सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अघि र पछि बाइबलको सिद्धान्तले आमूल परिवर्तन ल्यायो

अघि र पछि बाइबलको सिद्धान्तले आमूल परिवर्तन ल्यायो

“परमेश्‍वरको नजीक आओ र उहाँ तिमीहरूका नजीक आउनुहुनेछ”

अघि र पछि बाइबलको सिद्धान्तले आमूल परिवर्तन ल्यायो

जवान छँदा एड्रियन एकदमै रिसाहा अनि आक्रामक थिए। झट्टै रिसाइहाल्ने स्वभावका एड्रियन हिंस्रक तरिकामा आफ्नो रिस पोखाउँथे। उनी रक्सी पिउँथे, चुरोट तान्थे र अनैतिक जीवन बिताउँथे। एड्रियन, पंक भनेर चिनिन्थे अनि उनको शरीरमा भएको ट्याटुले अराजकताप्रति उनको समर्थनलाई झल्काउँथ्यो। ती वर्षहरूबारे उनी यसो भन्छन्‌; “म पूरै पंक स्टाइलले कपाल काट्‌थें, कपाललाई ठाडो बनाउन बेस्सरी गम दल्थें अनि कहिलेकाहीं कपाललाई रातो र नानाभाँतिको रंगले रंग्याउँथें।” एड्रियनले आफ्नो नाक पनि छेडेका थिए।

केही विद्रोही केटाहरूसित एड्रियन एउटा थोत्रे घरमा बस्न थाले। त्यहाँ तिनीहरू रक्सी पिउँथे र लागूपदार्थ लिन्थे। एड्रियन सम्झन्छन्‌, “म नशालु चक्की खान्थें अनि त्यतिले मात्र नपुगेर भ्यालियम लिन्थें र लट्ठ्याउने कुनै चीज बाँकी राख्दैनथें। लागूपदार्थ र सुँघ्ने गम नहुँदा म अरूको गाडीबाट पेट्रोल निकाली त्यसको गन्ध सुँघेर लट्ठिन्थें।” आपराधिक सडक जीवन बिताउँदै जाँदा एड्रियन डरलाग्दो र अत्यन्तै हिंस्रक बने। सर्वसाधारण उनीसित कुनै सम्बन्ध नै राख्न चाहँदैनथे। यसको साथै, उनी कुख्यात भएपछि धेरै हुल्याहाहरूसित उनको सङ्‌गत भयो।

उनले आफ्ना साथीहरू केवल स्वार्थको लागि आफूसित सङ्‌गत गर्दा रहेछन्‌ भन्‍ने कुरा बिस्तारै बुझे। साथै, उनी “क्रोध र हिंसाबाट केहि पनि पाउन सकिंदो रहेनछ” भन्‍ने निष्कर्षमा पुगे। खोक्रो अनि निराश महसुस गर्दै उनले आफ्ना साथीहरूको सङ्‌गत छाडे। जब उनले एउटा निर्माणस्थलमा प्रहरीधरहरा-को एकप्रति पाए, बाइबल आधारित यसको सन्देशबाट उनी आकर्षित भए अनि यसले यहोवाका साक्षीहरूसित बाइबल अध्ययनतर्फ डोऱ्‍यायो। एड्रियनले निकै उत्सुकतासाथ यस निमन्त्रणालाई स्वीकारे: “परमेश्‍वरको नजीक आओ, र उहाँ तिमीहरूको नजीक आउनुहुनेछ।” (याकूब ४:८) फलतः पवित्र धर्मशास्त्रमा पाइने सिद्धान्तहरू व्यवहारमा उतार्नुपर्ने आवश्‍यकतालाई बुझ्न एड्रियनलाई धेरै समय लागेन।

बढ्‌दै गइरहेको बाइबलको ज्ञानले एड्रियनको अन्तस्करणमा राम्रो असर पाऱ्‍यो र उनी हिंडिरहेको जीवनको बाटोलाई एउटा नयाँ दिशा दियो। झट्टै रिसाइहाल्ने बानीलाई वशमा राख्न र आत्मसंयम विकास गर्न उनलाई मदत दिइयो। परमेश्‍वरको वचनको शक्‍तिले एड्रियनको व्यक्‍तित्वमा ठूलो परिवर्तन ल्यायो।—हिब्रू ४:१२.

तथापि, बाइबलले कसरी त्यस्तो शक्‍तिशाली असर गर्न सक्यो त? धर्मशास्त्रको ज्ञानले हामीलाई “नयाँ मानिसलाई धारण गर्न” मदत गर्छ। (एफिसी ४:२४) हो, बाइबलमा पाइने सही ज्ञानलाई जीवनमा उतार्दा हाम्रो व्यक्‍तित्व परिवर्तन हुन्छ। तर यस्तो ज्ञानले मानिसलाई कसरी परिवर्तन गर्छ त?

सर्वप्रथम, त्याग्नुपर्ने दुर्गुणहरू के-के हुन्‌ बाइबलले सो बताउँछ। (हितोपदेश ६:१६-१९) दोस्रो, धर्मशास्त्रले हामीलाई परमेश्‍वरको पवित्र आत्माले फलाउने मनमोहक गुणहरू प्रदर्शन गर्न आग्रह गर्छ। यसमा “प्रेम, आनन्द, शान्ति, धीरज, दया, भलाइ, विश्‍वस्तता, नम्रता, संयम” समावेश छन्‌।—गलाती ५:२२, २३.

परमेश्‍वरका आवश्‍यकताहरूको गहिरो समझले एड्रियनलाई आत्मपरीक्षण गर्न अनि आफूले विकास गर्नुपर्ने तथा त्याग्नुपर्ने दुर्गुणहरू ठम्याउन मदत गऱ्‍यो। (याकूब १:२२-२५) तर त्यो त सुरुवात मात्र थियो। ज्ञान लिनुका साथै उत्प्रेरणा अर्थात्‌ उनलाई परिवर्तन गर्ने चाहना विकास गर्न अभिप्रेरित गर्ने कुनै तत्त्वको आवश्‍यकता थियो।

“आफूलाई सृष्टि गर्नेको रूपजस्तै भएर” नयाँ असल व्यक्‍तित्वमा ढालिन्छ भनी एड्रियनले बुझे। (कलस्सी ३:१०) उनले मसीहीको व्यक्‍तित्व परमेश्‍वरको व्यक्‍तित्वजस्तो हुनै पर्छ भनेर थाह पाए। (एफिसी ५:१) बाइबल अध्ययनद्वारा एड्रियनले यहोवाले मानिसजातिसित गर्ने व्यवहारबारे सिके अनि प्रेम, भलाइ, दया अनि धार्मिकताजस्ता परमेश्‍वरका असल गुणहरू बुझे। यस्तो ज्ञानले परमेश्‍वरलाई प्रेम गर्ने अनि यहोवाले अनुमोदन गर्नुहुने व्यक्‍ति बन्‍ने प्रयास गर्न एड्रियनलाई उत्प्रेरित गऱ्‍यो।—मत्ती २२:३७.

समय बित्दै जाँदा अनि परमेश्‍वरको पवित्र आत्माको मदतले एड्रियन आफ्नो हिंस्रक रिसलाई वशमा राख्न सक्षम भए। हाल अरूलाई बाइबल ज्ञानको मदतले आफ्नो जीवनमा परिवर्तन ल्याउन मदत गर्ने काममा उनीलगायत उनकी पत्नी व्यस्त छन्‌। एड्रियन यसो भन्छन्‌, “मेरा धेरैजसो साथीहरू मरिसके तर म भने अझै जीवित छु र एउटा सुखी पारिवारिक जीवनको आनन्द उठाइरहेको छु।” जीवनमा असल परिवर्तनहरू ल्याउने बाइबलको शक्‍तिको उनी एक जीवित प्रमाण हुन्‌।

[पृष्ठ २५-मा भएको ठूलो अक्षरको क्याप्सन]

“क्रोध र हिंसाबाट केहि पनि पाउन सकिंदो रहेनछ”

[पृष्ठ २५-मा भएको पेटी]

व्यवहारमा उतारिएका बाइबल सिद्धान्तहरू

रिसाहा अनि हिंस्रक धेरै मानिसहरूलाई शान्त बन्‍न मदत गरेका केही बाइबल सिद्धान्तहरू तल दिइएका छन्‌:

“सक्दोभर सबै मानिसहरूसँग शान्तिमा रहो। हे प्रिय हो, बदला नलेओ, तर परमेश्‍वरको क्रोधलाई स्थान देओ।” (रोमी १२:१८, १९) कहिले र कसमाथि बदला लिने हो, त्यो परमेश्‍वरलाई नै निर्णय गर्न देऔं। तथ्यलाई पूर्णतः बुझेर उहाँ यसो गर्न सक्नुहुन्छ अनि उहाँले लिने कुनै पनि बदलाले उहाँको सिद्ध न्याय झल्काउनेछ।

“क्रोध गर, तर पाप नगर, घाम अस्ताउन अघिनै तिमीहरूको रीस मरोस। शैतानलाई मौका नदेओ।” (एफिसी ४:२६, २७) कहिलेकाहीं मानिसहरू रिसाउनुका उचित कारणहरू हुन सक्छन्‌। यदि कसैलाई रिस उठेको छ भने ‘रिसाएरै’ बस्नु ठीक हुँदैन। किन? किनकि यसले उनलाई कुनै खराब कुरा गर्न उक्साउन सक्छ र यसरी उनले “शैतानलाई मौका” दिइरहेका हुन्छन्‌, फलतः यहोवा परमेश्‍वरको अनुमोदन गुमाउँछन्‌।

“रिसाउन छोड़ र क्रोधलाई त्याग्‌। व्याकुल नहो, यसले खराबी गर्नतिर ढल्काउँछ।” (भजन ३७:८) आवेगले धेरै अनियन्त्रित कार्यहरू गर्न उन्मुख गर्न सक्छ। क्रोधमा मानिसले त्यस्तो कुरा भन्‍न वा गर्न सक्छ जसले सम्बन्धित सबैलाई चित्त दुखाउनेछ।