सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

‘म यहोवालाई के भर्ना चढ़ाऊँ?’

‘म यहोवालाई के भर्ना चढ़ाऊँ?’

जीवनी

‘म यहोवालाई के भर्ना चढ़ाऊँ?’

मारिया केरासिनिसको वृत्तान्तमा आधारित

अठार वर्षको उमेरमा म मेरो आमाबाबुको लागि ठूलो टाउको दुखाइको कारण भएकी थिएँ, मेरा नातेदारहरूले मलाई बहिष्कार गरे र गाउँलेहरूको अगाडि म हाँसोको पात्र भएँ। परमेश्‍वरप्रतिको मेरो निष्ठा तोड्‌न बिन्ती गरियो, जबरजस्ती भयो र धम्कीहरू दिइयो तर कसैको केही सीप लागेन। बाइबल सत्यप्रति वफादार रहँदा आध्यात्मिक इनामहरू पाइन्छ भन्‍ने कुरामा म विश्‍वस्त थिएँ। यहोवाको सेवामा बिताएको ५० वर्षभन्दा बढी समयलाई फर्केर हेर्दा म भजनहारका यी शब्दहरूसित पूर्णतया सहमत हुन सक्छु: “परमप्रभुले गर्नुभएको मेरो उपकारको निम्ति म उहाँलाई के भर्ना चढ़ाऊँ?”—भजन ११६:१२.

मेरो जन्म १९३० मा कोरिन्थको इस्थमसको पूर्वमा पर्ने सिनक्रियाको बन्दरगाहबाट झन्डै २० किलोमिटर टाढाको गाउँ आगेलोकास्ट्रोमा भएको थियो र प्रथम शताब्दीमा कोरिन्थमा साँचो मसीहीहरूको मण्डली स्थापना भएको थियो।—प्रेरित १८:१८; रोमी १६:१.

मेरो परिवारले शान्त जीवन बिताउँथ्यो। बुबा गाउँको मुखिया हुनुहुन्थ्यो र सबैले उहाँको आदर गर्थे। पाँच जना छोराछोरीमध्ये म साहिंली थिएँ। मेरो आमाबाबुले हामीलाई ग्रीक अर्थोडक्स चर्चको भक्‍त सदस्यहरूको रूपमा हुर्काउनुभयो। म हरेक आइतबार मास धाउँथें। म मूर्तिहरूसामु प्रायश्‍चित गर्थें, गाउँको सानो चर्चमा मैनबत्ती बाल्थें र सबै व्रत बस्थें। मैले नन बन्‍ने सोचाइ धेरै चोटि राखेकी थिएँ। समयमा, मेरो परिवारमा आमाबाबुलाई निराश तुल्याउने म नै पहिलो भएँ।

बाइबल सत्यद्वारा रोमाञ्चित

म १८ वर्ष जतिकी हुँदा, सँगैको गाउँमा बस्ने मेरो एक जना भिनाजुकी बहिनी केटिनाले यहोवाका साक्षीहरूको प्रकाशन पढिरहेकी अनि चर्च पनि जान छोडेको कुरा थाह पाएँ। यो कुरा सुनेपछि मलाई साह्रै पीर पऱ्‍यो, त्यसैले मलाई सही लागेको मार्गमा फर्काउन मैले उनलाई मदत गर्ने निर्णय गरें। उनी हामीलाई भेट्‌न आउँदा पादरीको घरमा एक छिन रोक्ने विचार गरेर उनीसँग टहल्न जान समय मिलाएँ। पादरीले आफ्नो कुराकानीको सुरुमै यहोवाका साक्षीहरूलाई आरोप लगाए अनि केटिनालाई झुक्याउने धर्मविरोधीहरू हुन्‌ भनी अनेक गालीगलौज गरे। यो छलफल लगातार तीन रातसम्म चल्यो। केटिनाले तिनका सबै आरोपहरूको जवाफ बाइबलबाटै राम्ररी तयार गरेर दिइन्‌। अन्ततः पादरीले उनी राम्री र तीक्ष्ण बुद्धि भएकी केटी भएकोले आफ्नो युवावस्थामा रमाइलो गर्नुपर्ने र बूढी भएपछि मात्र परमेश्‍वरमा ध्यान दिनुपर्ने कुरा बताए।

मैले त्यस छलफलबारे आमाबाबुलाई केही पनि बताइनँ तर त्यसपछिको आइतबार म चर्च गइनँ। त्यसै दिन दिउँसो पादरी हाम्रो पसलमा तुरुन्तै पुगिहाले। बुबालाई मदत गर्नुपर्ने भएकोले म आउन नसकेको भनी मैले बहाना बनाएँ।

“साँच्चै त्यसै हो कि त्यो केटीले तिमीलाई फकाई?” पादरीले सोधे।

“ती मानिसहरूको विश्‍वास हाम्रोभन्दा असल छ” मैले सीधै भनें।

मेरो बुबातर्फ फर्कंदै पादरीले भने: “श्रीमान्‌ एकोनोमस, तपाईंको त्यो नातेदारलाई तुरुन्तै घरबाट निकालिहाल्नुहोस्‌, त्यसले तपाईंको घरमा आगो सल्काइसकी।”

मेरो परिवार मेरो विरुद्धमा जाइलाग्छ

यो १९४० को दशकको अन्ततिरको कुरा हो जब ग्रीस अत्यन्तै हिंस्रक गृहयुद्धमा होमिएको थियो। गुरिल्लाहरूले मलाई अपहरण गर्लान्‌ भन्‍ने डरले बुबाले मलाई हाम्रो गाउँमा नबसी मेरी दिदीको घरमा पठाउने प्रबन्ध मिलाउनुभयो र केटिना पनि त्यही गाउँमा बस्थिन्‌। त्यहाँ बसेको दुई महिनामा मैले विभिन्‍न विषयहरूमा बाइबलले के भन्छ भनेर बुझ्ने मदत पाएँ। अर्थोडक्स चर्चका थुप्रै शिक्षाहरू धर्मशास्त्र विपरीत रहेछन्‌ भनेर थाह पाउँदा मलाई नरमाइलो लाग्यो। परमेश्‍वरले मूर्तिहरूमार्फत गरिएको उपासना स्वीकार्नुहुन्‍न, क्रूसप्रति देखाइने श्रद्धा जस्ता विविध परम्परागत धार्मिक प्रचलनहरू मूल मसीही धर्मअनुसार होइनन्‌ तर परमेश्‍वरलाई प्रसन्‍न तुल्याउन उहाँलाई “आत्मा र सत्यतामा” पुज्नुपर्छ भनी मैले बुझें। (यूहन्‍ना ४:२३; प्रस्थान २०:४, ५) अझ त्योभन्दा महत्त्वपूर्ण कुरा, बाइबलले पृथ्वीमा अनन्त जीवनको उज्वल आशा प्रदान गर्छ भनी मैले सिकें! त्यस्ता अनमोल बाइबल सत्य मैले सुरुमा यहोवाबाट पाएका व्यक्‍तिगत उपकारहरूमध्ये थिए।

त्यसैताका मैले खाना खाने समयमा क्रूसको चिह्न नगरेको र धार्मिक मूर्तिहरूसामु प्रार्थना पनि नगरेको मेरी दिदी र भिनाजुले याद गर्नुभयो। एक रात मलाई उहाँहरू दुवैले कुट्‌नुभयो। भोलिपल्ट मैले उहाँहरूको घर छोड्‌ने निर्णय गरें र म आफ्नी सानीमाकहाँ गएँ। मेरो भिनाजुले बुबालाई खबर गरिदिनुभयो। केही समयपछि बुबा आँखाभरि आँसु पार्दै आउनुभयो र मेरो मन परिवर्तन गर्न खोज्नुभयो। मेरो भिनाजुले घुँडा टेकेर मसँग माफी माग्नुभयो र मैले माफी दिएँ पनि। यी सबै समस्याको समाधान गर्न उहाँहरूले मलाई चर्चमा फर्कन भन्‍नुभयो तर मैले दृढ अडान लिएँ।

म बुबाको गाउँ फर्केपछि दबाब आइरह्‍यो। केटिनासँग सम्पर्क राख्ने मसँग कुनै उपाय थिएन र पढ्‌नको लागि मसँग कुनै पनि साहित्य र बाइबलसमेत थिएन। मेरो एक जना नातेदारले मलाई मदत गर्न खोज्दा म असाध्यै खुसी भएँ। तिनी कोरिन्थमा जाँदा एक जना साक्षीलाई भेटिछन्‌ र “लेट गड बि ट्रु” पुस्तक र एउटा मसीही युनानी धर्मशास्त्र ल्याइदिइन्‌ जुन मैले लुकिछिपी पढ्‌न थालें।

जीवनले अप्रत्याशित मोड लिन्छ

मैले तीन वर्षसम्म घोर विरोधको सामना गर्नुपऱ्‍यो। साक्षीहरूसँग मेरो कुनै सम्पर्क थिएन न त मैले कुनै साहित्य नै प्राप्त गर्न सकें। तथापि, मैले थाहै नपाई मेरो जीवनमा ठूल-ठूला घटनाहरू घट्‌न लागेका थिए।

बुबाले मलाई थिस्सलोनिकामा मेरो मामाकहाँ जानू भन्‍नुभयो। थिस्सलोनिका जानुअघि म एउटा कोट सिलाउन कोरिन्थमा सूचिकारको पसलमा गएँ। केटिना त्यहीं काम गरिरहेकी देख्दा म कत्ति छक्क परें! एक-अर्कालाई धेरै समयपछि भेट्‌न पाउँदा हामी असाध्यै खुसी भयौं। हामी दुई जना पसलबाट निस्कँदै गर्दा हामीले एक जना असाध्यै मिजासिलो जवान मानिसलाई भेट्यौं जो कामबाट साइकलमा घर फर्कंदै हुनुहुन्थ्यो। उहाँको नाउँ कारालाम्बस थियो। एक-अर्कालाई राम्ररी चिन्दै गएपछि हामीले विवाह गर्ने निर्णय गऱ्‍यौं। मैले यसैताका जनवरी ९, १९५२ मा बप्तिस्मा लिएर यहोवाप्रति आफ्नो समर्पण जनाएँ।

कारालाम्बसले अघि नै बप्तिस्मा लिइसक्नुभएको थियो। उहाँले पनि परिवारबाट विरोधको सामना गर्नुपरेको थियो। कारालाम्बस असाध्यै जोसिलो हुनुहुन्थ्यो। उहाँ मण्डलीको सहायक सेवकको रूपमा सेवा गर्नुहुन्थ्यो र थुप्रै बाइबल अध्ययनहरू सञ्चालन गर्नुहुन्थ्यो। चाँडै उहाँका दाइहरूले पनि सच्चाइ स्वीकार्नुभयो र आज उहाँको परिवारका प्रायजसो सदस्यहरूले यहोवाको सेवा गर्छन्‌।

मेरो बुबाले कारालाम्बसलाई मन पराउनुभयो त्यसैले उहाँ विवाहको लागि राजी हुनुभयो तर आमाले सजिलै मान्‍नुभएन। यी सबैको बावजुद कारालाम्बस र मैले मार्च २९, १९५२ मा बिहे गऱ्‍यौं। मेरो सबैभन्दा ठूलो दाइ र एक जना नातेदार मात्र हाम्रो बिहेमा आउनुभयो। कारालाम्बस एउटा कस्तो अतुलनीय आशिष्‌—यहोवाबाट साँचो वरदान साबित हुनुहुनेछ भनी मलाई त्यतिबेला पत्तै थिएन! उहाँको सँगीको रूपमा मैले आफ्नो जीवन यहोवाको सेवामै केन्द्रित गर्न सकें।

हाम्रा भाइहरूलाई सुदृढ गर्दै

सन्‌ १९५३ मा कारालाम्बस र मैले एथेन्स सर्ने निर्णय गऱ्‍यौं। प्रचारकार्यमा अझ बढी गर्ने चाहनाको कारण कारालाम्बसले आफ्नो परिवारको व्यापारिक कारोबारबाट राजीनामा दिनुभयो र एउटा आंशिक जागिर खानुभयो। हामी दिउँसो-दिउँसो चाहिं मसीही सेवकाईमा सँगै जान्थ्यौं र थुप्रै बाइबल अध्ययनहरू सञ्चालन गऱ्‍यौं।

हाम्रो सेवकाईमा सरकारी बन्देज भएको कारण हामीले नयाँ-नयाँ तरिकाहरू अपनाउनुपर्थ्यो। उदाहरणका लागि, मेरो श्रीमान्‌ काम गर्ने सडक छेउको अखबार पसलमा हामीले प्रहरीधरहरा-को प्रति पनि राख्ने निर्णय गऱ्‍यौं, यो पसल एथेन्सको मध्य भागमा पर्थ्यो। एक जना उच्च प्रहरी अधिकृतले त्यो पत्रिका प्रतिबन्धित छ भनेर हामीलाई बताए। तथापि, तिनले एक प्रति मागे र सुरक्षा कार्यालयमा यससम्बन्धी सोधपुछ गरे। सुरक्षा कार्यालयका मानिसहरूले यो पत्रिका प्रतिबन्धित होइन भनी तिनलाई पक्का गराएपछि तिनले हामीकहाँ आएर सो जानकारी दिए। यस्तो सानो पसल भएका अन्य भाइहरूले यो कुरा सुन्‍नेबित्तिकै तिनीहरूले पनि आ-आफ्नो पसलमा प्रहरीधरहरा-का प्रतिहरू राख्न थाले। हाम्रो पसलबाट प्रहरीधरहरा लिएका एक जना मानिस साक्षी भए र अहिले प्राचीनको हैसियतमा सेवा गर्दैछन्‌।

मेरो सबैभन्दा कान्छो भाइले सच्चाइ स्वीकारेको देख्दा पनि हामी हर्षित भयौं। उनी एथेन्सको मर्चेन्ट मरिन कलेजमा पढ्‌नको लागि आएका थिए र हामीले उनलाई अधिवेशनमा सँगै लग्यौं। हाम्रा अधिवेशनहरू गोप्य तरिकामा जंगलमा हुने गर्थे। उनलाई आफूले सुनेको कुरा मन पऱ्‍यो तर चाँडै उनका यात्राहरू सुरु भए। त्यस्तै एउटा यात्राको क्रममा उनी अर्जेन्टिनाको एउटा बन्दगाहमा पुगे। त्यहाँ एक जना मिसनरी प्रचार गर्न जहाजमा आएछन्‌ र मेरो भाइले हाम्रा पत्रिकाहरू मागे। उनले यस्तो लेखेको पत्र पाउँदा हामी औधी हर्षित भयौं: “मैले सच्चाइ पाएको छु। मलाई नियमित ग्राहक बनाइदिनुहोस्‌।” आज उनी र उनको परिवारले विश्‍वासीपूर्वक यहोवाको सेवा गर्दैछन्‌।

सन्‌ १९५८ मा मेरो श्रीमान्‌लाई परिभ्रमण निरीक्षकको रूपमा सेवा गर्न आमन्त्रित गरियो। हाम्रो कार्यमाथि प्रतिबन्ध लगाइएको र परिस्थिति एकदमै कठिन भएकोले अक्सर परिभ्रमण निरीक्षकहरू आफ्ना श्रीमतीविना नै परिभ्रमण कार्यमा जान्थे। अक्टोबर १९५९ मा हामीले शाखा कार्यालयका जिम्मेवार भाइहरूलाई म उहाँसँग जान सक्छु कि भनेर सोध्यौं। उहाँहरूले अनुमति दिनुभयो। हामीले मध्य र उत्तरी ग्रीसका मण्डलीहरूलाई भेटेर सुदृढ बनाउनुपर्थ्यो।

ती यात्राहरू सजिला भने पटक्कै थिएनन्‌। पिच गरिएका सडकहरू एकदमै कम मात्र थिए। हाम्रो आफ्नै गाडी नभएकोले हामी अक्सर सार्वजनिक यातायात वा पिकअप ट्रकहरूमा कुखुरा र अन्य सामानहरूसँगै यात्रा गर्नुपर्थ्यो। हिलाम्मे बाटाहरूमा हिड्‌नको लागि हामी रबरको गम्बुठ लगाउँथ्यौं। प्रत्येक गाउँमा नागरिक सैनिकहरू भएकोले केरकारबाट बच्न हामी रातको अन्धकारमा मात्र गाउँभित्र छिर्थ्यौं।

भाइहरूले यी भ्रमणहरूको असाध्यै मूल्यांकन गर्थे। तिनीहरूमध्ये अधिकांश खेतमा धेरै खट्‌नुपर्ने भए तापनि विभिन्‍न घरहरूमा राती अबेर हुने सभाहरूमा उपस्थित हुन प्रयास गर्थे। भाइहरूले साह्रै अतिथि-सत्कार गर्थे र आफूसँग त्यति खासै नभए तापनि आफूसित जे छ, त्यही दिन्थे। कहिलेकाहीं सम्पूर्ण परिवारसँग एउटै कोठामा सुत्थ्यौं। भाइहरूको विश्‍वास, धीरज र जोस हाम्रो लागि अर्को अनमोल उपकार साबित भयो।

हाम्रो सेवा विस्तार गर्दै

फेब्रुअरी १९६१ मा एथेन्सस्थित शाखा कार्यालयमा जाँदा बेथेलमा सेवा गर्ने इच्छा छ कि भनेर हामीलाई सोधियो। हामीले यशैयाकै शब्दमा जवाफ दियौं: “म हाजिर छु। मलाई पठाउनुहोस्‌।” (यशैया ६:८) त्यसको दुई महिनापछि सकेसम्म चाँडो बेथेलमा आइपुग्नु भनी लेखिएको पत्र हामीले पायौं। यसरी मे २७, १९६१ मा हामीले बेथेलसेवा थाल्यौं।

हामीलाई आफ्नो नयाँ कार्यभार एकदमै रमाइलो लाग्यो र चाँडै आफ्नो घरजस्तो लाग्न थाल्यो। मेरो श्रीमान्‌ले सेवा र ग्राहक विभागमा काम गर्नुभयो र पछि केही समयको लागि शाखा समितिमा पनि सेवा गर्नुभयो। मैले चाहिं बेथेल परिवारको सुविधा हेर्ने गृहसम्बन्धी विभाग अन्तर्गत विभिन्‍न कामहरू गरें। त्यतिबेला बेथेल परिवारमा १८ जना सदस्य थिए तर झन्डै पाँच वर्षसम्म लगभग ४० जना मानिस हुन्थे किनभने बेथेलमा प्राचीनहरूका लागि स्कूल सञ्चालन भइरहेको थियो। बिहान म भाँडा माझ्थें, खाना पकाउने भाइलाई सघाउँथे, १२ वटा ओछ्यान मिलाउँथें अनि दिउँसोको खानाको लागि टेबल मिलाउँथें। दिउँसो लुगामा इस्त्री लगाउँथें, शौचालय र कोठाहरू सफा गर्थें। हप्ताको एक चोटि लुगा धुने ठाउँमा पनि काम गर्थें। काम तीन थुप्रो हुन्थ्यो तर मदत गर्न पाएकोमा म खुसी थिएँ।

हामी बेथेलसेवाका साथै क्षेत्र सेवकाईमा असाध्यै व्यस्त रह्‍यौं। थुप्रै चोटि हामीले सातवटासम्म बाइबल अध्ययन सञ्चालन गऱ्‍यौं। सप्ताहन्तमा म कारालाम्बससँग उहाँले भाषण दिने विभिन्‍न मण्डलीहरूमा जान्थें। हामी सधैं सँगसँगै हुन्थ्यौं।

हामीले ग्रीक अर्थोडक्स चर्चसँग नजिकको सम्बन्ध भएको एउटा विवाहित जोडीसँग अध्ययन सञ्चालन गऱ्‍यौं। तिनीहरू धर्मविरोधीहरू भेट्टाउने चर्चको विभागको पादरीका मिल्ने साथी थिए। तिनीहरूको घरको एउटा कोठाभरि मूर्तिहरू थियो जहाँ सधैं धूप बालिएको हुन्थ्यो र बाइजान्टिन भजनहरू चौबीसै घण्टा बजाइन्थ्यो। केही समयसम्म हामी तिनीहरूसँग बाइबल अध्ययन गर्न बिहीबारको दिन जान्थ्यौं र तिनीहरूको पादरी साथीचाहिं शुक्रबार आउँथे। एक दिन तिनीहरूले हाम्रो लागि एउटा छक्क लाग्दो कुरा भएकोले हामीलाई तिनीहरूको घर जसरी भए पनि आउनु भनी कर गरे। तिनीहरूले हामीलाई घरभित्र पस्नेबित्तिकै पहिला त्यो कोठा देखाए। तिनीहरूले त्यहाँ भएका सबै मूर्तिहरू हटाएर कोठालाई अर्कै बनाएका रहेछन्‌। यी विवाहित जोडीले अझै प्रगति गरे र बप्तिस्मा लिए। हामीले बाइबल अध्ययन गरेका मानिसहरूमध्ये जम्माजम्मी झन्डै ५० जना मानिसले बप्तिस्मा लिएर आफ्नो जीवन यहोवामा समर्पण गरेको आनन्द महसुस गर्न पायौं।

अभिषिक्‍त भाइहरूसँग संगत गर्न पाउनु पनि मेरो लागि विशेष उपकारको कुरा थियो। भाइ नोर, फ्रान्ज र हेन्सल जस्ता परिचालक निकायका भाइहरूको भ्रमण असाध्यै प्रोत्साहनजनक हुन्थ्यो। बेथेलमा सेवा गरेको ४० वर्षभन्दा लामो समयपछि पनि मलाई बेथेलसेवा एउटा ठूलो सम्मान र विशेषाधिकारको कुरा हो जस्तो लाग्छ।

बिमारी र मृत्युसँग सामना गर्दै

सन्‌ १९८२ मा मेरो श्रीमान्‌मा आल्जाइमर रोगका लक्षणहरू देखापर्न थाले। सन्‌ १९९० तिर उहाँको स्वास्थ्यस्थिति असाध्यै बिग्रिसकेको थियो र अन्ततः उहाँलाई चौबीसै घण्टा हेरविचारको खाँचो पऱ्‍यो। उहाँको जीवनको अन्तिम आठ वर्ष हामी बेथेलबाट एक चोटि पनि बाहिर निस्कन सकेनौं। बेथेल परिवारका थुप्रै प्रिय भाइहरूका साथै निरीक्षकहरूले हाम्रो मदतको लागि प्रबन्धहरू मिलाउनुभयो। तथापि, उहाँहरूको मायालु सहयोगको बावजुद मैले आफ्नो श्रीमान्‌को सेवामा दिनरात बिताउनुपऱ्‍यो। कहिलेकाहीं परिस्थिति असाध्यै गाह्रो हुन्थ्यो र राती सुत्न पनि पाउँदिन थिएँ।

जुलाई १९९८ मा मेरो प्रिय पति बित्नुभयो। उहाँ नभएकोमा मलाई असाध्यै न्यास्रो लागे तापनि यहोवाले उहाँलाई बिर्सनुभएको छैन र पुनरुत्थानको समयमा अरू लाखौंसँगै उहाँलाई पनि सम्झनुहुनेछ भनी थाह पाउँदा सान्त्वना पाएको महसुस गर्छु।—यूहन्‍ना ५:२८, २९.

यहोवाका उपकारहरूका लागि कृतज्ञ

मैले आफ्नो पति गुमाउनुपरे तापनि म एक्लो छैन। मैले अझै बेथेलमा सेवा गर्ने सुअवसर पाएकी छु अनि सम्पूर्ण बेथेल परिवारको माया र हेरचाह पाइरहेकी छु। मेरो ठूलो परिवारमा ग्रीसभरि छरिएर रहेका आध्यात्मिक भाइबहिनीहरू पनि समावेश छन्‌। मैले अहिले ७० वसन्त काटिसकेको भए तापनि भान्छा र खाना खाने कोठामा अझै पूर्ण-समय काम गर्न सक्छु।

सन्‌ १९९९ मा न्यु योर्कस्थित यहोवाका साक्षीहरूको मुख्यालयको भ्रमणमा जाँदा मेरो जीवनको ठूलो सपना पूरा भयो। मैले कस्तो महसुस गरें म शब्दमा वर्णन गर्नै सक्दिनँ। यो उत्थानदायी र अविस्मरणीय अनुभव थियो।

आफ्नो जीवनलाई फर्केर हेर्दा म एउटा कुरामा विश्‍वस्त छु, मैले आफ्नो जीवन सबैभन्दा सर्वोत्तम ढंगमा बिताएकी छु। यहोवाको पूर्ण-समय सेवा गर्नेजस्तो उत्तम पेसा अरू कुनै छैन। मलाई कहिल्यै कुनै कुराको अभाव भएन भनेर म ठोकेरै भन्‍न सक्छु। यहोवाले मायालुपूर्वक म र मेरो श्रीमान्‌ दुवैको आध्यात्मिक तथा भौतिक तवरमा ख्याल राख्नुभयो। भजन रचयिताले किन यस्तो भने भनेर म आफ्नो व्यक्‍तिगत अनुभवबाट बुझ्न सक्छु: “परमप्रभुले गर्नुभएको मेरो उपकारको निम्ति म उहाँलाई के भर्ना चढ़ाऊँ?”—भजन ११६:१२.

[पृष्ठ २६-मा भएको चित्र]

कारालाम्बस र म सधैं सँगै हुन्थ्यौं

[पृष्ठ २७-मा भएको चित्र]

मेरो श्रीमान्‌ शाखामा उहाँको अफिसमा

[पृष्ठ २८-मा भएको चित्र]

मलाई बेथेल सेवा एउटा ठूलो सम्मानजस्तो लाग्छ