सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तपाईं पार्थिव प्रमोदवनमा विश्‍वास गर्न सक्नुहुन्छ

तपाईं पार्थिव प्रमोदवनमा विश्‍वास गर्न सक्नुहुन्छ

तपाईं पार्थिव प्रमोदवनमा विश्‍वास गर्न सक्नुहुन्छ

इतिहासभरि नै लाखौं मानिसहरूले अन्ततः पृथ्वी छोडेर स्वर्ग जाने कुरामा विश्‍वास गरेका छन्‌। कसै-कसैले चाहिं पृथ्वी हाम्रो स्थायी बस्ने ठाउँ होस्‌ भन्‍ने हाम्रो सृष्टिकर्ताको उद्देश्‍य नै थिएन भन्‍ने महसुस गरेका छन्‌। जोगी वा साधुहरूको त कुरै नगरौं। तिनीहरूमध्ये थुप्रैको विचारमा पृथ्वी र यिनमा भएका सम्पूर्ण भौतिक कुराहरू दुष्ट हुन्‌—साँचो आध्यात्मिक सन्तुष्टि र परमेश्‍वरसित घनिष्ठ हुनदेखि रोक्ने एउटा तगारो हो।

माथि उल्लिखित धारणाहरू प्रतिपादन गर्ने व्यक्‍तिहरू कि त पार्थिव प्रमोदवनबारे परमेश्‍वरले भन्‍नुभएका कुराहरूबारे अनभिज्ञ थिए वा थाह पाएर पनि त्यसलाई बेवास्ता गरे। वास्तवमा, आज धेरैले परमेश्‍वरले आफ्नो वचन बाइबलमा यस विषयमा मानिसलाई के लेख्न प्रेरित गर्नुभएको थियो भनेर जाँच्ने रत्तीभर चासो देखाउँदैनन्‌। (२ तिमोथी ३:१६, १७) तर के मानिसहरूको सिद्धान्त ग्रहण गर्नुभन्दा परमेश्‍वरको वचनमा भरोसा राख्नु बुद्धिमानी कुरा होइन र? (रोमी ३:४) वास्तवमा, यसो गर्नु अत्यावश्‍यक छ किनभने शक्‍तिशाली तर अदृश्‍य दुष्ट प्राणीले आध्यात्मिक अर्थमा मानिसहरूलाई अन्धा तुल्याएको छ र अहिले ‘सारा संसारलाई ठगिरहेको’ छ भनी बाइबलले हामीलाई चेतावनी दिन्छ।—प्रकाश १२:९; २ कोरिन्थी ४:४.

किन यत्तिको अन्योल?

प्राणसम्बन्धी विवादास्पद धारणाहरूले गर्दा पृथ्वीको लागि परमेश्‍वरको उद्देश्‍यबारे मानिसहरू अन्योलमा परेका छन्‌। हामीसित मानव शरीरभन्दा बेग्लै र मृत्युपछि पनि बाँचिरहने अमर प्राण छ भनी थुप्रैले विश्‍वास गर्छन्‌। अन्य कतिपयले चाहिं मानव शरीर सृष्टि गरिनुभन्दा अघि नै प्राण अस्तित्वमा थियो भनेर विश्‍वास गर्छन्‌। एउटा सन्दर्भ सामग्रीअनुसार, युनानी दार्शनिक प्लेटोको विचारमा प्राणले “स्वर्गीय अवस्थामा छँदा गरेको पापको दण्डस्वरूप शरीरमा कैद गरिएको हो।” त्यस्तै गरी, तेस्रो शताब्दीका धर्मविद्‌ अरिजेनले “शरीरसँग एकताबद्ध हुनुअघि प्राणहरूले [स्वर्गमा] पाप गरे” र “तिनीहरूले गरेका पापको कारण [पृथ्वीमा भएको शरीरमा] दण्डस्वरूप कैद गरियो” भनी बताए। अनि अरू लाखौंले चाहिं यो पृथ्वी त स्वर्ग जाने मानिसको यात्राको लागि एक किसिमको परीक्षण थलो मात्र हो भनेर विश्‍वास गर्छन्‌।

मानिस मरिसकेपछि प्राणलाई के हुन्छ भन्‍ने विषयमा पनि थुप्रै धारणाहरू छन्‌। हिस्ट्री अफ वेस्टर्न फिलोसफी भन्‍ने पुस्तकअनुसार मिश्रीहरूले “मृतकहरूको प्राण भूमिगत संसारमा जान्छ” भन्‍ने दृष्टिकोण प्रतिपादन गरे। तर दार्शनिकहरूले पछि मृतकहरूको प्राण अन्धकारमय भूमिगत संसारमा जाँदैन तर साँच्चै भन्‍ने हो भने, उच्च आत्मिक संसारमा माथि उक्लिन्छ भनेर तर्कवितर्क गरे। भनिन्छ, युनानी दार्शनिक सुकरातले मानिस मरिसकेपछि प्राण “[एउटा] अदृश्‍य क्षेत्रमा जान्छ . . . र आफ्नो बाँकी अस्तित्व देवीदेवताहरूसित बिताउँछ” भनी विश्‍वास गर्थे।

बाइबलले के भन्छ?

परमेश्‍वरको प्रेरित वचन, बाइबलमा कहीं पनि मानिसजातिसित अमर प्राण हुन्छ भनिएको छैन। उत्पत्ति २:७ मा दिइएको विवरण आफै पढ्‌नुहोस्‌। यहाँ यसो भनिएको छ: “परमप्रभु परमेश्‍वरले भूमिको माटोबाट मानिस बनाउनुभयो, र तिनको नाकमा जीवनको सास फुकिदिनुभयो, र मानिस जीवित प्राणी भयो।” यो एकदमै स्पष्ट र छर्लंग छ। परमेश्‍वरले प्रथम मानिस, आदमलाई सृष्टि गर्नुहुँदा उहाँले तिनीभित्र कुनै किसिमको अभौतिक तत्त्व हालिदिनुभएन। किनभने बाइबलले “मानिस जीवित प्राणी भयो” भनी बताउँछ। मानिसभित्र कुनै प्राण थिएन। तिनी स्वयम्‌ प्राणी थिए।

पृथ्वी तथा मानव परिवार सृष्टि गर्नुहुँदा मानिस मर्नुपर्छ भन्‍ने यहोवाको इच्छा कदापि थिएन। परमेश्‍वरको उद्देश्‍य त प्रमोदवनरूपी अवस्थामाझ मानिसजाति पृथ्वीमा सधैंभरि बाँचिरहोस्‌ भन्‍ने थियो। परमेश्‍वरको व्यवस्था उल्लंघन गरेको कारणले गर्दा मात्र आदमको मृत्यु भएको थियो। (उत्पत्ति २:८, १५-१७; ३:१-६; यशैया ४५:१८) प्रथम मानिसको मृत्यु भएपछि के तिनी कुनै आत्मिक संसारमा गए? अहँ, गएनन्‌! तिनी अर्थात्‌ प्राणी आदम जुन माटोबाट बनाइएका थिए त्यही निर्जीव माटोमा फर्के।—उत्पत्ति ३:१७-१९.

हामी सबै जनाले हाम्रो पुर्खा आदमबाट पाप र मृत्यु पाएका छौं। (रोमी ५:१२) यो मृत्यु आदमको सन्दर्भमा जस्तै अस्तित्वको अन्त हो। (भजन १४६:३, ४) वास्तवमा, बाइबलको ६६ वटा पुस्तकमै “अमरत्व” वा “अनन्त” शब्दलाई “प्राण” भन्‍ने शब्दसित कहिल्यै जोडिएको छैन। त्यसको ठीक विपरीत, धर्मशास्त्रले प्राणी अर्थात्‌ व्यक्‍ति मरणशील छ भनी स्पष्टसित बताउँछ। प्राणी मर्छ।—उपदेशक ९:५, १०; इजकिएल १८:४.

के भौतिक कुराहरू भन्‍ने बित्तिकै दुष्ट हुन्छन्‌?

पृथ्वीलगायत भौतिक कुराहरू दुष्ट हुन्छन्‌ भन्‍ने धारणाबारे के भन्‍न सकिन्छ? यस्तो दृष्टिकोण सा.यु. तेस्रो शताब्दीको दौडान मानी नाउँको व्यक्‍तिले फारसमा स्थापना गरेको मानीकिजम्‌ भनिने धार्मिक आन्दोलनका समर्थकहरूले राखेका थिए। द न्यु इन्साइक्लोपीडिया ब्रिटानिका यसो भन्छ: “मानव अवस्थाभित्र अन्तर्निहित वेदनाको कारण नै मानीकिजम्‌को उत्पत्ति भएको हो।” मानव हुनु “स्वाभाविक कुरा होइन, असह्‍य र घोर दुष्ट” कुरा हो भनेर मानी विश्‍वास गर्थे। यस्तो “वेदना”-बाट मुक्‍ति पाउन सकिने एउटै मात्र उपाय भनेको शरीरबाट प्राण निस्केर जानु, पृथ्वी छोड्‌नु र आत्मिक संसारमा आत्मिक अस्तित्व प्राप्त गर्नु हो भन्‍ने पनि तिनको विश्‍वास थियो।

यसको ठीक विपरीत, पृथ्वी अनि मानवजाति सृष्टि गर्नुहुँदा “आफूले बनाउनुभएको हरेक कुरा” परमेश्‍वरको दृष्टिकोणमा “साह्रै राम्रो” थियो भनी बाइबलले हामीलाई बताउँछ। (उत्पत्ति १:३१) त्यतिबेला मानिस र परमेश्‍वरबीच कुनै छेकबार थिएन। सिद्ध मानव येशू ख्रीष्टले स्वर्गमा हुनुहुने आफ्नो पितासितको घनिष्ठ सम्बन्धबाट आनन्द उठाएझैं आदम र हव्वाले पनि यहोवासितको घनिष्ठ संगतिबाट आनन्द उठाए।—मत्ती ३:१७.

हाम्रा प्रथम आमाबाबु, आदम र हव्वाले पापको मार्ग नपछ्याएका भए, यहोवा परमेश्‍वरसित तिनीहरूको अनन्तसम्मै पार्थिव प्रमोदवनमा घनिष्ठ सम्बन्ध कायम रहिरहने थियो। तिनीहरूले प्रमोदवनमा आफ्नो जीवनको सुरुवात गरे किनभने धर्मशास्त्रले हामीलाई यसो भन्छ: “परमेश्‍वरले पूर्वतिर अदनमा एउटा बगैंचा लगाउनुभयो, र उहाँले बनाउनुभएको मानिसलाई त्यहीं राख्नुभयो।” (उत्पत्ति २:८) त्यही प्रमोदवनरूपी बगैंचामा हव्वालाई सृष्टि गरिएको थियो। आदम र हव्वाले पाप नगरेका भए, तिनीहरू तथा तिनीहरूका सिद्ध सन्तानले सारा पृथ्वी प्रमोदवन नहोउन्जेल खुसीसाथ सँगसँगै मिलेर काम गर्न सक्थे। (उत्पत्ति २:२१; ३:२३, २४) पार्थिव प्रमोदवन सधैंको लागि मानवजातिको घर हुने थियो।

किन कोही-कोही स्वर्ग जान्छन्‌?

तपाईं भन्‍नुहोला, ‘तर, बाइबलमा त स्वर्ग जाने मानिसहरूबारे बताइएको छ नि, होइन र?’ हो। आदमले पाप गरिसकेपछि यहोवाले एउटा स्वर्गीय राज्य स्थापना गर्ने उद्देश्‍य राख्नुभयो, जुन राज्यमा आदमका केही सन्तानहरूले येशू ख्रीष्टसँगसँगै “पृथ्वीमाथि राज्य” गर्ने थिए। (प्रकाश ५:१०; रोमी ८:१७) तिनीहरूलाई स्वर्गमा अमर जीवनमा पुनरुत्थान गरिनुपर्ने थियो। तिनीहरूको अन्तिम संख्या १,४४,००० हो र तीमध्ये पहिलो येशूका प्रथम शताब्दीका विश्‍वासी चेलाहरू थिए।—लूका १२:३२; १ कोरिन्थी १५:४२-४४; प्रकाश १४:१-५.

तथापि, धर्मी मानिसजातिले पृथ्वी छोडेर स्वर्ग जाने कुरा परमेश्‍वरको सुरुको उद्देश्‍य थिएन। वास्तवमा, येशू यस पृथ्वीमा हुनुहुँदा उहाँले यसो भन्‍नुभयो: “स्वर्गबाट ओर्लिआउने मानिसको पुत्रबाहेक कोही पनि स्वर्गमा उक्लिगएको छैन।” (यहून्‍ना ३:१३) “मानिसको पुत्र” येशू ख्रीष्टमार्फत परमेश्‍वरले येशूको बलिदानमा विश्‍वास गर्नेहरूका लागि अनन्त जीवन सम्भव तुल्याउन छुटकाराको प्रबन्ध मिलाउनुभयो। (रोमी ५:८) तर यस्ता लाखौं मानिसहरू अनन्तको लागि कहाँ बाँच्नेछन्‌?

परमेश्‍वरको सुरुको उद्देश्‍य पूरा हुनेछ

स्वर्गीय राज्यमा येशू ख्रीष्टसित सहशासकहरूको रूपमा शासन गर्न मानव परिवारबाट कसै-कसैलाई लैजाने परमेश्‍वरको उद्देश्‍य भए तापनि, यसको मतलब सबै असल मानिसहरू स्वर्ग जान्छन्‌ भन्‍न खोजिएको भने होइन। यहोवाले पृथ्वीलाई मानव परिवारको लागि प्रमोदवनरूपी घर बनाउन सृष्टि गर्नुभएको थियो। अब चाँडै नै परमेश्‍वरले सुरुको त्यो उद्देश्‍य पूरा गर्नुहुनेछ।—मत्ती ६:९, १०.

येशू ख्रीष्ट तथा उहाँका स्वर्गीय सहशासकहरूको शासनअन्तर्गत सारा पृथ्वीमा शान्ति र खुसीयाली छाउनेछ। (भजन ३७:९-११) परमेश्‍वरको सम्झनामा भएकाहरूको पुनरुत्थान गरिनेछ र तिनीहरूले सिद्ध स्वास्थ्यको आनन्द उठाउनेछन्‌। (प्रेरित २४:१५) परमेश्‍वरतर्फ आफ्नो विश्‍वासीपनको कारण आज्ञाकारी मानिसजातिलाई हाम्रो सुरुका आमाबाबुले गुमाएको कुरा अर्थात्‌ पार्थिव प्रमोदवनमा मानव सिद्धतामा अनन्त जीवन दिइनेछ।—प्रकाश २१:३, ४.

आफूले गर्छु भनेर चिताएको कुरा पूरा गर्न यहोवा परमेश्‍वर कहिल्यै चुक्नुहुन्‍न। आफ्नो अगमवक्‍ता यशैयामार्फत उहाँले यस्तो घोषणा गर्नुभयो: “जसरी वृष्टि र हिउँ आकाशबाट झर्छ र त्यतैतिर फर्केर जाँदैन, तर जमीनलाई भिजाएर बाली उमार्छ, औ छर्नेलाई बिउ र खानेलाई भोजन दिन्छ, त्यसरीनै मेरो मुखबाट निस्कने मेरो वचन पनि हुनेछ। त्यो मकहाँ व्यर्थै फर्कनेछैन, तर मैले इच्छा गरेको काम त्यसले पूरा गर्नेछ, र जुन कामको निम्ति म त्यसलाई पठाउँछु, त्यसमा त्यो सफल हुनेछ।”—यशैया ५५:१०, ११.

यशैयाको बाइबल पुस्तकमा हामी पार्थिव प्रमोदवनमा जीवन कस्तो हुनेछ भन्‍ने कुराको पूर्वझलक पाउँछौं। प्रमोदवनका बासिन्दाहरूले “म बिरामी परें” भन्‍ने छैनन्‌। (यशैया ३३:२४) जनावरहरू मानिसको लागि कुनै खतरा हुनेछैनन्‌। (यशैया ११:६-९) मानिसहरूले सुन्दर घरहरू बनाएर त्यसमा बास गर्नेछन्‌ र अन्‍न-पात लगाएर सन्तुष्ट होउन्जेल खानेछन्‌। (यशैया ६५:२१-२५) यसबाहेक, परमेश्‍वरले “मृत्युलाई सदाको निम्ति निल्नुहुनेछ। परमप्रभु परमेश्‍वरले सबैका अनुहारबाट आँसु पुछिदिनुहुनेछ।”—यशैया २५:८, नयाँ संशोधित संस्करण।

चाँडै, आज्ञाकारी मानिसजाति यस्तो आशिषित्‌ अवस्थाअन्तर्गत बाँच्नेछन्‌। तिनीहरूले “परमेश्‍वरको सन्तानको महिमाको स्वतन्त्रतामा . . . विनाशको बन्धनबाट छुटकारा पाउने[छन्‌]।” (रोमी ८:२१) प्रतिज्ञाकृत पार्थिव प्रमोदवनमा सधैंभरि बाँच्न पाउनु कत्ति उदेकलाग्दो हुनेछ! (लूका २३:४३) धर्मशास्त्रको सही ज्ञानअनुसार चल्नुभयो र यहोवा परमेश्‍वर अनि येशू ख्रीष्टमा विश्‍वास गर्नुभयो भने, तपाईं पनि त्यहाँ हुन सक्नुहुन्छ। अनि पार्थिव प्रमोदवनमा विश्‍वास गर्नु जायज छ भन्‍ने कुरामा तपाईं ढुक्क हुन सक्नुहुन्छ।

[पृष्ठ ५-मा भएको चित्र]

आदम र हव्वालाई पार्थिव प्रमोदवनमा सधैंभरि बाँच्नका लागि रचना गरिएको थियो

[पृष्ठ ७-मा भएका चित्रहरू]

पार्थिव प्रमोदवनमा . . .

तिनीहरूले घर बनाउनेछन्‌

तिनीहरूले दाखबारी लगाउनेछन्‌

तिनीहरूले यहोवाबाट आशिष्‌ पाउनेछन्‌

[पृष्ठ ४-मा भएको चित्रको स्रोत]

U.S. Fish & Wildlife Service, Washington, D.C./NASA