सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

‘परमेश्‍वरको वचनलाई ठीकसँग प्रयोग गर्नुहोस्‌’

‘परमेश्‍वरको वचनलाई ठीकसँग प्रयोग गर्नुहोस्‌’

‘परमेश्‍वरको वचनलाई ठीकसँग प्रयोग गर्नुहोस्‌’

“सत्यको वचनलाई ठीकसँग प्रयोग गरेर शर्माउन नपर्ने खेताला भई आफूले आफूलाई परमेश्‍वरमा ग्रहणयोग्य तुल्याउने प्रयत्न गर।”—२ तिमोथी २:१५.

१, २. (क) कामदारहरूलाई किन औजारहरू चाहिन्छ? (ख) मसीहीहरू कुन काममा व्यस्त छन्‌ र पहिले परमेश्‍वरको राज्यको खोजी गरेको कुरा तिनीहरूले कसरी देखाउँछन्‌?

 आफ्नो काम पूरा गर्न कामदारहरूलाई औजारहरू चाहिन्छ। यद्यपि, औजार भएर मात्र पुग्दैन। कामदारलाई काम सुहाउँदो औजार चाहिन्छ र तिनले यसलाई ठीक तरिकामा चलाउनै पर्छ। उदाहरणका लागि, टहरा बनाउँदा तपाईंले काठका दुईवटा फल्याक जोड्‌न चाहनुभयो भने तपाईंसित हतौडा र कीला भएर मात्र पुग्दैन। तपाईंले कीला नबङ्‌ग्याईकन काठमा ठोक्न जान्‍नुपर्छ। हतौडा कसरी चलाउने भन्‍ने कुरा थाहै नपाई काठमा कीला ठोक्न खोज्नुभयो भने यो काम असाध्यै गाह्रो हुनुका साथै निराशाजनक समेत हुनेछ। तर औजारहरू ठीकसँग प्रयोग गऱ्‍यौं भने यसले हामीलाई काम सन्तोषजनक ढंगमा पूरा गर्न मदत गर्छ।

मसीहीहरूको हैसियतमा, हामीले गर्नुपर्ने एउटा काम छ। यो सबैभन्दा महत्त्वपूर्ण काम हो। येशू ख्रीष्टले आफ्ना अनुयायीहरूलाई ‘पहिले राज्यको खोजी गर्न’ सल्लाह दिनुभयो। (मत्ती ६:३३) हामी कसरी त्यसो गर्न सक्छौं? एउटा तरिका हो राज्यप्रचार तथा चेला बनाउने काममा जोसिलो हुनु। हाम्रो सेवकाई पूर्णतया परमेश्‍वरको वचनमा आधारित बनाउनु अर्को तरिका हो। असल आचरण तेस्रो तरिका हो। (मत्ती २४:१४; २८:१९, २०; प्रेरित ८:२५; १ पत्रुस २:१२) यस मसीही कार्यभारमा प्रभावकारी तथा खुसी हुन हामीलाई उपयुक्‍त औजारहरूका साथै त्यसलाई कसरी ठीकसँग प्रयोग गर्ने भन्‍ने ज्ञान चाहिन्छ। यस सन्दर्भमा, मसीही श्रमिकको हैसियतमा प्रेरित पावलले एउटा उल्लेखनीय उदाहरण बसाले र तिनले सँगी विश्‍वासीहरूलाई आफ्नो अनुकरण गर्न प्रोत्साहित गरे। (१ कोरिन्थी ११:१; १५:१०) त्यसोभए, हाम्रा सँगी कामदार पावलबाट हामी के सिक्न सक्छौं?

पावल—परमेश्‍वरको राज्यका जोसिला उद्‌घोषक

३. प्रेरित पावल परमेश्‍वरको राज्यका जोसिला कामदार थिए भनेर किन भन्‍न सकिन्छ?

पावल कस्ता कामदार थिए? तिनी पक्कै जोसिला थिए। भूमध्यसागर वरपरको ठूलो क्षेत्रमा सुसमाचार फैलाउन पावलले कडा परिश्रम गरे। उत्साहित भई परमेश्‍वरको राज्यको उद्‌घोषणा गर्नुको एउटा कारण दिंदै आफ्नो काममा निरन्तर लागिरहने यी प्रेरितले यसो भने: “यदि मैले सुसमाचार सुनाएँ भने मलाई घमण्ड गर्न पर्ने केही छैन, किनकि मलाई करै लागेको छ, किनकि सुसमाचार सुनाइनँ भनेता मलाई धिक्कार छ।” (१ कोरिन्थी ९:१६) के पावल आफ्नो जीवन मात्रै बचाउन चाहन्थे? अहँ, होइन। तिनी स्वार्थी व्यक्‍ति थिएनन्‌। बरु, तिनी अरूले पनि सुसमाचारबाट लाभ उठाऊन्‌ भन्‍ने चाहन्थे। तिनले यस्तो लेखे: “कुनै किसिमले कसै कसैलाई बचाइहालूँ भनेर सबैका निम्ति म सबै कुरा भएँ।”—१ कोरिन्थी ९:२२.

४. कुन औजारलाई मसीही कामदारहरू सबैभन्दा मूल्यवान्‌ ठान्छन्‌?

प्रेरित पावल एक जना विनयी कामदार थिए जसले आफ्ना व्यक्‍तिगत सीपहरूमा मात्र पूर्ण भर पर्न सकिंदैन भनी बुझेका थिए। सिकर्मीलाई हतौडा चहिएजस्तै, परमेश्‍वरको सच्चाइ आफ्ना श्रोताहरूको हृदयसम्म पुऱ्‍याउन पावललाई उपयुक्‍त औजार चाहिन्थ्यो। तिनले मुख्यतया कुन औजार प्रयोग गरे? यो परमेश्‍वरको वचन, पवित्र धर्मशास्त्र थियो। त्यसै गरी, चेला बनाउन हाम्रो मदतको लागि हामीले प्रयोग गर्ने मुख्य औजार पूर्ण बाइबल हो।

५. प्रभावकारी सेवकहरू हुन हामीले शास्त्रपदहरू उद्धरण गर्नुको साथै के गर्नु पनि आवश्‍यक छ?

परमेश्‍वरको वचनलाई ठीकसँग प्रयोग गर्नुमा यसबाट उद्धरण गर्नु मात्र समावेश छैन भन्‍ने कुरा पावललाई थाह थियो। तिनले “मनाउने” काम गरे। (प्रेरित २८:२३, NW) कसरी? थुप्रैलाई परमेश्‍वरको राज्यको सत्य स्वीकार्नको लागि चित्त बुझाउन पावलले सफलतापूर्वक परमेश्‍वरको लिखित वचन प्रयोग गरे। तिनले उनीहरूसित तर्क गरे। एफिससको एउटा सभाघरमा पावलले “परमेश्‍वरको राज्यको विषयमा रीतिपूर्वक बहस गरेर तिनीहरूलाई मनाउँदै” तीन महिना बिताए। “कुनै कुनैले कठोर र अनाज्ञाकारी भएर” विश्‍वास नगरे तापनि अरूले भने सुने। एफिससमा पावलको सेवकाईको परिणामस्वरूप “[यहोवाको] वचन सामर्थ्यसँग बढ़दै गयो, र प्रबल भयो।”—प्रेरित १९:८, ९, २०.

६, ७. पावलले कसरी आफ्नो सेवकाईलाई महिमित पारे र हामी कसरी त्यसै गर्न सक्छौं?

परमेश्‍वरको राज्यका जोसिला उद्‌घोषकको हैसियतमा पावलले ‘आफ्नो सेवकाईलाई महिमित पारे।’ (रोमी ११:१३, NW) कसरी? तिनको चासो लोकप्रियता हासिल गर्नु थिएन; न त तिनी परमेश्‍वरका एक जना सँगी कामदारको रूपमा सार्वजनिक तवरमा चिनिन नै लजाउँथे। बरु, तिनले आफ्नो सेवकाईलाई उच्च श्रेणीको सम्मानको रूपमा हेरे। पावलले परमेश्‍वरको वचन सिपालु र प्रभावकारी ढंगमा प्रयोग गरे। तिनको फलदायी क्रियाकलापले अरूलाई प्रेरणा दियो र तिनीहरूलाई आफ्नो सेवकाई अझ पूर्ण रूपमा पूरा गर्न उप्रेरित गऱ्‍यो। यस तरिकामा पनि तिनको सेवकाई महिमित पारिएको थियो।

परमेश्‍वरको वचन नियमित तथा प्रभावकारी ढंगमा प्रयोग गरेर पावलले जस्तै हामी पनि सेवकहरूको रूपमा हाम्रो कामलाई महिमित पार्न सक्छौं। हाम्रो क्षेत्र सेवकाईका सबै पक्षहरूमा, हाम्रो लक्ष्य जतिसक्दो धेरै मानिसहरूलाई धर्मशास्त्रबाट केही न केही कुरा बताउने हुनुपर्छ। अरूलाई मनाउन सक्ने गरी हामी कसरी त्यसो गर्न सक्छौं? तीनवटा महत्त्वपूर्ण तरिका विचार गर्नुहोस्‌: (१) परमेश्‍वरको वचनप्रति आदर जगाउने ढंगमा यसप्रति ध्यान खिच्नुहोस्‌। (२) बाइबलले बताउने कुराहरू कौशलतापूर्वक वर्णन गर्नुहोस्‌ र व्यवहारमा उतार्नुहोस्‌। (३) चित्तबुझ्दो ढंगमा धर्मशास्त्रबाट तर्क गर्नुहोस्‌।

८. परमेश्‍वरको राज्यको प्रचारको लागि आज हामीसित कस्ता औजारहरू उपलब्ध छन्‌ र तपाईंले तिनको प्रयोग कसरी गर्नुभएको छ?

वर्तमान समयका राज्य उद्‌घोषकहरूसित पावलको सेवकाईको दौडान उपलब्ध नभएका औजारहरू छन्‌। यसमा पुस्तक, पत्रिका, पुस्तिका, हातेपर्ची, पर्चा र श्रव्य तथा दृश्‍य रेकर्डिङ्‌हरू समावेश छन्‌। बितेको शताब्दीमा, सन्देश कार्ड, फोनोग्राफ, ध्वनी यन्त्र जोडिएको मोटरगाडी अनि रेडियो प्रसारण पनि प्रयोग गरिन्थ्यो। निस्सन्देह, हाम्रो सर्वोत्तम औजार बाइबल हो र हामीले यो अपरिहार्य औजारको सदुपयोग गर्नु आवश्‍यक छ।

हाम्रो सेवकाई परमेश्‍वरको वचनमा आधारित हुनै पर्छ

९, १०. परमेश्‍वरको वचनको प्रयोगको सन्दर्भमा, पावलले तिमोथीलाई दिएका सल्लाहबाट हामी के सिक्न सक्छौं?

परमेश्‍वरको वचनलाई हामी कसरी प्रभावकारी औजारको रूपमा प्रयोग गर्न सक्छौं? पावलले आफ्ना सहकर्मी तिमोथीलाई लेखेका निम्न शब्दहरू पालन गरेर: “सत्यको वचनलाई ठीकसँग प्रयोग गरेर शर्माउन नपर्ने खेताला भई आफूले आफूलाई परमेश्‍वरमा ग्रहणयोग्य तुल्याउने प्रयत्न गर।” (२ तिमोथी २:१५) “सत्यको वचनलाई ठीकसँग प्रयोग” गर्नुमा कुन कुरा समावेश छ?

१० “ठीकसँग प्रयोग गरेर” भनी अनुवाद गरिएको युनानी शब्दको शाब्दिक अर्थ “सीधा काट्‌नु” वा “सोझो दिशामा बाटो खोल्नु” भन्‍ने हुन्छ। मसीही युनानी धर्मशास्त्रमा पावलले तिमोथीलाई दिएको सल्लाहमा मात्र उक्‍त पदावली प्रयोग गरिएको छ। सीधा सियो पारेर खेत जोत्नु भन्‍ने अर्थ बुझाउन पनि यही शब्द प्रयोग गर्न सकिन्छ। बाङ्‌गोटिङ्‌गो हुने गरी जोत्नु भनेको एक जना अनुभवी किसानको लागि लाजमर्दो कुरा हो। “शर्माउन नपर्ने खेताला” हुनको लागि, तिमोथीलाई परमेश्‍वरको वचनका साँचो शिक्षाहरूबाट यताउता नतर्किनू भनी सम्झाइएको थियो। तिमोथीले तिनको शिक्षालाई आफ्नो व्यक्‍तिगत दृष्टिकोणहरूले असर गर्न दिनु हुँदैनथ्यो। तिनले आफ्नो प्रचार तथा शिक्षण कार्य पूर्णतया धर्मशास्त्रमा केन्द्रित गर्नुपर्थ्यो। (२ तिमोथी ४:२-४) यसरी निष्कपट हृदय भएका व्यक्‍तिहरूले कामकुराहरूप्रति सांसारिक दर्शनहरू अपनाउने नभई यहोवाको जस्तो दृष्टिकोण राख्न मदत पाउने थिए। (कलस्सी २:४, ८) आज पनि यही कुरा लागू हुन्छ।

हाम्रो आचरण असल हुनै पर्छ

११, १२. परमेश्‍वरको वचनलाई ठीकसँग प्रयोग गर्ने सन्दर्भमा हाम्रो आचरणले कस्तो असर पार्छ?

११ हामीले परमेश्‍वरको वचनको सत्य घोषणा गरी यसलाई ठीकसँग प्रयोग गर्नु मात्र पर्याप्त छैन। हाम्रो आचरण यस अनुरूप हुनै पर्छ। “हामी परमेश्‍वरका सहकर्मी हौं,” त्यसैले हामी कपटी कामदार हुनुहुँदैन। (१ कोरिन्थी ३:९) परमेश्‍वरको वचनले यसो भन्छ: “के तिमी अर्कोलाई सिकाउनेले, आफूलाई पनि सिकाउँदैनौ? न चोर भनेर मानिसलाई तिमी प्रचार गर्नेले, के आफै चोर्छौ? व्यभिचार नगर भन्‍ने तिमीले के आफै व्यभिचार गर्छौ? तिमी जो मूर्त्तिहरू घिनाउँछौ, के तिमी आफै मन्दिरहरू लूट्‌तछौ?” (रोमी २:२१, २२) त्यसकारण परमेश्‍वरका वर्तमान समयका कामदारहरूको हैसियतमा, हामीले परमेश्‍वरको वचन ठीकसँग प्रयोग गर्ने एउटा तरिका यो सल्लाह पालन गरेर हो: “तेरो सारा भरोसा परमेश्‍वरमा राख्‌, र तेरो आफ्नै समझ-शक्‍तिमा भरोसा नगर्‌। आफ्नो सबै चालमा उहाँलाई सम्झी र उहाँले तेरा बाटोहरू सुगम तुल्याइदिनुहुनेछ।”—हितोपदेश ३:५, ६.

१२ परमेश्‍वरको वचनलाई ठीकसँग प्रयोग गर्दा हामीले कस्ता नतिजाहरूको आशा गर्न सक्छौं? परमेश्‍वरको लिखित वचनले नम्र हृदय भएका व्यक्‍तिविशेषहरूको जीवनमा असर पार्न सक्ने शक्‍तिलाई विचार गर्नुहोस्‌।

परमेश्‍वरको वचनमा परिवर्तन गर्न सक्ने शक्‍ति छ

१३. परमेश्‍वरको वचन व्यवहारमा उतार्दा कुनै व्यक्‍तिमा कस्तो असर गर्न सक्छ?

१३ परमेश्‍वरको वचनको सन्देश आधिकारिक हो भनी स्वीकार्दा यसले मानिसहरूमा शक्‍तिशाली असर पारेर तिनीहरूलाई आफ्नो जीवनमा उल्लेखनीय परिवर्तन गर्न मदत गर्छ। प्राचीन थिस्सलोनिकामा पावलले परमेश्‍वरको वचनले काम गरेको देख्नुका साथै मसीही भएकाहरूमाथि राम्रो प्रभाव पारेको कुराको तिनी गवाही थिए। त्यसकारण तिनले उनीहरूलाई यसो भने: “हामी पनि निरन्तर परमेश्‍वरमा धन्यवाद चढ़ाउँछौं। तिमीहरूले हामीबाट सुनेको वचन, अर्थात्‌ परमेश्‍वरको वचन पाएर, मानिसको वचन गरी जस्तो होइन, तर परमेश्‍वरको वचन जस्तैगरी, जो साँच्चिनै हो पनि, ग्रहण गऱ्‍यौ, जुन वचनले तिमी विश्‍वास गर्नेहरूमा काम पनि गर्दछ।” (१ थिस्सलोनिकी २:१३) ती मसीहीहरूका लागि—र अवश्‍य पनि ख्रीष्टका सबै साँचो अनुयायीहरूका लागि—मानिसको तुच्छ युक्‍ति कुनै पनि हालतमा परमेश्‍वरको सर्वोच्च बुद्धिको तुलनामा आउन सक्दैन। (यशैया ५५:९) थिस्सलोनिकीहरूले “पवित्र आत्माको आनन्दसाथ, ज्यादै कष्टमा वचन ग्रहण गरे” र अरू विश्‍वासीहरूका लागि नमुना भए।—१ थिस्सलोनिकी १:५-७.

१४, १५. परमेश्‍वरको वचनको सन्देश कत्तिको शक्‍तिशाली छ र किन?

१४ परमेश्‍वरको वचन यसको स्रोत, यहोवाजस्तै शक्‍तिशाली छ। यो “जीवित परमेश्‍वरबाट” आउँछ, जसको “वचनले स्वर्ग” बन्यो र यो वचन सधैं ‘जुन कामको निम्ति पठाइन्छ, त्यसमा सफल हुन्छ।’ (हिब्रू ३:१२; भजन ३३:६; यशैया ५५:११) एक जना बाइबलविद्‌ले यस्तो टिप्पणी गरे: “परमेश्‍वरले आफूलाई उहाँको वचनबाट अलग गराउनुहुन्‍न। यो उहाँसित असम्बन्धित वस्तु भएजस्तो गरी उहाँले यसलाई त्याग्नुहुन्‍न। . . . त्यसकारण जेसुकै होस्‌ भनेर उहाँले यसलाई कहिल्यै पनि बेवास्ता गर्नुहुन्‍न; किनभने जीवित परमेश्‍वरसित यसको घनिष्ठ सम्बन्ध छ।”

१५ परमेश्‍वरको वचनबाट निस्कने सन्देश कत्तिको शक्‍तिशाली छ? यसमा बेजोड शक्‍ति छ। यसकारण पावलले उपयुक्‍त ढंगमा यस्तो लेखे: “परमेश्‍वरको वचन जीवित र प्रबल, र कुनै दुइ-धारे तरवारभन्दा पनि धारिलो, औ प्राण र आत्मालाई जोर्नी जोर्नी र हड्डीका मासीलाई भाग भाग पारुञ्जेलसम्म वारपार छेंड़ने, र हृदयको भावना र विचारलाई जाँच्न सक्ने हुन्छ।”—हिब्रू ४:१२.

१६. परमेश्‍वरको वचनले कुनै व्यक्‍तिलाई कुन हदसम्म परिवर्तन गर्न सक्छ?

१६ परमेश्‍वरको लिखित वचनमा पाइने सन्देश “कुनै दुइ-धारे तरवारभन्दा पनि धारिलो” छ। त्यसकारण यसमा कुनै पनि मानव निर्मित यन्त्र वा औजारमा भन्दा बढी छेड्‌न सक्ने शक्‍ति छ। परमेश्‍वरको वचनले व्यक्‍तिको भित्री भागसम्म छेड्‌छ र तिनले सोच्ने तथा प्रेम गर्ने कुराहरूमा असर गर्नुका साथै स्वीकारयोग्य ईश्‍वरीय कामदार बनाएर तिनलाई भित्रैदेखि परिवर्तन गराउन सक्छ। कस्तो शक्‍तिशाली औजार!

१७. परमेश्‍वर वचनको परिवर्तन गर्न सक्ने शक्‍ति वर्णन गर्नुहोस्‌।

१७ कुनै व्यक्‍तिले आफूबारे जेसुकै सोच्ने वा अरूसामु आफूलाई जस्तोसुकै देखाउने गरे तापनि परमेश्‍वरको वचनले वास्तवमा त्यो व्यक्‍ति कस्तो हो भनी प्रकट गर्छ। (१ शमूएल १६:७) दुष्ट व्यक्‍तिले समेत कहिलेकाहीं दया र धर्मपरायणताको मकुन्डो पहिरन सक्छ। खराब व्यक्‍तिहरूले दुष्ट कारणहरूका लागि छद्‌मवेश धारण गर्छन्‌। अहंकारी व्यक्‍तिहरूले नक्कली नम्रताको नकाब लगाएर मानिसहरूबाट प्रशंसा पाउने इच्छा गर्छन्‌। तथापि, वास्तवमा हृदयमा भएको कुरालाई उदाङ्‌ग पारेर परमेश्‍वरको वचनले नम्र व्यक्‍तिहरूलाई पुरानो व्यक्‍तित्व त्याग्न र ‘परमेश्‍वरअनुसार धार्मिकता र सत्यको पवित्रतामा सृष्टि भएको नयाँ मानिसलाई धारण गर्न’ उत्प्रेरित गर्न सक्छ। (एफिसी ४:२२-२४) परमेश्‍वरको वचनका शिक्षाहरूले काँतर हृदय भएका व्यक्‍तिहरूलाई परिवर्तन गरेर यहोवाको साहसी साक्षी र परमेश्‍वरको राज्यका जोसिला उद्‌घोषकहरू बनाउन सक्छ।—यर्मिया १:६-९.

१८, १९. यी अनुच्छेदहरू वा क्षेत्र सेवामा आफ्नो व्यक्‍तिगत अनुभवको आधारमा, धर्मशास्त्रीय सत्यले कुनै व्यक्‍तिको मनोवृत्ति कसरी परिवर्तन गर्न सक्छ भनी देखाउनुहोस्‌।

१८ परमेश्‍वरको वचनको परिवर्तन गर्न सक्ने शक्‍तिले सबैतिरका मानिसहरूमा राम्रो प्रभाव पार्छ। उदाहरणका लागि, नोम पेन, कम्बोडियाका राज्य उद्‌घोषकहरूले कोमपोङ चाम प्रान्तमा महिनाको दुई पटक प्रचार गरे। अरू पादरीहरूले यहोवाका साक्षीहरू विरुद्ध कुरा गरेको सुनेपछि, एउटी स्थानीय पादरीले यहोवाका साक्षीहरू अर्को पटक त्यस प्रान्तमा आउँदा तिनीहरूसित भेट्‌ने प्रबन्ध मिलाइन्‌। चाडपर्व मनाउनेबारे उनले प्रश्‍नमाथि प्रश्‍न गरिन्‌ र तिनीहरूले धर्मशास्त्रबाट उनका प्रश्‍नहरूको जवाफ दिंदा ध्यानपूर्वक सुनिन्‌। त्यसपछि तिनले यस्तो उद्‌गार व्यक्‍त गरिन्‌: “मेरा सँगी पादरीहरूले तपाईंहरूबारे भनेका कुराहरू सत्य होइन रहेछन्‌ भनेर अब मलाई थाह भयो! तिनीहरूले त तपाईंहरूले बाइबल चलाउनुहुन्‍न भन्थे तर आज बिहानभरि तपाईंहरूले त बाइबल मात्रै चलाउनुभयो!”

१९ यी स्त्रीले साक्षीहरूसित बाइबल छलफल कायम राखिन्‌ र पादरीको पदबाट हटाइने धम्कीले उनलाई कुनै फरक पारेन। आफूले गरिरहेको धर्मशास्त्रीय छलफलबारे उनले आफ्नो एक जना साथीलाई बताइन्‌ र तिनले पनि साक्षीहरूसित बाइबल अध्ययन सुरु गरिन्‌। आफूले सिकिरहेको कुराबाट तिनकी साथी यति धेरै उत्साहित भइन्‌ कि उनी उपस्थित हुने चर्चको एउटा सेवामा यसो भन्‍न उत्प्रेरित भइन्‌: “आउनुहोस्‌, यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गर्नुहोस्‌!” त्यसको लगत्तै यी भूतपूर्व पादरी, उनकी साथी र अरूले यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गर्न थाले।

२०. घानाकी एउटी स्त्रीको अनुभवले परमेश्‍वरको वचनको शक्‍ति कसरी स्पष्ट पार्छ?

२० घानाकी एउटी स्त्री पलीनाको सन्दर्भमा पनि परमेश्‍वरको वचनको शक्‍ति स्पष्ट देखिन्छ। एउटी पूर्ण-समय सेविकाले तिनीसित ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ भन्‍ने पुस्तकबाट बाइबल अध्ययन सञ्चालन गरिन्‌। a पलीनाको पतिका धेरै पत्नीहरू भएकोले तिनी बहुविवाहमा मुछिएकी थिइन्‌ र तिनले परिवर्तन गर्नुपर्ने महसुस गरिन्‌ तर तिनको पति र सबै नातेदारहरूले तिनको तीव्र विरोध गरे। तिनको हजुरबुबा, जो उच्च अदालतका न्यायाधीशका साथै चर्चका नेता थिए, तिनले मत्ती १९:४-६ को गलत अर्थ लगाउँदै तिनको मन परिवर्तन गर्ने कोसिससमेत गरे। यी न्यायाधीशले भनेको कुरा ठीकै जस्तो देखिन्थ्यो तर यो येशू ख्रीष्टलाई परीक्षा गर्न शैतानले धर्मशास्त्र बङ्‌ग्याएजस्तै हो भन्‍ने कुरा पलीनाले चाँडै नै बुझिन्‌। (मत्ती ४:५-७) तिनले विवाहबारे येशू ख्रीष्टको स्पष्ट भनाइ सम्झिन्‌, जहाँ परमेश्‍वरले मानिसहरूलाई नर र नारी बनाउनुभयो भनिएको छ, नर र नारीहरू होइन अनि तिनीहरू तीन जना होइन तर दुई जना एक शरीर हुने थिए। तिनी आफ्नो निर्णयमा अडिग रहिन्‌ र अन्ततः तिनलाई प्रचलनअनुसार बहुविवाहबाट सम्बन्ध विच्छेद गर्ने अनुमति दिइयो। चाँडै, तिनी एक जना आनन्दित बप्तिस्मा प्राप्त राज्य उद्‌घोषिका भइन्‌।

परमेश्‍वरको वचनलाई ठीकसँग प्रयोग गरिरहनुहोस्‌

२१, २२. (क) राज्य उद्‌घोषकहरूको हैसियतमा हामी कस्तो संकल्प गर्न चाहन्छौं? (ख) अर्को लेखमा हामी कुन कुरा विचार गर्नेछौं?

२१ परमेश्‍वरको नजिक हुनको लागि अरूलाई तिनीहरूको जीवनमा परिवर्तन गर्ने मदत दिन वास्तवमा परमेश्‍वरको लिखित वचन एउटा शक्‍तिशाली औजार हो। (याकूब ४:८) राम्रो नतिजा प्राप्त गर्न सिपालु कामदारहरूले औजारहरू प्रयोग गरेझैं, राज्य उद्‌घोषकहरूको हैसियतमा हाम्रो ईश्‍वरप्रदत्त कार्यमा परमेश्‍वरको वचन, बाइबल सिपालु ढंगमा प्रयोग गर्नको लागि उत्कट प्रयत्न गर्ने हाम्रो संकल्प होस्‌।

२२ चेला बनाउने हाम्रो काममा हामी धर्मशास्त्रलाई कसरी अझ प्रभावकारी ढंगमा चलाउन सक्छौं? एउटा तरिका, चित्त बुझाउन सक्ने शिक्षकहरूको रूपमा हाम्रा क्षमताहरू विकास गरेर हो। कृपया अर्को लेखमा ध्यान दिनुहोस्‌ किनभने यसले राज्यसन्देश स्वीकार्न अरूलाई सिकाउने तथा मदत दिने तरिकाहरूबारे बताउनेछ।

[फुटनोट]

a यहोवाका साक्षीहरूद्वारा प्रकाशित।

के तपाईंलाई सम्झना छ?

• राज्य उद्‌घोषकहरूका लागि कस्ता औजारहरू उपलब्ध छन्‌?

• राज्य कामदारको हैसियतमा पावल कुन-कुन तरिकामा एक उदाहरण थिए?

• परमेश्‍वरको वचनलाई ठीकसँग प्रयोग गर्नुमा कुन कुरा समावेश छ?

• यहोवाको लिखित वचन कत्तिको शक्‍तिशाली औजार हो?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ १०-मा भएका चित्रहरू]

राज्य उद्‌घोषण कार्यमा मसीहीहरूले प्रयोग गर्ने केही औजारहरू