सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“परमप्रभुमा मग्न हो”

“परमप्रभुमा मग्न हो”

“परमप्रभुमा मग्न हो”

“तँ आफै परमप्रभुमा मग्न हो। र उहाँले तेरो मनोरथ पूरा गर्नुहुनेछ।”—भजन ३७:४.

१, २. साँचो आनन्दको स्रोत को हो र राजा दाऊदले यस तथ्यतर्फ कसरी ध्यानाकर्षण गरे?

 “धन्य आत्मामा दरिद्र हुनेहरू, . . . धन्य दयावन्तहरू, . . . धन्य मेल-मिलाप गराउनेहरू।” धन्य अर्थात्‌ आनन्दित हुने अन्य छवटा विवरण सँगसँगै यी वाक्यांशहरू येशूले डाँडामा दिनुभएको उपदेशको उल्लेखनीय परिचय हो र सुसमाचारका लेखक मत्तीले यसलाई लिपिबद्ध गरे। (मत्ती ५:३-११) येशूका शब्दहरूले आनन्द भनेको हाम्रो पहुँचको कुरा हो भन्‍ने आश्‍वासन दिन्छ।

पुरातन इस्राएलका राजा दाऊदले लेखेको एउटा पवित्र भजनले साँचो आनन्दको स्रोत, यहोवातर्फ ध्यानाकर्षण गर्छ। दाऊदले भने, “तँ आफै परमप्रभुमा [“यहोवामा,” NW] मग्न हो। र उहाँले तेरो मनोरथ पूर्ण गर्नुहुनेछ।” (भजन ३७:४) तर कुन कुराले गर्दा यहोवा र उहाँको व्यक्‍तित्वका विभिन्‍न पक्षहरूबारे थाह पाएर “मग्न” हुन सक्छौं? आफ्नो उद्देश्‍य पूर्तिको लागि उहाँले गर्नुभएको कुरा अनि पछि गर्नुहुने कुरा विचार गर्दा कसरी तपाईंको “मनोरथ पूर्ण” हुने आशा गर्न सक्नुहुन्छ? भजन ३७ अध्यायको १ देखि ११ लाई गहिरिएर केलाउँदा यसको जवाफ पाउन सक्छौं।

‘डाह नगर’

३, ४. भजन ३७:१ मा लिपिबद्ध गरिएअनुसार दाऊद कस्तो सल्लाह दिन्छन्‌ अनि आज यो पालन गर्नु किन उपयुक्‍त छ?

हामी “डरलाग्दो समयमा” बाँचिरहेका छौं र दुष्टता व्याप्त छ। हामीले प्रेरित पावलका यी शब्दहरू सत्य साबित भएको देखेका छौं: “खराब मानिसहरू र ठगाहाहरू ठगेर र ठगिएर झन्‌ झन्‌ खराब हुँदै जानेछन्‌।” (२ तिमोथी ३:१, १३) दुष्ट मानिसहरू सफल र संवृद्ध भएजस्तो देखिंदा कति सजिलै अलमलिन सकिन्छ! यी कुराहरूले हामीलाई अलमल्याउन सक्छ र हाम्रो आध्यात्मिक दृष्टि धमिलो हुन सक्छ। भजन ३७ को सुरुका शब्दहरूले हामीलाई सम्भाव्य खतराबारे कसरी सजग गराउँछ, ध्यान दिनुहोस्‌: “कुकर्मीहरूको कारण व्याकुल नहो, नता अधर्म गर्नेहरूका विरुद्धमा डाह गर्ने हो।”

संसारको सञ्चारजगत्‌मा प्रकाशित अन्यायपूर्ण घटनाहरूले हामीलाई दिनहुँ प्रहार गरिरहन्छ। बेइमान व्यापारीहरू जालसाजी गरे तापनि सजाय पाउँदैनन्‌। अपराधीहरूले सीधासाधाहरूबाट नाजायज फाइदा उठाउँछन्‌। हत्याराहरू पत्ता लाग्दैनन्‌ वा केही सजाय पाउँदैनन्‌। न्याय बङ्‌ग्याइएका यी सबै उदाहरणहरूले हामीमा रिसका भावनाहरू उत्पन्‍न हुनुका साथै हाम्रो मनोशान्ति खलबलाउन सक्छ। कुकर्मीहरू सफल भएजस्तो देखिंदा ईर्ष्यासमेत जाग्न सक्छ। तर के हामी खिन्‍न हुँदैमा परिस्थिति सुध्रन्छ र? दुष्टहरूको फाइदा भएजस्तो देखिंदा, ईर्ष्या गर्दैमा के तिनीहरूले भोग्नुपर्ने परिणाम बदलिन्छ र? पक्कै बदलिंदैन! अनि हामीले “डाह” गर्नुपर्ने कुनै कारण छैन। किन?

५. कुकर्मीहरूलाई किन घाँससित तुलना गरिएको छ?

भजनहार यस्तो जवाफ दिन्छन्‌: “किनकि तिनीहरू चाँड़ैनै घाँसझैं काटिनेछन्‌, र हरियो झारझैं ओइलाउनेछन्‌।” (भजन ३७:२) भर्खरै उम्रेको नयाँ हरियो घाँस सुन्दर देखिएला तर घाँसका पातहरू चाँडै ओइलाउँछन्‌ र मर्छन्‌। कुकर्मीहरूको कुरा पनि यस्तै हो। तिनीहरूले प्राप्त गरेजस्तो देखिने सफलता स्थायी होइन। तिनीहरू मर्दा तिनीहरूको अवैध धनले केही मदत गर्दैन। आखिर सबैले न्याय भोग्नु परिहाल्छ। “पापको ज्याला मृत्यु हो” भनी पावलले लेखे। (रोमी ६:२३) कुकर्मीहरू र अधर्मी सबैले अन्ततः आफ्नो “ज्याला” पाउनेछन्‌, अरू केही होइन। कस्तो निरर्थक जीवन शैली!—भजन ३७:३५, ३६; ४९:१६, १७.

६. भजन ३७:१, २ बाट हामी कस्तो पाठ सिक्न सक्छौं?

त्यसोभए कुकर्मीहरूले प्राप्त गरेको क्षणिक संवृद्धि देखेर के हामी विचलित हुनुपर्छ र? भजन ३७ को सुरुका दुइटा पदबाट सिक्न सकिने पाठ यही हो: तिनीहरूको सफलताको कारण यहोवाको सेवा गर्न रोज्नुभएको मार्गबाट आफूलाई तर्कन नदिनुहोस्‌। बरु, आध्यात्मिक आशिष्‌ र लक्ष्यहरूमा तपाईंको ध्यान केन्द्रित गर्नुहोस्‌।—हितोपदेश २३:१७.

“परमप्रभुमा भरोसा राख्‌, र भलाइ गर्‌”

७. हामीले किन यहोवामा भरोसा राख्नुपर्छ?

“परमप्रभुमा भरोसा राख्‌, र भलाइ गर्‌” भनी भजन रचयिता हामीलाई आग्रह गर्छन्‌। (भजन ३७:३क) हामी चिन्ता वा शङ्‌काले पिरोलिंदा हाम्रो विश्‍वस्तता यहोवामा दह्रो गरेर राख्नुपर्छ। पूर्ण आध्यात्मिक सुरक्षा दिनुहुने उहाँ नै हुनुहुन्छ। मोशाले यस्तो लेखे: “जो परम प्रधानको गुप्त ठाउँमा बास गर्दछ, त्यो सर्वशक्‍तिमानको छत्र छायामनि रहन्छ।” (भजन ९१:१) यस रीतिरिवाजमा अधर्मको वृद्धिले मन खलबलिंदा हामीले यहोवामा झन्‌ बढी भर पर्नुपर्छ। आफ्नो गोडा मर्किंदा हामी आडको लागि साथीको हात समाउन पाउँदा खुसी हुन्छौं। त्यसरी नै, विश्‍वासी भई हिंड्‌ने प्रयास गर्दा हामीलाई यहोवाको समर्थन चाहिन्छ।—यशैया ५०:१०.

८. दुष्टहरूको संवृद्धि देखेर अचाक्ली विचलित नहुन मसीही सेवकाईमा भाग लिंदा कसरी मदत पाउन सकिन्छ?

दुष्टहरूको संवृद्धि देखेर मन खलबलिंदा एउटा समाधान, यहोवाको उद्देश्‍यको सही ज्ञानमा आउन भेडाखाले मानिसहरू खोज्नु र तिनीहरूलाई मदत गर्ने कार्यमा व्यस्त हुनु हो। दुष्टता बढिरहेको अवस्थामा हामी अरूलाई मदत गर्ने काममा पूर्णतया व्यस्त हुनु आवश्‍यक छ। प्रेरित पावलले यसो भने: “भलाइ गर्न र सहयोगी हुन नबिर्स, किनकि यस्तै बलिदानहरूमा परमेश्‍वर प्रसन्‍न हुनुहुन्छ।” हामीले गर्न सक्ने सबैभन्दा ठूलो “भलाइ” भनेको परमेश्‍वरको राज्यको महिमित समाचार अरूलाई सुनाउनु हो। हाम्रो जन प्रचारकार्य साँच्चै “स्तुतिको बलिदान” हो।—हिब्रू १३:१५, १६; गलाती ६:१०.

९. “देशमा रहेर” भन्‍ने दाऊदको आग्रहको अर्थ वर्णन गर्नुहोस्‌।

दाऊद अझै यसो भन्छन्‌, “देशमा रहेर सत्यताको पछि लाग्‌।” (भजन ३७:३ख) दाऊदको दिनको “देश” यहोवाले इस्राएललाई दिनुभएको इलाका अर्थात्‌ प्रतिज्ञा गरिएको देश थियो। सुलेमानको शासनको दौडान यसका सीमानाहरू उत्तरमा दानदेखि दक्षिणमा बेर्शेबासम्म फैलिएको थियो। यो इस्राएलको भूमि थियो। (१ राजा ४:२५) आज, हामी पृथ्वीको जुनसुकै भागमा बसे तापनि सम्पूर्ण ग्रह प्रमोदवनमा परिणत भएको हेर्न चाहन्छौं जहाँ धार्मिकताको नयाँ संसार हुनेछ। त्यतिन्जेल हामी आध्यात्मिक सुरक्षामा बसोबास गरिरहेका छौं।—यशैया ६५:१३, १४.

१०. “सत्यताको पछि” लाग्दा परिणाम कस्तो हुन्छ?

१० “सत्यताको पछि” लाग्दा परिणाम कस्तो हुनेछ? प्रेरित हितोपदेश हामीलाई यसरी सम्झाउँछ: “धीर चाल चलन भएको मानिसले धेरै आशिष पाउनेछ।” (हितोपदेश २८:२०) हामी जुनसुकै ठाउँमा भए तापनि अनि जो कोहीलाई सुसमाचार प्रचार गरे तापनि विश्‍वासी भई लागिरहँदा हामीले साँच्चै यहोवाबाट आशिष्‌ पाउनेछौं। उदाहरणका लागि, फ्रांक र तिनकी पत्नी, रोजले ४० वर्षअघि उत्तरी स्कटल्याण्डको एउटा गाउँमा अग्रगामी सेवा सुरु गरे। उनीहरू त्यहाँ पुग्दा सत्यप्रति चासो देखाएका मुठीभर व्यक्‍तिहरूको पनि चासो सेलाइसकेको थियो। तैपनि हार नमानी यी अग्रगामी दम्पतीले प्रचार गर्ने तथा चेला बनाउने काम गर्न थाले। अहिले त्यो गाउँमा एउटा फस्टाउँदो मण्डली छ। यी दम्पतीको विश्‍वासीपनले साँच्चै यहोवाको आशिष्‌ पाएको छ। फ्रांक नम्र भई यसो भन्छन्‌, “सबैभन्दा ठूलो आशिष्‌ भनेको के हो भने, हामी अझै पनि सत्यमा छौं र यहोवाको लागि उपयोगी छौं।” हो, “सत्यताको पछि” लाग्दा हामीले थुप्रै आशिष्‌ प्राप्त गर्नुका साथै कृतज्ञ हुन सक्छौं।

“परमप्रभुमा मग्न हो”

११, १२. (क) हामी कसरी यहोवामा “मग्न” हुन सक्छौं? (ख) व्यक्‍तिगत अध्ययनको सन्दर्भमा तपाईं कस्तो लक्ष्य बनाउन सक्नुहुन्छ अनि सम्भाव्य परिणाम कस्तो हुनेछ?

११ यहोवासित सम्बन्ध बलियो बनाउन अनि उहाँमाथि भरोसा राख्न हामी “परमप्रभुमा मग्न” हुनुपर्छ। (भजन ३७:४क) हामी त्यो कसरी गर्छौं? हाम्रो आफ्नै परिस्थितिमा चुर्लुम्मै डुब्नुको साटो गाह्रै भए तापनि हामी यहोवामा आफ्नो ध्यान केन्द्रित गर्छौं। यसो गर्ने एउटा तरिका उहाँको वचन पढ्‌न समय निकाल्नु हो। (भजन १:१, २) के तपाईं बाइबल पढेर मग्न हुनुहुन्छ? यहोवाबारे अझ बढी सिक्ने लक्ष्य राखेर पढ्‌नुभयो भने मग्न हुन सक्नुहुनेछ। एउटा पद्यांश पढेपछि एकछिन रोकिएर आफैलाई यो प्रश्‍न सोध्नुभए कसो होला, ‘यो पद्यांशले मलाई यहोवाबारे के सिकायो?’ बाइबल पढ्‌दा सँगै एउटा नोटबुक वा कागज राख्नु मदतकारी हुन सक्छ। आफूले भर्खरै पढेको कुराबारे सोच्न एकछिन रोकिनुहुँदा परमेश्‍वरको एउटा मनमोहक गुणबारे सम्झाउने वाक्यांश टिप्नुहोस्‌। अर्को भजनमा दाऊदले यसरी गाए: “हे परमप्रभु, मेरो चटान र मेरो उद्धारक, मेरो मुखका वचनहरू र मेरो हृदयको ध्यान तपाईंको दृष्टिमा ग्रहणयोग्य होऊन्‌।” (भजन १९:१४) परमेश्‍वरको वचनमा यसरी ध्यान केन्द्रित गर्नु यहोवाको लागि “ग्रहणयोग्य” अनि हाम्रो लागि आनन्ददायी हो।

१२ हामी आफ्नो अध्ययन र मननबाट कसरी आनन्द प्राप्त गर्न सक्छौं? हामीले यहोवा र उहाँका तौरतरिकाहरूबारे सकेसम्म सिक्ने लक्ष्य बनाउन सक्छौं। आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुषड्र क्लोज टु जेहोभा a जस्ता प्रकाशनहरूले हामी आफ्नो मूल्यांकन कसरी देखाउन सक्छौं भनेर राम्ररी बताउँछ। त्यसो गरेको खण्डमा यहोवाले धर्मीहरूको “मनोरथ पूर्ण गर्नुहुनेछ” भनी दाऊदले आश्‍वासन दिन्छन्‌। (भजन ३७:४ख) यस्तै विश्‍वस्तताले गर्दा नै प्रेरित यूहन्‍ना यी शब्दहरू कोर्न उत्प्रेरित भएको हुनुपर्छ: “उहाँमा भएको हाम्रा हिम्मत यही हो, कि उहाँको इच्छाबमोजिम हामीले उहाँसँग जे कुरा मागे पनि उहाँले हाम्रो बिन्ती सुन्‍नुहुन्छ। औ हामीले जे सुकै कुरा मागे पनि उहाँले सुन्‍नुहुन्छ भन्‍ने हामीलाई थाह भएपछि, उहाँसँग मागेका कुरा हामीले पाएका छौं भन्‍ने हामीलाई थाह हुन्छ।”—१ यूहन्‍ना ५:१४, १५.

१३. हालैका वर्षहरूमा थुप्रै मुलुकहरूमा राज्य प्रचारकार्यमा कस्तो विस्तार भइरहेको छ?

१३ निष्ठा पालकहरूको हैसियतमा हाम्रो सबैभन्दा ठूलो आनन्द यहोवाको सार्वभौमिकता उच्च पारिएको हेर्नु हो। (हितोपदेश २७:११) कुनै समय एकतन्त्रीय वा तानाशाह शासनको अधीनमा भएका मुलुकहरूमा हाम्रा भाइहरूले गरेको विशाल प्रचारकार्यबारे थाह पाउँदा के हाम्रो हृदय खुसीले गद्‌गद्‌ हुँदैन र? यस रीतिरिवाजको अन्त आउनुअघि अझ कति बढी स्वतन्त्रता प्राप्त हुनेछ भनी हेर्ने प्रतीक्षामा छौं। पश्‍चिमी मुलुकमा बसोबास गर्ने यहोवाका थुप्रै सेवकहरूले पश्‍चिमी देशहरूमा अध्ययनरत विद्यार्थी, शरणार्थी र अस्थायी बसोबास गरेर उपासनाको स्वतन्त्रता अनुभव गर्नेहरूलाई जोडतोडका साथ प्रचार गरिरहेका छन्‌। यी व्यक्‍तिहरू आ-आफ्नो घरमा फर्केपछि पनि तिनीहरूले सत्यको ज्योति चम्काइरहनेछन्‌ भन्‍ने हाम्रो उत्कट इच्छा छ, अन्यथा ती ठाउँहरूमा सत्यको ज्योति चम्कनै पाउने थिएन।—मत्ती ५:१४-१६.

“आफ्नो मार्ग परमप्रभुलाई सुम्पी”

१४. हामी यहोवामा भरोसा राख्न सक्छौं भन्‍ने कस्तो प्रमाण छ?

१४ हाम्रा चिन्ता अनि एकदमै दमनकारीजस्तो देखिने बोझ पनि हटाइन सक्छ भनी थाह पाउनु कस्तो ढुक्कको कुरा हो! कसरी? “आफ्नो मार्ग परमप्रभुलाई सुम्पी। उहाँमानै भरोसा राख्‌” भनी दाऊद लेख्छन्‌ अनि अझ यसो भन्छन्‌, “अनि उहाँले सो पुऱ्‍याइदिनुहुनेछ।” (भजन ३७:५) यहोवा एउटा भरपर्दो आड हुनुहुन्छ भन्‍ने प्रशस्त प्रमाण हाम्रा मण्डलीहरूमा पाउँछौं। (भजन ५५:२२) अग्रगामी, परिभ्रमण निरीक्षक, मिसनरी वा बेथेलमा कार्यरत स्वयम्‌सेवकहरू जोसुकै किन नहोऊन्‌, पूर्ण-समय सेवकाईमा भएका सबैले यहोवाले गर्नुहुने हेरचाहको प्रमाण दिन सक्छन्‌। तपाईंले चिन्‍नुहुने कोही व्यक्‍तिसित कुरा गरेर तिनलाई यहोवाले कसरी मदत गर्नुभयो भनी सोध्नुभए कसो होला? निस्सन्देह, कठिन समयमा पनि यहोवाको हात कहिल्यै छोटो हुँदैन भनेर प्रस्ट हुने तपाईंले थुप्रै अनुभवहरू सुन्‍नुहुनेछ। उहाँले जीवनका आवश्‍यकताहरू सधैं पूरा गर्नुहुन्छ।—भजन ३७:२५; मत्ती ६:२५-३४.

१५. परमेश्‍वरका जनहरूको धार्मिकता कसरी चम्कन्छ?

१५ जब हामी यहोवामा आफ्नो विश्‍वस्तता राख्छौं अनि उहाँलाई पूर्ण भरोसा गर्छौं, हामी भजनहारका यी शब्दहरू अनुभव गर्न सक्छौं: “उहाँले तेरो धार्मिकता ज्योतिसमान, र तेरो इन्साफ मध्य-दिन जस्तोगरी प्रकट गर्नुहुनेछ।” (भजन ३७:६) यहोवाका साक्षीहरू भएको हुँदा हाम्रो अक्सर गलत अर्थ लगाइन्छ। तर हाम्रो जन सेवकाई यहोवा र आफ्नो छिमेकीप्रति प्रेमले उत्प्रेरित भएको हो भनी बुझ्नको लागि यहोवाले इमानदार हृदय भएका मानिसहरूको आँखा खोलिदिनुहुन्छ। साथै, हाम्रो उच्च नैतिक आचरणलाई थुप्रैले गलत अर्थ लगाए तापनि यथार्थ लुकाउन सकिंदैन। यहोवाले हामीलाई सबै किसिमको विरोध तथा सतावटमा सँभाल्नुहुन्छ। फलस्वरूप, परमेश्‍वरका जनहरूको धार्मिकता मध्यदिनको घामजस्तै चम्कन्छ।—१ पत्रुस २:१२.

“मौन बस . . . धैर्यपूर्वक उहाँको प्रतीक्षा गर”

१६, १७. भजन ३७:७ मा भनिएअनुसार अहिले के गर्ने समय हो र किन?

१६ त्यसपछि भजनहार यसो भन्छन्‌: “परमप्रभुको सामुन्‍ने मौन बस र धैर्यपूर्वक उहाँको प्रतीक्षा गर। मानिस आफ्ना कुमार्गमा फलिफाप हुँदा र त्यसले खराब युक्‍तिहरू कार्यान्वयन गर्दा तिमी झर्को नमान।” (भजन ३७:७, नयाँ संशोधित संस्करण) यहाँ दाऊदले, यहोवाले कदम चाल्नुहुने समय धैर्य भई पर्खन जोड दिएका छन्‌। यस रीतिरिवाजको अन्त अझै आइनसकेको भए तापनि यो कुनै गुनासो गर्ने कारण होइन। हामीले सुरुमा सोचेभन्दा यहोवाको कृपा र धैर्य कता हो कता धेरै रहेछ भनेर के हामीले देखेका छैनौं र? अन्त आउनुअघि सुसमाचारको प्रचारकार्यमा व्यस्त रहेर के हामी पनि धैर्यपूर्वक पर्खिरहेका छौं भनी देखाउन सक्छौं? (मर्कूस १३:१०) हाम्रो आनन्द र आध्यात्मिक सुरक्षा खोस्न सक्ने लापरवाह कामहरूबाट अलग्गै रहने समय अहिल्यै हो। शैतानको संसारको भ्रष्ट प्रभावलाई कडा प्रतिरोध गर्ने समय अहिल्यै हो। अनि नैतिक शुद्धता कायम गर्ने र यहोवासामु धार्मिक अडानलाई कहिल्यै खतरामा नपार्ने समय अहिल्यै हो। अनैतिक सोचाइ हटाउन र विपरीत लिंग वा एउटै लिंगको व्यक्‍तिप्रति अनुचित व्यवहार सधैं त्यागिरहौं।—कलस्सी ३:५.

१७ दाऊद यस्तो सल्लाह दिन्छन्‌, “रिसाउन छोड़ र क्रोधलाई त्याग्‌। व्याकुल नहो, यसले खराबी गर्नतिर ढल्काउँछ। किनकि कुकर्मीहरू नष्ट हुनेछन्‌। तर परमप्रभुको बाटो हेर्ने जतिले देश अधिकार गर्नेछन्‌।” (भजन ३७:८, ९) हो, हामी निर्धक्क भई त्यो अत्यन्तै निकट समयको प्रतीक्षा गर्न सक्छौं जब यहोवाले भ्रष्टाचार र त्यसको लागि जिम्मेवार सबैको पृथ्वीबाट नामोनिसान मेटाउनुहुनेछ।

“थोरै बेरपछि”

१८, १९. तपाईं भजन ३७:१० बाट कस्तो प्रोत्साहन पाउन सक्नुहुन्छ?

१८ “थोरै बेरपछि, दुष्ट रहनेछैन। तैंले त्यसको ठाउँ राम्ररी हेरे तापनि त्यो पटक्कै रहनेछैन।” (भजन ३७:१०) यस रीतिरिवाजको अन्त र यहोवाबाट स्वतन्त्र हुन खोज्दाको भयावह अन्त नजिकिंदै जाँदा ती शब्दहरूले कस्तो प्रोत्साहन दिन्छ! मानिसले जस्तोसुकै सरकार वा अख्तियार बनाउन खोजे तापनि पूरै असफल भएको छ। अब हामी परमेश्‍वरको शासन अर्थात्‌ साँचो ईश्‍वरतन्त्रअन्तर्गत येशू ख्रीष्टको नेतृत्वमा यहोवाको राज्यले शासन गर्न थाल्ने समयको नजिकै छौं। यसले संसारका गतिविधिहरूमा पूरा नियन्त्रण जमाउनेछ र परमेश्‍वरको राज्यका सबै विरोधीहरूलाई हटाउनेछ।—दानियल २:४४.

१९ परमेश्‍वरको राज्यअन्तर्गत नयाँ संसारमा तपाईंले “दुष्ट” जतिसुकै खोजे तापनि पाउनुहुनेछैन। निस्सन्देह, त्यतिबेला यहोवाको विद्रोह गर्ने सबै चाँडै हटाइनेछन्‌। उहाँको सार्वभौमिकतामा आक्रमण गर्ने वा ईश्‍वरीय अख्तियारको अधीनमा बस्न इन्कार गर्नेहरू त्यहाँ हुनेछैनन्‌। तपाईंका छिमेकीहरू सबैले यहोवालाई खुसी तुल्याउने इच्छा गर्नेछन्‌। त्यसले कस्तो सुरक्षा ल्याउनेछ—ताल्चा हुनेछैन, छेकबार हुनेछैन, पूर्ण भरोसा र आनन्द लुट्‌ने कुरा केही पनि हुनेछैन!—यशैया ६५:२०; मीका ४:४; २ पत्रुस ३:१३.

२०, २१. (क) भजन ३७:११ का “नम्र” को हुन्‌ र तिनीहरूले “प्रशस्त शान्ति” कहाँ पाउँछन्‌? (ख) हामीले महान्‌ दाऊदको अनुकरण गऱ्‍यौं भने कस्ता आशिष्‌हरू पाउनेछौं?

२० तब “नम्रहरूले देश अधिकार गर्नेछन्‌।” (भजन ३७:११क) तर यी “नम्रहरू” को हुन्‌? “नम्र” भनी अनुवाद गरिएको शब्द, “पीडा दिनु, नम्र तुल्याउनु, होच्याउनु” अर्थ बुझाउने मूल शब्दबाट लिइएको हो। हो, “नम्रहरू” भनेको तिनीहरूमाथि आइपर्ने सबै अन्याय हटाउन नम्र भई यहोवालाई पर्खनेहरू हुन्‌। तिनीहरूले “प्रशस्त शान्तिमा आफै खुशी मनाउनेछन्‌।” (भजन ३७:११ख) हामी अहिले पनि साँचो मसीही मण्डलीसित सम्बन्धित आध्यात्मिक प्रमोदवनमा प्रशस्त शान्ति पाउँछौं।

२१ अहिले हामी दुःखकष्टबाट मुक्‍त नभए तापनि हामी एक-अर्कालाई सहयोग गर्छौं अनि निराश भएकाहरूलाई सान्त्वना दिन्छौं। फलस्वरूप, यहोवाका जनहरूमाझ साँचो आन्तरिक सन्तुष्टि वृद्धि हुन्छ। गोठालाको रूपमा नियुक्‍त भएका भाइहरूले मायालुपूर्वक हाम्रो आध्यात्मिक अनि कहिलेकाहीं भौतिक आवश्‍यकता पूरा गरेर हामीलाई धार्मिकताको खातिर दुःखकष्ट सहन बल दिन्छन्‌। (१ थिस्सलोनिकी २:७, ११; १ पत्रुस ५:२, ३) यो शान्ति कस्तो बहुमूल्य सम्पत्ति हो! हामीसित सन्‍निकट शान्तिमय प्रमोदवनमा अनन्त जीवनको आशा पनि छ। त्यसकारण, हामी महान्‌ दाऊद येशू ख्रीष्टको अनुकरण गरौं जसलाई यहोवाप्रतिको जोसले अन्तसम्मै विश्‍वासी भई सेवा गरिरहन उत्प्रेरित गऱ्‍यो। (१ पत्रुस २:२१) यसो गरेर हामी हाम्रा परमेश्‍वर, यहोवाको प्रशंसामा मग्न रहेर आनन्दित रहिरहनेछौं।

[फुटनोट]

a यहोवाका साक्षीहरूद्वारा प्रकाशित।

के तपाईं जवाफ दिन सक्नुहुन्छ?

भजन ३७:१, २ बाट तपाईंले कस्ता पाठहरू सिक्नुभयो?

• तपाईं कसरी “परमप्रभुमा मग्न” हुन सक्नुहुन्छ?

• हामी यहोवामा भर पर्न सक्छौं भन्‍ने कस्तो प्रमाण पाइन्छ?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ ९-मा भएको चित्र]

मसीहीहरू ‘अधर्म गर्नेहरूका विरुद्धमा डाह गर्दैनन्‌’

[पृष्ठ १०-मा भएको चित्र]

“परमप्रभुमा भरोसा राख्‌, र भलाइ गर्‌”

[पृष्ठ ११-मा भएको चित्र]

यहोवाबारे जति सक्नुहुन्छ त्यति सिकेर उहाँमा मग्न हुनुहोस्‌

[पृष्ठ १२-मा भएको चित्र]

“नम्रहरूले देश अधिकार गर्नेछन्‌”