सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

चेला बनाउन प्रचार गर्नुहोस्‌

चेला बनाउन प्रचार गर्नुहोस्‌

चेला बनाउन प्रचार गर्नुहोस्‌

“[ अपोल्लसले] बोलेका सुनेर प्रिस्किला र अक्वीलाले तिनलाई आफूहरूकहाँ ल्याए, र परमेश्‍वरको मार्गको अर्थ झन्‌ प्रष्टसँग बुझाइदिए।”—प्रेरित १८:२६.

१. अपोल्लस “आत्माको जोशले” भरिएका भए तापनि तिनलाई कुन कुरा चाहिएको थियो?

 प्रथम शताब्दीका मसीही दम्पती, अक्वीला र प्रिस्किलाले एफिसस शहरको एउटा सभाघरमा अपोल्लले भाषण दिइरहेको सुने। तिनको वाक्‌-कौशलता र मनाउन सक्ने क्षमताको कारण अपोल्लसले आफ्ना श्रोताहरूको ध्यान खिचेका थिए। “आत्माको जोशले भरिएर” तिनले “येशूका विषयका कुराहरू ठीक ठीकसँग . . . [सिकाइरहेका]” थिए। तथापि, अपोल्लसले “यूहन्‍नाको बप्तिस्मा मात्र थाह पाएका थिए” भन्‍ने कुरा स्पष्ट थियो। अपोल्लसले ख्रीष्टबारे जति कुरा सिकाइरहेका थिए, त्यो सत्य थियो। तर समस्या भनेको येशूसम्बन्धी तिनको ज्ञान अपूरो थियो। अपोल्लसले यहोवाको उद्देश्‍यको कार्यान्वयनमा येशू ख्रीष्टको भूमिकाबारे आफ्नो ज्ञान बढाउनुपरेको थियो।—प्रेरित १८:२४-२६.

२. प्रिस्किला र अक्वीलाले कस्तो चुनौती स्वीकारे?

अपोल्लसलाई ख्रीष्टले आज्ञा गर्नुभएका “सबै” कुरा गर्न सक्ने व्यक्‍ति बन्‍न मदत दिन प्रिस्किला र अक्वीला नहिचकिचाईकन अघि सरे। (मत्ती २८:१९, २०) विवरणले बताएअनुसार तिनीहरूले अपोल्लसलाई “आफूहरूकहाँ ल्याए, र परमेश्‍वरको मार्गको अर्थ झन्‌ प्रष्टसँग बुझाइदिए।” तथापि, अपोल्लसबारेका तथ्यहरूले तिनलाई सिकाउन कोही-कोही मसीहीहरूलाई अनिच्छुक बनाउन सक्थ्यो। कस्ता तथ्यहरू? अनि अपोल्लससित धर्मशास्त्र छलफल गर्न प्रिस्किला र अक्वीलाले गरेका प्रयासबाट हामी के सिक्न सक्छौं? यस ऐतिहासिक विवरणको पुनरावलोकनले हामीलाई गृह बाइबल अध्ययनहरू सुरु गर्नमा ध्यान केन्द्रित गर्न कसरी मदत दिन सक्छ?

मानिसहरूमा ध्यान केन्द्रित गर्नुहोस्‌

३. अपोल्लसलाई सिकाउनदेखि तिनको पृष्ठभूमिले प्रिस्किला तथा अक्वीलालाई किन रोकेन?

यहूदी कुलमा जन्मेका अपोल्लस, स्पष्टतया अलेक्जेन्ड्रिया शहरमा हुर्केका थिए। त्यति बेला अलेक्जेन्ड्रिया मिश्रको राजधानी थियो र त्यहाँ भएको ठूलो पुस्तकालयको लागि विख्यात यो शहर, उच्च शिक्षाको केन्द्र थियो। यस शहरमा विद्वान्‌हरू लगायत यहूदीहरूको ठूलो जनसमुदाय बस्थ्यो। त्यसैले यहाँ सेप्टुआजिन्ट भनेर चिनिने हिब्रू धर्मशास्त्रको युनानी अनुवाद तयार पारिएको थियो। अतः अपोल्लस “धर्मशास्त्रमा पोख्त” हुनु कुनै छक्कलाग्दो कुरा होइन! अक्वीला र प्रिस्किला पाल बनाउँथे। अपोल्लस कुशल वक्‍ता भएको कारण के तिनीहरू हिचकिचाए? अहँ, हिचकिचाएनन्‌। प्रेमको कारण तिनीहरूले ती व्यक्‍ति, तिनका आवश्‍यकताहरू र तिनलाई कसरी मदत दिन सकिन्छ भनेर विचार गरे।

४. अपोल्लसले तिनलाई चाहिएको मदत कहाँ र कसरी पाए?

अपोल्लस चाहे जतिसुकै कुशल वक्‍ता किन नहोऊन्‌, तिनलाई निर्देशन चाहिएको थियो। तिनलाई चाहिएको मदत कुनै विश्‍वविद्यालयमा होइन तर मसीही मण्डलीका सँगी सदस्यहरूमाझ पाइन्थ्यो। अपोल्लसले यस्ता बुँदाहरूबाट लाभ उठाउन लागेका थिए जसले तिनलाई उद्धारको लागि परमेश्‍वरको प्रबन्धबारे अझ सही समझ दिने थियो। प्रिस्किला र अक्वीलाले “तिनलाई आफूहरूकहाँ ल्याए, र परमेश्‍वरको मार्गको अर्थ झन्‌ प्रष्टसँग बुझाइदिए।”

५. प्रिस्किला र अक्वीलाको आध्यात्मिकताबारे तपाईं के भन्‍न सक्नुहुन्छ?

प्रिस्किला र अक्वीला आध्यात्मिक तवरमा बलिया र विश्‍वासमा दह्रो थिए। सम्भवतः धनी मानिस, गरिब व्यक्‍ति, विद्वान्‌ वा दास जोसुकै होऊन्‌, ‘तिनीहरूमा भएको आशाको कारण तिनीहरूसँग सोध्नेहरू हरेकलाई जवाफ दिन तिनीहरू सधैं तयार’ थिए। (१ पत्रुस ३:१५) अक्वीला र तिनकी पत्नी ‘सत्यको वचनलाई ठीकसँग प्रयोग गर्न’ सक्षम थिए। (२ तिमोथी २:१५) स्पष्टतः तिनीहरू धर्मशास्त्रका लगनशील विद्यार्थीहरू थिए। हृदयलाई असर गर्ने, ‘परमेश्‍वरको जीवित र प्रबल वचनमा’ आधारित निर्देशनहरूद्वारा अपोल्लस एकदमै प्रभावित भएका थिए।—हिब्रू ४:१२.

६. आफूले पाएको मदतको अपोल्लसले मूल्यांकन गरे भनी हामी कसरी थाह पाउँछौं?

अपोल्लसले आफ्ना शिक्षकहरूको उदाहरणको मूल्यांकन गरे र चेला बनाउन अझ सिपालु भए। तिनले विशेष गरी यहूदी जनसमुदायमाझ सुसमाचार उद्‌घोषणा गर्ने काममा आफ्नो ज्ञानलाई प्रभावकारी ढंगमा चलाए। ख्रीष्टबारे यहूदीहरूलाई मनाउने काममा अपोल्लस उल्लेखनीय ढंगमा उपयोगी थिए। ‘धर्मशास्त्रमा पोख्त भएको कारण’ तिनले पुरातन समयका सबै अगमवक्‍ताहरूले आउँदै गरेका ख्रीष्टको बाटो हेरिरहेका थिए भनी तिनीहरूसामु प्रमाणित गर्न सके। (प्रेरित १८:२४) विवरणले अझ बताएअनुसार, त्यसपछि अपोल्लस अखैयामा गएर “अनुग्रहद्वारा विश्‍वास गर्नेहरू जतिलाई खूबै मदत गरे। किनकि तिनले धर्मशास्त्रका वचनद्वारा ‘येशूनै ख्रीष्ट हुनहुन्छ’ भन्‍ने कुरा खुल्लमखुल्ला देखाईकन यहूदीहरूलाई एकदमै निरुत्तर तुल्याए।”—प्रेरित १८:२७, २८.

अरू शिक्षकहरूको उदाहरणबाट सिक्नुहोस्‌

७. अक्वीला र प्रिस्किला कसरी सिपालु शिक्षकहरू भए?

अक्वीला र प्रिस्किला कसरी परमेश्‍वरको वचनका निपुण शिक्षकहरू बने? व्यक्‍तिगत अध्ययनमा तिनीहरूको लगनशीलता तथा सभा उपस्थितिको अलावा प्रेरित पावलसँगको तिनीहरूको घनिष्ठ सम्बन्धले ठूलो मदत पुऱ्‍याएको हुनुपर्छ। पावल १८ महिनासम्म कोरिन्थमा प्रिस्किला र अक्वीलाको घरमा बसे। तिनीहरूले सँगै पालहरू बनाउने र मर्मत गर्ने काम गरे। (प्रेरित १८:२, ३) त्यतिबेला कति गहिरा आध्यात्मिक वार्तालापहरू हुन्थे होलान्‌, कल्पना गर्नुहोस्‌ त! अनि पावलसँगको यस्तो संगतिले तिनीहरूको आध्यात्मिकतामा कत्ति धेरै फाइदा पुऱ्‍यायो! “बुद्धिमानीहरूको सङ्‌गत गर्नाले बुद्धिमान्‌ होइन्छ” भनी हितोपदेश १३:२० ले भन्छ। असल सङ्‌गतिले तिनीहरूको आध्यात्मिक आनीबानीमा राम्रो असर पुऱ्‍यायो।—१ कोरिन्थी १५:३३.

८. पावलको सेवकाईलाई हेरेर प्रिस्किला र अक्वीलाले कुन कुरा सिके?

प्रिस्किला र अक्वीलाले पावललाई एक जना राज्य उद्‌घोषकको रूपमा हेर्दा, उनीहरूले तिनलाई असल शिक्षकको रूपमा भेट्टाए। प्रेरितको पुस्तकमा दिइएको विवरणले बताएअनुसार पावलले “हरेक विश्रामको दिनमा . . . [कोरिन्थको] सभाघरमा बहस गर्थे, औ यहूदीहरू र ग्रीकहरूलाई मनाउन प्रयत्न गर्थे।” पछि, सिलास र तिमोथीले तिनलाई साथ दिएपछि, “पावलले वचनको जोशमा परेर यहूदीहरूलाई ‘येशूनै ख्रीष्ट हुन्‌’ भनी शिक्षा दिनलागे।” सभाघरका सदस्यहरूले त्यति चासो नदेखाएपछि पावलले आफ्नो प्रचारकार्यको केन्द्र परिवर्तन गरेर अझ उपयुक्‍त स्थल अर्थात्‌ सभाघरसँगै जोडिएको घर रोजेको कुरा प्रिस्किला र अक्वीलाले देखे। त्यहाँ पावलले “सभाघरका शासक” क्रिस्पसलाई चेला बन्‍न मदत गर्न सके। ती एक जना व्यक्‍ति चेला बन्दा यसले त्यस इलाकामा गहिरो र फलदायी प्रभाव पारेको कुरा सम्भवतः प्रिस्किला र अक्वीलाले याद गरे। विवरण यसो भन्छ: “क्रिस्पस र उनका सारा परिवार समेतले प्रभुमा विश्‍वास गरे, र कोरिन्थीहरूमध्ये पनि धेरै जनाले विश्‍वास गरे, र बप्तिस्मा लिए।”—प्रेरित १८:४-८.

९. पावलको उदाहरणप्रति प्रिस्किला र अक्वीलाले कस्तो प्रतिक्रिया देखाए?

क्षेत्र सेवकाईमा पावलले बसालेका उदाहरण प्रिस्किला र अक्वीलाजस्ता राज्य उद्‌घोषकहरूले अनुकरण गरे। ती प्रेरितले अरू मसीहीहरूलाई यस्तो आग्रह गरे: “म ख्रीष्टमा भएझैं तिमीहरू पनि मेरो देखा-सिकी गर्ने होओ।” (१ कोरिन्थी ११:१) पावलको उदाहरण अनुरूप, प्रिस्किला र अक्वीलाले मसीही शिक्षाहरू अझ सही ढंगमा बुझ्न अपोल्लसलाई मदत गरे। अनि तिनले अझै अरूलाई मदत गरे। प्रिस्किला र अक्वीलाले रोम, कोरिन्थ र एफिससमा चेला बनाउन मदत गरे भन्‍ने कुरामा कुनै सन्देह छैन।—प्रेरित १८:१, २, १८, १९; रोमी १६:३-५.

१०. चेला बनाउने काममा तपाईंलाई मदत गर्न सक्ने कस्ता कुराहरू तपाईंले प्रेरित अध्याय १८ बाट सिक्नुभयो?

१० प्रेरित अध्याय १८ विचार गरेर हामी के सिक्न सक्छौं? हो, जसरी अक्वीला र प्रिस्किलाले पावलबाट सिकेका हुन सक्छन्‌, त्यसरी नै परमेश्‍वरको वचनका असल शिक्षकहरूको उदाहरण पछ्याएर हामी पनि चेला बनाउने हाम्रो क्षमतामा उन्‍नति गर्न सक्छौं। हामी “वचनले भरिएका” र अरूलाई “विस्तृत रूपमा साक्षी” दिनेहरूसित सङ्‌गत गर्न सक्छौं। (प्रेरित १८:५, किङ्‌डम इन्टरलिनयर ट्रान्सलेसन) मनाउन सक्ने शिक्षण कला प्रयोग गरेर तिनीहरू कसरी मानिसहरूको हृदयसम्म पुग्छन्‌ भन्‍ने कुरा हामीले ख्याल गर्न सक्छौं। यस्तो कलाले हामीलाई चेला बनाउन मदत गर्न सक्छ। कुनै एक जना व्यक्‍तिले हामीसित अध्ययन गर्दा, हामी तिनलाई परिवारका अरू सदस्य वा छिमेकीहरूलाई पनि अध्ययनमा बस्न बोलाउने सुझाव दिन सक्छौं। वा हामीले बाइबल अध्ययनको प्रस्ताव राख्न सक्ने अरू को-को छन्‌ भनेर हामी तिनलाई सोध्न सक्छौं।—प्रेरित १८:६-८.

चेला बनाउने अवसरहरू सृजना गर्नुहोस्‌

११. नयाँ चेलाहरू कहाँ भेट्टाउन सकिन्छ?

११ पावल र तिनका सँगी मसीहीहरूले घर-घरमा, बजारमा र यात्रामा—वास्तवमा भन्‍ने हो भने, सबै ठाउँमा—प्रचार गरेर चेला बनाउने कोसिस गरे। चेला बनाउन कोसिस गरिरहेको राज्य कामदारको हैसियतमा के तपाईं क्षेत्र सेवामा आफ्नो क्रियाकलाप बढाउन सक्नुहुन्छ? के तपाईं योग्य व्यक्‍तिहरूलाई खोज्ने र तिनीहरूलाई प्रचार गर्ने अवसरहरूको लाभ उठाउन सक्नुहुन्छ? सुसमाचारका हाम्रा सँगी प्रकाशकहरूले कस्ता-कस्ता तरिकाहरू चलाएर चेलाहरू भेट्टाएका छन्‌? आउनुहोस्‌, हामी पहिला टेलिफोन साक्षीबारे विचार गरौं।

१२-१४. टेलिफोन साक्षीका लाभहरू स्पष्ट पार्न तपाईंको आफ्नै अनुभव वा यी अनुच्छेदहरूमा भएका अनुभव बताउनुहोस्‌।

१२ घर-घरमा साक्षी दिंदा ब्राजिलकी एक जना मसीही, जसलाई हामी मारिया भन्‍नेछौं, तिनले एउटा अपार्टमेन्टबाट बाहिर निस्कनै लागेकी एक जना जवान स्त्रीलाई एउटा पर्चा दिइन्‌। त्यस पर्चाको शीर्षकलाई परिचयको रूपमा चलाउँदै मारियाले यसरी सोधिन्‌, “के तपाईं बाइबलका कुराहरू अझ बढी बुझ्न चाहनुहुन्छ?” ती स्त्रीले यस्तो प्रत्युत्तर दिइन्‌: “बुझ्न त चाहन्छु। तर म एक जना शिक्षिका हुँ र विद्यार्थीहरूलाई पढाउँदा-पढाउँदा मलाई फुर्सदै हुँदन।” टेलिफोनद्वारा पनि बाइबल विषयहरूबारे छलफल गर्न सकिन्छ भनेर मारियाले बताइन्‌। ती स्त्रीले मारियालाई आफ्नो टेलिफोन नम्बर दिइन्‌ र त्यसै साँझदेखि तिनले परमेश्‍वर हामीबाट के चाहनुहुन्छ? a भन्‍ने पुस्तिका प्रयोग गरेर टेलिफोनद्वारा अध्ययन सुरु गरिन्‌।

१३ टेलिफोन साक्षीको दौडान एक जना मानिससित कुरा गरिरहेको बेला, टेलिफोनमा कोही चिच्याएको आवाज सुन्दा इथियोपियाकी एउटी पूर्ण-समय सेविका अलि झस्किन्‌। ती मानिसले उनलाई पछि फोन गर्न आग्रह गरे। उनले पछि फोन गर्दा, तिनले माफी मागे र पहिला फोन आउँदा आफू र आफ्नी पत्नीबीच चर्काचर्की परिरहेको थियो भनेर बताए। यी बहिनीले त्यस भनाइलाई पारिवारिक समस्याहरू सुल्झाउनको लागि बाइबलले दिने बुद्धिमानी डोऱ्‍याइप्रति ध्यान खिच्ने अवसरको रूपमा चलाइन्‌। थुप्रै परिवारहरूले यहोवाका साक्षीहरूद्वारा प्रकाशित, पारिवारिक आनन्दको रहस्य भन्‍ने एउटा पुस्तकबाट मदत पाएका छन्‌ भनेर उनले बताइन्‌। तिनलाई उक्‍त पुस्तक दिएको केही दिनपछि यी बहिनीले ती मानिसलाई फेरि फोन गरिन्‌। तिनले यस्तो उद्‌गार व्यक्‍त गरे: “यो पुस्तकले मेरो विवाह बचाएको छ!” वास्वतमा, तिनले त्यस पुस्तकमा पढेका राम्रा बुँदाहरूबारे बताउन एउटा पारिवारिक जमघट गरेछन्‌। गृह बाइबल अध्ययन सुरु भयो र चाँडै ती मानिस नियमित तवरमा मसीही सभाहरूमा उपस्थित हुन थाले।

१४ टेलिफोनद्वारा साक्षी दिएर एउटा बाइबल अध्ययन सुरु गरेकी डेनमार्ककी एक जना राज्य उद्‌घोषिका यसो भन्छिन्‌: “सेवा निरीक्षकले मलाई टेलिफोन साक्षीमा भाग लिन प्रोत्साहन दिनुभयो। सुरुमा त यसो भन्दै म पछि हटें: ‘यो मलाई मनपर्ने कामै होइन।’ तथापि, एक दिन मैले भएभरको साहस बटुलेर पहिलो घरधनीको नम्बर थिच्न थालें। सोन्याले फोन उठाइन्‌ र केहीबेर वार्तालाप गरेपछि बाइबल आधारित साहित्यहरू प्राप्त गर्न राजी भइन्‌। एक दिन साँझपख हामीले सृष्टिको विषयमा छलफल गऱ्‍यौं र तिनले लाइफ—हाउ डिड इट गेट हियर? बाइ इभोलुसन अर बाइ क्रिएसन? b पुस्तक पढ्‌ने इच्छा गरिन्‌। मैले तिनलाई यसबारे भेटेरै छलफल गर्न पाए बेस हुने थियो भनें। तिनी राजी भइन्‌। म पुग्दा सोन्या अध्ययन गर्न तयार भएर बसेकी थिइन्‌ र त्यस बेलादेखि हामीले हरेक हप्ता अध्ययन गऱ्‍यौं।” हाम्री मसीही बहिनी निष्कर्षमा यसो भन्छिन्‌: “एउटा बाइबल अध्ययन भेट्टाउन सकूँ भनेर मैले प्रार्थना गरेको वर्षौं भइसकेको थियो तर मैले फोनद्वारा साक्षी दिएर अध्ययन भेट्टाउने त आशै गरेकी थिइनँ।”

१५, १६. बाइबल अध्ययन सुरु गर्ने विभिन्‍न तरिकाहरूबारे सजग रहँदाको लाभ देखाउन तपाईं कस्ता अनुभवहरू बताउन सक्नुहुन्छ?

१५ मानिसहरू भेटिने सबै ठाउँमा साक्षी दिनू भन्‍ने सुझावहरू व्यवहारमा उतारेर थुप्रैले सफलता पाइरहेका छन्‌। संयुक्‍त राज्य अमेरिकामा एउटी मसीही स्त्रीले गाडी पार्क गर्ने ठाउँमा एउटा भाडाको भ्यान छेवैमा आफ्नो कार पार्क गरिन्‌। त्यो भ्यानमा बसिरहेकी एक जना स्त्रीले ती बहिनीलाई देखेपछि, तिनले हाम्रो बाइबल शैक्षिक कार्यको प्रकृतिबारे बताउन थालिन्‌। ती स्त्रीले सुनिन्‌ अनि भ्यानबाट बाहिर निस्केर बहिनीको कारमा चढिन्‌। तिनले यसो भनिन्‌: “तपाईंले मसित कुरा गर्नुभएकोमा म एकदमै खुसी छु। मैले निकै लामो समयदेखि तपाईंहरूको बाइबल साहित्य पाएकी छैन। अनि म फेरि बाइबल अध्ययन गर्न चाहन्छु। के तपाईं मसित अध्ययन गर्नुहुन्छ?” यसरी हाम्री बहिनीले सुसमाचार बताउन उपयुक्‍त परिस्थिति सृजना गरिन्‌।

१६ वृद्ध तथा अशक्‍तहरूलाई राखिने स्याहार केन्द्रहरूमा जाँदा संयुक्‍त राज्य अमेरिकाकी एक जना बहिनीले यस्तो अनुभव बटुलिन्‌: तिनले त्यहाँका केही खास क्रियाकलापहरूको हेरविचार गर्ने निर्देशकलाई भेटिन्‌ र त्यहाँ बस्नेहरूको आध्यात्मिक आवश्‍यकता पूरा गर्न आफूले स्वयंसेवकको रूपमा मदत गर्न चाहेको कुरा उनले तिनलाई बताइन्‌। उपस्थित हुन चाहनेहरू सबैका लागि निश्‍शुल्क साप्ताहिक बाइबल अध्ययन सञ्चालन गर्न पाएमा खुसी हुनेछु भनेर पनि हाम्री बहिनीले बताइन्‌। ती निर्देशकले उनलाई त्यहाँ बस्नेहरूका कोठामा जाने अनुमति दिए। चाँडै, त्यहाँ बस्ने २६ जनासँग तिनले हप्ताको तीन पटक बाइबल अध्ययन सञ्चालन गरिरहेकी थिइन्‌, जसमध्ये एक जना हाम्रा सभाहरूमा नियमित तवरमा आउन सकेका छन्‌।

१७. गृह बाइबल अध्ययनहरू सुरु गर्न अक्सर कस्तो तरिका प्रभावकारी हुन्छ?

१७ केही राज्य उद्‌घोषकहरूका लागि, सीधै बाइबल अध्ययनको प्रस्ताव राख्दा असल नतिजाहरू प्राप्त हुन्छ। एक बिहान, १०५ जना प्रकाशक भएको एउटा मण्डलीले आफूले भेट्‌ने हरेक घरधनीसित बाइबल अध्ययनको प्रस्ताव राख्ने विशेष प्रयत्न गऱ्‍यो। क्षेत्र सेवामा ८६ जना प्रकाशकहरूले भाग लिए अनि प्रचारकार्यमा दुई घण्टा बिताएपछि, तिनीहरूले कम्तीमा पनि १५ वटा नयाँ बाइबल अध्ययन सुरु भएको पाए।

योग्य व्यक्‍तिहरू खोजिरहनुहोस्‌

१८, १९. येशूले दिनुभएको कुन महत्त्वपूर्ण निर्देशन हामीले मनमा राख्नुपर्छ र यसको लागि हामी के गर्न कटिबद्ध हुनुपर्छ?

१८ राज्य उद्‌घोषकको हैसियतमा तपाईं, यस लेखमा उल्लेख गरिएका सुझावहरू प्रयोगमा ल्याउने कोसिस गर्न चाहनुहुन्छ होला। निस्सन्देह, साक्षी दिने तरिकाहरूबारे विचार गर्दा स्थानीय प्रचलनहरूलाई मनमा राख्नु बुद्धिमानी हुनेछ। सबैभन्दा महत्त्वपूर्ण कुरा, योग्य व्यक्‍तिहरू खोज्नू र यस्ताहरूलाई चेला बन्‍नको लागि मदत गर्नू भनी येशूले दिनुभएको निर्देशन मनमा राखौं।—मत्ती १०:११; २८:१९.

१९ यसको लागि हामी ‘सत्यको वचनलाई ठीकसँग प्रयोग गर्न’ सकौं। धर्मशास्त्रमा पूर्णतया आधारित भएको मनाउने क्षमता प्रयोग गरेर हामी यसो गर्न सक्छौं। यसले हामीलाई ग्रहण गर्नेहरूका हृदय छुन र तिनीहरूलाई काम गर्न उत्प्रेरित तुल्याउन मदत गर्नेछ। जसै हामी प्रार्थनापूर्वक यहोवामा भर पर्छौं, कसै-कसैलाई येशू ख्रीष्टका चेलाहरू बन्‍न मदत गर्ने काममा हामी भाग लिन सक्छौं। अनि यो काम कति इनामदायी छ! त्यसकारण चेला बनाउने उद्देश्‍य राखेर प्रचार गर्ने, परमेश्‍वरको राज्यका जोसिला उद्‌घोषकहरूको हैसियतमा सधैं यहोवाको आदर गरेर ‘आफूलाई परमेश्‍वरमा ग्रहणयोग्य तुल्याउने यथाशक्य प्रयास गरौं।’—२ तिमोथी २:१५.

[फुटनोटहरू]

a यहोवाका साक्षीहरूद्वारा प्रकाशित।

b यहोवाका साक्षीहरूद्वारा प्रकाशित।

के तपाईंलाई सम्झना छ?

• अपोल्लसलाई किन परमेश्‍वरको मार्गको अर्थ झन्‌ प्रष्टसँग बुझाउनु आवश्‍यक परेको थियो?

• प्रिस्किला र अक्वीलाबाट पावलले कुन-कुन तरिकामा सिके?

• चेला बनाउने कामबारे प्रेरित अध्याय १८ बाट तपाईंले के सिक्नुभयो?

• तपाईं कसरी चेला बनाउने अवसरहरू सृजना गर्न सक्नुहुन्छ?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ १८-मा भएको चित्र]

प्रिस्किला र अक्वीलाले अपोल्लसलाई “परमेश्‍वरको मार्गको अर्थ झन्‌ प्रष्टसँग बुझाइदिए”

[पृष्ठ २०-मा भएको चित्र]

चेला बनाउने काममा अपोल्लस सिपालु बने

[पृष्ठ २१-मा भएको चित्र]

जहाँसुकै गए तापनि पावलले प्रचार गरे

[पृष्ठ २३-मा भएको चित्र]

प्रचार गर्ने अवसरहरू सृजना गर्नुहोस्‌