सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

एउटा टेलिभिजन कार्यक्रमले तिनलाई परमेश्‍वरको महिमा गर्न डोऱ्‍यायो

एउटा टेलिभिजन कार्यक्रमले तिनलाई परमेश्‍वरको महिमा गर्न डोऱ्‍यायो

राज्य उद्‌घोषकहरूको रिपोर्ट

एउटा टेलिभिजन कार्यक्रमले तिनलाई परमेश्‍वरको महिमा गर्न डोऱ्‍यायो

प्रेरित पावलले यसो भने, “कसै-कसैले साँच्चै डाह र शेखीले, तर अरूहरूले सद्‌भावले ख्रीष्टलाई प्रचार गर्दछन्‌।” (फिलिप्पी १:१५, नयाँ संशोधित संस्करण) कहिलेकाहीं यहोवाका साक्षीहरूको बदनाम गर्न कोसिस गर्नेहरूले समेत चालै नपाई सोझा हृदय भएकाहरूलाई सत्यतर्फ आकर्षित गर्न महत्त्वपूर्ण भूमिका निभाउँछन्‌।

नोभेम्बर १९९८ मा फ्रान्सेली राष्ट्रिय टेलिभिजनमा लुभियर्सस्थित यहोवाका साक्षीहरूको शाखा कार्यालय अर्थात्‌ बेथेलका दृश्‍यहरू समावेश गरिएको एउटा वृत्तचित्र प्रसारण गरिएको थियो। उक्‍त कार्यक्रमप्रति विविध प्रतिक्रियाहरूको बावजुद यसले अप्रत्याशित रूपमा सकारात्मक परिणाम हासिल गऱ्‍यो।

उक्‍त कार्यक्रम हेर्नेहरूमध्ये एक जना एन्‍ना-पाऊला पनि थिइन्‌ जो बेथेलबाट केवल ६० किलोमिटर पर बस्थिन्‌। छुटानाम गरेर दुई छोराहरूका साथमा बसेकी एन्‍ना-पाऊला जागिरको खोजीमा थिइन्‌। त्यसैले भलिपल्ट बिहानै तिनले बेथेलमा फोन गरेर त्यहाँ जागिर पाइन्छ कि भनेर सोधिन्‌। तिनले यसो भनिन्‌, “त्यो टेलिभिजन कार्यक्रम हेरेपछि मलाई लाग्यो, त्यो ठाउँ मर्यादित छ अनि त्यहाँ उपयोगी काम गरिन्छ।” जब तिनले बेथेलमा काम गर्ने सबै स्वयम्‌सेवक हुन्‌ र तिनीहरू त्यहाँ स्वेच्छाले आफ्नो समय खर्च गर्छन्‌ भनी थाह पाइन्‌, तिनी तीन छक परिन्‌! यहोवाका साक्षीहरूको गतिविधिहरूबारे छोटकरीमा छलफल गरिसकेपछि तिनी एक जना साक्षीलाई आफूकहाँ निम्त्याउन इच्छुक भइन्‌।

जब स्थानीय मण्डलीकी एउटी पूर्ण-समय सेविका लेना, तिनलाई भेट्‌न आइन्‌, तिनीहरूबीच निकै लामो छलफल भयो र एन्‍ना-पाऊलाले ज्ञान—जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ  a पुस्तक स्वीकारिन्‌। अर्को भेटसम्ममा त एन्‍ना-पाऊलाले पूरै पुस्तक पढिसकेकी थिइन्‌ र मनमा धेरै प्रश्‍न लिएर बसिरहेकी थिइन्‌। तिनले खुसीसाथ बाइबल अध्ययन स्वीकारिन्‌। एन्‍ना पाऊलाले यसो भनिन्‌: “त्यो, मेरो लागि यहोवाको वचन पत्ता लगाउने सुअवसर थियो। यसभन्दा अघि मैले बाइबल छोएकी पनि थिइनँ।”

जनवरीमा एन्‍ना-पाऊलाले बेथेलको भ्रमण गरिन्‌ र एक हप्ता पछि तिनी पहिलो पटक मसीही सभामा उपस्थित भइन्‌। केही समयपछि तिनले आफ्ना छोराछोरीसित बाइबल अध्ययन गर्न र आफ्ना साथीहरूलाई साक्षी दिन थालिन्‌। तिनी भन्छिन्‌, “आफूले सिकिरहेको कुरा अरूलाई नबताई म बस्नै सकिनँ। म मानिसहरूलाई बाइबल सत्य बताउन र सान्त्वना दिन चाहन्थें।” आफ्ना धेरै समस्याहरू समाधान गर्न संघर्ष गरिसकेपछि एन्‍ना-पाऊला नियमित रूपमा सभाहरू धाउन थालिन्‌। तिनले छिट-छिटो प्रगति गरिन्‌ र मे ५, २००२ मा बप्तिस्मा लिइन्‌।

यसको अतिरिक्‍त, एन्‍ना-पाऊलाको राम्रो उदाहरण र जोसिलो प्रचारकार्य देखेर तिनकी आमाले पनि बाइबल अध्ययन गर्न थालिन्‌ र छिट्टै बप्तिस्मा लिइन्‌। एन्‍ना-पाऊला यसो भन्छिन्‌, “मैले महसुस गरेको आनन्द शब्दमा वर्णन गर्नै सकिंदैन। उहाँलाई चिन्‍ने र सेवा गर्ने सुअवसर दिनुभएकोमा र उहाँले दिनुभएका सबै आशिष्‌हरूको लागि म हरदिन यहोवालाई धन्यवाद दिन्छु।”

[फुटनोट]

a यहोवाका साक्षीहरूद्वारा प्रकाशित

[पृष्ठ ८-मा भएका चित्रहरू]

माथि: एन्‍ना-पाऊला

तल: फ्रान्स शाखा कार्यालयको प्रवेशद्वार