको वफादारी र यसबाहेक हामी निरुत्साहित हुँदा उनले दिने मायालु प्रोत्साहन हामीले सँगै बिताएको सन्तोषजनक र इनामदायी जीवनभरि नै म र मेरा छोराछोरीको लागि ठूलो सहयोग साबित भएको छ। उनीसित बिछोडिनु परेकोमा हामीलाई साह्रै न्यास्रो लाग्छ।” ग्वेन र उनका पतिले ६१ वर्षसम्म लामो वैवाहिक जीवन बिताए।

अविवाहित र विवाहित हजारौं मसीही स्त्रीहरू अग्रगामी सेवक र मिसनरीको रूपमा व्यस्त शहरदेखि अनकन्टार ठाउँहरूसम्म परमेश्‍वरको राज्यसन्देश फैलाउँदै जीवनका आधारभूत आवश्‍यकताहरूमै सन्तुष्ट रहन्छन्‌। (प्रेरित १:८) यहोवाको अझ पूर्ण रूपमा सेवा गर्न थुप्रैले घर किन्‍ने वा बच्चा जन्माउने जस्ता कुराहरू त्यागेका छन्‌। परिभ्रमण निरीक्षकको रूपमा सेवा गर्ने पतिहरूलाई वफादारीपूर्वक समर्थन गर्ने पत्नीहरू छन्‌ भने हजारौं बहिनीहरू संसारभरिका बेथेल घरहरूमा सेवा गर्छन्‌। निस्सन्देह, यी आत्मत्यागी बहिनीहरू यहोवाको घर महिमाले भर्ने “सबै जाति जातिका धन-सम्पत्तिहरू[मध्येका]” हुन्‌।—हाग्गै २:७.

९, १०. मसीही पत्नी तथा आमाहरूले बसालेको असल उदाहरणको लागि कोही-कोही परिवारका सदस्यहरूले कस्तो मूल्यांकन व्यक्‍त गरेका छन्‌?

निस्सन्देह, थुप्रै मसीही स्त्रीहरूले पूरा गर्नुपर्ने पारिवारिक जिम्मेवारीहरू छन्‌ तैपनि तिनीहरू राज्य गतिविधिलाई प्राथमिकता दिन्छन्‌। (मत्ती ६:३३) एउटी अविवाहित अग्रगामी बहिनीले यस्तो लेखिन्‌: “म नियमित अग्रगामी हुनुमा मेरी आमाको अटल विश्‍वास र असल उदाहरणको ठूलो हात छ। साँच्चै भन्‍ने हो भने, मेरो सबैभन्दा असल अग्रगामी साथी उहाँ नै हुनुहुन्थ्यो।” एक जना पति आफ्नी पत्नी अर्थात्‌ हुर्किसकेकी पाँच छोरीकी आमाबारे यसो भन्छन्‌: “हाम्रो घर सधैं सफा-सुग्घर हुन्थ्यो। हाम्रो परिवारले आध्यात्मिक कुराहरूमा ध्यान दिन सकोस्‌ भनेर मेरी पत्नी बोनीले घर सरल र चिटिक्क पार्थिन्‌। हाम्रो खर्च हिसाबमा पनि उनी अत्यन्तै होसियार भएकीले मैले आफ्नो परिवार र आध्यात्मिक कुराहरूमा बढी समय दिंदै ३२ वर्षसम्म आंशिक जागिर खान सकें। मेरी पत्नीले बच्चाहरूलाई पनि परिश्रमी हुनुको महत्त्व सिकाइन्‌। म उनको प्रंशसा नगरी बस्न सक्दिनँ।” आज पतिपत्नी दुवै जना यहोवाका साक्षीहरूको मुख्यालयमा सेवा गर्दैछन्‌।

१० एक जना पति आफ्नी श्रीमती अर्थात्‌ आफ्नो एक छोरा र छोरीकी आमाबारे यस्तो लेख्छन्‌: “मलाई सुजनको सबैभन्दा मन पर्ने गुण भनेको परमेश्‍वर र उहाँका जनहरूप्रतिको प्रेमका साथै उनको समझदारी, समानुभूति र इमानदारिता हो। उनले सधैं यहोवा हामीले दिन सक्ने सबैभन्दा सर्वोत्तम कुराको योग्य हुनुहुन्छ भन्‍ने सोचाइ राखेकी छिन्‌—यो सिद्धान्त उनले परमेश्‍वरको सेवकको रूपमा र आमाको रूपमा पनि लागू गरेकी छिन्‌।” आफ्नी पत्नीको समर्थन पाएर यी पतिले प्राचीन, अग्रगामी, कार्यकारी क्षेत्रीय निरीक्षक र अस्पताल सम्पर्क समितिको सदस्यको रूपमा सेवा गर्ने जस्ता विभिन्‍न सुअवसरहरू स्वीकार्न सकेका छन्‌। त्यस्ता स्त्रीहरू पतिहरू, सँगी मसीहीहरू र सबैभन्दा महत्त्वपूर्ण त, यहोवाको लागि कत्ति बहुमूल्य छन्‌!—हितोपदेश ३१:२८, ३०.

पतिविनाका बहुमूल्य स्त्रीहरू

११. (क) यहोवाले विश्‍वासी स्त्रीहरू र अझ विशेष गरी विधवाहरूप्रति कसरी चासो प्रकट गर्नुभएको छ? (ख) विधवा र पति नभएका अरू विश्‍वासी बहिनीहरू कुन कुराबारे निर्धक्क हुन सक्छन्‌?

११ यहोवाले अक्सर विधवाहरूको हितबारे चिन्ता व्यक्‍त गर्नुभएको थियो। (व्यवस्था २७:१९; भजन ६८:५; यशैया १०:१, २) उहाँ परिवर्तन हुनुभएको छैन। उहाँ विधवाहरूमा मात्र होइन तर एक्ली आमाहरूका साथै स्वेच्छाले वा सुहाउँदो मसीही पति नपाएकोले अविवाहित रहेका स्त्रीहरूमा पनि गहिरो चासो लिनुहुन्छ। (मलाकी ३:६; याकूब १:२७) मसीही जीवनसाथीको समर्थनविना यहोवालाई विश्‍वासीपूर्वक सेवा गर्नेहरूमध्ये तपाईं पनि हुनुहुन्छ भने तपाईं यहोवाको नजरमा बहुमूल्य हुनुहुन्छ भनी निर्धक्क हुन सक्नुहुन्छ।

१२. (क) केही मसीही बहिनीहरूले यहोवाप्रति आफ्नो वफादारीता कसरी प्रदर्शन गर्छन्‌? (ख) हाम्रा केही बहिनीहरूले कस्ता भावनाहरूसित संघर्ष गरिरहेका छन्‌?

१२ उदाहरणका लागि, “प्रभुमा मात्र” विवाह गर्नु भन्‍ने यहोवाको सल्लाह वफादार भई पालन गरेकोले विवाह नगरेका मसीही बहिनीहरूलाई लिनुहोस्‌। (१ कोरिन्थी ७:३९; हितोपदेश ३:१) परमेश्‍वरको वचनले तिनीहरूलाई यस्तो आश्‍वासन दिन्छ: “वफादारप्रति [यहोवा] वफादार हुनुहुन्छ।” (२ शमूएल २२:२६, नयाँ संशोधित संस्करण) यद्यपि, तिनीहरूमध्ये थुप्रैका लागि अविवाहित रहनु चुनौतीपूर्ण कुरा हो। एउटी बहिनी भन्छिन्‌: “मैले प्रभुमा मात्र विवाह गर्ने अठोट गरें तर मेरा साथीहरूले असल मसीही पुरुषहरूसित विवाह गरेको र आफूचाहिं एक्लोको एक्लै भएको देख्दा मैले कैयौं चोटि आँसु बगाएँ।” अर्की बहिनी भन्छिन्‌: “मैले यहोवालाई सेवा गरेको २५ वर्ष भइसक्यो। म उहाँप्रति वफादार रहन कटिबद्ध छु तर एक्लोपनाले मलाई अक्सर पिरोल्छ।” तिनी अझ भन्छिन्‌: “म जस्ता बहिनीहरूले प्रोत्साहनको तृष्णा गर्छन्‌।” त्यस्ता वफादार जनहरूलाई हामी कसरी मदत गर्न सक्छौं?

१३. (क) यिप्तहकी छोरीलाई भेट्‌न आएकाहरूले बसालेको उदाहरणबाट हामी के सिक्छौं? (ख) हाम्रो मण्डलीका अविवाहित बहिनीहरूप्रति हामीले कुन अर्को तरिकामा चासो देखाउन सक्छौं?

१३ एउटा तरिका एउटा पुरातन उदाहरणमा पाउन सकिन्छ। यिप्तहकी छोरीले जब विवाह गर्ने अवसरलाई त्यागिन्‌ तब मानिसहरूले तिनले त्याग गरिरहेकी छिन्‌ भनी बुझे। तिनलाई प्रोत्साहन दिन के गरियो? “इस्राएलका छोरीहरू प्रत्येक वर्ष चार दिनसम्म यिप्तहकी छोरीको स्मृतिमा जानपर्ने एउटा परम्परा भयो।” (छड्‌के अक्षर हाम्रो, न्यायकर्त्ता ११:३०-४०) त्यस्तै गरी, हामीले पनि वफादार भई यहोवाको व्यवस्था पालन गर्ने अविवाहित बहिनीहरूलाई हृदयदेखि प्रशंसा व्यक्‍त गर्नुपर्छ। a हामीले आफ्नो चासो देखाउन सक्ने अर्को तरिका के हो? हामीले आफ्नो प्रार्थनामा यहोवालाई त्यस्ता प्रिय, विश्‍वासी बहिनीहरूलाई आफ्नो सेवामा वफादार भएर लागिरहन सहयोग गर्न बिन्ती गर्नुपर्छ। यहोवा र सम्पूर्ण मसीही मण्डलीले तिनीहरूको न्यानो प्रेम गर्नुका साथै गहिरो मूल्यांकन गर्छन्‌ भनी ढुक्क गराउनुपर्छ।—भजन ३७:२८.

एक्ली आमाहरू कसरी सफल हुन्छन्‌

१४, १५. (क) मसीहीहरू जो एक्ली आमाहरू हुन्‌, तिनीहरूले किन मदतको लागि यहोवालाई पुकार्नुपर्छ? (ख) एक्ली आमाहरूले प्रार्थना अनुरूप कसरी काम गर्न सक्छन्‌?

१४ मसीही स्त्रीहरू जो एक्ली आमाहरू हुन्‌, तिनीहरूले पनि थुप्रै चुनौतीहरूको सामना गर्नुपर्छ। तथापि, तिनीहरूले बाइबल सिद्धान्त अनुरूप आफ्ना छोराछोरी हुर्काउने मदतको लागि यहोवालाई पुकार्न सक्छन्‌। हो, तपाईं एक्ली आमा हुनुहुन्छ भने तपाईं सबै कुरामा आमा र बुबा दुवै हुन सक्नुहुन्‍न। यद्यपि, तपाईंले विश्‍वाससहित यहोवालाई मदतको लागि पुकार्नुभयो भने तपाईंका थुप्रै जिम्मेवारीहरू पूरा गर्न यहोवाले मदत गर्नुहुनेछ। कल्पना गर्नुहोस्‌: तपाईं आफ्नो खेतबाट आलुको गह्रौं भारी बोकेर घर जाँदै हुनुहुन्छ र तपाईंको घर टाढा छ। त्यति नै बेला तपाईंको एक जना साथी आफ्नो ट्रकमा जाँदैछ र उसले तपाईंलाई पनि घरसम्म पुऱ्‍याइदिन्छु भन्यो भने के तपाईं इन्कार गर्नुहुन्छ र? अवश्‍य गर्नुहुन्‍न! त्यस्तै गरी, गह्रौं भावनात्मक बोझ आफै बोक्ने प्रयास नगर्नुहोस्‌ जबकि तपाईंले यहोवालाई मदत माग्न सक्नुहुन्छ। वास्तवमा उहाँलाई पुकार्न उहाँले तपाईंलाई निमन्त्रणा दिनुहुन्छ। भजन ६८:१९ (छड्‌के अक्षर हाम्रो) यसो भन्छ: “हाम्रो बोझ दिनहुँ उठाउनुहुने परमप्रभु धन्यका होऊन्‌।” त्यस्तै गरी १ पत्रुस ५:७ ले (छड्‌के अक्षर हाम्रो) हामीलाई आफ्नो सबै फिक्री यहोवामाथि राख्न निमन्त्रणा दिन्छ “किनकि उहाँले तिमीहरूको फिक्री गर्नुहुन्छ।” त्यसैले समस्या तथा फिक्रीहरूको कारण तपाईं बोझले दबिंदा स्वर्गमा हुनुहुने पितालाई ‘निरन्तर रूपमा’ आफ्नो मनको कुरा पोखाउनुहोस्‌।—१ थिस्सलोनिकी ५:१७; भजन १८:६; ५५:२२.

१५ उदाहरणका लागि, तपाईं एउटी आमा हुनुहुन्छ भने छोराछोरीले सामना गर्न सक्ने साथीहरूको दबाब वा निष्ठाका जाँचहरूबारे तपाईं पक्कै पनि चिन्तित हुनुहुन्छ। (१ कोरिन्थी १५:३३) यी चिन्ताहरू जायज हुन्‌। तर यी प्रार्थना गर्न सकिने विषयहरू पनि हुन्‌। साँच्चै भन्‍ने हो भने, तपाईंका छोराछोरी स्कूल जानुअघि सँगै दैनिक पद छलफल गरेपछि यस्ता कुराहरू प्रार्थनामा राख्नुभए कसो होला? तोकेर गरिएका हार्दिक प्रार्थनाहरूले तपाईंका केटाकेटीको मनमा अमेट छाप पार्न सक्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा त धीरजी भई तपाईंले आफ्ना छोराछोरीको हृदयमा उहाँको वचन ठप्प बसाल्ने प्रयास गर्नुहुँदा तपाईं यहोवाको आशिष्‌को हकदार हुनुहुनेछ। (व्यवस्था ६:६, ७; हितोपदेश २२:६) याद गर्नुहोस्‌, “प्रभुको नजर धर्मात्माहरूमाथि रहन्छ, र उहाँका कान तिनीहरूका अन्तरबिन्तीतिर खुला हुन्छ।”—१ पत्रुस ३:१२; फिलिप्पी ४:६, ७.

१६, १७. (क) आफ्नी आमाले देखाएको प्रेमबारे एक जना छोराले के भने? (ख) आमाको आध्यात्मिक दृष्टिकोणले छोराछोरीमा कस्तो प्रभाव पऱ्‍यो?

१६ छ छोराछोरीकी आमा ओलिभियोको उदाहरणलाई विचार गर्नुहोस्‌। बेग्लै विश्‍वास भएको तिनका पतिले कान्छी छोरी जन्मेको केही समयमै परिवारलाई त्यागे तर तिनले खुसीसाथ आफ्नो छोराछोरीलाई परमेश्‍वरको तौरतरिकाअनुसार हुर्काउने जिम्मेवारी स्वीकारिन्‌। मसीही प्राचीन तथा अग्रगामीको रूपमा सेवा गरिरहेका अहिले ३१ वर्ष पुगेका ओलिभियाको छोरा ड्यारेन त्यतिबेला ५ वर्ष जतिका थिए। ड्यारेनलाई अहिलेसम्म पनि दुःख दिइरहने एक प्रकारको गम्भीर स्वास्थ्य समस्या त्यति नै बेला देखा पर्न थाल्दा ओलिभियाको चिन्तामाथि चिन्ता थपियो। आफ्नो बाल्यकाल सम्झँदै ड्यारेन लेख्छन्‌: “म अस्पतालमा भर्ना हुँदा आमा आउनुहुने समयको उत्सुकतासाथ प्रतीक्षा गर्ने समय मलाई अझै याद छ। उहाँ मेरो छेउमा बस्नुहुन्थ्यो र दिनहुँ बाइबल पढेर सुनाउनुहुन्थ्यो। त्यसपछि उहाँले ‘यहोवा, धन्यवाद छ’ भन्‍ने राज्य गीत गाउनुहुन्थ्यो। b आजसम्म पनि त्यो गीत मलाई सबैभन्दा मन पर्ने गीत हो।”

१७ यहोवामा भरोसा र उहाँप्रतिको प्रेमको कारण ओलिभिया सफल एक्ली आमा हुन सकिन्‌। (हितोपदेश ३:५, ६) तिनको असल मनोवृत्ति तिनले आफ्ना छोराछोरीसामु राखिदिएको लक्ष्यबाट स्पष्ट हुन्छ। “आमाले हामीलाई सधैं पूर्ण-समय सेवकाई गर्ने लक्ष्य बनाउन प्रोत्साहन दिनुहुन्थ्यो” ड्यारेन भन्छन्‌। “फलस्वरूप म र मेरा पाँच जना दिदीबहिनीमध्ये चार जना पूर्ण-समय सेवकाईमा लाग्यौं। यद्यपि, आमाले अरू मानिससामु कहिले पनि यस कुराको धाक लगाउनुहुन्‍नथ्यो। म उहाँका असल गुणहरूको अनुकरण गर्न कडा मेहनत गर्छु।” हो, ओलिभियाका छोराछोरीले जस्तै हुर्केपछि सबैले परमेश्‍वरको सेवा गर्दैनन्‌। तर आमाले बाइबल सिद्धान्त अनुरूप जीवन बिताउन यथाशक्य गर्दा तिनी यहोवाको डोऱ्‍याइ र मायालु समर्थनबारे निर्धक्क हुन सक्छिन्‌।—भजन ३२:८.

१८. यहोवाले गर्नुभएको मसीही मण्डलीको प्रबन्धको मूल्यांकन गर्छौं भनी हामी कसरी देखाउन सक्छौं?

१८ परमेश्‍वरले मसीही मण्डली र यसको नियमित आध्यात्मिक भोजनको कार्यक्रम, मसीही भ्रातृत्व र आध्यात्मिक तवरमा परिपक्व “पुरुषहरूमध्ये वरदान[द्वारा]” समर्थनको प्रबन्ध गर्नुहुन्छ। (एफिसी ४:८, NW) “अनाथ र विधवाहरू[का]” आवश्‍यकतालाई विशेष ध्यान दिंदै विश्‍वासी प्राचीनहरूले मण्डलीका सबैलाई सुदृढ पार्ने प्रयास गर्छन्‌। (याकूब १:२७) त्यसैले परमेश्‍वरका जनहरूसँग नजिक रहनुहोस्‌, आफूलाई नअलग्याउनुहोस्‌।—हितोपदेश १८:१; रोमी १४:७.

अधीनताको सौन्दर्य

१९. पत्नी, पतिको अधीनमा बस्नुले किन तुच्छता झल्किंदैन र यसलाई कुन बाइबल उदाहरणले समर्थन गर्छ?

१९ यहोवाले स्त्रीलाई पुरुषको पूरकको रूपमा सृष्टि गर्नुभयो। (उत्पत्ति २:१८) त्यसकारण पत्नी, पतिको अधीनमा बस्नुले कुनै पनि तरिकामा तुच्छता झल्किंदैन। बरु, यसले स्त्रीको मर्यादा बढाउँछ र तिनले परमेश्‍वरको इच्छा अनुरूप आफ्ना थुप्रै वरदान तथा सीपहरू चलाउन सक्छिन्‌।। हितोपदेश अध्याय ३१ मा पुरातन इस्राएलमा सुयोग्य पत्नीले गर्ने विविध कार्यहरूबारे वर्णन गरिएको छ। तिनले खाँचोमा परेकाहरूलाई मदत गर्थिन्‌, दाखबारी लाउँथिन्‌ र खेत किन्थिन्‌। हो “तिनका पतिले तिनलाई पूरा भरोसा गर्छन्‌। औ तिनलाई छोरा-छोरीको केही अभाव हुँदैन।”—पद ११, १६, २०.

२०. (क) मसीही स्त्रीले ईश्‍वरप्रदत्त योग्यता वा वरदानहरूप्रति कस्तो दृष्टिकोण राख्नुपर्छ? (ख) एस्तरले कस्ता असल गुणहरू प्रदर्शन गरिन्‌ र फलस्वरूप यहोवाले तिनलाई कसरी चलाउन सक्नुभयो?

२० भद्र, ईश्‍वरभीरु स्त्रीले महत्त्वकांक्षी ढंगमा आफूलाई उच्च बनाउँदिनन्‌ वा आफ्नो पतिसित प्रतिस्पर्धा गर्दिनन्‌। (हितोपदेश १६:१८) तिनले सांसारिक कुराहरूबाट मात्रै आत्मसन्तुष्टि प्राप्त गर्ने गर्दिनन्‌ तर ईश्‍वर-प्रदत्त वरदानहरू मुख्यतः अरूहरू—परिवार, सँगी मसीहीहरू, छिमेकी र मुख्य रूपमा यहोवाको सेवा गर्न चलाउँछिन्‌। (गलाती ६:१०; तीतस २:३-५) बाइबलमा उल्लिखित रानी एस्तरको उदाहरणलाई विचार गर्नुहोस्‌। तिनी शारीरिक तवरमा सुन्दरी भए तापनि भद्र थिइन्‌ र अधीनमा बस्थिन्‌। (एस्तर २:१३, १५) विवाहपछि तिनले आफ्ना पति, राजा अहासूरसप्रति तिनको पहिलाको पत्नी वश्‍तीले जस्तो नभई गहिरो आदर देखाइन्‌। (एस्तर १:१०-१२; २:१६, १७) एस्तरले आफू रानी भइसकेपछि पनि उचित विषयहरूमा आफूभन्दा पाको नातेदार मोर्दकैको कुरा सुनिन्‌। तर तिनको व्यक्‍तित्व भने कमजोर थिएन! उनले साहसी भई यहूदीहरूलाई पूरै नाश गर्ने षड्यन्त्र गरेका शक्‍तिशाली र क्रूर हामानको पर्दाफास गरिदिइन्‌। यहोवाले आफ्ना जनहरूको संरक्षणको लागि एस्तरलाई महत्त्वपूर्ण ढंगमा चलाउनुभयो।—एस्तर ३:८–४:१७; ७:१-१०; ९:१३.

२१. मसीही स्त्री यहोवाको नजरमा अझ कसरी बहुमूल्य हुन सक्छिन्‌?

२१ स्पष्टतः विगत र वर्तमानमा ईश्‍वरभीरु स्त्रीहरूले यहोवा र उहाँको उपासनाप्रति ऐकान्तिक भक्‍ति देखाएका छन्‌। त्यसकारण ईश्‍वरभीरु स्त्रीहरू परमेश्‍वरको नजरमा बहुमूल्य छन्‌। मसीही बहिनीहरू हो, “सबै असल काममा तंतयार रहेको” मनमोहक “भाँडो” हुन यहोवाले आफ्नो आत्मामार्फत दिनुहुने कुरामा आफूलाई क्रमशः ढाल्न दिनुहोस्‌। (२ तिमोथी २:२१; रोमी १२:२) ती बहुमूल्य उपासकहरूबारे परमेश्‍वरको वचन यसो भन्छ: “तिनको मेहनतको फलको निम्ति तिनको प्रशंसा गर्‌, र तिनको परिश्रमबाट तिनले शहरको मूल-ढोकामा आदर पाऊन्‌।” (हितोपदेश ३१:३१) तपाईंहरू सबैको सन्दर्भमा यो सत्य साबित होस्‌।

[फुटनोटहरू]

a त्यस्तो प्रशंसा कसरी दिने भन्‍ने सन्दर्भमा प्रहरीधरहरा, मार्च १५, २००२, पृष्ठ २६-८ हेर्नुहोस्‌।

b यहोवाका साक्षीहरूद्वारा प्रकाशित सिङ प्रेजेज टु जेहोभा-को गीत संख्या २१२।

के तपाईंलाई सम्झना छ?

• प्रथम शताब्दीका केही मसीही स्त्रीहरू कसरी यहोवाको नजरमा बहुमूल्य साबित भए?

• हाम्रो समयका थुप्रै बहिनीहरूले कसरी आफूलाई परमेश्‍वरको नजरमा बहुमूल्य बनाएका छन्‌?

• पतिविनाका एक्ली आमाहरू र अरू अविवाहित बहिनीहरूलाई कुन तरिकाहरूमा यहोवाले समर्थन गर्नुहुन्छ?

• शिरत्वको प्रबन्धप्रति एउटी स्त्रीले कसरी हार्दिक आदर देखाउन सक्छिन्‌?

[प्रश्‍नहरू]

[पृष्ठ १७-मा भएको पेटी]

विचार गर्नका लागि उदाहरणहरू

के तपाईं बाइबलमा उल्लेख गरिएका थप केही विश्‍वासी स्त्रीहरूका उदाहरणहरू विचार गर्न चाहनुहुन्छ? चाहनुहुन्छ भने कृपया तल दिइएका शास्त्रपदहरू पढ्‌नुहोस्‌। तल दिइएका विभिन्‍न व्यक्‍तिहरूबारे मनन गर्दा तपाईंले आफ्नो जीवनमा अझ बढ्‌ता गरी लागू गर्न सक्ने सिद्धान्तहरू बुझ्ने प्रयास गर्नुहोस्‌।—रोमी १५:४.

सारा: उत्पत्ति १२:१, ५; १३:१८क; २१:९-१२; १ पत्रुस ३:५, ६.

उदार इस्राएली स्त्रीहरू: प्रस्थान ३५:५, २२, २५, २६; ३६:३-७; लूका २१:१-४.

दबोरा: न्यायकर्त्ता ४:१-५:३१.

रूथ: रूथ १:४, ५, १६, १७; २:२, ३, ११-१३; ४:१५.

शुनैमकी स्त्री: २ राजा ४:८-३७.

कनानी स्त्री: मत्ती १५:२२-२८.

मार्था र मरियम: मर्कूस १४:३-९; लूका १०:३८-४२; यूहन्‍ना ११:१७-२९; १२:१-८.

तबीता: प्रेरित ९:३६-४१.

फिलिपका चारवटी कन्ये-छोरीहरू: प्रेरित २१:९.

फिबी: रोमी १६:१, २.

[पृष्ठ १५-मा भएको चित्र]

के तपाईं वफादार भई परमेश्‍वरको व्यवस्था पालन गर्ने अविवाहित बहिनीहरूको प्रशंसा गर्नुहुन्छ?

[पृष्ठ १६-मा भएको चित्र]

छोराछोरी स्कूल जानुअघि प्रार्थनामा तोकेरै कस्ता आग्रह गर्न सकिन्छ?