सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

परमेश्‍वरको राज्य सन्देश स्वीकार्न अरूलाई मदत दिनुहोस्‌

परमेश्‍वरको राज्य सन्देश स्वीकार्न अरूलाई मदत दिनुहोस्‌

परमेश्‍वरको राज्य सन्देश स्वीकार्न अरूलाई मदत दिनुहोस्‌

“अग्रिपाले पावललाई भने, ‘थोरै कुराले मलाई ख्रीष्टियान तुल्याउने मन गर्दछस्‌?’ ”—प्रेरित २६:२८.

१, २. प्रेरित पावल कसरी राज्यपाल फेस्तस र राजा हेरोद अग्रिपा द्वितीयसामु खडा हुन पुगे?

 सा.यु. ५८ मा, रोमी राज्यपाल पोर्सिअस फेस्तससित भेट्‌न राजा हेरोद अग्रिपा द्वितीय र तिनकी बहिनी बर्णिस सिजरियामा आए। राज्यपाल फेस्तसको निमन्त्रणामा तिनीहरू “बडो रवाफसँग मुख्य कप्तानहरू र शहरका मुख्य मुख्य मानिसहरूका साथमा सभाभवनमा पसे।” फेस्तसको हुकुमबमोजिम मसीही प्रेरित पावललाई तिनीहरूको सामु हाजिर गराइयो। येशू ख्रीष्टका यी अनुयायी कसरी राज्यपाल फेस्तसको न्यायआसनसामु खडा हुन पुगे?—प्रेरित २५:१३-२३.

फेस्तसले आफ्ना पाहुनाहरूलाई भनेको कुराले त्यस प्रश्‍नको जवाफ दिन्छ। तिनले यसो भने: “हे राजा अग्रिपा र हामीसँग यहाँ भएका सबै मानिस हो, तपाईंहरू यस मानिसलाई हेर्नुहोस्‌, जसको विषयमा यहूदीहरूका सारा भीड़ले ‘यस मानिसले अब उप्रान्त बाँच्न नपाओस्‌’ भनी यरूशलेममा र यहाँ पनि मसँग बिन्ती गरेका थिए। तर प्राण-दण्ड माफिकको त्यसले केही गरेको मैले नभेट्टाएको हुनाले र त्यो आफैले पनि सम्राटकहाँ अपील गरको हुनाले, मैले त्यसलाई पठाउनै निश्‍चय गरें। त्यसको विषयमा मैले मेरा सम्राटलाई लेख्ने यथार्थ कुरा केही भएन। यसकारण मैले यसलाई तपाईंहरूका सामने, र खास गरेर, हे राजा अग्रिपा, तपाईंको सामने ल्याएको छु, र जाँच-बुझ भएपछि मलाई केही लेख्ने कुरा होस्‌। किनभने कैदीको विरुद्धमा लगाएको दोषको कारण नदेखाईकन त्यसलाई पठाउन मलाई मनासिब लागेन।”—प्रेरित २५:२४-२७.

३. धार्मिक नेताहरूले पावल विरुद्ध आरोप लगाउनुको कारण के थियो?

फेस्तसका शब्दहरूले संकेत गरेअनुसार पावलले राजद्रोहको झूटो आरोपको सामना गर्नुपऱ्‍यो र यो अपराधको लागि मृत्युदण्डसमेत हुन सक्थ्यो। (प्रेरित २५:११) तथापि, पावल निर्दोष थिए। यरूशलेममा भएका धार्मिक नेताहरूको ईर्ष्याको कारण यो आरोप लगाइएको थियो। तिनीहरूले राज्य उद्‌घोषकको रूपमा पावलको कार्यको विरोध गरे र तिनले अरूलाई येशू ख्रीष्टका अनुयायी हुन मदत गरेको कारण तीव्र आक्रोश प्रकट गरे। कडा सुरक्षा प्रबन्धका साथ पावललाई यरूशलेमबाट बन्दरगाह भएको शहर सिजरियामा ल्याइयो, जहाँ तिनले सीजरलाई अपिल गरे। त्यहाँबाट तिनलाई रोम लगिने थियो।

४. राजा अग्रिपाले कस्तो अचम्मलाग्दो भनाइ व्यक्‍त गरे?

रोमी साम्राज्यको महत्त्वपूर्ण भागका शासकलगायतका समूहसामु पावल राज्यपालको दरबारमा उभिएको कल्पना गर्नुहोस्‌। राजा अग्रिपा पावलतर्फ फर्केर यसो भन्छन्‌: “तँलाई तेरो मुद्दा पेश गर्ने मञ्जूरी छ।” पावल बोल्दै जाँदा एउटा असाधारण कुरा हुन्छ। पावलले बोलेका कुराहरूले राजालाई असर गर्न थाल्छ। वास्तवमा, राजा अग्रिपाले यसो भन्छन्‌: “थोरै कुराले मलाई ख्रीष्टियान तुल्याउने मन गर्दछस्‌?”—प्रेरित २६:१-२८.

५. पावलले अग्रिपालाई भनेका शब्दहरू किन यति धेरै प्रभावकारी थिए?

यसो सोच्नुहोस्‌ त! पावलको कुशल प्रतिवादको नतिजास्वरूप, एक जना राज्यपाललाई परमेश्‍वरको वचनको गहिराइसम्म छेड्‌न सक्ने शक्‍तिले असर गऱ्‍यो। (हिब्रू ४:१२) कुन कुराले गर्दा पावलको प्रतिवाद यति प्रभावकारी भएको थियो? अनि चेला बनाउने हाम्रो कार्यमा मदत गर्ने कस्तो कुरा हामी पावलबाट सिक्न सक्छौं? हामीले तिनको प्रतिवादलाई विश्‍लेषण गरेर हेर्ने हो भने, दुईवटा मुख्य बुँदा स्पष्ट देखिन्छ: (१) आफ्नो प्रस्तुतिको सन्दर्भमा पावल मनाउन सक्ने थिए। (२) एक जना कालिगडले सिपालु ढंगमा औजार चलाएझैं, परमेश्‍वरको वचनको आफ्नो ज्ञान तिनले प्रभावकारी ढंगमा चलाए।

मनाउने कला प्रयोग गर्नुहोस्‌

६, ७. (क) बाइबलमा प्रयोग गरिएअनुसार, “मनाउनु” शब्दको अर्थ के हो? (ख) अरूलाई बाइबल शिक्षा स्वीकार्न मदत दिनुमा मनाउनुले कस्तो भूमिका खेल्छ?

प्रेरितको पुस्तकमा, मनाउनु भन्‍ने अर्थ जनाउने युनानी पदावली पावलको सन्दर्भमा बारम्बार प्रयोग गरिएको छ। चेला बनाउने हाम्रो कार्यको सन्दर्भमा यसले कस्तो अर्थ राख्छ?

मसीही युनानी धर्मशास्त्रको मूल भाषामा, “मनाउनु” शब्दको अर्थ “जित्नु” वा “तर्क वा नैतिक चिन्तनको प्रभावद्वारा मनमा परिवर्तन ल्याउनु” हो भनी भाइनको एक्सपोजिटरी डिक्सनरी अफ न्यु टेस्टामेन्ट वर्डस्‌ बताउँछ। मूल अर्थलाई जाँच्दा थप ज्योति प्राप्त हुन्छ। यसले भरोसाको भावलाई जनाउँछ। त्यसकारण तपाईंले कसैलाई बाइबलको शिक्षा स्वीकार्न मनाउनुभयो भने, तपाईंले उसको भरोसा जित्नुहुन्छ र उसले त्यस शिक्षाको सत्यतामाथि विश्‍वास गर्छ। निस्सन्देह, कुनै व्यक्‍तिले बाइबलमाथि विश्‍वास गर्न र त्यसैअनुसार चल्न बाइबलले के भन्छ भनी बताएर मात्र पुग्दैन। तपाईंका श्रोता चाहे बच्चा, छिमेकी, सहकर्मी, स्कूलको साथी वा नातेदार जोसुकै होऊन्‌, तपाईंले भनेको कुरा साँचो हो भनी तिनको चित्त बुझ्नै पर्छ।—२ तिमोथी ३:१४, १५.

८. कुनै व्यक्‍तिलाई धर्मशास्त्रीय सत्यबारे चित्त बुझाउनुमा कुन कुरा समावेश छ?

तपाईंले परमेश्‍वरको वचनबाट घोषणा गर्नुभएको कुरा सत्य हो भनी कुनै व्यक्‍तिलाई तपाईं कसरी चित्त बुझाउन सक्नुहुन्छ? युक्‍तिसङ्‌गत अनि गहकिलो तर्क र निष्कपट अनुरोधद्वारा पावलले आफूले कुरा गरेका व्यक्‍तिविशेषको मनमा परिवर्तन ल्याउने कोसिस गरे। a त्यसकारण, कुनै कुरा सत्य हो भनी घोषणा मात्र गर्नुको सट्टा तपाईंले आफ्नो भनाइलाई समर्थन गर्ने सन्तोषजनक प्रमाण दिनुपर्छ। यो कसरी गर्न सकिन्छ? तपाईंको भनाइ आफ्नो व्यक्‍तिगत विचारधारामा नभई पूर्णतया परमेश्‍वरको वचनमा आधारित होस्‌। साथै, धर्मशास्त्रका हृदयस्पर्शी भनाइहरूलाई समर्थन गर्न थप प्रमाणहरू चलाउनुहोस्‌। (हितोपदेश १६:२३) उदाहरणका लागि, आज्ञाकारी मानिसजातिले पार्थिव प्रमोदवनमा जीवनको आनन्द उठाउनेछन्‌ भनी तपाईंले बताउनुभयो भने त्यस भनाइलाई समर्थन गर्न यशैया ६५:२१-२५ जस्ता शास्त्रपदहरू चलाउनुहोस्‌। तपाईंले बताउनुभएको धर्मशास्त्रीय बुँदालाई समर्थन गर्न तपाईं कसरी थप प्रमाण जुटाउन सक्नुहुन्छ? तपाईंले आफ्ना श्रोताहरूले अनुभव गरेका कुराहरूको उदाहरणहरू चलाउन सक्नुहुन्छ। मनमोहक सूर्यास्त, फूलको मगमग बास्ना, फलफूलको मीठो स्वाद वा चराले आफ्नो बचेरालाई खुवाउँदै गरेको दृश्‍य हेर्दाको आनन्दजस्ता साधारण कुराहरूबाट सित्तैमा प्राप्त हुने आनन्दबारे तपाईं तिनलाई सम्झाउन सक्नुहुन्छ। यस्ता आनन्दहरू हाम्रो सृष्टिकर्ताले हामीले पृथ्वीमा जीवनको आनन्द उठाएको चाहनुहुन्छ भन्‍ने कुराको प्रमाण हो भन्‍ने कुरा बुझ्न तिनलाई मदत दिनुहोस्‌।—उपदेशक ३:११, १२.

९. हाम्रो प्रचार कार्यमा हामी कसरी व्यावहारिक हुन सक्छौं?

कुनै व्यक्‍तिलाई केही खास बाइबल शिक्षा मनाउन लगाउने प्रयासमा तपाईंको जोसको कारण जिद्दीवाल नहुन होसियार हुनुहोस्‌, जसले गर्दा तपाईंको श्रोताको मन तथा हृदय बन्द हुन्छ। मिनिस्ट्री स्कूल पुस्तकले चेतावनीका यस्ता शब्दहरू दिन्छ: “अरूले श्रद्धा गर्दै आइरहेको विश्‍वास झूटो हो भनी देखाइएको कुनै कुरा, सत्य नै भए तापनि ठाडै भनिएको छ भने यसलाई समर्थन गर्न थुप्रै शास्त्रपदहरू चलाइए तापनि साधारणतया यसलाई खुसीसाथ स्वीकारिंदैन। उदाहरणका लागि, कुनै लोकप्रिय चाडपर्वहरू गैर-मसीही धर्मबाट सुरु भएका हुन्‌ भनेर निन्दा गर्दैमा, यसप्रति मानिसहरूको सोचाइ परिवर्तन नहुन सक्छ। तर्कपूर्ण कुराकानी गर्दा अक्सर बढी सफलता प्राप्त हुन्छ।” किन तर्कसंगत हुने भरमग्दुर प्रयत्न गर्नुपर्छ? उक्‍त पाठ्यपुस्तक अझै यसो भन्छ: “तर्कपूर्ण तरिकामा गरिएको कुराकानीले छलफल गर्न प्रोत्साहित गर्छ, मानिसहरूलाई पछि कुनै कुराबारे सोच्न लगाउँछ र भविष्यमा थप वार्तालापको लागि बाटो खोल्छ। मनाउने सन्दर्भमा यो एकदमै शक्‍तिशाली हुन सक्छ।”—कलस्सी ४:६.

हृदय छुने गरी मनाउने

१०. आग्रिपासामु पावलले आफ्नो प्रतिवाद कसरी सुरु गरे?

१० आउनुहोस्‌, हामी प्रेरित अध्याय २६ मा, पावलले आफ्नो प्रतिवादमा बोलेका शब्दहरूलाई नियालौं। तिनी आफ्नो भाषण कसरी सुरु गर्छन्‌ याद गर्नुहोस्‌। राजा अग्रिपा आफ्नी बहिनी बर्णिससितको नाजायज सम्बन्धमा मुछिएको भए तापनि आफ्नो कुरा सुरु गर्नुअघि पावलले अग्रिपाको प्रशंसा गर्न सकिने वैध आधार भेट्टाए। पावलले यसो भने: “हे राजा अग्रिपा, यहूदीहरूले मलाई लगाएका दोषको विषयमा सबै कुरा आज हजूरका सामने मैले आफ्नो बचाउमा बोल्नपाएकोले मैले आफूलाई भाग्यशाली सम्झेको छु। किनभने खास गरी यहूदीहरूका सबै दस्तुर र सवाल-जवाफहरूका कुरामा हजूर सिपालु हुनुहुन्छ। यसकारण मेरो बयान धीरजसँग सुन्‍नुहोस्‌ भनी म बिन्ती गर्दछु।”—प्रेरित २६:२, ३.

११. पावलले अग्रिपालाई भनेका शब्दहरूले कसरी आदर झल्कायो र कस्तो लाभकारी नतिजा प्राप्त भयो?

११ राजा भन्‍ने तिनको पदवी प्रयोग गरी सम्बोधन गरेर पावलले अग्रिपाको उच्च ओहदा स्वीकारेको कुरा के तपाईंले याद गर्नुभयो? यसले आदर देखायो र बुद्धिमानीसाथ शब्दहरूको छनौट गरेर पावलले अग्रिपालाई सम्मान दिए। (१ पत्रुस २:१७) पावलले अग्रिपालाई आफ्ना यहूदी प्रजाहरूको जटिल परम्परा तथा व्यवस्थाहरूका ज्ञाताको रूपमा स्वीकारे र यस्तो जानकार शासकसामु आफ्नो प्रतिवाद गर्न पाएकोमा खुसी व्यक्‍त गरे। मसीही पावलले आफूलाई गैर-मसीही अग्रिपाभन्दा श्रेष्ठ ठान्दै व्यवहार गरेनन्‌। (फिलिप्पी २:३) बरु, पावलले राजालाई आफ्नो कुरा धीरजसँग सुन्‍न बिन्ती गरे। यसरी तिनले अग्रिपाका साथै त्यहाँ उपस्थित अरूले तिनले प्रस्तुत गर्न लागेको कुरा स्वीकार्न सक्ने वातावरण सृजना गरे। तिनले आफ्ना तर्कहरू प्रस्तुत गर्न एउटा आधार बसाल्दै थिए, एउटा मिलन बिन्दु खोज्दै थिए।

१२. राज्य उद्‌घोषण कार्यमा, हामी कसरी आफ्ना श्रोताहरूको हृदय छुन सक्छौं?

१२ पावलले अग्रिपासामु गरेझैं, हामी पनि राज्यसन्देशको आफ्नो प्रस्तुतिमा परिचयदेखि समापनसम्म आफ्नो श्रोताको हृदय छोऔं। हामीले प्रचार गरिरहेको व्यक्‍तिप्रति साँचो आदर देखाएर अनि तिनको पृष्ठभूमि तथा सोचाइप्रति निष्कपट चासो देखाएर हामी यसो गर्न सक्छौं।—१ कोरिन्थी ९:२०-२३.

परमेश्‍वरको वचन सिपालु ढंगमा प्रयोग गर्नुहोस्‌

१३. पावलले जस्तै तपाईंले आफ्ना श्रोताहरूलाई कसरी उत्प्रेरित गर्न सक्नुहुन्छ?

१३ पावलले आफ्ना श्रोताहरूलाई सुसमाचार अनुरूप काम गर्न उत्प्रेरित गर्ने इच्छा राखे। (१ थिस्सलोनिकी १:५-७) यसो गर्न तिनले उनीहरूको उत्प्रेरणाको स्रोत, लाक्षणिक हृदय छोए। पावलले अग्रिपासामु गरेको प्रतिवादबारे हामीले थप विचार गर्दा, मोशा र अरू अगमवक्‍ताहरूले भनेका कुराहरूलाई औल्याउँदै पावलले कसरी ‘परमेश्‍वरको वचनलाई ठीकसँग प्रयोग गरे’ याद गर्नुहोस्‌।—२ तिमोथी २:१५.

१४. पावलले अग्रिपासामु कसरी मनाउन सक्ने कला प्रयोग गरे वर्णन गर्नुहोस्‌।

१४ अग्रिपा नाउँ मात्रका यहूदी हुन्‌ भनी पावललाई थाह थियो। यहूदी धर्मबारे अग्रिपाको ज्ञानलाई छुने गरी, पावलले आफ्नो शिक्षामा मसीहको मृत्यु तथा पुनरुत्थानबारे “अगमवक्‍ताले र मोशाले पनि बोलेका वचनहरू अवश्‍य पूरा हुनेछन्‌ भन्‍ने कुराबाहेक अरू केही” छैन भनी तर्क गरे। (प्रेरित २६:२२, २३) सोझै अग्रिपालाई सम्बोधन गर्दै पावलले यसरी सोधे: “हे राजा अग्रिपा, के हजूरले पनि अगमवक्‍तालाई विश्‍वास गर्नुहुन्छ?” अग्रिपा धर्मसङ्‌कटमा परे। तिनले अगमवक्‍ताहरूलाई इन्कार गर्छु भनेको खण्डमा यहूदी विश्‍वासीको रूपमा तिनको प्रतिष्ठा खत्तम हुने थियो। तर यदि तिनी पावलको तर्कसित सहमत भएको खण्डमा तिनले खुलमखुल्ला प्रेरितको पक्ष लिइरहेका हुने थिए र तिनी पनि एक जना मसीही कहलाइने खतरा हुन्थ्यो। बुद्धिमानीपूर्वक पावलले आफ्नो प्रश्‍नको जवाफ आफैले यसरी दिए: “हजूरले विश्‍वास गर्नुहुन्छ भन्‍ने मलाई थाह छ।” अग्रिपाको हृदयले तिनलाई कस्तो जवाफ दिन उत्प्रेरित गऱ्‍यो? तिनले यस्तो प्रतिक्रिया व्यक्‍त गरे: “थोरै कुराले मलाई ख्रीष्टियान तुल्याउने मन गर्दछस्‌?” (प्रेरित २६:२७, २८, छड्‌के अक्षर हाम्रो) अग्रिपा मसीही नबने तापनि स्पष्टतः पावलले आफ्नो सन्देशद्वारा केही हदसम्म भए पनि तिनको हृदयमा असर पारे।—हिब्रू ४:१२.

१५. पावलले कसरी थिस्सलोनिकामा एउटा मण्डली स्थापना गर्न सके?

१५ पावलको सुसमाचार प्रस्तुतिमा उद्‌घोषणा गर्ने र मनाउने दुवै काम सम्मिलित थियो भन्‍ने कुरा के तपाईंले याद गर्नुभयो? ‘परमेश्‍वरको वचनलाई ठीकसँग प्रयोग गर्दा’ पावलले यस्तो तरिका अपनाएको कारण तिनको कुरा सुन्‍नेहरूमध्ये कोही-कोही सुनेर मात्र बसेनन्‌ तर विश्‍वास गरे। पावलले थिस्सलोनिकाको सभाघरमा यहूदी र ईश्‍वरभीरु अन्यजातिहरू खोज्दा पनि यस्तै भयो। प्रेरित १७:२-४ को विवरण यसो भन्छ: “पावल आफ्नो आदतअनुसार तिनीहरूकहाँ भित्र गए, र लगालग तीन विश्राम-दिन धर्मशास्त्रबाट तिनीहरूसित बहस गर्दैरहे। ‘ख्रीष्टलाई अवश्‍य दुःख भोग्नुपर्थ्यो, र मरेकोबाट बिउँतनैपर्थ्यो . . . ’ भन्‍ने कुराको अर्थ खोलीकन निश्‍चय गरेर बताइदिए। औ तिनीहरूमध्ये कोही कोहीले मानिहाले।” पावलमा मनाउन सक्ने खुबी थियो। लामो समयदेखि प्रतिज्ञा गरिएको मसीह येशू नै हुनुहुन्थ्यो भन्‍ने कुरामा तिनले तर्क गरे, व्याख्या गरे र धर्मशास्त्रद्वारा प्रमाणित गरे। यसको नतिजा? विश्‍वासीहरूको एउटा मण्डली स्थापना भयो।

१६. राज्य उद्‌घोषणा गर्दा तपाईं कसरी अझ बढी आनन्द प्राप्त गर्न सक्नुहुन्छ?

१६ परमेश्‍वरको वचनको व्याख्या गर्दा के तपाईं मनाउने कलामा अझ सिपालु हुन सक्नुहुन्छ? त्यसो हो भने, मानिसहरूलाई परमेश्‍वरको राज्यबारे प्रचार गर्ने तथा सिकाउने काम तपाईंले व्यक्‍तिगत रूपमा अझ बढी पूरा गर्न सक्नुका साथै यस काममा थप आनन्द उठाउनु हुनेछ। प्रचारकार्यमा धेरैभन्दा धेरै मात्रामा बाइबल चलाउने सल्लाह प्रयोगमा ल्याएका सुसमाचारका प्रकाशकहरूले यो कुरा अनुभव गरेका छन्‌।

१७. हाम्रो सेवकाईमा बाइबल प्रयोग गर्नु कसरी लाभकारी छ भनी देखाउन एउटा व्यक्‍तिगत अनुभव बताउनुहोस्‌ वा यस अनुच्छेदमा दिइएको अनुभवको सार बताउनुहोस्‌।

१७ उदाहरणका लागि, यहोवाका साक्षीहरूका एक जना परिभ्रमण निरीक्षकले यस्तो लेखे: “ढोका-ढोकामा साक्षी दिंदा अहिले थुप्रै भाइबहिनीहरूले आफ्नो हातमा बाइबल बोक्छन्‌। यसले ती प्रकाशकहरूलाई आफ्नो सम्पर्कमा आउने थुप्रै मानिसहरूलाई शास्त्रपद पढेर सुनाउन मदत गरेको छ। यसले हाम्रो सेवकाईमा हामी पत्रिका तथा पुस्तकहरू मात्र चलाउँदैनौं तर बाइबल पनि चलाउँछौं भन्‍ने कुरा बुझ्न घरधनी र प्रकाशक दुवैलाई मदत गरेको छ।” निस्सन्देह, प्रचारकार्यमा भाग लिंदा सबैले देख्ने गरी बाइबल बोक्ने वा नबोक्ने भन्‍ने कुरा स्थानीय प्रचलनहरू लगायत विभिन्‍न तत्वहरूमा भर पर्छ। जेहोस्‌, हामीले अरूलाई परमेश्‍वरको राज्यसन्देश स्वीकार्न मनाउनको लागि परमेश्‍वरको वचन सिपालु ढंगमा प्रयोग गर्ने व्यक्‍तिको रूपमा नाउँ कमाउन चाहनुपर्छ।

सेवकाईप्रति परमेश्‍वरको जस्तो दृष्टिकोण राख्नुहोस्‌

१८, १९. (क) परमेश्‍वरले हाम्रो सेवकाईलाई कसरी हेर्नुहुन्छ र हामीले किन उहाँको जस्तो दृष्टिकोण खेती गर्नुपर्छ? (ख) कुन कुराले हामीलाई सफल पुनःभेटहरू गर्न मदत दिनेछ? (पृष्ठ १६ को “पुनःभेट गर्दा कसरी सफल हुने” भन्‍ने शीर्षक भएको पेटी हेर्नुहोस्‌।)

१८ हाम्रा श्रोताहरूको हृदयमा पुग्ने अर्को तरिका सेवकाईलाई परमेश्‍वरको दृष्टिकोणले हेर्नु र धीरजी हुनु हो। सबै प्रकारका मानिसहरू “सत्यको ज्ञानमा आऊन्‌ भन्‍ने” परमेश्‍वर इच्छा गर्नुहुन्छ। (१ तिमोथी २:३, ४) के हाम्रो इच्छा पनि यही नै होइन र? यहोवा पनि धीरजी हुनुहुन्छ र उहाँको धैर्यताले थुप्रैलाई पश्‍चात्ताप गर्ने मौका दिन्छ। (२ पत्रुस ३:९) त्यसकारण, हामीले राज्यसन्देशप्रति कान थाप्न इच्छुक मानिसहरू भेट्टाउँदा, त्यो चासोलाई अझ बढाउन तिनलाई फेरि-फेरि भेट्‌नु आवश्‍यक हुन सक्छ। सत्यको बीउ बढेको हेर्न समय र धैर्यता चाहिन्छ। (१ कोरिन्थी ३:६) सँगै दिइएको “पुनःभेट गर्दा कसरी सफल हुने” भन्‍ने शीर्षक भएको पेटीले यस्तो चासो बढाउनका लागि सुझावहरू दिन्छ। नबिर्सनुहोस्‌, मानिसहरूको जीवन—तिनीहरूका समस्या तथा परिस्थितिहरू—परिवर्तनशील छन्‌। तिनीहरूलाई घरमा भेट्‌न निकै प्रयत्न गर्नुपर्ने हुन सक्छ तर यो प्रयास बेकार जाँदैन। हामी तिनीहरूलाई परमेश्‍वरको उद्धारको सन्देश सुन्‍ने मौका दिन चाहन्छौं। त्यसकारण अरूलाई राज्यसन्देश स्वीकार्न मदत दिने तपाईंको काममा मनाउने कला विकास गर्न बुद्धिको लागि यहोवा परमेश्‍वरलाई प्रार्थना गर्नुहोस्‌।

१९ राज्यसन्देशबारे अझ बढी सुन्‍न चाहने मानिसलाई एक पटक भेटेपछि, मसीही कामदारहरूको हैसियतमा हामी अरू के गर्न सक्छौं? हाम्रो अर्को लेखले यस सन्दर्भमा मदत दिन्छ।

[फुटनोट]

a मनाउनेबारे थप जानकारीको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित बेनिफिट फ्रम थियोक्राटिक मिनिस्ट्री स्कूल एजुकेशन पुस्तकको अध्ययन ४८ र ४९ हेर्नुहोस्‌।

के तपाईंलाई सम्झना छ?

• कुन कुराले राजा अग्रिपासामु पावलको प्रतिवादलाई प्रभावकारी बनायो?

• हाम्रो सन्देशले कसरी हृदय छुन सक्छ?

• हृदयसम्म पुग्न परमेश्‍वरको वचन प्रभावकारी ढंगमा प्रयोग गर्न हामीलाई कुन कुराले मदत गर्नेछ?

• हामी सेवकाईलाई कसरी परमेश्‍वरको दृष्टिकोणबाट हेर्न सक्छौं?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ १६-मा भएको पेटी/चित्रहरू]

पुनःभेट गर्दा कसरी सफल हुने

• मानिसहरूप्रति साँचो चासो देखाउनुहोस्‌।

• छलफल गर्न बाइबलको घतलाग्दो विषय छान्‍नुहोस्‌।

• हरेक भेटमा अर्को पटक कुराकानीको लागि आधार तयार गर्नुहोस्‌।

• उक्‍त घरधनीसँग छुट्टिएपछि तिनीबारे सोच्ने गर्नुहोस्‌।

• चासो सेलाउन नदिन चाँडै, सायद एक-दुई दिनमै फेरि भेट्‌न जानुहोस्‌।

• तपाईंको लक्ष्य भनेको गृह बाइबल अध्ययन सुरु गर्नु हो भन्‍ने कुरा नबिर्सनुहोस्‌।

• घरधनीको चासो अझ बढाइदिनको लागि यहोवालाई प्रार्थना गर्नुहोस्‌।

[पृष्ठ १५-मा भएको चित्र]

राज्यपाल फेस्तस र राजा अग्रिपासामु हुँदा पावलले मनाउने कला प्रयोग गरे